Category: धर्म संस्कृति

  • पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो

    पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो

    लुम्बिनी, साउन १७ –
    नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ ।

    यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणका लागि दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ । विशेष गरी साउन महिनाभरी पहेँलो बस्त्रधारी दर्शनार्थी यहाँ आउने गर्दछन् ।

    प्राचीन शिवालय पर्रोहा बोलबम धाममा रहेको शिव ज्योर्तिलिङ्गमा हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ । यहाँ जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दीर्घायु हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

    धामका प्रमुख संरक्षक आचार्य किशोरकुमार गौतमले सोमबार मात्र नभएर अन्य दिनमा ठूलो सङ्ख्यामा भक्तजनले गङ्गाजल अर्पण गर्ने गरेको बताउनुभयो । साउन महिनामा ज्योर्तिलिङ्गमा गङ्गाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकांक्षा पूरा गरिदिने जनविश्वास छ ।

    उक्त ज्योर्तिलिङ्गमा अर्पण गर्न कपिलवस्तुको लक्ष्मणघाट, गुल्मीको कालिगण्डकी, चितवनको देवघाट र नवलपरासीको त्रिवेणीघाटबाट गङ्गाजल ल्याउने चलन छ । काँवरमा गङ्गा जल बोकेर कोही पैदल त कोही सवारीसाधनमा बोलबमको नारा लगाउँदै हिँडेका बोलबम यात्रीहरुले यस क्षेत्रलाई रमाइलो बनाएका छन् ।

    यहाँ मेला भर्न रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका अतिरिक्त फाटफुट रुपमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली एवं राजधानीबाट भक्तजन आउने गर्दछन् । भारतको उत्तरप्रदेश र बिहार क्षेत्रबाट भक्तजन आउने गर्दछन् । यहाँ अहिले पहेँलो बस्त्र, ग्यालन, फलफूल र पूजा सामग्रीको व्यापार फस्टाएको छ ।

    यो स्थान बुटवलदेखि १५ किलोमिटर पश्चिममा रानीबगिया भन्ने ठाउँबाट दुई किमी दक्षिणमा पर्दछ । बोलबम व्यवस्थापन समितिको आह्वानमा अघिल्लो सोमबार सैनामैना नगरका भक्तजनले कपिलवस्तुको पवित्र बाणगङ्गाको जल ल्याइ पर्रोहा परमेश्वर धाममा जलार्पण गरेको समितिका अध्यक्ष चित्रबहादुर कार्कीले बताउनुभयो । आगामी सोमबार भने गुल्मीको प्रशिद्ध तीर्थस्थल रुरु क्षेत्रमा पुगेर कालीगण्डकीको जल ल्याएर जलार्पण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । रासस

  • आज खीर खाएर  साउन १५ मनाइँदै

    आज खीर खाएर साउन १५ मनाइँदै

    काठमाडौँ साउन १५
    साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।

    संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउछन् ।

    “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उनले भने ।

    साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए ।

    ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ ।

    चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ ।

    नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।

    नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

    राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ ।

  • आज नाग पञ्चमी: कुन समयमा नाग टाँस्न राम्रो र किन टाँसिन्छ नागको तस्बिर ?

    आज नाग पञ्चमी: कुन समयमा नाग टाँस्न राम्रो र किन टाँसिन्छ नागको तस्बिर ?

    काठमाडौं साउन १३

    श्रावण शुक्ल पञ्चमी अर्थात आज नाग पञ्चमीमा नाग वा सर्पको पूजा गरिन्छ । आज बिहानै उठी स्नान गरी दियो, कलश, गणेश भगवानको पूजा गरी आफ्ना घरको ढोकाको दुवै तर्फ गाईको गोबरले विषालु सर्पको चित्र लेखेर टाँस्नु पर्दछ । नागको मानचित्रमा दहि, दूबो, कुश, सिन्दुुर, चन्दन आदिले पूजा गरी ढोकामा टाँस्नाले सर्प वा नागको भय हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।

