Category: फिचर

  • निजगढ विमानस्थल बनाउन गठबन्धन सरकारको एक मत, स्थानीयमा छायो खुसी

    निजगढ विमानस्थल बनाउन गठबन्धन सरकारको एक मत, स्थानीयमा छायो खुसी

    इन्दिप कोइराला
    बारा, १८ असार-
    गत ज्येष्ठ १२ गते निजगढ विमानस्थल बनाउन रोक लाएको सर्वोच्चले गत असार १५ गतेको पूर्णपाठमा जैविक विविधताको न्यूनतम क्षति हुने गरी सरकारले विमानस्थल निर्माण गर्न सक्ने भनेपछि प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका नेताहरूले पहिलो पटक निर्माण क्षेत्रको अवलोकन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्र टाँगियावस्तिको निरीक्षण गरेका हुन् ।

    शनिबार बिहान करिब १०:३० मा प्रधानमन्त्री देउवासहित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतको जम्बो टोली शनिवार निजगढ विमानस्थलको प्रस्तावित क्षेत्र टाँगियावस्तिको हवाई निरीक्षण गरेको छ ।

    टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, खानेपानी मन्त्री उमाकान्त चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ पनि सहभागी रहेका थिए ।

    नेपाली सेनाको हेलिकप्टरमार्फत निजगढ आएका प्रधानमन्त्री देउवासहितको टोलीले करिब २० मिनेटसम्म टाँगियावस्थितको हवाई निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा टोलीले टाँगियावस्ति, काटँघाट वस्ति र आसपासको वन क्षेत्रको पनि निरीक्षण गरेको हो ।

    प्रस्तावित विमानस्थल निर्माण क्षेत्रको निरीक्षणपछि टोलीले निजगढमा रहेको नेपाली सेनाको फास्टट्याक (काठमाडौं तराई मधेश द्रुतमार्ग) विकास निर्माण दल जिरो किमीमा सरोकारवाला कार्यालयका प्रमुख र बाराका स्थानीय निकायका प्रमुखहरूसँग भेट गरेर भ्रमणको बारेमा जानकारी गराएको थियो ।

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री देउवाले गठबन्धन सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रतिबद्ध रहेको बताए । उनले सर्वोच्च अदालतको पूर्णपाठमा निजगढ विमानस्थल निर्माण नगर्नु नभनेकोले निजगढमा नै विमानस्थल बनाइने बताए । विमानस्थल र फास्टट्याक एकअर्काका परिपूरक आयोजना भएकोले पनि विमानस्थल निर्माण गरिनु पर्ने उनको भनाइ थियो । ‘हामीले फास्टट्याक किन बनाएको, उनले भने, एयरपोर्टको लागि बनाएको हो ।’ एयरपोर्टमा आउने र जाने मानिसहरूलाई काठमाडौं लैजान र ल्याउन फास्टट्याक निर्माण गरिएको हो,’ उनले भने, ‘एयरपोर्ट बनेन भने फास्टट्यकको समेत काम छैन ।’

    प्रधानमन्त्री देउवाले देशमा ४ लेन धावनमार्गको विमानस्थल आवश्यक रहेको भएता पनि तत्कालको लागि निजगढमा २ लेन धावनमार्गसहितको विमानस्थल बनाइने बताए । उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक जाम हुने समस्याले गर्दा भारतको दिल्ली र बंगलादेशको ढाका लगाएको स्थानमा डाइभर्ट गर्नु पर्ने अवस्था रहेको हुँदा कुनै पनि हालतमा निजगढमा सुविधा सम्पन्न विमानस्थल निर्माण गरिनु पर्ने बताए ।

    निजगढ विमानस्थल निर्माण नभए अर्वौं लगानी गरेर फास्टट्यक निर्माण गर्नुको औचित्य छैन : प्रचण्ड

    गठबन्धनका नेता, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष प्रचण्डले निजगढमा विमानस्थल निर्माण गर्ने विषयको सम्बन्ध फास्टट्याकसँग पनि भएको बताए । ‘निजगढ विमानस्थल निर्माण हुन सकेन भने अर्वौं लगानी गरेर फास्टट्यक निर्माण गर्नुको औचित्य छैन, उनले भने, फास्टट्यकको डिपिआर बनाउँदा नै निजगढ विमानस्थलको आवश्यकतालाई अध्ययन गरेर तयार पारिएको हो ।’

    पहिले पनि धेरै मनन, अध्ययन तथा छलफल गरेर विमानस्थलको लागि निजगढ सबैभन्दा उपयुक्त क्षेत्रको रूपमा छनौट भएको भन्दै अध्यक्ष प्रचण्डले अर्बौं लगानी भइसकेको र देशको गौरवको आयोजनाको रूपमा रहेको यो आयोजनालाई सरकारले दृढताका साथ अघि बढाउने जरुरी भएको बताए ।

    सर्वोच्चको फैसलामा देशमा अन्तर्राष्ट्रियकरण विमानस्थल निर्माण गर : माधव कुमार नेपाल

    पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलामा देशमा अन्तर्राष्ट्रियकरण सुविधा सम्पन्न विमानस्थल निर्माण गर्न जरुरी रहेको ठहर भएको जानकारी दिए । उनले अदालतको पूर्णपाठमा कस्तो र कतिवटा विमानस्थल निर्माण गर्ने भन्ने कुराको निर्क्यौंल गर्ने जिम्मा कार्यपालिकालाई दिएको भन्दै अब सरकारले निर्णय गरेर निजगढ विमानस्थल निर्माण गर्नुपर्ने बताए ।

    उनले अदालतले निजगढमा एयरपोर्ट सिटी बनाउने कुरामा रोक लगाएको पनि जानकारी दिए । ‘सर्वोच्च अदालतको पूर्णपाठमा वातावरणीय क्षति कम होस भन्नेमात्रै आशय देखिएको छ, नेता नेपालले भने, अदालतको फैसलालाई ध्यानमा राखेर वन जंगलको कमभन्दा कम क्षति हुने गरी निजगढमा नै विमानस्थल बनाउनुपर्छ ।’

