Category: फिचर

  • कर्णालीमा छाउ प्रथा अझै ज्यूँकात्यूँ, भत्काइएका छाउगोठ फेरि ठडिँदै

    कर्णालीमा छाउ प्रथा अझै ज्यूँकात्यूँ, भत्काइएका छाउगोठ फेरि ठडिँदै

    सुर्खेत, कात्तिक २०-
    मानव विकास सूचकाङ्कमा सबैभन्दा गरिब मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सबैभन्दा पछाडि नै छ ।

    वर्षौंदेखि रोग, भोक, अशिक्षा, गरिबी र भौगोलिक विकटताले यहाँको विकास हुनै सकेन । प्रदेशमा रहँदै आएका छाउलगायतका विभिन्न कुप्रथाले महिला हिंसा, बलात्कार र अकालमै ज्यान गुमाउने अवस्थाले विकाससँगै जनजीविकामा नकारात्मक असर पु¥याएको छ ।

    छाउ प्रथा दुर्गम हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट डोल्पासहित सुगम मानिने दैलेख र सुर्खेतको पश्चिम क्षेत्रमा अहिले पनि विद्यमान छ । छाउमा बसेको अवस्थामा किशोरी बलात्कृत हुने, सर्प तथा जङ्गली जनावरको शिकार हुने समस्या उत्तिकै छ । सुर्खेतमा छाउ बस्दा हालसम्म दर्जनौँले ज्यान गुमाएको भए पनि यकीन तथ्याङ्क भने कसैसँग छैन । सुर्खेतमा विभिन्न सरकारी तथा गैरसरकारी निकायको पहलमा छाउ भत्काउने अभियान थालिए पनि अहिले पुनःछाउ बनाउनेक्रम बढेको छ ।

    विसं २०७६ मा गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न जिल्लामा छाउगोठ भत्काउने अभियान थालियो । यसअन्तर्गत कर्णालीमा एक हजार पाँच सय बढी छाउगोठ भत्काइएको प्रहरीको तथ्याङ्क छ । हालसम्म पनि कर्णालीमा करिब दुई हजारभन्दा बढी छाउगोठ रहेको बताइन्छ । कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरी महिनावारी भएका बेला छाउगोठमै बस्ने गरेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाएको छ ।

    कार्यक्रम हुञ्जेल अभियान चले पनि कार्यक्रम सकिएपछि यो प्रथा अझै ज्यूँकात्यूँ छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका साथै कर्णालीका अन्य स्थानीय तहमा पनि छाउप्रथा अहिले पनि कायम छ । स्थानीय तहले पनि छाउपडी प्रथा उन्मूलन गर्ने भनिए पनि ठोस कार्यक्रम ल्याउन सकिरहेका छैनन् ।

    छाउगोठ भत्काउने अभियान कर्णालीमा खासै सफल हुन सकेन । सफल होस् पनि कसरी रु जब मान्छेको मनभित्रको छाउगोठ भत्किएको छैन । छाउगोठ भत्काउनेभन्दा पनि जनचेतनाका कार्यक्रममा जोड दिनुपर्ने सुझाव सरोकारवालाको छ । अधिकारकर्मी वसन्त भण्डारी भन्छन्, “सरकारले छाउगोठ भत्काउने अभियान पनि चलायो तर त्यसको अनुगमन गर्ने, त्यसबाट महिलाले भोग्नुपरेको समस्या आम मानिसमा जसरी लैजानुपर्छ तर त्यसो भइरहेको छैन । यसले गर्दा छाउप्रथा अहिले पनि कायम छ ।” भण्डारी जनचेतनासँगै छाउप्रथाविरुद्ध बनेका कानुन पनि कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिए ।

    छाउगोठ कर्णालीका विकट तथा दुर्गम क्षेत्रमा मात्रै नभई सुगम र विकसित ठाउँमा पनि छ । अन्य ठाउँको त कुरै छौडौँ, कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकामा समेत छाउ बार्ने चलन छ ।

    मध्यपश्चिम विश्वविद्यालयमा कानुन सङ्कायमा अध्ययनरत विनिता बोगटी आफूले केही वर्षअघि अनुसन्धान गर्दा प्रदेश राजधानी वीरेन्द्रनगरमै १२ मा समेत छाउ प्रथा रहेको पाएको बताए । कर्णालीका दुर्गममा मात्रै होइन, सुगममा समेत यो प्रथा गजडिएको उनको भनाइ छ ।

    यसको न्यूनीकरण गर्न कानुन नबनेका होइनन् तर कानुनको कार्यान्वयन हुन सकिरहेको छैन । बनेका कानुनको कार्यान्वयन र अझै कडा कानुन निर्माण गरी कार्यान्वयन गरे मात्रै यो प्रथा न्यूनीकरण हुने बोगटीको भनाइ छ । “छाउप्रथाविरुद्ध बनेका कानुनहरुको कार्यान्वयन गर्नुप¥यो, प्रदेश सरकारले जनचेतनासँगै नयाँ कानुन पनि निर्माण गरी लागू गर्नुपर्छ”, बोगटीले भने ।

    छाउप्रथा वर्षौंदेखि जगडिएको प्रथा भएकाले यो एक वर्ष वा एकपटक अभियान चलाएर मात्रै नहुने सरोकारवाला बताउँछन् । यसको न्यूनीकरण गर्न स्थानीय सरकारले पाठ्यक्रममा नै राखेर विद्यालय तहमा पढाउन सुझाव उनीहरुको छ ।

    नागरिक समाजका अगुवा पीताम्बर ढकालले निरन्तररुपमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै भने, “एक वर्ष वा एकपटक अभियान चलाएर मात्रै छाउप्रथा अन्त्य हुने म देख्दिन । यसको लागि निरन्तर चेतनामूलक कार्यक्रमहरु सञ्चालन हुनुपर्छ । त्यति मात्रै होइन, स्थानीय सरकारले आफ्नो स्थानीय पाठ्यक्रममा नै समावेश गरेर विद्यार्थीलाई छाउ प्रथा गलत मान्यता हो, भनेर पठनपाठन गराउनसके यो प्रथा उन्मूलन हुन सक्छ ।”

    बाटो खनेर, पुल बनाएर वा अन्य कुनै भौतिक संरचना निर्माण गरेर मात्रै विकास हुन्छ भन्ने मान्यता जबसम्म रहिरहन्छ तबसम्म कर्णालीमा यस्ता कुप्रथा कायमै रहने उनको तर्क छ ।

    सामाजिक चेतना नभए विकास पनि सम्भव नहुने भन्दै नेतृत्वमा बस्नेहरुले यो विषयमा गम्भीर हुन आवश्यक रहेको सरोकारवालाको भनाइ छ । विसं २०७६ मा गृह मन्त्रालयले छाउप्रथा कायम रहेका सम्बन्धित जिल्लामा जिल्ला प्रशासनको नेतृत्वमा छाउगोठ भत्काउने अभियान चलाइएको थियो ।

    त्यहीअनुसार सुर्खेत, दैलेख, कालीकोट, जाजरकोटलगायतका कर्णालीका जिल्लामा छाउगोठ भत्काउने अभियान थालियो । यसले नागरिकमा एकखालको चेतना वृद्धि पनि भएको थियो तर अभियान अहिले भने सेलाएको छ । हाल जिल्ला प्रशासन आफैँले त्यस्ता केही कार्य गरेको देखिँदैन । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल भन्छन् । “गृह मन्त्रालयअन्तर्गत त्यस्ता कुनै काम नभए पनि स्थानीय तह र प्रदेश सरकारले समन्वय गरेका ठाउँमा अनुगमनमा पुग्ने गरेको बताए ।”

    कर्णाली प्रदेशमा छाउप्रथा उन्मूलनका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट करोडौँको बजेट खर्च भएको छ । स्थानीय गैरसरकारी सङ्घसंस्थाले पनि यो प्रथा न्यूनीकरणका लागि थुप्रै कार्यक्रम गर्दै आएका छन् तर परिणाम भने गतिलो देखिँदैन ।

    देश सङ्घीय संरचनामा गएपछि अहिले तीन तहका सरकार छन् । सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले नै छाउप्रथा उन्मूलनका लागि ठोस कार्यक्रम ल्याउन सकिरहेका छैनन् ।

    विशेषगरी छाउप्रथा धेरै रहेको सुर्खेत पश्चिम क्षेत्रमा रहेका स्थानीय सरकारका प्रमुखहरु नै आफूहरुले ठोस कार्यक्रम ल्याउन नसकेको स्वीकार गर्छन् । सुर्खेत बराहताल गाउँपालिकाका अध्यक्ष भीम भण्डारीले विगतको भन्दा यो प्रथा कम हुँदै गएको भन्दै पालिकाको तर्फबाट खासै केही कार्यक्रम नराखिएको बताए ।

    उनी भन्छन्, “विगतमा यो प्रथा धेरै समस्याका रुपमा थियो तर अहिले मानिसमा एक खालको चेतनाको स्तर उठेको छ, अहिले त्यति समस्याको रुपमा छैन । पालिकाको तर्फबाट पनि त्यस्तो कार्यक्रम केही ल्याएनौँ ।”

    चौकुने गाउँपालिकाले पनि यस कुप्रथाको अन्त्यका लागि कुनै ठोस कार्यक्रम ल्याएको छैन । गाउँपालिका प्रमुख लालबिर भण्डारी भन्नुहुन्छ, “हामीले यो प्रथाविरुद्धका त्यस्ता कार्यक्रम ल्याएका छैनौँ, केही संस्थाले यससम्बन्धी काम गरिरहनुभएको छ, हामीले त्यसमा केही सहयोग गरेका छौँ ।”

    पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले भने छाउप्रथालगायतका अरु सामाजिक कुप्रथा उन्मूलनका लागि कार्यक्रम र बजेटको व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष खड्क विकले बताए । “हामीले छाउप्रथा मात्रै होइन, जातीय विभेद, महिला हिंसालगायत अन्य कुप्रथा उन्मूलनका लागि नीति कार्यक्रम र बजेटमै कार्यक्रम राखेर काम गरिरहेका छौँ”, भण्डारीले भने ।

    सङ्घीयतापछि सञ्चालनमा रहेका तीनै तहका सरकारको पाँच बर्षे कार्यकाल पूरा भइसकेको छ भने स्थानीय सरकारमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी म।्सिर ४ गते हुँदैछ । निर्वाचनपछि नयाँ सरकार त बन्ला । तर बितेका पाँच वर्षको अवधिमा स्थानीय सरकारपछिको नजिकको सरकार प्रदेश सरकारले छाउप्रथा न्यूनीकरणको लागि थुप्रै काम गरेको दाबी गर्छ ।

    कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीले प्रदेश सरकारले विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको भन्दै विगतभन्दा धेरै परिवर्तन भएको दाबी गरे । मन्त्री विसीको निर्वाचन क्षेत्र छाउप्रथा धेरै रहेको सुर्खेतको पश्चिम क्षेत्र नै हो । उनी भन्छन्, “मेरो क्षेत्रमा नै धेरै छाउप्रथा थियो, अहिले विस्तारै परिवर्तन भइरहेको छ, प्रदेश सरकारको तर्फबाट म मन्त्री हुँदा धेरै काम यो प्रथा न्यूनीकरणका लागि भएको छ ।”

