Category: फिचर

  • अझै कमी आएनन् लागुपदार्थ प्रयोगकर्ता

    अझै कमी आएनन् लागुपदार्थ प्रयोगकर्ता

    काभ्रेपलाञ्चोक, ४ वैशाख-
    सुरक्षाकर्मीले रातको समयमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार चालकलाई बुधबार राति नियन्त्रणमा लिए । अरनिको राजमार्गअन्तर्गत बनेपा क्षेत्रमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दुई घण्टा जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि चारलाई पक्राउ गरेको हो ।

    जाँचका क्रममा शङ्कास्पद देखिएपछि धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको पाइएको जनाइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका–४ का ४२ वर्षीय महेश्वर श्रेष्ठ, रोतहटको गौर गाउँपालिका–१२ का ३६ वर्षीय गौरव सापकोटा, सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २४ वर्षीय राजकुमार बस्नेत र काठमाडौँको शङ्खरापुर नपा–२ का २७ वर्षीय विक्रम विष्ट रहेका छन् । उनीहरुलाई काभ्रे जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइयो ।

    गत साता पनि सुरक्षाकर्मीको संयुक्त टोलीले रातको समयमा सोही क्षेत्रमा चालकको जाँच गर्दा चारैलाई पक्राउ गरिएको थियो । अघिल्लो साता भने दुई चालक पक्राउ परेको जनाइएको छ । राति र दिउँसो चालकमा जाँच गर्दा मादक पदार्थ सेवन (मापसे)को मासिकरूपमा सरदर २० चालक पक्राउ पर्ने गरेको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रातको समयमा निर्माण सामग्री ढुवानी गर्ने टिपरका चालक तथा दिउँसो अरनिको र बिपी दुई राजार्गमा यात्रुवाहक सवारीको पनि जाँच गर्न थालिएको छ ।

    मादक तथा लागुपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना हुने भएकाले यसको न्यूनीकरण गर्न जाँचलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “५१ यात्रुवाहक सवारी जाँच गर्दा चार चालकले मापसे गरेको पाइयो, यसले स्थिति भयावह हो भन्ने आकलन गर्न सकिन्छ ।” उहाँका अनुसार कार्यालयमै लागुपदार्थ सेवन गरे–नगरेको पत्ता लगाउन धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा ‘किट’ माग गरिएको छ । हाल माग गरेअनुसार प्रयोगशालाबाट ५० देखि ६० वटासम्म किट उपलब्ध गराइएको छ । हाल साप्ताहिकरूपमा सवारीमा जाँच थालिएको हो ।

    यसो त काभ्रेको पनौती नपा–२ स्थित एक मेडिकलबाट दुई महिनाअघि चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नशालु पदार्थका रूपमा सेवन गरिने) बिक्री गरेको भेटिएपछि ठूलो परिमाणमा विभिन्न औषधि बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका अनुसार बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)बाट लागुऔषध ओसारपसार हुने गरेको घटनाक्रमले देखाएको छ । प्रहरीले सुराकीका आधारमा उक्त राजमार्गबाट आउने सवारी जाँच गर्दा दर्जनौँपटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसार संलग्न व्यक्तिलाई पक्रेर मुद्दासमेत चलाएको छ ।

    प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइन्छ । उसको तथ्याङ्कानुसार विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोकर्ताका रूपमा देखिएका छन् । तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणानुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ जिल्लालाई बनाएको देखिन्छ ।

    प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट भने प्रतिचक्की रु एक हजारदेखि एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । काभ्रेपलाञ्चोक प्रहरीको तथ्याङ्कानुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३५ वटा मुद्दामा ६६ जना पक्राउ परेका छन् ।

    पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेषगरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको जनाइएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएका छन् ।(रासस)

  • नेपाली पत्रकारिताको लागि वर्ष २०७८ कस्तो रह्यो ?

    नेपाली पत्रकारिताको लागि वर्ष २०७८ कस्तो रह्यो ?

    काठमाडौं, १ वैशाख –

    नेपाल पत्रकार महासंघले वर्ष २०७८ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण रहेको निस्कर्ष निकालेको छ ।

    ‘श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको छैन,’ महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

    महासंघका अनुसार २०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ७४ वटा घटना भएका छन् । पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुव्र्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएको ठहर महासंघले गरेको छ ।

    ‘श्रमजीवी पत्रकार ऐनले दिएका सेवा, सुविधा कार्यान्वयनको पक्ष भने अघिल्लो वर्षमा पनि चुनौतीपूर्ण रह्यो । २०७७ सालमा ५ सय १७ जना पत्रकारको श्रम समस्या रहेकामा २०७८ सालमा २ सय २१ वटा श्रम समस्या महासंघ अभिलेखीकरण भएका छन् । २०७७ मा समाधान हुन बाँकी श्रम समस्या र २०७८ का श्रम समस्यामध्ये झण्डै ३ सय जना पत्रकारका समस्या समाधान भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

    कानुनी सहायता डेस्कमार्फत श्रम समस्या र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननविरुद्ध ३३ वटा घटनाका बारेमा न्यायिक लडाइँ चलिरहेको महासंघले जनाएको छ ।

    त्यस्तै २०७८ सालमा संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएको छ ।

    ‘संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको छ,’ महासंघले भनेको छ ।

    अघिल्लो सरकारले जस्तै वर्तमान सरकारले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गैरकानुनी कामलाई निरन्तरता दिएको छ । नेपाल सरकारकै संलग्नतामा उजुरी गरेर युएईमा कार्यरत एक पत्रकारलाई अहिले पनि जेलमा राखिएको छ ।

    ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई उपयोग गर्न नदिनेगरी सरकारले विभिन्न प्रकारका कानुन ल्याउने प्रयास गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    वर्ष २०७९ चुनावी वर्ष रहेकाले नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्ता, पत्रकारको पेशागत सुरक्षा तथा भौतिक सुरक्षा, सेल्फसेन्सरसिपलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेको जनाइएको छ ।

    वैशाख पहिलो हप्तादेखि नै श्रम समस्या समाधानका लागि आवश्यक आन्दोलन, दबाब र कानुनी लडाइँलाई एकसाथ लैजानेगरी योजना बनाइएको महासंघले बताएको छ ।

    ‘यो वर्ष हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि निर्वाचन आयोगसँगकै साझेदारीमा सबै जिल्लामा महासंघले अनुगमन गरेर नागरिकको आफूले चाहेको राजनीतिक दल तथा उम्मेदवारलाई मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने काममा सघाउ पुर्याउने छ,’ महासंघले भनेको छ ।

    महासंघले निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा निर्वाचन आयोग र अन्य संघसंस्थासँग मिलेर विभिन्न जिल्लामा तालिम दिन सुरु गरिसकेको जनाएको छ ।
    तीन तहकै सरकारले ल्याएका र ल्याउने तयारी गरिरहेका कानुन पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूत गरेका अधिकारको पक्षमा हुनु पर्ने माग महासंघले गरेको छ ।

    ‘तर अहिले आइसकेका केही र ल्याउने तयारीमा रहेका केही कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले त्यसकाविरुद्ध सशक्त आन्दोलनमा उत्रिने तयारी महासंघले गरेको छ । यसमा अधिकारकर्मी सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ,’ महासंघले भनेको छ । – न्युज कारखाना

