Category: धर्म संस्कृति

  • नवरात्रको पहिलो दिन: माता शैलपुत्रीको पूजा गरिँदै (पूजाविधिसहित)

    नवरात्रको पहिलो दिन: माता शैलपुत्रीको पूजा गरिँदै (पूजाविधिसहित)

    काठमाडौ असोज ६

    नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ, जो देवी दुर्गाको पहिलो रूप हुन्।
    शैलपुत्री हिमालयकी पुत्री हुन् र उनले दक्ष प्रजापतिको यज्ञमा देह त्याग गरेकी सतीदेवीको पुनर्जन्म लिएकी हुन्।
    पूजा विधिमा रातो वस्त्र ओछ्याएर तस्बिर स्थापना गरी मन्त्र जप गरिन्छ, जसले मानसिक शान्ति मिल्छ।

    शारदीय नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ ।

    कथाअनुसार दक्ष प्रजापतिले आयोजना गरेको विशाल यज्ञमा भगवान् शंकर र शतिदेवीलाई निमन्त्रणा दिइएन । बाबुले गरेको यज्ञमा सहभागी हुन चाहनुभएकी शतिदेवीलाई श्रीमहादेवले रोके पनि उनी आफ्ना आमा र बहिनीहरूसँग भेट गर्न भन्दै यज्ञस्थल पुगेकी थिइन् । त्यहाँ उनलाई अपमान गरिएको र महादेवलाई नाना प्रकारले गाली गरिएको सहन नसकी शतिदेवीले यज्ञकुण्डमा आफैँलाई समर्पण गरिन् । यो घटनापछि क्रुद्ध महादेवले आफ्ना गणहरूलाई पठाई यज्ञ पूर्णतः ध्वस्त गरिदिनुभयो ।
    यज्ञकुण्डमा देह त्याग गरेकी शतिदेवीले पुनर्जन्म लिएर हिमालयराजकी छोरीका रूपमा शैलपुत्री नामले परिचित भइन् । शैलपुत्रीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल रहेको चित्रण पाइन्छ ।

    पूजाविधि

    नवरात्रको पहिलो दिन स्नानादि नित्यकर्मपछि गंगाजल वा गाईको गहुँतले शुद्ध गरी रातो वस्त्र ओछ्याएर शैलपुत्रीको तस्बिर स्थापना गरिन्छ । शुद्ध मन, वचन र कर्मले पूजन सामग्री तयार गरी धान, चामल, जौँ, तिल, कुश, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, फलफूल, पकवान्न, धूप, बत्ति, कपूर, फूलमाला आदि अर्पण गर्ने प्रचलन छ ।

    पूर्व, उत्तर वा पश्चिम फर्केर शुद्ध आसनमा बसेर दियो प्रज्वलन गरी सङ्कल्प उच्चारणसहित ॐ देवी शैलपुत्र्यै नमः मन्त्र ११, २१ वा १०८ पटक जप गर्नुपर्ने शास्त्रीय उल्लेख छ । सङ्कल्पपछि गणेश पूजा गरी वरुण कलशमा ब्रह्माण्डका सम्पूर्ण देवी–देवताहरूको आवाहन गरी कलश पूजन सम्पन्न गरिन्छ ।

    शास्त्रअनुसार शैलपुत्रीको पूजा गर्दा मानसिक शान्ति, पारिवारिक सुख, आध्यात्मिक उन्नति र शक्ति जागृत हुने विश्वास गरिएको छ ।

    शैलपुत्री माताको पूजा गर्दा निम्न मन्त्र उच्चारण गर्नुपर्दछ ।

    वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्

    वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम् ।।

    पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा ।

    पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता ।।

    प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम् ।

    कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम् ।।

    वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम ।

    वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम् ।।

  • दशैंको टीका : कुन देशमा कति बजे शुभ साइत ?

    दशैंको टीका : कुन देशमा कति बजे शुभ साइत ?

