Blog

  • तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

    तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

    आज मिति २०८२ कार्तिक २३ गते आइतबार (९ नोभेम्बर २०२५) मार्ग कृष्णपक्ष चतुर्थी तिथि, १०ः०२ बजेपछि पञ्चमी। आर्दा नक्षत्र। चन्द्रराशि मिथुन।

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा समयमै सावधान रहनुहोला।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। केही लाभांश अरूका लागि पनि खर्चनुपर्ने देखिन्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। तापनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। साेचेको लाभांश प्राप्त नभए पनि पछि फाइदा हुने काम हातपार्न सकिनेछ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ। काम दोहोर्याउनुपर्ने स्थिति आउनाले लागत बढ्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समयमा साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्लान्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। परिवेश उल्लासमय रहनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले पनि नयाँ आशा जगाउनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सहयोगबाट विशेष लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै अवसर प्राप्त गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। पेसा–व्यवसायमा राम्रै लाभ उठाउन सकिनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। फाइदाका लागि साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला।

  • चार घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुचारु

    चार घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुचारु

    काठमाडौँ, २२ कात्तिकः
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको प्राविधिक समस्या समाधान पछि संचालनमा आएको छ । उडान रोकिएको करिब चार घण्टापछि विमानस्थल संचालनमा आएको हो ।

    विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू शनिबार दिउसो करिब साढे ५ बजेदेखि बन्द भएका थिए ।

    कैयौं अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिएको छ भने दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जाहजसहित केहि जहाजले आकाशमै फन्को मारेर अवतरणको प्रतिक्षा गरेका थिए ।

    त्यस्तै आजका आन्तरिक उडानतर्फका यति, बुद्ध र श्रीको कैयौं उडान रद्ध भएका थिए ।

  • विश्व रेडियोग्राफी दिवसको अवसरमा र्‍याली तथा जनचेतना कार्यक्रम

    विश्व रेडियोग्राफी दिवसको अवसरमा र्‍याली तथा जनचेतना कार्यक्रम

    काठमाडौँ, कार्तिक २२-
    विश्व रेडियोग्राफी दिवस २०२५ को अवसरमा नेपाल रेडियोलोजिकल सोसाइटी, बागमती प्रदेशले रेडियोलोजी तथा रेडियोग्राफीको महत्व जनस्तरसम्म पुर्‍याउने उद्देश्यले र्‍याली तथा जनचेतना कार्यक्रम गरेको छ।

    यस वर्षको अन्तर्राष्ट्रिय स्लोगन “Empowering Healthcare Through Imaging Excellence” रहेको छ, जसले आधुनिक इमेजिङ प्रविधिमार्फत स्वास्थ्य सेवा सशक्त बनाउन रेडियोलोजिस्ट र रेडियोग्राफरहरूको महत्वपूर्ण भूमिकालाई उजागर गर्दछ।

    रेडियोलोजिकल सोसाइटीका अध्यक्ष चिरन्जिबी पन्थीका अनुसार रेडियोलोजी र रेडियोग्राफी स्वास्थ्य सेवाको मेरुदण्ड हुन्, जसले रोगको छिटो र सही निदानमा सहयोग पुर्‍याउँछन्। उनले सरकार र निजी क्षेत्रलाई रेडियोलोजी विभागलाई थप सशक्त बनाउन ध्यान दिन आग्रह गरे।

    नेपाल रेडियोलोजिकल सोसाइटी २०४७ सालमा स्थापना भएको हो र हाल सातै प्रदेशमा आफ्नो गतिविधि विस्तार गर्दै रेडियोलोजिस्ट र रेडियोग्राफरहरूको हकहित र व्यावसायिक विकासका लागि काम गर्दै आएको छ।

