Category: माडी

  • चितवनमा सालनालसहित नवजात शिशुको शव फेला

    चितवनमा सालनालसहित नवजात शिशुको शव फेला

    चितवन, १६ माघ
    चितवनमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ ।

    माडी नगरपालिका –७ गौरीनगरस्थित सुपेन्द्र आचार्यको खेतमा शिशुको शव फेला परेको हो ।

    घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • माडी नगरपालिकाद्वारा कृत्रिम गर्भाधानबाट सुत्केरी पशुलाई भत्ता : बीमा गराउनेको संख्या बढ्यो

    माडी नगरपालिकाद्वारा कृत्रिम गर्भाधानबाट सुत्केरी पशुलाई भत्ता : बीमा गराउनेको संख्या बढ्यो

    चितवन, २ माघ
    माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत रु एक हजार दिने गरेको छ । नगरभित्र रहेका गाईभैँसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि सो रकम दिने गरिएको हो । भत्ता दिन थालेसँगै पशु बीमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

    नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखाप्रमुख डा रबिन बस्ताकोटीका अनुसार सुरुआतमा सुत्केरी भएका गाईभैँसीलाई भत्ता दिन थालिए पनि अहिले कृत्रिम गर्भाधान गराएका र बीमा गरिएकालाई भत्ता उपलब्ध गराइएको हो ।

    माडी क्षेत्रमा भैँसी धेरै पालिने गरे पनि कृत्रिम गर्भाधान खासै गरिँदैनथ्यो । भत्ता लिनका लागि कृत्रिम गर्भाधान गराएको प्रमाणपत्र, सो वस्तुबाट जन्मिएको पाडापाडी, बाच्छाबाच्छीसँगै भएको फोटो, पशु बीमा गराएको प्रमाणपत्रसमेत राखेर निवेदन दिनुपर्ने हुन्छ । बीमा अनिवार्य गरेपछि यस वर्ष एक सय पशुधनीले भत्ता माग गर्ने अनुमान गरिएको छ ।

    पशुलाई सुत्केरी भत्ताको कार्यक्रम सुरु गरेपछि अहिले पशु बीमा गराउनेको सङ्ख्यासमेत बढ्दै गएको उहाँले बताउनुभयो । पशु बीमाका लागि सङ्घीय सरकारले ८० प्रतिशत, माडी नगरपालिकाले १५ प्रतिशत र पशुधनीले पाँच प्रतिशत बेहोर्ने गरी काम गरिँदै आइएको छ । बस्यालका अनुसार पशु बीमामा मात्रै बार्षिक रु १२ लाख विनियोजन हुँदै आएको छ । माडीमा चालु आर्थिक वर्षमा ६ सय ५३ गाईभैँसीलाई कृत्रिम गर्भाधान गराइएकामा छ सय गाई र ५३ भैँसी छन् । (रासस)

  • भरतपुरमा कार र मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

    भरतपुरमा कार र मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

    भरतपुर, २७ पुस
    भरतपुर महानगरपालिका ७ स्थित क्यान्सर गेट नजिकै कार र मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक माडी नगरपालिका ६ रामराज्यपुर बस्ने ३४ बर्षका कुल प्रसाद सापकोटा रहेका छन् । टाइगरचोकबाट बुद्धचोक जाँदै गरेको बा २८७५ नम्वरको कारले बा.०३–००३ प १७७६ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

    दुर्घटनामा घाइते भएका सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    उनको शव पोस्टमार्टमको लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

  • माडीमा मोटरसाइकल दुर्घटना, वडा सदस्य लुइँटेलको मृत्यु

    माडीमा मोटरसाइकल दुर्घटना, वडा सदस्य लुइँटेलको मृत्यु

    चितवन, १ पुस
    चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । उहाँ नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित हुनुभएको थियो ।

    बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको जानकारी दिनुभयो । केही दिनअघि मात्रै माडीमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।

  • माडीमा जिल्ला स्तरीय माडी क्रिकेट कप-२०८० हुँदै

    माडीमा जिल्ला स्तरीय माडी क्रिकेट कप-२०८० हुँदै

    चितवन, १ पुस
    चितवनको माडीमा जिल्ला स्तरीय माडी क्रिकेट कप-२०८० हुने भएको छ।

    बसन्तपुर युथ क्लबको आयोजनामा चितवन जिल्ला स्तरीय माडी क्रिकेट कप-२०८० आयोजना हुने भएको हो । आगामी माघ २७ गते देखि फागुन ५ गते सम्म माडीको बसन्तपुर स्थित खेल मैदानमा प्रतियोगिता संचालन गर्न लागिएको क्लबका अध्यक्ष पदम बिलास पन्तले जानकारी दिनुभयो।

