Blog

  • एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

    एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

    काठमाडौँ, मंसिर २१-
    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अङ्कसहित दोस्रो स्थानमा रहेको विराटनगरले किङ्ग्स पहिलो क्वालिफायर खेल्ने भएका छन् ।

    समान १० अङ्क बटुलेको काठमाडौँ गोर्खाज भने विराटनगरभन्दा पछि पर्दै इलिमिनेटर खेल्ने भएको छ । इलिमिनेटरमा काठमाडौँले लुम्बिनी लायन्सको सामना गर्नेछ । लुम्बिनी सात खेलबाट आठ अङ्क जोडेर प्लेअफमा सुरक्षित भएको हो । यी सबै टोली नयाँ च्याम्पियन बन्ने दौडमा छन् । गत संस्करणको विजेता जनकपुर बोल्ट्स भने यसपटक प्लेअफमा समेत पुग्न सकेन । सुदूरपश्चिमलाई फाइनलमा पाँच विकेटले हराएको जनकपुरले पहिलो संस्करणको उपाधि हात पारेको थियो ।

    सुदूरपश्चिम रोयल्स

    दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेता सुदूरपश्चिम यसपटक उपाधिको दाबेदार टोली हो । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये लगातार छ खेल जितेको थियो । शनिबार भएको अन्तिम खेलमा भने विराटनगरसँग पराजित भएको हो । योसँगै सुदूरपश्चिम छ खेल जित्ने एकमात्र टोली बनेको छ ।

    सुदूरपश्चिमले जितेका हरेक खेलमा नयाँनयाँ खेलाडी ‘म्याच विनर’ बनेका छन् । लिग चरणको पहिलो खेलमा काठमाडौँलाई २९ रनले हराएको खेलमा अलराउण्ड प्रदर्शन गरेका विदेशी खेलाडी प्लेयर अफ द म्याच भएका थिए । उनले ५३ रन जोडे भने बलिङमा दुई विकेट हात पारेका थिए ।

    पोखरा एभेञ्जर्सविरुद्धको दोस्रो खेलमा सुदूरपश्चिमले १८ रनको जीत निकालेको थियो । जसमा ६८ रनको योगदान गरेको टिमलाई जिताएका विदेशी खेलाडी जोस ब्राउन प्लेयर अफ द म्याच चुनिएका थिए ।

    तेस्रो खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको जित निकालेको थियो । जसमा कप्तान ऐरीले अलराउण्ड प्रदर्शन गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए । ब्याटिङतर्फ ३९ र बलिङतर्फ चार विकेट हात पारेसँगै उनले प्लेयर अफ द म्याचको अवार्ड जिते ।

    लगातार चौथो जीत दर्ता गर्ने क्रममा सुदूरपश्चिमले लुम्बिनीमाथि सात विकेटको जीत हासिल ग¥यो । जसमा विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६९ रनको योगदान गरे । विकेट किपरसमेत रहेका भण्डारीले विपक्षी टिमका तीन खेलाडीलाई क्याचआउट समेत गराए । उनी उक्त दिनका प्लेयर अफ द म्याच भए ।

    सुदूरपश्चिमले पाचौँ खेलमा जनकपुरलाई छ विकेटले हरायो । पहिलो संस्करणको फाइनलमा हारेको सुदूरपश्चिमले दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको हो । सुदूरपश्चिमका तर्फबाट इशान पाण्डेले म्याच विनर पारी खेल्दै ५९ रन जोडे । अन्तमा उनलाई नै प्लेयर अफ द म्याचको पुरस्कारसमेत दिइयो ।

    छैटौँ खेलमा चितवन राइनोजलाई सुदूरपश्चिमले ४९ रनले स्तब्ध पा¥यो । यो खेलमा ७५ रन बनाएका विदशी खेलाडी क्रिस लेन प्लेयर अफ द म्याच भए ।

    लिग चरणको सातौँ तथा अन्तिम खेलमा भने विरानगरसँग छ विकेटले हारेको सुदूरपश्चिम उपाधि जित्ने दाउमा छ ।

    सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटा पनि यसपटक उपाधि जित्नेमा ढुक्क देखिएका छन् । उनले भने, “गत वर्षको पनि उपविजेता टोली हौँ । यसपटक हामी जसरी पनि उपाधि जित्ने लक्ष्यमा छौँ । सबै खेलाडी सक्रियताका साथ खेलमा लागेका छन् । कुनै एक खेलाडीको भरमा हामी छैनौँ । जुन कुरा देखिसकेको पनि छ । लिग चरणमा जितेका खेलहरूमा पनि हाम्रो टिमका फरकफरक खेलाडी म्याच विनर बनेका छन् ।”

    विराटनगर किङ्ग्स

    सन्दीप लामिछानेले नेतृत्व गरेको विराटनगर लिग चरणका पाँच खेल जितेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । गत वर्ष प्लेअफमा पुग्न नसकेको विराटनगरले यसपटक भने सुधारिएको प्रदर्शन गरेको छ । योसँगै उसले ट्रफी जित्ने योजना बनाएको छ ।

    लिग चरणका सुरुका तीन खेल जितेर शानदार सुरुआत गरेको विराटनगरले चौथो र छैटौँ खेलमा पराजित भएको थियो । पाचौँ र अन्तिम खेलमा विजयी भएर प्लेअफको यात्रा सुनिश्चित गरेको विराटनगरले पनि बलियो दाबेदारी पेस गरेको छ ।

    पहिलो खेलमा पोखरालाई ५३ रनले हराएपछि लोकेश बमको चर्चा चुलियो । व्यक्तिगत ७२ रन जोडेका लोकेश प्लेयर अफ द म्याचसमेत चुनिए । काठमाडौँमाथि पाँच विकेटको जीत निकालेको दोस्रो खेलमा मर्चेन्ट डे लाङ्गेले उत्कृष्ट खेल्दै महत्त्वपूर्ण दुई विकेट हात पारेपछि उनी प्लेयर अफ द म्याच भए ।

    तेस्रो खेलमा कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच भए । जनकपुरविरुद्धको उक्त खेलमा सन्दीपले चार विकेट हात पार्दा टिमले नौ रनको जित दर्ता गरेको थियो । विराटनगर चौथो खेलमा चितवनसँग ४८ रनले र छैटौँ खेलमा लुम्बिनीसँग पाँच विकेटले पराजित भयो ।

    पाँचौँमा कर्णाली याक्सलाई ती विकेटले हराएको खेलमा बसिर अहमदले ६२ रन पारी खेल्दै म्यान अफ द म्याच चुनिए । सातौँ खेलमा सुदूरपश्चिममाथि छ विकेटको जीत दर्ता गरेको विराटनगरका फाफ डु प्लेसिस प्लेयर अफ द म्याच घोषित भएका हुन् ।

    कप्तान लामिछानेका अनुसार विराटनगर पनि कुनै एक खेलाडीका भरमा नरहेकाले उपाधि जित्नेमा आशावादी छ । उनले भने, “हामी कुनै एक खेलाडीको भरमा छैनौँ । सबै खेलाडीले आ–आफ्नो मेहनतसहित उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । म्याच विनर पनि फरकफरक खेलाडी देखिएकाले एकअर्काप्रतिको विश्वास बढेको छ ।”

    काठमाडौँ गोर्खाज

    पहिलो संस्करणमा नेट रनरेटमा पछि पर्दै प्लेअफको स्वाद चाख्न नपाएका करण केसीको कप्तानीमा रहेको काठमाडौँ यसपटक भने सक्रियताका साथ प्रदर्शन गरिरहेको छ । लिग चरणका सातमध्ये पाँच खेल जितेर प्लेअफमा पुगेको काठमाडौँ च्याम्पियन बन्ने अडानमा छ ।

    काठमाडौँले पहिलो खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदा दोस्रोमा सुदूरपश्चिमसँग २९ रन र तेस्रोमा विराटनगरसँग पाँच विकेटले पराजित भयो । त्यसपछि पुनरागमन गर्दै सबै खेलमा विजयी भयो ।

