Blog

  • टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    तुलसीपुर (दाङ),मंसिर २३ –
    नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ ।

    दाङबाट काठमाडौँसम्मको यात्रा गर्दा रु आठ हजार ७७५ भाडा रहेकामा त्यस्ता व्यक्तिलाई रु सात हजार ६४५ मात्रै भाडा लिने व्यवस्था गरिएको यहाँस्थित एयरलाइन्सका प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार हाल टरिगाउँबाट हप्तामा चार दिन उडान भइरहेको छ ।

    आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान भइरहेको जनाउँदै उहाँले यात्रुको सङ्ख्या भने न्यून हुने गरेको छ । दैनिक चार–पाँच जनाभन्दा बढी यात्रु नहुने गरेको उहाँले बताउनुभयो ।

    कात्तिकसम्म यात्रुको सङ्ख्या हुने गरे पनि अहिले यात्रु न्यून हुने गरेका प्रमुख सुनारले उल्लेख गर्नुभयो । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्ग, असहायलाई केही छुटकोसमेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

    विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्दा पनि अनियमित हुने समस्याले यात्रुहरु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ ।

    हाल विमानस्थलको धावनमार्ग ७५० मिटरको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटकपटक उठ्ने गरेको छ । उक्त विमानस्थल विसं २०११ मा स्थापना भएको हो । रासस

  • देशभरका भन्सार कार्यालयहरूमा भन्सार एजेन्ट महासंघको ‘पेन डाउन’

    देशभरका भन्सार कार्यालयहरूमा भन्सार एजेन्ट महासंघको ‘पेन डाउन’

    काठमाडौं मंसिर,२३
    भन्सार एजेन्ट महासंघ नेपालले आज (मंगलबार) देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’सहित विरोध जनाएको छ ।

    महासंघले भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै आन्दोलनरत महासंघले मंगलबार देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको हो ।

    भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्‍याउने वातावरण सृजना भएकाले आन्दोलनमा उत्रिनुपरेको महासंघ अध्यक्ष प्राचिनकुमार थैवले बताए ।

    केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार ऐनको विरोध गर्दै महासंघले आइतवार वीरगञ्ज भन्सार कार्यालय र सोमबार भैरहवा भन्सार कार्यालय ठप्प गरेको थियो ।

    ‘नयाँ भन्सार ऐन जारी भएसँगै देखिएका समस्या एवं भन्सार एजेन्टहरूको पेशासँग सम्बन्धित मागहरू सम्बोधन नगरिए आजै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्छौं’ उनले भने ।

    हालै लागू भएको भन्सार ऐनमा भन्सार एजेन्टको नाम, दण्ड जरिवाना, भन्सार एजेन्टको इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीसँग सम्बन्धित ‘युजर आईडी’ व्यवस्थापन, ‘एक्जिट नोट’ एवं ‘इन्ट्री नोट’ लगायत इजाजत प्राप्त भन्सार एजेन्टहरूवाट मात्र मालबस्तु जाँचपास गर्ने व्यवस्था ऐनमै हुनुपर्ने माग महासंघले राखेको थियो ।

    तर, मागको वेवास्ता गर्दै लागू भएको भन्सार ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको, वैध व्यापारलाई निरुत्साहित गर्दै तजबिजी अधिकारलाई बढावा दिएको महासंघको ठहर छ ।

    भन्सार जाँचपासमा हुने ढिलासुस्ती, भन्सार स्वचालन प्रणालीमा हुने सर्भर समस्या एवं राजश्व भुक्तानी, क्वारेन्टाइनलगायतका समस्याका बारेमा भन्सार विभाग समक्ष ताकेता र समन्वय गर्दा पनि समस्या समाधानका लागि पहल नहँुदा भन्सार जाँचपास प्रक्रिया सहज र सरल हुन नसकेको केन्द्रीय सदस्य घिमिरेले बताए ।

  • जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३० जना घाइते

    जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३० जना घाइते

    काठमाडौं मंसिर,२३
    जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ । ७.६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् ।

    भूकम्पका कारण हजारौं मानिसहरू घरबाट बाहिर निस्कनुपरेको बीबीसीले जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयानुसार सोमबार राति २३:१५ बजे गएको थियो ।