    प्रतियोगितामा माडीका ४ टिम सहित कुल ८ टिमको सहभागिता रहने छ।

    प्रतियोगितामा विजेता हुने टिमलाई नगद रु १ लाख र उपविजेता हुने टिमलाई नगद रु ५० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ।

    प्रतियगिता सम्पन्न गर्न रु सात लाख पचास हजार लाग्ने आयोजकले अनुमान गरेको छ।क्लबले लामो समय देखि माडी क्षेत्रमा खेलकुदका कार्यक्रमलाई निरन्तरता दिएको छ।

  • चितवनमा बोलेरोको ठक्करबाट एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

    चितवनमा बोलेरोको ठक्करबाट एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

    चितवन मंसिर २४
    चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

    शनिबार साँझ माडी नगरपालिका–१, बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बोलेरोले वाग्मती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    बोलेरोको ठक्करबाट मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।

    अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् ।
    तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत छन् । बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

    मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन् । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

    उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको उनले बताए । रासस

  • चितवनको माडीमा चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

    चितवनको माडीमा चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

    भरतपुर, १३ मङ्सिर
    मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवालाई संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको छ । चितवनको माडीमा आयोजित प्रशिक्षणमा ३० युवाको सहभागिता छ ।

    तालिममा पाँच मध्यवर्ती क्षेत्र उपभोक्ता समितिअन्तर्गतका चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवाको सहभागिता रहेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो ।

    उहाँले वन र वन्यजन्तु संरक्षणका लागि युवालाई सूचना सङ्कलन, जनचेतना, वन्यजन्तुको आनिबानीलगायतका विषयमा प्रशिक्षित गरिएको बताउनुभयो । उहाँका अनुसार संरक्षणमा यसअघि प्रयोग भएका विधि र अबका दिनमा गर्नुपर्ने कामका विषयमा प्रशिक्षण दिइएको छ ।

    तालिममा चितवन राष्ट्रिय निकुञ्जका चार समितिका २४ जना र पर्सा राष्ट्रिय निकुञ्जको एक समितिका छ जना सहभागी छन् । तालिम भोलीसम्म चल्नेछ । चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मात्रै झण्डै पाँच सय युवा सक्रिय छन् । सहभागीलाई सैद्धान्तिक कक्षासँगै प्रयोगात्मक प्रशिक्षण पनि प्रदान गरिएको भू–परिधी कार्यक्रम (ताल) का पूर्वी क्षेत्र संयोजक प्रेम पौडेलले जानकारी दिनुभयो ।

    मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण, मानिसको व्यवहार परिवर्तनका विषयमा पनि युवालाई जानकारी गराइएको छ । प्रशिक्षणमा सहभागी युवाले आफ्नो गाउँठाउँमा गएर त्यहाँका युवालाई प्रशिक्षण दिनेछन् । प्रभावित क्षेत्र, महिला समूह, सामुदायिक वन, युवालगायतका समाजमा रहेका हरेक नागरिकलाई प्रशिक्षण लिएका युवा आफूले सिकेको ज्ञान प्रदान गर्ने उहाँले बताउनुभयो ।

    चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, डब्लुडब्लुएफ र तराई भूपरिधी कार्यक्रम (ताल) र नेपाली सेनाका प्रतिनिधिले प्रशिक्षण दिनुभएको छ छ । तराई भूपरिधी कार्यक्रम (ताल)ले चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा कार्यक्रमको आयोजना गरेको हो ।

  • माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

    माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

    भरतपुर, १२ मङ्सिर
    चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो ।

    समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले बताउनुभयो । माडी नगरपालिका–८ स्थित बैकुण्ठ सामुदायिक वनभित्रको बैकुण्ठेश्वर ताल घुमफिर गर्न दैनिक दर्जनौँ पर्यटक जाने गरेका छन् । धार्मिक महत्व बोकेको ताल भए पनि यहाँको मनोरम दृश्यकै कारण धेरै पर्यटक भित्रिने गरेका छन् । सुरक्षालगायतका अन्य तयारी भएपछि मात्र पौडी खेल्न दिइने परियारले जानाकारी दिनुभयो ।

    खरकट्टास्थित बैकुण्ठ चोकबाट करिब साढे तीन किमी दक्षिण लागेपछि बैकुण्ठ मेलास्थल आइपुग्छ । मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल पुग्न सकिन्छ । घाँघर खोलाको शिरमा रहेको यो तालमा दुई छहरा छन् । चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ ।