    अब आउने सरकारले पनि छाउप्रथाविरुद्धका कामलाई प्राथमिकता दिनुपर्ने मन्त्री विसीको सुझाव छ । “प्रदेश सरकार गठन भएको पाँच वर्षमा हामीले छाउप्रथाविरुद्ध धेरै काम गरेका छौँ, विषेशगरी यो प्रथाको विषयमा त मलाई धेरै कुरा थाह छ, महिला दिदीबहिनीको पीडा बुझेको छु, उनले भने, “हामी प्रतिपक्षमा हुँदा होस्, या सरकार पक्षमा हुँदा यो विषयलाई जोडतोडले उठाएका छौँ ।”

    विद्यार्थीलाई जनचेतना अभिवृद्धि गर्न विभिन्न तालिम, महिला र पुरुषलाई समेत सहभागी बनाएर विभिन्न तालिम दिने काम प्रदेश सरकारबाट भएको मन्त्री विसीले बताए । अहिले पनि समाजमा महिनावारी भएका महिलाले पुरुष सदस्यलाई छुन गाईबस्तु, फलफूलका बोटहरु, बालीनाली छुन, घर तथा भान्सामा प्रवेश गर्न, मन्दिर परिसरमा हिड्न धार्मिक तथा सामाजिक क्रियाकलापमा भाग लिन, दूध तथा दुग्धजन्य पदार्थ खान, पारिवारिक शौचालय, धारा प्रयोग गर्न विद्यालय जान तथा अन्य ठाउँमा जान नदिने गरिएको महिलाहरु बताउँछन् ।

  • जिल्ला कारागार चितवनमा दशैंको उल्लास : कडा सुरक्षाबीच यसरी लगाइन्छ टिका

    जिल्ला कारागार चितवनमा दशैंको उल्लास : कडा सुरक्षाबीच यसरी लगाइन्छ टिका

    -पूजा परियार
    चितवन, ०७९असोज १३
    मध्यान्हको चर्को घाम, काखमा दुधे बच्चा अनि हातमा प्लास्टिकको दुई वटा झोला बोकेर उभिएकी थिइन् २६ बर्षिय रियासा खातुन नाम (परिर्वतन) ।

    मौरीको घारमा भुनभुनाएजस्तै गरी भुनभुनाएका थिए मान्छेका आवाजहरु, छेवैमा उभिएको मान्छेको आवाज पनि प्रष्ट नबुझिने गरी ।

    उनको आँखाहरुले त्यो भिडमा कोही खोजी रहेको थियो । त्यो भिड, त्यो कोलाहलले उनको ध्यान कत्ति पनि दाँयाबाँया गर्न सकिरहेको थिएन् ।

    रियासालाई देख्दा लाग्थ्यो, उनका कानहरुले उनले खोजिरहेको मान्छेको आवाज मात्रै सुन्छ । सायद, अरु आवाज त उनले सुनिनन् होला पनि ।

    एक्कासी उनको त्यो ध्यान भंग भयो, जब उनका श्रीमान भित्रबाट निस्किए । जो चितवन जिल्ला कारागारमा विगत ४ बर्षदेखि कैदी जीवन बिताइरहेका छन् ।

    श्रीमान श्रीमतीको कुराकानी सुरु भयो । १० मिनेट मात्रै कुरा गर्न पाइने कारागारमा त्यहाँको भिडभाडले त्यो समयको सदुपयोग हुने अवस्था थिएन् ।

    बच्चा काखमा राखेर बेन्चबाट सर्दै–सर्दै उनले श्रीमानसँग मुस्किलले ५ मिनेट मात्रै बोल्न भ्याइन् ।

    त्यसपछि कारागारको चौकीदार र प्रहरीलाई आफूले ल्याएको झोलाबाट एउटा कालो रंगको टिर्सट र निलो रंगको पाइन्ट दिइन् । रियासाले भनिन्, ‘सर त्यो पाइन्टको खोल्तीमा हजार रुपैयाँ छ, त्यो पनि निकालेर दिनुस् है ।’

    उनी नवलपरासीबाट कैदी जीवन बिताइरहेका आफ्ना श्रीमान्लाई दशैंको मौकामा नयाँ कपडा र केही खर्च दिउँ भनेर आएकी हुन् ।

    ‘मजदुरी गरेर बच्चा पाल्दै म पनि बाँचिरहेकी छु । दशैंमा सबैले राम्रो लाउँछन्, मिठो खान्छन् जेलमै भए पनि श्रीमानलाई एकजोर लुगा ल्याइदिएँ । मेरो दशैं यही हो । यसैमा खुशी छु ।’ उनले सुनाइन् ।

    यतिबेला जिल्ला कारागार चितवनमा यसरी नै दशैंको लागि कारागारमा रहेका आफ्ना आफन्तलाई नयाँ कपडा, केही पैसा, खानेकुरा लगायतका सरसामान लिएर भेट्न आउनेहरुको भिड छ ।

    यो भिड देख्दा लाग्छ, घरपरिवार वा सार्वजनिक जीवनमा मात्र नभई कैदीबन्दी जीवनमा समेत चाडपर्वको उल्लासमा कमी छैन् ।

    सामान्यतया दैनिक ६०–७० जना भेटघाटमा आउने गरेकोमा अहिले एक सय देखि बढीको संख्यामा भेटघाटमा आउने गरेको जिल्ला कारागार चितवनले जनाएको छ ।

    कारागारको दशैं :

    नेपालीहरुको सबैभन्दा ठूलो चाड हो बडा दशैं । जसरी सकिन्छ त्यसरी नै खुशी भएर मनाइने यो चाड कारागारमा पनि खुशीयालीका साथ मनाउने गरिन्छ ।

    विभिन्न अपराध गरेको अभियोगमा दोषी पाइएपछि बन्दी जीवन भोगिरहेका र अदालतमा मुद्दा विचाराधीन रहेका थुनुवाहरुले हर्षोउल्लासका साथ कारागार भित्रै दशैं मनाउँछन् ।

    विगत १२ बर्ष देखि कारागारमै रहेका ३९ बर्षिय प्रेमलाल महतो (हाल चौकीदार) ले १० वटा दशैं त कारागार भित्रै मनाइसके । उनी पनि कैदी हुन् । तर कैदीबन्दीहरुका मध्येबाट उनी चौकिदारको भूमिकामा छन् । यस बर्ष पनि बितेका बर्ष झै कारागारमै आफ्नो श्रीमती र छोराछोरी टिका लगाउन आउने बताए ।

    ‘कारागार बाहिरको दशैं त कस्तो हुन्छ भन्ने पनि बिर्सिसके । परिवार यहीँ टिका लगाउन आउँछन् । त्यसैले अब त बाहिर भन्दा भित्र कै दुनियाँ आफ्नो अनि प्यारो लाग्छ ।’ उनले भने ।

    यस्तै, बुटवल घर भई ७ बर्षदेखि कैदी जीवन बिताइरहेकी सबिता थापा मगरलाई पनि कारागारकै दशैं रमाइलो लाग्न थालिसकेको छ ।

    दशैंमा नजिकै भएकाहरु कारागारमा रहेका आफन्तहरु भेट्न धेरैजसो आएकै हुन्छन् । तर, सबिताको भने धेरै वर्ष बिते कोही आएका छैनन् । घरतिर सासु ससुरा छन्, उनकी १३ बर्षकी छोरी भने मामाघरमा छिन् । दशैंमा उनले सबैभन्दा धेरै आफ्नो छोरीलाई याद गर्छिन् ।

    ‘माइती टाढा छ, उतै रमाइलो गर्छन् । अरु बेला भेट्न आए पनि दशैंमा आफ्नो छोरी भेट्न नपाउँदा मन खिन्न हुन्छ । तर पनि केही छैन्, भित्र ३ जना बच्चा छन् । यी सबै मेरै बच्चा हुन् जस्तो लाग्छ । त्यसैले मन बुझाउँछु ।’ उनले सुनाइन् ।

    दशैं मनाउने तयारी :

    कोरोना कहरको विगत २ बर्षपछि यस वर्ष भने कारागारमा दशैं मनाउने तयारी गरिएको छ । यस वर्ष कैदीबन्दीका एकाघरका आफन्त तथा नातेदारले कडा सुरक्षाबीच टिका तथा आशीर्वाद आदानप्रदान गर्न टिका समारोहको आयोजना गर्ने तयारी गरेको जिल्ला कारागार चितवनका सूचना अधिकृत चेतनाथ ढुङगानाले जानकारी दिए ।

    उनले भने, ‘कोरोनापछि यो पटक पहिलो दशैं हो । त्यसैले कैदीबन्दीले पनि चाडपर्वलाई राम्रैसँग मनाउन सकुन् भनेर सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिँदै अन्य बेलामा भन्दा भेटघाटमा थप सहजीकरण गर्ने तयारी गरेका छौं ।’

    कारागारमा प्रति व्यक्ति नगदसिदा (कैदीबन्दीलाई उपलब्ध गराइने रासन खर्च) मासिक १८०० रुपैयाँ उपलब्ध गराउने सरकारको नियम छ । दशैंमा नगदसिदा, कारागार भित्रै काम गरेर जम्मा गरेको रकम तथा घर परिवारले दिएको रकम मिलाएर सबैले एकमुष्ठ बनाइ माछामासु तथा खानाको व्यवस्थापन हुने गरेको कारागार कार्यालयका प्रमुख (जेलर) कमलप्रसाद आचार्यले बताए ।

    साथै कतिपय कैदीबन्दीका कोही पनि भेटघाट गर्न नआउने हुनाले उनीहरुलाई पनि आन्तरिक प्रशासनले टिका तथा जमरा ग्रहण गर्ने व्यवस्था गरेको छ । आन्तरिक टिका ग्रहण भने जेलर कमलप्रसाद आचार्यको हातबाट लाएपछि सुरु हुने कारागारले जनाएको छ ।

    श्रमता भन्दाबढी कैदीबन्दी सँधैको समस्या :

    जिल्ला कारागार चितवनमा हाल ७७३ जना कैदीबन्दी रहेका छन् ।

    २५ जना महिलाको क्षमता रहेकोमा ५९ जना महिला र २२५ जना पुरुष क्षमता रहेकोमा ७१४ जना पुरुष छन् ।

    यस्तै, एक जना कारागारमै जन्मिएकोसहित २ जना गरी ३ जना आश्रित बालबालिका रहेको कारागारले जनाएको छ ।

    क्षमताभन्दा बढी कैदीबन्दी हुनु चितवन जिल्ला कारागारको सँधैको समस्या हो ।

    मेडिकल सिटीको रुपमा रहेको चितवनमा अन्य जिल्लाबाट उपचारको लागि भन्दै रिफर भएर आउने, मकवानपुर जिल्लाबाट सबै महिला कैदीबन्दी चितवन ल्याउने मुख्य कारणले गर्दा पनि यो समस्या सँधैको समस्याको रुपमा रहेको जिल्ला कारागार चितवनका सूचना अधिकृत ढुङगानाले जानकारी दिए ।

