Category: रत्ननगर

  • सांसद हरि ढकाललाई रत्ननगरमा स्वागत तथा सम्मान

    सांसद हरि ढकाललाई रत्ननगरमा स्वागत तथा सम्मान

    चितवन । रत्ननगर नगरपालिका वडा नम्वर -१५ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हरि ढकाललाई स्वागत तथा सम्मान गरिएको छ ।
    वडाले आज बुधवार सांसद ढकाललाई स्वागत तथा सम्मान गरेको हो । रत्ननगर नगरपालिका -१५ वडाका वडाध्यक्ष आशिक तामाङले सांसद ढकाललाई स्वागत गरी विकास निर्माणको सम्भावनाको विषयमा जानकारी समेत गराएका थिए ।

    सो अबसरमा सांसद ढकालले जनचाहना अनुसार आफुले काम गर्ने प्रतिबद्धता जनाए । संसदमा नीति र भूगोलमा थिति बसाल्ने जनचाहना रहेको भन्दै उनले आफ्नो प्राथमिकता रहेको बताए । सांसद ढकालले निर्बाचन क्षेत्रमा अलपत्र अबस्थामा रहेका आयोजनालाई पूर्ण गरी थप योजना ल्याउने प्रतिबद्धता जनाए । ग्रामिण क्षेत्रको विकासको लागि पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिने उनको भनाई छ ।

    वडा अध्यक्ष तामाङले नवनिर्वाचित सांसद ढकालबाट वडाबासीले ठुलो अपेक्षा गरेको भन्दै स्थानीय मागलाई सम्बोधन गर्ने गरी योजना आउनेमा आफु विश्वस्त रहेको बताए ।

    कार्यक्रममा बोल्दै माधवपुर माविका निमित्त प्रधानाध्यापक शान्ता खत्रीले सामुदायिक बिद्यालय स्तरोन्नतिमा विशेष जोड दिनुपर्ने बताउनुभयो। विन्देश्वरी माविका अध्यक्ष पुरुषोत्तम कट्टेल, प्रधानाध्यापकका हरि खनाल, नमुना आधारभूत निमाविकी प्रधानाध्यापक शोभा श्रेष्ठ, विन्देश्वरी टोल विकास संस्थाका अध्यक्ष सीता भट्टराई, माधबपुर कृषि सहकारीका अध्यक्ष रेशमराज लामिछाने, कृष्णप्रसाद लामिछाने, चन्द्रप्रसाद लामिछाने लगायतले मन्तव्य राखेका थिए । वडा सचिव रुपबहादुर पण्डित क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य इमप्रसाद पन्तले स्वागत मन्तव्य राखेका थिए ।

  • रत्ननगरका चोकचोकमा एमालेको चुनावी कोणसभा

    रत्ननगरका चोकचोकमा एमालेको चुनावी कोणसभा

    चितवन ,३० कार्तिक –
    नेकपा एमालेले बुधवार रत्ननगर नगरपालिका भित्र रहेका एक दर्जन चोकमा चुनावी कोणसभा गरेको छ । नगर भित्रका १६ वटै वडामा घरदैलो सकेको एमालले निर्वाचनको अन्तिक चुनावी कार्यक्रम अन्तर्गत नगरका चोकचोकमा कोणसभा गरेको हो । उसले नगर भित्र रहेका सुकुमबासी बस्तीलाई समेत केन्द्रीत गरेर कोण सभा गरेको हो ।

    जिरौनाचोक, शालधारीचोक, जंयमंगलाचोक, टिकौली चौधरी गाउँ,टिकौली सुकुमबासी बस्ती, लालपर्साचोक,बाघमारा चोक,बेल्सीचोकमा चुनावी कोणसभा गरिएको नगर अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए । कोणसभामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे,प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल शैलेसले सम्बोधन गरेका थिए । सो अबसरमा पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले सिरानीमा लाललपूर्जा राखेर सुत्ने सुकुमबासीको सपना एमालेको नयाँ सरकारले पुरा गर्ने बताए । भूमि सम्बन्धी अधिकार हरेक नागरिकमा रहेको भन्दै उनले त्यो अधिकार एमालेले दिलाउने बताए । केपी ओली नेतृत्वको सरकारले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि नीतिगत व्यवस्था गरेको उनको भनाई छ ।

