Category: फिचर

  • चितवनमा घरपालुवा कुकुर बेचेर मनग्य आम्दानी गर्दै २० वर्षीय सुपल

    चितवनमा घरपालुवा कुकुर बेचेर मनग्य आम्दानी गर्दै २० वर्षीय सुपल

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, माघ ८ –
    १८ वर्षको कलिलो उमेरबाटै घरपालुवा कुकुर बेचविखन गर्ने व्यावसाय सुरु गरेका भरतपुरका सुपल अधिकारीले दुई वर्षमै राम्रो सफलता हाँसिल गरेका छन् ।

    भरतपुर १२ मुनाल चोक नजिक हिल्बर्ड चोकमा रोयल डग ब्रिडिङ्ग सेन्टर सञ्चालन गरी अधिकारीले सानो उमेरमै मनग्य आम्दनी गरिरहेका हुन् ।

    उनले काठमाडौंबाट कुकुर र छाउराहरु ल्याएर बिक्रि वितरण गर्ने गर्दछन् । एउटा कुकुरको ५ हजारदेखि १ लाख ५० हजारसम्म पर्छ । स्पिच, पग, डोबर म्यान, जर्मन शेर्फड, ल्याब्बल्डर, गोल्डेन रिटिबर, दाल्मेसियम, पोमोरियन, हस्कि, सिजु, ग्रेट डेन, रोट वाइलर, डोगो अर्जेन्टिनो लगायतका विभिन्न जातका कुकुरहरु त्यहाँ पाइन्छन् । यसलाई चाहिने बेल्ट, भ्याक्सिन उपलब्ध गराउनुका साथै आवश्यक परामर्श पनि उनले दिने गरेका छन् ।

    २ वर्षअघि व्यावसाय सुरु गरेका उनले अहिलेसम्म ३०० सयभन्दा बढी कुकुर चितवनका बासिन्दालाई बेचिसकेको जानकारी दिए । अधिकारीले घरमै २० वटा कुकुर राख्ने खोर बनाएका छन् । त्यही खोरमा गएर कुकुर हेरर किन्न सकिन्छ । कुकुर मन परेपछि उनले घरमै लगिदिने गर्दछन् ।

    दाई सुरज अधिकारीले व्यावसाय सुरु गर्नका लागि लगानी गरिदिएको सुपल बताउँछन् । कुकुरको स्यारसुसाहर पनि उनी आफैले गर्ने गर्दछन् । उक्त व्यावसाय गर्नका लागि काममा खटिन उनी एकजना भए पुग्छ । अरुको सहयोग यसमा नचाहिएको अधिकारी बताउँछन् ।

    उनी अहिले वीरेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक दोश्रो वर्षमा अध्ययनरत छन् । १८ वर्षको कलिलो उमेरबाटै व्यावसायमा होमिएका अधिकारी भन्छन्, ‘काम गर्ने इच्छा भयो भने उमेरले केही पनि छेक्दैन ।’

    पढ्दै व्यावासयमा होमिएका सुपल अधिकारीले समाजमा एउटा राम्रो उदाहरण प्रस्तुत गरिहेका छन् ।

     

  • “पैसा कमाउन विदेश त गइयो, तर भने जस्तो भएन”

    “पैसा कमाउन विदेश त गइयो, तर भने जस्तो भएन”

    बागलुङ, १ पुस
    रोजगारी खोज्दै विदेशी भूमि पुग्ने सबैले पैसा कमाउँछन् भन्ने छैन । परदेशको काम आफू अनुकुल नहुँदा पैसा कमाउनभन्दा पनि ऋणको भारी बोकेर आउने पनि छन् । त्यसैमध्येका एक हुनुहुन्छ, जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहोरा ।

    रोजगारीका सिलसिलामा केही वर्ष कतार र मालदिभ्समा श्रम खर्चनुभएका उहाँ यतिबेला भने गाउँमै कृषि व्यवसायमा रमाउनुभएको छ । “पैसा कमाउन विदेश त गइयो, तर भने जस्तो भएन । अहिले गाउँमै गरेको कृषि व्यवसायले आत्मसन्तुष्टि दिएको छ”, बोहोराले सुनाउनुभयो ।

    बोहोरा विसं २०६४ सालमा रोजगारीका सिलसिलामा कतार पुग्नुभयो । त्यहाँ उहाँले भने जस्तो काम पाउनुभएन । कतारमा एक वर्ष बिताउँदा पैसा कमाउनुको साटो ऋण बोकेर घर फर्कनुभयो । त्यसपछि उहाँ मालदिभ्स पुग्नुभयो । त्यहाँ पनि तीन वर्ष काम गर्दा भने जस्तो पैसा जम्मा भएन ।

    कतार र मालदिभ्समा काम गरेपछि उहाँलाई काम खोज्दै अर्को देश जान मन लागेन । त्यसपछि गाउँमै व्यवसायिक तरकारी खेती सुरु गर्नुभयो । “गाउँ फर्केर बाँझो जग्गामा व्यवसायिक खेती सुरु गरेको १२ वर्ष भयो, आम्दानी त यहाँ पनि असाध्यै राम्रो त छैन तर आत्मसन्तुष्टि भने मिलेको छ”, उहाँले भन्नुभयो, “मालदिभ्समा कमाएको पैसा श्रीमतिलाई विदेश पठाउँदा खर्च भयो । श्रीमति फर्केर आइनन् । उतै घरजम गरिन । त्यसपछि फर्किर विदेश जान मलाई मनले दिएन । जे गरे पनि गाउँमै गर्छु भन्ने लाग्यो ।” त्यसपछि उहाँले दोस्रो विवाह गर्नुभयो ।

    श्रीमती र छोरासहितको तीन जनाको उहाँको परिवार अहिले कृषिमै निर्भर छ । उहाँले हाल छ वटा आधुनिक र परम्परागत प्लाष्टिक टनेलमार्फत गोलभेडा, काउली, ब्रोकाउली, मुला, केराउ, चना, बन्दा र सिमि फलाउनुभएको छ ।