  • जसले ३७ वर्ष  साइकल मर्मतमै बिताए

    जसले ३७ वर्ष साइकल मर्मतमै बिताए

    सुन्दरहरैँचा, भदौ २५-
    मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन् ।

    यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा रमाउँछन् ।

    उनको विराटचोकमा विगत ३७ वर्षदेखि एउटा सानो पुरानो झुप्रोमा भक्त साइकल स्टोर रहेको छ ।

    सुरुमा यस क्षेत्रमा उनको बाहेक अरू कसैको साइकल बनाउने ठाउँ थिएन । अहिले भने यस क्षेत्रमा एक दर्जनभन्दा बढी साइकल मर्मत गर्ने ठाउँ रहेका छन् ।

    कर्मका पुजारी तथा मेहनती भक्तबहादुरको जिन्दगी हिजोआज साइकल मर्मतबाटै बाँचेको छ । उमेरले सात दशकको घामपानी खेपेका भक्तबहादुर अहिले पनि १६ वर्षे जोश जाँगर लिएर साइकल बनाउने पेसामा रमाइरहेका छन् ।

    उनको साइकल मर्मत गर्ने कामबाहेक जीविकोपार्जनको लागि अरु कुनै पेसा छैन ।

    “देश विदेश गएर काम गर्नुभन्दा केही राम्रो सीप सिकेर आफ्नै देशमा आयआर्जनमूलक काम गर्नु राम्रो हुन्छ”, भक्तबहादुर बताउँछन् । केही सीप नभएको मान्छे समाजमा काम लाग्न नसक्ने उनको भनाइ छ ।

    भक्तबहादुर विगत चार दशकअघि सोलुखुम्बुबाट मधेस झरेका थिए । उनी सुरुमा साविक हरैँचा गाविसमा बसोबास गर्थे । “ सुरुमा हरैँचा सानो बजार थियो । विसं २०४५ तिर विराटचोकमा त झन केही नभएको पातलो बस्ती थियो, झुप्रा घर मात्रै थियो”, भक्तबहादुर बताउँछन् ।

    भक्तबहादुरलाई मधेस झरेर हरैँचा आउँदा सुरुमा के काम गरेर परिवार पाल्नु भन्ने चिन्ता आइलाग्यो । सामान्य परिवारमा जन्मिएका भक्तबहादुर साउँ अक्षर मात्र चिन्ने साथै कुनै पेसा व्यवसाय नभएका व्यक्ति थिए ।

    उनले केही समय घुमफिर गरी बिताएको तथा मेकानिकका साथमा लागेर साइकल बनाउने काम भने सिकेका थिए । भक्तबहादुरले पछि साइकल बनाउने पेसालाई नै जीवनचर्या बनाउन पुगे । “यही मेरो स्थायी काम भयो”, उनले सुनाए ।

    जुँघा पालेका भक्तबहादुर प्रायःजसो विराटचोक बजार आसपासमा खाली खुट्टा हिँडेको भेटिन्छना् । “बाघको जस्तो जुँघा पाल्नु मेरो सोख हो, खाली खुट्टा हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक र राम्रो हो”, उनी बताउँछन् ।

    निरोगी तथा हृष्टपुष्ट शरीर भएकाले भक्तबहादुर अझै तगडै देखिनुहुन्छ । उनको घरमा पहिले छ जनाको परिवार थियो । दुई सन्तानको विवाह गरेपछि चार जनाको परिवार अहिले साइकल बनाउने पेसाबाट पाल्ने गरेको साथै अरु कुनै पैसा आउने बाटो नभएको भक्तबहादुरले उल्लेख गरे ।

    भक्तबहादुर अहिले साइकल मर्मतको कामबाट दुःख गरेर मासिक रु १५ हजार जति कमाउँछन् । यसैबाट घर परिवार चल्छ । उनको सुकुम्बासी टोलमा बाँसको सानो घर बनाएका छन् ।

    भक्तबहादुर त्यही घरमा दुःख सुख बस्छन् । मनमा कुनै छलकपट नभएको तथा खुला दिल भएको भक्तबहादुर सानो ठूलो कसैको भेदभाव नगरी राम्रो व्यवहार गर्न रुचाउछन् ।

    “मरेर लानु केही छैन, सबैसँग राम्रो बोली वचन गर्नुपर्छ, साधा जीवन उच्च विचार नै असल व्यक्तिको गुण हो”, उनी भन्छन् ।

    लामो समयदेखि साइकल मर्मतको सीपमा लाग्नुभएका भक्तबहादुर साइकलको फ्रेम फिटिङ गर्ने, पम्चर टाल्नेलगायतका साइकलसँग सम्बन्धित सबै काम दिल दिएर गर्छन् ।

    चिनेजानेका सबै उनको पसलमा राम्रो साइकल बनाउने बाजे भन्दै धाएर आउछन् । पहिला साइकल किनेर चढ्ने तथा साइकल बनाउन आउनेले अहिले आधुनिक समयसँगै मोटरसाइकल तथा कार किनेको उहाँ उल्लेख गरे ।

    साइकल बनाउन सारोगाह्रो केही नभएकाले आफ्नो ध्यानै यसैमा भएको भक्तबहादुरले उल्लेख गरे ।

    भक्तबहादुर पुस्तक पत्रपत्रिका पढ्नसमेत रुचाउँछन् । उनको भक्त साइकल स्टोरमा प्रायः सबै खालका पत्रपत्रिका आउछ ।

  • एक सय २५ घरधुरी रहेको मुसहर बस्तीको शौचालय खोल्साखोल्सी, बाँसघारी र खेतबारी

    एक सय २५ घरधुरी रहेको मुसहर बस्तीको शौचालय खोल्साखोल्सी, बाँसघारी र खेतबारी

    जनकपुरधाम, भदौ २०-
    सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ ।

    दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहुँदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौचका जाने गर्दछन् ।

    करिब एक सय २५ घरधुरीमा करिब तीन सयको जनसङ्ख्या बसोबास रहेको उक्त बस्तीका स्थानीयवासीहरू दिसा पिसाबका लागि बिहानैदेखि नजिकैको बाँसघारी र खेतबारीमा जाने गरेको स्थानीय मधु सदाले बताए ।

    “सिङ्गो बस्तीभरि कसैको घरमा शौचालय छैन, त्यसैले बस्तीका महिला र पुरुष सबै नजिकैको बाँसघारी, खोल्साखोल्सी र खेतबारीमा दिसा गर्न पुग्ने गर्छन््”, उनले भने, “यसका कारण एकातिर बस्तीमा दुर्गन्ध फैलिने गर्छ । ”

    डाक्नेश्वरी नगरपालिकाले सबै वडाका घरघरमा शौचालय बनिसकेको जनाउँदै २०७६ सालमै सो वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो ।

    सिङ्गो दलित बस्तीमा अझै शौचालय बन्न सकेको छैन । उक्त बस्ती नजिकै रहेको चौधरी, साहलगायत जातिको बस्तीमा शौचालय भए पनि छेउमै रहेको मुसहर समुदायको बाक्लो बसोबास रहेको दलित बस्ती भन्ने शौचालयविहीन रहेको सदाको भनाइ छ ।

    शौचालय बनाउनु आवश्यक रहे पनि आफ्नो जग्गा नहँुँदा शौचालय बनाउन नसकिएको स्थानीयले जनाएका छन् । “शौचालय त चाहिन्छ, बनाउने इच्छा पनि छ”, स्थानीय रामदेव सदाले भने, “तर शौचालय बनाउने जग्गा छैन, मुस्किलले एक वटा घर बनाएर परिवारसहित बसिरहेका छौँ ।” अन्य कारणभन्दा पनि जग्गाकै अभावमा शौचालय बनाउन नसकिएको उनको कथन छ । सो बस्तीमा अधिकांश स्थानीय साहु महाजनकमा हरवाचरवाको रुपमा काम गर्दै आएका छन् ।

    ऐलानी जग्गामा घर बनाएर बस्दै आएका दलित मुसहर समुदायलाई जग्गासँगै आर्थिक विपन्नताले पनि शौचालय बनाउन समस्या भएको छ ।

    आर्थिक विपन्नता, जग्गाको अभावलगायतका कारणले आफू अझै शौचालय बनाउन नसकिएको अर्का स्थानीय राधादेवी सदाले सुनाए । “मजदूरी गरेर कमाएको पैसाले बिहान बेलुकाको गुजारा चलाउनै धौधौ हुन्छ”, राधादेवीले भने, “शौचालय बनाउन कम्ती पनि १५÷२० हजारसम्म पर्छ, तर त्यति पैसा नै छैन् कहाँबाट बनाउनु रु ।” चाहेर पनि पैसाको समस्या चर्पी बनाउन नसकिएको उनकोको दुखेसो छ ।

    गत २०७५ सालमा ऋण लिएर भए पनि फुसको छाप्रो हालेर स्थानीयले बनाएको फुसको छाप्रो शौचालय वर्षा र बाढीले क्षतिग्रस्त भए यता शौचालय बनाउन नसकिएको बताएका छन् ।

    दलित समुदायमा शौचालयको ठूलो समस्या रहेकाले शौचालय बनाउन प्रेरित गर्दै आएको सो बस्तीमा हरवाचरवा सशक्तीकरणको कार्यक्रम सञ्चालन गर्दै आएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्तासमेत रहेका स्थानीय नरेश सदाको भनाइ छ ।

    “शौचालय बनाउनुस्भन्दा उहाँहरू जग्गा छैन, पैसा छैन भन्नुहुन्छ”, उनले भने, “हामीले शौचालयका लागि संस्थाको तर्फबाट र अन्य निकायबाट पनि सहयोग जुटाइ दिन पहल गरिरहेका छौँ, तर मुख्यतः जग्गाको अभाव छ ।” कतिपयले शौचालय बनाउने जग्गा नभएर नबनाएका हुन भने कतिपयले सरकारले नै शौचालय बनाइन्छ कि भन्ने सोच राखेकाले नबनाएको डाक्नेश्वरी–५ का वडाध्यक्ष रमेशकुमार चौधरीले बताए ।

    “दलित बस्तीमा जग्गा अभाव त छ, तर जग्गा भएकाले पनि सरकारले शौचालय बनाइदिन्छ, शौचालय बनाउन खर्च किन गर्ने रु भन्ने सोचले त्यस बस्तीमा शौचालय बन्न नसकेको हो”, उनले भने । -रासस

  • फरासिला बाजेको निरसिलो कथा : ‘रोगले छोएन, दुःखले छोडेन’

    फरासिला बाजेको निरसिलो कथा : ‘रोगले छोएन, दुःखले छोडेन’

    गलेश्वर, साउन २५-
    मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षिय खड्गबहादुर थापा ।

    उमेरले ९७ औं वसन्त पार गरेपनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो ।