    उनले कृषि उत्पादनलाई सुरक्षित गर्न प्रशोधन उद्योग सञ्चालन गर्ने बताए । चितवन अण्डा, दुध, मह, तरकारी, केरा र माछामा चितवन आत्मनिर्भरता तर्फ उन्मुख रहेको भन्दै उनले मुल्य निर्धारण र बजारीकरणको व्यवस्था गर्ने बताए । कोणसभामा प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाश खनाल शैलेसले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि एमालले नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले लालपूर्जा वितरणको लागि आधारशिला तयार गर्ने पार्टी एमाले भएको बताए । केपी ओली नेतृत्वको सरकारले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि नीतिगत व्यवस्था गरेको हो उनले भने सत्ता गठबन्धनका उम्मेदवारहरुले हामी लालपूर्जा दिन्छौ,भोट दिनुस भन्नु औचित्यहिन कुरा हो । एमाले लालपूर्जासंग भोट साट्ने पक्षमा नरहेको भन्दै उनले यस अघि नै लालपूर्जा सुनिश्चितताको लागि नीतिगत व्यवस्था गरिसकेको छ । सुकुमबासीले जमिनको स्वामित्व प्राप्त गर्ने व्यवस्था एमालेले तयार गरिसकेको भन्दै उनले गठबन्धनको भूलभूलैयामा नपर्ने मतदातालाई आग्रह गरे ।

    गठबन्धनका उम्मेदवारहरुको सरकार अहिले छ उनले प्रश्न गर्दै भने निर्वाचन जिते लगतै लालपूर्जा दिन्छौं भन्नेले अहिले सम्म के हेरेर बसेको हो । नेता खनालले एमाले २० ग्यारेन्टी सहित चुनावी मैदानमा होमिएको बताए । यो २० ग्यारेन्टी काम गर्नका लागि गरिएको हो उनले भने एमालेलाई विश्वास गर्नुस हामी विकासको लहर ल्याउने छौं । जनताको घरदैलोमा रहेको नेता खनालले एमालेको जितलाई गठबन्धनले रोक्न नसक्ने बताए । यो नेताहरुको मात्र गठबन्धन हो उनले भने भोट हाल्ने जनता स्वतन्त्र हुनुहुन्छ, एमालेको जित निश्चित छ । कार्यक्रममा समानुपातिक उम्मेदवार सुनिमाया चेपाङ सहित पार्टीका केन्द्रीय सदस्य कपिल पोखरेल, नेताहरु महादेवी खतिवडा, नारायण वन, कृष्णकुमार डल्लाकोटी, शंकर गिरी, विमला दुवाडी, प्रेम दुवाडी, राजाराम रेग्मी, केशव आचार्य लगायतको सहभागिता रहेको थियो ।

  • गठबन्धनप्रति असन्तुष्ट नेपाली कांग्रेसका युवाहरुले लगाए रत्ननगरको गठबन्धनको कार्यालयमा ताला

    गठबन्धनप्रति असन्तुष्ट नेपाली कांग्रेसका युवाहरुले लगाए रत्ननगरको गठबन्धनको कार्यालयमा ताला

    रत्ननगर, पालिका १६-
    पूर्वी चितवनको रत्ननगरमा रहेको गठबन्धनको निर्वाचन केन्द्रीत कार्यालयमा बुधवार तालाबन्दी गरिएको छ । गठबन्धनप्रति असन्तुष्टी जनाउदै आएका नेपाली कांग्रेसका युवाहरुले चितवन क्षेत्र नं १ प्रदेश सभा “ख” कार्यालयमा तालाबन्दी गरेका हुन् ।

    नेपाली काँग्रेस निकट ३० देखि ४० जना युवाहरु सौराहाचोक स्थित कार्यालयमा पुगेर ताला लगाएको बुझिएको छ ।

    गठन्बधनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस भित्र उम्मेदवारकै विषयमा असन्तुष्टी रहेको छ । निर्वाचन गतिविधिलाई सशक्त बनाउन सकेको भन्दै नेतृत्वको आलोचनाका बीच युवाहरुले गठबन्धनको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

