Category: माडी

  • विजय लघुवित्त माडी शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    विजय लघुवित्त माडी शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    माडी, ९ पुस
    विजय लघुवित्त वित्तीय संस्था लिमिटेड, माडी शाखाले मंसिर ८ गते माडी क्याम्पस, बसन्तपुरको सभाहलमा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

    कार्यक्रमले स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन, र जोखिम न्यूनीकरणका महत्त्वपूर्ण पक्षहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

    कार्यक्रमको सभाध्यक्ष तथा प्रमुख प्रशिक्षक श्री शम्भु प्रसाद रेग्मीले बचत, आम्दानी र खर्चको सन्तुलन, आवश्यकताका प्राथमिकता निर्धारण, कर्जाको सदुपयोग, बिमाको महत्त्व, र जोखिम व्यवस्थापनबारे सहभागीहरूलाई प्रष्ट पार्नुभयो। उहाँले सहभागीहरूलाई कर्जाको सही उपयोगले मात्र आर्थिक स्थिरता हासिल गर्न सकिने र अनियमितताबाट जोगिनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा माडी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री पुरन महतोले सहभागिता जनाउनु भयो। उहाँले कर्जालाई समयमा फिर्ता गर्ने र आम्दानी वृद्धि हुने क्षेत्रमा लगानी गर्ने महत्त्वका विषयमा प्रकाश पार्दै, “वित्तीय अनुशासनलाई आत्मसात् गरेमा मात्रै आर्थिक जीवन सफल हुन सक्छ” वहाले बताउनुभयो ।

    विशिष्ट अतिथिका रूपमा इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक श्री केदारमान दोङले डिजिटल कारोबार र साइबर सुरक्षाका विषयमा महत्त्वपूर्ण जानकारी दिनुभयो। उहाँले डिजिटल कारोबार गर्दा अपनाउनुपर्ने सावधानी, साइबर जोखिमको पहिचान, र सुरक्षित लेनदेनका उपायहरूबारे सहभागीहरूलाई सचेत गराउनुभयो।

    कार्यक्रममा सहभागीहरूको तर्फबाट इन्द्रदेवी महतोले मन्तव्य दिनुभयो। उहाँले तालिमले आफूहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रमको सञ्चालन माडी शाखाकी कर्मचारी तृप्ती महतोले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई व्यवस्थापन र सञ्चालनमा प्रभावकारी रूपमा प्रस्तुत गर्न जोडदिनुभएको थियो ।

    कार्यक्रममा ७० जना सहभागीहरूले कर्जा व्यवस्थापन, बचत, र जोखिम न्यूनीकरणबारे ज्ञान हासिल गर्न पाएको प्रतिक्रिया दिएका थिए। सहभागीहरूले यस्ता कार्यक्रमहरूले आफ्नो वित्तीय व्यवहारलाई सुधार गर्न प्रेरणा मिलेको बताउनुभयो।

    विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित रूपमा अघि बढाउँदै सदस्यहरूको आर्थिक सक्षमतामा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

     

  • चितवनको माडीमा १२ सय बढी परिवार गरिबीको रेखामुनि

    चितवनको माडीमा १२ सय बढी परिवार गरिबीको रेखामुनि

    चितवन, पुस ४ –
    चितवनको माडी नगरपालिकामा एक हजार २६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । माडी नगरपालिकाले जारी गरेको एक सूचनाका आधारमा यी परिवारलाई अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर वर्गीकरण गरिएको छ ।

    नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७८ मा आधारित गरिब घरपरिवारको सूची विवरण सार्वजनिक गरेको हो । नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार विसं २०७८ सालदेखि माडी नगरपालिकाका नौवटा वडामा आठजना गणक र एकजना सुपरिवेक्षकले घरधुरी सर्वेक्षण गरेका थिए ।

    सोही सर्वेक्षणका आधारमा गरिब घरपरिवार पहिचान गरी सार्वजनिक गरिएको हो । हरेक घरमा कार्यविधि अनुसारका प्रश्नावली बनाएर सर्वेक्षण गरिएको भण्डारीले जानकारी दिनुभयो । घरको आम्दानी, खर्च, आर्थिक अवस्थालगायत विषयमा केन्द्रित रहेर गणना गरिएको थियो ।