    काठमाडौँ, ४ असोजः
    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको छ ।

    यसैबीच शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको उत्तम साइतबारे जानबारी गराएको हो ।

     

  • विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

    विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

    काठमाडौँ, ३१ भदौ : 
    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ ।
    असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ । असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत रहेको उहाँले सुनाउनुभयो ।
      असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मङ्गलबार महाअष्टमी र कालरात्रि परेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजयादशमी परेको छ ।
    असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिलबलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।
  • आजदेखि सोह्र श्राद्ध सुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

    आजदेखि सोह्र श्राद्ध सुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

    काठमाडौँ भदौ २३
    आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिन्छ । यस अवधिमा दिवङ्गत पितृप्रति श्रद्धा अर्पण गर्ने परम्परा छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ ।

    शास्त्रीय मान्यताअनुसार, आमा–बुबा, पुर्खा, दिदीबहिनी, दाजुभाइ, पत्नी, गुरु-शिष्य लगायत दिवङ्गत आफन्त सबैलाई यस अवधिमा तर्पण, पिण्ड दान र जल अर्पण गर्ने चलन छ । कुशे औँसीदेखि नै पितृ आत्मा घर–आँगन वरपर आइपुगेर सन्तानको श्राद्ध प्रतीक्षा गरिरहेको विश्वास गरिन्छ ।

    कुन तिथिमा कसको श्राद्ध ?

    कसको श्राद्ध कुन तिथिमा गर्ने भन्ने कुरा पनि शास्त्रमा स्पष्ट गरिएको छ । कुमार अवस्थामा मृत्यु भएकाको पञ्चमीमा श्राद्ध गरिन्छ भने आमा वा स्त्रीहरूको श्राद्ध गर्न आश्विन कृष्ण नवमीलाई अर्थात मातृ नवमीलाई उत्तम मानिन्छ । परिवारका पुर्खा वा बुबाले संन्यास लिएको अवस्थामा एकादशी वा द्वादशीमा श्राद्ध गर्ने प्रचलन छ । दुर्घटना, डुबान, आगो, विष, जनावरको आक्रमण वा हिंसात्मक कारणले मृत्यु भएकाको चतुर्दशीमा श्राद्ध गर्नुपर्छ । आफ्ना पितृको तिथि थाहा नभए औँसीमा श्राद्ध गर्दा सबै पितृ प्रसन्न हुने विश्वास गरिन्छ ।

    श्राद्धका नियम

    श्राद्ध गर्ने दिनमा शाकाहारी, सात्त्विक भोजन मात्र ग्रहण गर्नुपर्ने मान्यता छ । मासु, लसुन-प्याज, मुसुरो दाल, बैगुन, लौका, कालो नुन जस्ता तामसी भोजन वर्जित मानिन्छ । श्राद्धको दिन अरूको अन्न नखानु, ब्रस वा मलम प्रयोग नगरी दतिउनले दाँत माझ्नु, स्नान गरेर शुद्ध वेशभूषा अपनाउनु पर्ने शास्त्रीय नियम छ ।

    कस्ता अन्न प्रयोग नगर्ने ?

    महालय श्राद्धमा प्रसाद, पिण्ड आदिका निमित्त पाकेको अन्नको प्रयोग गर्नुपर्दछ । अन्नमा किरा परेको छ, अन्नहरूमा कुकुर तथा कुखुराहरूले दृष्टि दिएको भने ती अन्नहरू प्रयोग नगर्नु भनिएको छ । श्राद्धको समयमा मुसुरीको दाल, गाजर, कुबिण्डो, लौका, बैगुन, कालो नुन, प्याज तथा लसुन चलाउन हुँदैन ।

    कस्ता रङका फूलहरु प्रयोग गर्ने

    पहेँलो सेतो फुलहरू चढाउनु पर्दछ । चन्दन चलाउँदा पहेँलो चलाउनु पर्दछ । पहेँलो तथा सेतो चन्दन सत्वगुणको प्रतीक हो । रातो चन्दन चढाउनु हुँदैन किनकि रातो चन्दन भनेको तमोगुणको प्रतीक हो ।