  • कोरोना महामारीले डिलु गुरुङलाई विदेश जान त राेक्याे तर तरकारी व्यवसायी बनायो

    कोरोना महामारीले डिलु गुरुङलाई विदेश जान त राेक्याे तर तरकारी व्यवसायी बनायो

    जितेन्द्र थापा
    सुर्खेत, २८ चैत-

    दैलेखका डिलु गुरुङ वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने तयारीमा थिए । गाउँमा बसेर केही गर्न सकिँदैन पैसा कमाउन त विदेशै जानुपर्छ भन्ने उनी सोच्थे । विदेश हिड्नै आटेको बेला सुरु भयो कोरोना महामारी । अनि उनी गाउँमै रोकिए ।

    विदेश जाने सबै तारतम्य मिलाएका उनलाई कोरोनाले रोकेपछि केही समय के गर्ने भनेर गाउँमा भौतारिए । पाँच वर्षसम्म निजी स्रोतमा स्थानी भगवती आधारभुत विद्यालयमा पनि पढाए । यसपछि उज्यालो साना किसान सहकारी संस्थामा पनि काम गरे । सहकारीमा जोडिएपछि कृषिसम्बन्धी तालिम दिन आफै गाउँमा पुग्थे । तालिम दिने क्रममा एकाएक उनमा अर्काे सोच आयो किसानलाई तालिम दिने म आफै किन तरकारी व्यवसाय नगरौँ । आफैबाट तरकारी व्यवसाय सुरु गर्नु पर्छ भनेर आफै तरकारी व्यवसायमा होमिए ।

    दैलेखको भैरवी गाउँपालिका–७ कुसापानी सिम्सेर कुसापानीका डिलु गुरुङले विदेश जाने पैसा गाउँमै लगानी गरे । १० रोपनी जग्गामा व्यवसायिक तरकारी खेती सुरु गरेका उनी अहिले भने यसैले चिनाइरहेको छ ।

    आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ तरकारी खेती सुरु गरेका डिलुले बारीमा टमाटर, काउली, आलु, बन्दालगायत तरकारी लगायका छन् ।

    केही समयअघि घरको लागि समेत बाहिरबाट तरकारी किनेर ल्याउने उनी र उनको परिवार अहिले आफ्नै बारीमा फलेको ताजा तरकारी बेच्छन् । उनी भन्छन्– त्यही तरकारी बेचेको पैसाले सहजै घरखर्च चलाउन पुग्छ । तरकारी बेच्न उनलाई अहिले बजारको कुनै समस्या पनि छैन । गाउँमा फलाएको तरकारी घरबाटै बिक्री भइरहेको छ ।
    बीएडसम्म अध्ययन गरेका उनले भनेजस्तो काम नपाएपछि गाउँमै व्यावसायिक रूपमा तरकारी खेतीमा लागेका हुन् । मिहिनेत गरेपछि आफ्नै गाउँठाउँमा प्रशस्त सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘जहाँ मिहिनेत र लगनशीलता, त्यही सफलता ।’

    डिलुको कृषिमा प्रगतिको सिको गर्दै गाउँमै दर्जन बढी कृषक व्यवसायीक तरकारी खेतीमा
    व्यवसायिक तरकारी खेतीमा रमाएका ३१ वर्षीय डिलु गाउँका लागि पनि उदाहरणीय पात्र बनेका छन् । उनले सुरु गरेको व्यवसायिक कृषि खेती देखेर उनकै टोलका एक दर्जनभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।

    उक्त गाउँमा भैरवी गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनालगायतका संघ–संस्थाले स्वच्छ खानेपानीका धारा, सिंचाइ पोखरी, टनेललगायत सहयोग गरेको छ । सहयोग पाएपछि यहाँका किसानमा व्यावसायिक कृषिमा अग्रसर बनेको अर्का स्थानीय मानबहादुर बरालले बताए । तरकारी व्यवसायबाटै सबै खर्च धानेर बचत समेत हुने गरेको बराल बताउँछन् ।

    सोही गाउँकी सीता गुरुङको पनि घरछेउको बारीमा लटरम्म तरकारी फलाएकी छन् । अहिले उनको बारीमा काउली, टमाटरलगायतका विभन्न तरकारी फलाएर राम्रो आम्दानी गरेको उनी सुनाउँछिन्  । आफ्नै गाउँमा रोजगारीका अवसरहरू सिर्जना भए कुनै पनि नेपाली नागरिक रोजगारीको लागि भौतारिनु नपर्ने उनी बताउँछिन् । युवाहरूलाई विभिन्न सीपमूलक तथा व्यावासायीमा जोड्न स्थानीय सरकारले पनि जोड दिनुपर्ने उनको भनाइ छ ।

    भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले पालिकाभित्रका किसानहरूलाई प्रोत्साहनका लागि गाउँपालिकाले कृषि र पशुपालनजस्ता व्यवसायलाई महत्व दिएको जानकारी दिए । कृषि कार्यक्रमअन्तर्गत भैंसीपालन, गाईपालन, डेरी सञ्चालनजस्ता व्यवसायमा पालिकाले विशेष ध्यान दिएको उनको भनाइ छ ।

    ‘हामीले तरकारी तथा फलफूल खेतीका लागि पनि काम गरिरहेका छौँ,’ उनले भने, ‘कृषि र पशुपालनजस्ता व्यवसायको लागि गाउँपालिकाले कृषि विकास कार्यालय र पशु सेवा कार्यालयसँग समन्वय गर्दै अघि बढिरहेका छौँ ।’-न्युज कारखाना

  • लागूपदार्थमा फसेका अधिकारी भन्नुहुन्छ– ‘लागूपदार्थ विनाकै जीवन सुन्दर छ’

    लागूपदार्थमा फसेका अधिकारी भन्नुहुन्छ– ‘लागूपदार्थ विनाकै जीवन सुन्दर छ’

    चितवन, २७ चैत-
    चोकचौराहाका भट्टीपसल, चिया पसललगायत सार्वजनिक ठाउँमा खुलमखुला चुरोट पिउने मानिस देख्दा ललितपुरकाका गोविन्द अधिकारीलाई चुरोट खान मन लाग्यो । भट्टी पसलमा मादक पदार्थ खाने र होहल्ला गर्दै हिँड्नेहरुबाटै उहाँले यो सेवन सिक्नुभयो ।

    तर अहिले लत छोडेका अधिकारी समाज सुधारको बाटोमा लाग्नुभएको छ । झण्डै १५ वर्षसम्म लागू पदार्थमा लिप्त रहेका अधिकारी अहिले व्यवसायसँगै दुव्र्यसनीलाई पुनःजीवनको सन्देश दिन सक्रिय हुनुहुन्छ ।

    विसं २०३८ मा जन्मिनुभएका अधिकारीले कक्षा ७ पढ्दादेखि नै चुरोट पिउन थाल्नुभयो । खराब लतका कारण अभिभावकले घरभन्दा टाढा चितवनमा ल्याएर आवासमा राखेर निजी स्कूलमा पढाउन थाल्नुभयो । उहाँको बानीमा सुधार आएन । झनै उहाँमा लागूऔषध दुव्र्यसनीको लत बढ्दै गयो ।

    बिदाका समयमा घर जाँदा काठमाडौँबाटै लागूऔषध बोकेर आउने र यहाँ आफू र साथीहरुलाई पनि खान प्रेरित गर्ने काममा उहाँको ध्यान जान थाल्यो । उहाँले चुरोटसँगै मदिरा, गाँजा, चरेस र ड्रग्स प्रयोग गर्न थाल्नुभयो ।