  • चितवनमा पूर्व वडाध्यक्षको घरमा एक पुरुषको शव फेला

    चितवनमा पूर्व वडाध्यक्षको घरमा एक पुरुषको शव फेला

    चितवन, असोज २२ –
    पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ गणेश चोक नजिक पूर्व वडाध्यक्ष रोशन आचार्यको घरको कम्पाउण्डभित्र एक पुरुषको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार गैंडाकोट घर भएका अन्दाजी ३५ वर्षीय शंकर श्रेष्ठको आज बिहान करिब ३ः४० बजेको समयमा मृत्यु भएको हो । घरको छतबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

    ‘कुनै घरमा समूह बनाएर तास खेलेको वा केही गतिविधि गरिरहेको अवस्थामा प्रहरी गस्तिमा भएको सूचना पाएपछि तितरवितर हुने क्रममा छतबाट खसेको हुनसक्छ’, उनले भने, ‘वडा अध्यक्षको घरको कम्पाउण्डभित्र श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको हो ।’

  • शैक्षिक सुदृढीकरणका लागि शिक्षामा २० प्रतिशत बजेट बढाउनुपर्छ ;जेएन थपलिया

    शैक्षिक सुदृढीकरणका लागि शिक्षामा २० प्रतिशत बजेट बढाउनुपर्छ ;जेएन थपलिया

    चितवन, भदौ २३ –
    रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसमा ूशैक्षिक सुधारका निम्ति आगामी रणनीतिू बारेमा छलफल तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन९अनेरास्ववियु० शहीद स्मृति बहुमुखी क्यापस कमिटिले आज अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पार्टिका शिक्षा विभाग उपप्रमुख जे।एन। थपलियाले शैक्षिक सुदृढीकरणका लागि शिक्षामा केन्द्रिय बजेट २० प्रतिशत भन्दा माथी बनाएर लैजाने बताउनुभयो । उहाले प्राविधिक शिक्षालाई बिशेष जोड दिएर अगाडी बढाउने र शहीद स्मृति बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सबैले सहकार्य गरेर लैजाने बताउनुभयो । कार्यक्रम शहीद स्मृति बहुमुखी क्यापसको सभाहलमा भएको थियो ।

    कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका सचिव प्रकाश खनाल ९शैलेस०, अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष अमित कुमार गुप्ता, अनेरास्ववियु सहिद स्मृति बहुमुखी क्याम्पस कमिटिका निवर्तमान अध्यक्ष तथा अखिल युथ फोर्सका संयोजक सरोज तिमल्सिना, विभिन्न नगर कमिटिका अध्यक्षहरु, शहीद स्मृति बहुमुखी क्याम्पसका शिक्षक तथा विद्यार्थीहरु लगायतको उपस्थित रहेको थियो । अनेरास्ववियु शहीद स्मृति बहुमुखी क्याम्पस कमिटीका सचिव ऋषि मिश्रले सन्चालन गरेको कार्यक्रम अनेरास्ववियु शहीद स्मृति बहुमुखी क्याम्पस कमिटिका अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट एक युवा घाइते

    चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट एक युवा घाइते

    चितवन, साउन १०-
    चितवनको रत्ननगर नगरपालिकामा गैंडाको आक्रमणबाट एक जना युवा घाइते भएका छन ।

    आज (मंगलबार) बिहान करिब १० बजेको समयमा न्युरो टिप्न गएका स्थानीय कुन्दन लामालाई बाघमारा सामुदायिक वनमा गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    अनुहार र छातीमा चोट लागेका रत्ननगर नगरपालिका वडा नम्बर ८ का ३१ बर्षीय लामाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

  • चितवनका एमाले जनप्रतिनिधिबीच अन्तरक्रिया : जनचाहना अनुसार काम गर्ने भनाइ

    चितवनका एमाले जनप्रतिनिधिबीच अन्तरक्रिया : जनचाहना अनुसार काम गर्ने भनाइ

    चितवन, ३२ असार –
    नेकपा एमालेबाट चितवनका विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफुहरु बिकास, सुशासन र पारदर्शीतालाई मुलमन्त्र बनाएर अघिवढ्ने साझा प्रतिवद्दता ब्यक्त गरेका छन् ।

