Category: धर्म संस्कृति

  • तीजको तयारीः पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइन

    तीजको तयारीः पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइन

    काठमाडौँ, ८ भदौः 
    पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ ।

    पशुपति क्षेत्रमा तीजको तयारीका बारेमा जानकारी दिन कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एकदेखि डेढ घण्टाभित्र दर्शन गरेर फर्की सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो । पशुपति क्षेत्रमा तीजको तयारी लगभग सकिएको जानकारी दिँदै उहाँले तीजमा पशुपतिको बाहिरी भागमा मात्र स्वयंसेवक खटाइने बताउनुभयो ।

    कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले लाइनमा बस्न उचित व्यवस्था मिलाइएको उल्लेख गर्दै मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिने बताउनुभयो । कोषका संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुणकुमार श्रेष्ठले तीजका अवसरमा पशुपति क्षेत्रमा समाचार सङ्कलन गर्न आउने पत्रकारका लागि सूचना विभाग र सम्बन्धित सञ्चारगृहकै परिचयपत्रले मन्दिरको मुख्य क्षेत्रसम्म जान दिइने बताउनुभयो । तीजका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, ट्राफिक एवं पार्किङ व्यवस्था, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ता–चप्पल कक्षको व्यवस्थापन एवं सञ्चालन गरिने कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो ।

    यस वर्ष तीज सोमबारदेखि सुरु हुँदैछ । पहिलो दिन सोमबार व्रतालु महिलाले दर खान्छन् । दोस्रो दिन मङ्गलबार तीजको मुख्य दिन हो । यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् । बुधबार गणेश चौथी पर्व मनाइन्छ । अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि चारदिने तीज पर्व समापन हुन्छ ।
    –––

  • सुपादेउराली पुग्ने गोरुसिङ्गे(सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

    सुपादेउराली पुग्ने गोरुसिङ्गे(सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

    अर्घाखाँची, भदौ ८

    पूर्व(पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे(सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन् ।

    साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे(सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि आजभोलि यात्रा सहज भएको हो ।

    गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म करिब ६८ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर चौडाइमा सडक फराकिलो बनाइएको सडक डिभिजन कार्यालय शिवपुरका डिभिजन प्रमुख एवं इञ्जिनीयर सविन कोइरालाले बताउनुभयो । उहाँका अनुसार गोरुसिङ्गेबाट सन्धिखर्कसम्म ६७ दशमलव पाँच किमी सडक कालोपत्र गरिएको छ ।

    पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको थियो । गत आर्थिक वर्षमा पहिरो रोकथाम तथा स्तरोन्नतिमा रु एक करोड, मर्मतमा एक करोड ५० लाख, सडक सुरक्षामा ५५ लाख, सडकको अत्यधिक मर्मतमा दुई करोड रकम खर्च भएको प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

    वर्षामा आउने पहिरोले सडकअवरुद्ध हुने भएकाले नियमित सञ्चालनका लागि दुई वटा पहिरो पन्छ्याउन प्रयोग गरिने उपकरण तयारी अवस्थामा राखिएको छ । ठाँडामा जेसिभी र नरपानीमा लोडर तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

    गोरुसिङ्गे–सन्धिखर्क खण्डअन्तर्गत शितगङ्गा नगरपालिकाको बसेरीको जङ्गल, अमराई, रिब्दी, सितापुर तथा सन्धिखर्क नगरपालिकाको नरपानीबाट फुद्बाङ्गसम्मको सडकमा पहिरोको उच्च जोखिममा रहेका डिभिजन प्रमुख कोइरालाले उल्लेख गर्नुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा सडक मर्मत तथा स्तरोन्नतिका लागि रु आठ करोड ४० लाख बजेट प्राप्त भएको छ ।

    यो खण्ड स्तरोन्नति गरिएपछि विशेष गरी शक्तिपीठका रूपमा रहेको सुपादेउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई सहज भएको कोइरालाको भनाइ छ । अवरोधबिना यात्रा गर्न पाएपछि मन्दिर दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित भएका उहाँले बताउनुभयो ।