    उहाँको फार्ममा कागती, सुन्तला, अमिलोलगायतका फलफूल पनि छन् । साथमा एउटा दुहुनो गाई, एउटा भैँसी, कुटानीपिसानी मेसिन, पाँच वटा बाख्रा र एक दर्जन कुखुरा पनि छन् । “फार्म र परिवारको खर्च कटाएर केही रकम बचत समेत गर्न भ्याएको छु”, उहाँले भन्नुभयो ।

    ‘बोहोरा पशु तथा कृषि फार्म दर्ता’मार्फत उहाँले कृषि ज्ञान केन्द्र बागलुङबाट रु सात लाख अनुदान पाइसक्नुभएको छ । “श्रीमती फूलमाया रानाले मलाई सहयोग गर्छिन, तरकारीसँगै दूध, बाख्रा पनि बिक्री भइरहेको हुन्छ”, उहाँले भन्नुभयो, “आम्दानी भइरहेकाले सजिलो भएको छ ।”

    बोहोराले १५ रोपनी आफ्नै जग्गामा मौसमी तथा बेमौसमी नगदेबाली लगाउनुभएको छ । स्थानीय तहले तरकारी उत्पादनको बजार सुनिश्चित गरिदिए आफू जस्ता किसानलाई सहज हुने उहाँको भनाइ छ । (रासस)

  • ढाकाका कपडाले पाएनन् बजार

    ढाकाका कपडाले पाएनन् बजार

    बबिता राई-
    तेह्रथुम, २६ मङ्सिर
    म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहनुभएको छ । आठ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी उहाँको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ ।

    एउटा सारी बुनिसक्न उहाँलाई सातदेखि १० दिन लाग्छ । बाक्लो बुट्टा भएको सारी बुन्न १० दिन र पातलो बुट्टा भएको सारी बुन्न सात दिन लाग्ने गरेको उहाँको भनाइ छ । बजारमा एउटा सारीको मूल्य रु छ हजारदेखि १३ हजारसम्म पर्दछ । सामान्य लेखपढ गरेकी लिम्बूले ढाकाको सारी बुनेरै मासिक रु २२ हजार नाफा निकाल्ने गरेको बताइन् । “सानो हुँदा पढिएन, अहिले यही सारी बुन्यो यसैले आमा छोराको गुजारा चलिरहेको छ”, लिम्बूले भन्नुभयो ।

    उहाँजस्तै सोही टोलमा डेरा गरी बस्ने ३८ वर्षीया एकल महिला कुमारी राई पनि ढाकाको सारी बुनेरै गुजारा चलाउँदै आउनुभएको छ । सात वर्षयता श्रीमान् हराएपछि आठवर्षे छोरोको अभिभारा एक्लै उठाएकी उहाँले ढाकाको सारी बुनेरै कक्षा छोरोको पढाइ खर्च पु¥याउनु भएको छ । डेरा भाडा तिरी मासिक खर्च गरी मासिक रुपमा रु पाँचदेखि १० हजारसम्म बचत गर्ने गरेको उहाँको भनाइ छ ।

    सङ्खुवासभा मादी मूलखर्ककी उहाँले म्याङलुङ आएर नवीन विकास ढाका कपडा उद्योगमा ढाका बुन्न सिक्नुभएको थियो । सुरुमा ढाकाको गलबन्दी ज्यालामा बुन्न सुरु गर्नुभयो । त्यतिबेला आफूसँग पैसा नभएकाले ज्यालामै बन्नु परेको उहाँको भनाइ छ । “पछि तानका सामानहरु किनेर ल्याएपछि कोठामा आफैँ बुन्न थालेँ । आफैँले बुन्दा धेरै फाइदा हुने रहेछ”, उहाँले भन्नुभयो ।

    मेन्छ्यायेम गाउँपालिका–२ स्थायी घर भई म्याङलुङ क्याम्पस बिएड तेस्रो वर्षमा अध्ययनरत १९ वर्षीया सन्ध्या लिम्बू पनि बिहान क्याम्पस गएर दिउँसोको समयमा ढाकाको गलबन्दी बुन्ने गर्नुहुन्छ । गलबन्दी बुन्ने तान सानो हुने भएकाले कोठाको एक कुनामा सजिलै अट्छ । एक दिनमा एउटा गलबन्दी तयार हुने र यसमा रु ८०/९० को धागो लाग्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार बजारमा एउटा गलबन्दी रु दुई सयमा बिक्री हुन्छ । शिक्षक सेवा आयोगको पनि तयारी गरिरहेकी उहाँले पढेर बचेको समयमा गलबन्दी बुन्ने गरेको र आफूलाई खर्च चलाउन घरमा पैसा माग्नु नपरेको बताउनुहुन्छ ।

    उहाँजस्तै अर्की सोही क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत सोनी लिम्बू पनि स्थानीय रेडियो मेन्छ्यायेममा प्राविधिकको काम गर्दै ढाकाको कोट, मेख्लीको कपडा बुन्ने गर्नुहुन्छ । प्रतिमिटर रु आठ सयको दरले कोटको कपडा बिक्री गर्ने गरेको र त्यसले आफूलाई खर्च पुगेको उहाँको भनाइ छ ।

    म्याङलुङबजार र आसपासका गाउँका अधिकांशको आयआर्जनको माध्यम बनेको छ ढाका कपडा बुनाइ । ढाकाको राजधानी भनेर चिनिने तेह्रथुमको म्याङलुङ बजारका अधिकांश घर, बजार छेउका तम्फुला, शाब्ला, तुम्बाहाङ्फे गाउँका प्रत्येक घरहरुका कोठा, सिकुवा, बार्दली, आँगनहरुमा ढाकाका तानहरु देखिन्छन् । पेसाकै रुपमा होस् या अन्य काम गरेर फुर्सदको समयमा यहाँका अधिकांश महिलाले ढाकाको टाई, टोपी, गलबन्दी, कुर्ता सुरुवाल, लुङ्गी, सारी बुनेर बजारमा बिक्री गर्ने गर्छन् ।