    करिब एक दशकअघि खुट्टामा चोट लागेर अस्पतालमा जानुबाहेक यो उमेरसम्म बिरामी भएर कहिल्यै सुत्न नपरेको भए पनि नियतिले उहाँलाई सुखसँग कहिल्यै बस्न दिएन । श्रीमती खिरकुमारीसँग सामान्य छाप्रोमा बस्दै आउनुभएका थापा दम्पत्तिलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन् ।

    झण्डै ४० वर्षअघि छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो । त्यतिबेला त जेनतेन सहेरै बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) चह¥याइरह्यो, दुखी रह्यो । थापा दम्पत्तिका मुख नबोल्ने एउटी छोरी पनि विवाह गरेर बेनी नगरपालिका–३ तोराखेत पुगेकी छन् ।

    बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याएर खाने गर्नुहुन्छ । उहाँको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर जीवनको एक मात्र सहारा (पत्नी)पनि आफूभन्दा पहिला छुट्लिन् (मृत्यु होला)कि भन्ने पिरले उहाँलाई सताउने गर्दछ । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस ।

    आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हिराबहादुरले हेर्ने गर्नुहुन्छ ।

    वृद्धभत्ता नै बाँँच्ने सहारा
    मनमा जति पीर र चिन्ता भए पनि थापा दम्पत्ति खानेकुराको भने सौखिन नै हुनुहुन्छ । जेष्ठ नागरिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम र इष्टमित्रको सहयोगले थापा दम्पत्तिलाई के खाउँ र के लाउँको समस्या भने छैन ।

    बिहान ६ बजे उठेर शौचादी कर्मपछि घरको तलपट्टिको धारामा नुहाएर आएपछि निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्नुहुन्छ । त्यसपछि चिया बनाएर खाएपछि लठ्ठीसहित गाउँमा निस्कने थापा ९ बजेतिर खाना खान घर आउने र खाना खाएपछि छिमेकीको घरमा गएर ठ्ट्यौला कुरा गरेर हसाउने छिमेकी पदमपाणी शर्माले बताउनुहुन्छ ।

    “मनमा जति ठूलो पीर भए पनि मुहारमा कहिल्यै पनि देखाउनु भएन, यो उमेरसम्म बिरामी भएर सुतेको कहिल्यै थाहा पाइएन्” शर्माले भन्नुभयो । उमेरले नेटो काटे पनि उहाँको स्वभाव भने बालसुलभ नै छ । स–साना बालबालिकासँग जिस्कदै अझै केटाकेटीसँग खेल्ने र रमाउने उहाँको बानी रहेको छ ।

    रोगगले छोएन, दुःखले छोडेन
    पचास वर्षको उमेर पार गर्न नपाउँदे नानाभाँतीका रोगले सताउने गरेको अहिलेका मानिसका लागि थापा अपवाद हुनुहुन्छ । रोगको बारेमा सोध्दा उहाँले ठट्यौली शैलीमा भन्नुभयो, “चिनी खाँदा मुख गुलियो र करेला खाँदा मुख तीतो हुने रोग छ बाबु मलाई । राति अलि धेरै खाँदा पेट साह्रो हुन्छ, बिहान उठ्दा गिलोगिलो हुन्छ, अरु त केही हुँदैन ।”

    उमेरमा अरुको ज्याला मजदूरी र बनिबुतो गरेर जीविका चलाएकी उहाँकी श्रीमती खिरकुमारी पनि कम रङ्गिली हुनुहुन्न । असी वसन्त पार गरिसकेकी खीरकुमारीका दुःख भनिसाध्य छैन ।

    बिहान उठेदेखि राति नसुतुन्जेलसम्म घरधन्दाले कहिल्यै नछोड्ने खिरकुमारीले विगतलाई सम्झँदै भन्नुभयो “घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर ३९ वर्षअघि छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदियाँै अनि झारेगैरा (तराई) गयौं, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आयौं, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौंँ ।”

    ‘सय कटे बिहे गर्थें’
    मनमौजी थापाका उट्पट्याङ कुराले सुन्नेहरुलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछन् ।

    उहाँका रसिला गफ सुन्न गाउँका बुढापाका मात्र नभई केटाकेटी र युवायुवती झुम्मिने गर्छन् । अस्ति आइतबार साँझ छिमेकीको घरमा गफिन आउनु भएका थापालाई राससले ‘तपाइँको रहर के छ’ भनेर जिज्ञासा राख्दा थापाले भन्नुभयो “सय वर्ष कटेपछि बिहे गर्ने रहर छ ।”

    थापाको कुरा सुनेपछि छिमेकी पदमपाणी मरीमरी हाँस्नुभयो । बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्छ ।

    अझैसम्म पनि थापा दम्पत्तिले खसीको मासु खान छोड्नु भएको छैन । गाउँमा खसी काटे भने सबैभन्दा पहिला थापा नै पुगेर आफ्नो भाग माग्नु हुन्छ । घरमा ल्याएर प्रेसर कुकरमा धेरैबेर पकाएपछि बूढाबूढीले जिस्कदै खाने उहाँका छिमेकी शर्माले बताउनुभयो ।

    श्रीमती खिरकुमारीलाई आफूले फकाएर विहे गरेको र माइतबाट भगाएर घरमा ल्याएको बताउने थापाले आफ्नी श्रीमतीलाई ‘च्याखुरी बजै’ भनेर जिस्क्याउनुहुन्छ । “पहिला त मलाई खुब मन पर्थिन यिनी, अहिले त ।।।।।।” भनाइ पूरा नगरिकन खित्का छोडेर हाँस्दै थापाले भन्नुभयो “सय वर्षसम्म बाँचे भने त अर्की ल्याएर सबैलाई देखाउँथे ।”

    रातका साथी कुकुर
    दिनभरि गाउँ घुमेर र छिमेकीहरुसँग गफिएर समय बिताए पनि रात परेपछि भने थापा दम्पत्तिलाई निकै नियास्रो लाग्ने गर्छ ।

    नाता सम्बन्ध, घर व्यवहार र समय परिवेशका कुरा गर्न नपरेपछि सधैंभरि बूढाबूढीले गन्थन गर्ने विषय भनेको एउटै हुन्छ ‘छोराछोरी भैदिएको भए कति जाति हुन्थ्यो होला रु’

    रात अवेरसम्म निद्रा नलागेपछि बूढाबूढी बाहिर निस्केर आँगनमा बस्नुहुन्छ । त्यहाँ बस्दै आएको कुकुर थापा दम्पत्तिको साथी बन्छ ।

    उहाँले एउटा सेतो कुकुर पाल्नु भएको छ । घरको सुरक्षा गर्नेदेखि देखि बूढाबूढीको साथी बनेको त्यस कुकुरलाई उहाँहरुले ‘सेते’ नामले बोलाउनुहुन्छ । त्यही कुकुरलाई सुम्सुम्याउनुहुन्छ, माया गर्नुहुन्छ र एकोहोरो आफ्नो कुरा कुकुरलाई सुनाउनुहुन्छ ।

    “बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,” थापाले भन्नुभयो “यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौं भनेर श्रीमतीलाई भनें तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ ।”

    ठट्यौला थापाका यस्ता निरस लाग्ने कुराले सबैका आँखा रसाएर आउँछ ।सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ ।

    खिरकुमारीले पनि ८० वसन्त पार गरिसक्नुभएको छ । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम पत्नी खिरकुमारीले नै गर्दै आउनुभएको छ ।

    “शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ,” खिरकुमारीले भावुक बन्दै भन्नुभयो “बुढेसकालले छोपेपछि जीउन निकै सकस भएको छ । हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ । निकै कष्टकर जीवन बिताउनु परेको छ ।

    यस्तो कसैलाई पनि नपरोस् ।”थापा दम्पत्तिको यस्तो दुःख देखेर थापाका दाजुभाइका छोराहरु हीराबहादुर, दुर्गाबहादुर र हर्कबहादुरले आफैँसँग राख्न वा खाली रहेको घरमा बस्न पटकपटक आग्रह गरेपनि थापा दम्पत्ति मान्नुहुन्न । उहाँहरु भन्नुहुन्छ “बुढेसकालमा यही गोठमा नै आनन्द छ, घर लिपपोत गर्ने सामथ्र्य छैन ।”

    हजुरबुबा र आमाको दुःख कम गर्न हाल जापानमा रहनुभएको उहाँका नाति सागर थापाले खाद्यान्न, लत्ताकपडा लगायत अन्य कुराहरुको सहयोग गर्ने, घर लितपोत गर्न एक जना मान्छे राखिदिने बताए पनि थापा दम्पत्तिले मान्नु भएन ।

    उहाँ भन्नुहुन्छ “यो उमेरमा अरुलाई दुःख दिन मन नै मान्दैन । नातिको पनि आफ्नै समस्या छन्, घर व्यवहार छ, ठूलै समस्या परे गुहार्नुपर्छ, अहिले जनतन चलेकै छ, त्यसैले उनीहरुलाई दुःख दिन पनि मनले मान्दैन ।’’आफूले दुःख पाएर पनि अरुलाई दुःख दिन नचाहने थापा दम्पत्ति गाउँमा सबैका प्यारा हुनुहुन्छ ।

    कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाको गाउँलेहरुले पनि दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।

  • नागरिकतादेखि मसान घाटसम्मै विभेद, नागरिकतामै ‘कुकुर कामी’ नाम

    नागरिकतादेखि मसान घाटसम्मै विभेद, नागरिकतामै ‘कुकुर कामी’ नाम

    दैलेख, १५ साउन-
    करिब ५० वर्षअघि रुमगाउँ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–२ ।

    त्यसबेलै गाउँमा सामाजिक विकृतिविरुद्ध सशक्त प्रतिरोध गरिरहेका थिए नेप्टो कामी । नेप्टो कामीले दलितको मृत्यु भए फलाँटेमा किन जलाउने रु बालटारमै दाहसंस्कार गर्न किन नपाउने रु भन्दै आएका थिए ।

    बालटारमा क्षेत्री–ठकुरीलाई मात्रै जलाउने तर दलितलाई फलाँटेमा जलाउने परम्परालाई उनी तोड्न चाहन्थे । उनले यो विषय उठाए पनि समाधान भने भएको थिएन । अभियान पूरा नहुँदै उनको ४१ वर्षको उमेरमा मृत्यु भयो ।

    २७ जेठ ०२९ मा मृत्युपछि नेप्टो कामीका अनुयायी युवादस्ताले उनको इच्छाअनुसार बालटारमा शब जलाउन लिएर गए । ठकुरीको चिहानघाटमा दलितको लास जलाउन दिनुहुन्न भनेर ठुकुरी र क्षेत्रीको ठूलै दलबल गयो र त्यहाँ जलाउन दिएनन् पनि ।

    ठकुरीको लास जलाउने ठाउँमा कामीको लास जलाउन दिनुहुन्न भनेर हुलदंगा हुन थालेपछि मलामी गएका पाका पुराना मानिसले ‘यो तमासा नगरौं, आफ्नै चिहानघाट लैजाऊँ’ भनेर मध्यमार्गी विचार अनुसार फलाँटेमै ल्याएर जलाए ।