    काठमाडौँले चौथो खेलमा लुम्बिनीलाई २२ रन, पाचौँमा चितवनलाई ५३ रन, छैटौँमा कर्णाली याक्सलाई छ विकेट र सातौँमा पोखरालाई १३ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    प्लेअफमा पुगेपछि टिमको जोडबल च्याम्पियन जित्नेमा रहेको कप्तान केसीले बताएका छन् । उनले भने, “प्लेअफमा पुगिसकेपछि अबका खेल राम्रो गर्दै च्याम्पियन कसरी बन्ने भन्नेमा ध्यान केन्द्रित छ । लिग चरणमा भएका कमीकमजोरीलाई सुधार गर्दै च्याम्पियन बन्ने लक्ष्य राखेका छौँ ।”

    लुम्बिनी लायन्स

    रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी चार खेल जितेर प्लेअफमा पुगेको छ । सुरुको खेलमा चितवनलाई छ विकेटले हराएर राम्रो सुरुआत गरेको लुम्बिनीले त्यसपछिका तीन खेल लगातार हा¥यो । दोस्रोमा कर्णालीसँग नौ विकेटले, तेस्रोमा काठमाडौँसँग २२ रनले, चौथोमा सुदूरपश्चिमसँग सात विकेटले पराजित भयो ।

    लुम्बिनीले पाचौँ खेलपछि लगातार जीत निकालेर प्लेअफमा स्थान बनायो । पाचौँमा पोखरालाई तीन विकेट, छैटौँमा विराटनगरलाई पाँच विकेटले र सातौँमा जनकपुरमाथि चार विकेटको विजय हात पा¥यो ।

    प्लेअफमा पुगेपछि लुम्बिनीका कप्तान पौडेलले आफ्नो टिमलाई उपाधि जित्न कसैले रोक्न नसक्ने ठोकुवा गरे । उनले भने, “प्लेअफमा पुगेका चारवटै टोलीमध्ये लुम्बिनी बलियो देख्छु, त्यसैले हामीले उपाधि जित्नेमा विश्वस्त छौँ । हामी कसैसँग पनि डराएर खेल्दैनौँ ।”

    प्रतियोगिताको पहिलो क्वालिफायर यही मङ्सिर २३ गते दिउँसो ४ः०० बजे सुदूरपश्चिम र विराटनगरबीच हुनेछ । जित्ने टोली सिधैँ फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले काठमाडौँ र लुम्बिनीबीच हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा भिड्नेछ ।

    इलिमिनेटर खेल मङ्सिर २४ गते दिउँसो ४ः०० बजे हुनेछ । मङ्सिर २५ गते दिउँसो ४ः०० बजे हुने दोस्रो क्वालिफायरको विजेता टोली फाइनल खेल्नेछ । प्रतियोगिताको उपाधि भिडन्त भने मङ्सिर २७ गते दिउँसो ३ः३० बजे हुनेछ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेञ्जर्स, चितवन राइनोज, कर्णाली याक्स र जनकपुर बोल्ट्स सहभागी छन् । रासस

  • एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

    एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

    काठमाडौँ, मंसिर २१-
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन थालिएको छ ।

    पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्ति एकजुट भएर जानुपर्ने आवश्यकता महसुस गराउने गरी अध्यक्ष ओलीका तर्फबाट पर्चा ९पत्र० तयार पारेर पठाउन थालिएको बताउनुभयो ।

    राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई रुपान्तरित गर्नुपर्ने अध्यक्ष ओलीको आग्रह छ । उहाँले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथी, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने पार्टीका रूपमा चित्रण गर्नुभयो । उहाँले वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर चुनौतीको समय’ भएको टिप्पणी गर्नुभयो ।

    यही मङ्सिर २७ गते दिउँसो १२ः३० बजे भक्तपुरको सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । उद्घाटनका लागि एमालेले बागमती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता तथा जनसमुदायलाई विशेष रूपमा उपस्थित गराउने योजना बनाएको सचिव डा भट्टराईले जानकारी दिनुभयो । रासस

  • मिराज ढुंगानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

    मिराज ढुंगानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

    काठमाडौँ, मंसिर २१-
    जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन् । जेनजी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनले यस्तो आग्रह गरेका हुन् ।

