Category: खैरहनी

  • चितवनका एमाले जनप्रतिनिधिबीच अन्तरक्रिया : जनचाहना अनुसार काम गर्ने भनाइ

    चितवनका एमाले जनप्रतिनिधिबीच अन्तरक्रिया : जनचाहना अनुसार काम गर्ने भनाइ

    चितवन, ३२ असार –
    नेकपा एमालेबाट चितवनका विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफुहरु बिकास, सुशासन र पारदर्शीतालाई मुलमन्त्र बनाएर अघिवढ्ने साझा प्रतिवद्दता ब्यक्त गरेका छन् ।

    प्रेस चाैतारी चितवनले आज आयाेजना गरेको अन्तरक्रियामा बाेल्दै जनप्रतिनिधिहरुले जनचाहना अनुरुपका काम शुरु गरेको जनाएका हुन् ।

    कार्यक्रममा कालिका नगरपालिकाका मेयर बिनाेद रेग्मीले पालिकाकाे सर्वाङ्गिण बिकास, शुसासन निर्माण र पारदर्शीता कायम गर्न कुनै कसर बाकि नराखिने बताउनुभयो ।

    बिकासका काममा हुनेगरेका ढिलासुस्ती राेक्न अभियान नै थालेकाे रेग्मीले बताउनुभयो । पालिकमा प्रेस मैत्री वातावरण कायम गर्ने जनप्रतिनिधिहरुले प्रतिवद्दता पनि ब्यक्त गरे ।

    माडी नगरपालिकाका मेयर ताराकाजी कुमारी महताेले बिकास निर्माण , सुशासन संगै प्रेस मैत्री कार्यसञ्चालनमा आफुहरु सचेत रहेकाे बताउनुभयो ।

    रत्ननगर नगरपालिकाका उप-मेयर यादवप्रसाद पाठकले जनप्रतिनिधिले गर्ने राम्रा कामकाे उजागर र खराब कामकाे आलोचना गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
    “हामी अत्यन्त ईमान्दारीपूर्वक जिम्मेवारी निभाउने छाै, राम्रा कामकाे उजागर र नराम्रो भएको छ भने आलोचना गरिदिनुस् ।” पाठकले भन्नुभयो ।

    एमाले पार्टीले गरेकाे बिश्वास र आम जनताले गरेको भराेसा टुट्न नदिने प्रतिवद्दता जनप्रतिनिधिहरुकाे थियाे ।

    कार्यक्रममा एमाले पाेलिट्व्युराे सदस्य देवी ज्ञवाली , जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने, जिसस प्रमुख नारायण प्रसाद अधिकारी , ईच्छाकामना गाउँपालिका प्रमुख दानबहादुर गुरुङ लगायतले पनि मन्तब्य राख्नुभएको थियाे ।

    प्रेस चाैतारी जिल्ला शाखा चितवनका अध्यक्ष सुवास पण्डितकाे सभापतित्वमा भएको कार्यक्रममा चाैतारी चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पाेखरेल, केन्द्रीय सदस्यहरु तीर्थ नेपाल, प्रतिमा शिलवाल, पूर्व केन्द्रीय सदस्य तिलक रिमाल, बागमती प्रदेश सदस्य कृष्ण खनाल ,रामकान्त पाैडेल लगायतले जनमैत्री शासन र प्रेस मैत्री वातावरणकालागि जनप्रतिनिधिहरुलाई सुझाव ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा चाैतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियाे भने सञ्चालन सचिव मुकुन्द भुषालले गर्नुभएको थियाे ।

  • खोलामा नुहाउन जाँदा डुबेर चितवनका सुरजको मृत्यु

    खोलामा नुहाउन जाँदा डुबेर चितवनका सुरजको मृत्यु

    चितवन, असार २०
    चितवनको खैरहनी नगरपालिका ५ स्थित ढुम्रे खोलामा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ ।

    आज (सोमबार) बिहान ११ः१५ बजेको समयमा नुहाउने क्रममा हेटौडा उपमहानगरपालिकाका ३२ वर्षीय सुरज बस्नेतको मृत्यु भएको हो ।

    सुरज ११ बर्षका भान्जा मुकेश पौडेलसँग नुहाउन खोलामा गएका थिए । उनको शव करिव २०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

  • चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    चितवन, असार १८ –
    चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

    आज (शनिबार) विहान ८ बजेको समयमा खैरहनी नगरपलिका वडा नम्बर १३, स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय सिम्रेनी निवासी ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

    जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार बाघको आक्रमणबाट गम्भीर घाइते भएकी गुरुङको पूरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको छ ।

    चितवनमा पछिल्लो समय बाघ आतंक नै मच्चिएको छ । पछिल्लो तीन महिनामा मात्रै जिल्लामा १० जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् ।