    प्रेस चाैतारी चितवनले आज आयाेजना गरेको अन्तरक्रियामा बाेल्दै जनप्रतिनिधिहरुले जनचाहना अनुरुपका काम शुरु गरेको जनाएका हुन् ।

    कार्यक्रममा कालिका नगरपालिकाका मेयर बिनाेद रेग्मीले पालिकाकाे सर्वाङ्गिण बिकास, शुसासन निर्माण र पारदर्शीता कायम गर्न कुनै कसर बाकि नराखिने बताउनुभयो ।

    बिकासका काममा हुनेगरेका ढिलासुस्ती राेक्न अभियान नै थालेकाे रेग्मीले बताउनुभयो । पालिकमा प्रेस मैत्री वातावरण कायम गर्ने जनप्रतिनिधिहरुले प्रतिवद्दता पनि ब्यक्त गरे ।

    माडी नगरपालिकाका मेयर ताराकाजी कुमारी महताेले बिकास निर्माण , सुशासन संगै प्रेस मैत्री कार्यसञ्चालनमा आफुहरु सचेत रहेकाे बताउनुभयो ।

    रत्ननगर नगरपालिकाका उप-मेयर यादवप्रसाद पाठकले जनप्रतिनिधिले गर्ने राम्रा कामकाे उजागर र खराब कामकाे आलोचना गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
    “हामी अत्यन्त ईमान्दारीपूर्वक जिम्मेवारी निभाउने छाै, राम्रा कामकाे उजागर र नराम्रो भएको छ भने आलोचना गरिदिनुस् ।” पाठकले भन्नुभयो ।

    एमाले पार्टीले गरेकाे बिश्वास र आम जनताले गरेको भराेसा टुट्न नदिने प्रतिवद्दता जनप्रतिनिधिहरुकाे थियाे ।

    कार्यक्रममा एमाले पाेलिट्व्युराे सदस्य देवी ज्ञवाली , जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने, जिसस प्रमुख नारायण प्रसाद अधिकारी , ईच्छाकामना गाउँपालिका प्रमुख दानबहादुर गुरुङ लगायतले पनि मन्तब्य राख्नुभएको थियाे ।

    प्रेस चाैतारी जिल्ला शाखा चितवनका अध्यक्ष सुवास पण्डितकाे सभापतित्वमा भएको कार्यक्रममा चाैतारी चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पाेखरेल, केन्द्रीय सदस्यहरु तीर्थ नेपाल, प्रतिमा शिलवाल, पूर्व केन्द्रीय सदस्य तिलक रिमाल, बागमती प्रदेश सदस्य कृष्ण खनाल ,रामकान्त पाैडेल लगायतले जनमैत्री शासन र प्रेस मैत्री वातावरणकालागि जनप्रतिनिधिहरुलाई सुझाव ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा चाैतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियाे भने सञ्चालन सचिव मुकुन्द भुषालले गर्नुभएको थियाे ।

  • आगामी आवको लागि चितवनका सात पालिकाले ल्याए ११ अर्ब ६५ करोड बजेट

    आगामी आवको लागि चितवनका सात पालिकाले ल्याए ११ अर्ब ६५ करोड बजेट

    कुलप्रसाद काफ्ले
    चितवन, ११ असार-

    चितवनका सात वटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन् । दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले पहिलो आवको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।

    जिल्लाका सात पालिकाले आगामी आवको लागि ११ अर्ब ६५ करोड ८ लाख ३९ हजार रुपैयाँको बजेट ल्याएका छन् । सबैभन्दा धेरै भरतपुर महानगरपालिकाको बजेट छ भने सबैभन्दा थोरै इच्छाकामना गाउँपालिकाको छ । बजेटमाथि कार्यपालिका सदस्यका बीचमा दफावार छलफलपछि केहि दिनमा नै बजेट पारित गर्नुपर्ने व्यवस्था छ ।