    नागपूजायां गृहारम्भे च नागशिरोज्ञानम् । भाद्र, असोज र कार्तिकमा पूर्व, मंसिर, पुस र माघमा दक्षिण, फाल्गुन, चैत्र र वैशाखमा पश्चिम, जेठ, असार र साउनमा उत्तर दिशामा नागको शिर हुन्छ । आज नाग पञ्चमी साउन महिनामा परेको हुनाले नागको शिर उत्तर दिशामा सम्झी पूजा गर्नु पर्दछ । आज बिहान ८ बजेर ४८ मिनेटदेखि १० बजेर २९ मिनेट सम्म लाभ बेला र १० बजेर ३० मिनेटबाट मध्यान्ह १२ बजेर ९ मिनेट सम्म अमृत बेला रहेकोले यो समयमा नाग टाँस्नु शुभ मानिन्छ ।

    परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

    नागको मन्त्र

    अनन्तो वासुकिः पद्मो महापद्ममश्च तक्षकः ।

    कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः नागहरु जस्तै: अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलि, कर्कट, शंखनाग, शेषनाग आदिको पूजा गरी तलको नाग स्तोत्र पाठ गर्दै घरको ढोकामा नाग टास्नुपर्दछ ।

    अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।

    सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारकाः ।।१।।

    मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।

    विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डले ।।२।।

    अनन्तो वासुकिः पद्मो महापद्ममश्च तक्षकः ।

    कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः ।।३।।

    यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरः ।

    भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।४।।

    अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी।

    एह्येहि मनसा देवि १ नागमातर्नमोक्स्तुते ।।५।।

    श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद शुरु भएको मानिन्छ । ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा माङ्गलिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास रहँदै आएको छ । कुनै पनि घर तथा बंगाला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए बिधिवत रूपमा पूजा गरे नागको दोषबाट मुक्त हुन धार्मिक जन विश्वास रही आएको छ ।

    नाग पञ्चमीको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरी सूर्यास्त भए पछि नाग देवताको मूर्तिमा विभिन्न सामानहरू जस्तै फूल, प्रसाद तथा फलले पूजा आजा गरी प्रसाद बाढ्ने तथा आफूले पनि लिने गर्दछन् । यसरी श्रावण शुक्ल पञ्चमीको दिन श्रद्धा तथा भक्तिका साथ मनाइने यो पर्व हिन्दुधर्मावलम्बिहरुले धूमधामका साथ मनाउने गर्दछन् ।

    नागपञ्चमीमा नागको पूजा गर्दा पाठ गरिने नाग स्तोत्र यस प्रकार छ :

    ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमास्।

    नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सवर्दा।१।

    इन्द्रलोकेषु ये सर्पास् वासुकी प्रमुखादयस्।

    नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।२।

    कद्रबेयाश्च ये सर्पास् मातृभक्ति परामा।

    नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।३।

    इन्द्रलोकेषु ये सर्पास् तक्षका प्रमुखादयस्।

    नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।४।

    सत्यलोकेषु ये सर्पास् वासुकिन च रक्षता।

    नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।५।

    मलये चैव ये सर्पास् कर्कोतक प्रमुखादयस्।

    नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।६।

    प्रार्थव्याचैव सर्पेभ्यस् ये साकेत वासित।

    नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।७।

    सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।

    नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।८।

    ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।

    नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।९।

    समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिनस्।

    नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।१०।

    रसातंलेषु ये सर्पास् अनन्तादि महाबलास्।

    नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।११।

    प्रकृतिमा भएका विषालु पदार्थलाई नाग वा सर्प लगायतका जीवले शोषण गरी मानिस लगायत पशुपक्षीलाई विषालु पदार्थको प्रभाव पर्न नदिने पुष्टि गरेपछि ऋषिमुनिले नागको पूजा आज गर्ने रीत बसालेको धार्मिक विश्वास छ ।

    काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष रूपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ ।

  • आज साउनको दोस्रो सोमबार, देवघाटमा श्रद्धालुको घुइँचो

    आज साउनको दोस्रो सोमबार, देवघाटमा श्रद्धालुको घुइँचो

    भरतपुर साउन १२
    आज साउन महिनाको दोस्रो सोमवार । हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । आइतवार साँझ आएका भक्तजनहरू बिहान ४ बजेदेखि स्थान गरेर भगवान् शिवको आधाधनामा व्यस्त रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो ।

    पहिलो सोमबार ३५ हजारभन्दा बढी भक्तजनले मेला भरेको र दोस्रो सोमबार पनि सोही अनुपातमा भक्तजन आउने अनुमान गरिएको उहाँले बताउनुभयो ।