    म्याङलुङ बजारको टुँडिखेलमा यसै वर्ष ढाका बुन्दै गरेको महिलाको स्तम्भ निर्माण गरिएको छ । तेह्रथुमका ढाका बुन्नेहरुको सम्मानस्वरुप र तेह्रथुमको ढाकाको पहिचान झल्काउने उद्देश्यले प्रदेश सरकार र म्याङलुङ नगरपालिकाको रु १० लाखमा स्तम्भ निर्माण गरेको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताउनुभयो ।

    तेह्रथुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजीव ढुङ्गानाका अनुसार म्याङलुङबाट वार्षिक रु एक करोड मूल्य बढीको ढाकाको कपडा जिल्लाबाहिर निर्यात हुने गर्दछ । तेह्रथुमबाट अलैँची, अदुवा र अम्लिसोपछि सबैभन्दा बढी ढाका कपडा जिल्ला बाहिर निर्यात हुने गरेको अध्यक्ष उहाँको भनाइ छ । म्याङलुङ नगरपालिका रोजगार संयोजक नवीन खतिवडाका अनुसार नगरपालिकामा अहिले उद्योग र निजी तानमा गरी झण्डै पाँच हजार जनाले ढाका बुन्ने काम गरिरहेका छन् ।

    घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रदीप पौडेलका अनुसार कार्यालयमा अहिले एक सय ५५ वटा ढाका कपडा उद्योग दर्ता भएका छन् भने जिल्लामा नौ ओटा ढाका कपडाका पसल छन् । ढाकाको उत्पादन धेरै हुँदा बजारको समस्या रहेको स्थानीय व्यवसायी भुवन नारायण श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला छिमेकी जिल्ला सङ्खुवासभा, ताप्लेजुङ, भोजपुर, इलामलगायत राजधानी काठमाडौँमा ढाकाका धेरै कपडा निर्यात हुन्थ्यो, अहिले ती ठाउँमा पनि उत्पादन हुन थालेपछि माग कम भएको छ ।” सरकारले प्रत्येक कार्यालय र विद्यालयमा एक दिन मात्रै भए पनि ढाका कपडाको पोशाक अनिवार्य गर्ने हो भने बजारको समस्या नहुने उहाँको भनाइ छ ।

    म्याङलुङमा ढाकाको कपडा पसल सञ्चालन गर्दै आउनुभएकी उज्ज्वलता सुब्बा दैनिक रु २०/२५ हजारको ढाका कपडा बिक्री हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार म्याङलुङबजार घुम्न आउने पर्यटक, पाहुनाहरु हुन् वा जिल्लाका कर्मचारी जिल्लाबाहिर जाँदा कोसेलीका रुपमा ढाका कपडा किनेर लैजाने गर्दछन् । थोरै लगानीमा गर्न सकिने यस पेसाले स्थानीयस्तरमा रोजगारीको सिर्जना गरेको भएपनि बजारको अभावमा विस्तारै व्यवसायीहरु निराश देखिन्छन् । गाउँगाउँबाट स्थानीयस्तरमा हातले बुनेको ढाका कपडालाई विदेशी कपडाले प्रत्यक्ष प्रभाव पारेको छ । रासस

  • विदेशबाट फर्केर आफ्नै पाखा पखेरमा भविष्य खोज्दै विदुर :  लमजुङ्गमा ड्रागन खेतीको सफल उत्पादन

    विदेशबाट फर्केर आफ्नै पाखा पखेरमा भविष्य खोज्दै विदुर : लमजुङ्गमा ड्रागन खेतीको सफल उत्पादन

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, मंसिर २२ –
    विदेशबाट फर्केका एक युवाले लमजुङ्गको सुन्दरबजार नगपालिका १ कुन्छाको एउटा पाखामा ड्रागन खेती गरेर राम्रो उत्पादन गरेका छन् ।

    २ वर्षअघि ६ रोपनी जग्गामा १००० वटा ड्रागन फ्रुटका बेर्ना रोपेर खेती सुरु गरेका विदुर गौलीले ड्रागनको सफल उत्पादन गरेका छन् । आगामी वर्ष थप ७२ रोपनी जग्गामा ४००० विरुवा रोप्ने गरी गौलीले तयारी थालेका छन् ।

    इन्टरनेटमा खोजेर ड्रागन खेतीबारे अध्ययन गरी गौलीले खेती सुरु गरेका हुन् । कतारबाट फर्किएर गौलीले आफ्नै पाखा पखेरामा भविष्य खोजिरहेका छन् । खरिका ड्रागन फ्रुट खेती नामक फार्म नै खोलेर गौली कृषि कर्ममा होमिएका हुन् ।

    भियतनामबाट रातो प्रजातीको विरुवा ल्याएर लगाएका विदुरले पहिलो लट बिक्रि गरिसकेका छन् । गौलीले दोश्रो लटको ड्रागन बेचेपछि लगानी उठ्ने अपेक्षा राखेका छन् । ६०० रुपैयाँ किलोमा ड्रागन र २५० प्रतिगोटाका दरले विरुवा बेचिरहेका छन् ।

     

    उनले उत्पादन गरेको ड्रागन स्थानीय बजारमै बिक्री हुने गरेको छ । विदुरलाई उनकी श्रीमतीले सघाउने गर्छिन । गोड्ने बेलामा धेरै जना चाहिने हुँदा विदुरले खेताला लगाउने गरेका छन् ।

    ५ लाखमा टनेल बनाएका विदुरले त्यसमा २ लाख अनुदान कृषि ज्ञान केन्द्रबाट पाएका छन् । त्यो बाहेक अन्य सहयोग उनले राज्यबाट पाउन सकेका छैनन् । उक्त टनेलमा ड्रागनका विरुवा हुर्कँदै छन् ।

    यहाँ उत्पादन भएको ड्रागन अन्यत्र भन्दा निकै स्वादिष्ट रहेको विदुर बताउँछन् । प्राङ्गारिक मल बाहेक उनले अन्य मल हाल्ने गरेका छैनन् ।
    आधुनिक तरिकाले अन्नबालीको खेती गरे पहाडका पाखा पखेराबाटै राम्रो आम्दानी गर्न सकिने विदुर गौली बताउँछन् । ड्रागन खेती गर्न चाहनेहरु आफूकहाँ आए आवश्यक सल्लाह दिनुका साथै र विरुवा उपलब्ध गराउने विदुरको भनाइ छ ।