    पिण्ड र अन्नको परम्परा

    श्राद्धमा चामल, दूध, घिउ, चिनी मिसाएर पिण्ड चढाइन्छ । पिण्डको आकार श्राद्धको प्रकारअनुसार फरक हुने बताइन्छ-एकोदृष्टमा सरिफाको फल जत्रो, वार्षिकमा नरिवलको दाना जत्रो, तिर्थ श्राद्धमा अण्डा जत्रो आदि ।

    गरिब ब्राह्मणलाई भोजन

    श्राद्धमा मासु खाने, चोरी गर्ने वा अपवित्र कर्म गर्ने ब्राह्मणलाई बोलाउनु नहुने शास्त्रीय उल्लेख छ । शुद्ध, सात्त्विक ब्राह्मणलाई अन्न, फलफूल र दक्षिणा दिनुपर्छ भन्ने परम्परा छ ।

    श्राद्ध गर्न नसकिए कहिले गर्ने ?

    व्यक्तिगत वा सामाजिक कारणले समयमा श्राद्ध गर्न नसकिए दीपावलीको औँसी, अथवा मङ्सिर भित्रै वैकल्पिक तिथि रोजेर गर्न सकिने धार्मिक ग्रन्थमा उल्लेख छ । तर पितृलाई प्रसन्न गराउन आश्विन कृष्णपक्षमै श्राद्ध गर्न सर्वोत्तम मानिन्छ ।

    शास्त्रअनुसार, महालय श्राद्ध गर्ने सन्तानले आयु, आरोग्य, ऐश्वर्य र मनोरथ प्राप्त गर्ने विश्वास छ । सोह्र श्राद्ध सकिए लगत्तै दुर्गा पक्ष, दसैँ र तिहार जस्ता पर्व आउने भएकाले पहिले पितृको आशीर्वाद लिएर मात्र देव पूजा गर्नुपर्छ भन्ने परम्परा छ ।

  • गौरा पर्वः सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव

    गौरा पर्वः सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव

    दोधारा चाँदनी (कञ्चनपुर), भदौ १४ –
    सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् ।

    यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन् । साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ । यस क्षेत्रमा प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती ९गौरी० लाई गौरादेवीका रुपमा पूजा गरिँदै आएको छ ।

    भाद्र महिनामा मनाइने गौरा पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । विवाहित नारीहरुले आफ्नो कूल परम्पराअनुसार पुरुषहरु जस्तै यज्ञोपवितका रुपमा दुवधागो लाउने प्रचलन यस क्षेत्रमा रहेको छ । पहिलो चोटी उक्त दुवधागो लगाउनका लागि उजेली गौरा परेको पर्व सर्वप्रथम पुत्रदा एकादशीको ब्रत बसेपछि मात्र गौराको उपासना गर्न मिल्ने यहाँका जानकारहरु बताउँछन् ।

    लोक साहित्यका जानकार कविराज भट्टले पुत्रदा एकादशीको ब्रत बसिसकेकी विवाहित महिलाले भाद्र महिनाको बिरुडा पञ्चमीका दिन ब्रत बसेर बिरुडा भिजाएपछि गौरा पर्व विधिवत रुपमा सुरु हुने बताउनुहुन्छ । उहाँका अनुसार उक्त अवसरमा माङ्गल गीत ९सगुन, फाग० सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौंतिलले सजाएर राख्ने प्रचलन छ । पाँच अन्न बिरुडा ९मास, गहत, गहू, कलौं, गुरुस० तामाको ताउलीमा हाली सुगन फाग गायनसँगै भजाउने गरिन्छ ।

    “पञ्चमीको दिन भिजाएका बिरुडा दोस्रो दिन सगुन, फाग गायनसँगै महिलाहरुले पानीको मुहानमा लगेर पाँच पल्ट धुने गर्छन”, भट्टले भन्नुभयो, “धारामा साँवाधानको गौराको सानो मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, दुप, दीप, फल आदिले पूजा गरी पुनःफाग गायनसँगै बिरुडा भिजाएकै स्थान घरमा आउँछन् ।” सप्तमीको दिन चेलीबेटीहरुले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाएर गौरा घरमा ल्याउने चलन छ ।

