Category: मकवानपुर

  • भारतीय नम्बर प्लेटको गाडी मकवानपुरमा दुर्घटना

    भारतीय नम्बर प्लेटको गाडी मकवानपुरमा दुर्घटना

    काठमाडौं, चैत ४-

    काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी इन्द्रसरोवरमा दुर्घटना भएको छ ।

    आज  काठमाडौंबाट हेटौडा जाँदै गरे भारतीय ननम्बर प्लेट युपी ७० एनटी ६९१७ नम्बरको गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा दुर्घटना भएको हो ।

    दुर्घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। गाडी भित्तामा ठोक्किएपछि गाडी सडकमै पल्टिएको थियो। गाडिमा १७ जना सवार रहेको र त्यसमध्ये ४ जना घाइते भएको डिएसपी अर्यालले जानकारी दिए।

  • मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    मकवानपुर, चैत १

    मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा एक पुरुषको मृत्यु भएको छ।

    करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

    करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।

  • मकवानपुरमा नयाँ उद्योग दर्ता घट्दो, बन्द हुने क्रम बढ्दो

    मकवानपुरमा नयाँ उद्योग दर्ता घट्दो, बन्द हुने क्रम बढ्दो

    बागमती, २४ फागुनः 
    मकवानपुरमा पछिल्लो तीन वर्षयता बर्सेनि उद्योग एवं व्यापारिक फर्म हुने क्रम बढ्दो छ ।

    आर्थिकमन्दीका कारण  आर्थिक वर्ष २०७८/७९ यता मकवानपुरमा निरन्तर उद्योग एवं व्यापारिक फर्म बन्द हुने क्रम बढ्दै गएको हो । चालु आव २०८१/८२ को सात महिनाको अवधिमा उद्योग र वाणिज्यतर्फका तीन सय छ वटा व्यापार बन्द भएका छन् ।

    उद्योग तथा वाणिज्य कार्यायल मकवानपुरका अनुसार आव २०८१/८२ मा उद्योगतर्फ एक सय २७ र वाणिज्यतर्फका एक सय ७९ उद्योग व्यापारको लगतकट्टा गराएका छन् ।

    अघिल्लो आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ गरी छ सय चार उद्योग व्यापार बन्द भएको थियो । यस्तै आव २०७९/८० मा मकवानपुरमा उद्योगतर्फ एक सय १० र वाणिज्यतर्फ एक सय ७३ गरी दुई सय ८३ उद्योग व्यापारको लगतकट्टा गरिएको थियो भने आव २०७८/७९ मा उद्योगतर्फ एक सय १८ र वाणिज्यतर्फ ७२ गरी एक सय ९० उद्योग व्यापारको लगतकट्टा गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिनुभयो ।

    विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव, युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायतका कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको लगतकट्टा हुने सङ्ख्या बढ्ेको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।

    प्रमुख भुसालका अनुसार मकवानपुरमा बर्सेनि उद्योग व्यवसायको लगतकट्टा बढ्दै जाँदा नयाँ उद्योग व्यवसाय दर्ता भने घट्दै गएको छ । चालु आव २०८१/८२ को सात महिनामा नयाँ उद्योग र वाणिज्यतर्फ चार सय ३० नयाँ व्यवसायी दर्ता भएको छ । चालु आवमा उद्योगतर्फ दुई सय ५७ र वाणिज्यतर्फ एक सय ७३ गरी चार सय ३० नयाँ उद्योग व्यापार दर्ता भएको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।

  • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

    मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

    मकवानपुर फागुन १५
    हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ६१ वर्षीय कमलबहादुर बोहरा छन् । दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    रामनगरबाट हात्तीलेटतर्फ जाँदै गरेको ना५४प १८७६ नंको मोटरसाइकलले बुधबार साँझ पैदलयात्री बोहरालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो । उहाँको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    दुर्घटनापछि मोटरसाइकल चालक विदुर सापकोटा फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • मकवानपुरमा घरको तीन तलामाथिबाट खसेर एक व्यक्तिको मृत्यु

