Category: मकवानपुर

  • बागमती सरकारले प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्ने

    बागमती सरकारले प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्ने

    मकवानपुर पुस २०,

    बागमती प्रदेश सरकारले आफ्नो सीमा प्रवेश गर्ने नाकामा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्ने भएको छ । पहिलो चरणमा मधेश प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशविन्दु पूर्वपश्चिम राजमार्गको रातोमाटेमा ‘चेकपोस्ट’ निर्माण गर्ने भएको हो ।

    पूर्वपश्चिम राजमार्गको प्रवेशविन्दु भएका कारण पनि रातोमाटे नाका बढी संवेदनशील रहेका कारण पहिलो चरणमा रातोमाटेमा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

    शुक्रबार हेटौंडा–१४ स्थित रातोमाटेमा मुख्यमन्त्री बहादुरसिंह लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, सुरक्षाप्रमुखहरूले ‘चेकपोस्ट’ निर्माणस्थलको अनुगमन गरेका छन् । मुख्यमन्त्री लामाले स्थानीय तहसँग समन्वय गरेर ‘चेकपोस्ट’ निर्माण गरिने जानकारी दिए ।

    दोस्रोचरणमा चितवनको मुग्लिनमा, तेस्रोचरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा ‘चेकपोस्ट’ निर्माण गर्न लागेको बताइएको छ । ‘चेकपोस्ट’मा सवारीसाधानको चेकिङका लागि अत्याधुनिक मेसिनसहित सीसीक्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने योजना प्रदेश सरकारको छ ।

    ‘बागमती प्रदेशको प्रवेशविन्दुमा हामीले ‘चेकपोस्ट’ निर्माण गर्न लागेका हौँ । यसबाट आन्तरिक सुरक्षा अवस्था थप बलियो हुने अपेक्षा हामीले लिएका छौं उनले भने ।

  • हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा

    हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा

    मकवानपुर, १९ पुसः
    हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले करिब तीन महिनादेखि सिमेन्ट उत्पादन गर्न बन्द गरेको थियो । सिमेन्ट उत्पादन कहिलेदेखि नियमित गर्नेसम्बन्धी अझै अन्योलता रहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

    विभिन्न उपकरणलाई मर्मतसम्भार गर्नुपर्ने र केही नयाँ उपकरण जडान गर्नुपर्ने भएको भन्दै उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय काठमाडाँैबाट हेटौँडा सिमेन्टलाई दैनिक आठ मेगावाट विद्युत् नियमित उपलब्ध गराउने जानकारी नआएसम्म उत्पादनलाई निरन्तरता दिन नसकिने बताउनुभयो ।

    उहाँले विद्युत् प्राधिकरणका पदाधिकारीसँग उद्योगका पदाधिकारीले पटकपटक वार्ता गरी ऊर्जा उपलब्ध गराउन आग्रह गरिरहेकाले यथाशीघ्र समस्या समाधान हुने राससलाई जानकारी दिनुभयो ।

    केही दिनअघि अपर तामाकोशीबाट थप विद्युत् उत्पादित विद्युत्बाट उद्योगलाई नियमित ऊर्जा उपलब्ध गराउने सहमति भए पनि हालसम्म विद्युत् आपूर्ति नियमित हुन नसकेकाले दैनिक सिमेन्ट उत्पादन चुनौतीपूर्ण बन्दै गएको महाप्रबन्धक पाण्डेले बताउनुभयो । हाल विद्युत् प्राधिकरण हेटौँडाबाट दैनिक दुई–तीनपटक विद्युत् ऊर्जा कटौती हँुदै आएकाले उपकरण मर्मत र जडान गर्ने काममा जटिलता आएको उहाँले जानकारी दिनुभयो ।

    उक्त उद्योगमा जीर्ण अवस्थामा रहेका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कार्य विद्युत् ऊर्जाका कारणले अझै केही साता लम्बिने भन्दै नियमित विद्युत् आपूर्ति भएपश्चात् उपकरण मर्मत गरी सिमेन्ट उत्पादन सुरु गर्ने सहमति अनुसार प्राविधिक जनशक्ति राखिएको नायब महाप्रबन्धक नवीनकुमार कर्णले उल्लेख गर्नुभयो ।

    जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार अग्रवालले पटकपटक विभिन्न उपकरण बिग्रिएर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा वार्षिक रूपमा तीन–चार पटक मात्र उद्योग सञ्चालन भइरहेको बताउँदै नयाँ प्रविधिबाट उद्योग सञ्चालनमा ल्याउन दीर्घकालीन योजनासहित सङ्घीय सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

    विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन सरकारद्वारा रु एक अर्ब ५० करोड लागतमा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो । तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाहदेवबाट विसं २०४३ मङ्सिर २६ गते हेटौँडा सिमेन्ट उद्योगको उद्घाटन भएको थियो ।

    उद्योगको साविक सिमेन्ट उत्पादन क्षमता दैनिक १८ हजार बोरा भए पनि हाल उपकरण जीर्ण भएकाले १० हजार बोरामात्र उत्पादन भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

    उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ कोइला बोलपत्र आह्वान गरी चार हजार मेट्रिक टन ल्याउने प्रक्रिया सुरु भइसकेको बताउँदै अहिले उद्योगमा एक हजार दुई सय मेट्रिक टन कोइला जगेडा राखिएको उद्योगका कार्यकारी अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरको भैँसे र ओखरेबाट कच्चा पदार्थ चुनढुङ्गा ढुवानी गरी ल्याउने कामलाई निरन्तरता दिइएको छ ।

  • मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    मकवानपुर पुस १५
    मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर मनहरि गाउँपालिका-५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो ।

    घर नजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म घर नआएको हुँदा आफन्तले खोजी गर्दै जाने क्रममा आफ्नो घरबाट करिब ५०० मिटर पूर्वमा उनको शव फेला परेको थियो । शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी उनलाई बाघले आक्रमण गरि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

  • मकवानपुरमा कुटपिटबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु

    मकवानपुरमा कुटपिटबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु

    काठमाडौं, पुस १३ –
    मकवानपुरमा सामान्य विवादमा कुटिएका पुरूषको उपचारका क्रममा मृत्यु भएको छ।

    सोमबार मकवानपुरको थाहा नगरपालिका-१० मुलगाउँमा अन्दाजी ५३ वर्षीय हिराकाजी गोपालीमाथि कुटपिट भएको थियो।

    आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा जयराम गोपालीले उनीमाथि कुटपिट गरेका थिए।

    टाउकोमा चोट लागेर गम्भीर घाइते भएका हिराकाजीलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। काठमाडौंको दीर्घायू अस्पतालमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    कुटपिट गर्ने जयराम गोपालीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • भारतीय नम्बरको कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

    भारतीय नम्बरको कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

    काठमाडौं, पुस ९

    मकवानपुरमा भारतीय नम्बरको कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

    हेटौँडा उपमहानगरपालिका–१ तिरतिरे धारा नजिक हिजो साँझ कारको ठक्करबाट स्कुटर चालक स्थानीय अन्दाजी ३५ वर्षीय युवराज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।

    हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बिआर ०५ बीए ०००६ नम्बरको भारतीय कारले भैँसेबाट हेटौँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ७२६७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले बताए।

    स्कुटरमा पछाडि सवार २५ वर्षीया बबिता लामा घाइते भएकी छन्। हेटौँडा अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने कार चालक भारतकोबिहार राज्यका २४ वर्षीय सुकर्णप्रताप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • बकैयास्थित फास्ट ट्र्याकमा टिपर दुर्घटना, चालकको मृत्यु

    बकैयास्थित फास्ट ट्र्याकमा टिपर दुर्घटना, चालकको मृत्यु

    हेटौंडा, मंसिर २१ –
    मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    नदीजन्य पदार्थ (ग्राभेल) लोड गरेर फास्ट ट्र्याकतर्फ जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर दुर्घटना हुँदा चालक चितवन घर भएका अन्दाजी ४० वर्षीय सानु लो तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

    आज बिहान सवा ८ बजेको समयमा टिपर सडकबाट करिब ३० मिटर तल खोल्सामा खसेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    चालक तामाङको टिपरले च्यापिएर घटनास्थलमै मृत्यु भएको डिएसपी भण्डारीले बताए ।

  • मकवानपुरको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, २४ यात्रु घाइते

    मकवानपुरको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, २४ यात्रु घाइते

    बागमती, १९ मङ्सिरः

    मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

    करेन्ट लागेर हेटौँडा उपमहानगरपालिका–११ गोल्पीङटार निवासी ५८ वर्षीय मन्ताज मियाँको मृत्यु भएको छ । आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा सडकभन्दा पारिबाट फलामको रड घरतर्फ ल्याउने क्रममा घर नजिकै रहेको ११ हजार भोल्ट करेन्ट भएको तारमा फलामको रडले छुन गई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

