Blog

  • चितवनमा अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

    चितवनमा अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

    चितवन, कात्तिक २३-
    संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै सम्बोधन हुन सकेको छैन । सङ्घले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग राख्दै आएको छ ।

    त्यसैगरी, एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनुपर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोशाक व्यवस्था गर्नुपर्ने सङ्घको माग छ । देशभर छ हजार एम्बुलेन्स छन् । तीमध्ये ८० प्रतिशत ऐनका कारण नवीकरण हुन नसकेको सङ्घका अध्यक्ष नवराज लामिछानेले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यसअघिका सरकारले हाम्रो मागलाई बेवास्ता ग¥यो, अहिलेको सरकारले सम्बोधन गर्नेमा हामी ढुक्क छौँ ।” नागरिकको बलमा बनेको सरकार र स्वास्थ्य क्षेत्र बुझ्नुभएका मन्त्रीबाट आफूहरुको माग सम्बोधन हुने लामिछानेको भनाइ छ । लामिछानेले केही दिनमै स्वास्थ्यमन्त्रीसमक्ष आफूहरुको माग राख्न लागिएको बताउनुभयो ।

    यसअघि आफ्नो माग पूरा गर्न आग्रह गर्दै सङ्घले स्वास्थ्यमन्त्रीसहित प्रमुख दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । ऐनका कारण स्वास्थ्य संस्थाबाहेक अन्यले नयाँ एम्बुलेन्स ल्याउन नपाउँदा गाउँबस्तीमा एम्बुलेन्सको अभाव भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिलेका पुराना भए, नयाँ आउन सकेका छैनन्, यसले गाउँघरमा एम्बुलेन्स नपाइने समस्या बढ्दै गएको छ ।” रासस

  • पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

    पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

    गण्डकी, कात्तिक २३-
    गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ ।

    आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति न्यून देखिएको थियो ।

    आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीले पछिल्लोपटक थपिएको ठेक्का म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाएको बताउनुभयो । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको काम भने विसं २०८० वैशाखदेखि सुरु भएको थियो । त्यसयता ठेक्काको म्याद दुई पटक थप भइसकेको इञ्जिनियर सुवेदीले बताउनुभयो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन रु दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लिएको थियो ।

    पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु एक अर्ब ३० करोड खर्च हुने जनाइएको छ । हाल पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरणसमेत भइसकेको इञ्जिनियर सुवेदीले बताउनुभयो । अहिले सिर्जनाचोकदेखि सभागृह र जिरो किलोमिटर क्षेत्र र लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम भइरहेको उहँको भनाइ छ ।

    आयोजनाअन्तर्गत पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्र बैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गालगायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो । मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजना कार्यालयले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छाइनेछ ।

    “लेकसाइडको गल्ली नं १५, १६ र १७ लगायत क्षेत्रमा तार बिछ्याउने काम भइसकेको छ, लेकसाइडको भित्री क्षेत्रमा पनि काम सुरु भएको छ”, इञ्जिनियर सुवेदीले भन्नुभयो, “न्यूरोड र चिप्लेढुङ्गा क्षेत्रमा काम सुरु हुन बाँकी छ ।”

    यसअघि विभिन्न कारण देखाउँदै काममा ढिलासुस्ती गरेको निर्माण कम्पनीले तिहारपछि कामलाई गति दिएको उहाँको भनाइ छ । आयोजनाको इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापर्वाहीका कारण आयोजनाको गति सुस्त हुँदै आएको थियो ।

    पोखरालाई विद्युतीय तारमुक्त बनाउन प्राधिकरणले वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो । आयोजनामा मानवीय जनशक्तिभन्दा बढी यन्त्र, उपकरणमार्फत काम हुने गरेको इञ्जिनियर सुवेदीले बताउनुभयो । पर्यटकीय सहर पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो ।

    जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पु¥याउने काम पनि प्राधिकरण नै गरिरहेको छ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको इञ्जिनियर सुवेदीले बताउनुभयो । तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पु¥याइने प्राधिकरणले जनाएको छ ।

    विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने हुँदा ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणले काठमाडौँ, पोखरा, भरतपुरजस्ता ठूला सहरमा तार भूमिगत गर्ने योजना सञ्चालन गरिरहेको छ । रासस

  • रास्वपाद्वारा समानुपातिक उम्मेदवारी आह्वान, जेनजी र प्रवासबाट फर्किएकालाई आरक्षण

    रास्वपाद्वारा समानुपातिक उम्मेदवारी आह्वान, जेनजी र प्रवासबाट फर्किएकालाई आरक्षण

    २३ कात्तिक, काठमाडौं ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको आवेदन आह्वान गरेको छ ।