    “केही वर्षयता ताल अवलोकन गर्न आउने क्रम बढेको छ”, माडी–८ का वडाध्यक्ष वीरेन्द्रबहादुर भण्डारी भन्नुभयो, “अहिले समूहमा वनभोजमा रमाउन आउने धेरै छन् ।” गर्मीयाममा अझै धेरै पर्यटक आउने गरेका छन् । प्रत्येक वर्ष पौडी खेल्दा मानिसको मृत्यु भएपछि पौडी नखेल्न अनुरोध गरिएको भण्डारीले बताउनुभयो । यहाँ बालाचतुर्थीको अवसरमा मेला लाग्छ । यस वर्ष पनि मेलाको तयारी तीव्र पारिको छ ।

    मेला लाग्ने चौरमा वनभोज खान मिल्ने व्यवस्था छ । करिब २०३५ सालतिर घाँस–दाउँरा काट्न जाने क्रममा फेला परेको यो ताल ३२ मिटर गहिराइको छ । “ताल जोगाउन ड्यामको खाँचो छ, छहरा पनि व्यवस्थित गर्नुछ”, उहाँले भन्नुभयो, “कृत्रिम ताल यो होइन, अब संरक्षण गर्दा पनि कृत्रिमता झल्काइने छैन ।” उहाँले तालको दक्षिणतर्फ पर्यटक लोभ्याउने केही गन्तव्यहरू भेटिए पनि प्रचार–प्रसार गर्न नसकिएको बताउनुभयो । चौरमा संरचना बनाउनका लागि यस वर्ष बजेट विनियोजन गरिएको जनाउँदै उहाँले पर्यटक आकर्षण गर्ने खालका संरचना बनाइने जानकारी दिनुभयो ।

  • चितवनको माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

    चितवनको माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

    चितवन मङ्सिर १०
    चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ ।

    बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१ सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताए ।

    उक्त शिला मङ्सिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताए । उनले पर्वतबाट रथयात्रामार्फत चक्रशिला माडी ल्याइएको बताए ।

    शालिग्राम शिला पाइने नेपालकै दुईमध्येका एक स्थानका रूपमा परिचित माडीको धार्मिक विकास तथा पर्यटनमा थप टेवा पुग्ने स्थानीय पुजारी केदारनाथ सापकोटाले बताए । उनका अनुसार कालीगण्डकी नदी र माडीको मगुई खोलामा शालिग्राम पाइन्छ । उहाँले चक्रशिला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको बताए ।
    स्थानीय कृष्णबहादुर रानाभाटले देश–विदेशमा रहेका माडीवासीको सहयोगमा चक्रशिला स्थापना गरिएको बताए । उनले यस क्षेत्रलाई चक्रतीर्थ धामका रूपमा विकास गर्न लागिएको भन्दै क्रमशः अन्य संरचना निर्माण हुने जानकारी दिए । उनले माडीका धार्मिक क्षेत्रलाई समेटेर एकीकृत विकास गर्नुपर्ने बताए । माडीमा एक दर्जन बढी धार्मिक क्षेत्र रहेका छन् । पछिल्लो समय माडीमा राम मन्दिरसमेत स्थापना भएपछि धार्मिक पर्यटक बढेका छन् ।

  • ध्रुवेलाई नियन्त्रणमा लिन टोली परिचालन, अत्यावश्यक कामबाहेक बिहान बाहिर ननिस्कन आग्रह

    ध्रुवेलाई नियन्त्रणमा लिन टोली परिचालन, अत्यावश्यक कामबाहेक बिहान बाहिर ननिस्कन आग्रह

    चितवन कार्तिक २७
    धेरै मानिसको ज्यान लिएको जंगली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

    विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ ।

    उनले भने, “हात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि हात्तीको नियन्त्रणका लागि प्राविधिकसहितको दुईवटा टोली परिचालन गरिएको छ ।” हात्ती देखिएमा नियन्त्रण गर्ने औषधि प्रयोग गरी ‘डाट’ गर्ने उनले बताए ।

    यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ । योसँगै ‘स्याटेलाइट कलर’ जडान गरिने उनले जानकारी दिए । कलर जडान गरेसँगै हात्तीले गरेका गतिविधिको बारेमा जानकारी लिन सकिने उनले बताए । यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले गस्ती गर्दै आएका छन् ।

    निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ । उनले भने, “हात्ती बाहिर निस्किएको हुँदा मानवीय क्षति हुनसक्ने भएकाले साँझ र बिहानपख अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गर्दछौँ ।”

    निस्कनै परे टच लाइट बालेर र समूहमा निस्कन कार्यालयले अपिल गरेको छ । यस हात्ती हरेक वर्ष बस्तीमा पसेर सर्वसाधारणलाई दुःख दिँदै आएको छ । यसले हालसम्म २२ भन्दा बढीको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ । रासस