  • आगामी आवको लागि चितवनका सात पालिकाले ल्याए ११ अर्ब ६५ करोड बजेट

    आगामी आवको लागि चितवनका सात पालिकाले ल्याए ११ अर्ब ६५ करोड बजेट

    कुलप्रसाद काफ्ले
    चितवन, ११ असार-

    चितवनका सात वटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन् । दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले पहिलो आवको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।

    जिल्लाका सात पालिकाले आगामी आवको लागि ११ अर्ब ६५ करोड ८ लाख ३९ हजार रुपैयाँको बजेट ल्याएका छन् । सबैभन्दा धेरै भरतपुर महानगरपालिकाको बजेट छ भने सबैभन्दा थोरै इच्छाकामना गाउँपालिकाको छ । बजेटमाथि कार्यपालिका सदस्यका बीचमा दफावार छलफलपछि केहि दिनमा नै बजेट पारित गर्नुपर्ने व्यवस्था छ ।

    भरतपुर महानगर

    भरतपुर महानगरको बजेट सात पालिकाको कुल बजेटको आधा छ । महानगरले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बजेट ल्याएको छ । महानगरको नगरसभाको ११औँ अधिवेशनमा नगर उपप्रमुख चित्रसेन अधिकारीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गरेका हुन् ।

    आगामी आवको बजेटका लागि आन्तरिक आयमा एक अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात एक अर्ब ३० करोड र मर्मत सम्भार कोषबाट ४ करोड प्राप्त हुने अनुमान छ ।

    सडक बोर्ड नेपालबाट ३ करोड, अन्तरसरकारी अख्तियारी शीर्षकमा एक अर्ब ४० करोड र जिल्ला समन्वय समितिबाट ५ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ । महानगरले अधुरा आयोजनाका लागि एक अर्ब ३० करोड रुपैयाँ छुट्याएको छ । वडास्तरबाट हुने आयोजनाका लागि प्रत्येक वडालाई दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको अधिकारीले बताए ।

    राप्ती नगरपालिका

    राप्ती नगरपालिकाले आगामी आवका लागि ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एघारौँ नगर सभाले आगामी आवको लागि ९० करोड ९२ लाख ६४ हजार बराबरको बजेट ल्याएको हो । सभामा नगर उपप्रमुख देवेन्द्र लामाले आगामी आर्थिक वर्षको बजेट पेस गरेका थिए ।

    उपप्रमुख लामाका अनुसार चालुतर्फ ५३ करोड २० लाख तथा पुंजीगततर्फ ३७ करोड ७२ लाख ६४ हजार बराबरको बजेट छ । नगरले आन्तरिक स्रोतबाट ८ करोड ५० लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ । संघ र प्रदेशको अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट ६३ करोड १८ लाख ८८ हजार रुपैयाँ प्राप्त भएको छ ।

    नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शमशेर लामाले कृषि र किसान लाभान्वित हुने कार्यक्रम ल्याइएको बताए । कृषि क्षेत्रको विकासका लागि बीमा सुविधा, भण्डारण, कृषि सामाग्रीको सरल र नियमित उपलब्धता, सिंचाई लगायतको व्यवस्था गरिने प्रमुख लामाले बताए ।

    खैरहनी नगरपालिका

    खैरहनी नगरपालिकाले आगामी आवका लागि १ अर्ब १ करोड १२ लाख ५१ हजार रुपैयाँ बजेट ल्याएको छ । शुक्रबार भएको नगर सभामा नगर उपप्रमुख कविता उप्रेतीले नगर प्रमुखले पेश गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट पेश गरेकी हुन् ।

    प्रस्तुत बजेटमा आन्तरिक आम्दानी १५ करोड ८ लाख संकलन हुने अनुमान छ । त्यस्तै जिल्ला समन्वय समितिबाट प्राप्त हुने सहयोग ५० लाख, संघीय सरकार सशर्त अनुदान ४ करोड, समानीकरण अनुदान १८ करोड १८ लाख, राजस्व बाँडफाँट भई प्राप्त हुन आउने ११ करोड ५७ लाख, समपुरक अनुदान १ करोड २० लाख र विशेष अनुदान ३ करोड ५८ लाख आउने अनुमान छ ।

    प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड ४२ लाख, समानिकरण अनुदान १ करोड ७८ लाख, राजस्व बाँडफाँट भई आउने सवारी साधन कर ६ करोड ९४ लाख, विषेश अनुदान ६५ लाख, समपुरक अनुदान १ करोड ६२ लाख, सडक बोर्ड नेपालबाट ५० लाख र भारतीय दूतावासबाट प्राप्त हुने अनुदान ३ करोड ४ लाख बजेटमा समावेश गरिएको छ ।

    कालिका नगरपालिका

    कालिका नगरपालिकाले आगामी आवको लागि ८५ करोड ९७ लाख ५१ हजार रुपैयाँ बजेट ल्याएको छ । शुक्रबार नगर सभाको ११औँ अधिवेशनमा उपप्रमुख विमला तामाङले बजेट प्रस्तुत गरेकी थिइन् ।