    प्रवक्ता मनिष झाका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोटको रुपरेखामा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको हो ।

    उम्मेदवार बन्न चाहनेहरुका लागि केही सर्त तथा मापदण्डहरु निर्धारण गरिएको छ ।

    रास्वपाको उम्मेदवार हुन चाहने व्यक्ति सार्वजनिक पदको दुरुपयोग नगरेको, वैवाहिक अवस्था वैध रहेको, जात–लिंगको आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको, आम्दानी पारदर्शी भएको लगायतका स्वघोषणा गर्नुपर्ने छ ।

    उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष भए/नभएको मूल्यांकनका लागि अडिट समिति बनाउने रास्वपाले जनाएको छ ।

    रास्वपाले समानुपातिक बन्दसूचीको खाकालाई थप उन्नत, वैज्ञानिक र वस्तुपरक बनाउँदै संविधानले निर्दिष्ट गरेको जातीय क्लस्टर मात्र नभई क्लस्टरमा आधारित जनसांख्यिक प्रादेशिक अनुपात र २०७९ सालको आम निर्वाचनमा पार्टीले प्राप्त गरेको समानुपातिकतर्फको मतको प्रादेशिक अनुपादका आधारमा ११० जना उम्मेदवारको बन्दसूचीको खाका निर्माण गरेको जनाएको छ । यो व्यवस्थाले प्रदेशको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै प्रदेशको क्लस्टरमा आधारित जनसांख्यिक अनुपातलाई पनि सम्बोधन गरेको रास्वपाको दाबी छ ।

    जेनजीको स्पिरिको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै ४० वर्षबीचका युवाका लागि उनीहरुको जनसंख्या अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ । त्यसैगरी प्रवासबा उम्मेदवार बन्न फर्किने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको रास्वपा प्रवक्ता झाले जानकारी दिए ।

  • राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

    राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

    काठमाडौँ, कात्तिक २३-
    राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गर्नुभएको छ ।

    सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आज आयोजित समारोहमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रुपमा ‘एनटिभी वर्ल्ड’ शुभारम्भ गरिएको हो । यो च्यानलले नेपाल अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्रीहरु समावेश गर्नेछ ।

    कार्यक्रममा राष्ट्रपति पौडेलले पिएसबीको लोगो र मोबाइल एप सार्वजनिक गर्नुभयो ।

    नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले प्रथम वार्षिकोत्सव मनाएको हो । राष्ट्रपति पौडेलबाट २०८१ असोज २२ गते विधेयक प्रमाणीकरण भएको थियो ।

    ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेदेखि सो कानुन कार्यान्वयनमा आएको हो । यो ऐन कार्यान्वयनमा आएसँगै रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठित रेडियो नेपाल र सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थियो । रासस

  • दुर्गा प्रसाई; तपाईंको बस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस्

    दुर्गा प्रसाई; तपाईंको बस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस्

    काठमाडौं, कात्तिक २३-
    मेडिकल व्यवसाई दुर्गा प्रसाईले सुकुम्बासी बस्ती भत्काउने काठमाडौं महानगरका मेयर बालेन शाहको प्रयास सफल हुन नदिने बताएका छन् । आज (आइतबार) बिहान मनोहराको सुकुम्बासी बस्तीमा कोणसभामा प्रसाईले मेयर बालेनको प्रयास सफल हुन नदिने र बालेनसँग राजु पाण्डेविरुद्ध लड्न पनि सहयोग गर्ने बताएका हुन् ।

    प्रसाईले भने, ‘घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ? उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।‘

    ‘अब छाड्ने होइन, मंसिर ७ को तयारीमा लाग्नुस्,’ उनले भने । प्रसाईले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप समेत लगाए ।

  • गोरखामा माइक्रोबस दुर्घटना, १७ जना घाइते

    गोरखामा माइक्रोबस दुर्घटना, १७ जना घाइते

    कार्तिक २३,गोरखा ।
    सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् ।

    भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए ।

    दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए।

    घाइते अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएका रहेका खुल्न आएको प्रहरीले जनाएको छ । उक्त माइक्रोबसमा १९ यात्रु सवार थिए ।रासस

  • चितवनको खैरहनीमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

    चितवनको खैरहनीमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

    चितवन,कात्तिक २३-
    पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई शनिबार राति १२ बजेतिर ठक्कर दिएको थियो ।

    दुर्घटनामा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका ७ बस्ने १९ वर्षीय श्रीराम कंडेल र पछाडि सवार चितवनको राप्ती नगरपालिका ५ बस्ने २० वर्षीया बिमला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनास्थलबाट उनीहरुलाई अचेत अवस्थामा उद्धार गरी पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो । तर उपचारको क्रममा कँडेलको गएराति १ बजेर २५ मिनेटमा र तामाङको २ बजेतिर चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

