Category: धर्म संस्कृति

  • राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए बहिनीहरूबाट तिहारको टीका

    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए बहिनीहरूबाट तिहारको टीका

    काठमाडौँ कार्तिक ६
    राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।

    राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो ।

    भाइटिकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

  • कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

    कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

    काठमाडौं कार्तिक ६
    नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ ।

    अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ ।

    नेपालमा कात्तिक ६ गते अर्थात् अक्टुर २३ मा भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा निर्धारण गरिए पनि भारतको दिल्लीमा २३ अक्टुबरमा ११ बजेर ५५ मिनेटमा टीकाको साइत जुराइएको छ ।

    अमेरिका र क्यानडामा भने २२ अक्टोबरमै भाइटीका लगाउने शुभ साइत थियो ।

  • आज गाईतिहार :  गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै

    आज गाईतिहार : गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै

    काठमाडौँ कार्तिक ५
    कार्तिक शुक्ल प्रतिपदाको दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

    गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

    गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ ।
    गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

  • यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

    यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

    काठमाडौँ, कात्तिक ३-
    यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।

    सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ ।

    लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

    दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

    लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

    आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घर घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो ।

    आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परा अनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख छ ।

  • प्रधानमन्त्री कार्कीको शुभकामना, ‘राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ’

    प्रधानमन्त्री कार्कीको शुभकामना, ‘राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ’

    काठमाडौँ, कात्तिक ३-
    प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्ह: पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन्।

    आज जारी गरिएको शुभकामना सन्देशमा उनले कठिन परिस्थितिमा एकताबद्ध रहने नेपाली मौलिक संस्कृति नै भएको उल्लेख गर्दै ‘कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ’ भनेकी छन्।

    प्रधानमन्त्री कार्कीले छ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञासहित फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त रहेको बताएकी छन्। साथै, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य सरकारको प्राथमिक जिम्मेवारी रहेको स्पष्ट पारेकी छन्।

    सन्देशमा भनिएको छ, ‘भदौको महान् जेनजी आन्दोलनले सरकारलाई सुम्पेको भरोसा र दायित्वको सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने प्रतिबद्धता सरकारले लिएको छ।’

    यी पर्वहरूलाई जीवनमा आशा, विश्वास र समृद्धिको प्रतीक तथा अन्धकारमाथि उज्यालोको विजयका रूपमा लिइएको उनले उल्लेख गरेकी छन्।

     

  • तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

    तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

    काठमाडौँ , ०३ कात्तिक

    तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ ।

    कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिनुभयो । वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

    नरक चतुर्दशी

    आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन् । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

    यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।रासस

     

  • तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

    तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

    काठमाडौँ कार्तिक २
    आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ।

    तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटिका गरी पाँच दिनसम्म मनाइन्छ।

    वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। नेपाली समाजमा अझै पनि काग करायो भने पाहुना आउँछ भन्ने जनविश्वास रहेको छ। यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका मिठा परिकार अर्पण गर्ने चलन छ। ‘काकेन दधि भक्षितम्’ कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास छ।

    कागलाई नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने पनि मान्यता छ। त्यसैले आजको दिन कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्त रहोस् भनेर प्रार्थना गरिन्छ। यो पर्वले धार्मिक पक्ष मात्र नभई मानिस र जनावरबिचको सम्बन्ध, पक्षीप्रति कृतज्ञता, तथा प्रकृतिप्रतिको सम्मानको सन्देश पनि दिन्छ।

    कागोऽसि यमदूतोऽसि वायोसोऽसि माहामते ।

    ईहं बलिं गृहाण त्वां त्रायस्व यमसङकटात् ।।

    अर्थात तपाईँ कागको रूपमा हुनुहुन्छ, यमराजका दूत हुनुहुन्छ । तपाईँ वायुपतिका शक्ति (हवा वा गति) सँग सम्बन्धित हुनुहुन्छ । हे महामान्य व्यक्ति, हे बुद्धिमान् यहाँ म (दान/आहार/बलिदान) लिएर तपाईँलाई अर्पण गर्छु । मलाई यम (मृत्यु) का सङ्कटबाट मलाई बचाउनुहोस् भनी कागलाई सम्झनु पर्दछ वा खाना दिनु पर्दछ ।

    धर्मशास्त्र अनुसार यमराजले पृथ्वीमा रहेका सबै जीवहरूको जन्म मृत्युको विवरण राख्ने गर्छन्। सो विवरण ल्याउने र लैजाने कार्य कागले गर्छ भन्ने विश्वास आज पनि रहँदै आएको छ। आकाश मार्गबाट छिटो सन्देश ल्याउने र पठाउने क्षमताका कारण यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति पाइन्छ।