    “गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ एउटा काठको पिर्कोमा पहेलो कपडा बनाएर महेश्वर स्थापना गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “साँझपख ब्रतालु महिलाहरु गोराघरमा जम्मा भइ ब्रहमण बोलाइ गोरामा अभिशेष गरी पञ्चपूर्वाङ्गसहित गौरामहेश्वरको पूजाआजा गर्दछन ।” सप्तमीको दिन धागोमा विशेष किसिमका सात गाँठा भएको धागोलाई गौरामा चढाइ अभिशेष गरेपछि महिलाले घाँटीमा धारणा गर्ने गर्दछन् ।

    दुर्वाष्ठमीको दिन गौराको महत्वपूर्ण दिन हो । यसलाई अठ्यावाली भन्ने गरिन्छ । यो दिन महिलाले सगुन फागसहित गौरालाई गौरा हुँदै आइरहेको आँगनमा लगेर राख्छन् । सबै महिलाहरु जम्मा भइ अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजा गर्ने यहाँका जानकार आचार्य सरस्वती अवस्थी बताउँछन् । अठ्यावालीकै बीचमा प्रसङ्गअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ ।

    “अठ्यावाली पूरा भएपछि फलफट्काउने काम गरिन्छ । दुई जना पुरुषहरुले च्यादरमा गौरामा चढाएका फलफूल तथा बिरुडालाई आकाशतिर पूर्व, पश्चिम, उत्तर दक्षिण र आकाशतिर फाल्ने गरिन्छ ।” उहाँले भन्नुभयो, “आकाशमा फालिएका बिरुडा प्रसादलाई ब्रतालु महिला तथा उपस्थित सबैले देवीको प्रसादका रुपमा आकाशबाटै ग्रहण गर्ने गर्छन् ।” उहाँले महिलाले आफ्ना पतिलगायत घरका सबै सदस्यहरुको बिरुडाले टाउँको पूज्ने र आर्शीवचन दिने चलन छ । “हामी गौराको प्रसाद दिएर आफूभन्दा साना ठूला सबैलाई आशिर्वाद दिन्छौँ”, उहाँले भन्नुभयो, “गौरा पर्व नारीप्रधान पर्व हो यो पर्वमा हामी नारीलाई धेरै अधिकार दिएको छ ।”

    अठ्यावालीपछिका दिनमा भने यहाँका देवालयमा महिला तथा पुरुषको खेल सुरु हुन्छ । पुरुषले ढोलक र मिजुराका स्थानीय देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुष्को, धमारी, ठाडोखेल, चैत आदि प्रस्तुत गर्छन् । कतिपय स्थानमा महिला पुरुषका दोहोरी देउडा हुने गरेका छन् । तीन÷चार दिन खेल चलेपछि उपयुक्त साइत हेरी गौरा विसर्जन गरिन्छ ।

    गौरा पर्व यस क्षेत्रको मौलिक पहिचान बोकेको पर्व मात्रै नभएर नारी सम्मानको पर्व भएको लोकसाहित्यका जानकार रमेश पन्त मीतबन्धु बताउँछन् । “गौरा पर्वको अवसरमा घरपरिवारका सबै सदस्यका लागि एकजोर नयाँ लुगा किन्ने परम्परा छ”, उहाँले भन्नुभयो, “घरबाहिर रहेका मानिसहरु पनि गौराको बिरुडा प्रसाद ग्रहण गर्नका लागि घर फर्किने, चेलीबेटी तथा इष्टमित्रहरुलाई घरमा बोलाउने रमाइलो गर्ने चलन छ ।” उहाँले गौरा धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्व बाकेको पर्व रहेको बताउनुभयो । रासस

  • भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व आज मनाइँदै

    भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व आज मनाइँदै

    काठमाडौँ, भदौ ११

    अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ ।

    सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

    शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष सदस्य एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

    भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत गर्छन् ।

    यस दिन बालबालिकालाई ‘छुस्यामुस्या बाँड्ने चलन पनि नेवार समुदायमा छ । विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ । विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो । यसैले यसदिन धर्मसभाको स्थापना दिवसका रुपमा पनि मनाउने गरिन्छ ।रासस

  • हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    काठमाडौं , १० भदौ
    भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ ।

    भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

    सोही मान्यताअनुसार वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीले हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।

    साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको परेकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

    सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ, तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले सुनाए ।

    ‘निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ’, उनले भने,’

    सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ ।’

    प्राडा रामचन्द्र गौतमले स्वास्थ्य ठीक नहुनेले गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने जानकारी दिए । श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्वप्रमुखसमेत रहेका उनले बताए । ।

    ‘अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरूले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ’, प्राडा गौतमले भने ।

    नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा हाल केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ ।

    समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्त्व छ ।

    महिला/पुरुष दुवैले लिनुपर्छ हरितालिका (तीज) व्रत

    धर्मशास्त्रीय रूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि व्रत बस्ने गरेको बुझाइ छ ।

    व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराइ बताउँछन् ।

    व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रातोयराज नेपालले सुनाए ।

    ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रत नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने पनि उनले बताए । जसको अर्थ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो भन्ने हुन्छ ।

    कालान्तरमा पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घरलगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् । यसैले पनि धेरै जसो महिलाले नै यो व्रत गर्ने गरेका देखिन्छन् ।

    यो व्रत सक्नेले निराहार बस्ने भएकाले सोमबार व्रतालुले मीठा मीठा परिकार दरका रूपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।

    महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृति बनाइरहेको धेरैले बताउने गरेका छन् ।

    यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीको जोड छ । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा यसका लागि तोकिएको छ ।

    सोमबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

     

  • हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    काठमाडौँ, भदौ १०-

    हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिनुभयो ।

    केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ ।

    पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । कोषका सूचना अधिकारी अनिता भट्टल मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

    तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल / रासस

     

  • तिजमा अर्थतन्त्र : यस्तो छ साडीदेखि चुरा पोतेसम्मको व्यापार

    तिजमा अर्थतन्त्र : यस्तो छ साडीदेखि चुरा पोतेसम्मको व्यापार

    काठमाडौँ १० भदौ 
    नेपाली हिन्दु महिलाहरूको महान् पर्व तिज मंगलबार (आज) परेको छ । यस पर्वमा महिलाहरू रातो साडी र सोह्र शृङ्गारमा सजिएर नाचगान गर्छन् । त्यसैले तिजको सिजन लागेपछि बजारमा कपडा र सौन्दर्यको बजार चलायमान हुने गरेको छ ।

    विगतका वर्ष जस्तै यो वर्ष पनि तिज आउनु केही दिनअघि मुख्य बजारहरूमा कस्मेटिक पसलेहरूको व्यस्तता बढेको थियो ।

    यस्तै, कपडा पसलमा साडी किन्नेहरूको चाप पनि उत्तिकै छ । चुरा पोते, टिका धागो पाइने पसलहरूमा पनि महिलाहरू लाइन लागेका थिए । उक्त लाइन अनुसार व्यवसायीहरू सन्तुष्ट छन् । व्यवसायीहरूका अनुसार विगतका वर्षको भन्दा हरेक बस्तुहरूको व्यापार कम हुँदै गएको छ । तर यो वर्ष समग्रमा व्यापार राम्रो भएको उनीहरूको भनाइ छ ।

    विगतका वर्षहरूमा पसलमा नै आएर सामान खरिद गर्ने गर्थे भने अहिले अनलाइन व्यापारको कारण बजारमा कम रहेको उनीहरूको भनाइ छ ।

    नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले यस वर्षको तिज पर्वमा चुरा, पोते, साडी जस्ता सामग्रीको व्यापार उत्साहजनक रहेको बताए । उनका अनुसार, तिजमा प्रयोग हुने अधिकांश सामग्री छिमेकी मुलुक भारतबाट सहज रूपमा आयात भएकाले बजारमा सामानको अभाव नभई व्यापार राम्रो भएको हो ।

