Category: पत्रपत्रिका

  • ८४ करोडको हतियार किन्दै सरकार

    ८४ करोडको हतियार किन्दै सरकार

    काठमाडौं, असार २६ –
    सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो।

    प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छ’, स्रोतले भन्यो, ‘१ अर्ब ३५ करोड रूपैयाँको हतियार खरिद प्रस्ताव गरिएको हो । पहिलो चरणमा ८४ करोडको हतियार ल्याउने योजना छ ।

    दोस्रो चरणमा हतियार किन्न ५१ करोड छुट्याइएको छ।’ प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नौ एमएमको पेस्तोल र सटगन खरिद गर्ने तयारी छ । ‘यी हतियार खरिदको विषय सिन्डिकेटमार्फत आएको हो ।

    जसले हतियार ल्याउने हो, उसैले अर्थ मन्त्रालयबाट बजेट छुट्याएको देखिन्छ। एकै व्यक्तिले यस्तो काम गरिरहेको बुझिन्छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। आजको नागरिक दैनिकमा समाचार छ ।

  • नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

    नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

    काठमाडौं,असार १९-
    वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।

    नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुने क्रम बढेको छ । अहिले भने दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले जनाएको छ ।

    इक्यानका अनुसार लामो समयसम्म भिसा स्वीकृत वा अस्वीकृत भएको विषयमा जानकारी नदिने र अन्तिममा अस्वीकृत भएको भन्ने सन्देश नयाँदिल्लीस्थित अस्ट्रेलियन हाई कमिसनले पठाउने गरेको छ । प्रक्रिया खुकुलो भएको समयमा निवेदन दिएको एक दिनमै पनि भिसा दिने गरिएको थियो ।

    भिसा अस्वीकृत दर बढेसँगै शैक्षिक परामर्श व्यवसायी तथा विद्यार्थी चिन्तित बनेका छन् । इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार उच्च योग्यता भएका विद्यार्थीको समेत भिसा अस्वीकृत गरिएको छ । यो खबर आजको गाेरखापत्रदैनिकमा प्रकाशित छ ।

     

  • असारे भेलमा बगिरहेछ विकास खर्च : एकै दिन १२ अर्ब सकियो

    असारे भेलमा बगिरहेछ विकास खर्च : एकै दिन १२ अर्ब सकियो

    काठमाडौं, असार १९
    मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ ।

    आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन ।

    कमिसनको चक्करमा एकै दिन अर्बौं रुपैयाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ । कमिसनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकासे मन्त्रालयका उच्च अधिकारीबीच मिलेमतो हुने गरेको पाइएको छ ।

    विगतका वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलले त्यसै खेर फलिने पुरानै क्रमले निरन्तरता पाएको हो । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।

  • भट्टराई–यादव सल्लाहमै छोडपत्र

    भट्टराई–यादव सल्लाहमै छोडपत्र

    काठमाडौ, असार १७ –

    जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद नयाँ होइन। पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै आएको थियो। अहिले पुनः अध्यक्ष यादवले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै विवाद अझै चुलिएको छ। यही विवादले दुई अध्यक्षलाई अलगअलग बाटोमा हिँड्ने अवस्थासम्म पुर्‍याएको छ।

    मन्त्री बनाउने र कारबाही गर्नेसम्मको अधिकार पनि अध्यक्ष यादवले आफैं राख्दा भट्टराई असन्तुष्ट थिए। पछिल्लो समय यादवले मन्त्री फिर्ता बोलाउने निर्णय गर्दा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आग्रह गरेका छन्। उनले यादवको एकल निर्णय भएको र त्यसलाई नमान्न आग्रह गरेका थिए। त्यसो गरे आफूसँग रहेका सांसदहरूले समर्थन फिर्ता लिने उनले देउवालाई चेतावनीसमेत दिएका थिए।

    प्रधानमन्त्री देउवाले पार्टीभित्रको विवाद मिलाएर मात्र मन्त्री हेरफेर गर्ने आश्वासन भट्टराईलाई दिए। गत मंगलबार यादवसँगको भेटमा प्रधानमन्त्री देउवाले मन्त्री फेरबदलका लागि पार्टीभित्र सहमति गरेर आउन सुझाएका थिए। तर, पार्टीभित्र त्यो विषयमा सहमति नभएको जसपाका नेताहरू बताउँछन्।

    यो विषयले नै दुई नेतालाई आ–आफ्नै बाटो लाग्नेसम्मको अवस्थामा पुर्‍याएको छ। मन्त्री फेरबदलकै विषयलाई लिएर चर्को विवाद भएपछि बुधबार राति भट्टराई र यादवबीच वार्ता भएको थियो। वार्तामा अलग हुने सहमति भएको अध्यक्ष यादव बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

  • दिनहुँ भेल तर्दै ‘स्कुल’

    दिनहुँ भेल तर्दै ‘स्कुल’