    महिला तथा पुरुष व्रतालुहरु पहँेलो वस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन् । चितवन, तनहुँ र नवलपरासीको संगमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत झक्तजनहरु मेला भर्न आउँछन् । देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास रहेको व्रतालु भवानी सिग्देलले बताउनुभयो ।

    देवघाटसँगै चितवनको भरतपुरस्थित महाकालेश्वर मन्दिर,कैलाशनाथ महादेव मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर, माडी, कालिका, रत्ननगरलगायत क्षेत्रका शिवालयहरुमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजनहरु पूजाआजामा व्यस्त छन् ।

     

  • विद्युतीय शवदाह भवनको सकियो निर्माण कार्य : भदौदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइँदै

    विद्युतीय शवदाह भवनको सकियो निर्माण कार्य : भदौदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइँदै

    देवघाट साउन ६

    पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्णरुपमा सञ्चालनमा आउने भएको हो ।

    विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो । मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको शवदाह भवन सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले निर्माण गरेको हो । कार्यालयका प्रमुख झपटबहादुर थापाका अनुसार साउनभित्रमा शवदाह भवनको बाँकी काम सम्पन्न गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।

    भवनको निर्माण सम्पन्न भए पनि यसमा विद्युत् जोड्ने, शवदाहको मेसिन जडान, प्रविधिलाई तालिमलगायतको काम बाँकी रहेको उनले जानकारी दिए । यी सबै काम सम्पन्न गरेर शव पोल्ने जनशक्तिलाई तालिम दिएपछि दायित्व पूरा हुने उनको भनाइ छ । आन्तरिक तयारीको सबै काम सकिएपछि भवन हस्तान्तरण गरिने उनले बताए ।

    भवनको काम हेर्दै आएका कार्यालयका इन्जिनियर द्रोण कटुवालका अनुसार विद्युत् जडानका लागि मिटर आइसकेको छ । केही दिनमा मिटर जडान हुनेछ । यससँगै महानगरपालिकाले पठाउने जनशक्तिलाई तालिम दिइनेछ । भवनमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । ती मेसिनले अधिकतम ९० मिनेटमा शवलाई जलाउने छन् । शव राख्नुपर्दा चारवटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।

    बर्सातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । क्रियापुत्री बस्नका लागि ठाउँ छुट्याइएको छैन । आवश्यकताअनुसार क्रियापुत्रीका लागि भुइँतलामा व्यवस्थापन गर्न सकिने उनले बताए । भवनमा शौचालय, स्नानघरलगायतका सुविधासमेत रहेको छ ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताए । उनका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् । ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उनको भनाइ छ ।

    बर्सातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उनले बताए । सहरी विकास कार्यालयले ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो । शवदाह भवन ६०० वर्गमिटर क्षेत्रफलमा बनेको छ । रासस

  • देवघाटमा बोलबम मेला सुरु, बिहान ४ बजेदेखि नै भक्तजनको घुइँचो

    देवघाटमा बोलबम मेला सुरु, बिहान ४ बजेदेखि नै भक्तजनको घुइँचो

    चितवन साउन ५

    साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला पवित्र तीर्थस्थल देवघाटधालगायत चितवनका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाइ शिवको आराधना गरेर मनाउँछन् । धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजदेखि बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । धर्मशास्त्रअनुसार वर्षकै पवित्र महिना साउन र त्यसमाथिको पनि पवित्र दिनको रुपमा सोमबारलाई लिइन्छ ।

    त्यसैले बिहान ४ बजेदेखि नै स्नान गर्न भक्तजनहरु देवघाटधाम आइपुगेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार साँझ आएका भक्तजनहरुले बिहान ४ बजे स्नान गरी शिवको पूजा गरी जल लिएर गएको र बिहान आएका भक्तजनहरुको अहिले देवघाटमा घुइँचो छ ।

    देवघाटसँगै चितवनको भरतपुरस्थित महाकालेश्वर मन्दिर,कैलाशनाथ महादेव मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर, माडी, कालिका, रत्ननगरलगायत क्षेत्रका शिवालयहरुमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजनहरु पूजाआजामा व्यस्त छन् । यो मेलालाई बोल ओम मेलाको रुपमासमेत मनाइन्छ । महिला तथा पुरुष व्रतालुहरु पहेँलो बस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन् ।

    चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाटसमेत झक्तजनहरु मेला भर्न आउँछन् । देवघाटमा अहिले धूमपान र मध्यपान निशेष गरिएको छ । यसवर्ष देवघाटलाई प्लाष्टिकमुक्त बनाउने अभियानका साथ निषेध गरिएको निर्देशक बरालले बताउनुभयो । उहाँले मेलामा आउँदा अबिर, अक्षता, धूपबत्ती ल्याउन प्रयोग गरिने प्लाष्टिकका कारण नदी प्रदूषित बनेको भन्दै आगामी दिनमा कडाइका साथ निषेध गरिने जानकारी दिनुभयो ।

    देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने, परिवारमा शान्ति मिल्ने जनविश्वास रहेको स्थानीय मोहन पोखरेलले बताउनुभयो । साउनको पाँचैवटा सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ । यसरी चढाउँदा बिबाहिता महिलाहरुले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दछन्, भने अविवाहिता महिलाहरुले असल श्रीमान्को कामना गर्दछन् । यो समयमा महिलाहरु हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् । सम्भावित घटनालाई मध्यनजर गर्दै मेलामा प्रहरी तथा स्वयंसेवकसमेत परिचालन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । यसवर्ष साउन महिनाभर देवघाट आउने भक्तजनको तथ्याङक सङ्कलनको कामसमेत गरिएको समितिले जनाएको छ । रासस

  • आज साउनको पहिलो सोमबार: देशभरका शिवालयमा भक्तजनको भीड, पशुपतिनाथ दर्शनमा निःशुल्क बस सेवा

    आज साउनको पहिलो सोमबार: देशभरका शिवालयमा भक्तजनको भीड, पशुपतिनाथ दर्शनमा निःशुल्क बस सेवा

    काठमाडौँ साउन ५
    आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।

    भगवान् शिवको विशेष पूजा

    श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ।

    शिव पूजाको धार्मिक र ज्योतिषीय महत्त्व

    शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ। शिव पुराणमा वर्णित अनुसार यही महिनामा भगवान् शिवले समुद्र मन्थनबाट निस्किएको विष पान गरेर संसारको रक्षा गरेका थिए।

    ज्योतिषीय रूपमा पनि साउन विशेष मानिन्छ, किनभने सूर्य कर्कट राशिमा रहने हुँदा चन्द्रमा सशक्त हुन्छ, जसले मानसिक शान्तिमा सहयोग पुर्‍याउँछ। यही कारण सोमबारको व्रतले पार्वतीलाई महादेव प्राप्त भएको धार्मिक कथन पनि छ।

    व्रत विधि र पूजाको तरीका

    सोमबारको व्रत विभिन्न तरिकाले बस्न सकिन्छ निर्जला, फलाहार या एक छाक मात्र सात्त्विक भोजन। व्रतकर्ताले बिहानै ब्रह्म मुहूर्तमा उठेर स्नान गरी सफा लुगा लगाउने, पञ्चामृत र जलले शिवको अभिषेक गर्ने, मन्त्रजप र आरती गर्ने प्रथा रहिआएको छ। शिव चालिसा, रुद्राष्टक वा सोमबार व्रत कथा पनि पढिन्छ वा सुनिन्छ।

    पशुपतिनाथ दर्शनमा निःशुल्क बस सेवा

    साउन महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सहज पहुँचका लागि यस वर्ष निःशुल्क बस सेवा उपलब्ध गराइएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीका अनुसार चार वटा बसले चक्रपथ घुमेर भक्तजनलाई मन्दिरसम्म पुर्‍याउनेछन्।

  • आज आषाढ शुक्ल पूर्णिमा :  गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

    आज आषाढ शुक्ल पूर्णिमा : गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

    काठमाडौं असार २६
    आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

    ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् ।

    यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

    गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर :।
    गुरु : साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।।

    माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

    गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

    व्यास जयन्ती

    आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

    व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ–

    अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
    परोपकार पुण्याय, पापाय परपीडनम् ।।

    अर्थात् अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेको हो। यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं संघ संस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ ।