    त्यस्तै, अर्को धार्मिक किंवदन्ती अनुसार वैदिक कालमा असुरराज बलि अत्यन्त दानी राजा थिए, जसका कारण देवताहरू समेत त्रसित थिए। भगवान् विष्णुले वामन अवतार धारण गरी ब्राह्मणको भेषमा बलिसँग तीन पाउको स्थान माग्दा, उनले पृथ्वी, अन्तरिक्ष र अन्ततः आफ्नो शिर अर्पण गरेका थिए। विष्णुले बलिको दानशीलताबाट प्रसन्न भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म–पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ। यही अवधिमा तिहार पर्व मनाइने गरिन्छ।

    आजको दिन काठमाडौँको कागेश्वरी मनोहरा महादेव मन्दिरमा विशेष पूजा आराधना भइरहेको छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा तथा दर्शनका लागि भक्तजनको भीड लागेको छ।

  • कार्तिक कृष्ण त्रयोदशीः यमपञ्चक सुरु, घरघरमा यमदीपदान

    कार्तिक कृष्ण त्रयोदशीः यमपञ्चक सुरु, घरघरमा यमदीपदान

    काठमाडौँ, १ कात्तिकः 
    कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ ।

    यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टाछुट्टै दिनुपर्ने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठूलो चाड हो ।

    यमदीपदान गरी आज सुरु भएको तिहारको दोस्रो दिन आइतबार कागको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ । सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ ।

    चौथो दिन मङ्गलबार तिहारको कुनै कर्म नगरिने धर्मशास्त्रविद् प्राडा भट्टराईले बताउनुभयो । उहाँका अनुसार पाँचौँ दिन बुधबार गाईको पूजा गरिन्छ । यसै दिन गोवर्द्धनपूजा, बलिपूजा, हलितिहार, गोरुको समेत पूजा गरिन्छछ । छैटौँ दिन बिहीबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ ।

  • तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    काठमाडौँ कार्तिक १
    उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ ।

    प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धन त्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

    काग तिहार भने आइतबार परेको उनले बताए । बेलुकी त्रयोदशी तिथि परेका दिन धन त्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायङ्कालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए।

    यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ ।

    यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटिकाका दिनसम्म यमदीपदान गरिन्छ ।

    कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताए । सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मान्यता छ ।

    कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।

    गाईगोरु एवं गोवर्द्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ ।

    कात्तिक ६ गते बिहीबार भाइटिका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटिकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए । भाइटिका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटिका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।

    सर्वसाधारणका लागि मध्याह्नकलामा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने उनले बताए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

    झिलीमिलीको चाड भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि राजधानीलगायत प्रमुख सहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले सहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजा गरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिने क्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ ।

    बडादसैँमा सुनसान प्रायः हुने काठमाडौँ उपत्यका तिहारमा झिलिमिलीले उत्सवमय बन्छ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि देउसी भैलो खेल्ने परम्परा पनि छ ।

    कौडा, लङ्गुर बुर्जा, तासलगायत विभिन्न स्वरूपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । रा स स

  • आज  कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

    आज कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

    काठमाडौं असोज २०
    आज सोमबार चतुर्दशी तिथि १३ घडी ३५ पला अर्थात् ११ बजेर २५ सम्म छ। त्यसपछि पूर्णिमा तिथि छ।

    सोमबार साँझमै पूर्णचन्द्र देखिने भएकाले कोजाग्रत पूर्णिमा सोमबार नै मनाउन निर्देश गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए। मंगलबार बिहान ९ बजेर ३५ मिनेटसम्म पूर्णिमा तिथि छ। यसैगरी विजयादशमीका दिन शुरु भएको टीका जमरा लगाउने क्रम पनि सोमबार सम्पन्न हुँदैछ।

    विजयादशमीदेखि चतुर्दशीसम्म पनि टीका लगाउन नभ्याएकाहरूलाई पूर्णिमाका दिन बिहान टीका लगाउने र जमरा तथा दशैँका पूजासामग्री विसर्जन चलन छ।आश्विन शुक्ल प्रतिपदाका दिन दशैँघरमा छरिएको जौको अङ्कुर (जमरा) कोजाग्रत पूर्णिमाका दिन बिहान विसर्जन गर्छन्।

    कोजाग्रत पूर्णिमाको साँझ समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने विधान पुराणहरूमा पाइन्छ। यो दिन रातभरि जाग्राम बसी लक्ष्मीको आराधना गर्नाले समृद्धि प्राप्त हुने मान्यता रहेको धर्मसभा नेपालका अध्यक्ष डा माधव भट्टराईले बताए।

    भगवान् श्रीकृष्णले शरद पूर्णिमाको दिनदेखि रासलीला गरेको पुराणमा उल्लेख छ। वर्षको एक पटक यो दिन चन्द्रमाको सोह्र कलाले परिपूर्ण हुने बताइन्छ।

    कोजाग्रत पूर्णिमाका दिन नेपालका राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा शक्तिपीठ दर्शन गर्ने परम्परा छ।