    अधिकारीले विगत सम्झँदै भन्नुभयो, “त्यतिबेलै मलाई मात्र नभएर अरुलाई पनि यो लतमा फसाएका थिए ।” प्रवेशिका परीक्षामा राम्रै अङ्क ल्याएर उत्तीर्ण हुनुभएका उहाँ १२ कक्षा पढ्दै गर्दा पूर्णरुपमा नशामा डुब्नुभयो । त्यसपछिका उहाँका दिन कहालीलाग्दा भए । पढाई मात्रै रोकिएन, घरपरिवारले उहाँलाई धान्नसक्ने अवस्था रहेन । उहाँले भन्नुभयो, “मेरा घरका दराजका ढोका सबै बाङ्गिएका थिए, मैले नै हानेर त्यस्तो भएको हो ।”

    लागू पदार्थ प्रयोगका लागि जसरी पनि पैसा जुटाउनैपर्ने भएपछि उहाँले चोरी, डकैती, लुटपाट केही छाड्नुभएन । उहाँले भन्नुभयो, “भारतको पञ्जाबमा दैनिक रु ८० कमाउँथे, रु ७० को लागू पदार्थ खान्थेँ, रु १० को रोटी खान्थेँ ।” भारतको तीन वर्षको बसाइँपछि नेपाल फर्किनुभएका उहाँले घरमा आउँदा परिवारले जीउँदै रहेको भन्ने आश मारेर बसेको बताउनुभयो ।

    घर फर्किएपछि परिवारले उहाँको थप निगरानी राख्यो । बुबाले भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, “कहीँ नहिँड्नु बरु तैले खाने सबै मैले नै ल्याइदिन्छु”, भन्नुभयो । त्यसपछि अटोमोबाइलको व्यवसाय गर्नुहुने बुवासँगै उहाँ पनि काममा लाग्नुभयो । लत भने छुट्न सकेन । त्यसैबेला उहाँका परिवारले पुनःस्थापना केन्द्र लग्नुभयो । एक महिना निकै कठिन समय पार गरेपछि क्रमशःउहाँमा सुधार हुँदै गयो । तीन महिनाको बसाईंपछि उहाँ पूर्णरुपमा लागू पदार्थ सेवनबाट मुक्त हुनुभयो ।

    पन्ध्र वर्षको लागूऔषध दुव्र्यसनको कहालीलाग्दो जीवनबाट उहाँमा नयाँ जीवन पलायो । यससँगै विवाह बन्धनमा बाँधिएर दुई सन्तानका बाबु बन्नुभएका अधिकारी जहाँ आफू सुध्रनुभयो त्यही केन्द्रमा लगानी गरेर बाह्य सहयोगी बनिरहनुभएको छ । अहिले पनि सडकमा देखिने बालबालिकादेखि लागुऔषधमा लिप्त भएकाहरुलाई सुधारका लागि उहाँ समय खर्चिने गर्नुहुन्छ ।

    विगत तीन वर्षदेखि पोखरामा गाडीको ग्यारेज सञ्चालन गर्दै आउनुभएका अधिकारी लागूऔषध भावनात्मक रोग भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लागू पदार्थबिनाको जीवन सुन्दर हुन्छ । यो रोग हो, निवारणका लागि अपहेलना गर्नुहुँदैन, उपचार राम्रो गर्नुपर्छ । कुटेर पिटेर समाधान हुँदैन ।”

    जीवनको सुनौलो १५ वर्ष समय वर्वाद भएकामा पछुताउँदै उहाँले भन्नुभयो, “समयमा सही र गलत छुट्याउन नसक्दा जीवनको ऊर्जासित समय यसै खेर गयो ।” लागुऔषध दुव्र्यसनको उपचार गरेमा निको पार्न सकिने बताउँदै उहाँले भन्नुभयो, “दुव्र्यसन रोग हो, यसको सही उपचार गरे निको हुन्छ ।”

    आफू बाल्यकालदेखि नै यो लतमा फसेको भन्दै उहाँले भन्नुभयो, “मैले बच्चामा यो खराब हो भन्ने थाहा पाएको भए, मेरो अवस्था यो हुने थिएन, बाल मनोविज्ञानमा सकारात्मक परिवर्तन ल्याउन कक्षा सञ्चालन गर्नुपर्छ ।” समाजमा जुन वातावरण छ, त्यसले कुलतमा जानेलाई प्रश्रय गरेको भन्दै उहाँले परिवारसँगै सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    लागू पदार्थ छोडेको १५ वर्षको अवधिमा उहाँले परिवार चलाउन सक्नेगरी व्यवसाय चलाउनुभएको छ भने कुलतमा फसेकालाई सुधार गर्न प्रेरणा दिनुभएको छ । (रासस)

  • जुत्ता सिएरै मासिक ५० हजार कमाउँछन् शेरबहादुर दम्पती

    जुत्ता सिएरै मासिक ५० हजार कमाउँछन् शेरबहादुर दम्पती

    खड्क सुनार
    मुगु, २७ चैत-

    मुगु छायाँनाथ रारा नगरपालिका–१ गमगढी बजारमा २४ वर्षीया दुर्गा सार्की जुत्ता पसस चलाउँदै आएकी छन् । आफैं जुत्ता सिएर उनले बेच्ने गरेकी छन् । जाजरकोटको छेडागाड नगरपालिका–६ कि उनले गमगढी बजारलाई आफ्नो कर्मथलो बनाइरहेकी छन् ।

    घुम्तीमा सात वर्षदेखि जुत्ता पसल गर्दै आएकी उनल आर्थिक अवस्था कमजोर भएकाले कक्षा ९ भन्दा अगाडि अध्ययनलाई बढाउन सकिनन् । र जस कारण उनी जुत्ता पसल चलाउँदै आएकी छन् । जुत्ता सिलाएरै उनी आत्म निर्भर बन्दै गएको बताउँछिन् ।

    उनको दैनिकी गुजारा गर्नेदेखि छोराछोरीको अध्ययन गराउने माध्यम जुत्ता सिलाउने पेसा बनेको छ । गमगढी बजारमा कर्मथलो बनाएका दुर्गाका पति शेरबहादुर सार्की पनि जुत्ता सिलाउने गर्छन् ।

    आफूले जानेको सिप श्रीमती दुर्गालाई हस्तान्तरण गरे । सोही पेसाबाट अहिले दुर्गा मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेकि छन् ।

    शेरबहादुर नयाँ जुत्ता बनाउँछन् भने यस कार्यमा दुर्गाले पनि सहयोग गर्छिन् । दुर्गा पुरानो जुत्ता पनि सिलाउने गर्छिन् । सार्की दम्पतीले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् ।

    ‘श्रीमानको मासिक ३० हजार र आफूले मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छौँ,’ दुर्गाले भनिन् । उनीहरुले जुत्ता सिलाएरै नेपालगञ्जको कोहलपुरमा पनि जग्गा किनेको दुर्गाले सुनाइन् ।

    गमगढी बजारको कृष्णचोक नजिकै न्युएसवीएस सुज सेन्टर खोलेका उनीहरूलाई अहिले नयाँ जुत्ता बनाउन र सिलाउन भ्याइनभ्याइ छ ।- न्युज कारखाना