    खेती हुने पहाडका पाखा पखेराहरु विस्तारै बाझिदै गएका छन् । खेती गर्ने जोश र जाँगर भएका युवाहरु स्वदेशमा केही पनि नदेखेर विदेशिने क्रम बढ्दै गएको छ । तर विदेशको भूमिबाट फर्केर आफ्नै माटोमा ड्रागन खेती गरी राम्रो आम्दानी गरेर विदुर गौलीले गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

      

  • भिरमा लटरम्म सुन्तला फलाउँदै देवघाटका किसान

    भिरमा लटरम्म सुन्तला फलाउँदै देवघाटका किसान

    भरतपुर, २२ मङ्सिर
    कृषिमा प्रशस्त सम्भावना रहेको देवघाट गाउँपालिकाका बासिन्दा अहिले फलफूल र पशुपालनतर्फ आकर्षित भएका छन् । देवघाटमा अधिकांश पहाडी भू–भाग छ ।

    बाँदर खेल्ने पहाडका भीरपाखामा यहाँका किसानले भिरालो जमिनलाई पनि उपयोगमा ल्याएर कृषि व्यावसाय गरिरहेका छन् । उनीहरुले भिर पाखामा लटरम्म सुन्तला फलाउन थालेपछि यो क्षेत्र सुन्तला खेतीको प्रवल सम्भावना देखिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो ।

    उहाँका अनुसार यहाँका हरेक क्षेत्रमा लटरम्मै सुन्तला फलेका छन् । देवघाटमा सुन्तला उत्पादन हुने ठाउँमध्ये वडा नम्बर ३ को छापस्वारा एक हो। यहाँका किसानले व्यावसायिक रुपमा सुन्तला लगाएर आयआर्जन गरेका छन् । “गाउँपालिका वडा नं १, २, ३ र ४ मा सुन्तला धेरै उत्पादन हुने ठाउँ हो, अध्यक्ष थापाले भन्नुभयो, ३ नं वडामा अझ बढी सुन्तला उत्पादन हुन्छ ।”

    उहाँका अनुसार अरु वडामा पनि स्थानीयवासीलाई सुन्तला लगाउन आग्रह गरिएको छ । जग्गा खाली राख्ने किसानलाई पालिकाबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित गर्ने चेतावनी पनि दिइएको छ । अध्यक्ष थापाले भन्नुभयो, “जग्गा खाली नराख्नुहोस् । हामी तपाइँहरुलाई अनुदान दिन्छौँ । अरु सेवा सुविधा थप गर्दै जानेछौँ ।”

    “स्थानीयवासी सुन्तला खेतीबाट किसान पूर्णरुपमा लाभान्वित हुन नसकेकाले गाउँपालिकाले कृषि प्रवद्र्धन कार्यक्रमका लागि रु ३० लाख बजेट छुट्याएर निःशुल्क सुन्तलाको बिरुवा वितरण गर्ने योजना बनाएको छ”, उहाँले भन्नुभयो, “यहाँका सडक यातायातको अभाबमा समस्यामा भएकाले तत्कालै ठूला बाटो खोल्न सक्ने सम्भावना नभए पनि खुलेका बाटोलाई पूर्णरुपमा स्तरोन्नति गर्नेछौँ ।”

    सबै ठाउँका हावापानीलाई मिल्ने गरी वडा नं ४ को काफलडाँडामा नर्सरी स्थापना गरी त्यहाँबाट बीउ उत्पादन गरेर अर्को वर्षदेखि किसानलाई बीउ वितरण गर्ने योजना रहेकोे अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    यहाँको हावापानी फलफूल तथा पशुपालनका लागि उपयुक्त भएकै कारण आज यहाँका अधिकांश बासिन्दाले बाँदर खेल्ने र पाती फुल्ने ठाउँमा पनि लटरम्मै सुन्तला फलाएका छापस्वाँराका दिलकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “केही हुँदैन भनेर नगरी बस्दा कृषिमा केही नहुँदोरहेछ । अहिले गर्दै जाँदा हामीले भिरमा पनि सुन्तला फलाएका छौँ । यस क्षेत्रमा पहिलेदेखि नै सुन्तला खेती सुरु गरिएको भए पनि धेरै सुन्तलाका बिरुवा मर्ने गर्थे तर अहिले व्यवस्थितरुपमा सुन्तला खेती गर्न सुरु गरेपछि सात/आठ वर्ष भयो हामीले सुन्तलाबाट राम्रो आम्दानी लिएका छौँ ।”

    यस वर्ष आफूले गरेको सुन्तला खेतीबाट रु दुई लाख ५० हजार कमाइ गरिसकेको कृषक श्रेष्ठले बताउनुभयो । गत वर्ष सुन्तला खासै राम्रो नफले पनि रु पाँच लाख आम्दानी गरेको र यस वर्ष सुन्तला धेरै राम्रो फलेकाले आफूले झण्डै रु आठ लाखसम्म आम्दानी हुनाका साथै मेहनतको फल पाउँदा आफू निकै खुसी भएको उहाँको भनाइ थियो ।

    श्रेष्ठका अनुसार छापस्वराँका सात घरपरिवारले सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाएका छन् । उहाँको भने मुख्य आम्दानीको स्रोत सुन्तला खेतीसँगै बाख्रापालन पनि हो । श्रेष्ठले भन्नुभयो, “तीन वर्षको सहर बसाइपछि गाउँ फर्केर बारीमा सुन्तला लगाएँ । पछि सुन्तलाका बिरुवाले मल माग्न थाल्यो अनि मैले बाख्रापालन पनि सुरु गरे । सुरुमा १०/१५ वटाबाट सुरु गरेको बाख्रापालनलाई बढाएर मैले ५०/६० वटासम्म पु¥याएको छु । जसबाट गतवर्ष वार्षिक रु चार लाख आम्दानी गर्न सफल भएको थिए ।”

