Blog

  • राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

    काठमाडौँ, माघ १४ –
    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । रासस

  • चितवनमा ४८० जनामा क्षयरोगको सङ्क्रमण

    चितवनमा ४८० जनामा क्षयरोगको सङ्क्रमण

    चितवन, माघ १४ –
    चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४८० जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता दुई हजार ६५६ जनाको परीक्षण गरिएकामा ४८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    तीमध्ये ८१ जनाले छ महिनाको औषधि पूरा गरेका छन् भने ३९९ जनाले अहिले नियमित औषधि सेवन गर्दै आएका छन् । उहाँले सङ्क्रमितहरूले जिल्लाका १०७ वटा औषधि वितरण संस्थाबाट नियमित औषधि सेवन गर्दै आएका जानकारी दिनुभयो ।

    क्षयरोग प्रमाणित गर्नका लागि जिल्लामा ३२ वटा सेन्टर सञ्चालनमा रहेका जनाउँदै क्षयकुष्ठ अधिकृत दुवाडीले तीमध्ये २८ वटा ‘माइक्रोस्कोप’ र चार वटा ‘जिनएक्स्पर्ट’ गर्ने संस्था रहेका बताउनुभयो । जिल्लामा गत वर्ष एक हजार ८९ जनामा क्षयरोगको सङ्क्रमण देखिएको थियो । तीमध्ये ४०० महिला र ६८९ पुरुष थिए ।

    यहाँका सात वटै पालिकामा यो रोगका सङ्क्रमित रहेका क्षयकुष्ठ अधिकृत दुवाडीले बताउनुभयो । गत वर्ष १३ हजार १०७ जनाको परीक्षण गरिएको थियो । उहाँका अनुसार यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको सङ्क्रमणका कारण हुन्छ ।

    “रोग लागेको सुरुआती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने र कमजोरी महसुस हुने गर्दछ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको ब्याक्टेरियाको सङ्क्रमण फैलिन गई गम्भीर समस्या निम्त्याउँने गर्दछ”, दुवाडीले भन्नुभयो ।

    रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठीक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सक कहाँ जानुपर्ने उहाँले सुझाव दिनुभयो ।

    यो रोग लागेमा सुर्ती मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छोड्ने गर्नुपर्छ । अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन गर्न नहुने उहाँले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रूपमा पूरा समय ९छ देखि आठ महिना०सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न शुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समयसमयमा परीक्षण गर्नेजस्ता कार्य गर्न आवश्यक रहेको क्षयकुष्ठ अधिकृत दुवाडीले बताउनुभयो । रासस

  • देश चुनावमा होमिदा पनि प्रचार सामग्रीको आएन ठूलो अर्डर (तस्बिरहरु)

    देश चुनावमा होमिदा पनि प्रचार सामग्रीको आएन ठूलो अर्डर (तस्बिरहरु)

    काठमाडौँ, माघ १४ –
    आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न थालिसकेका छन् । पूरै देश चुनावमा होमिइसकेको छ ।

    देशभर प्रचारप्रसार सुरू भइसक्दा पनि प्रचार सामग्री बनाउने व्यवसायीहरूलाई भने चुनावको लहरले छुन सकेको छैन । पहिलेका चुनावमा निकै व्यस्त हुने व्यवसायीहरूले ठूलो अर्डर नआएको बताएका छन् । स-सानो काममात्रै उनीहरुले पाइरहेका छन् । उनीहरुका अनुसार पहिले पहिले चुनावको एक महिना अघि नै अर्डर पुरा गर्न हम्मेहम्मे हुन्थ्यो । एकैपटक लाख-लाख पिसको अर्डर आउने गर्थ्यो। यो पटक भने धेरै चहलपहल छैन ।

    निर्वाचन प्रचारप्रसारमा दलका झण्डा र प्रचार सामग्री प्रयोगमा निर्वाचन आयोगले कडाइ गरेका कारण अर्डर कम आएको हुन सक्ने व्यवसायीहरुको अनुमान छ ।

    तस्बिरहरुः

  • एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

    काठमाडौँ, माघ १४ –
    स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ ।

    मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

  • मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

    मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

    मुस्ताङ, माघ १४-
    मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताउनुभयो ।

    त्यसैगरी, सिमकोटस्थित रासस समाचारदाताका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् ।