  • यस्तो छ आज तपाईंको राशिफल

    यस्तो छ आज तपाईंको राशिफल

    चितवन, असार २५ –
    आजको राशिफल (वि.सं.२०८२ साल आषाढ २५)
    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शैक्षिक वा धार्मिक यात्रा हुने योग रहेको छ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्र, शेयर बजार, पहिरन तथा खाद्यान्नमा आज गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय शुभ रहेको छ । गीत सङ्गीत तथा कला क्षेत्रमा समय दिनेहरूका लागी समय उत्तम रहेको छ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ । तापनि प्रयत्न गर्दा नसोचेको धन प्राप्त हुने तथा राम्रा काम गर्न सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा प्रियजन सँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवनसाथीको सहयोगले राम्रा कामहरू हुनेछन् । व्यापार तथा शेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आÏनै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विद्या तथा कुनै पनि प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरू सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान वृद्धिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विशेष चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरूले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रसन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरू सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । तापनि कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । न्याय सङ्गत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आए पनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मीयताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

  • आजबाट चतुर्मास व्रत आरम्भ, शुभकार्य गर्न वर्जित

    आजबाट चतुर्मास व्रत आरम्भ, शुभकार्य गर्न वर्जित

    काठमाडौँ असार २२

    आषाढ मासको शुक्ल पक्षको एकादशीलाई देवशयनी वा हरिशयनी एकादशी भन्ने गरिन्छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    यसै दिनदेखि चौमासा व्रतको सुरुवात हुन्छ । चातुर्मास्यव्रत वैष्णव, शैव सबै सम्प्रदायका मानिसले गर्नुपर्दछ । व्रतारम्भ गरेपछि तलका मन्त्रले भगवान् चक्रपाणिको महापूजा गर्नुपर्दछ ।

    सुप्ते त्वयि जगन्नाथे जगत् सुप्तं भवेदिदम् ।
    विबुद्धे च विबुध्येत प्रसन्नो मे भवाच्युत ।।

    ‘हे जगदीश्वर, हरिशयनी एकादशीमा हजुरले शेषशय्यामा शयन आरम्भ गर्नुभएपछि यो सम्पूर्ण संसार निद्रा मग्न हुन्छ । हजुर हरिबोधिनीमा जाग्नुहुँदा यो संसार पनि जागा हुन्छ । हे भगवान् । हजुर प्रसन्न हुनुहोस् । मैले यी चार महिना नियमपूर्वक व्रत गर्नेछु । हजुरले मेरो व्रतलाई निर्विघ्न तुल्याउनुहोस्’ भनी प्रार्थना गर्नुपर्दछ ।

    यसरी व्रत लिने मानिसले श्रावणमा साग, भाद्रमा दही, आश्विनमा दूध र कार्तिकमा दुई दल हुने पदार्थको सेवन गर्नुहुँदैन । भगवान् शयनमुद्रामा रहनुहुने चतुर्मासमा भक्तिमान् व्यक्तिले ज्यामिर, राजमा, रातो मूला, कुभिन्डो र उखुको सेवन गर्न हुँदैन, पलङ, बेन्च आदिमा शयन गर्न हुँदैन र ऋतुकालबाहेकका दिनहरूमा सम्भोग गर्न हुँदैन ।

    मांस, मधु, अरूले पकाएको भोजन, परवर, मूला, भन्टा, अभक्षपदार्थ, मसूरो, सेतो सस्यु, राजमा, माष, सामाधान (जङ्गली धान) जस्ता पदार्थको सेवन गर्न हुँदैन । व्रतीले चतुर्मासाभरि ब्रह्मचर्यधारण गर्नुपर्दछ । शौचको पालन गर्नुपर्दछ । सत्यभाषण र सत्यव्यवहार गर्नुपर्दछ । मासु र आमिषपदार्थको सेवन गर्न हुँदैन । यसरी निषिद्ध पदार्थहरूको सेवन नगरीकन हविष्यान्नसेवन गर्दै जसले चतुर्मासाको व्रत गर्दछ त्यसले हरिकृपा प्राप्त गर्दछ भनी शास्त्रमा वर्णन गरिएको छ ।

    चतुर्मासमा सख्खरको त्याग गर्दा मानिस त्यागी बन्दछ र मिठो स्वरको धनी हुन्छ । तोरीको तेल त्याग गर्दा सत्रुनाश हुन्छ । योगभ्यास गर्नाले ब्रहपद प्राप्त हुन्छ । पात तथा सुपारी त्याग गर्नाले भोग प्राप्त हुन्छ र माधुर्य पैदा हुन्छ । घिउको त्याग गर्नाले शरीरमा सौन्दर्य वृद्धि हुन्छ र शरीरमा चिल्लोपन प्रकट हुन्छ ।