    “यसअघि सुपादेउराली मन्दिरमा पुगेका जो कोहीले चट्टानी भिरमा रहेको साँघुरो र डरलाग्दो सडक सम्झन्थे । त्यही चट्टानी डरलाग्दो भिरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि मन्दिर आउने धार्मिक पर्यटकलाई सहजता भएको छ”, उहाँले भन्नुभयो ।

    उक्त खण्डमा कडा चट्टान भएकाले नयाँ प्रविधि ‘रक एञ्चोज’ प्रयोगमार्फत ड्रिल गरेर आरसिसी ढलान गरी सडक विस्तार गरिएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

    यसअघि लाहुरेबजारबाट सुपा मन्दिरसम्म सडकको चौडाइ चार दशमलव पाँच मिटर हुँदा यातायात आवागमनमा कठिनाइ हुँदै आएको थियो । सडक डिभिजन शिवपुरले सडक स्तरोन्नति गरी नौ मिटर चौडाइको बनाएको हो ।

    जिल्ला सदरमुकाम जोड्ने पुरानो र महत्त्वपूर्ण मार्गका रूपमा रहेको गोरुसिङ्गे–सन्धिखर्क खण्डको लाहुरेबजारबाट सुपा मन्दिरसम्म करिब तीन सय मिटर कडा चट्टान र भिरालोका कारण सात्रा सङ्घर्षपूर्ण बनेको थियो । सडक डिभिजन कार्यालय शिवपुरबाट नयाँ प्रविधिको प्रयोग गरी वाल निर्माण गरिएको प्रमुख कोइरालाले उल्लेख गर्नुभयो ।

    नेपालको प्रसिद्ध धार्मिकस्थल सुपादेउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि गर्न तथा सुपादेउराली आसपासका पर्यटकीय गन्तव्य नरपानीको डाँडाको प्रचारप्रसार हुने अपेक्षा लिइएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताउनुभयो ।

    “नरपानीडाँडा चिसो हावा र चिसो पानीले प्रशिद्ध छ । यहाँबाट मनमोहक दृश्यहरूसँगै हिमाल देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या पनि पछिल्लो समय वृद्धि हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

    मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीलगायत जिल्लाबाट पर्यटक आउने जनाउँदै भारतको उत्तर प्रदेश, विहारबाट पनि धार्मिक पर्यटक यहाँ आउने गरेका सन्धिखर्क–७ का वडाध्यक्ष चुराबहादुर केसीले बताउनुभयो ।

    यहाँ आएका धार्मिक पर्यटकलाई खाँचीकोट हुँदै, एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति रहेको अर्घा भगवती मन्दिर र अर्घा दरबार क्षेत्रसम्म पुर्‍याउने योजनासहित गरपालिकाले काम अगाडि बढाएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सुपादेउरालीमा आएका भक्तजनका लागि लक्षित गरेर भौतिक संरचना निर्माण गर्न थालिएको उहाँले जानकारी दिनुभयो

    सुपादेउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास रहिआएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष खनालले बताउनुभयो । कडा चट्टानकाबीच निर्माण भएको सडक र सोही सडकको छेउमा मन्दिर छ । यहाँ आएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उच्च पदमा पुगेका व्यक्तिलेसमेत दर्शन गर्छन् ।

    कुनै समस्या आएकामा सुपादेउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास रहिआएको छ । सोही कारणले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाउने गरिन्छ । रासस

  • अटवारी पर्व आज, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

    अटवारी पर्व आज, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

    दाङ भदौ ८
    पश्चिम तराईका थारू समुदायका मानिसले आज (भदौ ८) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो उनीहरूका निम्ति महत्त्वपूर्ण पर्व हो ।

    शुक्रबार (भदौ ६) राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन उक्त समुदायमा छ ।

    घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार, रोटी पकाइसकेपछि त्योसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका निम्ति (अग्रासन) छुट्ट्याइने परिकार छुट्ट्याई बनाइएका परिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ ।

    “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दुहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानी समेत नखाई व्रत बस्छन्,” उनले भनिन्, “थारू समुदायमा यो पर्वको छुट्टै महत्त्व छ ।”

    व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्ट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात, तरकारीको अग्रासन दिने गरिएको घोराही उपमहानगरपालिका–३ का सुरज चौधरीले बताए ।

    “यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसेऔँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ,” उनले भने ।

    उनका अनुसार, आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्‍याउने गरिन्छ ।

    पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अटवारी पर्व मनाउने प्रचलन छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारू संस्कृतविद् अशोक चौधरी बताउँछन् । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ ।

    यो पर्व दाङका थारू राजा दंगीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारू राजा दंगीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाण्डव र द्रौपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दंगीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर भीम भोकै पेटमा पानी समेत नखाई उनको पक्षमा लडेका थिए । भीमले राजा दंगीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका निम्ति पानी समेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

    यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अटवारी पर्वका अवसरमा आज सर्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

    थारू समुदायको बसोबास बढिरहेका दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो । रासस

  • भाद्रकृष्ण औँसीः सनातन धर्मावलम्बीका घर घरमा भित्र्याइयो कुश

    भाद्रकृष्ण औँसीः सनातन धर्मावलम्बीका घर घरमा भित्र्याइयो कुश

    काठमाडौँ, ७ भदौः 
    प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएका छन् ।

    शास्त्रोक्त विधिअनुसार पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

    मनाइयो पितृसम्मान दिवस
    यसै अवसरमा छोराछोरीले आज परम्पराअनुसार आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गरी बाबुको मुख हेरेका छन् । बाबु नहुनेले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिएका छन् ।

    आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लागेको छ ।

    मन्दिर क्षेत्रमा अहिले पनि भक्तजनको लाम लागिरहेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्षसमेत रहनुभएका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीको मेलामा पनि लाखौँ भक्तजनले दिवंगत पितृप्रति श्रद्धाभाव प्रकट गरेका छन् ।

    मनाइयो पितृ सम्मान दिवस
    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको उहाँले उल्लेख गर्नुभयो ।

  • आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि आजै

    आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि आजै

    काठमाडौँ भदौ ७
    प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् ।

    शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ ।

    पितृसम्मान
    यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

    बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

    आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ ।

    मन्दिरमा लाग्ने मेलाका सबै तयारी गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्ने गर्छ । बेत्रावतीमा पनि पिता दिवङ्गत भएका तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् ।

    ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरू दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

  • गोकर्णेश्वर मेलाको तयारी पूरा

    गोकर्णेश्वर मेलाको तयारी पूरा

    काठमाडौँ, भदौ ६ –
    प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ ।

    बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले गोकर्णेश्वरमा गई आफ्ना बाबुका नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसैअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा शनिबार लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आउने भएकाले मेलाका लागि लागि बिहीबारदेखि तयारी गरिएको छ । मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।

    उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका—४ का वडाध्यक्ष जयराम महतले जानकारी दिनुभयो । मेला व्यवस्थापन गर्न आजैदेखि २०० जनाभन्दा बढी स्वयंसेवक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    व्यवस्थापनका लागि सात उपसमिति गठन गरेर तयारी गरिएको छ । यातायात व्यवस्थापन, आर्थिक, स्वयंसेवक परिचालन, स्वास्थ्य, खोजतलास, धार्मिक, समन्वयलगायत उपसमिति गठन गरिएका हुन् । शनिबार नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने गरी तयारी भएको समितिले जनाएको छ ।

    औँशीको अघिल्लो दिन आज बिहानदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आउन थालेका छन् । टाढाटाढाका भक्तजन आजै आएर मन्दिर क्षेत्रमा ठाउँ व्यवस्थापन गरी बस्न थालेका हुन् । मन्दिर परिसरमा बाबुको सम्मान गर्न भक्तजन आउने भएकाले यो औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ ।यसदिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुका नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ ।