  • भारत भ्रमणका उपलब्धि र भरोसा

    भारत भ्रमणका उपलब्धि र भरोसा

    – एकराज पाठक
    काठमाडौँ, २२ चैत :
    वर्षाको समयमा खेर जाने बिजुलीलाई छिमेकी बजारमा निर्यात गर्न नेपालले लामो समयदेखि जारी राखेको प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो औपचारिक भारत भ्रमणबाट सार्थक भएको छ । प्रधानमन्त्री देउवाको यस भ्रमणका क्रममा ‘भारत–नेपाल संयुक्त भिजन’ जारी गर्दै ऊर्जा क्षेत्रमा आपसी सहयोगको अभिवृद्धिमा उन्नतस्तरको सहमति भएको हो । यो सहमतिसँगै अब नेपालको बिजुलीको बजार विदेशी छिमेकी बजारमा प्रवेश गर्न पाउनेछ । त्यसैले यो सहमतिलाई नेपालको ऊर्जा क्षेत्रमा भएको ‘ब्रेक थ्रू’ का रुपमा पनि व्याख्या गरेका छन् ।

    यदि कार्यान्वयनमा आउन सक्यो भने यो सहमति हाम्रा लागि सार्क फ्रेमवर्क र बिम्स्टेकको घोषणाभन्दा पनि माथिल्लो स्तरको छ । नेपालले अब बजार केन्द्रित भई निर्धक्क रुपमा बिजुली उत्पादन गर्न सक्नेछ भने बिजुली व्यापारका लागि नेपाललाई यसले मार्ग प्रशस्त गरेबाट यस क्षेत्रमा लगानीका सम्भावनाहरू पनि बढ्दै जानेछन् ।

    हामीलाई अहिलेसम्म बिजुली नपुग्दाको पिर जति छ त्योभन्दा बढी सकस निकट भविष्यमै उत्पादन हुने बिजुली बिक्री गर्न नपाउँदा हुने निश्चितै छ । अब त्यो पिरलोलाई यो सहमतिले मेटाइदिएको छ भन्न सकिन्छ । त्यसैले नेपाल र भारतका प्रधानमन्त्रीले अघि सार्नुभएको यो संयुक्त भिजनलाई ऊर्जा क्षेत्रमा भएको हालसम्मकै सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइएको छ । हामीलाई बढी भएको बिजुली सहजै भारत र नजिकको अर्काे बजार बङ्गलादेशसम्म निर्यात गर्न पायौँ भने त्यसले हाम्रो ऊर्जा क्षेत्रको लगानी र बजारको सुनिश्चितताले सार्थकता पाउनेछ ।

    उक्त सहमतिमा नेपालका केही ठूला आयोजना नेपाल र भारतको संयुक्त लगानीमा गर्न सकिने कुरा छ भने यसले बजारको मात्र नभएर लगानीको पनि सुनिश्चितता दिन सक्ने सम्भावना उत्तिकै छ । त्यसैगरी अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्ने र बजारको मागका आधारमा उपयुक्त पहुँच दिने कुरा पनि त्यसमा उल्लेख गरिएको छ । त्यति मात्र नभएर उपक्षेत्रीय सङ्गठनका रुपमा रहेको बिबिआइएनमा आबद्ध देशहरूलाई समेत त्यसमा समेट्ने घोषणा रहेकाले यो व्यवस्थाले पनि उक्त संयुक्त भिजन कार्यक्रमलाई थप अर्थपूर्ण तुल्याएको छ ।

    यो सहमतिबाट नेपालमा बढी भएको बिजुली खेर नजाने सुनिश्चितता बन्नु नै हाम्रा लागि ठूलो उपलब्धि हो । अर्कातर्फ हाम्रो बिजुली उत्पादन किन्न बङ्गलादेश तयार रहेको सन्देश यसअघि नै आएकाले पनि अब नेपालको बिजुलीलाई बङ्गलादेशको बजारसम्म पु¥याउन सजिलो भएको छ । त्यसमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालको बिजुली खरिद गर्नेछ भनी सार्वजनिक रुपमै प्रतिबद्धता जनाउनु हाम्रा लागि अर्को उपलब्धि हो ।

    उर्जा सम्बन्धी यो सहमतिका अतिरिक्त प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको शनिबारको भेटमा दुई देशका बीचमा रहेको सीमा समस्या समाधान गर्न एक द्विपक्षीय संयन्त्र निर्माण गर्ने प्रस्ताव गर्नुभयो । भारत भ्रमणका क्रममा भएका दुई देशका प्रधानमन्त्रीको वार्तामा प्रधानमन्त्री देउवाले यो प्रस्ताव गर्नुभएको हो । सो द्विपक्षीय वार्तापछि लगत्तै नयाँ दिल्लीको हैदराबाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “हामीले सीमा समस्याबारे छलफल गरेका छौँ र मैले यसलाई द्विपक्षीय संयन्त्रहरूमार्फत समाधान गर्न राम्रो हुन्छ भनी प्रस्ताव गरेको छु ।” नेपाल भारतबीचको निकै पुरानो सीमा समस्याका कारण दुई देशका बीच कूटनीतिक दरारहरू पनि उत्पन्न नभएका होइनन् । तर नेपालतर्फबाट कार्यकारी प्रमुखकै तहमा यसरी कुराकानी हुनुलाई सकारात्मक रुपमा लिनुपर्छ । प्रधानमन्त्री देउवाको यो प्रस्तावले भारतीय पक्षलाई पनि कुनै न कुनै रुपमा यसको तयारीका लागि अघि बढ्न भोलिका दिनमा बाध्य बनाउने नै छ ।

    भारतसँग चाँदनी र दोधरामा एकीकृत भन्सार जाँच चौकी तथा सुक्खा बन्दरगाह बनाउने र नेपालगञ्जको एकीकृत भन्सार जाँच चौकी पूरा गर्ने विषयमा पनि यस द्विपक्षीय वार्ताका क्रममा कुराकानी भएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । त्यसैगरी प्रधानमन्त्री देउवाले मोदीसँगको वार्तामा महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट एयर इन्ट्री रुटको माग गर्नुभएको छ । यो एयर इन्ट्रीका अतिरिक्त उहाँले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको कार्यलाई थप सहज बनाउने काममा सहयोग गर्न पनि प्रधानमन्त्री देउवाले भारतलाई आग्रह गर्नुभएको थियो ।

    नेपालको विद्युत् उत्पादन र निर्यातका लागि दुई देशबीच उच्चस्तरको सहकार्य आवश्यक छ । त्यसैले प्रधानमन्त्री देउवाले द्विपक्षीय छलफलमा ऊर्जा निर्यात सहकार्यलाई महत्व दिनुभएको थियो । दुईपक्षीय छलफलमा जलविद्युत् उत्पादन प्रसारण र अन्तरदेशीय व्यापारका लागि समझदारी भएको छ । यसै समझदारीमार्फत प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको बिजुली किन्न आग्रह गर्नुभएको थियो ।

    यस्तै भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्ने सम्बन्धका विभिन्न चार समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल हुने बारेको सहमति भएको हो ।

    त्यसैगरी नेपालको रेल्वे क्षेत्रमा भारतीय प्राविधिक सहयोगको सुनिश्चितता पनि यस भ्रमणका क्रममा भएको छ । पेट्रोलियम क्षेत्रमा सहयोग र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच विशेषज्ञ आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा पनि यसै भ्रमणका क्रममा हस्ताक्षर भयो ।