    सागपात र पाकेको फल सेवन गर्नाले भोगी बन्दछ भने निषिद्ध पदार्थको सेवन नगरी सात्त्विक पदार्थको सेवन गर्ने मानिस निर्मल बन्दछ । भुईँमा शयन गर्ने मानिस उत्तम मुनी बन्दछ । एकान्त र उपबास गर्ने मानिसले ब्रहलोक प्राप्त गर्दछ । मौनव्रत धारण गर्ने मानिसको आज्ञा कसैले भङ्ग गर्दैनन् । तीन दिनमा एक पदक भोजन गर्ने मानिस कल्पकालसम्म स्वर्गमा वास गर्दछ । टपरी वा पातमा भोजन गर्ने मानिसले कुरुक्षेत्रमा नुहाएको फल प्राप्त गर्दछ ।

    यी सबै किसिमका व्रत र त्याग गर्ने मानिसका शरीर, इन्द्रिय र मनबाट भएका कल्मस (कुकर्म)हरु नष्ट भई व्रत गर्ने मानिसको आत्मा चहकिलो हुने कुरा शास्त्रमा बताईएकोछ । चतुर्मास पुन्यकाल भएकोले यसबेला गरिने व्रतको ज्यादै महत्त्व छ ।

    यी चार महिनामा भगवान् विष्णु क्षीर सागरमा शयन गर्नु हुने भएकाले विवाह, व्रतबन्ध, गृहप्रवेश लगाएत अन्य शुभ कार्य गरिँदैन । धार्मिक दृष्टिले यी चार महिना भगवान् विष्णुको निद्राकाल मानिन्छ । यस अवधिमा तपस्वीहरू भ्रमण गर्दैनन्, ती एकै स्थानमा बसेर तपस्या (चातुर्मास व्रत) गर्दछन् ।

    यस कालमा केवल ब्रजक्षेत्रको यात्रा गर्ने चलन छ, किनभने यी चार महिनामा भू–मण्डल (पृथ्वी)का समस्त तीर्थहरू ब्रजक्षेत्रमा आएर निवास गर्दछन् । ब्रह्म वैवर्त पुराणमा यस एकादशीको विशेष माहात्म्य उल्लेख गरिएको छ । यस व्रतलाई पालना गर्नाले प्राणीका समस्त मनोकामनाहरू पूर्ण हुन्छन्, सबै पाप नष्ट हुन्छन् तथा भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ । सबै एकादशीका दिन भगवान् विष्णुको पूजा तथा आराधना गरिन्छ ।

    आजको रात्रिदेखि भगवानको शयन प्रारम्भ हुने भएकाले उनको विशेष विधि–विधानले पूजा गर्ने चलन छ । यस दिन उपवास गरेर भगवान् विष्णुको प्रतिमालाई आसनमा आसीन बनाई षोडशोपचार सहित पूजन गरी, तिनको हातलाई शंख, चक्र, गदा, पद्मले सुशोभित पारेर तिनलाई पीताम्बर, पहेला वस्त्र र पहेलै दोसल्लाले सजाउने काम हुन्छ ।

    पंचामृतद्वारा स्नान गराएर, तत्पश्चात भगवानको धूप, दीप, पुष्प आदिद्वारा पूजा गरी आरती गरिन्छ । भगवानलाई पान (ताम्बूल), सुपारी (पुंगीफल) अर्पित गरेपछि निम्न मन्त्र द्वारा स्तुति गर्ने परम्परा रही आएको छ ।

    यसरी प्रार्थना गरेर भगवान् विष्णुको पूजा गर्नु पर्छ । तत्पश्चात ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले फलाहार गर्नु पर्छ । रात्रिकालमा भगवानको मन्दिरमा नै शयन गर्नु पर्छ तथा भगवानको भजन र स्तुति गर्नु पर्छ । आफू स्वयं सुत्नु पहिले नै भगवानलाई पनि शयन गराउनु पर्छ ।

    यस दिन परिवारमा महिलाहरू पारिवारिक परम्परानुसार देवतालाई शयन गराउने गर्दछन् । जो श्रद्धालुले यस एकादशीलाई पूर्ण विधि–विधानपूर्वक भगवानको पूजन गर्दै व्रत गर्दछन्, ती व्यक्ति मोक्ष प्राप्त गर्न सक्षम हुन्छन् ।