Blog

  • भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

    भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

    सिरहा, २३ कात्तिकः 
    भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी सिरहाको सीमावर्ती नाका आज रातिदेखि बन्द गरिने भएको छ ।

    जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी गरिएको सूचनामा भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनका कारण सिरहासँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको उल्लेख छ ।

    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छन् ।

    उहाँका अनुसार, यस अवधिमा मानवीय र आकस्मिक बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने छ ।

  • निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग

    निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग

    काठमाडौँ, २३ कात्तिकः 
    पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।
    सभासद् रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमा नै सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।
    सोही अवसरमा प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिमण्डलमा छलफल गर्ने आश्वासन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । उहाँले निर्वाचन खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने धारणा राख्नुभएको थियो । खर्चिलो निर्वाचनका कारण पनि भ्रष्टाचार र चुनावी बेथिति बढेको उहाँको भनाइ थियो ।
    संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात् गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने सभासद्हरुको माग छ ।
    सभासद् डा पाण्डेले भन्नुभयो, “कानुनमा बाध्यकारी व्यवस्था नभएकाले दलहरुले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलालाई टिकट नै दिँदैनन् । यही कारण संसद्मा महिला प्रतिनिधित्व सन्तोषजनक हुन सकेको छैन, अब ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था हुनुपर्छ । त्यसभित्र दलित, जनजाति र अन्य अल्पसङ्ख्यक समुदायको पनि प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।”
    प्रतिनिधिमण्डलमा अधिकारकर्मी उषाकिरण तिम्सेना, सम्झना पौडेल, प्रतीक्षा चापागाईंलगायतको सहभागिता थियो ।
    –––
  • निर्वाचनमा भाग लिन १८ दलले दिए आयोगमा निवेदन

    निर्वाचनमा भाग लिन १८ दलले दिए आयोगमा निवेदन

    काठमाडौँ, २३ कात्तिकः
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १८ वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    आज मात्रै ३ वटा दलले निवेदन दिएका छन् ।

    आज निवेदन दिएका पार्टीहरूमा आवाज पार्टी,नेकपा वामपन्थी र सार्वभौम नागरिक पार्टी रहेका छन् ।

    आयोगले निवेदनमाथि आवश्यक अध्ययन गरिरहेको छ ।

    यसअघि उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी,राष्ट्रिय जेन्जी पार्टी नेपाल,कम्युनिष्ट पार्टी नेपाल लगायत दलहरुले निवेदन दिइसकेका छन् ।

  • म बोल्छु, अनि महाधिवेशन सकिन्छ : ओली

    म बोल्छु, अनि महाधिवेशन सकिन्छ : ओली

    काठमाडौँ, २३ कात्तिकः
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको महाधिवेशन आफ्नो निर्देशनात्मक मन्तव्यपछि बिनाछलफल सकिने बताएका छन्।

    ‘यसपल्ट मैले एकतर्फी रूपमा महाधिवेशनलाई सम्बोधन गर्ने हो। मेरो उद्घाटन मन्तव्य आउँछ, त्यत्ति हो।

    त्यसमा पनि छलफल हुँदैन,’ एमालेको केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले शुक्रबार आयोजना गरेको विद्वत वर्गको अन्तरसंवाद कार्यक्रममा ओलीले भने।

    उनले आफ्नो निर्देशनात्मक सम्बोधनपछि त्यसमा छलफल गर्न नभ्याइने बताएका छन्।

  • इंग्ल्यान्डका सेफ अली जैबले चितवनबाट दोस्रो संस्करणको एनपीएल खेल्ने

    इंग्ल्यान्डका सेफ अली जैबले चितवनबाट दोस्रो संस्करणको एनपीएल खेल्ने

    चितवन, २३ कात्तिकः
    इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर सेफ अली जैबले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजबाट खेल्ने भएका छन् ।

    चितवनले आइतबार उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

    उनले पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए जहाँ टोलीका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए ।

     

     

  • कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    २३ कात्तिक, काठमाडौं ।
    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

    बोर्ड बैठक आज बसेर नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका हुन् । ४ जनाको परीक्षाफल रद्द गरिएको छ ।

    गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए ।

    नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्नुपर्नेछ ।

  • मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको शव भेटियो

    मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको शव भेटियो

    काठमाडौं–
    कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षिया प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

    आइतबार दिउँसो करिब २ बजे मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए ।

    उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

    डिएसपी शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजी कार्य गरिरहेकोमा नभेटिएपछि पुनः कार्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिरा बहादुर जिसिको कमाण्डमा उद्धार सामाग्रीसहित खटिएको माउण्टेन रेस्क्यु तालिम प्राप्त टालीले शव उक्त गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो । अहिले शबलाइ घटनास्थलबाट तल झार्ने कार्य भइरहेको सह प्रवक्ता थापाले जानकारी दिए ।

  • १२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

    १२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

    २३ बात्तिक, काठमाडौं।
    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ ।

    बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ।

    ‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’ बोर्ड स्रोतले भन्यो । पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो ।

    गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए ।

  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    त्रिवेणी (नवलपरासी), कात्तिक २३-
    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यसपटक बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ ।

    अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उहाँले बताउनुभयो ।

    जिल्लाको सुन्तला उत्पादनको प्रख्यात गाउँका रुपमा चिनिएको बबकका सुन्तला किसानले सहजै बगैँचाबाटै सुन्तला बिक्री गर्दै आएको रानाले बताउनुभयो । स्थानीय व्यापारीले बगैँचाबाटै हाल प्रतिकिलो रु ६० देखि रु ६५ सम्ममा सुन्तला बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

    “एकातर्फ सहज रुपमा बगैँचाबाटै सुन्तला बिक्री भएको छ, अर्कोतर्फ सुन्तलाको मूल्यसमेत अघिल्ला वर्षकोभन्दा धेरै मूल्य पाउँदा किसान उत्साहित बनेका छन्”, रानाले भन्नुभयो । गत वर्ष रु ५० देखि रु ५५ प्रतिकिलोसम्म सुन्तला बिक्री भएकामा अहिले मूल्यसमेत केही बढेको उहाँले बताउनुभयो ।

    नवलपुरको पहाडी क्षेत्रमा लगाइएको सुन्तला टिप्न यतिबेला किसान व्यस्त छन् । टिपिएका सुन्तला गाउँबाटै बिक्री हुँदा थप सहज भएको बुलिङ्टार–५, राइकोटका सुन्तला किसान कृष्ण सारुले बताउनुभयो । उहाँको मात्रै करिब एक हजार सुन्तलाका बोट रहेका छन् । सुन्तला पाकेपछि स्थानीय बजारमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

    मौसम राम्रो भएकाले यसपटक सुन्तलाको दानासमेत राम्रो लागेको र बजार भाउ राम्रो प्राप्त गरेको सारुले बताउनुभयो । गत वर्ष राइकोटमा उत्पादन भएका सुन्तला साना दाना भएकामा अहिले दाना राम्रो लागेको उहाँले बताउनुभयो ।

    उत्पादन भएको सुन्तला स्थानीय कावासोती बजार क्षेत्रमा नै आफूले खपत गर्दै आएको सारुले बताउनुभयो । “अहिले सुन्तला बजार पठाउनेक्रम छ, जिल्लाका स्थानीय बजारमा खपत हुँदै आएको छ, पछि के हुन्छ हेरौँ”, सारुले भन्नुभयो ।

    जिल्लाको पहाडी क्षेत्र बबक, राइकोट, जौवारी, ढोडेनी, देउरालीलगायत क्षेत्रमा सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । स्थानीय व्यापारी बगैँचामा नै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीले फोन गरेर सुन्तला माग गरेपछि पठाइदिने गरेको बबकका किसान रानाले बताउनुभयो ।

    नवलपुरका स्थानीय बजारसँगै चितवनको नारायणगढबाट सुन्तला माग हुँदै आएको उहाँले बताउनुभयो । “व्यापारीले माग राम्रै गरिरहेका छन्, यही मूल्य तयगरी जोखेर पठाएमात्रै हुन्छ, कुन बजारमा लगेर बेच्ने भन्ने चिन्ता अहिले छैन”, रानाले भन्नुभयो ।