    भूकम्पको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा झण्डै ८० किलोमिटरको दूरी जमिनमुनि ५० किलोमिटर (३१ माइल) को गहिराइमामा थियो ।

    भूकम्पपछि देशमा सुनामीको चेतावनी जारी गरिएको थियो । अहिले चेतावनीलाई हटाइएको छ । यद्यपि, तटहरूमा २७ इन्चसम्मका लहरहरू देखिएका छन् । भकम्पका कारण केही रेल सेवाहरू रोकिएको छ भने हजारौं घरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ ।

    अधिकारीहरूले आगामी दिनमा पनि भूकम्प आउन सक्ने चेतावनी दिँदै आम नागरिकलाई कम्तिमा पनि एक हप्तासम्म ‘हाई अलर्ट’ मा रहन सुझाव दिएका छन् ।

    जापानका प्रधानमन्त्री सनाई तकाइचीले भनेका छन्, ‘भूकम्पलाई लिएर आफ्नो तयारी फेरि जाँच गर्नुहोला र यदि, झटका महसुस भयो भने तुरन्त बाहिर निस्कन तयार रहनुहोला ।’

    न्युज एजेन्सी रोयटर्सका अनुसार झण्डै ९० हजार मानिसहरूलाई घरबाट बाहिर निस्कन आदेश जारी भएको छ ।

     

     

  • आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

    आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल मंसिर २३ गते । मंगलबार । इस्वी सन् २०२५ डिसेम्बर ९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–पंचमी, ३३ घडी २६ पला, बेलुकी ८ बजेर ७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–तिष्य, ४ घडी ५९ पला, बिहान ८ बजेर ४४ मिनेट उप्रान्त अश्लेषा । योग– ऐन्द्र, ३५ घडी ५ पला, बेलुकी ८ बजेर ४६ मिनेट उप्रान्त वैधृती । करण–कौलव, बिहान ८ बजेर ४२ मिनेट उप्रान्त तैतिल, बेलुकी ८ बजेर ७ मिनेट उप्रान्त गर । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कर्कट ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ७ मिनेट । दिनमान २५घडी ५८ पला ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तसँग साना कुरामा राय बाझिनेछ भने साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारोबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । खेलकुद क्षेत्रमा संलग्न व्यापारी तथा खेलाडीहरूका लागी समय उत्तम रहेको छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार, शेयर बजार तथा उद्योगबाट थोरै भए पनि आम्दानी गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समयमा काम गरी प्रशंसक तथा समर्थकहरू जुटाउन सकिनेछ । बुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाइलो गर्दै मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ । गीत संगित तथा मोडलिङ पेसा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच विश्वास बढ्नेछ । होटल, रेष्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको तय गर्न सकिनेछ । विदेशी सामानको व्यापारमा वृद्धि भएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय तथा अध्ययन गर्नेहरूका लागी समयले साथ दिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिने तथा अध्ययनको लगावले आर्थिक तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । खेलकुदको क्षेत्रमा काम गर्ने खेलाडी तथा व्यापारीको लागी समय राम्रो रहेको छ । तर पनि स्वास्थ्यमा समस्या आई कर्जा बढ्ने योग रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । मायालुका साथ दिनभर समय व्यतीत गर्न पाउँदा मन हर्षित हुनेछ । पैतृक सम्पत्तिको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरूको सहयोगमा सवारी साधन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्रा हुनेछ । राज्यको मेकानिजमभित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानी आगामी दिनमा आम्दानीको गतिलो स्रोत बन्नेछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । साइपख लामो दुरीको योग रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । धेरै समय दिए मात्र व्यापार व्यवसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि खेलाडी तथा खेलकुदका सामानको व्यापार गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । व्यवसायकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको छ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः जोडिनेछन् । भौतिक तथा बिलासी वस्तुको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुसी हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछन् । पुँजी बजार तथा व्यापारबाट नाफा कमाउन सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो आम्दानी हुनेछ । खेलकुद, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंले मागे माफी

    प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंले मागे माफी

    काठमाडौं मंसिर,२२
    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माफी मागेका छन् ।