    यस अवसरमा रसुवाको बेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लाग्छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । मृत बाबुका नाममा भने गोकर्णेश्वरलगायत तीर्थस्थलमा गई श्रद्धाभक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

    यसदिन थोरै दान गरे पनि हजारौँ गुणाबढी फल पाइने पुण्य पर्व भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यसदिन घर घरमा पवित्र कुश भित्र्याएर कुशे औँशी पर्व पनि मनाइन्छ । वर्षभरि देवकार्य तथा पितृकार्यलगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश यसैदिन वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घरमा राखिन्छ ।

    शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको शास्त्रीय मान्यता छ । रासस

  • बाह्र वर्षे चण्डेश्वरी अजिमा जात्रा टोलटोल घुमाएर मनाइयो

    बाह्र वर्षे चण्डेश्वरी अजिमा जात्रा टोलटोल घुमाएर मनाइयो

    भक्तपुर, २६ साउनः 
    भक्तपुरमा १२ वर्षमा एक पटक मनाइने चण्डेश्वरी अजिमा जात्रा मनाइएको छ । लिच्छविकालीन जात्राको रूपमा मनाउदै आइएको जात्रा प्रत्येक १२ वर्षमा एक पटक गाईजात्राको भोलिपल्ट मनाउने परम्पराअनुसार आज मनाइएको हो ।

    त्यस क्रममा चण्डेश्रवी अजिमाको मूर्तिलाई खटमा बिराजमान गराई खटलाई चासुखेल चण्डेश्वरी मन्दिर हुँदै सुकुलढोको, पाँचतले मन्दिर, टौमढीलगायत टोलटोलमा घुमाएर मनाएको हो ।

    इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर चण्डेश्वरीको यो जात्रा लिच्छविकालीन समयदेखि प्रचलनमा आएको अध्ययनले देखाएको बताउनुभयो । उहाँले आनन्ददेवकै समयमा चण्डेश्वरी अजिमा जात्राको सुरु भएको अध्ययनबाट प्रमाणित भएकाले बताउनुभयो ।

    यसअघि विसं २०४२, २०५२,  २०६२ र २०७२ देखि जात्रा मनाइने गरेको स्थानीय बुद्धकृष्ण कर्माचार्यले जानकारी दिनुभयो ।  विसं २०४२ भन्दा अगाडि १२ वर्षे जात्रा ३० वर्षसम्म सञ्चालन हुन नसकी रोकिएकामा निलबाराही धान नपाक्ने समस्या आएपछि जात्रा पुनः सुरु भएको इतिहास रहेको उहाँले बताउनुभयो ।

    चण्डेश्वरी मचा खलका अध्यक्ष विजयराम माकले विसं २०५२ विपद् अन्त्यका लागि भन्दै जात्रा मनाएको र २०६२ सालमा चण्डेश्वरी अजिमा मुख्य देवता नै चोरी भएपछि नयाँ देवता बनाएर मनाइएको स्मरण गर्नुभयो ।   विसं २०७२ साल वैशाख १२ गतेको महाभूकम्पपछि सोही वर्ष पनि जात्रा मनाइएको उहाँले जानकारी दिनुभयो ।

    यसवर्ष पनि जात्रा मनाउने विशेष पूजा गरी जात्रा मनाइएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष सानुलाल त्वानाबासुले जानकारी दिनुभयो । शक्तिकी देवीको रूपमा मानिदै चाँपको काठबाट बनेको चासुः अजिमालाई खटमा राखि विधिपूर्वक खटलाई भक्तपुर नगरपरिक्रमा गराइएको उहाँले बताउनुभयो ।

  • आज साउनको अन्तिम सोमबार,देवघाटमा श्रद्धालुको घुइँचो

    आज साउनको अन्तिम सोमबार,देवघाटमा श्रद्धालुको घुइँचो

    भरतपुर,साउन २६

    आज साउन महिनाको अन्तिम सोमवार । हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