    बाढी पीडितलाई राहत बाढे जस्तो नहोस् वस्ति स्थानान्तरण : उपेन्द्र यादव

    गठबन्धनका अर्का नेता उपेन्द्र यादवले राष्ट्रिय आवश्यकता पूरा गर्नकै लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक भएको हुँदा गफ मात्रै नगरेर काम अगाडि बढाउनु पर्ने बताए । उनले विमानस्थल निर्माण क्षेत्रमा पर्ने वस्तिहरूको व्यवस्थित स्थानान्तरणमा ध्यान दिनुपर्ने कुरा बताए । ‘यस क्षेत्रमा रहेका पुराना वस्तिका जनताले घरबार विहीन हुनु नपरोस्, उनले भने, बाढी पीडितलाई राहत बाढे जस्तो नहोस् ।’

    कास निर्माणका आयोजना सञ्चालन गर्दा जैविक विविधता संरक्षणलाई पनि ध्यान दिनुपर्ने र न्यूनतम रुख फडानी हुने गरी विमानस्थल निर्माण गर्नुपर्ने बताए । उनले आयोजना निर्माण हुँदा काटिएका रुखको बदलामा काटिएका रुखभन्दा बढी वृक्षारोपण गरिनुपर्ने पनि बताए । नेता यादवले भने, निजगढ विमानस्थलमा पनि जैविक विविधता नोक्सानलाई कमभन्दा कम क्षति हुने गरी काम गरौं ।’

    कानुनी र अन्य प्रक्रिया पुरा गरेर विमानस्थल निर्माण कार्य चाडै सुरु : दुर्गा पौडेल

    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षले दुर्गा पौडेलले निजगढ विमानस्थल निर्माण गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिइसकेको बताउँदै आवश्यक कानुनी र अन्य प्रक्रिया पुरा गरेर चाडै विमानस्थल निर्माण कार्य सुरु गर्नुपर्ने बताइन् ।

    विमानस्थल बन्ने सुनिश्चितता भयो : सुरथ पुरी

    प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताले निजगढमा गठबन्धन सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रतिबद्ध रहेको हुँदा अब यस ठाउँमा विमानस्थल बन्ने सुनिश्चित भएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताए ।

    ‘प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूले यस क्षेत्रमा विमानस्थल बनाउने प्रतिबद्धता गरेको हुँदा हामी आशावादी छौं । कुनै दबाब र प्रभावमा नभई यहाँको भूगोल र देशको राजधानी काठमाडौंसँगको निकटता र आवश्यकताले निजगढमा सञ्चालन गर्न लागिएको योजना हो यो ।’ नगरपालिकाका नगरप्रमुख पुरीले भने, ‘देशलाई काठमाडौंबाट नजिकैको स्थानमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ र हवाई दुरीबाट निजगढ काठमाडौंबाट २५/३० किमी मात्र टाढा पर्ने भएकोले पनि निजगढ निर्विकल्प सबैभन्दा उपयुक्त र निर्विकल्प स्थान हो ।’

    स्थानीयमा छायो खुसी

    निजगढका स्थानीयले सर्वोच्चको यसअघिको फैसलापछि निजगढमा नै विमानस्थल निर्माण गरिनु पर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनशन बिहीबारबाट अन्त्य भएको छ । विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधवार सार्वजनिक गरेको पूर्णपाठलाई सकारात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनशन अन्त्य गर्ने निर्णय गरेको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल अनशनकारीलाई जुस खुवाएर अनसन तोड्न लगाउनु भएको हो । विमानस्थल निर्माणको माग राखेर निजगढको शहीद चोकमा अनशन हुँदै आएको थियो ।

    निजगढ विमानस्थल निर्माणको माग राखेर समितिले ज्येष्ठ २४ गतेदेखि निजगढको सहिद चोकमा रिले अनशन सुरु गरेको हो । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरूले विमानस्थल निर्माण नगर्ने अदालतको यसअघिको ज्येष्ठ १२ को फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै सोही दिन देखिनै राँके जुलुस, पूर्वपश्चिम लोकमार्गमा चक्काजाम र प्रदर्शन गर्दै आएका स्थानीयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूले यस क्षेत्रमा विमानस्थल बनाउने प्रतिबद्धता गरेसँगै खुसी छाएको निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले बताए ।

    निजगढ विमानस्थल बनाउन यस अघि नै परियोजनाले जग्गा प्राप्ति, आयोजना क्षेत्रको घेराबारा अनि नदी नियन्त्रणको काम समेत सम्पन्न गरिसकेको छ । यस्तो अवस्थामा आएर अन्यत्र विमानस्थल बनाउँदा देशलाईनै निकै आर्थिक भार थपिने भएको हुँदा पुनः नयाँ शिराबाट निजगढमै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको अर्का विकल्प समेत छैन ।

    सर्वोच्च अदालतले बुधबार जारी गरेको फैसलाको पूर्णपाठमा समेत ‘वातावरणीय अध्ययन, कानुनी विधि, जग्गाको क्षेत्रफल र प्राविधिक दृष्टिले उपयुक्त स्थानमा विमानस्थल निर्माण गर्नू’ भन्ने सर्वोच्चको आदेशले विमानस्थल बनाउन कुनै पनि ठाउँ विशेषलाई बन्देज लगाएको छैन, जसका कारण नयाँ शिराबाट निजगढमै राष्ट्रिय गौरवको परियोजनामा रहेको निजगढ विमानस्थल बनाउने विकल्प खुला भएको हो । – न्युज कारखाना

  • गिट्टी कुटेर घरका लागि पैसा कमाउन बाध्य छन् मुगुका बालबालिका

    गिट्टी कुटेर घरका लागि पैसा कमाउन बाध्य छन् मुगुका बालबालिका

    खड्क सुनार
    मुगु, १७ असार-
    कालो फुर्के कपाल, निलो स्विटर, हातमा फलामे हतौडा, खोलाको वरपर गिट्टीका थुप्रो, पहेँला, सेता बोरा, जाँगे वा कट्टु लगाएर आधा दर्जन बढी बालबालिका ढुंगासँगै पाँैठाजोरी खेलिरहेका छन् । यो दृश्य हो, मुगु छायाँनाथ रारा नगरपालिका–११ रोवा बस्तीका बालबालिकाको । हिजोआज उनीहरूको दैनिकी ढुंगा, गिट्टीसँगै बित्ने गरेको छ । यसरी नै उनीहरूको दैनिकीसँगै गुजारा पनि चलिरहेको छ ।