  • बढ्न थाल्यो वायु प्रदूषण, आज बिहानसम्म सुर्खेत सबैभन्दा बढी प्रदूषित

    बढ्न थाल्यो वायु प्रदूषण, आज बिहानसम्म सुर्खेत सबैभन्दा बढी प्रदूषित

    काठमाडौं कात्तिक,२३
    काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दै गएको छ । आगामी दिनमा प्रदूषण अझै बढ्ने आंकलन गरिएको छ ।

    वातावरण विभागको वेबसाइटमा उल्लेख गरिएको विवरण अनुसार आज बिहान नौ बजेसम्म सबैभन्दा धेरै प्रदूषण सुर्खेतमा छ । सुर्खेतमा वायु प्रदूषणको मात्रा १७० पीपीएम छ ।

    त्यसपछि बढी प्रदूषित सहरको रुपमा भक्तपुर छ । भक्तपुरमा १३२ पीपीएम रेकर्ड भएको छ ।

    त्यसपछि धेरै प्रदूषण रहेका ठाउँको श्रेणीमा क्रमश: दाङको देउखुरी (१२४), काठमाडौंको शंखपार्क (१२३) र ललितपुरको खुमलटार (१०५) छन् ।

    हिजो शंखपार्कमा प्रदूषणको मात्रा ७३ पीपीएम रहेकामा आज बिहान नौ बजेसम्म शंखपार्कको प्रदूषणको मात्रा ह्वात्तै बढेर १२३ पुगेको छ ।

    वातावरण विभागकै वेबसाइटमा राखिएको विवरणअनुसार आगामी दिनमा प्रदूषणको मात्रा थप बढ्ने प्रक्षेपण छ ।

    तत्काल पानी पार्ने उल्लेख्य प्रणाली नभएको र छिमेकी मुलुक भारतमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेकाले त्यो उडेर नेपालसम्म आइपुग्न सक्ने जानकारहरु बताउँछन् ।

    सुक्खायाममा पानी कम पर्ने, हावा नचल्ने र कृषिजन्य पदार्थहरु जलाउने र पर्यावरण मैत्री अनुकूल नहुने विकास निर्माणका काम वायु प्रदूषणका मुख्य कारण मानिन्छन् ।

     

  • दिल्लीको हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा, एक्यूआई ६०० नाघ्यो

    दिल्लीको हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा, एक्यूआई ६०० नाघ्यो

    एजेन्सीएजेन्सी

    आइतबार दिल्लीको वायु गुणस्तर धेरै खराब श्रेणीमा पुग्यो, एक्यूआई ६२१ मापन गरियो।
    दिल्लीका विभिन्न क्षेत्रमा प्रदूषणको स्तर उच्च, आनन्द विहारमा ४१२, अलिपुरमा ४१५ र बवानामा ४३६ एक्यूआई रेकर्ड गरियो।
    विज्ञहरूले स्वास्थ्य जोखिम बढ्ने भन्दै घरभित्रै बस्न र मास्क प्रयोग गर्न सुझाव दिएका छन्।
    नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा आइतबार वायुको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ। बिहान ९:४५ बजे दिल्लीको औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ६२१ रेकर्ड गरिएको छ।

    सहरका धेरै क्षेत्रहरूमा प्रदूषणको स्तर अत्यन्त चिन्ताजनक छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार, बिहान ७ बजे नै आनन्द विहारमा एक्यूआई ४१२, अलिपुरमा ४१५ र बवानामा सबैभन्दा उच्च ४३६ रेकर्ड गरिएको थियो।

    यसैगरी, चाँदनी चौकमा एक्यूआई ४०९ थियो, जबकि आरके पुरम र पटपडगन्जमा यो क्रमशः ४२२ र ४२५ रेकर्ड भएको थियो। बढ्दो प्रदूषणले गर्दा स्वास्थ्यसम्बन्धी जोखिम बढेको भन्दै विज्ञहरूले मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न र आवश्यक भएमा मास्क प्रयोग गर्न सुझाव दिएका छन्।

    आईक्यू एयरका अनुसार पाकिस्तानको लाहोरमा एक्यूआई ३५८ पुगेको छ भने कुवेतको कुवेत सिटीको वायु गुणस्तर सूचकाङ्क २६९ छ । काठमाडौँ ११५ एक्यूआईसहित सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा १२ औँ स्थानमा छ ।

  • आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

    आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

    काठमाडौँ  २३ कात्तिक
    हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।