    यसैबीच, बाजुरस्थित राससकर्मीका अनुसार जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ ।

    हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले राससलाई बताउनुभयो । रासस

  • वडा १ र २ मा कांग्रेसको क्रियाशील भेला, मिना खरेलको समर्थनमा कार्यकर्ता उत्साहित

    वडा १ र २ मा कांग्रेसको क्रियाशील भेला, मिना खरेलको समर्थनमा कार्यकर्ता उत्साहित

    चितवन, १३ माघः
    आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेस चितवनको क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय कार्यसमिति क्षेत्र न. २ को आयोजनामा आज (मंगलबार) वडा नम्बर १ रामनगर र वडा नम्बर २ क्षेत्रपुरमा क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मनोनयन भएका उम्मेदवार मिनाकुमारी खरेललाई विजय गराउन सबै एकजुट भएर लाग्ने निर्णय गरेको छ ।

    यस्तै आगामी दिनमा सञ्चालन गरिने चुनावी कार्यक्रम, प्रचार–प्रसार रणनीति तथा घरदैलो अभियानका विषयमा समेत छलफल भएको थियो।

    सो कार्यक्रममा बोल्दै चितवन क्षेत्र नं. २ कांग्रेसकी उम्मेदवार मिना खरेलले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण तथा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा एकजुट भएर लाग्न सबैलाई आग्रह गरिन्।

    उनी भन्छिन्, निर्वाचन जित्नका लागि पार्टीभित्र एकता, सक्रियता अपरिहार्य हुन्छ । यतीबेला कांग्रेस परिवर्तन भईस्केको छ, कांग्रेसमा भोट हाल्न जनता आतुर छन् । त्यसैले सबै एकजुट भएर लागौ चुनाव अवस्य जितिन्छ ।

    उक्त भेला तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला पार्टी सभापति राजेश्वर खनाल, केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ, पूर्व सभापति विकास कोइराला, पार्टीका नेता मिलनबाबु श्रेष्ठ, ऋषिराज पाण्डे, मनोज रानाभाट, महिला सङ्घका अध्यक्ष पार्वती शाह ठकुरी, बागमती प्रदेश सभा सदस्य माया श्रेष्ठ, प्रदेश सभा सदस्य उत्तम जोशी लगाएत पार्टीका क्रियाशील नेता/कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    यस्तै भोली १४ गते वडा न. १०/११ र १२ पनि कांग्रेसको क्रियाशील भेला आयोजना गरिएको छ ।

  • सिमलताल अपडेट:  गणपति डिलक्स बसको उत्खनन स्थगित

    सिमलताल अपडेट: गणपति डिलक्स बसको उत्खनन स्थगित

    दमौली, १३ माघः
    तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ ।

    उत्खनन सुरु भएको १७औँ दिनमा स्थगित गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिनुभयो । बसको केही भाग पानीबाट निकालिएको र बाँकी भाग निकाल्न समस्या भएपछि काम रोक्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

    गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो ।

    बसको भित्री भागबाट मानव कङ्काल भेटिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।

    विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस नदीमा हराएको थियो । उक्त बस गत पुस २६ गते तनहुँतर्फ नदी किनारमा भेटिएको थियो ।

  • रवि लामिछानेको खुट्टामा चोट, त्रिवि शिक्षण अस्पताल भर्ना

    रवि लामिछानेको खुट्टामा चोट, त्रिवि शिक्षण अस्पताल भर्ना

    काठमाडौं,माघ १३-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको देब्रे खुट्टामा चोट लागेको छ । माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा लामिछानेको खुट्टामा सामान्य चोट लागेको थियो ।

    उक्त सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको स्वकीय सचिव अविनाश आचार्यले बताए ।

    उनका अनुसार लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन् ।

    चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भन्दै केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिएको छ ।

    चोट आफैँमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र पुनः नियमित राजनीतिक तथा साङ्गठनिक अभियानमा फर्किने स्वकीय सचिव आचार्यले बताए ।

     

  • चितवन २ का उम्मेद्वार अस्मिन घिमिरे इच्छाकामनाका पहाडमा घरदैलो गर्दै (फोटोफिचर)

    चितवन २ का उम्मेद्वार अस्मिन घिमिरे इच्छाकामनाका पहाडमा घरदैलो गर्दै (फोटोफिचर)