    कुर्था–जयनगर यात्रुवाहक रेल सेवाको शुभारम्भ र नेपालमा प्रयोगका लागि भारतको ‘रुपे डिजिटल कार्ड’ यो भ्रमणको अर्काे उपलब्धि हो । प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीले सोलु करिडोर १३२ किलोभोल्ट प्रसारण लाइनको पनि संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उक्त प्रसारण लाइन भारत सरकारको रु तीन अर्ब २० करोड ऋण सहयोगमा नेपालमा निर्माण भएको हो ।

    यस्तै, यो भ्रमणको अर्काे एक महत्वपूर्ण उपलब्धिका रुपमा लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई तीव्र रूपमा अगाडि बढाउन दुई देशबीच भएको सहमतिलाई पनि लिन सकिन्छ । महाकाली सन्धि आयोजनाको डिपिआर नै अहिलेसम्म टुङ्गिन सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल र भारतबीच पानी बाँडफाँटको विषयमा कुरा मिल्न सकेको छैन ।

    यो आयोजनालाई भारतीय प्रधानमन्त्री मोदीले महत्वपूर्ण ठानेर अगाडि बढाउने प्रतिबद्धता जनाएपछि डिपिआर टुङ्गो लाग्ने र अब भने निर्माण प्रक्रियामा अगाडि बढ्ने आशा पलाएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलसँग बहुआयामिक भारत–नेपाल सम्बन्धका सबै पक्षमा आफूहरूबीच छलफल र समीक्षा भएको जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले नै सो संयुक्त पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका बताउनुभएको थियो ।

    यो भ्रमणबाट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको विश्वास भारतले गरेको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको परम्परागत र शताब्दीऔँ पुरानो मैत्री एवं सहकार्यलाई थप सुदृढ र सुमधुरसमेत तुल्याउन योगदान पुगेको नेपालसँगको आफ्नो सम्बन्ध ‘छिमेकी पहिलो’ नीति बताउने भारतले गरेको हो । दुई प्रधानमन्त्रीबीच भएको विस्तृत वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन योगदान गर्नाका साथै भविष्यको बाटोसमेत निर्धारण गरेको भारतीय पक्षको धारणा छ ।

    प्रधानमन्त्री देउवाको यस पटकको भारत भ्रमणलाई ‘फलदायी’ को संज्ञा दिँदै भारत सरकारले विशेषगरी ऊर्जा र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित विषयलाई यस भ्रमणको उपलब्धि र प्राथमिकतामा राखेको छ । विद्युत् प्रसारण लाइन होस् वा विद्युतीय कारोबारको ‘रुपे’ त्यसले नेपालको वित्तीय क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास भारतको छ । परस्परमा वित्तीय सम्पर्क बढाउन तथा द्विपक्षीय पर्यटक प्रवाहलाई सहज बनाउनका साथै भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन रुपे प्रभावकारी हुने अपेक्षा भारतले गरेको छ ।

    नेपालको सबैभन्दा नजिकको छिमेकी भएका कारण पनि नेपाल भारत सम्बन्ध विशेष छ । यी दुई देशबीचको अनेक सम्बन्धका बहुआयामिकतालाई यस्तै भ्रमणहरूले थप सहजीकरण गर्दै सुदृढ बनाउँदै लैजानुपर्छ । नेपाल भारत सम्बन्धको महत्वको आयतनको मापन सजिलो काम होइन । यही महत्वबाट नै सवा सय करोडभन्दा बढी जनसङ्ख्या रहेको छिमेकी भारतको समृद्धिबाट नेपालले लाभ पनि लिन सक्नुपर्छ । यी दुई देशबीच समय समयमा असमझ्दारीहरू पनि नबढ्ने होइनन् । तर तिनको समाधान यसैगरी वार्ताको टेबलमा बसेर गरिएको ‘नेगोसिएसन’ बाट मात्र सम्भव छ । एकापसमा हुने द्विपक्षी हितका यस्तै सहमतिबाटै छिमेकीबीचमा समझ्दारी बढ्दै जानेछ ।

    विश्वकै एक चौथाइ जनसङ्ख्याको बीचमा रहेको नेपालले ती देशका समृद्धि र सम्भावनाबाट आफू लाभान्वित हुन नसकिरहेका बेला प्रधानमन्त्री देउवाको पछिल्लो भारत भ्रमणले केही आशा भने थपिदिएको छ । भ्रमणले अहिले बढाएको भरोसालाई हामीले पनि अर्थपूर्ण बनाउन सक्नुपर्छ । दक्षिणी छिमेकी भारतसँग अघि बढाइएको यो बृहत् समझदारीबाट लाभ लिनसक्ने अवस्थामा हामीले आफूलाई उभ्याउन सक्नुपर्छ । यस निम्ति आवश्यक पर्ने कूटनीतिक कौशलताका लागि राष्ट्रिय रुपमै गृहकार्य जरुरी पर्नसक्छ । आफ्नो खाँचो र आवश्यकताबारे छिमेकीहरूलाई वार्ताको माध्यमबाट ‘कन्भिन्स’ गरेर हाम्रो राष्ट्रिय स्वार्थअनुकुल बनाउन सक्यौँ भने मात्र हाम्रो कूटनीतिक सफलता देखिनेछ । नेपालको समृद्धि पनि यसरी नै सम्भव छ । (रासस)

  • बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

    बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

    गलेश्वर, १५ चैत
    ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला ।

    चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो शब्दचित्र म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँको हो । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको मगरजातीको बाहुल्यता रहेको यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ ।

    गुजुम्म परेको बस्तीमा रहेका एकसय बढी घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन् । आङ्गन र पिँढीमा झाडी मौलाएको छ । खेतबारीमा वनमारा फस्टाएको छ । दर्मिजा मात्रै होइन, म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् ।

    सङ्घीयताको मर्मअनुसार विकेन्द्रिकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडकहुँदै गाउँमा गाडी गुडेका छन् । सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालय गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छ । सञ्चारको सुविधा पुगेको छ । तर पनि गाउँमा बस्ने मानिस घट्दै गएका छन् ।

    विकास थपिँदै गए पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएका छन् भने जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका–४ का वडासदस्यसमेत रहनुभएका दर्मिजाका अगुवा धनबहादुर गर्बुजाले बताउनुभयो ।

    विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकोमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना– २०७८ को प्रारम्भिक नतिजामा ३.६७ जना मात्र बस्ने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्वकार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिनुभयो । “बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण सङ्कलन धेरै भएको छ”, उहाँले भन्नुभयो । उहाँले खाली भएका घरपरिवार वैदेशिक रोजगारी र सहरबजारमा धेरै रहेको बताउनुभयो ।

    पूर्वप्रमुख सापकोटाले भनेजस्तै जिल्लाका ६ वटै स्थानीय तहमा समेत विसं २०७८ को जनगणना अनुसार जनसङ्ख्या कमी रहेको देखिन्छ । जनगणना कार्यालय म्याग्दीले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार भारतसहित तेस्रो मुलुकमा म्याग्दीबाट कूल विदेशिनेको सङ्ख्या १० हजार ७१३ रहेको छ । तीमध्ये ८ हजार ८४३ पुरुष र एक हजार ८७० महिला रहेको छ । ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ । जिल्लाको कु्ल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्ने ०.४९ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्यधिक छ । पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको छ ।