    संघीय सरकारबाट समानिकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ४२ लाख, विशेष अनुदान १ करोड, राजस्व बाँडफाँटबाट ११ करोड ६० लाख ४ हजार, समपुरक अनुदान १ करोड, खानी तथा खनिज रोयल्टी ५ लाख र वन रोयल्टीबाट ५ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

    प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ४९ लाख, सशर्त अनुदान २ करोड ३९ लाख ६६ हजार, राजश्व बाँडफाँटबाट ५ करोड ५० लाख २९ हजार र समपुरक अनुदान २ करोड ९९ लाख ९८ हजार रुपैयाँ प्राप्त हुने तामाङले जानकारी दिइन् । नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ ।

    यसका अलवा मालपोत कार्यालयबाट ४ करोड, राजश्व बाँडफाँट र खोलाजन्य पदार्थबाट १ करोड, जिल्ला समन्वय समितिबाट १ करोड, सडक बोर्डबाट ४० लाख, जनसहभागिताबाट १ करोड र नगर मौज्दात १० करोड रहने अनुमान छ ।

    रत्ननगर नगरपालिका

    रत्ननगर नगरपालिकाले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १ अर्ब ३७ करोड २७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुख यादवप्रसाद पाठकका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट ११ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

    संघीय सरकारको राजश्व बाँडफाँडबाट १२ करोड २८ लाख ८० हजार, वित्तीय समानीकरण अनुदान २० करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ७६ लाख, विशेष अनुदान ५० लाख, सडक बोर्डबाट प्राप्त ८ लाख, सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

    प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ७ करोड ७५ लाख ५१ हजार, वित्तीय समानिकरण अनुदान २ करोड ८ लाख ७५ हजार, सशर्त अनुदान ४ करोड ५ लाख, समपुरक अनुदान २ करोड ७५ लाख ७१ हजार, विशेष अनुदान ३५ लाख, पूर्वाधार विकास कार्यक्रम २ करोड ६७ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ ।

    त्यस्तै, जिल्ला समन्वय समितिबाट ८० लाख र जनसहभागिताबाट १ करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाले ११ वटा गौरवको योजनालाई प्राथमिकता दिएको छ ।

    माडी नगरपालिका

    माडी नगरपालिकाले एक अर्ब ७ करोड ८० लाख ८२ हजार बजेट ल्याएको छ । नगर उपप्रमुख खेम महतोले चालुतर्फ ४१ करोड ५० लाख र पुँजीगततर्फ ६५ करोड ४८ लाख १६ हजार विनियोजन गरिएको बताए ।

    आगामी आवको बजेटका लागि आन्तरिक स्रोतबाट १४ करोड २० लाख ७० हजार, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ७५ करोड ८२ लाख र राजस्व बाँडफाँड, जिसस, जनसहभागिता लगायतबाट १७ करोड ९५ लाख ४६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । माडीमा कृषि, पर्यटन, सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

    इच्छाकामना गाउँपालिका

    इच्छाकामना गाउँपालकाले आगामी आवको लागि ६७ करोड ५५ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले सबैभन्दा धेरै पूर्वाधार विकासमा बजेट छुट्याएको छ, जसमा आठ करोड ८४ लाख रुपैयाँ रहेको छ । स्थानीय सडक, पुल तथा झोलुंगे पुल निर्माणको लागि मात्रै पाँच करोड ७७ लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।

    गाउँपालिकाले कृषि क्षेत्रको लागि एक करोड २८ लाख रुपैयाँ छुट्याएको छ । सामाजिक विकासतर्फ तीन करोड ७६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । स्वास्थ्यतर्फ महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन भत्ता, इच्छाकामना अस्पताल निर्माण, गर्भवती स्वास्थ्य पोषणलगायतले प्राथमिकता पाएको छ ।-न्युज कारखाना

     

  • चितवनको खैरहनीमा बाली उत्पादन पश्चात हुन सक्ने क्षति न्यूनीकरण सम्बन्धी तालिम

    चितवनको खैरहनीमा बाली उत्पादन पश्चात हुन सक्ने क्षति न्यूनीकरण सम्बन्धी तालिम

    चितवन, असार ६ –

    पूर्वी चितवनको खैरहनीमा बाली उत्पादन पश्चात हुन सक्ने क्षति न्यूनीकरण सम्बन्धि तालिम सम्पन्न भएको छ ।

    फलफूल तथा तरकारीजन्य बाली उत्पादन र बजारीकरणको समयमा हुन सक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले सो तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

    खैरहनी नगरपालिकाको आयोजना तथा फलफूल तथा तरकारी मुल्य श्रृङ्खला VCDP को आर्थिक सहयोगमा संचालित उक्त तालिममा १२५ जना कृषकहरुको सहभागिता रहेको थियो । खैरहनी १,२,४,५,६ का कृषकहरु सम्मिलित उक्त तालिममा बालीको प्रकृति अनुसारको टिपाइ, भण्डारण र प्याकेजिङ्ग गर्ने तरिकाहरु सिकाइएको थियो ।