    ‘नेप्टालाई बालटार लिया बाटो बिराएर,
    ल्याउन त फलाँटे ल्याए फेरि फिराएर १’

    नेप्टो कामीलाई ठुकुरीको चिहानघाटमा जलाउन खोज्दा त्यहाँ अनुमति नभएपछि कामीकै चिहानघाटमा ल्याएर जलाउनु परेको त्यो बेलाको अतिजातिवाद र शोषण दमनको प्रतिक झल्काउने यो देउडा गीत बनेको थियो ।

    नेप्टो कामीले सुरुवात गरेको सामाजिक संघर्षमा पछिल्लो पुस्ताले निरन्तरता दिए । यही क्रममा दलितहरू मरे शंख बजाउन नपाइने कुप्रथाविरुद्ध आन्दोलन छेडे ।

    खासमा क्षेत्री(ठकुरी मरेको बेला मात्र शंख बजाउँदा उनीहरूका इष्टमित्र जम्मा हुन सजिलो पर्छ र दलित मर्दा चाहीँ बजाउन नदिएको खण्डमा कुन जातको मान्छे मरेछ भन्ने थाहा हुनुपर्छ भनेर भिन्न देखाउन यस्तो गरेको भनाइ छ ।

    दलित मरेको बेला पनि शंख बनाउने गरेमा झुक्किएर मलामी जान भेला हुने अवस्था हुन्छ भनेर दुविधा नहोस् भनेर यस्तो गरिएको हो ।

    दलित मरेको बेला गैरदलित मलामी नजाने भएकोले उतिबेला दलित मरेको बेला शंख बजाउन नदिइएको पाका मानिसहरूको अनुमान छ ।

    दलित मर्दा पनि शंख बजाउन पाउनुपर्छ भनी ४० को दशकमा कट्टी, बडाभैरव, बिन्ध्यवासिनी, चौराठा लगायत गाउँमा समेत दलितहरुले संघर्ष गरेपछि स्थानीय प्रशासनले नै दलित मर्दा पनि शंख बजाउन चाहे बजाउन पाउने, नरोक्नु भन्ने आदेशपछि अहिले सबै गाउँमा दलितले निर्वाद रुपमा शंख बजाउन थालेका छन् ।

    दलितहरुको मलामी जान नपरोस् भनेर शंख बजाउन रोकिएको थियो । शंख खुले पनि दैलेखमा दलितहरूको मलामी क्षेत्रीबाहुन अहिले पनि आउँदैनन् । पद, प्रतिष्ठामा रहेका कोही दलित र उनका आफन्त मरे सामान्य सदाचार देखाउन छिटपुट मलामी आउँछन् तर सबैकोमा आउँदैनन् ।

    नेप्टोलाई बालटारमा जलाउन नपाएको गीत बन्यो, निरन्तर संघर्षले दलितहरूलाई जलाउन पाउने अबस्था बनेको छ । सामाजिक रुपमा सबैको सहभागितामा दलितहरूको मलामी अझैं पूर्ण रुपमा खुलेको छैन ।

    गैरदलितहरू मरेको बेला चाहिँ दलितहरूलाई दाउरा काट्न लगाउनकै लागि बोलाएरै लैजान चलन थियो । अहिले बलजफ्ती भने घटेको छ ।

    भकुण्डोलाई जति बढी बल लगाएर भूईंमा दबाइन्छ उति नै माथि उफ्रिन्छ भने जस्तै दलितहरूलाई थिचोमिचो भयो यति विद्रोह झाङ्गिदै आयो । रुमलगायतको क्षेत्रमा यसको ज्वाला अझै बढ्यो । खासगरी माओवादी सशस्त्र युद्धको समयमा दलितहरूमाथि हुने शोषणविरुद्ध गरिएका क्रियाकलापले दलितहरूलाई आत्मविश्वास बढायो ।

    सामाजिक विभेदविरुद्ध जति नै दलित सशक्त भए उति नै विभेद जोगाउन चाहनेहरू जुर्मुराउन पनि छाडेनन् । माओवादी सशस्त्र युद्धको मेला जातीय समानता थालिएका क्रियाकलापले दलितहरूलाई दृढता बढायो ।

    युद्धकालमा लुकेका क्षेत्री ठकुरीहरू माओवादी शान्ति प्रक्रियामा आएपछि चाहिँ ‘दलित बढ्ता भएका ठेगान लगाउनुपर्छ,’ भन्ने मानसिकता राखेर गतिविधि बढाउन थाले ।

    ३२ साउन ०६५ मा रक्षाबन्धनका दिन हामीलाई पनि धागो बाँधिदिनुस् भनी आग्रह गरेका दलितहरुलाई त्यसबेला २२ वर्षका रुमका पण्डित दीपक उपाध्यायले दलितलाई रक्षा बन्धन बाँध्दिन्न भनेपछि स्थानीय दलितले जातीय विभेदको मुद्दा दर्ता गरे, अदालतले तीन महिना कैद र एक हजार जरिवाना गर्‍यो ।

    यो घटनामा गैरदलितहरू संगठित रुपमा दलितहरूलाई ठिक पार्नुपर्छ भन्नेमा लागे । यसको फलस्वरुप वैशाख ०६६ मा ब्राम्हण संघ दैलेखले दलितहरूलाई पनि रक्षाबन्धन बाध्नैपर्ने हो भने ज(जमानी छाडिदिन्छौं भनी आन्दोलन गरे ।

    तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेब गौतमले ब्राम्हणलाई कारवाही गर्छु भनेपछि ब्राम्हण संघले आन्दोलन फिर्ता लियो । रुम, कट्टी, बडाभैर, मेहतलोलीलगायत भेगमा दलितहरूको गल्ती खोज्न तम्सेको गैरदलित समुदायका लागि असोज ०६६ मा जगनाथ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–४ बुङ्चीका २१ वर्षीय अमृत बिकले ठकुरी छोरीलाई विवाह गरेको विषयमा ठकुरीहरुले कुटपिट गरी ६० हजार जरिवाना र दुई ओटा खसी लुटेका थिए ।

    सरकारले अन्तरजातीय विवाहको अनुदान घोषणा गरेकै समयमा त्यहाँको ठकुरी समाजले कुटपिट गर्नुसँग जरिवाना र खसी लुट्ने काम भएको भनी दैलेखको जिल्ला स्तरीय दलित नेतृत्वको अगुवाईमा जातीय विभेदको मुद्दा अदालत पुगेको थियो ।

    अदालते यो घटनाका मुख्य दोषी ६ जनालाई ६० हजार नगद र खसीको मूल्य फिर्ता गर्नुपर्ने, जनही आठ महिना कैद र पाँच हजारको दरले जरिवाना गर्यो ।

    रुम र यो क्षेत्र अर्थात बेस्तडा भेगमा पुरानत समयदेखि कति विभेद थियो भन्ने कुरा प्रमाण अहिलेको भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका ६२ वर्षका कविराम कामीको नागकिताको प्रमाणपत्र ।७ जेठ २०४६ मा गाउँ पुगेको नागरिकता टोलीले दिएको नागरिकतामा उनको नाम कुुकुर कामी लेखिएको छ । के कोही बाहुन क्षेत्रीलाई भए नागरिकता मै कुकुर लेखिन्थो रु नागरिकताको प्रमाणपत्र नै दशी प्रमाण हो, यो भेगमा दलितहरूले कति शोषण र दमन भोगे माथिका उदाहरणले प्रष्टाउँछ । -न्युज कारखाना

  • ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै

    ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै

    कर्णाली, साउन १०
    घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि, सहनुको विकल्प पनि हुँदैन ।

    त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भई हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित नेवारेमा अस्थायी रुपमा बस्दै आएकी पद्मा रावतको जीवनमा पर्‍यो । विश्वव्यापी महाव्याधिका रुपमा फैलिएको कोरोना रोगका कारण पद्माले २०७८ वैशाख १७ गते पति बीरबहादुर बुढा गुमाउनु पर्‍यो ।

    विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी ड्रागन फ्रुट खेतीबाट कर्णालीको नमूना व्यवसायी बन्ने सपना बुनेर बुढा ड्रागनको बेर्ना लिन २०७७ चैतको अन्त्यतिर भारतको गुजरात पुग्नुभयो । त्यतिबेला भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमणको निकै ठूलो त्रासदी थियो । भारतमा कोरोना व्यापकरुपमा फैलिँदै गएपछि वैशाखमा नेपालमा पनि बन्दाबन्दी गरिएको थियो ।

    बेर्ना लिएर नेपाल फर्केको केही दिनपछि उहाँलाई कोरोना सङ्क्रमण देखियो । “कोरोना सङ्क्रमण देखिएपछि उहाँ आफैँले एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जानुभएको थियो । त्यतिबेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन ।” पद्माले भन्नुभयो, “दुर्भाग्यः अस्पतालको आइसोलेसनमा केही दिनपछि उहाँको निधन भयो । बीरबहादुरको निधनले परिवारको भरोसाको खम्बा ढल्यो ।

    पति वियोगले उहाँलाई केही समय सम्हालिन गाहे भयो । असह्य पीडाले जीवन आँसुको आहालमा परिणत भयो । मावि तथा आधारभूत तहमा पढ्दै गरेका छोरी र छोराले पितृत्वको अभावको महसुस गर्न थाले । पद्मालाई जीवन पतझर शिशिरको जस्तो लाग्न थाल्यो । तर पनि छोराछोरी हेरेर चित्त बुझाउनुको विकल्प थिएन उहाँलाई ।

    पतिले लाखौं ऋण लिएर सुरु गरिएको ड्रागन फ्रुट खेती डुब्दै जाने अवस्था आयो । उहाँको विछोडको पीडा एकातिर छँदैछ, अर्कोतिर त्यो ऋणको भारीबाट कसरी मुक्त हुने भन्ने चिन्ताले पद्मालाई पिरोल्न थाल्यो । सुरु गरिसकेको खेती छोड्ने अवस्था पनि थिएन र मूलतः ड्रागन फ्रुट खेती उहाँको पतिको जीवनको सपना थियो ।

    पद्माको परिवार जाजरकोटको साल्मा पहाडबाट भित्री मधेशमा पर्ने सुर्खेत वीरेन्द्रनगरमा झर्दा धेरै मान्छेसँग चिनजान पनि थिएन । राम्रोसँग रहनसहन नभएको ठाउँमा मर्दा पर्दा गाउँको जस्तो सजिलै दुःख–सुख बाँड्न सक्ने अवस्था हुनु अझ परको कुरो भयो । झनै कोरोना रोगले मृत्यु भएको भन्ने सुनेपछि भेटघाटमा आउने आफन्त र अन्य शुभचिन्तकहरु चाहेर पनि भेट्न मान्दैनथे ।