    अन्य जिल्लाकै जस्तै मुगुका विद्यालयमा पनि पाठ्यपुस्तक आइपुगेको छैन । पुस्तकको अभावले विद्यालय जानुपर्ने बालबालिका खोलामा दिन बिताउने गर्छन् । पुस्तकमात्र होइन घरमा बिहान–बेलुका छाक टार्ने अन्न पनि छैन । कापीकलम किन्ने पैसा छैन । जसकारण विद्यालय जानुपर्नै उनीहरू गिट्टी कुटेरै घरको आर्थिक अभाव पूरा गर्न अभिभावकलाई सघाउने गर्छन् ।

    बुबाआमाको आयस्रोत नभएपछि यहाँका विपन्न, गरिब, दलित परिवारका बालबालिकाको अध्ययन प्रभावित भएको छ । ‘पैसा नहुँदा पढ्न पनि सकिँदैन । काम पाइहाले पनि थोरै मात्रा दाम आउँछ, खान पनि पुग्दैन । त्यसैले गिट्टी कुट्न आएको हुँ,’ प्रभात माध्यामिक विद्यालय रोवाका कक्षा ४ मा अध्ययनरत छात्र १३ वर्षीय बिर्खराज बुढाले बताए ।

    खान लाउन आर्थिक समस्या भएपछि गिट्टी कुट्न आएको उनी बताउँछन् । लगातार गिटी कुट्दा महिनामा दुई हजार रुपैयाँसम्म आम्दानी हुने उनले बताए ।

    बिर्खराज मात्र होइनन्, १४ वर्षीय मनोज ऐडीको अवस्था पनि उस्तै छ । उनको घरमा उमेर ढल्लेका बुबा छन् । बुबा मजदुरी गर्छन् । तर, बुबाको आम्दानीले मात्रै दैनिकी चल्दैन । गिटी कुट्ने काम पनि मुस्किलले पाइने उनको गुनासो छ ।

    प्रभात माविमा अध्ययनरत यी बालबालिका उदाहारण मात्र हुन् । यहाँका अधिकांश विपन्न, गरिब र दलित बालबालिकाको अवस्था यस्तै छ ।
    पढाई खर्चसँगै विद्यालय निर्माणमा आवश्यक पर्ने गिट्टी कुटिरहेको शिक्षक हरिबहादुर विश्वकर्माले बताए । गिट्टी कुटेबापत उनीहरूले प्रतिबोरा ६० रुपैयामा पाउँछन् । – न्युज कारखाना

  • गुरुङ समुदायको पुर्ख्यौली पेसा भेडापालन व्यवसाय संकटमा

    गुरुङ समुदायको पुर्ख्यौली पेसा भेडापालन व्यवसाय संकटमा

    लमजुङ, १६ असार –
    भेडापालनलाई गुरुङ समुदायको पुर्ख्यौली पेसाकाे रुपमा मानिन्छ । विगतमा लमजुङमा झन्डै तीन सयभन्दा बढी भेडीगोठ थिए । स्थानीयले घुम्ती भेडीगोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । तर, पछिल्लो समय भेडापालन व्यवसाय संकटमा छ ।

    युवा पुस्ताले यस व्यवसायमा चासो नदिँएका कारण यो व्यवसाय संकटमा पर्न थालेकाे हो । युवा सहर, विदेश केन्द्रित छन् । तर, भेडापालन व्यवसायमा युवापुस्ताको चासो छैन । भेडाको मासु र ऊन बिक्रीबाट मनग्य कमाउन सकिने भए पनि काम गर्न कठिन हुने भएकाले यस व्यवसायमा युवाले खासै चासो नदिएको भेठीगोठाला बताउँछन् । ‘भेडापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उनीहरू भन्छन्, ‘तर भेडा चराउन कहिले बेँसी त कहिले लेक गरिरहनुपर्छ । दुःख छ । त्यसैले यो व्यवसायमा लाग्ने युवा छैनन् ।’

    लमजुङमा ९० घुम्ती भेडीगोठ

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रुपेश श्रेष्ठका अनुसार लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भुलभुले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दुधपोखरीलगायत स्थानमा घुम्ती भेठीगोठ छन् । उनका अनुसार जिल्लामा ९० वटा घुम्ती भेडीगोठ छन् । ती भेठीगोठमा झन्डै १५ हजार ‘बरुवाल’ जातका भेडा छन् ।

    वार्षिक १२ करोड आम्दानी

    घुम्ती भेडीगोठमा पालिएका भेडाबाट वार्षिक दुई सय मेट्रिकटन मासु उत्पादन हुन्छ । एउटा भेडाको मूल्य ३० हजारभन्दा बढी पर्छ । भेडाको उनको मूल्यप्रति धार्नी चार सयभन्दा बढी पर्छ । भेडाको मासु बिक्रीबाट मात्रै वार्षिक १२ करोड आम्दानी हुँदै आएको छ । यहाँका भेडाको मासु काठमाडौं, पोखरा, चितवनलगायत सहरमा पुग्छ । जिल्लामा वार्षिक झन्डै ६ हजार मेट्रिक टन ऊन उत्पादन हुँदै आएको छ । ऊन बिक्रीबाट मात्रै वार्षिक १२ लाख बढी आम्दानी हुँदै आएको छ ।

    हिमालको काखसम्मै पुग्छन् घुम्ती भेँडीगोठ
    भेडा चराउन भेडाको बथान लिएर भेठीगोठालाहरू लेक–बेँसी गरिरहन्छन् । भेडा चराउँदै उनीहरू हिमालको काखसम्मै पुग्छन् । श्रेष्ठका अनुसार यहाँका केही पाका व्यक्तिले भेडापालन व्यवसायलाई निरन्तरता दिएका छन् । उनीहरूले मनग्य कमाएका पनि छन् । भेडापालन व्यवसयालाई व्यवसायीकरण गर्दै लगेमा यो व्यवसायबाट मनग्य कमाउन सकिने र युवा पुस्तालाई आकर्षित गर्न सकिने उनी बताउँछन् । उनका अनुसार केन्द्रले घुम्ती भेठीगोठलाई सोलार बत्ती, त्रिपाललगायत सामग्री प्रदान गर्दै आएको छ । भेडाको मासु, ऊन तथा मल बिक्रीबाट राम्रो कमाउन सकिने उनको भनाइ छ । उनले भने, ‘भेडाको मल बेचेर पनि आम्दानी गर्न सकिन्छ । तर, मल त्यसै खेर गएको छ । तल्लो भेगमा भेडीगोठ रहँदा खेतबारीमा प्रयोग भएको छ । तर, माथिल्लो भेगमा भेडीगोठ जाँदा मल त्यसै खेर गएको छ ।’ न्युज कारखाना