    यस अघि रत्ननगर नगरपालिकाको पाँच ओटा वडाका किसानहरुका लागि यसै प्रकृतिको तालिम संचालन गरिसकेको र छिट्टैनै राप्तिमा पनि यस्तै तालीम संचालन गरिने VCDP का कृषि अधिकृत राम थापाले बताउनु भयो ।

    तरकारी तथा फलफूल उत्पादन पश्चात् टिपाई र प्याकेजिङ्ग गर्ने सहि तरिका नजान्दा किसानहरुले १० देखि ३० प्रतिशतसम्म नोक्सानी व्यहोर्ने गरेको तालिमका प्रशिक्षक तथा खैरहनी नगरपालिका कृषि शाखा प्रमुख दिपेन्द्र अर्यालले बताउनुभयो । बाली भित्र्याउने समयमा भण्डारण गर्ने तरिका नजान्दा किसानहरुले लाखौं नोक्सानी व्यहोरेको उनको दाबी छ ।

    कृषि प्राविधिक यमुना सापकोटाले सहजीकरण गर्नुभएको उक्त तालिममा दिपेन्द्र अर्याल, राम थापा, ध्रुव आचार्य, नित्या दाहाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।

  • चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी

    चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी

    चितवन, १ जेठ-

    चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ । खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उमेदवार निर्वाचित भएका हुन् । खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

    खैरहनी नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचित भएका छन् । भुसाल एक हजार ९४ मत ल्याएर विजयी भए । उनका निकतम प्रतिस्पर्धी एमालेका बसन्त लामिछानेले ९ सय ३३ मत ल्याए । वडा सदस्यमा कांग्रेसका दिपेन्द्र चौधरीले ९ सय ८२ र एमालेकी अनिता नेपालले ९५०, महिला सदस्यमा एमालेकी बुधरमिया महतोले एक हजार ७९ र दलित महिला सदस्यमा एमालेकै सिर्जना सुनारले एक हजार ४२ मत ल्याएर निर्वाचित भएका छन् ।

    खैरहनी नगरपालिका–२ मा कांग्रेसको प्यानल नै विजयी भयो । अध्यक्षमा कांग्रेसका रोहिणीप्रसाद उप्रेती ११ सय ६८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रकमल पाण्डेले ५८४ मत मात्रै प्राप्त गरे । खुला सदस्यमा युवराज बोगटी र आशी दराई, महिला सदस्यमा कमला खनाल र दलित महिला सदस्यमा मिना सुनार निर्वाचित भए ।

    कालिका नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका सन्तवीर स्याङ्तान ८९६ मत ल्याएर निर्वाचित भए । स्याङ्तानले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोमजनलाई ५३ मतान्तरले पराजित गरे । बोमजनले ८४३ मत प्राप्त गरे । सदस्यमा एमालेका ओमकार खड्का, जीवन लामा, महिला सदस्यमा एमालेकी सरस्वती खत्री र दलित महिला सदस्यमा एमालेकै लक्ष्मी परियार निर्वाचित भइन् ।

    कालिका–१० को अध्यक्षमा कांग्रेसका नरजंग प्रजा ४९२ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी एमालेका धनवीर प्रजाले ३०१ मत मात्रै प्राप्त गरे । खुला सदस्यमा कांग्रेसका रोमन श्रेष्ठ, माओवादीकी सुमित्रा तमाङ श्रेष्ठ, महिला सदस्यमा माओवादीकी सन्जु तमाङ र दलित महिला सदस्यमा ताराकुमारी विक निर्वाचित भइन् ।-न्युज कारखाना

     

  • लालमणी चौधरी : जसको नेतृत्वले खैरहनी निरन्तर उत्कृष्ट बन्यो

    लालमणी चौधरी : जसको नेतृत्वले खैरहनी निरन्तर उत्कृष्ट बन्यो

    खैरहनी, २७ वैशाख-

    सरकारी जागिर खाएको भए सहसचिव, सचिव भएर अहिले अवकास हुने वेला हुन्थ्यो । संगै पढेका साथीहरु सरकारी जागिरपछि अवकास पनि भईसके । तर लालमणी चौधरीलाई जागिर भन्दा पनि राजनीतिबाट समाजका लागि केही काम गर्छु भन्ने लाग्यो ।
    रामपुर कृषि क्याम्पसमा पढ्दै गर्दा एमालेका नेताहरु भरत भण्डारी र मुकुन्द दाहाल रामपुर पुगेर चौधरीलाई स्थानीय निकायको निर्वाचनमा उम्मेदवार वन्न प्रस्ताव गरे । सुरुमा आनाकानी गरेका चौधरीले अन्ततः निर्वाचन लड्ने निधो गरे, अनि २०४९ को निर्वाचन लडे ।
    निर्वाचनमा उनी पराजीत हुन पुगे । पराजीत हुँदा कतिपनि विचलित भएनन् । पदमा नरहँदा पनि उनी निरन्तर सामाजिक काममा सलग्न भईरहे । अग्रज नेताहरुको सल्लाह अनुसार निर्वाचन लडे । पहिलो पटकनै पराजीत भए । चौधरी पहिलेका दिन सम्झदै भन्छन्, ‘सरकारी जागिरमा लागेको भए माथिल्लो तहमा पुग्थे होला । तर समाजका लागि केही गर्छु भनेर राजनीतिमा होमिए ।