    अन्य गाउँबासीले सुन्तला, बाख्रापालनलगायत अन्य कृषि पेसाबाट राम्रो आम्दानी लिन सक्ने भए पनि बाटोको अभाबले राम्रोसँग काम गर्न पाएका छैनन । बाटो नभएकै कारण एक युवकले बिरामी भएरज्यान गुमाएपछि आफूहरुले पैसा उठाएर नदीमा अस्थायी पुल बनाएको कृषक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादित वस्तु बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म पुग्ने भए पनि घुमाउनेमा पुल नबन्दा र बाटो नहुँदा यहाँका बासिन्दाले आफूले गरेको मेहनतको उचित फल पाउन सकेका छैनन् ।”

    छापस्वाँराका विष्णुकुमार श्रेष्ठले पनि २१ वर्षपछि गाउँ फर्केर सुन्तला खेती गर्दै आउनुभएको छ । एक्काइस वर्षपछि गाउँ फर्किंदा गाउँमा सुन्तला खेती गरेको देखेपछि आफूले पनि सुन्तला खेती गरेको गरेको र अहिले करिब दुई सय बोटबाट धान्नै नसक्ने गरी सुन्तला फलेको उहाँले बताउनुभयो ।

    सोह्र वर्ष मलेसियामा रगत पसिना बगाउनुभएका श्रेष्ठले भन्नुभयो, “सुन्तला फलेको देख्दा गाउँ छोड्न मन लाग्दैन तर बाटो राम्रो नभएर उत्पादित वस्तुले उचित मूल्य पाउन नसक्दा भने निकै दुःख लाग्छ । हामीले बाटो नभएकै कारण यहाँ उत्पादित वस्तु विचौलियाको माध्यमबाट सुन्तला पठाउँदा ठूलो सुन्तलाको प्रतिकेजी रु ७० पर्छ तर सानो सुन्तलाको मूल्य नै आउँदैन ।”

    “गाउँमा केरा उत्पादन पनि राम्रो भएको भएको छ । हामीले गाउँमा उत्पादित सय कोसा केरालाई रु एक सयमा बेच्छौँ भने त्यही केरा दमौलीमा किन्दा रु एक सय २० दर्जन पर्न जान्छ । हामीले रु एकमा एककोसा केरा बेच्नभन्दा भैँसीलाई खुवाउँछौँ ।” उहाँले भन्नुभयो गाउँमा दूध, घ्यू, फलफूल, तरकारी तथा पशुपालन राम्रो भए पनि बाटोको समस्या हुँदा स्थानीयवासी लाभान्वित हुन सकेका छैनन् ।हाम्रा लागि त्रिशूली नदी माथि घुमाउनेको पुल निकै आवश्यक छ ।”  -रासस

  • वैशाखी टेकेर कपाल काट्दै जीविका चलाउँछन् बुद्ध : उपचार गर्न आर्थिक अभाव

    वैशाखी टेकेर कपाल काट्दै जीविका चलाउँछन् बुद्ध : उपचार गर्न आर्थिक अभाव

    झापा, ६ कात्तिक –
    बुद्धशान्ति गाउँपालिका– ६ का बुद्ध तामाङलाई १७ वर्षअघि २३ वर्षे तन्नेरी उमेरमै हड्डीको क्षयरोग (बोन टिबी) सङ्क्रमण भयो । तैपनि बुद्धको आत्मविश्वास डगमगाएन । रोगले गाँज्दै लग्यो । उहाँका कम्मर मुनि दुवै खुट्टा चल्न छाडे । जीवनको धरा नै हल्लाउने यी दुःखद् अवस्थाबाट उहाँ विचलित हुनुभएन । वैशाखी र आत्मविश्वासमा टेकेर आफ्नै खुट्टामा उभिने क्रममा उहाँ गाउँमा कपाल काट्ने शैलुन खोल्न सफल हुनुभयो ।

    शारीरिक अपाङ्गता र बोन टिबीसँग जुधिरहनुभएको उहाँले चार वर्षदेखि बुद्धशान्ति–६ स्थित आफ्नै गाउँ सन्तपुरमा शैलुन खोल्नुभएको छ । उहाँ दैनिक १५ देखि २० जनासम्म ग्राहकको कपाल वैशाखी टेकेरै काट्नुहुन्छ । तामाङको दाजु पनि शारीरिक अपाङ्ग हुनुहुन्छ । परिवार धान्नुपर्ने जिम्मेवारी पनि तामाङकै काँधमा छ ।

    अपाङ्ग र बिरामी भएर पनि स्वावलम्बनका लागि तामाङले देखाएको साहस र शीप देखेर मानिस चकित छन् । “धेरै अपाङ्गहरु सडकमा मागेर जीवन धान्न बाध्य भइरहेको देखिन्छ”, बुद्धशान्ति वडा नं ६ का अध्यक्ष शिवराज पौडेल भन्नुहुन्छ, “तर, तामाङले सिप सिकेर आफ्नै पौरखमा जिउने जुन साहस देखाउनुभएको छ, त्यसको जति प्रशंसा गरे पनि कम नै हुन्छ ।”

    विसं २०४० मा झापाकै शान्तिनगरमा जन्मनुभएको तामाङलाई २०६३ सालमा क्षयरोग पुष्टि भएको थियो । खुट्टाको हड्डीमा पीडा हुन थालेपछि जचाउँन धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदा चिकित्सकले क्षयरोग लागेको जानकारी दिएका थिए । गरिबीका कारण कक्षा ४ भन्दाबढी शिक्षा उहाँले लिन पाउनु भएन । उहाँको विवाह भएको छैन ।