    पति विछोडको वेदना खेप्दै गर्दा रोगको प्रकृतिले पनि झनै पीडा दिलायो, रावतको परिवारलाई । त्यो बेला कोरोना रोग र त्यसबाट मृत्युको खबर सुन्नेहरु डरले नजिक नआएरै भाग्थे । कोभिड–१९ रोग लागेको भनेपछि समाजले पनि कमजोर र अपमानित दृष्टिकोणले नजर लगाउँथ्यो ।

    समाजको यस किसिमको व्यवहारले पीडा भएर रावतको दैनिकी आँसुको आहालमा परिणत हुन्थ्यो । त्यसबेला उहाँले मृतक पतिको सत्गद् आफ्नो संस्कार अनुसार पनि गर्न पाउनुभएन । पतिको अवसानको अन्तिम क्षण त्यो मृत भौतिक अनुहार हेर्न नपाएरै टाढैबाट हात हल्लाएर विदाई गर्नुपर्‍यो ।

    “पीडा र आँसुको आहालबाट तङ्ग्रिन गाहे त भयो नै । तथापि संसारलाई हेरें, अनि चित्त बुझाउँदै शोकलाई शक्तिमा बदलेर पतिको सपनालाई पूरा गर्ने दृढ सङ्कल्प मनमनै गरें,” पद्माले भन्नुभयो, “छोरा छोरी साथमै छन् । अब धेरै बिलौंना गरेर बाँकी जीवन चल्दैन भन्ने लाग्यो र त्यस दिनदेखि उहाँले बनाएको बाटोमा हिँड्न सुरु गरें ।”

    दिवङ्गत बुढाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित नेवारेमा करिब ३० कट्ठा क्षेत्रफलको जग्गा लिजमा लिएर ड्रागन फ्रुटको बिरुवा रोप्नका लागि ६३४ सिमेन्टको खम्बा ठड्याइसक्नुभएको थियो । विसं. २०७८ वैशाख पहिलो सातासम्म करिब ८५ प्रतिशत काम भइसकेको थियो ।

    पतिको निधनपछि फर्म सञ्चालकको जिम्मेवारीले ड्रागनका बिरुवा भने पद्माले रोप्नुभयो । एउटा खम्बामा चारवटाको दरले रोप्दा ६३४ खम्बामा करिब दुई हजार ६०० ड्रागनको बिरुवा लगाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार बिरुवा लगाउँदा कसरी फल्छ र यसको गोडमेल कसरी गर्नुपर्दछ भन्ने त्यति सुझबुझ थिएन ।

    प्राविधिक ज्ञान, आर्थिक अभाव र जनशक्ति व्यवस्थापन विना अन्धाधुन्दा खेती सुरु गरेको उहाँले बताउनुभयो । पद्माले भन्नुभयो, “यो कस्तो ठाउँमा बढी उत्पादन हुन्छ ? कति पानी चाहिन्छ ? काँटछाँट कसरी गर्ने ? कति पछि र कस्तो फल दिन्छ ? भन्ने कुराको हामीलाई त्यति ज्ञान नै थिएन । यो त उहाँलाई मात्र थाहा थियो ।”

    बीरबहादुरले भने दाङ, चितवनलगायतका नेपालका विभिन्न ठाउँको ड्रागन फ्रुट खेतीको प्राविधिक र वातावरणीय पक्षको ज्ञान लिएर भारतको गुजरातबाट यसको बिरुवा ल्याउनुभएको थियो । त्यो प्राविधिक र वातावरणीय ज्ञान पद्मालाई जानकारी नहुँदै पतिको मृत्यु हुँदा खेती कसरी सुरु गर्ने भन्ने भेउ पाउन गाह्रो भयो ।

    खेती सुरु गरेदेखि अहिलेसम्म रु ७० लाख बजेट लगानी भइसकेको पद्माले बताउनुभयो । उहाँका अनुसार कुनै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग लिएको छैन । केही आफ्नो र धेरै ऋणकै भरमा लगानी गरेर ड्रागन फ्रुट खेतीलाई यो ठाउँसम्म पुर्‍याइएको छ । हेल्भटासले भने सिँचाइमा सहयोग गरेको थियो ।

    मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले करिब ३० कट्ठामा खेती गरिरहेको छ । वार्षिक रु तीन लाख भाडा तिर्ने गरी लिजमा लिएको उक्त जग्गा १५ वर्षका लागि सम्झौता गरिएको र हरेक वर्ष १० प्रतिशतले भाडा वृद्धि हुने उल्लेख गरिएको उहाँले बताउनुभयो ।

    ड्रागनको फल बजार जान थालेपछि भने पद्माको परिवारमा खुशी छाउन थालेको छ । उहाँ भन्नुहुन्छ, “प्रतिकेजी रु ८०० को मूल्यमा फ्रुट बजारमा बिक्री भइरहेको छ । यो बालबालिकाले आइसक्रिम जस्तो मानेर बढी खाने भएकाले बजारमा माग निकै छ तर हामीले पुर्‍याउन सकिरहेका छैनौं । अहिलेसम्म दुई क्विन्टल जति बिक्री गरिसक्यौं ।”

    पद्मालाई १७ वर्षीय छोरी सपना बुढाले ठूलो सहयोग गर्दै आउनुभएको छ । एसइई नतिजाको पर्खाइमा बस्नुभएकी सपनाले बुबाको सपना पूरा गर्नेमा आफ्नो पनि हिस्सा रहेको बताउनुभयो । “सायद बाबाले आफ्नो सपना पूरा गर्न मेरो नाम पनि सपना राख्नुभएको थियो”, उहाँले भन्नुभयो, “त्यसैले यही खेतीलाई नमूना बनाएर बाबाको सपना पूरा गर्छु ।”

    सपनाले आमासँग काम गर्दै यो खेतीका बारेमा धेरै सिकेको बताउनुभयो । उहाँका अनुसार एउटा पिलरमा लगाइएको बिरुवाबाट तीन केजीसम्म फ्रुट फल्ने गर्छ र महिनामा दुई लट दिने यो फल जेठदेखि असोजसम्म फल दिन्छ । यस हिसाबले उनीहरुले सामान्यतया एक महिनामा तीन हजार ६०० र पाँच महिनामा १८ हजार केजी ड्रागन फ्रुट उत्पादन हुन्छ । फ्रुट उत्पादनसँगै ड्रागनको बेर्ना पनि फर्मले उत्पादन गरेर रु २०० मा बिक्री गर्दै आएको छ । आफूले बुझेअनुसार एक पटक लगाएको ड्रागनको बिरुवाले २० देखि ३० वर्षसम्म फल दिने सपनाले बताउनुभयो ।

    विगतमा कृषिबारे कुनै ध्यान नभएपनि एसईईको नतिजापछि ड्रागन फ्रुट खेती गर्न सहयोग पुग्ने प्राविधिक विषय लिएर उच्च शिक्षा पढ्ने लक्ष्य राखेको उहाँले जनाउनुभयो । ड्रागन फ्रुट बिक्रीले बुढा परिवारलाई पछिल्लो समयमा घर खर्च चलाउन, बालबालिकाको पढ्न सहयोग पुगेको छ । अब भने आम्दानी बढेर यो खेतीका लागि लगानी गरिएको ऋण तिर्न मद्दत पुग्ने उनीहरुले अपेक्षा गरेका छन् ।

    कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले एकल महिलाको प्रयासले गरिएको खेती वर्णन गर्न लायककै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “फर्मको उत्पादन र विकास यही रफ्तारमा गयो भने यसले आम्दानी राम्रो दिने देखिन्छ । वार्षिक रु छ लाख आम्दानी भन्दा कम हुँदैन ।”

    उहाँले मालिका ड्रागन फ्रुट फर्मलाई रु ८० हजारसहित एकहाते ट्रयाक्टर पनि सहयोग गरिएको बताउनुभयो । निर्देशक रोकायका अनुसार पद्मा रावतसहित कर्णाली प्रदेशमा अहिले आठ हेक्टर अर्थात पाँच विगाहा क्षेत्रफल जमीनमा ड्रागन फ्रुट खेती भइरहेको छ । ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुँदा यसलाई ड्रागन फल भनिएको हुनसक्छ । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रित हुन्छ । यसको काण्ड कमजोर हुने भएकाले खम्बा वा अन्य चिजको सहारा आवश्यक पर्दछ ।

    कर्णाली प्रदेशमै बिना कुनै सहयोगमा एकल महिला पद्मा बुढाको एक प्रयासमा गरेको ड्रागन फ्रुट खेती दुई साताअघि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले अवलोकनको साथै उद्घाटन गर्नुभयो । त्यहाँ पुग्नुभएको मन्त्री शाहीले एकल महिलाको एकल प्रयासले भएको सफलताको उच्च प्रशंसा गर्नुभयो । “कृषिका माध्यमबाट कर्णालीको अर्थतन्त्र र आत्मनिर्भरता बढाउन योगदान दिने कृषि व्यवसायीहरुमा रावत एक उदाहरणीय पात्र हुन्,” उहाँले भन्नुभयो, “सरकारले व्यावसायिक खेती गरेर कर्णाली प्रदेशलाई माथि उठाउन सहयोग पुर्‍याउने कृषकहरुलाई विशेष प्रोत्साहन दिन्छ ।”

    मन्त्री शाहीले स्वाभिमानी र पौरखी व्यक्तिहरुका कारण कृषि क्षेत्रको व्यावसायिकता बढ्ने जनाउँदै फर्मका सञ्चालक रावतलाई ड्रागन फ्रुट उत्पादनपछि बिक्रीमा समस्या हुन नदिने आश्वासन दिनुभयो । उहाँका अनुसार बिक्री वितरणमा समस्या भएमा प्रदेश सरकारले सहजीकरण गरिदिने छ ।

    काम गर्दै सिकेको ज्ञान र बाध्यात्मक रुपले थपिएको जिम्मेवारीले गरेको खेती भएकाले व्यावसायिक बन्न केही समय लाग्ने उहाँको बुझाइ छ । “पूर्वमन्त्री तथा ड्रागन व्यवसायी लोकेन्द्र विष्ट मगरले दाङमा गरेको ड्रागन फ्रुट खेतीको अवलोकन गरियो,” उहाँले भन्नुभयो, “त्यहाँको ड्रागन फ्रुट सेतो रङको रहेछ । दाना भने ठूलो रहेछ ।”

    उक्त खेती अवलोकन गर्न र त्यहाँको अनुभव लिन शुल्क तिर्नु परेको क्षणबारे सुनाउँदै उहाँले आफू व्यावसायिक बन्न नसकेको अनुभूति प्रकट गर्नुभयो । ड्रागन फ्रुट खेतीको वरिपरि बलियो बार नहुँदा चोरहरुले फल चोर्न थालेको उहाँले दुखेसो पोख्नुभयो । उहाँका अनुसार कर्णाली प्रदेश सरकारले चालु आव २०७९÷८० मा सिँचाइका लागि एउटा बोरिङ खन्दिने वचन दिएको छ । – रासस

  • बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा : भारी बोकेर आम्दानी गर्छन, कोदोको ढिँडो खान्छन्

    बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा : भारी बोकेर आम्दानी गर्छन, कोदोको ढिँडो खान्छन्

    म्याग्दी, साउन ११
    दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिएका छन् ।

    मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नति गरेको भए पनि मानसिक शान्ति र शारीरिक स्फुर्तिलाई भने गुमाउँदै गएको वर्तमान समयमा कुनै रोग नलागी ६० वर्ष पार गर्न सक्यो भने ‘धन्य’ मान्नुपर्ने अवस्था छ । तर बगरा गाउँमा धवलागिरि हिमालको जस्तै आभा लिएर बिहान ५ बजे नै घरको आँगनमा निस्केर हिमाल हेर्दै मुसुक्क मुस्कुराउछन् पनाजु ।

    शौचादी नित्यकर्मपछि घर नजिकै छङ्छङ् गर्दै बगेको अर्जे खोलामा गएर चिसो पानीले मुख धोई घरमा आएर बुहारीले दिएको तातोपानी र चिया पिएपछि एउटा हँसिया खुर्पेटोमा भिरेर जङ्गलतर्फ लाग्छन् उनी । वल्लोपल्लो घरका छोरा, भतिजा र बटुवाहरुसँग हालखबर बुझ्दै सुस्तसुस्त पाइला अघि बढ्छन् वृद्ध पुर्जाका ।

    गाउँ परको खोरियामा बुट्यान र झाडीलाई छिचोल्दै निगालो काटेर भारी बाँध्छन् । निगालो काट्दा, भारी बाँध्दा र थकाइ मेटाउँदा करिब तीन घण्टा बित्छ । भारी बोकेर विस्तारै गाउँतिर झर्छन् र घरमा पुगेर भारी बिसाएपछि आँगनमा रहेको ठूलो लाम्चो ढुङ्गामा एक छिन सुस्ताएपछि खाना खान घरभित्र पस्छन् । दिनभर जङ्गलबाट ल्याएको निगालोको चोया बनाउन सुरु गर्छन् ।

    पुर्जाले चोयाबाट भकारी, मान्द्रो, डोकोलगायत घरायसी कृषि सामग्रीहरु बुनेर बुढ्यौलीलाई भुलाइरहेका मात्र छैन केही आम्दानी पनि गरिरहेको नाति होमबहादुरले बताए । पुर्जाको दैनिकी देखेर यहाँ पुग्ने पर्यटकहरुले उनको तस्बिर लिन्छन् । उपहार दिन्छन् र उनको प्रशंसासहित सुस्वास्थ्यको कामना गर्ने गर्छन् ।

    बिहानको खानामा सधैँ कोदो, मकै, गहुँ, जौको पीठोबाट बनाइएको ढिँडो उनको आहारा हो । ढिँडोसँगै उनलाई गेडागुडीको झोल र मोही अनिवार्य चाहिने पुर्जाका नाति होमबहादुर पुर्जाले बताए । पुर्जा अझै पनि उकालो बाटो ठमठम हिँडेर जङ्गल र गाउँ बेँसी गर्छन् । उनी एकछिन पनि बेफुर्सद हुन चाहन्न । १०५ वर्षीय पनाजुले भने, “उमेर ढल्के पनि अझ धेरै बाँचुम्बाँचुम् लाग्दो रै छ ।” उमेरले ६० वसन्त पार गरेपछि मानिसहरु बुढ्यौली लाग्यो भनेर आफूले गर्दै आएका कामप्रति रुचि घटाउँछन् र विस्तारै निष्क्रिय जीवनतिर लाग्छन् । तर उनले आफ्नो बुढ्यौलीलाई जितेर ढिकीजाँतो, मेलापात गर्नाका साथै वनजङ्गलबाट निगाला ल्याई घरायसी कृषि सामग्रीहरु बनाउने काममा व्यस्त रहन्छन् ।

    आफूलाई भेट्न आएका मानिससँग कुरा गर्दै काम गरिरहने पुर्जा कसैसँग कहिल्यै पनि नरिसाउने र रुखो नबोल्ने त्यसै गाउँका देवान छन्त्यालको भनाइ छ । उनलाई आफ्नो जीवन गोठ, जङ्गल र खर्कमा नै बितेकाले यसैमा आनन्द लाग्दछ । नाति होमबहादुरले भने, “नपुग्दो केही छैन, सबै चीज छ । तर हातखुट्टा चलुन्जेलसम्म काम गर्न छोड्नु हुँदैन भनेर काम गरिरहनुहुन्छ ।” उनलाई अहिलेसम्म सामान्य रुघाखोकीबाहेक अरू जटिल कुनै रोग छैन । पछिल्लो समय कान अलि कम सुन्ने गरेका उनलाई अरू कुनै स्वास्थ्य समस्या छैन । उनले भने, “जहिलेसम्म शरीर चल्छ, त्यतिबेलासम्म काम गर्न छोड्दिन, शरीर चल्नै छोड्यो भने त के गरी काम गर्ने हो र ?” कहिलेकाहीँ अलि दम बढेको जस्तो भयो भने उनी आफैँ जङ्गली लहरालाई थिचेर झोल बनाई पिउने गर्छन् ।

    गत जेठदेखि १०५ वर्षमा प्रवेश गरेका पनाजुको बालापन, युवावस्था र ८५ वर्षसम्मको वृद्धवय गाई भैँसीसँग गोठ बसेर धवलागिरि हिमालको फेदीमा रहेका खर्कहरुमा बित्यो । जङ्गली कन्दमूल, आँटो पीठो र दूध, दही, घीउ खाएको तन्दुरुस्त जीउ भएका पुर्जाको अनुहार चाउरिएर बुढ्यौलीको परिचय दिए पनि उनको जोस, मिजासिलो स्वभाव, हँसिलो व्यक्तित्व र जाँगरिलो आनीबानीले युवापनको आभास दिलाइरहने चिन्नेहरु बताउँछन् । पचासी वर्षको उमेरसम्म खादीका कपडा मात्रै लगाएका पुर्जाले अहिले भने छोरा नातिले ल्याइदिएका न्याना कपडा लगाउने गरेका छन् ।

    पाँच छोरी र तीन छोराका पिता पनाजुकी श्रीमती ओममती अहिले ८६ वर्षकी भइन् । लोग्नेभन्दा १९ वर्षले कान्छी ओममती घरको सबै काम गर्छिन् । खाना पकाउने, खुवाउने, भाँडा सफा गर्ने, श्रीमान्का कपडा धोइदिने सबै काम गर्न सक्छिन् । उनका छोरातर्फका १२ नातिनातिनी छन् । उनीहरु कोही अध्ययनका लागि सहरमा छन् त कोही रोजगारीका लागि विदेशमा । – रासस

  • विद्यालयमा चार शिक्षक, एक विद्यार्थी

    विद्यालयमा चार शिक्षक, एक विद्यार्थी

    डडेल्धुरा, ३० असार –
    ‘अभिभावक ज्यू नमस्कार, कता हिड्नु भयो कुन्नी? एकपटक विद्यालयमा प्रवेश गरि छोराछोरीको पढाइबारे छलफल गरौं कि?’ यहीँ नारा लिएर सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन अमरगढी नगरपालिकाले ठाउँ ठाउँमा साइनबोर्ड झुन्ड्यायो।

    नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरूप न्यूनतम विद्यार्थी संख्या नपुगेको भन्दै ‘नगरपालिकाको विद्यालय समायोजन कार्यविधि २०७७’ लागू गरि नगरभित्रका विद्यालयलाई समायोजन गर्‍यो। विद्यालय समायोजनपछि बालविकासदेखि ५ कक्षासम्म सञ्चालन भएका ५ विद्यालयले शैक्षिकसत्र २०७७ देखि कक्षा ४ र ५ मा भर्ना लिन पाएनन्।

    विद्यालय समायोजन र गुणस्तरीय शिक्षाको नारा लिएर अघि बढेको अमरगढीले सोचे अनुरूप शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सकेको छैन्। समायोनपछि ३ कक्षासम्म मात्रै पठनपाठन गर्न पाउने यहाँका अधिकाशं विद्यालयको अवस्था दयनिय बन्दै गएको छ। नगरको लगानी समेत ‘बालुवामा पानी’ जस्तै भएको छ।

    यसैको एक उदाहरण हो, अमरगढी नगरपालिका–३ मा रहेको जनसेवा प्राथमिक विद्यालय डाँडाकोट, पथरोडा। २०४९ सालमा स्थापना भएको यो विद्यालयमा कुनै समय विद्यार्थीको संख्या उल्लेखनीय हुन्थ्यो।

    तर, विद्यालय समायोजनपछि एक जना विद्यार्थी मात्रै विद्यालयमा पढ्नका लागि आउने गरेका छन्। ती विद्यार्थी पनि विद्यालयमा कार्यरत शिक्षिकाको छोरा रहेका छन्।

    ‘नयाँ शैक्षिक शत्रमा २१ जना विद्यार्थी भएका हुन्। भर्ना भएका मध्ये अहिले एक जना मात्रै विद्यालयमा पढ्न आउने गरेका छन्। ती पनि बालविकासमा पढ्छन्,’ विद्यालयकी शिक्षिका आरती सुनारले भनिन्, ‘४ र ५ कक्षामा ठूला–ठूला विद्यार्थी हुन्थे। ती विद्यार्थीसँगै स–साना बालबालिका आउँथे। अहिले उनीहरूले आफूसँगै लग्ने गरेका छन्।’

    विद्यालयमा हाल चार जना शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत रहेको शिक्षिका सुनारले बताइन्। दुई जना स्थायी र तीन जना अस्थायी रहेको उनको भनाइ छ। विद्यालयमा नियमित आउने गरेपनि विद्यार्थी नहुँदा समय वेतित गर्नै समस्या हुने गरेको उनी बताउँछिन्।

    उनी भन्छिन्, ‘पालैपालो विद्यार्थीलाई पढाउँछौं। प्रअ सरले प्रशासनिक काम गर्नुहुन्छ। हामी बसेरै बिताउँछौं। गाउँलेहरूले समेत बसेरै तलब खानुहुन्छ भन्छन्। यो भन्दा कतै समयोजन गरिदिए काम गरेर पारिश्रमिक लिएका छौं भन्न हुन्थ्यो।’

    विद्यार्थीको संख्यामा कमि आयो भनेर ४ र ५ कक्षा घटाल माध्यमिक विद्यालय नुवाकोटमा समायोजन भएको विद्यालयका प्रधानाध्यापक डम्बरसिंह भण्डारीले बताए। विद्यार्थीको संख्यामा किन कमि? भन्ने प्रश्नमा उनले भने, ‘केही हाम्रा पनि कमजोरी होलान्। गुणस्तरीय शिक्षा नदिन पनि सकेका हुन सक्छौं।’

    प्रअ भण्डारीले जिल्ला सदरमुकामबाट स्कुल बस गाउँमा आउने भएकोले पनि विद्यार्थी सदरमुकाम दिर जान थालेको बताए। उनी आर्थिक उन्नतीको हिसाबले संस्थागत विद्यालयमा विद्यार्थी पढाउने होडबाजीले समेत विद्यार्थीको संख्यामा कमी आएका बताउँछन्।