    २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन खैरहनी गाविस अध्यक्ष पदमा उठ्न उनलाई प्रस्ताव आयो । प्रस्तावलाई सहर्ष स्वीकार गरेर उनी निर्वाचनमा होमिए । त्यो निर्वाचनमा उनी एमालेबाट फराकिलो मतान्तरले विजयी भए । तत्कालिन द्धन्द्धकालको समयमा उनले पाँच वर्षे कार्यकाल सफल रुपमा पुरा गरे । कार्यकाल सकिएपछि उनी विभिन्न सामाजिक काममा लागे । चौधरी पर्सा खानेपानीको अध्यक्ष, खैरहनी मावि व्यवस्थापन समिति अध्यक्ष भएर काम गरे ।
    त्यसपछि संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नम्वर १ बाट सांसदका लागि प्रस्ताव आयो । त्यो प्रस्तावलाई पनि ग्रहण गर्दै चौधरी संघीय निर्वाचनमा लडे । त्यो बेला पनि उनी सानदारका साथ विजयी भए । द्धन्द्धकालिन समय भएपनि उनी चितवनका तत्कालिन पाँच निर्वाचन क्षेत्र मध्ये एमालेबाट निर्वाचित हुने एक जनप्रतिनिधी भए । तत्कालिन नारायणी अञ्चलमा एमालेबाट चौधरी सहित अर्का एक जना निर्वाचित भएका थिए । सांसद भएपछि संविधान निर्माणमा उनको ध्यान केन्द्रित रह्यो । जातिय राज्य हुनु हुदैन भन्ने सवालमा उनले जोडदार आवाज उठाए, अन्ततः उनी सफल पनि भए ।

    गाविस अध्यक्ष, संघीय सांसद भईसकेका उनले २०७० सालमा भएको निर्वाचन आर्थिक समिति संयोजक भएर सुरेन्द्र पाण्डेलाई निर्वाचन जिताउने अभियानमा लागे । त्यो बेला पाण्डे भारी मतान्तरले पहिलो पटक सांसदमा निर्वाचित भए ।
    सांसद भईसकेका चौधरीले २०७४ को स्थानीय तह निर्वाचनमा नगर प्रमुखको टिकट पाए । त्यो निर्वाचनमा आफुलाई यो जिम्मेवारी आउँछ भन्ने थाहा नै थिएन । तर पार्टीले टिकट दिएपछि उनी नगर प्रमुखका उम्मेदवार भए । निर्वाचनमा लागे । नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र चौधरीलाई उनले पराजीत गरेर उनी खैरहनीको पहिलो नगर प्रमुख बने ।

    नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा न्युन स्रोत साधन र कम जनशक्ति थियो । नगरपालिका सञ्चालन गर्न चुनौती थियो । तर संविधानले दिएको अधिकार प्रयोग गर्दै नगर प्रमुख बनेका चौधरीले करदेखी कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापनलाई प्राथमिकता दिएर अघि बढे । उनको नेतृत्वले नगरपालिका सम्हाल्दा झण्डै ९६ लाख रुपैयाँ मात्र वार्षिक आम्दानी थियो । कर वृद्धी र दायरा वढाउने काम गरेर उनले आन्तरीक आम्दानीलाई ह्वात्तै बढाउने काम गरे । अहिले खैरहनी नगरपालिका आन्तरीक आम्दानीमा चितवनकै सर्वाधिक आम्दानी गर्ने नगर बनेको छ ।
    फुच्चे नगरपालिका चार पटक उत्कृष्ट
    साविकको खैरहनी, चैनपुर, कुमरोज र कठार गाविसलाई एकठाउँ ल्याएर बनाइएको यो नगरपालिका क्षेत्रफलका हिसाबले जिल्लाकै ’फुच्चे’ स्थानीय तह हो । ८५.५७ वर्ग किलोमिटर मात्रै क्षेत्रफल ओगटेर नगरपालिका बन्दा यहाँ न प्रशासन चलाउने संरचना थियो, न गाभिएका गाविसहरू सँग पर्याप्त स्रोत नै थिए ।
    अधिकांश मानिस कृषिमा आधारित भए पनि व्यावसायिक कृषि नगन्य थियो । थारू समुदायको बसोबास बढी रहेको यस क्षेत्रमा शिक्षा, स्वास्थ्यको अवस्था कमजोर थियो । उद्योग, पर्यटन लगायत क्षेत्रले प्रचुर सम्भावना भएर पनि गति लिन सकिरहेका थिएनन् । २०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि भने खैरहनी नगरपालिकाले विकासको गति लियो ।