    प्रारम्भिक सूचीमा परेका गरिबहरूलाई नाम सच्याउन र विवरण समावेश गर्न नगरपालिकाले १५ दिनको सूचनासमेत प्रकाशन गरेको छ । यस सूचीमा परेका परिवारहरूलाई सरकारले परिचयपत्र वितरणसँगै राज्यबाट पाउने सेवासुविधामा उच्च प्राथमिकतामा राख्ने सूचना अधिकारीे भण्डारीले बताउनुभयो ।

    नगरप्रमुख ताराकुमारी काजी महतोले गरिब परिवारको पहिचानसँगै नगरपालिकालाई भावी कार्यक्रम बनाउनसमेत सहयोग पुग्ने बताउनुभयो । गरिब परिवार लक्षित कार्यक्रमहरू बनाउन यो तथ्याङ्कले सहयोग पुग्ने उहाँको भनाइ छ ।

  • माडीको हनुमान झुलामा एमालेले बनायो विशेष कमिटी

    माडीको हनुमान झुलामा एमालेले बनायो विशेष कमिटी

    चितवन, भदौ १२ –
    चितवनको माडी नगरपालिका– ९ हनुमान झुलामा नेकपा (एमाले) ले विशेष कमिटी गठन गरेको छ ।

    आज बुधबार प्रथम अधिवेशन गर्दै एमालेले सर्वसम्मतबाट सन्तोष भुजलेको नेतृत्वमा १५ सदस्यी विशेष कमिटी गठन गरेको हो ।

    कमिटीको उपाध्यक्षमा राजु अधिकारी, सचिवमा तुला बहादुर सार्की, उपसचिवहरुमा लक्ष्मी सुनार र स्मृति परियार चयन भएका छन् ।

    अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य यम बहादुर परियार, केन्द्रीय सल्लाहकार सदस्य हरि सापकोटा, जिल्ला कमिटी सदस्यहरु शिवहरि सुवेदी, ताराकुमारी काजी महत्तो, श्रीप्रसाद दवाडी, माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारी, नगर सदस्य दिपक भण्डारी, माडी ९ वडा कमिटी अध्यक्ष मान बहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

  • चितवनको माडीमा माछाजोन कार्यक्रम लागु

    चितवनको माडीमा माछाजोन कार्यक्रम लागु

    चितवन  भदौ ६, 

    चितवनको माडी नगरपालिकामा माछा ‘जोन’ कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइमार्फत माडीमा चालु आर्थिक वर्षदेखि माछा जोन कार्यक्रम लागु भएको हो ।

    परियोजना प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीका अनुसार माछाको क्षेत्र विस्तार र उत्पादनलाई उद्योगसँग जोडेर किसानलाई व्यवसायीकिकरण गर्ने उद्देश्यले माडीमा जोन स्थापना गरिएको छ । यस वर्ष कार्यालयले मत्स्य पर्यटन प्रवर्द्धन, माछाको उन्नत प्रविधि प्रवर्द्धन, एकीकृत माछापालन, नश्ल सुधार, ह्याचरी सुदृढीकरण, पोखरी निर्माण तथा सिँचाइलगायत क्षेत्रमा परियोजनाले काम गर्ने छ । यो आर्थिक वर्षमा यी कामका लागि रु करोड १७ लाख बजेट विनियोजन गरिएको छ ।