    भरतपुर महानगर

    भरतपुर महानगरको बजेट सात पालिकाको कुल बजेटको आधा छ । महानगरले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बजेट ल्याएको छ । महानगरको नगरसभाको ११औँ अधिवेशनमा नगर उपप्रमुख चित्रसेन अधिकारीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गरेका हुन् ।

    आगामी आवको बजेटका लागि आन्तरिक आयमा एक अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात एक अर्ब ३० करोड र मर्मत सम्भार कोषबाट ४ करोड प्राप्त हुने अनुमान छ ।

    सडक बोर्ड नेपालबाट ३ करोड, अन्तरसरकारी अख्तियारी शीर्षकमा एक अर्ब ४० करोड र जिल्ला समन्वय समितिबाट ५ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ । महानगरले अधुरा आयोजनाका लागि एक अर्ब ३० करोड रुपैयाँ छुट्याएको छ । वडास्तरबाट हुने आयोजनाका लागि प्रत्येक वडालाई दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको अधिकारीले बताए ।

    राप्ती नगरपालिका

    राप्ती नगरपालिकाले आगामी आवका लागि ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एघारौँ नगर सभाले आगामी आवको लागि ९० करोड ९२ लाख ६४ हजार बराबरको बजेट ल्याएको हो । सभामा नगर उपप्रमुख देवेन्द्र लामाले आगामी आर्थिक वर्षको बजेट पेस गरेका थिए ।

    उपप्रमुख लामाका अनुसार चालुतर्फ ५३ करोड २० लाख तथा पुंजीगततर्फ ३७ करोड ७२ लाख ६४ हजार बराबरको बजेट छ । नगरले आन्तरिक स्रोतबाट ८ करोड ५० लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ । संघ र प्रदेशको अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट ६३ करोड १८ लाख ८८ हजार रुपैयाँ प्राप्त भएको छ ।

    नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शमशेर लामाले कृषि र किसान लाभान्वित हुने कार्यक्रम ल्याइएको बताए । कृषि क्षेत्रको विकासका लागि बीमा सुविधा, भण्डारण, कृषि सामाग्रीको सरल र नियमित उपलब्धता, सिंचाई लगायतको व्यवस्था गरिने प्रमुख लामाले बताए ।

    खैरहनी नगरपालिका

    खैरहनी नगरपालिकाले आगामी आवका लागि १ अर्ब १ करोड १२ लाख ५१ हजार रुपैयाँ बजेट ल्याएको छ । शुक्रबार भएको नगर सभामा नगर उपप्रमुख कविता उप्रेतीले नगर प्रमुखले पेश गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट पेश गरेकी हुन् ।

    प्रस्तुत बजेटमा आन्तरिक आम्दानी १५ करोड ८ लाख संकलन हुने अनुमान छ । त्यस्तै जिल्ला समन्वय समितिबाट प्राप्त हुने सहयोग ५० लाख, संघीय सरकार सशर्त अनुदान ४ करोड, समानीकरण अनुदान १८ करोड १८ लाख, राजस्व बाँडफाँट भई प्राप्त हुन आउने ११ करोड ५७ लाख, समपुरक अनुदान १ करोड २० लाख र विशेष अनुदान ३ करोड ५८ लाख आउने अनुमान छ ।

    प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड ४२ लाख, समानिकरण अनुदान १ करोड ७८ लाख, राजस्व बाँडफाँट भई आउने सवारी साधन कर ६ करोड ९४ लाख, विषेश अनुदान ६५ लाख, समपुरक अनुदान १ करोड ६२ लाख, सडक बोर्ड नेपालबाट ५० लाख र भारतीय दूतावासबाट प्राप्त हुने अनुदान ३ करोड ४ लाख बजेटमा समावेश गरिएको छ ।

    कालिका नगरपालिका

    कालिका नगरपालिकाले आगामी आवको लागि ८५ करोड ९७ लाख ५१ हजार रुपैयाँ बजेट ल्याएको छ । शुक्रबार नगर सभाको ११औँ अधिवेशनमा उपप्रमुख विमला तामाङले बजेट प्रस्तुत गरेकी थिइन् ।

    संघीय सरकारबाट समानिकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ४२ लाख, विशेष अनुदान १ करोड, राजस्व बाँडफाँटबाट ११ करोड ६० लाख ४ हजार, समपुरक अनुदान १ करोड, खानी तथा खनिज रोयल्टी ५ लाख र वन रोयल्टीबाट ५ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

    प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ४९ लाख, सशर्त अनुदान २ करोड ३९ लाख ६६ हजार, राजश्व बाँडफाँटबाट ५ करोड ५० लाख २९ हजार र समपुरक अनुदान २ करोड ९९ लाख ९८ हजार रुपैयाँ प्राप्त हुने तामाङले जानकारी दिइन् । नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ ।

    यसका अलवा मालपोत कार्यालयबाट ४ करोड, राजश्व बाँडफाँट र खोलाजन्य पदार्थबाट १ करोड, जिल्ला समन्वय समितिबाट १ करोड, सडक बोर्डबाट ४० लाख, जनसहभागिताबाट १ करोड र नगर मौज्दात १० करोड रहने अनुमान छ ।

    रत्ननगर नगरपालिका

    रत्ननगर नगरपालिकाले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १ अर्ब ३७ करोड २७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुख यादवप्रसाद पाठकका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट ११ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

    संघीय सरकारको राजश्व बाँडफाँडबाट १२ करोड २८ लाख ८० हजार, वित्तीय समानीकरण अनुदान २० करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ७६ लाख, विशेष अनुदान ५० लाख, सडक बोर्डबाट प्राप्त ८ लाख, सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

    प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ७ करोड ७५ लाख ५१ हजार, वित्तीय समानिकरण अनुदान २ करोड ८ लाख ७५ हजार, सशर्त अनुदान ४ करोड ५ लाख, समपुरक अनुदान २ करोड ७५ लाख ७१ हजार, विशेष अनुदान ३५ लाख, पूर्वाधार विकास कार्यक्रम २ करोड ६७ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ ।

    त्यस्तै, जिल्ला समन्वय समितिबाट ८० लाख र जनसहभागिताबाट १ करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाले ११ वटा गौरवको योजनालाई प्राथमिकता दिएको छ ।

    माडी नगरपालिका

    माडी नगरपालिकाले एक अर्ब ७ करोड ८० लाख ८२ हजार बजेट ल्याएको छ । नगर उपप्रमुख खेम महतोले चालुतर्फ ४१ करोड ५० लाख र पुँजीगततर्फ ६५ करोड ४८ लाख १६ हजार विनियोजन गरिएको बताए ।

    आगामी आवको बजेटका लागि आन्तरिक स्रोतबाट १४ करोड २० लाख ७० हजार, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ७५ करोड ८२ लाख र राजस्व बाँडफाँड, जिसस, जनसहभागिता लगायतबाट १७ करोड ९५ लाख ४६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । माडीमा कृषि, पर्यटन, सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

    इच्छाकामना गाउँपालिका

    इच्छाकामना गाउँपालकाले आगामी आवको लागि ६७ करोड ५५ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले सबैभन्दा धेरै पूर्वाधार विकासमा बजेट छुट्याएको छ, जसमा आठ करोड ८४ लाख रुपैयाँ रहेको छ । स्थानीय सडक, पुल तथा झोलुंगे पुल निर्माणको लागि मात्रै पाँच करोड ७७ लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।

    गाउँपालिकाले कृषि क्षेत्रको लागि एक करोड २८ लाख रुपैयाँ छुट्याएको छ । सामाजिक विकासतर्फ तीन करोड ७६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । स्वास्थ्यतर्फ महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन भत्ता, इच्छाकामना अस्पताल निर्माण, गर्भवती स्वास्थ्य पोषणलगायतले प्राथमिकता पाएको छ ।-न्युज कारखाना

     

  • चितवनको टाँडीमा जन्ति बस दुर्घटना हुँदा १९ जना घाइते

    चितवनको टाँडीमा जन्ति बस दुर्घटना हुँदा १९ जना घाइते

    चितवन, जेठ २५

    रत्ननगर नगरपालिकाको टाँडीमा जन्ती बस दुर्घटना भएको छ । निपनी स्थित हरिहर मन्दिरबाट दुलही लिएर बडगाउँ जाँदैगरेको ना ५ ख ६४३ नम्बरको बस जन्ती रत्ननगर नारापालिकास्थित लौरिघोलमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको हो।