    निर्वाचित भएर आएका जनप्रतिनिधिको परिपक्व कामले खैरहनी जिल्लामा मात्रै नभएर देशमै उत्कृष्ट नगरपालिका बन्न सफल भएको स्थानीय बताउँछन् । नगर प्रमुख चौधरीको नेतृत्वमा रहेको खैरहनी नगरपालिकाले वितेको पाँच वर्षमा स्थानीय तह सस्थागत क्षमता विकास स्वमुल्यांकनमा देशभरकै उत्कृष्ट बन्दा चितवन प्रथम भयो । सूचना प्रविधि लेखाजोखा मुल्यांकनमा पनि खैरहनी उत्कृष्ट बन्यो ।
    खैरहनी नगरपालिकाले युवाहरूलाई गरेको प्रोत्साहन र यहाँका युवाले पाएको सफलताका आधारमा युवा प्रतिभा पुरस्कार पनि जित्यो । स्थापना हुँदा ९८ लाख रूपैयाँको मात्र स्रोत रहेको खैरहनीसँग अहिले १७ करोडभन्दा बढीको स्रोत तयार भइसकेको छ । यसले आन्तरिक स्रोत परिचालन गरेर स्थानीय विकास निर्माण तथा अन्य गतिविधि सञ्चालन गर्न नगरपालिकालाई सघाउ पुगेको छ ।

    नगरपालिकाका निवर्तमान प्रमुख लालमणि चौधरीले प्रशासन चुस्त बनाउँदै कृषि, उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउँछन् । ‘विगतमा गाविस हुँदा अधिकार कम थियो। साना–साना गाविसहरूमा बजेट पनि कम हुन्थे, केन्द्रसम्म पहुँच थिएन, त्यसैले सम्भावना भएर पनि हाम्रो ठाउँ पछि पर्दै आएको थियो,’ चौधरीले भने, ‘नयाँ संविधानले स्थानीय तहको अधिकार बढायो । नगरपालिका बनेपछि त्यहीअनुरूप बजेट पनि प्राप्त हुन थाल्यो, अहिले हाम्रो ठाउँमा विकासको लहर आउँदैछ ।’