    यस वर्ष कार्यक्रम सञ्चालनका लागि परियोजनाले किसानलाई सूचीकृतका लागि आह्वान गरेको छ । परियोजनाले माछाको सामुदायिक फिड मिल तथा भण्डारणगृह निर्माण, माछाको ह्याचरी सुदृढीकरण तथा सञ्चालन माछापोखरी सिँचाइ तथा मर्मतसम्भार, मत्स्य पोखरी क्षेत्र विस्तारलगायत कार्यक्रममा प्रस्ताव आह्वान गरेको छ । परियोजनाका कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिने अधिकृत ढुङ्गानाले जानकारी दिए ।
    चितवनमा वार्षिक पाँच हजार मेट्रिक टन माछा उत्पादन हुने गर्छ । जिल्लाभर एक हजारभन्दा बढी हेक्टर क्षेत्रमा माछापालन गरिएको पशु सेवा कार्यालयका मत्स्य विकास अधिकृत भीमदत्त भट्टले जानकारी दिए ।

    माडीका सबै वडामा माछापालन हुने गरेको छ । यहाँ पाँच सय हेक्टर क्षेत्रफलमा माछापोखरी निर्माण गरिएको छ । माडीमा आठ सय हेक्टरमा माछापालन क्षेत्र विस्तार गर्ने योजना रहेको परियोजनाका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिए । कार्यक्रम सञ्चालन गर्न माडीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । जोन कार्यालय सञ्चालनका लागि कोपिला सिवाकोटीको संयोजकत्वमा नौ सदस्सीय मत्स्य जोन सञ्चालक समन्वय समिति गठन गरिएको छ ।

     

  • ७३ औं मदन जयन्तीको अवसरमा माडीको पुष्प मदन वाटिकामा वृक्षारोपण

    ७३ औं मदन जयन्तीको अवसरमा माडीको पुष्प मदन वाटिकामा वृक्षारोपण

    चितवन, असार १४ –
    ७३ औं मदन जयन्तिको अवसरमा चितवनको माडीमा अवस्थित पुष्प मदन वाटिकामा वृक्षारोपण गरिएको छ ।

    नेकपा (एमाले) चितवन र मदन भण्डारी फाउण्डेसन चितवनको संयुक्त आयोजना, नेकपा एमाले माडी नगर कमिटीको व्यवस्थापन एवम् पुष्प मदन स्मृति वाटिका माडीको विशेष सहयोगमा आज वृक्षारोपण गरिएको हो ।

    विभिन्न प्रकारका बिरुवाहरु लगेर बाटिकामा रोपिएको हो । मदन भण्डारीको अस्तु उक्त स्थानमा लगेर विसर्जन गरिएको थियो । अस्तु विसर्जन गरेको ठाउँमा बरको रुख रोपिएको छ ।

    उक्त स्थानलाई राजनैतिक भ्रमण केन्द्रको रुपमा विकास गर्न विभिन्न संरचना निर्माण गरिएका छन् ।

    आजको वृक्षारोपण कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवालीले पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिकमा फुलगुच्छा अर्पण गरी वृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरे ।

    कार्यक्रममा एमाले नेताहरु यमबहादुर परियार, दावादोर्जे लामा, विजय सुवेदी, डा तिलचन्द्र भट्टराई लगायतका केन्द्रीय तथा जिल्ला नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

  • माडीका किसानलाई चैते धान सम्हाल्न चटारो

    माडीका किसानलाई चैते धान सम्हाल्न चटारो

    चितवन, जेठ २७ –

    चितवनका माडी क्षेत्रका किसान लाई यति बेला चैतमा रोपेको धान थन्क्याउन भ्याइ नभ्याइ परेको छ ।

    धान पाकेर खेतभरी झुलिरहेको अबस्थामा बर्खेधानको समेत तयारी गर्नु पर्ने भएपछी किसानहरु लाई धान सम्हान चटारो परेको हो । बिगतका बर्षहरुमा सिचाइ सुबिधा भएका क्षेत्रमा विभिन्न जातका मोटो धान लगाउने गरिएको भएपनि यसपटक भने चैतमा टाइचिन जातको धानको बीउ ल्याएर लगाएपछि उत्पादनमा समेत वृद्धि भएको छ ।