    अध्यक्ष श्रेष्ठले भने, ‘सबै साडी, कुर्ता, टीका, चुरा पोतेहरू नजिकैको छिमेकी मुलुक भारतबाट आउँदा यसले बजारमा सकारात्मक असर ग-यो । सही समयमा सामान आयो, सहज तरिकाले बजारमा सामान गयो ।’ यसले गर्दा उपभोक्ताले सरल र सर्वसुलभ मूल्यमा सामान खरिद गर्न पाएको उनको भनाइ छ ।

    तिजका लागि आवश्यक लगभग सबै सामग्री भारतबाटै आयात हुने भएकाले अन्य क्षेत्रको व्यापारमा जस्तो यसमा असर नपरेको उनले स्पष्ट पारे ।

    उनले भने,‘ तिजको व्यापार त राम्रै हो किनभने तिजको अलमोस्ट सबै जति पनि तिजको आइटमहरू युज हुन्छ, योचाहिँ भारतबाटै आउने आइटमहरू छ ।’

    बजारमा तिजको राम्रो चहलपहल र मुभमेन्ट देखिएको बताउँदै समग्रमा तिजको व्यापार सन्तोषजनक रहेको र नराम्रो नभएको उनकोे धारणा थियो ।

    साउन महिनामा मात्रै १० करोड ७३ लाखको चुरा पोते आयात

    भन्सार विभागको तथ्याङ्कले जित लक्षित ठुलो आर्थिक कारोबार देखाउँछ । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै महिलाले लगाउने सारी १५ करोड ४८ लाख ५ हजार रुपैयाँ बराबरको भित्रिएको छ ।

    जसबापत सरकारले ३ करोड ८१ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २० करोड ९३ लाख १० हजार रुपैयाँ बराबरको सारी आयात हुँदा २९ करोड ७५ लाख ४१ हजार रुपैयाँ राजस्व उठेको थियो।

    त्यस्तै, चालु आर्थिक वर्षको पहिलो महिनामा कुर्ता सुरुवाल २२ करोड ६९ लाख बराबरको भित्रिँदा गत आर्थिक वर्षभरिमा १६ करोड ६५ लाख ५७ हजार रुपैयाँको आयात भएको थियो।

    शृङ्गारका सामग्रीको आयात पनि उस्तै छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो साउन महिनामा चुरा र टीकाहरू मात्रै ९ करोड ३४ लाख ४४ हजार रुपैयाँको आयात भएको छ । त्यस्तै, यही अवधिमा पोते मात्रै १ करोड ३९ लाख बराबरको आयात हुँदा ३९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसरी चुरा र पोते गरी एक महिनामा १० करोड ७३ लाख रुपैयाँभन्दा बढीको सामान भित्रिएको छ।

    गत आर्थिक वर्ष २०८१/८२ भरीमा भने चुरा, टिका र पोते गरी कुल ७६ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको थियो।

    विभागका अनुसार नेपालमा आयात हुने यी शृङ्गारका सामग्रीहरूमा चुरा, पोते, मेहन्दी, लिप मेकअप, आइ मेकअप जस्ता वस्तुहरू पर्दछन्, जुन मुख्यतया भारत, चीन, थाइल्यान्ड, बङ्गलादेश लगायतका मुलुकबाट आउने गरेका छन्।

  • आज तीजको दर खाने दिन

    आज तीजको दर खाने दिन

    काठमाडौं,भदौ ८

    नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ।

    तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट बनेका मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ।

    महिला यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहार व्रत बस्ने गर्दछन्। दरमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ र सेलरोटी खाने गरिन्छ। स्थान अनुसार दरखाने परिकार फरक फरक छन्। आधुनिकतासँगै खाने परिकारहरूमा पनि फरक आउन थालेको छ।

    खासगरी पहाडीमूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाले लिने गरेको पर्व तीज भए पनि हिजोआज अरु समुदायका महिला पनि तीज मनाउन थालेका छन्। दर खाएको भोलिपल्ट निराहार व्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ। हरितालिका तीजका बेला पानीसमेत नखाई व्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ।

    दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ। पहिले हरितालिका दिनको एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली राजधानी तथा अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन शुरु भएको छ।

    परपुर्वक कालमा देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र सोही उनको कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन छ।