Blog

  • निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

    निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

    काठमाडौँ, मंसिर २३ –
    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनुभएको हो ।

    भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनस्र्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिनुभयो ।

    सो क्रममा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गर्नुभयो ।

    सीमा अपराध रोकथाम, चोरी तस्करी, अवैधवस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवैतर्फका सीमा सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिनुभयो । रासस

  • देउवाले भने अन्तिमपटक डडेल्धुराबाट चुनावी प्रतिस्पर्धा गर्छु

    देउवाले भने अन्तिमपटक डडेल्धुराबाट चुनावी प्रतिस्पर्धा गर्छु

    काठमाडौं , मंसिर २३-
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने बताएका छन् ।

    डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताएका छन् ।

    गृहजिल्ला डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग आज निवास महाराजगञ्जमा भएको कुराकानीमा पनि सभापति देउवाले आफू अबको चुनाव डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार हुने कुरा बताएका हुन्।

    कांग्रेसले यही महिनाको अन्तिमसम्म केन्द्रमा नाम सिफारिस गर्न परिपत्र गरेको छ । निर्वाचन क्षेत्रीय समितिले प्रदेश समितिलाई मंसिर २५ भित्र नाम पठाउन भनिएको छ । कांग्रेस विधान अनुसार एक महिला सहित तीन जनाको नाम उपल्लो तहमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

    देउवाले २०४८ सालदेखि निरन्तर डडेलधुरामा चुनाव जित्दै आएका छन् ।

  • चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?

    चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?

    २३ मंसिर,काठमाडौं।
    पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष पूर्णबहादुरको सारङ्गीले एतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ।

    कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन्। चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको यही मङ्सिर २० गतेसम्मको तथ्यांकअनुसार चलचित्र परानले करिब १७ करोडको व्यापार गरेको छ।

    गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रले घरेलु बजारमा १६ करोड ९७ लाख ९३ हजार ३५४ को व्यापार गरेको छ। बसाइँसराइ र पारिवारिक कथामा तयार भएको उक्त चलचित्रलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन्।

    “चलचित्र परानलाई दर्शकले आफैंले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौं, बुबाछोराको कथालाई धेरै दर्शकले आफूसँग जोडेर प्रतिक्रिया दिनुभएको छ, यो हाम्रै समाजको कथा हो”, निर्देशक आचार्यले भने।

    नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रका लागि हालसम्म पाँच लाख ९८ हजार ३०९ वटा टिकट बिक्री भएका छन्। चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन्।

    साथै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएका चलचित्र ‘जेरी अन टप’ ले तीन लाख ९१ हजार ९९२ वटा टिकट बिक्री गर्दै १२ करोड २६ लाख छ हजार २४० को व्यापार गरेको छ।

    अभिनेता अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन्। सगरमाथा आरोहण र प्रेम कथामा आधारित उक्त चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।

    कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ ले दुई लाख सात हजार ७१४ टिकट बिक्री गरी छ करोड २३ लाख ६९ हजार २०० को व्यापार गरेको छ। दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, प्रेम सुब्बा, पुस्कर गुरुङलगायतकका कलाकारले अभिनय गरेको उक्त चलचित्रमा लिम्बू समुदायको जारी परम्परा र च्याब्रुङको कथालाई मिसाएर पटकथा तयार गरिएको छ। यो चलचित्र गत कात्तिक २१ गतेदेखि प्रदर्शनरत छ।

    बाल गायकका रुपमा परिचित भएका अशोक दर्जीको जीवनीमा आधारित रहेर तयार गरिएको चलचित्र ‘मनबिनाको धन’ ले सोही अवधिसम्म तीन करोड ७९ लाख दुई हजार ८७९ को व्यापार गरेको छ।

    टंक बुढाथोकीले निर्देशन गरेको उक्त चलचित्रका लागि हालसम्म एक लाख ४५ हजार ५९ वटा टिकट बिक्री भएका छन्। गत कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको चलचित्रमा गायक दर्जीसँगै नीता ढुंगाना, सरोज खनाल, एआर बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन्।

    यही मंसिर १२ गतेदेखि प्रदर्शनरत चलचित्र ‘हर्ष’ ले गत शनिबारसम्म घरेलु बजारमा २८ लाख दुई हजार ३४६ को व्यापार गरेको छ। एकता पौडेलले निर्देशन गरेको उक्त चलचित्रका लागि आठ हजार ४३६ वटा टिकट बिक्री भएका छन्।

    चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायत कलाकारले अभिनय गरेका छन् ।

  • एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

    एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

    काठमाडौँ, मंसिर २३ –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ ।

    विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

    बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने पाउने हुँदा प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा दुई हजार ६१३ सहभागी हुनेछन् । ती सबैका लागि यही मङ्सिर २५ गतेभित्र परिचयपत्र छपाइ सकिने तयारी गरिएको सो पार्टीले जनाएको छ । रासस

  • उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

    उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

    महोत्तरी, मंसिर २३ –
    सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आपूmहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् ।

    “हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर प्रतिक्विन्टल रु ७५० पाउनुपर्छ भन्ने थियो । तर सरकारले मूल्य र अनुदान निर्धारणमा ६९० रुपैयाँ मात्रै निर्धारण गरिदियो”, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भन्नुभयो । उहाँका अनुसार मूल्य र अनुदानसमेत गर्दा गत वर्षभन्दा प्रतिक्विन्टल रु ७० ले बढेको छ । सरकारले सोमबार चिनी उद्योगले दिने मूल्य प्रतिक्विन्टल रु ६२० र सरकारले दिने अनुदान रु ७० गरी जम्मा प्रतिक्विन्टल रु ६९० निर्धारण गरेको छ ।

    यतिबेला खुट्टी उखु ९दोस्रो वर्षको बाली० चाँडै काटेर अन्य फसल समयमै लगाउन पर्ने दबाबले किसान अब चाँडै उद्योग सञ्चालन पर्खेर बसेका छन् । “अहिले हामीसँग मूल्यमा चित्त दुखाएर सरकारसँग निहुँ खोज्ने समय छैन, अब खुट्टी उखु काट्न ढिलाइ भए खेतबारी छ महिना बाँझै बस्ने चिन्ता छ”, भङ्गाहा–४ का किसान अरुण गिरी भन्नुहुन्छ, “अब चाँडै उद्योग सञ्चालन होस् भन्ने हतारो छ ।” एकपटक लगाएर दुई वर्ष बाली लिन पाइने उखुको पहिलो वर्षको फसललाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ । खुट्टी उखु काटेर पुस तेस्रो साताभित्र अन्य बाली लगाइ सक्नुपर्ने समयको दबाबमा अहिले आपूmहरु रहेको गिरीको भनाइ छ ।

    पुस तेस्रो साताभित्र अर्को बाली नलागे असारसम्म पर्खन पर्ने किसानको भनाइ छ । “अहिले बाली लगाउन नपाए खेतबारी रुखिन्छ, अनि जेठ÷असारमा पर्ने पानी पर्खन पर्ने हुन्छ”, बर्दिवास–९ पशुपनिगरका किसान रामविनोद महतोले भन्नुभयो, “यसैले अहिले खुट्टी उखु काट्ने हतारो परेको हो ।”

    उखु किसान र यिनका प्रतिनिधिसंस्था उखु उत्पादक कृषक सङ्घ, उखु उत्पादक किसान महासङ्घले प्रत्येक वर्ष उखुको मूल्य निर्धारण कात्तिक मसान्तभित्र गरीसक्नुपर्ने र मङ्सिर दोस्रो साताभित्रै खुट्टी उखुको क्रसिङ खोल्नुपर्ने माग राख्दै आएका छन् । सरकारले सधैँजसो किसानलाई मूल्य मान्न बाध्य हुने बेला पारेर मूल्य निर्धारण गर्ने गरेको बर्दिवास–१२ बिजलपुराका किसान विश्वनाथ सिंह बताउनुहुन्छ ।

    “सरकारले यसपाली उखुको मूल्य प्रतिक्विन्टल रु ३५ बढ्यो । अनुदान रु ७० दिने घोषणा ग¥यो”, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष कुशवाहा भन्नुहुन्छ, “गत वर्षभन्दा यो निकै राम्रो हो ।” गतवर्ष उखुको मूल्य रु ५८५ प्रतिक्विन्टल र अनुदान सरकारले रु ३५ मात्र दिएको थियो ।

    जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अझै सञ्चालनको सुरसारमा नहुँदा खुट्टी उखु काट्ने बेला घर्किन लागेको किसानको चिन्ता छ । उद्योगले अब मूल्य निर्धारणको पाटो टुङ्गिएको हुँदा चाँडै क्रसिङ थाल्ने तयारी गरिएको जनाएको छ । यसपालि क्रसिङ खोल्नुअघिको डोला पूजा (उपकरण पूजा) यही मङ्सिरभित्रै सम्पन्न गरेर पुस पहिलो साता क्रसिङ खोल्ने तयारी रहेको उद्योगले जनाएको छ । गत वर्ष मङ्सिर २६ गते नै उखु क्रसिङ थालेको उद्योगले यसपालि भने ढिलो गरेको छ ।

    जिल्लामा यसपालि नौ हजार ६०० बिघामा उखुखेती गरिएको छ । जसमध्ये पाँच हजार बिघाको खुट्टी र चार हजार ६०० बिघाको मुडन रहेको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष कुशवाहा बताउनुहुन्छ । रासस

  • चितवनमा एक सातामा स्क्रब टाइफस र डेंगुका ५ जना बिरामी भेटिए

    चितवनमा एक सातामा स्क्रब टाइफस र डेंगुका ५ जना बिरामी भेटिए

    चितवन,मंसिर २२-
    गत एक सातामा चितवनमा स्क्रब टाइफसका र डेंगुका ५ जना बिरामी भेटिएका छन्। स्क्रब टाइफसका ३ र डेंगुका २ का जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। गएको कार्तिक महिनामा मात्र चितवनमा स्क्रब टाइफसका ७४ र डेंगुका ३२ जना बिरामी भेटिएका थिए।

    पछिल्लो तीन वर्षमा चितवनमा स्क्रब टाइफसका १ हजार ६२९ र डेंगुका २ हजार ५३६ जना बिरामी भेटिएका थिए।

  • हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

    हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

    मुस्ताङ, मंसिर २३ –
    यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ ।

    कठिन भूगोलमा अवस्थित यहाँको साङ्ता गाउँमा करिब १३ घरधुरीको बसोबास छ । मुस्ताङ–डोल्पा सडकसँगै रहेको साङ्ता गाउँ अहिलेको स्थान्तरित बस्ती हो । यो बस्ती अहिलेको बस्तीबाट केही टाढा खोलापारीको भिरालो स्थानमा अवस्थित थियो । त्यहाँ स्थानीयले खेतपाती र पशुपालन गरी जीविकोपार्जन गरेका थिए ।

    त्यहाँको स्थानमा खेतपाती गर्न सिँचाइको अभाव भएपछि साङ्ता गाउँका नागरिकले उक्त स्थान छोडेर हालको स्थानमा स्थान्तरित भएका थिए । यहाँ स्थान्तरित बस्ती बसेको पाँच दशक बढी भइसकेको जनाइएको छ । अझै पनि साङ्ता गाउँलेले त्यागेको पुराना भग्नावशेष घर र खेतका अवशेषहरु त्यहाँ विद्यमान छन् ।

    साङ्ता गाउँ मुस्ताङको जोमसोमदेखि करिब ४० किलोमिटरको दुरीमा पर्छ । सङ्घीयतापछि यहाँको मुस्ताङ–डोल्पा सडक विस्तार हुँदा साङ्ता गाउँलाई कच्ची सडक सञ्जालले छोएको छ । समुन्द्री सतहको चार हजार मिटर अग्लो उचाइमा विस्तार गरिएको मुस्ताङ–डोल्पा सडक अझै थप स्तरोन्नति गर्नुपर्नेछ । यहाँसम्म सडक जोडिएकाले साङ्ता गाउँका नागरिकहरुले पछिल्लो समय राज्यबाट उपलब्ध हुने केही सेवासुविधा सहज रुपमा पाउँन थालेका छन् ।

    अग्ला अग्ला विशाल पहाडले घेरिएको साङ्ता गाउँको सडक तलपट्टी भिरालो खोचमा अवस्थित छ । अभाव र अशिक्षाको भूमरीमा जकडिएको यहाँको साङ्ता गाउँमा अचेल राज्यको उपस्थित आँकलझुकल देखिन थालेपछि स्थानीयले केही राहतको अनुभूति गर्न थालेका छन् । माथिल्लो डोल्पाका स्थानीयले नागरिक किनमेलका लागि जोमसोम आउजाउँ गर्ने बाटो साङ्ता गाउँ नै हो । कहिलेकाँही फट्टफुट्टा विदेशी पर्यटकहरु साङ्ता गाउँ हुँदै पदयात्रा गर्छन् । सरकारले यहाँको साङ्ता गाउँलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ ।

