Blog

  • हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ

    हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ

    काठमाडौँ, २२ मङ्सिर –
    नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । शाक्यको रिट सोमबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो ।

    शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका हुन् । यसअघि गत कात्तिक २१ गते शाक्यको रिटमा सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

    शाक्यको रिटसँगै कुलमानले आफूलाई प्राधिकरणको निर्देशबाट हटाउने सरकारको निर्णयविरुद्ध दिएको रिटलाई पनि साथै राखेर सर्वोच्चले सुनुवाइका लागि पेशी तोकेको छ । यसअघि कुलमानको कार्यकाल बाँकी रहँदै केपी ओली नेतृत्वको सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध कुलमान सर्वोच्च पुगेका थिए ।

    २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ५ गते नै पदबाट हटाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेको थियो । सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । सरकारको उक्त निर्णयबाट आफू अन्यायमा परेको भन्दै शाक्य अदालत गएका हुन् ।

    यसअघि पनि २०७७ साल माघ २६ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त सरकारले २०७८ साउन २५ गते पदबाट हटाएको थियो ।

    त्यस निर्णयविरुद्ध समेत सर्वोच्च अदालतमा रिट दायर गरेका शाक्यको मुद्दामा ३२ पटक पेशी सरेपछि अदालतले कुनै फैसला दिएको थिएन । फैसला नै नपाई उनको ४ वर्षे कार्यकाल सकिएको भएपनि केपी ओली नेतृत्वको सरकारले तत्कालीन ऊर्जा मन्त्री दीपक खड्काको जोडबलमा यस अघि कुलमानको कार्यकाल सकिने बेला उनलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो ।

  • नागढुङ्गा–मलेखु सडक १ साता आंशिक बन्द हुने

    नागढुङ्गा–मलेखु सडक १ साता आंशिक बन्द हुने

    धादिङ मंसिर २२, 

    नागढुङ्गा–मलेखु सडक खण्ड एक साताका लागि आंशिक बन्द हुने भएको छ ।

    सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन उक्त सडक यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा यातायात आवतजावत बन्द गर्न लागिएको हो ।

    सडक आयोजनाले निकालेको सूचनाअनुसार नागढुङ्गाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म आवागमन बन्द हुनेछ ।

    यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सडक आयोजनाले आग्रह गरेको छ ।

    त्रिभुवन राजपथको नागढुङ्गा–नौबीसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ ।

    काठमाडौं जिल्ला भित्रपर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको छ ।

    यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।

    एकै पटकमा धेरै गह्रौं उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने र त्यसबेला दुर्घटनाको जोखिम बढ्ने भएकाले आंशिक रूपमा सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिङ सडक आयोजनाका इन्जिनियर केशव ओझाले जानकारी दिए ।

    यो समयमा नागढुङ्गा–पिपलामोड खण्डको लागि काठमाडौंतर्फबाट आउने सवारीलाई नागढुङ्गा चेकपोस्टमा र गल्छीबाट काठमाडौंतर्फ जाने सवारीलाई खानीखोला र जुँगे खोलामा रोकिनेछ ।

    गल्छी–गजुरी खण्डको लागि नौबीसेतर्फबाट आउने सवारीलाई गल्छी बैरेनी, मासटार र मुग्लिनतबाट नौबीसेतर्फ आउने सवारीलाई मलेखु क्षेत्रमा रोकिने सडक आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

    अत्यावश्यक अवस्थामा साना तथा मझौला गाडीले सीतापाइला–भिमढुङ्गा–रामकोट–धार्केको सडक प्रयोग गर्न सक्नेछन् ।

    सामाखुसी–टोखा–छहरे हुँदै गल्छी निस्कने र जरेखेतबाट त्रिशूलीको पूल तरेर घाटबेसीको पूल निस्कने वैकल्पिक बाटो पनि प्रयोग गर्न सक्नेछन् ।

    एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शव वाहनजस्ता अत्यावश्यक गाडी भने ट्राफिक प्रहरीको सहजीकरणमा चल्न सक्नेछ ।

  • गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु

    गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु

    नयाँ दिल्ली । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको आगलागीमा कुल २५ जनाको मृत्यु भएकोमा तीमध्ये चार जना नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    मृतक २५ मध्ये ५ जना पर्यटक र २० जना नाइट क्लबकै स्टाफ रहेको बताइएको छ । मृत्यु हुने ५ पर्यटकमध्ये ४ जना दिल्लीका रहेको जनाइएको छ । दिल्लीका सरोज जोशी, अनिता जोशी, कमला जोशी र विनोद कुमारको मृत्यु भएको हो । मृत्यु भएका अर्का एक पर्यटक भारतकै कर्नाटकका इशाक रहेको जनाइएको छ ।