    चितवन, माघ १३ –
    चितवन क्षेत्र नम्बर २ मा एमालेका उम्मेद्वार अस्मिन घिमिरेले इच्छाकामना गाउँपालिकामा चुनावी घरदैलो गरिरहेका छन् । समानुपातिक उम्मेद्वार सन्तबहादुर चेपाङलाई साथमा लिएर घिमिरेले भोट मागिरहेका छन् ।

    दुबै उम्मेद्वारका साथमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, चितवन २ बाट दुई पटकसम्म निर्वाचित संविधान सभा सदस्य कृष्णभक्त पोखरेल लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा घरदैलो गरिएको छ ।

    तस्विरमा हेरौं, चुनावी घरदैलो अभियानको दोश्रो दिनको दृश्य :

  • दूध दुहुने प्रतियोगितात्मक ‘रियालिटी शो’ को विजेता बने ताराप्रसाद

    दूध दुहुने प्रतियोगितात्मक ‘रियालिटी शो’ को विजेता बने ताराप्रसाद

    काठमाडौँ, १३ माघः
    नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच आयोजना गरिएको दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ का विजेता ताराप्रसाद पाठक बनेका छन् ।

    हरेक मंगलबार साँझ एपी वान टेलिभिजन, ‘मेरो सेरोफेरो’ युट्युब च्यानल तथा सिनर्जी एफएम चितवनबाट उक्त कार्यक्रम प्रसारण हुँदै आएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूध विविधीकरण गर्ने सहकारीमार्फत दूध बिक्री गर्ने २० जना किसान छनोट गरी प्रतिस्पर्धा गराइएको थियो ।

    प्रतियोगितामा वासुदेव पौडेल दोस्रो, मथुरा महतो तेस्रो तथा धनमाया भण्डारी सान्त्वना भएका छन् । प्रथम स्थान हासिल गरेका पाठक विभिन्न पेसा छाडेर पशुपालनमा लागेको जनाइएको छ । उनी अमेरिका जाने क्रममा ठगीमा परेपछि पशुपालनमा फर्किएका थिए ।तेस्रो भएका महतो कुलत त्यागेर पशुपालनमा होमिएको जानकारी दिइयो ।

    सान्त्वना प्राप्त भण्डारी र उनको परिवारको मुख्य पेसा पशुपालन रहेको जनाइएको छ ।गाईका कल्चौँडोसँग अभ्यस्त किसानलाई बजारमा पुग्ने दूधका ‘ब्रान्ड एम्बेसडर’का रूपमा स्थापित गर्ने र पशुपालन पेसालाई मर्यादित एवं सम्मानित बनाउने उद्देश्यले ‘शो’ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

    उक्त शोमा किसानको दूध दुहुने सीपसँगै पशुप्रतिको व्यवहार, आहार व्यवस्थापन, गोठको सरसफाइ र दूधको शुद्धताजस्ता पक्षहरूको मूल्यांकनका आधारमा विजेता घोषणा गरिएको कार्यक्रमका निर्माता रविन सुवेदीले जानकारी दिए । उक्त कार्यक्रमले मेहनती किसानको सम्मानसँगै पशुपालक किसानको अवस्था देखाउनुका साथै नयाँ पुस्ताले बुझ्ने गरी मेहनत र संघर्षका कथा रोचक ढंगले प्रस्तुत गरिएको सुवेदीले बताए । पहिलो संस्करणप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले नेपाल सरकारसँग सहकार्य गरी आगामी दिनमा पनि कार्यक्रमलाई थप जानकारीमूलक र बृहत् बनाउने योजना रहेको उनको भनाइ छ ।

    कार्यक्रम संयोजक गोविन्द न्यौपानेले पशुपालनकै माध्यमबाट धेरै किसानले आर्थिक उन्नति हासिल गरेको अवस्थामा किसानलाई ‘आइडल’ बनाउने उद्देश्यले ‘शो’ सञ्चालन गरिएको उल्लेख गरे । खेती नामक संस्थाले मुख्य प्रायोजन गरेको कार्यक्रममा भरतपुर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको थियो ।

    प्रतियोगिताको निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे रहेका थिए । कार्यक्रमको होस्ट कार्यक्रमको परिकल्पनाकार समेत रहेका विवेक पोख्रेलले गरेका थिए।