    लामो समय देखि आफुहरुले चैतेधान लगाउने गरेको भएपनि उत्पादन न्यून हुने गरेको भएपनि यसपटक टाइचन धानको बीउ ल्याएर रोपाइ गरेपछि धान उत्पादनमा वृद्धि भएको माडी नगरपालिका वडा नम्बर ७ जगन्नाथपुरीका स्थानिय खेमलाल पोखरेलले बताउनु भयो । बिगतमा दुख अनुसारको उत्पादन नभएपछि आफुहरु सधै निरासामा रहने गरेको भएपनि यसपटक टाइचन जातको धान लगाएपछी ३ कठ्ठा जमिनमै ८ क्युनिन्टल धान उत्पादन भएको बताउनुभयो ।

    टाइचन जातको धान माडी क्षेत्रमा हावापानी सुहाउदो रहेको र उत्पादन समेत वृद्धि भएकोले आफुहरु पनि उत्साहित भएको माडी ७ दिवानगरका किसान खडानन्द सुवेदीले बताउनुभयो ।

    उत्पादन राम्रो भएको र बिक्रीका लागि बजार भाउ समेत राम्रो रहेकाले आफुहरु खुशी रहेको उहाँको भनाइ छ । माडी क्षेत्रमा चैते धान चैतको पहिलो साता रोपिएको धान जेठ अन्तिम साता काटेर धन्क्याउने गरिन्छ । बर्षादको समय भएका कारण सुरक्षित तरिकाले धान थन्क्याउन तथा पराल जोगाउन आफुहरु लाई हम्मे हम्मे हुने गरेको उनिहरुको भनाइ छ ।

  • माडी–ठोरी जोड्ने केरुङ्ग खोलाको पुल उद्घाटन

    माडी–ठोरी जोड्ने केरुङ्ग खोलाको पुल उद्घाटन

    चितवन,२८ वैशाख
    माडी–ठोरी जोड्ने वैकल्पिक पुलको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ केरुङ्ग खोलामा बनेकोे पुलको उद्घाटन गरिएको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

    प्रदेश सरकारको रु ७ करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाई र फुटपाथसहित ८ दशमलव ४ मिटर चौडा रहेको छ । वि.सं. २०७९ साल चैत १९ गते सम्झौता भई निर्माण सुरु भएको पुल म्याद सकिन भन्दा ६ महिना अगाडि निर्माण सम्पन्न छ ।

    कार्यक्रममा बोल्दै पूर्वाधार मन्त्री दुलालले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी विकास निर्माणमा प्रदेश सरकार लागि परेको बताउनुभयो । जनतालाई विकास दिन प्रदेश सरकार तत्पर रहेको उहाँको भनाई छ । बजेट अभावका कारण प्रदेश सरकारले जनताको अपेक्षाअनुसार योजनाहरु बढाउन नसकेकोे उल्लेख गर्नुभयो ।

    पुलले भरतपुर २३ र २४ नम्बरलाई जोडेको छ । कार्यक्रममा पुल निर्माण गर्ने निर्माण कम्पनी केबिसी बिल्डर्स कम्पनी लिमिटेडका प्रमुख कुमार आचार्यलाई सम्मान गरिएको छ । पुल निर्माणको निर्धारित मितिभन्दा अगाडि निर्माण सम्पन्न गरेको भन्दै सम्मान गरिएको हो । निर्माण कम्पनीले समयमै निर्माण कार्य पुरा नगर्ने समस्या रहेका समयमा ६ महिना अघि निर्माण सम्पन्न गरी उदाहरणीय काम गरेको छ । कम्पनीले भरतपुरमा रहेका आयोजनाहरुको भौतिक प्रगति छिटो गरेको पाइन्छ ।

  • नेकपा एमाले माडी ९ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा मानबहादुर विष्ट

    नेकपा एमाले माडी ९ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा मानबहादुर विष्ट

    चितवन, चैत ०९
    नेकपा एमाले माडी नगरपालिका वडा नम्बर ९ चितवनको अधिवेशन सम्पन्न भएको छ ।

    अधिवेशनले मानबहादुर विष्टको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको छ ।

    कमिटीको उपाध्यक्षमा लिलाधर भण्डारी, सचिवमा हरिराम दाहाल, उपसचिवहरुमा जुली सुनार, गोपाल पौडेल रहेका छन् ।