    खैरहनी नगरपालिकाले हरेक निर्णय सर्वसम्मत गर्न सफल हुनुलाई पाँच वर्षे कार्यकालको सबभन्दा ठूलो उपलब्धि मानेको छ । नयाँ नगरपालिकामा पहिलो पटक जनप्रतिनिधि भएर आएकाहरूका लागि भौतिक र प्रशासनिक संरचना तयार पार्नु, आर्थिक गतिविधि चुस्त पार्दै स्रोत बढाउनु र सेवा प्रवाह प्रभावकारी बनाउनु ठूलो चुनौती थियो । पाँचवर्षे कार्यकालमा यो चुनौती पनि पार गरेको चौधरी बताउँछन् ।
    नगरपालिका भित्र सहकारी संस्थासँग समन्वय गरेर धान, मकै, गहुँ प्रशोधन केन्द्र, पशु दाना मिल, मह प्रशोधन केन्द्र, दुधजन्य पदार्थ उत्पादन गर्ने प्लान्ट, शितभण्डार, तरकारी बजार, हाटबजार व्यवस्थापन गरेर कृषिको बजारीकरणका लागि काम गरेको निवर्तमान प्रमुख चौधरीले बताए ।
    यस बाहेक कृषिमा आधुनिकीकरणका लागि किसानहरूलाई मेसिन, बीउमा अनुदान दिइएको उनले बताए । पशुपालनमा अनुदानको व्यवस्था र किसानलाई निःशुल्क कृषि बिमाको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।
    पूर्वाधारमा ठूलो सफलता
    खैरहनी नगरपालिकाले पाँच वर्षमा ६ वटा ठूला पुल आन्तरिक बजेटबाटै निर्माण गरेको छ । आन्तरिक स्रोतबाटै साना कल्भर्टहरू दर्जनौं बनेका छन् । ४० किलोमिटर भन्दा बढी नाला र ६० किलोमिटर भन्दा बढी सडक कालोपत्र गरेको छ । विद्यालय भवन, १३ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र बनाएको र १५ शैय्याको नगरस्तरीय अस्पताल निर्माणाधिन अवस्थामा छ ।
    नगरपालिकाले २८ परिवार मुसहरका लागि घर बनाइदिएको छ । २८ घर रहेको सुकुम्बासी बस्ती स्थानान्तरण गरेर उनीहरूका लागि घर बनाइदिएको हो । उनीहरूको जीविकोपार्जनका लागि बाख्रापालन, कृषि, घरेलु उद्योगजस्ता आयआर्जनका गतिविधिमा पनि नगरपालिकाले सघाएको छ ।
    पाँचवटा खोला यो नगरपालिकालाई चिरेर बगेका छन् । ती खोला नियन्त्रण गर्नु खैरहनीका सामु ठूलो चुनौती छ । मेयर चौधरीले खोला व्यवस्थापनका लागि भारतीय दूतावाससँग समन्वय गरेर काम अगाडी बढाएकोछ ।
    चौधरीले आफ्नो पाँचवर्षे कार्यकालमा विद्यालयको भौतिक संरचना निर्माणका लागि काम गरेको भन्दै अब शैक्षिक गुणस्तर विकासमा केन्द्रित हुनुपर्ने बताए । भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धिका केही संकेत देखिन थालेको उनले बताए । उनकाअनुसार नगरपालिकामा हाल एमबिबिएस डाक्टर मात्रै रहेकामा अब कम्तीमा एक जना विशेषज्ञ डाक्टरसहति चार जना डाक्टर एक्सरे, भिडिओ एक्सरेसहितको सेवा सुरु भएको छ ।
    नगरपालिका कार्यवहाक नगर प्रमुख समेत रहेकी सुनिता खरेल थपलियाले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, निर्वाचित अन्य जनप्रतिनिधि र कर्मचारीको ‘टिम’ मिल्दा काम गर्ने वातावरण बनेको बताउँछिन् । टोल विकास समितिदेखि माथिका सबैले मिलेर काम गर्दा नगरपालिका नयाँ भए पनि पुरानाले भन्दा राम्रो काम गर्न सकेको उनको दावी छ ।
    ‘सबैले ऐन, नियमलाई टेकेर आफ्नो जिम्मेवारी पूरा गर्दा जनताले पनि राम्रो सेवा पाए, नगरपालिकाको प्रतिष्ठा पनि बढ्दै गयो,’ उनले भनिन्, ‘यो पाँच वर्षमा हामी नगरपालिकामा सिस्टम बसाउनमा सफल भएका छौं । यो जगमा टेकेर अबको पाँच वर्षमा धेरै राम्रो नतिजा दिन सकिन्छ ।’
    पुनः नगर प्रमुखको दौडमा चौधरी
    खैरहनीका संस्थापक नगर प्रमुख समेत रहेका लालमणि चौधरी दोश्रो कार्यकालका लागि नगर प्रमुखको दौडमा छन् । गठवन्धन उनका लागि चुनौती भएपनि पाँच वर्षमा विवाद रहित तरिकाले काम गर्दा उनलाई भरोसा गर्ने धेरै छन् । त्यसैले पनि उनलाई यो निर्वाचन सहज हुन सक्छ । पुनः नगर प्रमुखको उम्मेदवारी दिएका चौधरीले निर्वाचित भएमा केही लोक कल्याणकारी कार्यक्रमलाई अघि सार्ने योजना वनाएका छन् ।
    पूर्वाधारको काम धेरै भईसकेको भन्दै उनले जनता लक्षित कार्यक्रम आवश्यक रहेको उनको बुझाई छ । उनले आगामी कार्यकालमा ५ सय गरिब विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना वनाएका छन् । ‘स्वास्थ्य उपचारकै लागि धेरै मान्छे आर्थिक अभावमा भौतारिरहेको पाईन्छ’, चौधरी भन्छन्, ‘नगरपालिकाले त्यस्ता गरिव, विपन्न परिवारको बीमा गरिदिएमा धेरै समस्या समाधान हुन्छ ।’
    त्यस्तै मृगौला रोगीका लागि मासिक पाँच हजारको व्यवस्था गर्ने, १० हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको महसुस नगरपालिकाले तिर्ने व्यवस्था मिलाउने उनको योजना छ ।

  • खैरहनीमा एमाले आक्रामक, विरासत जोगाउँदै थप वडा जित्ने दाउ

    खैरहनीमा एमाले आक्रामक, विरासत जोगाउँदै थप वडा जित्ने दाउ

    खैरहनी, २३ वैशाख-

    स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा दलहरुलाई आ–आफ्नो चुनावी प्रचार तथा घरदैलो कार्यक्रम गर्न भ्याईनभ्याई छ । घरदैलोको समय १० दिनको मात्र भएकाले उम्मेदवारहरु प्रत्येक घर–घरमा पुग्ने अवस्था छैन ।

    खैरहनीमा रहेका १३ वटा वडाकै घरमा पुग्न उनीहरुलाई मुस्किल छ । उनीहरुले सम्भव भएसम्म घर–घरमा पुगेर भोट मागेका छन्, त कतिपय ठाउँमा कोण सभा मार्फत आफ्ना योजना सुनाउँदै जनतालाई मत दिन आह्वान गरिरहेका छन् ।