    उक्त दुर्घटनामा बसमा सवार चालक सहित २६ जना यात्रु मध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    दुर्घटनामा परि एक बालक हराइरहकोे आशंकाले र खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यलय टाँडीले बताएको छ ।

  • चितवनमा रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन

    चितवनमा रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन

    रत्ननगर, जेठ २२-

    सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ ।

    जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकालाई रु एक अर्ब ८० करोड २४ लाख अनुदान बजेट विनियोजन गरिएको छ । भरतपुरले आगामी आवका लागि समपूरक बजेट रु दुई करोड ५० लाख र विशेष अनुदान रु १४ करोड आठ लाखसमेत पाएको छ । त्यस्तै रु एक अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा रु ५१ करोड ६९ लाख पाउने भएको छ ।

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेनु दाहाल निर्वाचित हुनुभएको छ । नगरप्रमुख दाहालकै पहलमा भरतपुरमा ठूला–ठूला आयोजना आउन सफल भएका छन् । सङ्घीय सरकारले यसै वर्षदेखि सुरु गर्ने गरी भरतपुरमा शिक्षक अस्पतालका लागि समेत बजेट छुट्याइसकेको छ ।

    यसैगरी जिल्लामा दोस्रो बढी बजेट प्राप्त गर्ने रत्ननगर नगरपालिका छ । यस नगरपालिकाले रु ५९ करोड ७२ लाख बजेट सङ्घीय सरकारबाट पाएको छ । यसमा समानीकरण अनुदान रु २० करोड ९६ लाख, सशर्त अनुदान रु ३३ करोड ७६ लाख र विशेष अनुदान रु पाँच करोड छ ।

    त्यस्तै राप्ती नगरपालिकाले सङ्घीय सरकारबाट रु ५५ करोड ५९ लाख बजेट पाएको छ । राप्तीले पाएको बजेटमध्ये समानीकरण अनुदान रु १८ करोड ५३ लाख, सशर्त अनुदान रु २४ करोड २६ लाख र विशेष अनुदानतर्फ रु दुई करोड रहेको छ । माडी नगरपालिकाले सङ्घीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत रु ४९ करोड ६० लाख प्राप्त गरेको छ । जसमध्ये समानीकरण अनुदान रु १३ करोड ९२ लाख, सशर्त अनुदान रु ३१ करोड ९८ लाख र विशेष अनुदान रु दुई करोड ५० लाख रहेको छ ।

    खैरहनी नगरपालिकाले सङ्घीय सरकारबाट आव २०७९/८० मा रु ४८ करोड आठ लाख बजेट प्राप्त गरेको छ । जसमध्ये समानीकरण अनुदानमा रु १८ करोड १८ लाख, सशर्त अनुदानमा रु २५ करोड १२ लाख र विशेष अनुदानमा रु तीन करोड ५८ लाख रहेको छ । त्यस्तै कालिका नगरपालिकाले रु ४० करोड ९८ लाख बजेट पाएको छ । जसमध्ये समानीकरण अनुदान रु १५ करोड ५६ लाख, सशर्त अनुदान रु २३ करोड ४२ लाख र विशेष अनुदान रु एक करोड प्राप्त गरेको छ ।

    जिल्लाको इच्छाकामना गाउँपालिकाले सङ्घीय सरकारबाट जिल्लाका स्थानीय तहमा सबैभन्दा कम बजेट प्राप्त गरेको छ । गाउँपालिकाले आव २०७९/८० मा अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत सङ्घीय सरकारबाट रु ३८ करोड बजेट प्राप्त गरेको छ । गाउँपालिकाले समानीकरण अनुदानअन्तर्गत रु ११ करोड १९ लाख, सशर्त अनुदानमा रु २४ करोड ३१ लाख र विशेष अनुदानमा रु एक करोड ७० लाख प्राप्त गरेको छ ।रासस