    “रोग लागिहाल्यो भनेर मैले हरेस खाइन”, उहाँले भन्नुभयो, “उपचारसँगै जिउनका लागि उपाय खोज्न थालेँ । सुरुमा मोबाइल र टिभी बनाउन सिके । केही समयपछि कपाल काट्न सिकेँ ।” अहिले आफ्नै गाउँ सन्तपुर चोकमा उहाँको व्यवस्थित शैलुन छ ।” कम्मरमुनिका अङ्ग नचले पनि उहाँको हात र दिमाग तेजसँग चल्छ । वडा कार्यालयले शैलुन खोल्न रु ७५ हजार सहयोग गरेको वडाध्यक्ष पौडेलले बताउनुभयो । वडा कार्यालयले दिएको सहयोगमा ऋण थपेर व्यवस्थित शैलुन सञ्चालन गर्न सकेको तामाङले बताउनुभयो ।

    स्थानीय शिक्षक योेगेन्द्र चम्लागार्इंले कपाल काट्ने राम्रो सिप भएकाले तामाङको शैलुनमा गाउँका बसै मानिस कपाल काट्न आउने गरेको बताउनुभयो । “अपाङ्ग र बिरामी हुनुहुन्छ, जीविकाका लागि मद्दत पुगोस् भनेर स्थानीयले सहानुभूति पनि राख्नुभएको छ”, उहाँले भन्नुभयो ।

    सुरुमा बुद्धले गाउँमा टिनको बेरा लगाएर सानो टहरो हालेर शैलुन सुरु गर्नुभएको थियो । अव्यवस्थितरुपमा वैशाखी टेकेरै कपाल काटेको दयनीय अवस्था देखेर नै वडा कार्यालयले उहाँलाई व्यवस्थित शैलुन बनाउन आर्थिक सहयोग गरेको हो ।

    “अपाङ्ग भएर बाटोमा हात फैलाउन मलाई मन लागेन, त्यही भएर कपाल काट्ने पेसा सुरु गरेको हुँ”, गाउँका उदाहरणीय युवाका रुपमा पहिचान बनाउनुभएको तामाङले भन्नुभयो, “खान र लाउन यही शैलुनको आम्दानीले पुगेकै छ । बोन टिबीको राम्रो उपचार गर्न आर्थिक अभाव छ । कतैबाट उपचारको सहयोग पाए लिने थिएँ ।” -राष्ट्रिय समाचार समिति (रासस)

  • सहारा बनेको छोरो दसैँका बेला बाकसमा फर्किदा…

    सहारा बनेको छोरो दसैँका बेला बाकसमा फर्किदा…

    महेन्द्रनगर (कञ्चनपुर), ६ कात्तिक
    मुलुकभर दसैँको रौनक बढिरहेका आज बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उहाँको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो ।
    छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका-५ बाट महेन्द्रनगर झर्नुभएकी आमा पार्वती छोराको शव देखेपछि बेहोस हुनुभयो । परिवार र आफन्त र टोलबासीका आँखा रसाए ।

    “दीपेश पढाइमा सानैदेखि अब्बल थियो । सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो, आमाका लागि बुढेसकालको साहरा थियो”, छिमेकी सुरेश पालले भन्नुभयो, “परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने उ आज बाकसमा फर्किदाको स्थिती निकै दुःखदायी बनेको छ ।”

    आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दीपेशको शव आज बिहान ल्याइएको थियो । दार्चुलाको लेकम गाउँपालिका–५ घर भएका विष्ट परिवारको बसाइ अहिले भीमदत्त नगरपालिका– १५ मा समेत छ ।

    दीपेश यही बसेर पढेका थिए । कक्षा १ देखि १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढेका दिपेश निकै अब्बल विद्यार्थी भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताउनुभयो ।

    “दीपेश र उनका भाई वसन्तराज दुवै छात्रवृत्तिमै कक्षा १० सम्म पढेका हुन्”, दीपेशको मलामी महाकाली पुग्नुभएका प्रिन्सिपल ओझाले भावुक हुँदै भन्नुभयो, “अकल्पनीय घटनाले सबैलाई शोकमा डुबायो ।”

    यहाँस्थित रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा प्लस टु पास गरेका दीपेशको सपना भाईलाई जसरी भए पनि डाक्टर बनाउने थियो । दीपेश चार वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । शिक्षक पेशामा रहेका बुवा अशोक विष्टको क्यानसरबाट मृत्युभएपछि दुई छोराको पालनपोषण आमा पार्वतीले गर्दै आउनुभयो ।

    आमा पावर्ती दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयकी शिक्षिका हुनुहुन्छ । दीपेशका भाई वसन्तराज दाजुको सल्लाहअनुसार नै हाल बिपी प्रतिष्ठान धरानमा एमबिबिएसमा अध्ययनरत छन् ।

    विष्टको आज महाकाली नदी किनारमा अन्त्येष्टी गरिएको छ । इजरायल घटनामा मारिएका चार सुदूरपश्चिमका विद्यार्थीको शव आइतबार धनगढी पुर्‍याइएको थियो । – राष्ट्रिय समाचार समिति (रासस)

  • युट्युवबाट सिकेर च्याउ खेती

    युट्युवबाट सिकेर च्याउ खेती

    गोरखा, २६ असोज
    गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक रू आठ लाख आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यवसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेको छ ।

    “पहिला त आफैँले खानका लागि भनेर सुरु गरेका थियौँ । त्यसैलाई बढाएर अहिले व्यावसायिकरूपमा खेती गरिरहेका छौँ”, सानुमायाले भन्नुभयो, “अहिले यही पेसाबाट पूरै परिवारको पालनपोषण र शिक्षादीक्षासमेत सजिलै चलेको छ ।” उत्पादन गरेका च्याउ बजारमा सहज बिक्री हुने गरेको उहाँको भनाइ छ । राम्रो उत्पादन भएको वर्ष च्याउ खेतीबाटै वार्षिक रू सात–आठ लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    बजारमा राम्रो मूल्यमा बिक्री हुने सिताके च्याउको व्यावसायिक खेतीबाट परिवारका २२ जनाको जीविकोपार्जन भइरहेको सानुमालेले बताउनुभयो । “विसं २०७२ माघदेखि च्याउ खेती गर्न सुरु गरेका हौँ । अहिले करिब साढे सात वर्ष हुनै लाग्यो”, उहाँले भन्नुभयो, “सिताके च्याउ खेतीबाट सिजनका बेला दैनिक रू पाँच हजारसम्म आम्दानी हुने गरेको छ । राम्रो उम्रेको बेला एकैदिनमा १०–१२ किलोसम्म उत्पादन हुन्छ ।”