    मकवानपुरमा घरको तीन तलामाथिबाट खसेर एक व्यक्तिको मृत्यु

    काठमाडौं फागुन १०
    मकवानपुरमा घरको तीन तलामाथिबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार हेटौँडा–५ सानोपोखरामा पाहुना गएका बेला ती व्यक्तिको मृत्यु भएको हो ।

    चितवनको कालिका–६ खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारीको मकवानपुरमा भिनाजु हरि लामिछानेको घरमा गएका बेला मृत्युु भएको हो । शुक्रबार घरको तीन तलामाथि छतमा बसिरहेको अवस्थामा उनी अचानक छतबाट तल भुइँमा खसी घाइते भएका थिए ।

    टाउकाको अगाडिको भागमा चोट लागी गम्भीर घाइते अवस्थामा रहेका उनलाई आफन्तले उपचारका निम्ति हेटौँडा अस्पताल पुर्‍याएका थिए । उनलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन भरतपुर रिफर गरिएको थियो ।

    उनको उपचारका क्रममा दिउँसो दुई बजे मृत्यु भएको हो । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।

  • मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु

    मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु

    बागमती, माघ २०-
    मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

    पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

    सडक छेउमा रहेको भिडबाट ७० मिटर तल लडेर गम्भीर घाइते हुनुभएका चौधरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । – रासस

  • मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु

    मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु

    बागमती, १८ माघः
    मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतमा रुखले च्यापिँदा गम्भीर घाइते भएका १२ वर्षीय बालकको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    आज दिउँसो स्थानीय भागिरथ पुडासैनीले बारीमा रहेको रुख काट्ने क्रममा ढल्दा निजका नाति आदर्श च्यापिएका थिए ।

    टाउको र दुवै हातमा गम्भीर चोट लागेका बालकलाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनापछि स्थानीय चौकीबाट प्रहरी सहायक निरीक्षक खगेन्द्रलाल गुभाजुको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

    बालकको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • मनहरीमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

    मनहरीमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

    मकवानपुर २८ पुस :
    मकवानपुरको मनहरीमा बसको ठक्करबाट आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

    मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित भित्री सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना१क ९२५० नंको बसले सोही वडाकी दुई वर्षीया पूजा थिङलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

    बसको ठक्करबाट गम्भीर घाइते थिङलाई उपचारका लागि हेटाँैडा अस्पताल लगिएको थियो ।

    उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक मकवानपुर मनहरी गाउँपालिका–७ बिजौनाका चन्द्रबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

  • मनहरीमा चितवनतर्फ जाँदै गरेको कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते

    मनहरीमा चितवनतर्फ जाँदै गरेको कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते

    मनहरी, २७ पुसः 
    मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् ।

    आज दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

    वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ मा ठोक्किँदा दुर्घटना भएको थियो ।

    कारमा सवार तीन र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका जनाउँदै प्रहरी प्रवक्ता अर्यालले घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताउनुभयो ।

    स्कार्पियो चालकको पहिचान खुल्न नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था गम्भीर रहेकाले उपचारका लागि एलाइभ अस्पताल भरतपुर पठाइएको अर्यालले जानकारी दिनुभयो ।

  • मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे

    मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे

    मकवानपुर, २२ पुस : 
    मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने दामन, पालुङ, चित्लाङ र मार्खु क्षेत्रमा चिसोका कारण वृद्धवृद्धा, शिशु र बालबालिकामा श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोप बढेको छ ।
    स्थानीय स्वास्थ्य चौकीमा दैनिक उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हाल ती क्षेत्रका स्वास्थ्य चौकीहरुमा दैनिक ७० देखि ८५ जनासम्म बालबालिका तथा वृद्धवृद्धाहरु चिसोबाट बिरामी भइ आउने गरेका छन् ।
    ती क्षेत्रमा आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन गरी उपचारलाई  तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
    उहाँले स्वास्थ्यकर्मीलाई बिदा नलिइकन उपचार सेवामा खट्न निर्देशन दिइएको बताउनुभयो । थाहा नगरपालिकाले चिसोबाट बच्न विभिन्न बस्तीहरुमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको छ । श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोपबाट प्रभावित बिरामीलाई तत्काल उपचार सेवामा सहजीकरण गर्दै औषधि उपलब्ध गराएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो ।