Category: धर्म संस्कृति

  • आज आषाढ शुक्ल एकादशीः घरघरमा तुलसीको बिरुवा सारिँदै

    आज आषाढ शुक्ल एकादशीः घरघरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौँ, असार २२-

    प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

    एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहारमात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

    वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।

    चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ । रासस

  • पञ्चमहालक्ष्मी मन्दिरमा ज्ञान महायज्ञ हुने

    पञ्चमहालक्ष्मी मन्दिरमा ज्ञान महायज्ञ हुने

    भक्तपुर, असार १७ –
    चाँगुनारायण नगरपालिकाको छालिङमा यही असार २२ देखि आगामी कात्तिक १९ गतेसम्म चातुर्मास्य ज्ञानमहायक्ष सञ्चालन हुने भएको छ ।

    श्रीवन धाममा रहेको पञ्चमहालक्ष्मी मन्दिरको अक्षयकोष स्थापनाका लागि उक्त यज्ञ हुन लागेको हो । सङकल्पकर्ता अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, आचार्य सुदर्शन बडाललगायतले कथा वाचन गर्नुहुनेछ ।

    असार महिनाको हरिशयनी एकादशीमा आरम्भ भइ कात्तिक महिनाको हरिबोधिनी एकादशीपछिको पूर्णिमासम्म यज्ञ सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिका संयोजक स्वामी श्रीवासुदेव प्रपन्नाचार्यले जानकारी दिनुभयो । रासस

     

  • केदारनाथ हेलिकप्टर दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु

    केदारनाथ हेलिकप्टर दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु

    एजेन्सीएजेन्सी

    काठमाडौँ असार १
    भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए ।

    गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो । हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।

    खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्। गौरीकुण्ड माथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका छन्।

    शवहरू नराम्ररी जलेको बताइएको छ। मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ। हेलिकप्टर गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको थियो ।

    यसअघि जुन ७ मा केदारघाटीको बडासु हेलिप्याडबाट केदारनाथका लागि उडान भर्ने क्रममा हेलिकप्टरमा प्राविधिक गडबडी भएको थियो । पाइलटले रुद्रप्रयाग–गौरीकुण्ड राजमार्गमा आपतकालीन अवतरण गराएका थिए । यस क्रममा पाइलटको ढाडमा चोट लागेको थियो। हेलिकप्टरमा सवार सबै पाँच जना यात्रु सुरक्षित थिए।

  • आज काठमाडौंमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै

    आज काठमाडौंमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै

    काठमाडौं जेठ १८
    वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज (आइतबार) देखाइने भएको छ ।

    भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए। भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

    भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।

    डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

    मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

    आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।

    पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जाँदै छन् । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ । रासस

  • पर्यटकीय गन्तव्य मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा

    पर्यटकीय गन्तव्य मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा

    चितवन, वैशाख २९

    आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो ।

    मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा रहेको आइएमई ग्रुप तथा मौलाकाली केवलकारका अध्यक्ष चन्द्र ढकालले बताउनुभयो । स्थानीयको साझेदारीमा आइएमई समूहले केवलकार र होटल सञ्चालन गरेको हो । केबलकार र होटल निर्माणले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिमा आउने पर्यटकका लागि सहज भएको ढकालले बताउनुभयो ।

    ढकालका अनुसार आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ । यहाँबाट नवलपुर, देवघाट एवं चितवनको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको यस स्थानमा होटल सञ्चालनमा आएसँगै रात्रिकालीन बास बस्ने पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

    उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले मौलाकालीकामा केवलकार र होटलले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । केवलकार सञ्चालनमा आएसँगै भारतीय र तेस्रो मुलुककासमेत पर्यटक आएको भन्दै उहाँले होटल सञ्चालनले पर्यटकको बसाइँ लम्भ्याउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

    मौलाकालिका मन्दिरमा जाने यस केवलकार सञ्चालनमा आएपछि २५ प्रतिशतभन्दा बढी भक्तजन आउने गरेका छन् । होटल सञ्चालनसँगै भक्तजनको सङ्ख्या थपिने अपेक्षा गरिएको छ ।

    आइएमई ग्रुपले हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।

    त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने गु्रपका अध्यक्ष ढकालले जानकारी दिनुभयो । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ । रासस

  • आज बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा

    आज बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा

    काठमाडाैं बैशाख २९,

    शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औं जयन्ती आज सोमबार मनाइँदैछ ।

    भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्मिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी दिवस मनाइन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । बुद्ध जयन्तीका अवसरमा सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ ।

    सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

    बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।

    यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।

    इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

  • रामबहादुर बमजनले पाए सफाइ

    रामबहादुर बमजनले पाए सफाइ

    काठमाडौँ, वैशाख ४

    तपश्वीको परिचय बनाएका रामबहादुर बमजनले यौन दुराचार मुद्दामा उच्च अदालतबाट सफाइ पाइका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् । न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उपरजिष्ट्रार सुशील यादवले बताए ।

    सर्लाहीकी नाबालिका अनुयायी आनीमाथि यौन दुराचार गरेको आरोप उनीमाथि थियो । सर्लाही जिल्ला अदालतले यसअघि बमजनलाई दोषी ठहर गरेको थियो । तर, सो फैसला उच्चले उल्ट्याएको हो।

  • पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)

    पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)

    काठमाडौँ बैशाख १
    नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ । पशुपतिनाथमा सोमबार बिहानदेखि नै दर्शन गर्नेहरूको भीड लागेको हो ।

    पशुपतिनाथ मन्दिरजस्तै धार्मिक लगायतका पर्यटकीय स्थलहरूमा नयाँ वर्षमा सर्वसाधारणहरूको घुइँचो लाग्ने गरेको छ ।

  • ईदका अवसरमा आज सार्बजनिक बिदा

    ईदका अवसरमा आज सार्बजनिक बिदा

    काठमाडौँ चैत १८
    सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

    इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

  • महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग

    महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग

    काठमाडौँ, चैत ८

    समन्यायिक समाज नेपालले महायज्ञ गर्ने भन्दै सिरहाको औरही गाउँपालिका–५ का दीपक मरिकडोम को घर भत्काइएकाप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ ।

    समाजका अध्यक्ष भक्त विश्वकर्माले विज्ञप्ति जारी गरी महायज्ञ गर्ने भन्दै स्थानीय दलित समुदायका मरिकको घर भत्काइएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

    जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन, २०६८ तथा अन्य कानुनी प्रावधानहरूको कडाइपूर्वक कार्यान्वयन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय दिन नेपाल सरकारसमक्ष समाजले माग गरेको हो ।

    “यही चैत १७ गतेदेखि सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि दीपक मरिक ९डोम० को घर भत्काइएको छ, जसकारण पीडित परिवार अहिले विस्थापित भएको छ । पीडित परिवारको भनाइअनुसार दलित भएकै कारण डोम समुदायको घर भएको स्थानको माटोसमेत खनेर फालिएको छ”, अध्यक्ष विश्वकर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यममा आएका खबरअनुसार महायज्ञ सञ्चालन गरिरहेका बजरङ्गी बाबाले दलित परिवार त्यहाँ रहे महायज्ञ नहुने भनी अडान लिएपछि स्थानीय पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवको मिलेमतोमा उक्त घर भत्काइएको छ, यस आपराधिक घटनाको समन्यायिक समाज नेपाल घोर भत्र्सना गर्दछ ।”

    नेपाललाई छुवाछुत मुक्त घोषणा गरेको १८ वर्ष बितिसकेको, नेपालको संविधान र कानुनले दण्डनीय अपराधका रूपमा किटान गरिसकेको अवस्थामा पनि जनप्रतिनिधिसमेत संलग्न भई विभेद गरी उठिबास लगाउने यस्ता कार्य हुनु जघन्य अपराध भएको समाजको ठहर छ ।

    “दैनिक रूपमा दलित समुदाय जातीय छुवाछुत र विभेदको सिकार बनिरहे पनि धेरै घटना बाहिर आउन सकेका छैन । पीडितहरू अन्याय सहन बाध्य छन् । सबैलाई धर्म मान्ने अधिकार छ तर धर्मका नाममा उठिबास लगाउनु निन्दनीय एवं दण्डनीय हो”, विज्ञप्तिमा भनिएको छ, “यस परिस्थितिमा, समन्यायिक समाज नेपालले नेपालको संविधान, जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन, २०६८ तथा अन्य कानुनी प्रावधानहरूको कडाइपूर्वक कार्यान्वयन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय दिन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।” रासस