    श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । “पहिले धेरै चलहपहल हुने गाउँ अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तीमा ६÷७ जना परिवारका सदस्य हुने घरमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्धबुबा–आमा मात्र भेटिन्छन्”, उहाँले भन्नुभयो, “घर संरक्षणको अभावमा खाली हँुदा खेतबारी बाँझोमा परिणत भएका छन् ।”

    सङ्घीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताले ग्रामीण बसाइँमा आर्कषित गर्ने नसकेको अवस्थामा नयाँ जनसङ्ख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको पूर्वक्याम्पस प्रमुख थापाको भनाइ छ । बसाइँसराइको कारण ग्रामीण क्षेत्रका विद्यालयमासमेत विद्यार्थीको सङ्ख्या कम छ । गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने गरेको खाद्यान्न र कृषिजन्य वस्तुसमेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ । “यूवा विदेशमा छन, अशक्त वृद्धवृद्धाको सेवा गर्नेकोसमेत कमी छ”, बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाअध्यक्ष हीराबहादुर थापाले भन्नुभयो ।

    उहाँले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजना सञ्चालन गरेपनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले सहर बजार र विदेश जाने गरेको बताउनुभयो । बसाइँसराइका कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएकोसमेत जनप्रतिनिधिको भनाइ छ । विसं २०६८ को जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजा अनुसार एक लाख सात हजार ३७२ जना रहेको छ ।

    हराउँदै गयो गाउँलेपन

    एक दशक अघिसम्म म्याग्दीका गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घर–घरमा मानिस टन्न हुन्थे, निकै रमाइलो थियो । चाडपर्वमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । साथीभाइको ठूलो जमघट हुने गथ्र्याे । दसँैंको सराय नाच हेर्न होस् वा तीजको मेला हेर्न, तिहारमा देउसी भइली खेल्न वा भजनकीर्तन कुनै पनि मेला महोत्सवमा धेरै मानिसको उपस्थिति हुने गर्दथ्यो । कुनै पनि चाडपर्व आउँदा भने मनमा छुट्टै किसिमको आनन्दको अनुभूति हुन्थ्यो ।

    कुनै यस्तो चाडपर्व थिएन, जहाँ हर्ष उमङ्ग नहोस् । गाउँमा मेलापात गर्दा होस् या गाईबाख्रा चराउन वन जङ्गलमा जाँदा तिजु, काफल टिपेर खाँदाका पल कति रमाइला थिए । वर्षायाममा होस् या हिउँदमा जुनसुकै समयमा पनि गाउँघरमा छुट्टै उल्लास हुने गर्दथ्यो । तर,आजभोलि ती सबै कुरा इतिहास बनेका छन् । (रासस)

  • विदेशमा भोगेको दुःख पाएका ढालेन्द्र छन्त्याल : गाउँमै भेँडा पालेपछि मासिक तीन लाख आम्दानी

    विदेशमा भोगेको दुःख पाएका ढालेन्द्र छन्त्याल : गाउँमै भेँडा पालेपछि मासिक तीन लाख आम्दानी

    बलेवा, ११ फागुन –
    तमानखोला गाउँपालिका–२ कटेरी गाउँका ढालेन्द्र छन्त्याल वर्षमा एक दुई पटकमात्रै घरमा पुग्नुहुन्छ । उच्च पहाडका जङ्गलमा भेडाको बथानका पछि उहाँको बाँकी दैनिकी चलिरहेको छ ।

    वर्षाको समयमा तमानखोलाका उच्च पहाडमा चर्ने उहाँका भेडा हिउँदमा हिउँ परेपछि गलकोट नगरपालिकाको उच्च पहाडमा पुग्छन् । तीनै भेडाको पछि लाग्ने ढालेन्द्र र उहाँका साथीको दैनिकी हिउँद र वर्षामा फरक–फरक ठाउँमा चल्ने गरेको छ । ढालेन्द्रका साना ठूला गरेर १०० भेडा छन् । अरु सातजना साथीका पनि सोही सङ्ख्यामा भेडा छन् ।

    सबैका भेडा एकै ठाउँमा चराउँदा धमिरो लागेको काठजस्तै देखिन्छन् पहाड । भेडीगोठका गोठाला ढालेन्द्र पेशामा सन्तुष्ट हुनुहुन्छ । साथीभाइ पालो गरेर घरपरिवारको रेखदेख गर्न पाइने, आफ्नै माटो, आफ्नै भाषा र आफ्नासँगै बसेर काम गर्दा हुने आम्दानीले उहाँलाई सन्तुष्ट बनाएको छ । लामो समय दुबई, कतार र साउदी अरबको तातो हावामा काम गर्नुभएका ढालेन्द्रले भेडा पाल्न थालेको पाँच वर्ष भयो । उहाँजस्तै विदेशमा दुःख भोगेर देशको माटो सम्झेका साथीको सहकार्यमा भेडा पाल्न थाल्नुभएका ढालेन्द्रले सुरुमा रु चार लाख लगानी गर्नुभएको हो ।

    अहिले वर्षमा सबै खर्च कटाएर रु तीन लाख आम्दानी हुन्छ । “विदेशमा भोगेको दुःख सम्झेर यहाँ मेहनत गरेको छु, आफ्नै परिवारजस्तो लाग्छ भेडीगोठ”, उहाँले भन्नुभयो, “अब विदेश जान्न यतै रमाइलो छ ।” उनीहरुले एउटा वयस्क भेडालाई रु ३५ हजारसम्ममा बेच्छन् । साना पाठापाठीको पनि रु १० देखि १५ हजार पर्छ । “विदेश पुगेपछि गाउँमै केही गर्न सकिन्छ भन्ने बुझेँ”, उहाँले भन्नुभयो, “अहिले थालेको व्यवसायमा सन्तुष्ट छु ।” भेडापालनका लागि चरण क्षेत्र राम्रो भएकाले तमानखोला गाउँपालिका उपयुक्त क्षेत्र हो । अन्य उत्पादन कम हुने, जङ्गल र पाखा धेरै भएकाले यहाँका किसानले मासुजन्य उत्पादनमा ध्यान दिन्छन् । भेडाको उन र मासु दुवैबाट किसानले मुनाफा लिने गरेका छन् ।

    कटेरी गाउँकै ओम पुनले आफ्नो जीवनको महत्वपूर्ण समय विदेशी माटोमा बिताउनुभयो । ४८ वर्षीय ओम पुन बहराइन र साउदी अरबको तातो हावामा १२÷१२ वर्ष काम गरेर अहिले गाउँ फर्किनुभएको छ । विदेशमा कमाएको पैसाले उहाँको पोखरामा घर छ । तर, ओमबहादुर भने तमानको हावापानी सम्झेर गाउँ फर्किनुभएको छ । “पोखरा बस्नै मन लागेन, भाइ बसाइँ सरेर गयो, बाबाआमा एक्लै हुनुभयो, अनि म गाउँ फर्किएँ”, उहाँले भन्नुभयो, “यहाँ शिक्षा, स्वास्थ्य र पूर्वाधार नभएर सुविधा सम्पन्न ठाउँ खोज्ने हामी अब यहीँ ती सुविधा पु¥याउन लाग्नुपर्छ ।”