    स्थानीय तहको उदासीनता
    सरकारले माध्यमिक तहसम्मको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। यधपी स्थानीय तहको उदासीनताले सामुदायिक विद्यालयको अवस्था दिन प्रतिदिन खस्किँदै गएको छ। सामुदायिक विद्यालयको अवस्था झन् खस्किदै गएको छ।

    विद्यालयको अवस्था बारे विद्यालयले नगरपालिकालाई जानकारी गराइसकेको छ। विद्यालयमा विद्यार्थीको संख्या शून्य रहेको र विद्यालयमा रहेका शिक्षक तथा कर्मचारीको दरवन्दी समायोजन गरिदिन विद्यालय प्रशासनले वडा र नगरलाई पत्र समेत पठाइसकेको छ।

    तर, अमरगढी नगरपालिका मौन रहेको छ। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्दा संस्थागत विद्यालय छोडेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएका थुप्रै उदाहरण छन्। तर, यो विद्यालयको अवस्था टिठ लाग्दो छ।

    के भन्छन् स्थानीय?
    सामुदायिक विद्यालयमाभन्दा संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएकोले पनि विद्यार्थीको संख्या घटेको स्थानीय धिरज भण्डारीले बताए।

    ‘म पनि पहिले पाँच सम्म पढेको थिए। पढाइ राम्रो थियो। तर, अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नै आफ्नो छोरो संस्थागत विद्यालयमा पठाएका छन्,’ उनले भने, ‘विद्यालयसँग सम्बन्धित व्यक्तिका छोराछोरी बाहिर गएर पढ्न थालेपछि अरुको पनि विद्यालय प्रति विश्वास घट्दै गयो। र, विद्यार्थी विद्यालयमा लगाउनै छोडे।’

    विद्यालयमा अस्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारी यहाँका राजनीतिक दलले पुहँचका आधारमा भर्ना गरेकोले पनि स्थानीयले विद्यालयमा विद्यार्थी पठाउन छोडेको स्थानीय वीरबहादुर ऐरले बताए। न्युज कारखाना

  • बहिनी बस चलाउने, दिदी भाडा उठाउने : छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन्

    बहिनी बस चलाउने, दिदी भाडा उठाउने : छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन्

    बुटवल, २६ असार-
    त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने ।

    सीप भए जुनसुकै पेसाबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् । अनि उनलाई सहचालक बनेर सघाइरहेकी छन् सहोदर दिदी शान्ता मल्लले । बुटवल–कृष्णनगर रुटमा सार्वजनिक बस चलाउने निमा आफू सबैका लागि उदाहरण बनेको बताउँछिन् ।

    हरेक दिन बुटवलको अस्पताल लाइन र पुरानो बसपार्कमा लु१ज २८१२ नम्बरको सारू ट्राभल्स गाडी रोकेर निमा र शान्ता यात्रु खोजिरहेका भेटिन्छन् । निमा गाडीको चालक सिटबाट यात्रुतर्फ आँखा डुलाउँछिन् भने शान्ताले यात्रुहरू”लाई आग्रह र अनुरोध गर्दै आफ्नो बसतिर तान्ने प्रयास गरिरहेकी हुन्छिन् । वरिपरि हेर्ने मान्छेहरू भने अचम्म मानिरहेका हुन्छन् ।

    निमा र शान्ता सहोदर दिदीबहिनी हुन् । कपिलवस्तु वाणंगगा नगरपालिका–८ का यी दिदीबहिनीले यात्रुलाई सेवा दिन थालेको आठ वर्ष बित्यो । ‘गाडीका ‘स्टाफ’ हुन् भन्ने थाहा नपाएर होला कहाँ जाने हो भनेर सोध्दा यात्रुले किन भनेर समेत भन्छन्,’ निमा भन्छिन्, ‘सुरुसुरुमा कोही त महिला चालक र सहचालक देखेपछि सिटमा बसिसकेका यात्रु पनि झर्ने गरे तर अहिले चिनेका मानिस खोजिखोजी हाम्रै गाडीमा आउँछन् ।’

    प्रायः पुरुषले गर्ने काम चालक र सहचालकमा महिलालाई देख्दा मानिसहरू छक्क पर्नु स्वाभाविक नै मान्छिन् निमा । निमाले बसको ‘स्टेरिङ’ घुमाएको यात्रु हेरिरहन्छन् ।

    २०५३ सालमा तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण भएपछि घर परिवारले वाणगंगाका धनबहादुर सारूसँग निमाको विवाह गरिदिए । १६ वर्षको उमेरमै बिहेपछि केही वर्ष बालबच्चा हुर्काउँदैमा उनको समय बित्यो । त्यसपछि उनले गाउँको एउटा सहकारीमा कार्यालयको ‘क्यासियर’ का रूपमा काम गर्न थालिन् । त्यसका लागि उनले स्कुटर चढेर जानुपर्ने भयो ।

    स्कुटर लाइसेन्स अनिवार्य भयो उनलाई । २०७० सालमा लाइसेन्स निकालिन् । गाडी चलाउने सपना त मनमा छँदै थियो । २०७१ सालमा बुटवलको एक इन्स्टिच्युटबाट गाडीको लाइसेन्सका लागि आवेदन फाराम खुलेको थाहा पाइन् । सवारीचालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिएपछि गाडी चलाउन सिक्न थालिन् । लाइसेन्स ट्रायल परीक्षा पास गरेपछि पहिलो पटकमै गाडीको लाइसेन्स निस्कियो । त्यसपछि गाडी हाँक्ने उनको हौसला बढ्दै गयो ।

    उनले पति धनबहादुरलाई भनिन्, ‘अब मैले गाडी चलाउन गाडी किन्नुपर्‍यो ।’ पतिले सहजै स्वीकार गरे । २०७२ वैशाखमा गाडी (विङ्गर) किनियो । सुरुमा घरबाट राजमार्गसम्म गाडी लगिन् उनले । तर राजमार्गमा चलाउन डराइन् । चालक जागृत श्रेष्ठलाई राखेर आफू सहचालक भइन् । चालकको पूर्ण विश्वास नहुने, घर गए आउने ठेगान नहुने हुँदा उनलाई हैरानी पनि भयो । चालकलाई तलब दिनुभन्दा आफूले गाडी चलाउने र दिदीलाई सहचालक बनाएर अगाडि बढ्न थालिन् । त्यसपछि सुरु भएको हो दिदीबहिनीको गाडी यात्रा ।

    पतिको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको निमा बताउँछिन् । ‘मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो । गाडी किनिदिनुभयो । त्यसैले म आज सार्वजनिक गाडीको चालक हुन सफल भएँ,’ निमाले भनिन् । निमाका पति धनबहादुर बिजुलीका काम गर्छन् ।

    दिदीबहिनी बिहानदेखि रातिसम्म सडकमै हुन्छन् । साँझ ८–९ बजेसम्म उनीहरू सडकमै हुन्छन् । दैनिक निश्चित रुटमा कम्तीमा तीन ट्रिप चलाउनुपर्छ तर रुट कहिले कहाँ, कहिले कहाँ ?

    अर्घाखाँचीबाट शान्ताको परिवार पनि निमाको नजिकै बसाइसराइ गरी आएको हो । उनीहरूको मूल घर (जन्म) अर्घाखाँचीको छत्रदेव केरुङ्गामा हो । शान्ताका पति रोजगारीको सिलसिलामा भारतमा छन् । बहिनीको प्रस्तावमा दिदी शान्ताले पनि साथ दिइन् । अहिले बहिनी गाडीमा लोकदोहोरी गीत घन्काउँदै गाडी कुदाउँछिन्, दिदी भाडा उठाउँछिन् । ‘के थाहा लेखेको के रहेछ, आखिर हामी दिदीबहिनी गाडी लाइनमा आउँछौं भन्ने,’ शान्ता भन्छिन् ।

    बहिनी निमाको इच्छाशक्ति, कामप्रति रुचि र प्रतिबद्धताले नै पुरुष दबदबा रहेको यातायात क्षेत्रमा चुनौतीको सामना गर्दै सफल भएको शान्ताको भनाइ छ । ‘काममा लाग्नुपर्छ, अघि बढ्नुपर्छ भन्ने कुरा सधैँ भित्री मनमा बहिनीको थियो,’ शान्ता भन्छिन्, ‘अहिले आएर मलाई पनि यसैमा जोड्न सफल भइन् ।’

    आफ्नो मेहनत, परिश्रमले दिदीबहिनीले फड्को मारेका छन् । निमा उमेरले ४१ वर्ष र शान्ता ४२ वर्षकी भइन् । आफ्नो पेसाप्रति दिदीबहिनी पूर्ण सन्तुष्ट छन् । ‘महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भनेर देखाउन पाउँदा आफूलाई गर्व लाग्छ,’ निमा भन्छिन् ।

    अहिले गाडीबाट सबै खर्च कटाएर निमाको मासिक एक लाख रुपियाँभन्दा बढी कमाइ हुन्छ । ‘तेल महंगो भएको छ । खर्च धेरै छ, मर्मत सम्भारमा पनि खर्च धेरै लाग्न थाल्यो, सबै खर्च कटाएर दैनिक ४५ सयदेखि पाँच हजार रूपैयाँसम्म बचत हुन्छ,’ उनले भनिन् ।

    पहिलो कोरोना महामारी आउनुभन्दा अगाडि नै निमाले गाडीको किस्ता तिरिसकेकी थिइन् । ‘धन्न कोरोना अगाडि गाडीको किस्ता तिरेर सकिएको थियो । एक वर्ष गाडी थन्किँदा के हुन्थ्यो होला हालत ?,’ निमाले विगतमा यातायात क्षेत्रले भोगेको समस्या सम्झिइन् ।

    निमाका दुई छोरी र एक छोरा छन् । ठूलो छोरी २४ वर्षकी भइन् । छोरा १७ वर्षका भए । निमालाई छोराछोरीले गाडी नचलाउन सुझाव दिन्छन् तर निमा आफूले सक्ने उमेरसम्म गाडी लाइनमै काम गर्ने सोचमा छिन् ।

    ‘मैले गाडी चलाउँदा छोराछोरीलाई लाज भयो रे त्यहीँ भन्छन् तर मैले सक्ने उमेरसम्म गाडी चलाउने हो,’ उनले हौसलाका साथ भनिन् । महिला चालकको रूपमा बुटवल यातायात प्रालिले निमालाई सम्मान समेत गरेको छ ।

    निमाले राम्रो गाडी चलाउँछिन् भन्ने सुनेपछि आजभोलि गाडीको ‘क्यू’ बाहिरको समयमा पनि उनी रिजर्भमा टाढा–टाढासम्म पुग्छिन् । ‘रिजर्भमा जाने हो भनेर फोन गर्छन् । कहिले सुपादेउराली, कहिले सौराहा त कहिले दाङ–घोराही हुँदै बर्दियासम्म पनि पुगेकी छु,’ उनले भनिन् । -न्युज कारखाना