    पार्टी नगर इन्चार्ज शिव हरि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख तारा कुमारी काजी महतो, पार्टी नगर अध्यक्ष नारायण अधिकारी, पार्टी नेता शिवजी गायक, मथुरा भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

  • निकुञ्जभित्र तार पड्किएपछि माडीमा विद्युत् सेवा अवरुद्ध, पुनःमर्मत सुरु

    निकुञ्जभित्र तार पड्किएपछि माडीमा विद्युत् सेवा अवरुद्ध, पुनःमर्मत सुरु

    भरतपुर, ५ वैशाख
    चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको थियो ।

    अरुद्ध सेवा मर्मतपछि मङ्गलबार साँझदेखि ५ सञ्चालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इञ्जीनीयर विनोद सापकोटाले जानकारी दिनुभयो । उहाँले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकिएको बताउनुभयो ।

    आज दिनभरमा विद्युत् सेवा नियमित सञ्चालनको प्रयास गरिने भन्दै पुनःमर्मतका लागि कति समय लाग्ने भन्ने टुङ्गो नभएको सापकोटाले बताउनुभयो । “आज मर्मतको काम सकेर बेलुकासम्म विद्युत् सप्लाई गर्न सकिन्छ कि भन्ने छ । अहिल्यै भन्न सक्ने अवस्था भने छैन”, उहाँले भन्नुभयो । निकुञ्जभित्रको भूमिगत तार पड्किदा माडीमा पटक–पटक विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।

    निकुञ्जभित्र आठ किलोमिटरमा चनौली–जगतपुर–माडी ३३ केभी सव–प्रसारण लाइनको केबल भूमिगत गरिएको छ । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भए पनि काम सुरु भइनसकेको इञ्जीनीयर सापकोटाले बताउनुभयो ।

    पटक–पटक विद्युत् अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन प्रभावित भएको छ भने उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चारमाध्यमलगायत सबै क्षेत्र समस्यामा परेका छन् । -राष्ट्रिय समाचार समिति (रासस)

  • चितवनको राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थ

    चितवनको राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थ

    चितवन, ५ वैशाख
    रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन दिनुभएको छ भने शास्त्रार्थ अयोध्या अनुसन्धाता लोकमणि पौडेलले सञ्चालन गर्नुएको छ ।

    यहाँ वैशाख ३ गतेदेखि रामायण पाठ परायण यज्ञ आयोजना गरिएको पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारीले जानकारी दिनुभयो । माडीको धार्मिक पर्यटन प्रवर्द्धन एवं अयोध्याधाममा सुविधासम्पन्न धर्मशाला, उद्यान र राष्ट्रिय झण्डा निर्माणको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

    तीन दिन सञ्चालन भएको रामकथा पाठपारायणमा राष्ट्रिय कलाकारद्वारा झाँकी प्रदर्शन गरिएको थियो । यज्ञमा बिहान ७ देखि राति ११ बजेसम्म राष्ट्रिय कलाकारद्वारा भजन, दैनिक पूजाअर्चना र मूल पाठपारायण गरिएको प्रचारप्रसार संयोजक रामु भण्डारीले जानकारी दिनुभयो ।

    राम मन्दिरमा शास्त्रार्थ पहिलोपटक आयोजना भएको छ । अयोध्याका विषयमा पुनःजागरण ल्याउन शास्त्रार्थ आयोजना गरिएको अनुसन्धाता पौडेलले बताउनुभयो ।

    पर्वतको फेदमा रहेको माडी अयोध्या, पश्चिम बगेका नदी र तिनमा पाइने शालिग्राम चक्रका कारण यहाँ अयोध्याका प्रशस्त प्रमाण रहेका उहाँले बताउनुभयो । पाण्डव मन्दिर, द्रौपदी कुवा (भीम कुवा)लगाय प्राचीन संरचना माडीमा छन् । उहाँले माडीमा राममन्दिर निर्माणको योजना रहेको जानकारी दिनुभयो । -राष्ट्रिय समाचार समिति (रासस)