    पुनले बहराइनमा रहँदा गाउँकै जनज्योति आधारभूत विद्यालयको सुविधा सम्पन्न भवन बनाउन जग्गाका लागि सहयोग अभियान चलाउनुभएको थियो । अभियानमा सङ्कलन भएको रु आठ लाखले जग्गा खरिद गरेर अहिले विद्यालयको पक्की भवन बनेको छ । पैतृक सम्पत्ति गाउँकै पाखोबारीमा खेतीपाती गरेर ओमबहादुरले घरखर्च चलाउनुभएको छ । जन्मे–हुर्केको ठाउँमा रमेर बाबाआमाको सेवामा खटेका ओमबहादुर विदेशबाट गाउँ फर्केर पाखो बारी कोतर्ने उदाहरण हुनुहुन्छ । कटेरिकै चुडामणि छन्त्याल पनि विदेशको कमाइले आर्जेको सम्पत्तिको सुख सयल छोडेर गाउँमा तरकारी फार्म चलाएर बस्नुभएको छ ।

    बसाइँ सरेर जानेहरुले जग्गा नबेच्ने र बसाइँसराइको कागज नगर्ने भएकाले यहाँको वास्तविक तथ्याङ्क भने छैन् । तर गाउँमा सुविधा नभएको भनेर छोड्ने दिनानुदिन बढ्दै छन् । बसाइँ सर्ने रोगमा मलमपट्टी लगाउन गाउँ भित्रिएका ढालेन्द्र, ओमबहादुर र चुडामणिजस्ता युवा पनि छन् । विदेशबाट फर्केर गाउँमा उद्यम, व्यवसाय र खेतीपाती गर्नेलाई गाउँपालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याएको छ । “गतवर्षमा ४० वटा भेडीगोठ सुधारका लागि अनुदान दिएका थियौं”, गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “ऋणमा सहुलियत, व्यवसायमा अनुदान र प्रविधि तथा तालिम निःशुल्क उपलव्ध गराउने कार्यक्रम हामीसँग छन् ।” गाउँ फर्केका युवाले गाउँमै भविष्य खोज्ने उहाँले बताउनुभयो ।

    तीनै तहका सरकारले साथ सहयोग गरे गाउँमा पनि नमूना काम गर्न सकिने उदाहरण उनीहरुले दिएको स्थानीयवासी बताउँछन् । (रासस)

  • महिनावारी हुँदा शौचालय प्रयोग गर्न समेत रोक, झाडी खोज्दै हिँड्नुपर्ने बाध्यता

    महिनावारी हुँदा शौचालय प्रयोग गर्न समेत रोक, झाडी खोज्दै हिँड्नुपर्ने बाध्यता

    मार्तडी, १० फागुन
    जिल्लाको बडीमालिका नगरपालिका–८ रावलबाडाकी गौरी रावलले महिनावारी (छाउ) भएका बेला कहिल्यै पनि शौचालय प्रयोग गर्न पाउनुभएन । छाउ भएका बेला उहाँ बिहान बेलुकी खोला र जङ्गलको झारी खोज्दै जाने गर्नहुथ्यो ।

    घर नजिकै बनाइएका शौचालयमा छाउ भएका बेला घरका मान्छेले प्रयोग गर्न नदिँदा जङ्गलको झाडी वा खोलामा धाउन बाध्य भएको रावलको गुनासो थियो । छाउ भएका महिलाले शौचालय प्रयोग नमिल्ले मान्यता रही आएकाले गर्दा धामी झाक्रीले पनि यसै कुरालाई प्रश्चय दिँदै आएको उहाँको भनाइ थियो ।

    उक्त वडाका अधिकांश महिलाले पनि छाउ भएका बेला गोठमै बस्ने र शौचालय प्रयोग गर्न नपाउने गरेको पाइएको छ । छाउ भएका बेला घरभित्र बस्दा देउता रिसाउने र गाईभैँसीले दूध दिन छोड्नेजस्ता कुसंस्कार रही आएकाले महिलालाई घरभित्र बस्न नदिने गरिएको नाम नबताउने एक महिलाको गुनासो थियो ।
    उहाँका अनुसार परम्परादेखि मान्दै आएको प्रचलनलाई तोड्न सकिएको छैन। उक्त वडालाई छाउ गोठमुक्त घोषणाका लागि अनुगमनका क्रममा सम्बद्ध महिलाले आफ्ना समस्या दर्साएका थिए । धार्मिक परम्पराअनुसार महिला छाउ भएपछि घरभन्दा पर बस्नुपर्ने पोषिलो खानेकुरा खान नहुनेजस्ता प्रचलन अझै व्याप्त छ । वर्षाको समयमा त छाउ भएको बेला झनै बस्न गारो हुन्थ्यो भने हिँउदको समयमासमेत छाउगोठमा बस्न निकै समस्या हुने गरेको गौरीले बताउनुभयो ।

    उहाँले भन्नुभयो,“ भुईंमा सुत्नुपर्छ, चिसोले सारै सताउछ, असुरक्षित महसुस हुन्छ, कीराफट्ग्रा र सर्पको निकै डर लाग्छ, आफ्नो समुदायका सबै यही छाउगोठमा आउँछौँ र पराल विछ्याएर सुत्छौ ।”

    गौरीले छाउ गोठमा बस्नुमात्र समस्या होइन शौचालयसमेत प्रयोग गर्न नपाउनु आर्को समस्या भएको बताउनुभयो गर्नुभयो । दिनमा शौच लागे दिसापिसाब च्यापेर रातिसम्म पर्खनुपछर्, कुसंस्कारलाई हटाउन त हामी चाहान्छौँ तर घरका पुराना मान्छेहरु मान्दैनन् परिवर्तन गर्न खोजे झन उल्टै रिसाउने र डर तथा धम्की दिने गरेको उहाँको गुनासो थियो ।

    ऐडिबाडाकी एक महिलाले पहिलैदेखि देवता मान्दै आएका र छाउ भएको बेला नछुट्टिए देवता लाग्ने डरले हामीले छाउगोठमै बस्ने गरेको बताउनुभयो । उहाँले यो प्रथा हटाउन त मन भए पनि हामीले देवताका डरले अहिलेसम्म हटाउन सकेका छैनौँ भन्नुभयो ।

    छाउगोठ शिक्षितकै घरमा पनि भेटिएका छन् । उक्त वडामा बढीजसो कर्मचारी र सुरक्षाकर्मीका घरमा छाउगोठ देखिएको थियो । नगरपालिकाको छाउपडी गोठमुक्त अभियानअन्तर्गत वडा नं ८ मा यही फागुन २४ गते छाउगोठमुक्त वडा घोषण गर्ने तयारी गरेको पनि घोषणा चुनौतीको विषय भएको बताइएको छ ।

    दश छाउ गोठ भेटिए :

    नगरपालिकालाई नै २०७८ सालभित्र छाउपडी गोठमुक्त गर्ने अभियान चलिरहेको छ । सो अभियानअन्तर्गत आइतबार सरोकारवाला निकायले वडा नं ८ मा अनुगमनका क्रममा १० छाउगोठ भेटिएकाले अभियानले सार्थकता पाउन कठिन भएको हो । पालिकाको अभियानमा सरोकारवाला निकाय र प्रहरीले गाउँमा रहेका ठूलो सङ्ख्यामा छाउगोठ भत्काए पनि महिलाको मनबाट भने छाउपडी प्रथा अझै हट्न सकेको छैन ।