     

  • ड्रागन फुड खेतीबाट मनग्य आम्दानी, उत्पादनभन्दा बजारको माग धेरै

    ड्रागन फुड खेतीबाट मनग्य आम्दानी, उत्पादनभन्दा बजारको माग धेरै

    -इन्दिप कोइराला
    बारा, १४ असार-

    बाराको निजगढ नगरपालिका-७ भमराटोलमा नेकपा एमाले मधेश प्रदेश सदस्य तथा किसान एकबहादुर श्रेष्ठले विगत तीन वर्षअघि सुरु गरेको नौलो तथा मिठो फल ड्रागन फुड खेतीमा सफलता प्राप्त गर्दै गएका छन् । आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उनी खुसी देखिएका छन् ।

    जिल्लाकै पहिलो व्यवसायको रूपमा श्रेष्ठले हेर्दै रहरलाग्दो, आर्गानिक तथा मिठो फल ड्रागन खेती सुरु गरेका थिए । निजगढका अगुवा तथा मेहनती किसान श्रेष्ठले करिब २२ लाखको लागतमा ४०० बोट ड्रागन फुड १५ कठ्ठामा लगाएर व्यवसायको रूपमा ड्रागन फुडको खेती सुरु गरेका हुन् ।

    श्रेष्ठका अनुसार जुनसुकै माटो र माैसम समेत ड्रागन फुडको लागि उपयुक्त हुने उनले बताए । ड्रागन फुड खेतीको प्रति कठ्ठामा ५० वटा सिमेन्टको पिल्लर आवश्यक पर्ने हुन्छ । एउटा पिल्लरमा करिब ३ देखि ५ वटा ड्रागन फुडको बाेट छन् । अहिले श्रेष्ठको १५ कठ्ठा आफ्नै बारीमा ४०० बोट ड्रागन फुडका बोटहरू छन् । करिब २५० वटा बोटहरू फूल फुल्ने र फल फल्ने क्रममा रहेका छन् । श्रेष्ठले ड्रागन फुडका साथमा अहिले खोर्सानी, भिण्डी र काँक्रोसमेत लगाएका छन् ।

    श्रेष्ठका अनुसार प्रति कठ्ठाबाट वार्षिक कम्तीमा एक लाख ५० हजारसम्म आम्दानी हुने र यसको उत्पादनसँगै एकै ठाउँमा सानो बाेट हुने तरकारीको खेती समेत गरेर दोहोरो फाइदा लिन सफल भएको श्रेष्ठले बताए ।

    कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै व्यावसायिक ड्रागन फुड खेतीमा उनी रमाइरहेका छन् । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् श्रेष्ठ । ड्रागन फुडको बजारमा माग थेरै रहेको हुँदा मागअनुसार ड्रागन फुडसमेत बजारमा नरहेको श्रेष्ठले बताए । श्रेष्ठले भने, युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै ड्रागन फुड खेतीको सुरुवात गरिएको र ड्रागन फुडको उत्पादनभन्दा बजारमा माग बढी रहेको बताए ।

    बजारको समस्या नभएको र घरमै आएर ग्राहकले किनेको र सबैलाई यो फल चाख्न भ्याइ नभ्याइ भएको देख्दा भने खुसी लागेको श्रेष्ठले बताए ।
    पहिलो लटमा लगभग ७० हजार रूपैयाँको फल बेचेको उनले बताए । श्रेष्ठका अनुसार फूल फुलेको ३० औं दिनमा फल पाकेर खानको लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ ।

    गर्मी समयको वैशाखदेखि मंसिरसम्म मुख्य रूपमा फल दिने ड्रागन फुड वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ । श्रेष्ठको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भइसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दैछन् भने चौथो छिमालको फल उत्पादनको लागि पनि कोपिला बसिसकेको छ ।

    ड्रागन फुड रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ । श्रेष्ठको बारीबाटै प्रतिकेजी ५०० देखि ६०० सम्ममा बिक्री हुने गरेको छ । श्रेष्ठको बारीको आकर्षक ड्रागन फुड हेर्न धेरै मानिसहरू फार्म पुग्ने गरेका छन् ।

    एक पटक बिरूवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव बटुल्न सफल भएको श्रेष्ठले सुनाए ।

    थोरै लागानीबाट व्यवसायी सुरु गर्न सकिने भएपछि ड्रागन फुड खेती गर्ने बाराका कृषकहरु बढ्न थालेको छ । कम मेहनत र लगानीमा छोटो समयमा धेरै आम्दानी लिन सकिने भएपछि ड्रागन फुड खेतीमा कृषकको आकर्षण बढेको हो ।न्युज कारखाना

     

  • तातोपानी नाकामाथि ‘चिसोपानी’ खसेपछि : पहिले व्यापारी, अहिले ज्याला मजदुरी

    तातोपानी नाकामाथि ‘चिसोपानी’ खसेपछि : पहिले व्यापारी, अहिले ज्याला मजदुरी

    – सम्झना कार्की

    सिन्धुपाल्चोक, ८ असार-
    चीनसँग सीमा जोडिएको तातोपानी नाकाबाट आयात–निर्यात सहज नहुँदा व्यवसायी पलायन हुन थालेका छन् । ०७२ सालको विनाशकारी भूकम्पपछि बन्द भएकोे तातोपानी नाका ठूलो तामझामका बीच १५ जेठ ०७६ मा उद्घाटन भई सन्चालनमा आएको थियो । तर, केही बर्षयताको लगातारको बाढी पहिरोका कारण जीर्ण बनेको सडक, कोभिड महामारी लगायतका कारण देखाउँदै करिब डेढ वर्षदेखि यो नाका सुस्त बनेको छ ।

    स्थानीय व्यवसायी वेदबहादुर श्रेष्ठ भन्छन्, ‘सभामुख, अर्थमन्त्रीसहितको उच्चस्तरीय टोलीले बेलाबेलामा व्यापार सहजीकरणका लागि नाकास्थलको निरीक्षण गर्ने गरेको छ । तर, चिनियाँहरूले नाकामा सुरक्षा प्रोटोकलमा थप कडाइ गरेको छ । चीनले आफ्नोतर्फबाट हुने निर्यात पनि दैनिक कोटा तोकेर पठाउने गर्छ ।’