    साङ्ता गाउँमा गएको सङ्घीय तथा प्रादेशिक निर्वाचनमा १३ घरधुरीका ३४ जना मतदाता थिए । गाउँमा एक आधारभूत विद्यालय अहिले बन्द अवस्थामा छ । गाउँका बालबालिका विभिन्न सङ्घसंस्थाहरुको सहयोगमा अन्यत्रको स्कुलमा पढाइ दिएपछि यहाँको स्कुल बन्द हुन पुगेको हो । गाउँमा स्थास्थ्य संस्था नहुँदा कुनै गम्भीर प्रकृतिको बिरामी पर्दा त्यहाँका नागरिकलाई निकै ठूलो समस्या पर्ने गर्छ । गाउँमा वैकल्पिक सौर्य ऊर्जा र नेपाल टेलिकमको बिटीएस टावर जडान गरेपछि बिजुली र टेलिफोनको तत्कालको समस्या टरेको छ ।

    यहाँको स्थान्तरित साङ्ता गाउँको वार्षिक दिनचर्या अरुको गाउँको भन्दा विल्कुल फरक छ । वर्खायाममा सात महिना गाउँमै बसेर खेतीपाती र पशुपालन गरी बस्ने साङता गाउँका नागरिक हिउँदयामको चार/पाँच महिनाको समय भने गाउँ पारीको ‘घोक’ भन्ने पाखामा गएर कटाउँथे । त्यहाँ हिउँदयाम न्यानो हुने भएकाले गाउँ छोडेर घोक भन्ने स्थानमा अस्थायी बसोबास गथ्र्ये । त्यहाँ उनीहरुले अस्थायी टहरा र खेती गर्ने लालपुर्जा वाला जग्गा थियो । वर्षौवर्षदेखि हिउँदयाममा जाडो छल्न त्यहाँ जाने गरेका साङ्ता गाउँका नागरिक विगत सात वर्षदेखि उक्त स्थान छोडेर वारागुङ–५ कै पाक्लिङ, फल्याक र धाकार्रजुङलगायत गाउँहरुमा बस्न थालेका छन् । वर्खायामको गर्मी मौसममा साङ्ता गाउँमा बस्ने र हिउँदयामको जाडोमा पाँच महिना फल्याक, धाकार्रजुङ र पाक्लिङलगायत गाउँमा बस्न थालेको सोही गाउँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले बताउनुभयो ।

    अहिले मुस्ताङ–डोल्पा सडकको साङ्ता गाउँ जाने बाटोमा बग्रेल्ती हिउँ छ । सडकमा बाक्लो हिउँ जमेका कारण गाडी र ट्याक्टर जान सक्ने अवस्था छैन । गाउँसम्म आउजाउ गर्न बाक्लो हिउँको बाटो छिचोल्नुपर्ने हुन्छ । यहाँ गत कात्तिक १० गते हिमपात हुँदा यहाँको सडक पूरै हिउँले अवरुद्ध बनेको छ । हिउँदयाममा जाडो छल्न पारी पाखाको ‘घोक’ भन्ने ठाउँमा बस्न जाँदा समस्या र चुनौती हुने भएकाले हिउँदे बासस्थान फेरिएको वडा सदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिनुभयो । यसपालि हिउँ र चिसो बढेकाले मङ्सिर अगावै गाउँ छोडेर जाडो छल्न फल्याक, पाक्लिङ र धाकार्रजुङ गाउँमा झरेको बताउँनुभयो । गाउँको बाटोमा पूरै हिउँ छ, गाडी चल्दैन, आवतजावत गर्न निकै ठूलो समस्या छ”, वडा सदस्य गुरुङले भन्नुभयो, “साङ्ता गाउँमा बस्दा बिरामी परियो भने त उपचार पाउन गाह्रो हुन्छ, हेलिकप्टर चार्टर गरेर उपचार गर्ने हाम्रो सामथ्र्यले भ्याउँदैन ।”

    जोमसोम नजिकैको गाउँमा आफन्तको घरमा काम गरेर हिउँदयामका उराठिला दिनहरु कटाउने गरेको वडा सदस्य गुरुङले उल्लेख गरे ।