    सदरमुकामकै वडामा छाउगोठ बढी रहेको पाइएको छ । सो वडामा बढीजसो सामूहिक छाउगोठ भेटिएका र छाउ भएको बेला महिला आफ्नो घरमा छाउगोठ नभए जसको छाउगोठ छ, त्यसैको घरमा गएर बस्ने गरेको भेटिएको छ । सदरमुकाम मार्तडीकै वडामा छाउगोठ भेटिएपछि घोषणा प्रक्रिया अगाडि बढाउन कठिन भएको अनुगमन टोली संयोजक तथा नगर उपप्रमुख कविता विष्टले बताउनुभयो ।

    उहाँले नगरपालिकाले छाउ गोठमुक्त अभियानका लागि महिलासँग उपप्रमुख कार्यक्रम अघि सार्दै अभियानलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो ।
    स्थानीयवासीलाई छाउगोठमा बस्दा हुने विभिन्न खालका घटनाबारे सचेत गराउनाका साथै जागरण अभियानमा लाग्न अग्रसर हुने गरी कार्यक्रम ल्याइएको उपप्रमुख विष्टले राससलाई बताउनुभयो ।
    अनुगमन टोलीका सदस्य सोही वडाका अध्यक्ष प्रकाश रावलले कुनै पनि व्यक्तिको घरमा छाउगोठ भेटिए राज्यले दिने सेवा सुविधाबाट वञ्चित गरिने जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन समुदायस्तरका महिला नै जागरुक हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    छाउ गोठमुक्त वडा घोषणा गर्ने लक्ष्य तत्काल पूरा नहुने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बताउनुभयो । छाउगोठमुक्त बनाउन गाउँमै चरणबद्धरुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै उहाँले यसलाई चुनौतीका रुपमा पनि लिइएको उल्लेख गर्नुभयो । (रासस)

  • मिहिनेत गरे गाउँमै अवसरै अवसर

    मिहिनेत गरे गाउँमै अवसरै अवसर

    पाल्पा, १० फागुन –
    शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् ।

    प्रशस्त अर्थोपार्जन गर्न सहर तथा विदेशै भाँैतारिन नपर्ने तर ग्रामीण क्षेत्रमै पनि मिहिनेत गरे के हुँदैन र भन्ने उदाहरण बन्नुभएको छ, जिल्लाको रिब्दीकोट गाउँपालिका–२ लघुवाका सन्तोषराज नेपाल । गाउँमा फर्केर अहिले उहाँ रिसोर्ट, कृषि तथा पशुपालन व्यवसाय गरेर अरूलाई पनि रोजगारी दिन सक्षम हुनुुभएको छ । ग्रामीण बस्तीबाट अवसरको अभावमा सहरी क्षेत्रमा युवाहरुको आकर्षक बढेर गाउँका घरहरु रित्तो हुन पुगेको अवस्थामा पछिल्ला वर्षहरुमा प्रशस्त अर्थोपार्जनका सम्भावनाले ग्रामीण क्षेत्रमै फर्कनेहरू पनि बढ्न थालेका छन् ।

    सोही स्थानका सन्तोषराज नेपाल चार वर्षअघि बाउबाजेको पुख्र्याैली गाउँ फर्किनु भएको हो । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ गाउँ फर्केर रिसोर्ट, कृषि तथा पशुपालन व्यवसयामा उहाँ अहिले व्यस्त हुनुहुन्छ । चालीस रोपनी जग्गामा कागती, लिची, मुला, साग खेती गरिएको छ । फेस्रभ्याली एग्रो फार्म प्रालिमा लिची र अर्को वर्षदेखि कागती उत्पादन हुँदैछ । मुलाबाट मात्र यस वर्ष रु चार लाख आम्दानी भएको उहाँले बताउनुभयो ।

    मिहिनेत गरे गाउँमा पनि प्रशस्त आम्दानी गर्ने वातावरण सहरमा भन्दा झनै फराकिलो छ । सहरी क्षेत्रमा पैसा कमाउन ठूलै प्रतिस्पर्धा गर्नुपर्ने र लगानी पनि बढी लगाउनुपर्ने बाध्यता रहेको नेपालको भनाइ थियो । ग्रामीण क्षेत्रमा कृषि, पशुपालन तथा होटल व्यवसायमा सानो लगानी र विना प्रतिस्पर्धामा काम गर्ने वातावरण रहेको उहाँले जानकारी दिनुभयो।

    नेपालको कृषि फार्म नजिकै रिसोर्ट र उन्नत जातको बाख्रा र स्थानीय जातका कुखुरापालन व्यवसाय छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिस अहिले पशुपालन व्यवसायबाट विस्थापित भए पनि नेपालले भने यसवर्ष स्थानीय जातका दुई सय कुखुराबाट रु दुई लाख र उन्नत जातका बाख्राबाट रु चार लाख आम्दानी भएको जानकारी दिनुभयो ।

    स्याङ्जाका दीपक पाण्डेय कोरोना महामारीका बेला कृषि र पशुपालन व्यवसायतर्फ आकर्षित हुनुभयो । तानसेन नगरपालिकाको कैलाशनगरबाट रिब्दीकोट गाउँपालिकाको देउरालीमा फर्किनुभएका उहाँले चारवटा भैँसी र दुईवटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आउनुभएको छ ।पाण्डेयले गाई तथा भैँसीको दूध बिक्रीबाट वार्षिक रु दश लाख आम्दानी गर्दै आउनुभएकोे छ । उहाँले व्यावसायिकरूपले गाईभैँसी र बाख्रासँगै तरकारी उत्पादन पनि गर्दै आउनुभएको छ । रु ७५ लाख खर्चेर रिसोर्ट सञ्चालनका लागि संरचना निर्माण गर्नुभएका पाण्डेयले करिब रु दुई करोडको लगानीमा एक वर्षभित्र रिसोर्टको सबै काम पूरा गरी सञ्चालन गर्ने तयारीमा रहे पनि कोरोनाले गर्दा संरचना निर्माणमा समस्या भएको बताउनुभयो ।

    आर्थिक अवसरहरुको खोजीमा सहरमा प्रवेश गरी आम्दानी गर्ने मान्यता अहिले बिस्तरै हटदै गएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा अधिकांश युवा विदेशबाट फर्केर स्वदेशमै आयआर्जनमा सक्रिय रहेका छन् । पछिल्ला वर्षहरुमा सहरमा बसोबास गर्नेहरुको पनि ग्रामीण क्षेत्रमै फर्केर कृषि तथा पशुपालन, रिसोर्ट सञ्चालन गर्ने क्रम बढ्न थालेकाले मिहिनेत गर्नसके ग्रामीण क्षेत्रमा पनि प्रशस्त आम्दानी गर्न सकिने अवसरको ढोका खुल्ला गरिदिएको छ ।

    गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले ग्रामीण क्षेत्रका बासिन्दालाई रोजगार तथा स्वरोजगार बनाउन कृषि तथा पशुपालनका क्षेत्रमा अनुदानको व्यवस्था गरिएको बताउनुभयो । उहाँले पहिलाको तुलनामा अहिले कृषि तथा पशुपालनका क्षेत्रमा रामै्र प्रगति भएको, तरकारी, मासु, दूधमा बिस्तारै गाउँपालिका आत्मनिर्भर बन्दै गएको जानकारी दिनुभयो । (रासस)