    काठमाडौं ,असार १४, २०७९
    गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको दिन खोला बढेर जान सकिँदैन कि भन्ने चिन्ताले उनलाई पिरोल्छ। दिउँसो पानी पर्‍यो भने घर फर्कन सकिँदैन कि भन्ने पिर लागिरहन्छ। खारखोलामा रहेको पुल बाढीले बगाउँदा खोला उर्लिएर आएपछि विद्यार्थी, शिक्षक, अविभावक सबै चिन्तित् हुन्छन्।

    वर्षात नभएको दिन ठूला कक्षामा पढ्नेहरु जसोतसो विद्यालय गएपनि स–साना बालवालिकालाई बोकेर तार्नुपर्छ। तीन सातादेखि यो क्रम चलिरहेको छ। जेठ २६ गते राति आएको बाढीले पुलमा क्षति पुगेपछि एक सय ५० जना विद्यार्थीलाई विद्यालय आउजाउ गर्न समस्या भएको धर्मोदय माविका प्रधानाध्यापक कृष्ण न्यौपानेले बताए।

    ‘दुई साता यता दिनहुँ जसो पानी परेको छ, खोला उर्लिएको बेला बोकेर विद्यार्थी तार्न सकिँदैन, सानो भएका बेला तारिरहेका छौँ।’ बालबालिकालाई खोला तार्न प्रहरी, स्थानीयबासी, अविभाबक, शिक्षकहरुले सघाउँदै आएका छन्। विद्यार्थीलाई आलोपालो गरी खोला तार्ने गरिएको छ।

    पुल बगाएदेखि सबै विद्यार्थी नियमित विद्यालय आउनै समस्या भएको उनले बताए। केहीदिन यता विद्यालय जाने र फर्कने समस्यामा प्रहरीले खोलामा बसेर विद्यार्थी तार्ने गरेको छ। अविभाबक र शिक्षक पनि साथैदेखिन्छन्। सँधै यसरी संभव नभएको भन्दै तत्काल पुल बनाईदिन शिक्षक र अविभाबकले हारगुहार गरिरहेका छन्। यो समाचारनागरिक दैनिकमा छ ।

     

  • काठमाडौंमा १२ जनामा हैजा

    काठमाडौंमा १२ जनामा हैजा

    काठमाडौं,असार १४, २०७९
    संघीय राजधानी काठमाडौंमा हैजा भेटिका १२ मध्ये आठ जना निको भएर घर फर्केका छन् । अन्य चार शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा उपचाररत छन् ।यसअघि, गत ५ असारमा पहिलोपटक बागबजारका दुई युवतीमा हैजा पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंह बताउँछन् ।

    प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको जानकारी गराएका छन् ।

    उनका अनुसार धारापानी, जार, टु्युबेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको छ । बागबजारको खानेपानी प्रदूषित रहेकोसमेत डा। दासले सुनाए । ‘ललितपुर सानेपामा परीक्षणक्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको छ,’ उनले भने, ‘पानी कसरी प्रदूषित भयो भन्ने अध्ययनका लागि सबै ठाउँको नमूना संकलन गरिरहेका छौं ।’

    हैजा सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पताललाई तयारी अवस्थामा राखिएकोसमेत डा। दासले दिएका छन् । महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको हो ।

    त्यस्तै, बूढानीलकण्ठ नगरपालिकाले गरेको पानी परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । उसले जार, ढुंगेधारा, बोरिङको पानी परीक्षण गरेको थियो ।

    यता, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमुना परीक्षण गरिरहेको जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

     

  • पेट्रोलियमको मूल्य घटाइयो, उपभोग्य  वस्तुको  मूल्यवृद्धि  घट्नेमा शङ्का

    पेट्रोलियमको मूल्य घटाइयो, उपभोग्य वस्तुको मूल्यवृद्धि घट्नेमा शङ्का

    काठमाडौं असार १२, २०७९
    सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर कटाएर उपभोक्तालाई राहत दिएको छ । सरकारको निष्कर्ष पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार मूल्य बढेको भन्ने छ ।कर कटाएर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजार मूल्य अस्वाभाविक बढेकाले उपभोक्तालाई राहत दिन सरकारले मूल्य घटाएको जानकारी दिए ।

    उनले डिजेल, पेट्रोलको मूल्य घटेसँगै बजारमा भएको मूल्यवृद्धि घट्ने बताए । बजार अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाउने र अस्वाभाविक मूल्य लिएको पाए तत्काल कारबाही गर्ने पनि उनले बताए । बजार भाउ सम्बन्धमा सरकारको विश्लेषण र निष्कर्ष यस्तो रहेको भए पनि निजी क्षेत्र बजार मूल्य बढेको मान्न तयार छैन ।

    त्यसैले इन्धनको मूल्यवृद्धिलाई प्रमुख कारण देखाएर अन्य दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि भने घट्ला भन्नेमा शङ्का छ । अधिकांश उपभोग्य वस्तुमा एक पटक मूल्य बढेपछि पुनः त्यसको मूल्य घटेको अनुभव उपभोक्ताले गर्न नपाएको विगतका अनुभव छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

     

  • कर्मचारी सरुवामा सम्मको बार्गेनिङ !