    उनले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरुले नगरेको पनि बताए । पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन हुने सम्भावनाप्रति चिन्ता व्यक्त गरे । ढुङ्गानाले अन्तरिम सरकार देश विकासमा असफल भएको अवस्थामा प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने माग गरे ।

  • सिंहदरबार अवलोकन गर्न जाँदै पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग पनि भेट्दै

    सिंहदरबार अवलोकन गर्न जाँदै पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग पनि भेट्दै

    २१ मंसिर, काठमाडौं ।
    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको क्रममा खण्डहर बनेको सिंहदरबार परिसरको अवलोकन गर्ने भएकी छिन् ।

    उनी आइतबार दिउँसो अवलोकनका लागि सिंहदरबार जाने कार्यक्रम रहेको उनी निकटस्थहरूले जानकारी गराएका छन् ।

    सो क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।

    ‘सिंहदरबारमा आगजनीपछि क्षति भएका भवनहरूको अवलोनका लागि जान लाग्नुभएको हो,’ उनी निकट स्रोतले भन्यो, ‘सो क्रममा प्रधानमन्त्री कार्कीसँग पनि भेट्ने कार्यतालिका तय भएको छ ।’

  • मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

    मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

    २१ मंसिर, काठमाडौं ।
    मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानी भन्ने स्थानमा दुईवटा बस ठोक्किएका छन् ।

    घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ ।

    विपरीत दिशामा रहेका बसहरु आज दिउँसो करिब सवा १२ बजेतिर ठोक्किएका थिए । बस ठोक्किएपछि केही यात्रुहरु त्यहीँ फसेका थिए ।

    फसेका यात्रुहरुलाई झ्यालका सिसा फुटाएर उद्धार गर्नुपरेको थियो ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

  • २५ हजार शुल्क सहित रास्वपाले प्रतिनिधिसभा उम्मेदवारका लागि खुलायो आवेदन

    २५ हजार शुल्क सहित रास्वपाले प्रतिनिधिसभा उम्मेदवारका लागि खुलायो आवेदन

    काठमाडौं, मंसिर २१-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारका लागि आजदेखि आवेदन खुलाएको छ ।

    उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले एक सार्वजनिक सूचनामार्फत आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यका लागि आवेदन खुल्ला गरेको जनाएका छन् ।

    पार्टीको मोबाइल एपबाट आवेदन मागिएको छ आवेदन शुल्क २५ हजार तोकिएको छ ।

  • अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

    अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

    २१ मंसिर,कराकास।
    संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रूपमा शपथ ग्रहण गराउँदै सैन्य शक्ति विस्तार गर्ने निर्णयलाई सार्वजनिक गरेको छ।

    अमेरिकाले लागुऔषध तस्करीविरुद्ध कारबाही गर्ने नाममा क्यारिबियन क्षेत्रमा युद्धपोतको बेडा र विश्वकै सबैभन्दा ठूलो विमानवाहक जहाज तैनाथ गरेपछि मदुरोले व्यापक सैन्य भर्तीको आह्वान गरेका थिए। अमेरिकी सेनाले हालसालै २० भन्दा बढी जहाजमा घातक आक्रमण गरेको भनिएको छ, जसमा कम्तीमा ८७ जनाको मृत्यु भएको भेनेजुएलाले दाबी गरेको छ।

    वासिङ्टनले राष्ट्रपति मदुरोमाथि ‘कार्टेल अफ द सन’ नामक समूहको नेतृत्व गरेको आरोप लगाउँदै गत महिना यस समूहलाई आतंकवादी संगठनका रूपमा सूचीबद्ध गरेको थियो। त्यसैबेला मदुरोले अमेरिकी सैन्य उपस्थितिको उद्देश्य आफूलाई सत्ताच्युत गर्नु र भेनेजुएलाको विशाल तेल भण्डार कब्जा गर्नु रहेको आरोप दोहोर्‍याए।