    “यता त केही न्यानो हुन्छ, खानेकुरा सस्तो हुन्छ”, वडा सदस्य गुरुङले भन्नुभयो, “बिरामी परेमा उपचार गर्न सजिलो छ, यसैले विगत छ÷सात वर्षदेखि हामी घोक पाखामा बस्न छोडेर यतै बस्ने गरेका छौँ ।” उहाँले हिउँद सकिएर गर्मी सुरु भएपछि मात्रै साविककै स्थानमा फर्किने जानकारी दिनुभयो । उहाँका अनुसार अहिले साङ्ता गाउँका १३ घरधुरीमध्ये तीन घरधुरी पाक्लिङ गाउँमा, ४ घरधुरी फल्याक गाउँमा र ७ घरधुरी धाकार्रजुङ गाउँमा आफन्त घरमा बसेको बताउँनुभयो ।

    साङता गाउँको पारी घोक पाखामा पशु गोठालाहरु मात्रै बस्ने गरेको साङ्ता गाउँका गाउँ मुखिया थुक्तेन गुरुङले बताउँनुभयो । साङ्तामा ४ घरधुरीले च्याङ्ग्रा पालेको र दुई घरधुरीले संयुक्त रुपमा याक पालन गरेका छन् । अहिले साङ्ता गाउँका स्थानीयले गोठालालाई पशुचौपायाको रेखदेखको जिम्मा लगाएर सबै महिला, पुरुष र बालबालिका जोमसोम नजिकका गाउँहरुमा झरेको मुखिया गुरुङले बताउनुभयो । रासस

  • एमालेको महाधिवेशन बिथोल्ने नियतले सरकारले नागढुंगा सडक बन्द गरेको भन्दै बस्नेतको आक्रोश

    एमालेको महाधिवेशन बिथोल्ने नियतले सरकारले नागढुंगा सडक बन्द गरेको भन्दै बस्नेतको आक्रोश

    काठमाडौं , मंसिर २३ –
    नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नागढुंगादेखि पिप्लामोडसम्मको सडक बन्द गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।

    ‘एमालेको मंसिर २७–२९ सम्मको महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र होइन प्रतिशोधको राजनीति हो। याद रहोस्, प्रतिशोधको बदला प्रतिशोध नै हुनेछ् ,’नेता बस्नेतले भनेका छन्, ।

    उनले भने ‘, मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने बहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्ण रूपमा गलत उद्देश्यप्रेरित छ’।

    उनले यो निर्णय तत्काल फिर्ता गरेर पुस पहिलो हप्तादेखि गर्नु सरकार र कुलमान दुबैको हितमा हुने सुझाव दिएका छन्।

  • सुनको मूल्य १ हजार रुपैयाँले घट्यो ,कतिमा हुदैँछ कारोबार ?

    सुनको मूल्य १ हजार रुपैयाँले घट्यो ,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं , मंसिर २३ –
    आज मंगलबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ ।

    यस दिन सुन तोलामा १ हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार नौँ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कायम भएको थियो ।

    त्यस्तै, चाँदी भने प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

  • महाधिवेशन केन्द्रित काठमाडौंमा एमालेका दुई छुट्टाछुट्टै कार्यक्रम

    महाधिवेशन केन्द्रित काठमाडौंमा एमालेका दुई छुट्टाछुट्टै कार्यक्रम

    २३ मंसिर,काठमाडौं ।
    नेकपा एमालेले ११औं महाधिवेशन केन्द्रित कार्यक्रमलाई तीव्रता दिएको छ। नेताहरूले छुट्टाछुट्टै भेला छलफल तथा अन्तरसम्वादलाई तीव्रता दिइरहेका छन्।

    एमालेका आज काठमाडौंमा महाधिवेशन केन्द्रित दुई वटा कार्यक्रम हुँदैछ। प्रेस चौतारी नेपालमा दिउँसो २ बजे नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेकपा (एमाले)का सचिव लेखराज भट्टसँग संवाद हुँदैछ।

    यस्तै, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेतृ विन्दा पाण्डेसहितका महिला नेताहरूले होटल हार्दिकमा दिउँसो १ बजे अन्तरसम्वाद गर्दैछन्। रचना खड्का, उषा किरण तिम्सिनालगायतका नेतृतले पनि पार्टी महाधिवेशन र नेतृत्वबारे अन्तरसम्वाद गर्ने कार्यक्रम रहेको छ।