    अहिले नेपाली ट्रक सामान लिन चीन जान पाउँदैन । चीनले नै ड्राइपोर्टसम्म सामग्री ल्याइदिने हुँदा नेपाली व्यापारीले सोचे अनुसारको सामग्री ल्याउन पाउँदैनन् । तातोपानी नाकाबाट भूकम्पअघि हुने स्थानीय सामग्रीको निर्यात पनि अहिले शून्य छ । तातोपानी नाका हुँदै सामग्री ढुबानी गरेर ल्याउँदा धेरै झन्झड व्यहोर्नु पर्ने व्यवसायीहरू बताउँछन् ।

    भन्सार प्रमुख नाराद गौतमका अनुसार माथिबाट पहिरो र तलबाट भोटेकोशी नदी कटानले तातोपानीसम्म पुग्ने बाटो भरपर्दाे र सहज छैन । कोदारी क्षेत्रमा अघिल्लो वर्ष गएको पहिरोका कारण क्षति भएको सडक निर्माण नहुँदा समस्यासँगै स्थानीय भने आक्रोसित छन् । नाकाबाट अहिले दिनमा ८–१० वटा कन्टेनर भित्रिन्छन् । मनसुनको समय भएकाले सडकसम्बन्धी जोखिम झन् बढ्दै गएको छ ।

    मजदुरलाई जिविका धान्नै मुस्किल
    नाका नियमित सन्चालनमा नआउँदा यसको मार सीमाका बासिन्दामा पनि परिरहेका छन् । सीमामा बस्ने अधिकांश स्थानीय व्यापार गरेर जीवन धान्ने गर्थे । अहिले सीमावासी तितरबितर भएका छन्  ।

    सीमा गाउँमा खेतीयोग्य जमिन पनि छैन । उनीहरूको प्रमुख पेसा भनेको तातोपानी लिपिङमा झोलेपोके व्यापार नै हो । पछिल्लो समय व्यापारीले भित्र्याउने सामानलाई लोडअनलोड गरेर जिविका चलाउनुपर्ने अवस्थामा छन् । तर, अनेकन चुनौतीले ठूला व्यापारी पलायन हुने अवस्थामा पुग्दा मजदुरीबाट समेत जीविका धान्न मुस्किल पर्न थालेको उनीहरूको दुखेसो छ ।

    मजदुर फुर्पा शेर्पा भन्छन्, ‘जग्गा जमिन हुनेले त कमाई गरेर खान्छन्, जग्गा नै नहुनेको बिजोक छ, व्यापारीले भित्र्याउने सामानलाई लोडअनलोड गरेर कमाएको पैसाले जीविका धानेको थियो, नाका बन्द भयो जीवन धान्न गाह्रो छ । कतै जाउँ जाने ठाउँ छैन् ।’

    भूकम्पअघि सम्म यहाँ दैनिक १४ सय मालवाहक कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवारको चहलपहल हुन्थ्यो । तर, अहिले सुनसान जस्तै बनेको छ ।  व्यवसायी र स्थानीयले सरकारलाई पटक पटक नाका सहज बनाउन आग्रह गर्दै आएका छन् । सरकारले पनि चिनिया पक्षलाई विवरण राख्ने आश्वासन दिने गर्छ । तर, नाका चिनिया अधिकारीको आदेशअनुसार सीमित मात्रै खुल्छ । नाका सहज हुने वातावरण भने अझै पनि बन्न सकेको छैन । – न्युज कारखाना

  • लिचीबाट लोभलाग्दो आम्दानी

    लिचीबाट लोभलाग्दो आम्दानी

    खोटाङ, ५ असार-

    खोटाङको रावाबेँसी गाउँपालिकाका किसानले लिची खेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन् । रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, रावाबेँसी गाउँपालिका–२ खार्पा, रावाबेँसी गाउँपालिका–५ दुबेकोल र रावाबेँसी गाउँपालिका–६ हौंचुरका किसानले सिजनमा लिची विक्री गरेर आयआर्जन गर्नेगरेका छन् ।

    बोटमै प्रतिदाना एक रुपैयाँमा बिक्री हुने लिचीबाट स्थानीयले प्रतिघर वार्षिक सरदर ६०/७० हजार आम्दानी लिने गरेका छन् । लिचीको आम्दानीले घर खर्च र सामान्य बचत गर्न पुगेको कुभिन्डे लांघालीचोकका प्रेमबहादुर राना मगरले बताए । जिल्ला बाहिरबाट लिची आयत नहुने भएकाले स्थानीय लिचीले बजारमा राम्रो भाउ पाउने गरेको छ । लिची बिक्रीबाट रावाबेँसीमा वार्षिक करोडौँको रकम भित्रिने गरेको छ ।

    कुभिन्डेको डाँडागाउँ, माझगाउँ, दम्कु, हाचेका लगायतका गाउँ लिची उत्पादनका लागि प्रख्यात छ । नहुनेको पनि दुई/चार बोट लिची छन् । रावाबेँसीमा लिचीका एउटै बोटमा कम्तीमा १३ हजारदेखि २४/२५ हजार दाना फल्ने गरेको छ । धेरैजसो लिची स्थानीयले बोटबाटै ठगेर बिक्री गर्न बजारमा लैजाने गरेका छन् । लिचीको झुप्पा दिक्तेल बजार, बाक्सिला, ऐसेलुखर्क बजार पुग्ने गरेको छ ।

    कृषक आफैले पनि डोकोमा बोकेर लिची बजार पुर्‍याउने गरेका छन् । कतिपय लिची व्यापार तथा कोसेलीका रूपमा काठमाडौंसम्म पुग्ने गरेको छ । तर पछिल्लो समय कच्ची सडक बनेसँगै किसानले गाउँकै सडकमा लगेर लिची बिक्री गर्ने गरेका छन् । हाटबजारमा स्थानमा डोकाकोडोका लिची बिक्री गर्न राखिएको देखिन्छ । लिची पाक्ने सिजन सुरु भएसँगै दिक्तेल बजारमा डोकोभरी लिची बिक्री गर्न आउने महिला र पुरुषको भीड लाग्ने गरेको छ । यस बाहेक विभिन्न सभा, समारोह लगायतका कारण जमघट हुने ठाउँमा समेत लिचीले बजार लिने गरेको छ ।

    जिल्लाका २४८ हेक्टर क्षेत्रफल लिची उत्पादनका लागि योग्य मानिन्छ । सल्ले, अर्खौले, खाल्ले, डम्बर्खुशिवालय, मात्तिम, रतन्छा, बुईपा, इन्द्रेणीपोखरी, बतासे, दुबेकोल, छोरम्बु, डुम्रेधारापानी, डिकुवा लगायतका किसानले समेत लिची खेती लगाउन थालेका छन् ।न्युज कारखाना

  • डा. छक्क भन्छन्- हुम्लामै बसेर सेवा गरिरहन पाउँ

    डा. छक्क भन्छन्- हुम्लामै बसेर सेवा गरिरहन पाउँ

    जितेन्द्र थापा
    सुर्खेत, ३० जेठ-

    भनिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ कुनै पनि काम गर्न मनैदेखि इच्छा भए जस्तो सुकै अप्ठ्यारा समस्या पनि पूरा गर्न सकिन्छ । हुम्लाको दुर्गम ठाउँ सर्केगाड गाउँपालिका–४ दुलीका छक्क थापाले यो भनाइलाई प्रमाणित गरिदिएका छन् । जस्तो नाम उस्तै काम । उनले सबैलाई छक्क पर्ने काम गरेका छन् ।

    २५ वर्षीय छक्क कक्षा एकदेखि एसएलसीसम्म गाउँकै विद्यालयमा पढे । जहाँ रहे पनि उनले मिहिनेतलाई भने आप्mनो दिनचर्या बनाए । अभावैअभाव र विकटताको भुँमरीकाबीच ०६८ सालमा उनले एसएलसी दिए । उनी सम्झन्छन्, ‘रातभर दियालो, झोरो, टुकी बालेर रात कटाउथ्यौं । तर मिहिनेत गर्न छाडिन ।’ पढाइमा निकै चासो र मिहिनत गर्ने उनी १ देखि १० कक्षासम्म सधै फस्ट सेकेण्ड भए । उनले एसएलसी पनि प्रथम श्रेणीमै पास गरे । उनको मिहिनेत र लगनशीलबाट उनी अहिले डाक्टार बनेका छन् । बिपी प्रतिष्ठान मेमोरियल कलेज धरानबाट उनले एमबीबीएस पास गरेका हुन् ।

    हुम्लादेखि काठमाडौंसम्मको संघर्षदायी यात्रा
    छक्कको हुम्लादेखि काठमाडौंसम्मको यात्रा निकै संघर्षदायी छ । शहर र मोटरगाडी कहिल्यै नदेखेका छक्कका लागि काठमाडौं पुग्नु मात्रै पनि सपना थियो । सपनामा मात्रै देखेका सहरका ठुला ठुला घर, चिल्ला सडक र गाडीमोटर काठमाडौंमा उनले आँखैअघि देखे । शहरमा भएर पनि उनी ठूलो मान्छे बनेर आफ्नै ठाउँमा कहिले फर्कन पाइएला भनेर सोचमग्न हुन्थे । उनीसँग सोच्नबाहेक अरु कुनै उपाय थिएन । घरको आर्थिक अवस्था कमजोर थियो ।

    छक्कलाई डाक्टर पढ्न फलामको चिउरा चपाउनु जत्तिकै थियो । तर ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने जस्तै । घर वरपरका छरछिमेकबाट सय, हजार सक्ने जति सहयोग जुटाएर १६ वर्षीय छक्क पैदलै सुर्खेत पुगे । सुर्खेतदेखि बसमा काठमाडौँ पुगे । ‘सुर्खेत आउनुअघिसम्म नत कुनै मोटर देखेको थिए,’ उनले भने, ‘मेरा लागि सबै नयाँ थिए ।’ सर्केगाड–४ का दुलीका छरछिमेकले सहयोग जुटाएर बिदाई गर्दानै डाक्टर बनेर यो ठाउँमा आउनुपर्छ भनेर अठोट गरेको र जुन अहिले पूरा भएको उनले बताए ।

    काठमाडौं पुग्दा आर्थिक समस्या
    छक्क काठमाडौं त पुगे तर गाउँमा जस्तै सहरका सबै मानिस मनकारी उनले पाएनन् । काठमाडौँ पुग्न जति कठिन थियो पुगेर पढ्न झनै गाह्रो भएको उनले सुनाए । उनले भने, ‘आर्थिक संकट त कति हो कति झेल्नु पर्याे । कहिले त बीचमै पढाइ छोडौं लाग्थ्यो । तर फेरि हुम्लाबासीको दुःख आँखामा आइहाल्थ्यो ।’

    उनी पढाइ खर्च जुटाउन जागिर खोज्दै हिडे । लामो प्रयासपछि अन्तः एउटा एनजिओमा काम पाए । दिउँसो एनजिओका काम र साँझबिहान पढेर उनले लक्ष पूरा गरे ।

    छक्कको लक्ष्य
    छक्कको लक्ष्य भनेको अब दुर्गम हुम्लाबासीका पीडामा मलम लगाउनु मात्रै हो । हरेक पाटोबाट विकट हुम्लाका बासिन्दका घाउमा मलम लगाउँदै दुर्गमलाई सुगम बनाउने उनको लक्ष्य छ । उनले भने, ‘मेरो एउटै लक्ष्य र उदेश्य भनेको हुम्लामै बसेर यहाँका मानिसको घाउमा मलम लगाउने हो ।’न्युज कारखाना

     

  • आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती, अभिभावले दिए आर्शीवाद

    आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती, अभिभावले दिए आर्शीवाद

    नयाँ दिल्ली, २१ जेठ-

    सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग विवाह गर्छन् । पछिल्ला वर्षहरूमा पश्चिमा देशमा सोलोगामी युवतीमाझ बढ्दो फेसनमा छ । अहिले यो भारतसम्म आइपुगेको छ ।

    पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा परम्परागत हिन्दू समारोहबीच क्षमा बिन्दुको विवाह हुँदैछ ।

    रातो दुलहीको पोशाकमा सजिँदै हातमा मेहन्दी र कपालमा सिन्दुर लगाएर उनले विवाह मण्डपको पवित्र आगोको वरपर सात फन्को लगाउनेछिन् ।

    विवाहको अघिल्लो दिन हल्दी र नृत्य तथा सांगीतिक कार्यक्रम आयोजना हुनेछ । विवाहपछि उनी हनिमुनको लागि दुई साता गोवा जानेछिन् ।