  • खेलकुद महोत्सवमा : पाँच दिनमा डेढ लाख दर्शकले गरे अवलोकन, आज एकैदिन ५० हजार

    खेलकुद महोत्सवमा : पाँच दिनमा डेढ लाख दर्शकले गरे अवलोकन, आज एकैदिन ५० हजार

    चितवन, कार्तिक २२-
    नारायणी नदी किनारमा जारी प्रथम खेलकुद तथा वृहत व्यापार महोत्सवमा आज दर्शकको घुँईचो लागेको छ । पाँचौ दिन आज मात्रै ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् ।

    आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीका अनुसार आज एकैदिन ५० हजार भन्दा बढी टिकट बिक्री भएको छ । आज अपेक्षा भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको उनले बताए । हालसम्म करिब एक लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।

    यसैबीच भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले पनि आज महोत्सव अवलोकन गरेकी छन् । मेयर दाहाल र उपमेयर चित्रसेन अधिकारीलगायतले महोत्सव अवलोकन गरेका हुन् । महोत्सवमा बिशेष गरी लन्डन ब्रिज, दुबै सिटी, बुर्ज खलिफा, बुर्ज अल अरबलगायतले दर्शकहरुलाई आकर्षित गरेको छ ।

    यता पाँचौ दिन आज चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी छिन् । गायिका प्रितीले आफ्ना चर्चित गीत गाउँदा दर्शकहरु झुमेका थिए । महोत्सवमा भोलि आइतबार चर्चित गायिका एन्जिला रेग्मी र नेपाल आइडल सिजन ६ की प्रतिस्पर्धी दर्शना गन्धारी आउनेछिन् ।

    यसैबीच महोत्सवमा आजबाट कराँते खेल सुरु भएको छ । यस अघि भलिबल खेल सम्पन्न भइसकेको छ भने तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु पनि हुनेछन् । मंसिर २ गतेसम्म चल्ने महोत्सवमा तीन सय भन्दा बढी स्टलहरु रहेका छन् ।

    महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा हरेक दिन नेपालका चर्चित कलाकारहरुले प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६:३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ ।

  • अब गर्नुपर्छ, नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ : मुख्यसचिव अर्याल

    अब गर्नुपर्छ, नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ : मुख्यसचिव अर्याल

    काठमाडौँ, २२ कात्तिक –
    नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी रहेको बताएका छन्। उनले विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल हुने जिकिर गरे।

    शनिबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय वृहत् आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। उनले आन्तरिक रोजगारी बढाएर विदेश जानुपर्ने बाध्यता कम गर्दै लैजानुपर्नेमा जोड दिए।

    मुख्यसचिव अर्यालले युवाको आकाङ्क्षा र राज्यको क्षमताबिचमा ठुलो अन्तर रहेको बताउँदै यसबारे आम नागरिकलाई बुझाउन जरुरी रहेको बताए। उनले जेनजी आन्दोलनको सन्देशलाई मनन गर्दै शासन र सेवाप्रतिको अपेक्षा बदलिएकाले विगतमा गर्न नसकिएका कुराहरू अब गर्नुपर्ने बताए। ‘हिजो गर्न सकेनौँ भने अब गर्नुपर्छ, नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ,’ उनले भने।

    मुख्यसचिव अर्यालले नेपालको विकासको मोडल फरक हुनुपर्ने र तीन तहका सरकारबिच समन्वय हुन नसक्दा पनि विभिन्न समस्याहरू आइरहेको जिकिर गरे। उनले फरक फरक ढंगले गरिने विकासले नेपाललाई समृद्ध बनाउन नसक्ने बताए।

  • एमाले सभ्य, शिष्ट र सुसंस्कृत होस् : सचिव भट्टराई

    एमाले सभ्य, शिष्ट र सुसंस्कृत होस् : सचिव भट्टराई

    काठमाडौँ, २२ कात्तिक –
    नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् । क्रान्तिकारी बिचार, गतिशील सङ्गठन र जनमुखी कार्यशैली युक्त एमाले बनाउनुपर्नेमा उनले जोड दिए ।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘हामी चाहन्छौ, हामी बनाउँछौँ– सबैको सम्मान र आत्माग़ौरव युक्त एमाले , सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित एमाले, सभ्य, शिष्ट र सुसंस्कृत एमाले, क्रान्तिकारी बिचार, गतिशील सङ्गठन र जनमुखी कार्यशैली युक्त एमाले ।’