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारसँग आफ्ना मागबारे वार्ता गर्न पुगेका प्रसाईंले सो क्रममा आफ्ना अभिव्यक्ति स्मरण गर्दै माफी मागेका हुन् ।

    ‘मैले भनेका कुरामा सरी भन्छु । माफी माग्छु,’ प्रसाईंले भनेका छन् ।

    साथै, उनले प्रधानमन्त्री कार्कीलाई दुर्गा माताको मूर्ति पनि उपहार दिएका छन् । उनले दुर्गा माताकै रुप धारण गरेर काम गर्न पनि प्रधानमन्त्री कार्कीलाई सुझाए ।

    ‘तपाईँ माता हो दुर्गा हो । त्यो रुप धारण गरेर काम गर्नुहोस्,’ प्रसाईंले प्रधानमन्त्रीलाई भनेको भनाइ उद्धृत गर्दै सहभागी स्रोतले बतायो ।

    आफ्ना विभिन्न मागसहित सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईंले सो क्रममा प्रधानमन्त्री कार्कीलाई बुद्धको मूर्ति उपहार दिएका थिए ।

    नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग छलफल भएको हो ।

    प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो ।

    यो भेटमा प्रसाईंले आफ्नो समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारले ध्यानाकर्षण गराएको बताइएको छ ।

     

  • राप्ती र नारायणीमा घडियाल गणना तथा अनुगमन सुरु

    राप्ती र नारायणीमा घडियाल गणना तथा अनुगमन सुरु

    चितवन, मंसिर २२ –
    राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यही मङ्सिर २१ देखि २८ गतेसम्म गोही गणना तथा अनुगमन गर्न लागिएको हो । उहाँले भन्नुभयो, “हरेक वर्ष गोही नदीमा छाडिन्छ, तिनको अवस्था बुझ्नका लागि गोही गणना तथा अनुगमन गर्ने गरिएको हो ।”

    राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । ती गोहीको सङ्ख्याका लागि गणना गर्न लागिएको हो । थापाका अनुसार राप्ती नदीको लोथरदेखि गोलाघाट हुँदै त्रिवेणीसम्म र नारायणी नदीको गाँजीपुरदेखि गोलाघाटको राप्ती नदीसँगको सङ्गमस्थलसम्म गणना गरिने छ ।

    गोही गणनाका लागि निकुञ्जका प्राविधिक, नेपाली सेना र बोटे समुदायका व्यक्ति परिचालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गोही गणना तथा अनुगमनका लागि आठ जनाको टोली खटिएको छ ।” गणनाका लागि नदीमा भएका भङ्गालाहरुमा आधारित भएर समय बढी लाग्नसक्ने उहाँले जानकारी दिनुभयो ।

    यहाँ हुर्काइएका घडियाललाई देशका विभिन्न नदीमा छाड्ने गरिन्छ । सन् १९९५ देखि हालसम्म देशका विभिन्न नदीमा गरी दुई हजार १०५ गोही छाडिएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा १३३ र यस आर्थिक वर्षमा १५ गोही छाडिएको छ । नदीमा छाडिएका गोहीमध्ये कतिपयलाई नदीले बगाएर लैजाने गर्दा गोहीको सङ्ख्या अपेक्षाकृत हुन नसकेको उहाँले बताउनुभयो ।

    गत वर्ष गरिएको गणनाका क्रममा ती नदीमा ३५२ वटा घडियाल गोही भेटिएका छन् । राप्ती नदीमा २०६ र नारायणी नदीमा १४६ गोही भेटिएका थिए । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् ।

    सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको सूचना अधिकारी थापामगरले बताउनुभयो । – रासस

  • अण्डाको मूल्य हालसम्मकै उच्च

    अण्डाको मूल्य हालसम्मकै उच्च

    चितवन, मंसिर २२-
    विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् ।

    देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ । त्यसअनुसार ठूलो (एक्सएल)अण्डा प्रतिक्रेट (३० को) रु ५८०, ठूलो अण्डा रु ५६५ र मिडिएम रु ५५० कायम गरिएको छ । यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट रु ५६० पुगेको थियो । क्रमशः मूल्य घटेर रु ४०० मा झरेको थियो ।

    सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु २० ले बढेको हो । उहाँका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “भारतीय सीमा नाका कडाइ गर्न सकियो भने नेपाली कृषकले मूल्य पाउने देखियो ।” सरकारी निकायले सीमा क्षेत्रमा कडाइ गरेर नेपाली किसान बचाउनुपर्ने उहाँको भनाइ छ । सङ्घका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमा समेत अण्डाको मूल्य बढेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत कम भएको उहाँले बताउनुभयो ।

    अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु १६ दशमलव ५७ पर्न आउँछ । अहिलेको दरमा अण्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाएको उहाँले बताउनुभयो । पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष एवं सङ्घको अण्डाको बजारीकरण अभियानमा लागि रहनुभएका राजेन्द्र लामिछाने जाडो महिनामा अण्डाको खपत बढ्ने बताउनुहुन्छ ।

    उहाँको भनाइमा जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण पनि माग बढेको हो । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ । अण्डाको मूल्य नपाएपछि साना किसान विस्थापित भएका छन् भने बैङ्किङ् ऋण लिएर किसानहरुले ठूलो सङ्ख्यामा कुखुरा पाल्दा माग धान्न सकेको छ । – रासस

  • काठमाडौंको सभामा हर्कले भने– हामी नै जित्छौं, सरकार बनाउँछौं

    काठमाडौंको सभामा हर्कले भने– हामी नै जित्छौं, सरकार बनाउँछौं

    काठमाडौं मंसिर,२२
    श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नै पार्टी चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् ।

    काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् ।

    उक्त कुरा आफूहरूले घोषणापत्रमा नै लेखेको साम्पाङको भनाइ छ ।

    ‘जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के हो भने हाम्रो विचार अनुसारको राज्य पनि हुनुपर्छ भन्ने हो । त्यसकारण हामीले घोषणापत्रमै लेखेका छौं,’ साम्पाङले भने, ‘हामीले नै जित्छौं, कुनै शंका छ ? हामीले नै जित्छौं, हामीले नै सरकार गठन गर्छौं ।’

    आफूहरूको नेतृत्वको सरकारले जेनजीको माग सम्बोधन गर्न आयोग बनाउने पनि उनले बताए ।

    ‘त्यसपछि जेनजीको एउटा आयोग बनाउँछौं । जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नुपर्‍यो नि । ८० वर्षको पुस्ता र हिजो अस्तिको युवा पुस्ताले भनेको कुरा बुझ्छ ?,’ साम्पाङले भनेका छन् ।

    यो देशको अग्रगामी छलाङ मार्ने योजना आफ्नो पार्टीले ल्याउने उनको जिकिर थियो ।

     

  • एमाले महाधिवेशन : पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाइँदै

    एमाले महाधिवेशन : पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाइँदै

    काठमाडौं मंसिर,२२
    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउने भएका छन् ।

    आजै दिउँसो पार्टी केन्द्रीय कार्यालयमा अवधारणापत्र बुझाउने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

    पोखरेलको अगुवाइमा बनेको अवधारणापत्र सार्वजनिक पनि गरिने उपाध्यक्ष पाण्डेले बताए ।

    ‘आजै हामी हाम्रो समूहको तर्फबाट कमरेड ईश्वर पोखरेलको अगुवाइमा अवधारणापत्र सार्वजनिक गर्दैछौं ।

    हामी पार्टी कार्यालय वा अध्यक्षलाई दिएर पत्रकार सम्मेलन गर्दैछौं,’ उनले भने ।

     

  • प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै

    प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै

    २२ मंसिर, काठमाडौं –
    प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबिच आज भेटवार्ता हुँदैछ । दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ताको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    यसअघि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले प्रसाईंलाई पत्राचार गरेर मंसिर २२ गते वार्तामा आउन भनेका थिए ।

    यसअघि प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए । सो भेटमा प्रसाईंले प्रधानमन्त्रीलाई भेटेर आफ्ना भनाइ राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

    सोही आग्रह अनुसार आज दिउँसो तीन बजेको समय उपलब्ध गराइएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

    सरकार र प्रसाईंबीच वार्ताको सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवन न्यौपानेले गर्दै आएका छन् ।