    यी सवै प्रक्रियामा दुलाहा भने हुने छैनन् । भारतमा अहिलेसम्मकै पहिलो मानिएको सोलोगामीलाई विन्दुले सुरुवात गर्दैछिन् ।

    ‘धेरै मानिसहरूले म धेरै आकर्षित भएको बताउँछन्’, समाजशास्त्रीकी २४ वर्षीया विद्यार्थी तथा ब्लगर भन्छिन्, ‘उनीहरूलाई म आकर्षित भएको बताउँछु ।’

    आफूले आफैलाई विवाह गरेर विन्दुले ‘आफ्नो माया’प्रति समर्पित भएको बताउँछिन् । ‘स्वयंमलाई विवाह गर्नु भनेको आफ्नो लागि प्रतिबद्ध हुनु हो । यसले तपाईलाई सबैभन्दा जीवित, सुन्दर र आनन्दित व्यक्ति बन्न मद्दत गर्दछ ।’ उनको आगामी विवाहलाई अभिभावकले पनि सहमति जनाएका छन् । बाबुआमाले आर्शीवाद दिएका छन् भने साथीभाइ वैवाहिक कार्यक्रममा सहभागी हुने जनाएका छन् ।

    लगभग २० वर्षअघि लोकप्रिय अमेरिकी श्रृंखला सेक्स एन्ड द सिटीकी पात्र क्यारी ब्राडशाले यसलाई उठाएपछि सोलोगोमीबारे चर्चा हुन थालेको हो । तर, त्यो व्यङ्ग्य नाटक मात्र थियो ।

    त्यसयता धेरैले यस्ता विवाह गरेका छन् । विशेषगरी एकल महिलाको यसप्रति रुची बढ्दो छ । एउटा असामान्य घटनामा ब्राजिलकी ३३ वर्षीया मोडलले आफूले आफैलाई विवाह गरेको तीन महिनापछि ‘सम्बन्ध बिच्छेद’ गरेकी थिइन् ।-एजेन्सी

  • रघे लुवारको आरन अनुभव : न चटक्कै छोड्न सक्छु न चित्तै बुझाउन

    रघे लुवारको आरन अनुभव : न चटक्कै छोड्न सक्छु न चित्तै बुझाउन

    जितेन्द्र थापा
    सुर्खेत, १८ वैशाख-

    आगोको रापले गाला रातै छन् । चाउरिएका गालाले बुढ्यौली प्रष्ट देखिन्छ । टाउकोमा टोपी । टोपीका छेउकुनाबाट निस्किएका फुलेका कपालले बुढ्यौलीको थप प्रमाण दिन्छ । तर, हातमा रहेको हथौडाले उनले बुढ्यौली भन्न नपाएको प्रष्ट हुन्छ ।

    उनी हुन् दैलेख ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाका ७५ वर्षीय रघे लुवार । उनी हरेक दिन आठ वर्षीय नातिसँगै भाडाकुँडा बनाउन तल्लिन हुन्छन् । उनको काम आधुनिक वैज्ञानिकहरूको जस्तै छ तर रैथाने काम भएकाले सम्मान पाउन सकेको छैनन् । यो पेशाले सम्मान नपाउँदा उनी आरनमा बसेर काम गर्ने ‘आरन्या बाजे’मा सिमित छन् ।
    उनी आरनमा नहुँदा नबस्दा मात्रै होइन घरको भान्सा समेत ठप्प हुन्छ । यही कारण उनी भान्सा ठप्प हुनुभन्दा बुढ्यौली बिर्सन तयार छन् ।

    दिनरात आरनमा बसे पनि सोचेअनुरुप आम्दानी नहुँदा गाउँका अरूले यो पेशा नै छोडिसके । अरु शीप नजानेकाले उनी छोड्न पनि सक्दैनन् । ‘बिहान भालेको डाकोसँगै जोश जागरका साथ आविष्कारमा जुट्छु,’ उनले भने, ‘यो कामले शरीरको छाला मात्र पाक्छ, एक सुपो बालीमै चित्त बुझाउनुपर्छ ।’ उनी गाउँभरिका भाँडाकुँडा बनाउन आरनमै व्यस्त हुन्छन् तर भनेजस्तो ज्याला पाउँदैनन् ।

    बालीकै भरमा चित्त बुझाउँदै आएको उनले बताए । देशमा अनेकौं राजनीतिक परिवर्तनपछि सामाजिक चेतनास्तर माथि उक्सिएको तथ्यांक छन् । तर, दैलेखको ठाटीकाँध गाउँपालिकामा भने कुरिती र कुसंस्कारको अवशेष ‘बाली प्रथा’ कायमै छ ।

    व्यवसायिक छैन आरन पेशा
    ठाटीकाँध गाउँपालिकासहित जिल्लामा करिब डेढ सय घर परिवार आरन चलाएर जीवन गुजार्न बाध्य छन् । आगोको रापमा जिउ सेकाएर फलामका भाँडाकुँडा आविष्कार गर्छन् तर ज्याला पाउँदैनन् । ज्याला बापत भाँडाकुुँडा बनाउने तिनै व्यक्ति बोरा बोकेर बाली माग्न घरघर जानुपर्ने बाध्यता रहेको रघे लुवारले बताए ।

    रघे लुवा ठाटीकाँध गाउँपालिका–१ र २ वडाबाट करिब पाँच सय घरधुरीका भाडाकुडा बनाउँछन् । ‘विहान ५ बजे उठ्छु,’उनले भने, ‘हसिया, कोदालालगायत सामान धार लाउँदा लाउँदै १२ बजेको पत्तैै हुँदैन,’ उनले भने ।

    आरन पेशा नगरौँ त साँझ विहानको गर्जाे टर्दैन गरौँ त परिश्रम अनुसारको फल (ज्याला) मिल्दैन । एक सुपो अन्नमै चित्त बुझाउँनुपरिरहेको उनले बताए ।

    गाउँपालिकाले विनियोजन गरेको बजेट कार्यान्वन हुन सकेन
    गाउँपालिकाले आरन सुधार तथा क्षमता विकासको लागि करिब १२ लाख रुपैयाँ बराबरको आरन सुधार कार्यक्रम गर्ने गरी योजना बनाएको थियो । ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका अनुसार गाउँपालिकालेले आरन सुधारको लागि योजना बनाइरहेको छ । उनले भने, ‘कसलाई कुन सामग्री वितरण गर्ने, के गर्ने भन्ने योजना र छलफलमै छौँ ।’

    गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा पनि ६ लाख छुट्याएको थियो । समय अपुगका कारण ६ लाख बजेट कार्यान्वयन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।- न्युज कारखाना

  • मदिराका कारण संकटमा राउटे समुदाय

    मदिराका कारण संकटमा राउटे समुदाय

    जितेन्द्र थापा
    सुर्खेत, १९ वैशाख-

    बस्ती वरपर मदिराका खाली बोतल परस्त मात्रामा भेटिन्छन् । कोही राउटे पिउँदै गरेका त कोही पिएर झुलिरहेको अवस्थमा भेटिन्छन् । नेपालकै लोपोन्मुख समुदायको यस्तो अवस्था होला र ? भन्ने प्रश्न उब्जिन पनि सक्छ । यो सत्य हो । गत साताको मंगलबार सामाजिक सेवा केन्द्र (सोसेक)को गाडी खाद्यन्न वितरण गर्न जाजरकोटको छेडागाड नगरपालिका-५ थलबजार राउटे बस्तीमा पुग्यो ।

    राउटेहरू आ-आफ्नै चालमा व्यस्त थिए । राउटेको बस्तीमै पुग्यौँ । बस्तीमा यता उती डुल्दै गर्दा ६४ वर्षीय रतन शाही उठ्न सक्ने अवस्थामा थिएनन् । उनी मदिरामा लिप्त थिए । शरीर ठाडो नहुने गरी मदिरा पिएका थिए । कसैसँग बोल्ने अवस्थासम्मका थिएनन् ।

    त्यस्तै राउटे बस्तीका मानबहादुर शाहीको पनि अवस्था उस्तै थियो । रतन र मानबहादुर एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै राउटे बस्तीका राउटे अहिले मदिरामा लिप्त छन् । कुनै समय आफैंले जडीबुटीबाट उत्पादन गरेको मदिरा पिएर हृस्टपुष्ट राउटे समुदाय अहिले परनिर्भर हुँदै गएको छ ।

    मदिरा पिउनकै लागि पैसा माग्छन्

    कुनै समय जंगलमा फिरन्ते जीवन बिताउने आफैंले विभिन्न जडिबुटीको प्रयोग गरेर मदिरा उत्पादन गदै पिउँथे । जंगलका जडीबुटी खान्थे । अन्य जाति समुदायको नजिक नहुने राउटे समुदाय अहिले मदिरा पिउनकै लागि पैसा माग्ने गर्छन् । कुनै समय पैसा छोए पाप लाग्छ भनेर अन्न गेडागुडीसँग आफूले बनाएका सामान साट्ने उनीहरू मदिरा पिउनकै लागि गाडी रोक्यो कि पैसा माग्ने गरेको छेडागाड नगरपालिका थलहका एक स्थानीय व्यापारिले भने । ‘एक दिन आफू गाउँतिर गएर बाइकमा आउँदै थिए,’ उनले भने, ‘चल्दो बाइकमा एकजना राउटेले पैसाले भन्दै बाइक रोके, कसो दुर्घटनामा परिन ।’ राउटेहरू मदिरा पिउनकै लागि बाटोघाटो, बजार बस्तीमा जहाँ भेट्यो त्यहीँ पैसा माग्ने गरेका उनी बताउँछन् ।

    दिनहुँ कमजोर बन्दै

    जंगलको स्वच्छ हावापानीमा जीवन बिताउँदै काठका भाडाकुँडा निर्माण गरेर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय निकै बलिया देखिन्थे । उनीहरू मदिराकै कारण दिहुँ शारीरिक रुपमा पनि कमजोर बन्दै गएका छन् । आधुनिकतामा होम्मिएसँगै उनीहरुको मृत्युदर बढ्दै गएको छ भने उनीहरुको पेसा नै संकटमा पर्न थालेको छ ।

    सरकारको लगानी बालुवामा पानी

    कर्णाली प्रदेश सरकारले राउटे समुदायको राहत तथा पुनर्स्थापना क्षतीपुर्ति शिर्षकमा प्रत्येक वर्ष लाखौँ रकम छुट्याउछ । सरकारले छुट्याएको रकम बालुवामा पानी भएजस्तै भएको लोपाेन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकि अध्यक्ष सत्यदेवि खड्काले बताइन् ।

    वनजङ्गलमा रमाउने, खोलाकिनारमा नाङ्गै बस्ने, पहिले-पहिले कन्दमूल खाने, गुना–बाँदरको शिकार गर्थे,’ उनले भनिन, ‘अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो ।’

    सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको तथ्यांकअनुसार राउटेको मुल प्रवाहीकरणका लागि भनेर प्रदेश सरकारले २०७५/७६ देखि हालसम्म एक करोड रुपैया छुट्याएको छ ।

    २०७५/७६ मा २० लाख, ०७६/७७ मा ५० लाख, २०७७/७८ मा २० लाख, २०७८/७९ मा नौ लाख गरी करिब एक करोड रुपैयाँ छुट्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक सुरक्षा तथा महिला विकास शाखा अधिकृति अनिता ज्ञवालीका अनुसार २०७५/७६ मा २० लाखमध्ये खाद्यान्न,लत्ता कपडा र उपचार खर्च गरेर नौ लाख रुपैँया खर्च भएको र बाँकी रकम फ्रिज भएर गएको थियो ।

    २०७६/७७ मा ५० लाख छुट्याइएको थियो जस्मा ३० लाख सामाजिक विकास कार्यालय दैलेख पठाइएको थियो । पाँच लाख २६ हजार तीनसय १८ रुपैँया सामाजिक विकास मन्त्रालयले खर्च गरेको र बाँकी फ्रिज भएको थियो । २०७७/७८ मा २० लाख छुट्याएकोमा ११ लाख ९४ हजार सातसय ८५ रुपैँया राउटेलाई खाद्यन्न, कपडा र उपचार खर्चमा खर्च भएको र अन्य बाँकी रकम फ्रिज भएर गएको थियो । त्यस्तै २०७८/७९ मा नौ लाख बजेट छुट्याइएकोमा एक लाख ७६ हजार तीनसय २० रुपैँया खर्च भएको र बाँकी रकम फ्रिज भएर गएको अधिकृत ज्ञवालीले बताइन् ।- न्युज कारखाना