    सत्ता गठवन्धनको चुनौती रहेपनि खैरहनीमा नेकपा एमालेका उम्मेदवारहरु आक्रमक रुपमा घरदैलोसंगै कोण सभामा व्यस्त छन् । नगर प्रमुख पदका उम्मेदवार लालमणि चौधरी, उपप्रमुख पदका उम्मेदवार कविता उप्रेती वडा–वडामा पुगेर मत मागिरहेका छन् । उनीहरुले नगरको ८ वटा वडामा घरदैलो गरिसकेका छन् । अब वडा नम्वर ८, १०, ११, १२ र १३ वाँकी छ । एमालेले अघिल्लो निर्वाचनको विरासत जोगाउँदै केही वडा थप गर्ने रणनीति बनाएको छ ।

    खैरहनीको वडा नम्वर ४ र ५ लाई कांग्रेसको गढको रुपमा लिने गरिएता पनि एमालेको घरदैलो कार्यक्रममा स्थानीयको उत्साजनक उपस्थिती र मायाले उत्साहित भएको एमालेबाट खैरहनीमा नगर प्रमुख पदका उम्मेदवार तथा पूर्व नगर प्रमुख लालमणि चौधरीले बताए । ‘घरदैलोका क्रममा स्थानीयले देखाएको सहभागीता र मायाले उत्साहित छु’, चौधरीले भने, ‘जनताको साथलाई कहिले विश्वासघात गर्दिन्, आफ्नो क्षमताले भ्याएको काम गर्नेछु ।’

    पहिलो कार्यकालमा पनि नगरको क्षमताले भ्याएसम्मको काम गरेको स्मरण गर्दै पूर्व नगर प्रमुख चौधरीले निर्वाचित भएमा लोककल्याणकारी कामलाई प्राथमिकता दिने बताए । यता सत्ता गठवन्धनमा रहेका दलहरु पनि चुनावी प्रचार प्रसार र घरदैलोलाई तीव्र पारेका छन् । खैरहनीको गठवन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छन् । नेकपा समाजवादीको भागमा प्रमुख, उपप्रमुख नपरेकाले समाजवादी अहिले चुपचाप छ । खैरहनीमा गठवन्धनबाट नेपाली कांग्रेसको भागमा नगर प्रमुख केन्द्रको भागमा उपप्रमुख परेको छ ।

  • नेकपा एसका जिल्ला सदस्यसहित वडा कमिटी नै एमालेमा समाहित

    नेकपा एसका जिल्ला सदस्यसहित वडा कमिटी नै एमालेमा समाहित

    चितवन, वैशाख २०

    नेकपा (एकीकृत समाजवादी)को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर वडा कमिटीनै नेकपा (एमाले)मा समाहित भएको छ । समाजवादीका जिल्ला सदस्य नेत्रराज ढुंगानाको नेतृत्वमा उनीहरु पुरानै घर एमालेमा फर्किएका हुन् ।

    मंगलबार एमाले फर्कनु अघि उनीहरु र एमालेका केन्द्रीय सदस्य जेएन थपलियासहित नेताहरु छलफलमा थिए । एमाले प्रवेश गर्नेहरुमा जिल्ला सदस्य ढुंगानाका साथै वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष यादव घिमिरे, वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष प्रेमबहादुर थापा मगर, केशव पौडेल, रुस्तम अन्सारी, हेम पुन, लक्ष्मण भण्डारी, खुबीराज चौधरी, कल्पना छतकुल्ली, रामकुमार उप्रेती, सीताकुमारी चौधरी लगायत हुनुहुन्छ । उहाँहरुलाई एमाले केन्द्रीय सदस्य जेएन थपलिया, खैरहनी नगरपालिकाबाट एमालेका नगरप्रमुख उम्मेदवार लालमणि चौधरी, एमाले नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीले स्वागत गर्नुभएको थियो ।

    समाजवादी परित्याग गर्नुभएका खैरहनी नगर कमिटी उपसचिव समेत रनुभएका ढुंगानाले समाजवादीको नेतृत्व तहबाट राम्रो काम भएको अनुभव नभएपछि एमालेमा समाहित भएको बताउनुभयो । समाजवादीबाट सबै नेता कार्यकर्ताहरु एमालेमा आउने उहाँको विश्वास छ ।

  • चितवनमा वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    चितवनमा वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    चितवन, फागुन ११ –
    चितवनमा वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–७ की ३८ वर्षीया मिना चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनले वैदेशिक रोजगारीमा राम्रो कमाई हुने र चिनजानका तथा आफन्त मार्फत भिषा मगाएर विदेश पठाई दिन्छु भन्दै ३८ जनासंग पैसा असुलेकी थिइन् । उनले विभिन्न मितिमा ३८ जना व्यक्तिसंग ४५ लाख ७५ हजार रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।

    उनलाई ९ गते चितवन जिल्ला अदालतबाट म्याद लिई ठगी मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।