    आगलागीमा परेर मृत्यु भएका २० स्टाफमध्ये उत्तराखण्डका पाँच जना छन् । त्यस्तै नेपालका चार जनाको मृत्यु भएको जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार क्लबमा काम गर्दै आएका नेपाली नागरिक चुर्णबहादुर पुन, विवेक कटुवाल, सबिन र सुदीपको मृत्यु भएको हो । मृतक चार नेपाली नागरिकको ठेगाना भने खुलाइएको छैन ।

    यस्तै, महाराष्ट्रका दुई, उत्तर प्रदेशका दुई, झारखण्डका तीन, असमका तीन र पश्चिम बंगालका एक जनाको मृत्यु भएको छ । उनीहरू पनि सोही क्लबका स्टाफ रहेको बताइएको छ ।

     

  • कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल मंसिर २२ गते । सोमबार । इस्वी सन् २०२५ डिसेम्बर ८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–चतुर्थी, ३६ घडी ३८ पला, बेलुकी ९ बजेर २२ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–पुनर्वशु, ७ घडी १ पला, बिहान ९ बजेर ३२ मिनेट उप्रान्त तिष्य । योग– ब्रम्ह, ४० घडी ४१ पला, बेलुकी ११ बजेर ० मिनेट उप्रान्त ऐन्द्र । करण–बव, बिहान १० बजेर ९ मिनेट उप्रान्त बालव, बेलुकी ९ बजेर २२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–कर्कट ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ७ मिनेट । दिनमान २५घडी ५९ पला ।

    हेर्नुस आजको राशीफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरायसी समस्या बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ । कृषि तथा पशुपालन व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ । खेलकुद तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । खानपान, मनोरञ्जन तथा यात्रामा समय व्यातित गर्न सकिनेछ । वित्तीय बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार तथा शेयर बजारको लगानीबाट आम्दानीमा बढोत्तरी हुनेछ । आफ्ना भनाइहरू जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरूका लागी समय फलदायी रहनेछ । खेल क्षेत्रमा संलग्न खेलाडी, पत्रकार तथा व्यापारीको लागी समय उत्तम रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा विलासिताका बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरू भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ । तर पनि सवारी साधन प्रयोग गर्दा र यात्रा गर्दा ध्यान दिनुहोला ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) महत्त्वाकाङ्क्षी तथा ठुला योजनाहरू तत्काल सुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावश्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेको छ, नराम्रा घट्नाहरु हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ । तर पनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् । खेलाडी तथा खेल क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सीमित स्रोत साधनको प्रयोग मार्फत असीमित आवश्यकता परिपूर्ति गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापार तथा शेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । खेलाडी तथा दर्शकहरूका लागी समय उत्तम रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाइदा हुनेछ । कीर्तिमानी काम गरी नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । शेयर बजार तथा व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । खेलाडी तथा खेल क्षेत्रमा संलग्नहरूका लागी समय राम्रो रहेको छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । पढाइ लेखाइकै सिलसिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नीबिच अझ विश्वास बढेर जानेछ । नाफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । शेयर बजार, खाद्यान्न, निर्माण सामाग्रीको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलामा भनेजस्तो नतिजा हात नपर्न सक्छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । शेयर बजार तथा व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजीमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने योग रहेको छ । खेलकुद तथा मनोरञ्जनका क्षेत्रमा समय व्यातित हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विवाद तथा प्रतिस्पर्धामा तपाईँको जीत हुनेछ । पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

    ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

    काठमाडौँ, २१ मङ्सिरः
    सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

    गृह मन्त्रालयले आज एक सूचना जारी गरी परिचयपत्र लिन छुटेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफैँ उपस्थित भएर आवश्यक विवरण पेस गरी प्रक्रियामा आउने अनुरोध गरेको हो । मन्त्रालयले हालसम्म ५३६ जना घाइतेले परिचयपत्र बनाइसकेको पनि जनाएको छ ।

    हाल जिल्ला प्रशासन कार्यालयबाट धमाधम घाइतेहरूको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा विवरण पठाइरहेको पनि जनाइएको छ ।

    यसैबीच काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रवक्ता मुक्तिराम रिजालले कार्यालयबाट कुल १६९ जना घाइतेको वर्गीकरण गएिको जानकारी दिनुभएको छ । तीमध्ये अति गम्भीर घाइते १५, गम्भीर घाइते ५१, मध्यम घाइते ३६ र सामान्य घाइतेमा ६७ जना रहेका उहाँले बताउनुभयो ।

  • दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

    दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

    दोलखा, २१ मङ्सिरः 
    दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
    यहाँको तामाकोशी–मन्थली सडकअन्तर्गत बैतेश्वर गाउँपालिका–६ स्थित तामाकोशी नदी नजिकै आज भएको मोटरसाइकल दुर्घटनामा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका ३० वर्षीय अङ्कितराज उप्रेतीको मृत्यु भएको हो ।
    दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा मेलुङ गाउँपालिका–१ पवटीका  ३० वर्षीय दोर्जे लामा घाइते भएका र उहाँको  अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिनुभयो ।
  • एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

    एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

    काठमाडौँ, २१ मङ्सिरः 
    नेपाल प्रिमियर लिग (एनपिएल) मा  अर्धशतकको सङ्ख्या ३५ पुगेको छ । आज जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३५ पुगेको हो ।

    उनले आज कर्णाली याक्सविरुद्ध ३७ बलमा एक चौका चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनको जारी सिजनमा दोस्रो अर्धशतकसमेत हो ।

    यस सिजनमा ३५ अर्धशतक जोड्नेमा २९ खेलाडी छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटनले र  कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

    यस्तै , सुदूरपश्चिम रोयल्सका  विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिश लिन ईशान पाण्डे, विराटनगर किंग्सका  लोकेश बम, साम हिजलेट, फाफ डू प्लेसिस,  मार्टिन गुप्टिल,  बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम, रिसि धवन, चितवनका  डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका भीम सार्की,  जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका  डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् ।

    कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

  • क्यानका निर्देशक भण्डारीसँग ५ लाख धरौटी माग

    क्यानका निर्देशक भण्डारीसँग ५ लाख धरौटी माग

    २१ मंसिर, काठमाडौं-
    भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीविरुद्ध अदालतले ५ लाख धरौटी माग गरेको छ ।

    विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई भण्डारीसँग ५ लाख धरौटी माग गर्ने आदेश गरेको हो ।

  • कर्णालीले जनकपुरलाई ३ रनले हरायो

    कर्णालीले जनकपुरलाई ३ रनले हरायो

    २१ मंसिर, काठमाडौं-
    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लिग चरणका खेल सकिएका छन्।

    आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि कर्णाली याक्सले ३ रनको रोमाञ्चक जित निकालेको छ।

    अन्तिम खेलमा जित निकालेसँगै ७ खेलबाट ४ अंक जोडेर कर्णाली छैटौं भएको छ।

    साविक विजेता जनकपुर भने २ अंकसहित पुछार अर्थात् आठौं भयो। जनकपुरले एक खेलमा मात्र जित निकाल्न सक्यो।

    अन्तिम खेलमा रोमाञ्चक जित निकाल्ने क्रममा कर्णालीले १३० रनको लक्ष्य पछ्याएको जनकपुरलाई ७ विकेटको क्षतिमा १२६ रनमै रोक्यो।

    अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। जसमा कर्णालीका नन्दन यादवले पहिलो बलमा सञ्जय कृष्णमूर्तिलाई ५१ रनमा आउट गरे।

  • निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

    काठमाडौँ, २१ मङ्सिरः
    अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा  प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने बताउनुभएको छ ।

    नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को १६औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उहाँले विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त जिम्मेवारीबमोजिम निर्वाचनलाई केन्द्रमा राखेर सफलतापूर्वक सम्पन्न गर्ने पक्षमा होमिएको बताउनुभयो ।

    उहाँले तोकिएको समयमै निर्वाचन सम्पन्न नभएमा देश अनिश्चय तथा अस्थिरताको दिशातर्फ जानसक्ने उल्लेख मन्त्री खनालले सुरक्षित एवम् भयरहित वातावरणबीच आम जनताको उल्लेखनीय सहभागितासहित निष्पक्ष चुनाव गराउन सरोकारवाता पक्षसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

    उहाँले अन्तरराष्ट्रिय जगत्ले नेपालको आर्थिक विकासप्रति राम्रो मूल्याङ्कन गरिरहेको जानकारी दिनुभयो । आर्थिक प्रगतिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँदै अर्थमन्त्री खनालले भन्नुभयो, “निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । उनीहरूमाथिको आक्रमण ठीक होइन । निजी क्षेत्रको संरक्षण गर्न सबैले जोड दिनुपर्छ ।”

    सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट हुनेगरेको अनावश्यक टीकाटिप्पणीका कारण समाज र राष्ट्रलाई सेवा गरौँ भन्ने असल व्यक्ति एवम् सङ्घसस्थाहरू हतोत्साही हुनेगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिन सरकार तयार छ । विधि ठीक भएन भने सुधार गर्न सकिन्छ तर उद्यमीमाथि गलत कदम चालियो भने अर्थतन्त्रमा नकारात्मक असर पर्छ, सदैव देश र जनताका पक्षमा काम गरौँ ।”

    मन्त्री खनालले राज्यका शक्तिशाली व्यक्तिहरुबाटै भ्रष्टाचार बढेपछि भएको जेनजी आन्दोलनको भावनालाई समेटेर सुशासन तथा सेवाप्रवाह पारदर्शी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।