    काराकासस्थित भेनेजुएलाको सर्वाधिक ठूलो सैन्य परिसर फुएर्टे टियुनामा आयोजित समारोहमा कर्नेल ग्याब्रियल रेन्डोनले ‘हामी कुनै पनि परिस्थितिमा साम्राज्यवादी शक्तिद्वारा आक्रमण हुन दिनेछैनौं’ भन्दै नयाँ भर्ती सैनिकहरूलाई सम्बोधन गरे।

    आधिकारिक तथ्यांकअनुसार भेनेजुएलामा हाल करिब दुई लाख सैनिक र थप दुई लाख प्रहरी तैनाथ रहेका छन्।

    यसैबीच, आतंकवाद र दंगा उक्साएको आरोपमा पक्राउ परेका एक पूर्व विपक्षी गभर्नर अल्फ्रेडो डियाजको शनिबार जेलमै मृत्यु भएको मानवअधिकार समूहहरूले पुष्टि गरेका छन्। डियाज सन् २०२४ नोभेम्बरपछि जेलमा मृत्यु हुने कम्तीमा छैटौं विपक्षी व्यक्ति भएको फोरो पेनाल नामक एनजिओले जनाएको छ।

    गत जुलाईको विवादित निर्वाचनपछि उत्पन्न विरोध प्रदर्शनका क्रममा थुप्रै विपक्षी व्यक्ति पक्राउ परेका थिए। धोखाधडीको आरोप लागे पनि मदुरोले तेस्रो कार्यकालको दाबी गरेका थिए। ती विरोध प्रदर्शनमा २८ जनाको मृत्यु भएको र करिब दुई हजार ४०० जना पक्राउ परेका थिए। पछि तीमध्ये करिब दुई हजारलाई रिहा गरिएको थियो।

    फोरो पेनालका निर्देशक अल्फ्रेडो रोमेरोका अनुसार डियाजलाई एक वर्षसम्म एकान्त कोठामा राखिएको थियो र उनकी छोरीलाई मात्र एक पटक भेट्न अनुमति दिइएको थियो। समूहका अनुसार भेनेजुएलामा हाल कम्तीमा ८८७ राजनीतिक बन्दी रहेका छन्।

    विपक्षी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडोले ‘चुनावपछिको दमन’ का क्रममा राजनीतिक बन्दीहरूको मृत्युको कडा निन्दा गरेकी छन्। एडमन्डो गोन्जालेज उरुटियासँगको संयुक्त विज्ञप्तिमा उनले लेखेकी छन्, “उपचार अस्वीकार, अमानवीय वातावरण, अलगाव, यातना तथा अपमानजनक व्यवहार समावेश यी मृत्युका अवस्थाले राज्य दमनको निरन्तर ढाँचालाई उजागर गर्छन्।”

  • किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

    किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

    भक्तपुर, मंसिर २१-
    किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले बागमती प्रदेश स्वस्थ्य मन्त्रालयले यसवर्षदेखि नमूनाका रुपमा ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ ।

    बामगती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले आज यहाँ सञ्चारकर्मीलाई यसबारेमा जानकारी दिँदै किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यलाई सुरक्षित गर्ने मूल उद्देश्यले पार्क सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

    किशोर किशारीमा असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन, यौन रोगको प्रकोप बढ्दै गएको अबस्थामा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा आजको आवश्यकता महसुस गर्दै डिजिटल पार्कको अवधारणा ल्याइएको हो । उहाँले यसै वर्षदेखि नै स्थानीय पालिकासँगको समन्वय र साझेदारीमा कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो ।

    मन्त्री थापाले भन्नुभयो, “किशार किशोरीमा यौनिकता र शरीरको विकासका क्रममा देखिने परिवर्तन, रजस्वला र स्वच्छता, बाल विवाह, जवर्जस्ती करणी, र सुरक्षित प्रजनन स्वास्थ्य, धूम्रपान तथा मद्यपानका असरहरू, यौन दुव्र्यबहार, सचेतनाकाबारेमा विशेषज्ञ विचार, तथ्य र समाधानसम्बन्धी पडकास्टहरूको निर्माण गर्ने, डिजिटल बोर्डमार्फत किशोरकिशोरी जमघट हुने पार्कमा त्यसलाई राखिनेछ ।”

    बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले किशोर किशोरीको शारीरिक र मानसिक विकासमा र उचित परामर्श एवं सन्देश प्रवाह गर्ने गरी देशभरमै पहिलो पटक मन्त्रालयले यो कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

    वागमती प्रदेश स्वास्थ्य निर्देशनालयको महातहतमा सञ्चालनमा आउने यस कार्यक्रमका लागि मन्त्रालयले रु २५ लाख बजेट विनियोजन गरको छ । कार्यक्रम सम्बन्धित पालिकाको साझेदारी र समन्वयमा कार्यान्वयन हुने निर्देशनालयका निर्देशक डा नरेन्द्र झाले जानकारी दिनुभयो ।

    उहाँले कार्यक्रम लागू हुने पार्कमा यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित डिजिटल जानकारीका सहज पहुँच हुने कोठा, हल, बाल, बेलसेप कोठा, एडल्सेन्ट हेल्थ रूम, डिजिटल डिस्प्ले राखे ठाउँ, पोस्टर डिस्प्ले वाललगायतका संरचनाको निर्माण गर्ने र किशोर किशोरीका लागि उपयुक्त एनिमेटेड भिडियोहरू, इन्फोग्राफिक्स र पोस्टरहरूको विकास गरी सन्देशहरु, बृत्तचित्रहरु र सन्देशमूलक साना भिडियोहरु प्रशारण गरिने बताउनुभयो ।

    प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट टिभी तथा स्क्रिन, यूपिएस, इन्टरनेट सेवाका साथै प्रतिक्रियाका लागि क्यूआर कोड सिस्टमको प्रयोग गर्दै सुरक्षित सामग्री प्रविधिहरू व्यवस्थापन गर्ने बताउनुभयो ।

    निर्देशक झाले किशोर किशोरी बढी जमघट हुने सदर चिडियाखाना, त्रिभुवन पार्क, फन पार्क जस्ता पार्कलाई रोज्ने र यो कार्यक्रम हेटौडा वा काठमाडौँको कनै एक पालिकामा सञ्चालन गर्ने गरी पालिका छनोट भइरहेको जानकारी दिनुभयो । रासस

  • विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

    विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

    चितवन,मंसिर २१-
    बिरेन्द्र बहुमुखी क्याम्पसका युवा नेतृत्व बिनय आचार्यले लमजुङका २१ वर्षीय बिस्वराज अधिकारीको उपचारका लागि क्याम्पसमै सहयोग अभियान सुरु गरेका छन्। Severe Aplastic Anemia बाट ज्यानज्यानै जोगाइरहेका अधिकारी हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन्। चिकित्सकले छिट्टै Bone Marrow Transplantation गर्नुपर्ने अवस्था आएको जनाएको छ, जुन नेपालको सामान्य परिवारका लागि अत्यन्तै खर्चिलो प्रक्रिया हो।

    अधिकारीको परिवारले अहिले सम्म करिब ८०–९० लाख खर्च गरिसकेको छ। आर्थिक भार झेल्न नसक्ने अवस्था आएपछि बिनय आचार्यले व्यक्तिगत पहलमा क्याम्पसका विद्यार्थी, स्थानीय समुदाय र सामाजिक अभियन्तासँग समन्वय गरेर सहयोग अभियान विस्तार गरेका छन्।

    आचार्यले भने, “एक जना युवकको जीवन यति ठूला खर्चका कारण जोखिममा परिरहेको छ। हामीले बस हेर्न मिल्दैन। सबैले सानो–सानो सहयोग गरे पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ।”
    उनको नेतृत्वमा सुरु गरिएको यो अभियानले क्याम्पसका सयौं विद्यार्थीलाई मानविय सहयोगमा जोड्दै छ। अभियानले सामाजिक सञ्जालदेखि क्याम्पसका कक्षाकोठासम्म सक्रियता बढाएको छ।

    अधिकारीको उपचारका लागि आर्थिक सहयोग, हौसला र शेयरहरू परिवारका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ।

  • एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

    एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

    सर्लाही, मंसिर २१-
    एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । त्यसका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको छ ।

    यसैबीच, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ । रासस