    करेन्ट लागेर गम्भीर घाइते भएका मियाँको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । यस्तै हेटौँडा–सिन्धुली–धरान सडकखण्डअन्तर्गत हेटौँडास्थित खोल्सामा यात्रुवाहक बस खसेर दुर्घटना हँुदा २२ जना यात्रु घाइते भएका छन् ।

    हेटौँडाबाट छतिवनतर्फ जाँदै गरको बा५ख ६६५३ नम्बरको बस अनियन्त्रित भई सडकबाट देखि करिब ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । खोल्सामा बस खसेको सूचना पाएलगत्तै पुगेको प्रहरी टोली र स्थानीयले घाइतको उद्धार गरी उपचारका लागि हेटौँडास्थित सहकारी अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

    त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित भिआइपी चोकमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

    चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ५३४४ नम्बरको बसले बा९२प ३०५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ पेन्चे निवासी २७ वर्षीय अमर थिङ र पछाडि सवार २१ वर्षीय नवीन तितुङ घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । घाइते दुवैको मनहरीस्थित अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्हरीले जनाएको छ ।

  • हेटौँडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन सुरु गर्दै

    हेटौँडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन सुरु गर्दै

    मकवानपुर, मङ्सिर १७ –
    हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको विभिन्न उपकरणहरू मर्मतको काम नसकिँदा अझै उत्पादन अझै सुरु हुन नसकेको हो ।

    ‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरूको मर्मत कार्य अझै भइरहेकै छ,’ उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगतै पुनः सिमेन्ट उत्पादनको कार्य सुरु गर्ने अनुमान गरेका थियौ ।’ तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाई छ ।

    उपकरणहरूको मर्मत कार्य सम्पन्न हुने बित्तिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।

    उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको बताउँदै अध्यक्ष भण्डारीले मर्मत सम्भारको काम तीव्र रूपमा भइरहेकाले छिटै सकिने र त्यस लगतैबाट उत्पादन सुरु गर्ने तयारी भएको जानकारी दिए । ‘हामीसँगै कच्चा पदार्थको कुनै अभाव छैन’, अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ ।’ थप कोइला खरिदको प्रक्रिया अघि बढी सकेको छ, त्यसैले कोइलाको समस्या छैन, उनको भनाई छ ।

    आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । – रासस

  • बाढीपहिरोबाट मकवानपुरमा एक अर्ब ६९ लाखभन्दा बढीको क्षति

    बाढीपहिरोबाट मकवानपुरमा एक अर्ब ६९ लाखभन्दा बढीको क्षति

    हेटौँडा, कात्तिक २९-
    हालैको बाढीपहिरोबाट मकवानपुरमा एक अर्ब ६९ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार, जिल्लामा एक अर्ब ६९ लाख ३५ हजार ७३५ रुपैयाँबराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए ।

    जिल्लाका १० पालिकाका १३४ घर पूर्ण रूपमा र १८३ घर आंशिक क्षति भएका उनले जानकारी दिए । पाँच पालिकाका १६ झोलुंगे पुल र ५१ सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ । खानेपानी, विद्युत्लगायत ५८ पूर्वाधारमा क्षति भएको उनले बताए ।

    बाढीपहिरोमा परी जिल्लामा इन्द्रसरोवर गाउँपालिकामा ६, मनहरी गाउँपालिकामा दुई, मकवानपुरगढी गाउँपालिकामा एक र वाग्मती गाउँपालिकामा एक गरी १० जनाको मृत्यु भएको थियो । थाहा नगरपालिकामा दुई, भीमफेदी गाउँपालिका, मकवानपुरगढी, बकैया गाउँपालिका र वाग्मतीमा एक÷एक गरी ६ जना घाइते भएका थिए । रासस

     

  • मकवानपुरमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

    मकवानपुरमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

    बागमती, २२ कात्तिकः

    मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    क्याम्पभित्र कार्यरत रहेका बेला सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डँडेलधुराको गन्याधुरा गाउँपालिका–१ निवासी २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । मृतक दियाल लेसनायक पदमा कार्यरत हुनुहुन्थ्यो ।

    करेन्ट लागेर डँडेलधुराको अमरगढी नगरपालिका–२ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

    घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरमार्फत आर्मी अस्पताल छाउनी काठमाडाैँ पठाइएको र मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैँ पठाइएको उहाँले बताउनुभयो ।
    —