    सानुमायाले बजारमा माग बढी भएकाले पु¥याउन नसकिएको बताउनुभयो । अहिले बजारमा प्रतिकिलो रू पाँच सयसम्म सिताके च्याउ बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    उत्पादन भएका च्याउ बजारभन्दा पनि वरपर र छरछिमेकलाई बिक्री गर्दैैमा सकिने भएकाले मुख्य बजारमा पुर्याउन अझै नपाएको कृषक थापामगरको भनाइ छ । “विशेषगरी मङ्सिरदेखि चैतसम्म राम्रो उत्पादन हुने गर्छ”, उहाँले भन्नुभयो, “वर्षभरिमा चार महिना राम्रो कमाइ हुन्छ ।” थापामगरको परिवारले दुईवटा प्लास्टिकको घर निर्माण गरेर खेती गर्दै आउनुभएको छ ।

    मुटुरोगीलाई फाइदा पुग्ने भन्ने सुनेपछि सुरुमा आफैँले किनेर खाने गरेको र विस्तारै परिवारका लागि सुरु गरिएको खेती अहिले व्यावसायिक बनेको थापामगरले बताउनुभयो । “पकाएर खाँदा अरु च्याउभन्दा स्वादिलो र मीठो भएपछि आफैँले खेती गर्ने सोच बनायौँ”, उहाँले भन्नुभयो, थोरै लगानीमा सुरु गरिएकामा अहिले राम्रो आम्दानी दिएको छ ।”

    “राम्रोसँग तालिम पनि अहिलेसम्म लिन पाएका छैनौँ”, थापामगरले भन्नुभयो, “श्रीमान्ले युट्युब हेर्नुहुन्छ । त्यही हेरेर खेती गर्न सिक्छौँ र त्यसैका आधारमा काम गछौँ ।” सुरुमा काठको मुढामा प्वाल पारेर बीउ रोपेपछि करिब छ महिनापछि त्यसले उत्पादन दिन सुरु गर्ने उहाँको भनाइ छ । एकपटक रोपेको बीउले निरन्तर पाँच वर्षसम्म उत्पादन दिने उहाँले बताउनुभयो । (रासस)

  • पढ्दै सिक्दै कार्यक्रम : ‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’

    पढ्दै सिक्दै कार्यक्रम : ‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’

    बेनी, २३ असोज
    म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थाल्नुभएको छ । विद्यालयमा पढाइ नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लाग्नुभएको हो । सुवेदीमात्रै होइन, यस विद्यालयको कक्षा १० का २५ विद्यार्थी अहिले पाठ्यपुस्तक बाहिरको सिकाइका सिलसिलामा मुढा बुन्ने सीप सिक्न थालेका छन् ।

    विद्यालय र स्थानीय शुभकामना कृषि सहकारी संस्थाको साझेदारीमा विद्यालयले कक्षा १० का विद्यार्थीलाई पढ्दै सिक्दै कार्यक्रम सञ्चालन गरेको विद्यालयका शिक्षक खोमराज पौडेलले जानकारी दिनुभयो । शुक्रबार र अन्य दिनमा दिउँसो खाजा खाने समय र विषयगत पठनपाठन नहुने समयमा विद्यार्थीलाई मुढा बुनाइको तालिम दिने गरिएको उहाँले बताउनुभयो ।

    असोज १९ गतेबाट सुरु भएको विद्यार्थीको मुढा बुनाइ तालिम करिब दुई सातासम्म सञ्चालन हुनेछ । स्थानीयस्तरमा पाइने बाँसको सिन्कासमेत विद्यार्थी आफैँले तयार गरेका हुन् । विद्यालयले मुढामा प्रयोग गरिने रसीको बन्दोबस्त गरेपछि मुढा बुन्दै आउनुभएका स्थानीय नेत्रलाल गोतामेलाई प्रशिक्षक र विद्यालयकै शिक्षक गोविन्द पौडेललाई सहप्रशिक्षक तोकेर मुढा बुन्ने तालिम सञ्चालन भइरहेको छ ।

    कक्षाकोठामा किताबको मात्रै पढाइ हुँदा विद्यार्थी शिक्षित बने पनि सीपविहीन बन्ने गरेकाले उनीहरूलाई हामी पनि गर्न सक्छाँै भन्ने भावना र उपयोगी सीपको विकास गराउने उद्देश्यले मुढा बुनाइ तालिम सञ्चालन भएको तालिमका सहप्रशिक्षकसमेत रहनुभएका शिक्षक गोविन्द पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीहरू मुढाका लागि आवश्यक पर्ने सिन्का तयार गर्न र सिन्कालाई फ्रेममा राखेर रसीको डोरीले मुढा बुन्न सक्ने भइसकेका छन् ।

    एउटा मुढा बुन्न १४ देखि १८ इन्चका ९० देखि एक सय १० वटासम्म सिन्का प्रयोग हुने गरेको विद्यार्थी बताउँछन् । विद्यालयमा सिकेको सीपलाई घरायसी प्रयोगमा समेत उपयोग गर्ने उनीहरूको तयारी छ । मुढा बुन्ने तालिमबाट सीप सिकेका विद्यार्थीबाट फुर्सदको समयमा नियमित मुढा बुन्ने र त्यसलाई विद्यालयमार्फत बिक्री गरेर विद्यालयको बाल क्लबका लागि आम्दानी गर्ने लक्ष्यसमेत बनाएको बाल क्लबका अध्यक्ष कृति सुवेदीले बताउनुभयो ।

    विद्यालयले यसअघि गत वर्ष कक्षा ९ का विद्यार्थीलाई च्याउखेतीसम्बन्धी तालिम प्रदान गरेको थियो । उक्त तालिम फलदायी बनेपछि कक्षा १० का विद्यार्थीलाई समेत सीपमूलक कार्यक्रमअन्तर्गत मुढा बुनाइ तालिम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो ।