    किसान आफैँले सुन्तला बजारमा पु¥याउँदा मूल्य निर्धारण कति हुने, कुन ठाउँ लैजाने भन्ने चिन्ता हुने गरेकामा गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउने गरेको उहाँको भनाइ छ । गाउँका विभिन्न स्थानमा स्थानीय व्यापारीलेसमेत सुन्तला सङ्कलन गरी सोही ठाउँबाट खरिद बिक्री गर्दै आएका छन् । यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ ।

    नवलपरासी पूर्व नवलपुरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरद्वारा सुन्तला जातका फलफूल जोन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा व्यावसायिक रुपमा सुन्तलाको उत्पादन बढ्दै गएको छ । कार्यालयका सूचना अधिकारी रणबहादुर महतोका अनुसार नवलपुरमा १८० हेक्टर क्षेत्रफल सुन्तलाजात फलफूलको उत्पादशील क्षेत्र रहेको छ ।

    गत आर्थिक वर्षमा नवलपुरमा एक हजार ४०० टन सुन्तला उत्पादन भएको थियो । सूचना अधिकारी महतोका अनुसार कागती १८ टन उत्पादन भएको थियो । गत वर्ष किसानले सुन्तला बिक्रीबाट करिब रु आठ करोड ९० र कागती बिक्रीबाट रु १७ लाख ८६ हजार आम्दानी गरेका थिए । रासस

  • चितवन राइनोजको ‘ट्यालेन्ट हन्ट’ भोलिदेखि, भरतपुर र हेटौंडामा हुने

    चितवन राइनोजको ‘ट्यालेन्ट हन्ट’ भोलिदेखि, भरतपुर र हेटौंडामा हुने

    चितवन, कार्तिक २३–
    नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज चितवन राइनोजले दुई दिन ट्यालेन्ट हन्ट गर्ने भएको छ । यसपटक बागमती प्रदेशको राजधानी हेटौंडालाई समेटेर चितवनले ‘ट्यालेन्ट हन्ट’ गर्न लागेको हो ।

    पहिलो दिन भोलि (सोमबार) हेटौंडा, भरतपुर र रत्ननगरका विभिभन्न ठाउँमा गरी पहिलो चरणको ट्यालेन्ट हन्ट हुने चितवन राइनोजले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पहिलो दिन मकवानपुरमा हेटौंडा स्पोर्टस् एकेडेमी, चितवनमा इस्र्टन क्रिकेट एकेडेमी र भरतपुर क्रिकेट एकेडेमीमा ट्यालेन्ट हन्ट हुनेछ । उक्त छनोट विहान ९ बजेदेखी सुरु हुने चितवन राइनोजले जनाएको छ ।

    त्यस्तै दोस्रो दिन मंगलबार पहिलो चरणमा छनोट भएकाहरु मध्येबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा अन्तिम छनोट हुने राइनोजले जनाएको छ । अन्तिम छनोट पनि विहान ९ बजेदेखि नै सुरु हुनेछ ।

    ट्यालेन्ट हन्ट कार्यक्रम चितवन राइनोजको दीर्घकालीन प्रतिबद्धताको हिस्सा रहेको क्लबले जनाएको छ । जसअन्तर्गत ग्रासरुट स्तरबाट क्रिकेटलाई सुदृढ गर्दै युवाहरूलाई आफ्नो प्रतिभा देखाउने व्यावसायिक प्लेटफर्म प्रदान गरिने विश्वास छ। चयन भएका खेलाडीहरूलाई उत्कृष्ट प्रशिक्षकहरूले मूल्यांकन गर्ने अवसर प्राप्त हुने र उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई भविष्यमा चितवन राइनोजसँग प्रशिक्षण गर्ने वा टिमको प्रतिनिधित्व गर्ने मौका समेत प्रदान गरिने क्लबले जनाएको छ।

    नेपाल प्रिमियर लिग यसपटक मंसिर १ गतेदेखि टियु क्रिकेट मैदानमा हुँदैछ । पहिलो संस्करणमा चितवन चौथो भएको थियो । चितवन राइनोज अलराउण्डर कुशल मल्लको कप्तानीमा रहेको छ । चितवनमा ४ जना विदेशी खेलाडी समेत सार्वजनिक गरि सकेको छ ।