    कर्मचारी सरुवामा सम्मको बार्गेनिङ !

    काठमाडौं, असार १२ –
    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको निजी सचिवालयका कर्मचारीमाथि सरुवाका लागि १५ लाखसम्मको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ ।

    विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनीहरूले १५ लाखसम्म माग गर्ने गरेको आरोप मन्त्रालयकै कर्मचारीले लगाएका हुन् ।

    मन्त्री सचिवालयका ती कर्मचारीले ‘मन्त्रीज्यूको पार्टीलाई चुनावी खर्च आवश्यक पर्ने’ भन्दै सरुवा माग्न आउनेसँग ‘बार्गेनिङ’ गर्ने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार देशभरका अधिकांश स्थानीय तहले गत १० असारसम्म नीति तथा कार्यक्रम र बजेट ल्याइसकेका छन् ।

    यसलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर गृहकार्य थालेको छ ।

    यससँगै मन्त्रीका निजी सचिवालयका कर्मचारीले थप सक्रियता बढाउन थालेका छन् । मन्त्री श्रेष्ठको निजी सचिवालयमा कार्यरत राजाराम तण्डुकार, सुरज महर्जन र दिलिप पटेल ‘सरुवा सूची’ बनाउन व्यस्त रहेको बताइएको छ ।

    मन्त्रालय स्रोतका अनुसार हाल नगरपालिका र गाउँपालिकामा उपसचिव र शाखा अधिकृत दरबन्दी भएको ठाउ“मा पनि तल्ला तहका कर्मचारीले निमित्तका भरमा पालिकाको प्रशासनिक नेतृत्वका रूपमा काम गरिरहेका छन् ।

    देशभरका ७ सय ५३ पालिकामध्ये झन्डै १ सय ८० पालिका निमित्तका भरमा छन् । पालिकाका कतिपय प्रमुखले आफूअनुकूलको काम गराउन स्थानीय तहकै कर्मचारीलाई निमित्तका रूपमा राखेर काम गराउने गरेका छन् ।

    निमित्त राखिएका अधिकांश कर्मचारी प्रशासन सेवाबाहेकका कर्मचारी छन् । जबकि स्थानीय सरकार सञ्चालन ऐनमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अनिवार्य प्रशासन सेवाका कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । राजधानी दैनिकमा खबर छ ।

  • भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि फेरि निर्वाचित

    भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि फेरि निर्वाचित

    काठमाडौं, असार ८ –
    निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ ।

    चुनावअघि नै भ्रष्टाचारमा मुछिएका ६ जनालाई उम्मेदवारी दर्ता गराएर पुन: चुनिने मौका आयोगले दिएको पाइएको हो।

    कुनै सार्वजनिक पदमा बसेका व्यक्ति अदालतमा विचाराधीन मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था हुँदाहुँदै उनीहरू स्थानीय तहमा निर्वाचित भएका हुन्।

    विभिन्न आर्थिक अनियमिततामा मुछिएका व्यक्तिलाई वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा कानुन विपरीत मनोनयन दर्ता गराई फेरि चुनिएर आउने मौका आयोगले नै दिएको हो ।

    निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारलाई १९ बुँदे स्वघोषणा भन्दै देखावटी आचारसंहिता जारीसमेत गरेको थियो। सम्बन्धित उम्मेदवारलाई नै पेस गर्न दिइएको आचारसंहिता आयोगले कार्यान्वयन भने गरेको देखिएन । आजको नागरिक दैनिकमा समाचार छ ।

  • नारायणी नदीमा बन्ने भयो ‘सिग्नेचर पुल’, ठेक्काको बोलपत्र आह्वान गरिँदै

    नारायणी नदीमा बन्ने भयो ‘सिग्नेचर पुल’, ठेक्काको बोलपत्र आह्वान गरिँदै

    चितवन, असार ५ –
    चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ ।

    विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणी नदीमा रहेको पुल ४१ वर्ष पुरानो भई जीर्ण हुँदै गएकोले नयाँ पुल निर्माण गर्न लागिएको जानकारी दिए । सो कामका लागि ठेक्काको बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । विभागका अनुसार नारायणी नदीमा अहिलेको पुलको समानान्तर हुने गरी सिग्ने चर पुल’ निर्माण गर्न लागिएको छ ।

    सो काम डिजाइन एन्ड विल्ड’ निर्माण प्रणालीको आधारमा बोलपत्र आह्वान गरि ने भएको छ ।२०३८ सालमा नारायणी नदीमा निर्माण भएको अहिले को पुलको आयु ७० वर्ष तोकिएको थियो । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने महानिर्देशक थापाले बताए । यो समाचारगोरखापत्र दैनिकमा छ ।