    यो वर्षसमेत नगरपालिकाबाट रु एक लाख बजेट विनियोजन भएको र सो बजेटबाट विद्यालयमा कम्प्युटर मर्मत तालिम सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । “विद्यार्थी फुर्सदको समयमा मोबाइलमात्रै चलाएर बस्ने र सीपविहीन बन्ने जोखिम बढ्दो छ, घरायसी सीप र संस्कारका कुरा पनि उनीहरूलाई सिकाउन जरुरी भइसकेको छ, हामीले पढ्दै सिक्दै कार्यक्रमलाई अभियानकै रूपमा नियमित सञ्चालन गर्ने योजना बनाएका छाँै”, वडाध्यक्ष खड्काले भन्नुभयो ।

    विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजबाट खानाका परिकार बनाउने तालिम दिने तयारी गरेको विद्यालयले आगामी हिउँदयाममा छात्रा विद्यार्थीलाई लक्षित गरेर परालबाट गुन्द्री बुनाइ तालिम दिने योजना बनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा एक सय ९४ विद्यार्थी अध्ययनरत छन् भने विद्यालयमा रहेको बहिरा स्रोत कक्षामा १४ जनाले अध्ययन गरिरहेका छन् । राष्ट्रिय समाचार समिति (रासस)

  • बाख्राको दूधबाट बनेको चिजको माग उच्च

    बाख्राको दूधबाट बनेको चिजको माग उच्च

    तनहुँ, २२ असोज
    राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ ।

    पाँच वर्ष पहिले अमेरिकाबाट आउनुभएका डेरिगोट एसोसिएसनका अध्यक्ष डेनियल लेनिले बाख्रा फार्ममै तीन महिना बसेर दूधबाट चिज बनाउने प्रविधि हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत वुद्धिराम आचार्यले सोही प्रविधि सिकेर आफूहरुले दूधबाट चिज बनाउन सुरुआत गरेको जानकारी दिनुभयो । चिज बनाउने तालिममा कार्यक्रमका कर्मचारी निरबहादुर राना र स्याङ्जाका बाख्रा पालक कृषक दिलबहादुर गुरुङ समेत सहभागी हुनुभएको कार्यक्रमले जनाएको छ ।

    “तत्कालीन समयमा बाख्राको दूधबाट चिज बनाउने बारेमा हामीलाई कुनै पनि जानकारी थिएन”, कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत आचार्यले भन्नुभयो, “चिज बनाउने तालिम पाएपछि अहिले यहाँ उत्पादित बाख्राको चिज पोखरा र केही मात्रामा बन्दीपुरमा समेत खपत हुने गरेको छ ।”

    कार्यक्रमको फार्ममा हाल सानेन जातका ५५ बाख्रा छन् । सानेन दूध दिने प्रजातिको बाख्रा हो । फार्ममा एउटा बाख्राले लैनो अवस्थामा करिब चार लिटरसम्म दूध दिने र हाल दैनिक करिब ४२ लिटर बाख्राको दूध सङ्कलन हुने गरेको उहाँले बताउनुभयो । एक किलोग्राम चिज उत्पादन गर्न करिब आठ लिटर दूध आवश्यक पर्ने र आफूहरुले मासिक करिब एक सय ५० किलोग्राम चिज उत्पादन गरी बिक्री गर्दै आएको अधिकृत आचार्यले जानकारी दिनुभयो । बाख्राको चिजको मूल्य बजारमा करिब तीन हजार किलोग्राम भए पनि यहाँ भने प्रतिकिलोग्रामको रु एक हजारमात्र लिने गरिएको छ ।

    पोखरामा आउने विदेशी पर्यटकले बाख्राको चिजको माग गरेपछि आफूले बाख्राको चिज किन्ने गरेको पोखराका व्यवसायी रवि दुवाले बताउनुभयो । आफूले मोबाइलबाट चिज अर्डर गर्ने र खरिद रकम भने अनलाईन बैंकिङमार्फत कार्यक्रमको खातामा जम्मा गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

    “अहिले पोखरामा आउने अधिकांश विदेशी पर्यटकको रोजाइमा बाख्राकै चिज पर्ने गरेको छ”, व्यवसायी दुवाले बताउनुभयो, “बन्दीपुरको चिजलाई पर्यटकले समेत निकै मन पराएका छन् ।” राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटारबाट दुई वर्ष पहिले उत्पादित बाख्राको चिजको परीक्षण गर्दा गुणस्तरीय देखिएपछि आफूहरुले पनि सबैको पहुँचमा पुगोस् भनेर बाख्राको चिज बिक्री खुला गरेको कार्यक्रमका संयोजक राजु कँडेलले बताउनुभयो ।

    “बाख्राको चिजको माग अहिले काठमाडौँबाट समेत हुने गरेको छ तर पु¥याउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “हामीले चिज उत्पादनसँगै विभिन्न प्रजातिका बाख्राको नश्ल सुधारमा अनुसन्धान गर्दै आइरहेका छौँ ।” बाख्राको दूध र चिज क्यान्सर प्रतिरोधात्मक भएको भन्दै अधिकांशले चिजको बारेमा चासो राख्ने गरेकोसमेत संयोजक कंडेलले बताउनुभयो ।

    कार्यक्रममा हाल बोर र सानेनलगायतका बाख्राको बारेमा अनुसन्धान भइरहेको छ । विसं २०७१ मा कृषि खाद्य सुरक्षा आयोजनामार्फत अष्ट्रेलियाबाट ५० वोर बाख्राको माउ र सात वटा बोका ल्याएपछि बाख्राको नश्ल सुधारमा अनुसन्धान सुरु गरिएको कार्यक्रमले जनाएको छ । कार्यक्रमले अगुवा बाख्रा उत्पादक कृषकलाई पशु कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको बाठोसमेत उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा हाल अनुसन्धानको लागि बोर, सानेन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायतका करिब पाँच सय बाख्रा छन् । – राष्ट्रिय समाचार समिति (रासस)