    आइतवार साँझ आएका भक्तजनहरू बिहान ४ बजेदेखि स्थान गरेर भगवान् शिवको आधाधनामा व्यस्त रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । यसअघिका सोमबारमा हजारौं भक्तजन देवघाटधाम आएकोमा अन्तिम सोमबार पनि सोही अनुपातमा भक्तजन आउने अनुमान गरिएको उहाँले बताउनुभयो ।

    महिला तथा पुरुष व्रतालुहरु पहेँलो वस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन् । चितवन, तनहुँ र नवलपरासीको संगमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत झक्तजनहरु मेला भर्न आउँछन् । देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास रहेको व्रतालु राधिका पाण्डेले बताउनुभयो । देवघाटसँगै चितवनको भरतपुरस्थित महाकालेश्वर मन्दिर,कैलाशनाथ महादेव मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर, माडी, कालिका, रत्ननगरलगायत क्षेत्रका शिवालयहरुमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजनहरु पूजाआजामा व्यस्त छन् ।

  • विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

    विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

    काठमाडौँ, २४ साउनः
    प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवित (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ ।

    श्रावण महिनामा गरिने स्नान भएकाले यस पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुुरु गरिएको हो ।

    यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

    मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएर यो पर्व मनाइएको छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेरिएको छ ।

    आजको दिन सप्तऋषिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिएको गौतमले बताउनुभयो ।

  • आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै

    आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै

    काठमाडौँ साउन २४
    आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड मनाइने गरिन्छ । तिथिका आधारमा मनाइने यो चाड प्रत्येक वर्ष, महिना, बार र गते फरक हुने गर्दछ । अघिल्लो दिनबाटै चोखोनितो गरी एक छाक मात्र खाई आज बिहान दैनिक पूजनादी नित्य कर्महरू सम्पन्न गरी यस दिन नदी, तलाउ, पोखरी आदी जलाशयमा स्नान गरी जनै तथा रक्षाबन्धन राखेर तल दिएका मन्त्र उच्चारण गरी सप्तऋषिहरुको स्तुति गरिन्छ ।

    वशिष्ठकाश्यपोऽत्रिर्जमदग्निस्सगौतमः।
    विश्वामित्रभरद्वाजौ सप्त सप्तर्षयोभवन्।।
    ११ जना प्रजापति ऋषिहरूको स्तुतिः
    भृगुर्वशिष्ठः क्रतुरङ्गिरश्च मनुः पुलस्त्यः पुलहश्च गौतमः ।
    रैभ्यो मरिचिच्यवनश्च दक्षः, कुर्वन्तु सर्वे ममः सुप्रभात ।

    त्यसैगरी अन्य १०८ ऋषिहरूलाई सम्झेर वैदिक मन्त्रोच्चारण गर्दै तर्पण दिँदै यज्ञोपवीत (जनै) र रक्षा सूत्रको पूजा गरिन्छ । पूजा गर्दा तपाईँ देवता तथा ऋषिहरू हामीले गरेको पूजा र तर्पणबाट सन्तुष्ट हुनुहोस् र हाम्रो रक्षा गर्नुहोस् भनिन्छ ।

    भविष्यपुराणका अनुसार–रक्षाबन्धनमा घरको बीचमा लिपपोत गरेर बेदी तयार गरी ४ दिशामा ४ कलशको स्थापना गर्नुपर्दछ । शुभ मुहूर्तमा गुरु पुरोहितको हातबाट मन्त्रपूर्वक रक्षाबन्धन बाँध्नु पर्दछ ।

    येन बद्धो वलीराजा दानवेन्द्रो महावलः ।
    तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