    पार्टी निर्माण सम्बन्धमा कमरेड मदन भण्डारीले स्थापित गरेको मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गरी आजका चुनौतीको सामना गर्न एकताबद्ध हुन उनले अपिल समेत गरेका छन् ।

  • बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

    बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

    ढोरपाटन (बागलुङ), कात्तिक २२ –
    बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ–८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो ।

    दुर्घटनामा ढोरपाटन नगरपालिका–९ का गाडी चालक २७ वर्षीय दिलबहादुर विक र वडा नं ७ का २४ वर्षीय वसन्त अदै घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो । घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको र घाइते अदै घर फर्किएको उहाँको भनाइ छ ।

    पिकअप बुर्तिवाङ–ढोरपाटन सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले दुर्घटनामा परेका सबैको पहिचान खुल्यो, रातिमा दुर्घटना भएको हुँदा हामी उद्धार गरेर अस्पताल पठाउनतर्फ लाग्यौँ, दुर्घटना भएको केही समयमै खबर पायौँ र उद्धार पनि समयमै भयो, तर एक जनाको घटनास्थलमै मृत्यु भयो, घाइतेमध्ये एक जना घर फर्किसक्नुभयो भने चालक उपचाररत हुनुहुन्छ ।” रासस

  • सर्पको डसाइबाट महिलाको मृत्यु

    सर्पको डसाइबाट महिलाको मृत्यु

    दमक (झापा), कात्तिक २२-
    सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८ः३० बजे आसपासमा उहाँलाई गोमन सर्पले दाँया खुट्टामा डसेको थियो । त्यसपछि उहाँलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११ः४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

    गर्मीसँगै वर्षात्का समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदका समयमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताउनुभयो । केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उहाँको भनाइ छ । रासस

  • तोसिमालाई विस्तारित बैठकमा बोल्न नदिएको भन्दै निशा डाँगीको आपत्ति

    तोसिमालाई विस्तारित बैठकमा बोल्न नदिएको भन्दै निशा डाँगीको आपत्ति

    २२ कात्तिक, काठमाडौं ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा डा तोसीमा कार्कीलाई बोल्न नदिएको भन्दै अर्की केन्द्रीय सदस्य निशा डाँगीले आपति जनाएकी छन् ।

    तोसिमा बोल्न पाउनुपर्ने भन्दै निशाले उनको लागि समय मागेकी हुन् । शुक्रबारदेखि चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै गर्दा बोल्न पाउनु पर्ने माग गर्दै तोसिमा उठेर समय मागेकी थिइन्।

    कार्यवाहक सभापति बोलिरहँदा बीचमा समय माग्दै उनी उभिइरहेपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले उनी बसेकै सिटमा पुगेर उनको कुरा सुनेका थिए ।

    बैठकमा सहभागी नेताहरुले भने तोसीमाले अपरिपक्क व्यवहार प्रदर्शन गरिरहेको आरोपमा लगाएका छन् । प्रतिवेदनमाथि समूहगत छलफल हुँदा भने उनले एक समूहको नेतृत्व गरेर आफ्ना धारणा राखिसकेको बैठकमा सहभागीले जानकारी दिएका छन् ।

    तोसिमाले छुट्टै प्रतिवेदन पेस गर्ने भनिए पनि हालसम्म पेस भने भएको छैन । शुक्रबारदेखि सुरु भएको विस्तारित बैठक आज साँझ सकिंदैछ ।

  • खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

    खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

    खोटाङ, कात्तिक २२-
    यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ ।

    कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो ।

    दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ । जसमध्ये छ हजार ९९१ दशमलव छ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिनुभयो ।

    केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका किसानहरू यसअघि वर्षाले क्षति पुर्‍याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन् । थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पुर्‍याएको धान थन्क्याउन यतिखेर किसानहरू खेत–खेतमा जुटिरहेका हुन् ।

    ठूलो मात्रामा धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका किसानहरू बाँदरलगायतका वन्यजन्तुहरूबाट समेत धान जोगाउने हतारोमा छन् । देशभर परेको वर्षाका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मात्र करिब ४१ दशमलव ६३ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

    पन्ध्र वडा रहेको यो नगरपालिकामा तीन हजार ५०० हेक्टरमा धानखेती गरिन्छ । यसमा करिब आठ हजार ९९५ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

    विशेषगरी काटेर पाँजो लगाएको धानमा ठूलो क्षति पुगेको वडा नं ११ खार्मीका युवा कृषक हेमन्त राईले जानकारी दिनुभयो । “अविरल वर्षाका कारण काटेर आलीमा राखिएको धान आलीमै उम्रिएका छन् । अविरल वर्षाले धान, कोदो, फापरलगायतका बाली तथा फलफूलमा ठूलो मात्रामा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “पाकेर थन्क्याउन लागिएको प्रमुख बाली धानमा वर्षाले क्षति गरेपछि भोकमरी हुने निश्चित छ । यसमा सरकारले राहतको व्यवस्था गर्नुपर्छ ।”

    हलेसी तुवाचुङ नगरपालिकामा पनि धान बालीमा ठूलो क्षति भएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताउनुभयो । जिल्लाको दोस्रो ठूलो स्थानीय तहमा पर्ने यो नगरपालिकाका १२० हेक्टरमा धानखेती गरिन्छ । यसमा ३०८ दशमलव चार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

    जन्तेढुङ्गा गाउँपालिकामा पनि धानखेतीमा व्यापक क्षति पुर्‍याएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो । उपप्रमुख खड्काका अनुसार यो गाउँपालिकामा ४० प्रतिशत धानखेती नष्ट भएको छ ।

    सात वडा रहेको यो गाउँपालिकामा २४० दशमलव ९६ हेक्टरमा धानखेती गरिन्छ । यसमा करिब ६१९ दशमलव २७ मेट्रिक टन उत्पादन हुने गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

    बराहापोखरी गाउँपालिकामा पनि धानखेतीमा क्षति पुगेको छ । यो गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी पुर्‍याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो । यो गाउँपालिकामा ६५७ हेक्टरमा धानखेती गरिन्छ । यसमध्ये एक हजार ६८८ दशमलव ४९ मेट्रिक टन उत्पादन हुने गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

    खोटेहाङ गाउँपालिकामा पनि धानखेतीमा ठूलो क्षति पुगेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ । यो पालिकामा एकीन विवरण नआइसके पनि करिब ४० प्रतिशत धान पानीले नष्ट गरेको छ ।

    गाउँपालिकामध्ये सबैभन्दा ठूलो ९नौ वडा रहेको० यो गाउँपालिकामा एक हजार २०० हेक्टरमा धानखेती गरिन्छ । यो गाउँपालिकामा करिब तीन हजार ८४ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।
    दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पानीले धानखेतीमा क्षति पुर्‍याएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभएको छ । यो पालिकामा पनि एक हजार २०० हेक्टरमा तीन हजार ८४ मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    साकेला, रावाबेँसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा पनि झरीले धानबालीमा व्यापक क्षति पुर्‍याएको छ । साकेला गाउँपालिकामा आठ हेक्टरमा दुई हजार ५६ मेट्रिक टन, रावाबेँसीमा ८५० हेक्टरमा दुई हजार १८४ दशमलव पाँच मेट्रिक टन, केपिलासगढीमा ७५० हेक्टरमा एक हजार ९२७ दशमलव पाँच मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा दुई हजार ५७० मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

    जिल्लाका दशवटै स्थानीय तहमा गरी करिब २६ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र खोटाङले उल्लेख गरेको छ । यस वर्ष धान रोप्नका लागि समयमै वर्षा भएकाले उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो । रासस