    यसको अर्थ
    “जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ” ।

    सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

    सत्य युगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट विचलित नभई निष्ठा पूर्वक आफ्नो काम गर्नको निम्ति देव गुरुबाट रक्षा बन्धन बाँधिएको थियो । आज पनि कानुनको अधीनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस भन्ने कामनाका साथ आफ्नो गुरु तथा पुरोहितबाट आफ्नै घरमा वा मन्दिरमा गई रक्षा बन्धन बाँध्ने गर्दछौ । आज लगाइने रक्षा बन्धन तिहार वा दीपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाँधिइदिनाले मृत्यु पश्चात् वैतरणी नदी सजिलै पार गर्न सकिने धार्मिक विश्वास रहेको छ ।

     के छ ? जनै लगाउनुको शास्त्रीय महत्त्व 
    ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका मानिस (तागाधारी) ले प्रत्येक वर्ष आजकै दिन पुरानो लगाइरहेको जनै त्यागी नयाँ जनै लगाउनु पर्ने विधान शास्त्रमा उल्लेख गरिएका छ । आजको दिन पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेर्ने गरिन्छ । जनै लगाइसकेपछि दैनिक गायत्री मन्त्र जप्ने, श्रावणी कर्म अर्थात उपकर्म गर्ने, देवता, पितृहरूलाई र ब्राह्मणहरूलाई जनै दान गर्नुपर्ने कुरा शास्त्रमा बताइएको छ ।

    पुरानो जनै त्याग्ने निर्णय:

    सूतके मृतके चैव गते मासचतुष्टये ।
    नवयज्ञोपवीतानि धृत्वा जीर्णनि संत्यजेत् ।।

    विभिन्न युगमा मर्यादा पुरुषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रह्माजी, महाराजा जनक, माता पार्वती, सीता, माता दुर्गा, माता रुक्मिणी, माता सरस्वती, देवी कुन्ती सतिसाध्वी द्रौपदी त्यसैसरि लंकापति राक्षस रावण आदि सबै हामीले मान्ने भगवान् तथा नरनारीहरू जनै धारण गर्दथे । यद्यपि आजकाल नारिले जनै धारण गर्ने परम्परालाई हटाइएको छ ।

    पुरानो जनै त्याग गर्ने मन्त्र:

    एतावद्दिनपर्यन्तं ब्रह त्वं धारितं मया ।
    जीर्णत्वात् त्वत् परित्यागो गच्छ सूत्र यथासुखम् ।।

    नयाँ जनै लगाउने मन्त्र:

    यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
    आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज ।।

    जनैमा प्रयुक्त हुने डोरा ग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन् । जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो, यो सृष्टिकर्तासँगै जन्मिएको हुँदा यसको धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुन्छ । विधिपूर्वक जनै लगाउनाले मानिसले आफ्नो जीवनलाई शुद्ध, संयमी र अनुशासित बनाउन सकिन्छ । व्यक्तिमा कुशाग्र बुद्धि, तीव्र स्मरण, शीघ्र स्फुरण, विवेकशीलता, निर्णायक सामर्थ्य जस्ता विशेष गुण ब्रह्मसूत्र धारण गर्दा प्राप्त हुन्छन् । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरूको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरू नदोहोराई सत्मार्गमा अभिप्रेरित हुन आज बिहान नदी वा तीर्थतटमा सम्मिलित भई वैदिक विधि अनुसार स्नान, सूर्य आराधना, प्राणायाम, अग्निहोत्र, ऋषिपूजन आदि कामद्वारा शारीरिक, मानसिक एवं आध्यात्मिक शुद्धिका कर्महरू गरिन्छ ।

    क्वाँटीको परम्परा

    जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।

    राखी बाँधेर रक्षाबन्धन मनाइँदै

    भारत तथा नेपालको तराई मधेसमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धूमधामसाथ मनाइन्छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने प्रचलन रहेको छ ।
    मधेसी समुदायमा राखी बाँध्ने प्रचलन भए पनि पछिल्लो समयमा हिमाल, पहाड तथा तराईका सबै समुदायका मानिसहरूले चाडबाडको रूपमा मनाउने गर्दछन् ।