Category: खैरहनी

  • चितवनमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट कृष्णसार ल्याइदै

    चितवनमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट कृष्णसार ल्याइदै

    भरतपुर, २२ असार
    चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो ।

    चितवनको रत्ननगर नगरपालिकाको टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिकरूपमा अध्ययनपश्चात् आवश्यक तयारीको काम गरिएको नगरप्रमुख प्रल्हाद सापकोटाले बताउनुभयो । उहाँका अनुसार असोजसम्म यहाँ कृष्णसार ल्याउने गरी काम भइरहेको छ ।

    टिकौलीमा कृष्णसार राख्नका लागि तयार पारिएको क्षेत्रमा तारबार, घाँसेमैदान र दुईवटा पोखरी निर्माण गरिएको प्रमुख सापकोटाले जानकारी दिनुभयो । कृष्णसारलाई चितवनमा ल्याउनका लागि नगरपालिकाले अग्रसरता लिएको उहाँको भनाइ थियो ।

    नगरपालिकाको प्रमुख संरक्षकत्वमा डिभिजन वन कार्यालय चितवनले यसको व्यवस्थापनको काम गर्नेछ । कृष्णसार व्यवस्थापनका लागि नगरपालिकाले गत वर्ष रू ३८ लाख छुट्याएको थियो भने यस वर्ष रू ५० लाख बजेट विनियोजन गरेको छ ।

    कृष्णसारको संरक्षण र पर्यापर्यटनको विकासका लागि कृष्णसार यहाँ ल्याउन लागिएको प्रमुख सापकोटाले बताउनुभयो । “चितवनमा हात्ती, बाघ र गैँडाबाहेक अन्य जनावर पनि छन् भन्ने सन्देश दिने उद्देश्यले पनि हामीले कृष्णसारको स्थानान्तरणमा पहल गरेका हौँ”, उहाँले भन्नुभयो, “नयाँ वन्यजन्तुको आगमनले पर्यटकलाई नयाँ अनुभव दिन सकिन्छ ।”

    पञ्चकन्या सामुदायिक वनको टिकौलीमा १९ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार राखिने नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण गरिएको तारबार चितुवा, बाघ र हात्तीले भत्काउन नसक्ने गरी बनाइएको छ । यही सामुदायिक वनमा नगरपालिकाले हरियाली पार्कसमेत निर्माणको तयारी गरेको उहाँले बताउनुभयो ।

    कृष्णसार स्थानान्तरणका लागि स्थानीय सरकार, चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्था तथा सामुदायिक वनको संयन्त्र निर्माण गरिएको छ । अहिले कृष्णसार बर्दियाको खैरापुर र कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा मात्र पाइन्छ ।

    पूर्व प्रमुख संरक्षण अधिकृत बर्णबहादुर थापाले कृष्णसारको संरक्षणका लागि स्थानान्तरणको तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार कुनै प्रजाति एक ठाउँमा मात्र रहँदा रोग तथा बाढी, पहिराका कारण संरक्षणमा चुनौती हुने भएकाले कृष्णसारलाई चितवन ल्याउन लागिएको हो ।

    वन मन्त्रालयको निर्देशनमा राष्ट्रिय निकुञ्ज विभागले कृष्णसार स्थानान्तरणका लागि हरिभद्र आचार्यको नेतृत्वमा प्राविधिक अध्ययन टोली बनाएको थियो । प्राविधिक टोलीले ‘टिकौलीमा कृष्णसार ल्याउन र टिकाउ सम्भव छ’ भन्ने प्रतिवेदन बुझाएपछि स्थानान्तरणको तयारी गरिएको हो ।

    विसं २०७७ मा अध्ययन सुरु भएर विसं २०७८ देखि कृष्णसार ल्याउनका लागि पूर्वाधार निर्माणको काम तयारी सुरु गरिएको थियो । “प्राविधिकरूपमा व्यवस्थापनका लागि पाँचवर्षे कार्ययोजना तयार हुँदैछ”, पूर्व प्रमुख संरक्षण अधिकृत थापाले भन्नुभयो, “कार्ययोजनाको रिपोर्ट बुझाउनासाथ कृष्णसार स्थानान्तरणको काम सुरु हुन्छ ।” उहाँका अनुसार पहिलो चरणमा छ भाले र १२ पोथीसहित १८ कृष्णसार ल्याउने तयारी गरिएको छ ।

    “कृष्णसारको बासस्थानका लागि खुला घाँसेमैदान भएको ठाउँ उपयुक्त मानिन्छ । यसले काँस, दुबो, सिरु मन पराउँछ । कृष्णसारका लागि बयरको दाना र बुबुल पनि उपयुक्त घाँस हो”, डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले भन्नुभयो । कृष्णसार स्थानान्तरणका लागि तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाइ थियो । उहाँले वन कार्यालयले कृष्णसारलाई मन पर्ने बयरलगायतका जातका बिरुवासमेत रोपेको जानकारी दिँदै अनुकूल हावापानी र वातावरण भएको समय पारेर स्थानान्तरण गरिने जनाउनुभयो ।

    चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत नारायण रुपाखेती जङ्गल र झाडी भएको ठाउँ कृष्णसारका लागि उपयुक्त नभएको बताउँदै खुला र घाँसेमैदान उपयुक्त हुने बताउनुभयो । “घना जङ्गल र झाडीमा हराउने डर हुन्छ”, उहाँले भन्नुभयो, “बिहान–बेलुका घाँसेमैदानमा चर्ने र दिउँसोको चर्को घाम तापेर बस्ने यसको स्वभाव हुन्छ ।”

    कृष्णसारलाई उचित बासस्थान दिए संरक्षण सफल हुने भन्दै पूर्व संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मका अनुभवले सफलता मिल्ने बताउनुभयो । उहाँले कृष्णसार ल्याउन लागिएको टिकौली क्षेत्रमा ७० प्रतिशत घाँसेमैदान रहेको जानकारी दिनुभयो ।

    कृष्णसार नेपालको संरक्षित वन्यजन्तु हो । कुनै समय नेपालको तराई क्षेत्रमा प्रशस्त पाइने कृष्णसार पछिल्लो समय भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थालेको हो । नेपालमा कृष्णसारको सङ्ख्या चार सय ५२ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बर्दियामा एक सय ९६ र कञ्चनपुरको शुक्लाफाँटामा दुई सय ५६ कृष्णसार छन् । (रासस)

  • गैंडा मारेको मद्दामा २५ वर्षदेखि फरार चितवनका भीमबहादुर पक्राउ

    गैंडा मारेको मद्दामा २५ वर्षदेखि फरार चितवनका भीमबहादुर पक्राउ

    चितवन, असार २२–
    गैंडा मारेर खाग विक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका भीमबहादुर थापा क्षेत्रीलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

    चितवनको कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भन्ने भीमबहादुर थापा क्षेत्रीलाई निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्गदल गणको संयुक्त टोलीले पक्राउ गरेको हो । उनि २५ बर्ष देखि फरार समेत थिए ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी आजै कारागार कार्यालय भरतपुरमा चलान गरिएको जानकारी दिए ।

    चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय सुनाईएको थियो । तर भीमबहादुर कैदभुक्तान नगरी लुकीछुपी बस्दै आइरहेका थिए ।

    भीमबहादुरलाई २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिव डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैंडा मारेर खाग लगेको अभियोगमा दोषी ठहर गरिएको थियो । सो घटनामा १७ जना प्रतिवादीहरु संलग्न रहेको खुलेको थियो ।

  • यातायातमा विद्यार्थीलाई सहुलियत नदिएको बारे ध्यानाकर्षण, अनेरास्ववियु भरतपुरले अनुगमन गर्ने

    यातायातमा विद्यार्थीलाई सहुलियत नदिएको बारे ध्यानाकर्षण, अनेरास्ववियु भरतपुरले अनुगमन गर्ने

    चितवन,२० असार
    चितवन भित्र चल्ने यातायातहरुले विद्यार्थी परिचयपत्रको आधारमा यातायातमा ४५% छुट दिन अनेरास्ववियु भरतपुरले माग गरेको छ।

    विद्यार्थीहरुलाई यातायातमा छुट सहुलियत नदिएको गुनासो प्राप्त भएपछि एमाले निकट अनेरास्ववियु भरतपुरका संयोजक सुबास सुबेदीले प्रेस विज्ञप्ति जारि गर्दै सो माग गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ” भरतपुर महानगरपालिका एक स्थानीय तह मात्र नभैइ शैक्षिक हब भएकोले विभिन्न जिल्लाबाट हजारौं विद्यार्थी अध्ययनको लागि आउने गर्दछन।दैनिक सार्वजनिक यातायातबाट आवतजावत गर्ने विद्यार्थीहरुलाई यातायातमा छुट सहुलियत नदिएको गुनासो प्राप्त भएकोले अनेरास्ववियु सरोकारवाला निकायसँग समन्वय गरि अनुगमनमा निस्किने जानकारी गराउदछौँ।”

    विद्यार्थीको परिचयपत्रको आधारमा ४५% छुट दिन आवस्यक पहल गरि समस्या कार्यान्वयन तर्फ लाग्न र अनेरास्ववियु महानगर कमिटि भरतपुरले गर्ने अनुगमन कार्यमा सहयोग गरिदिन र छुट सुबिधा नदिएका यातायात व्यवसायीलाई नियमानुसार कार्बाहिको दायारामा ल्याउन अनेरास्ववियु महानगर कमिटिले आग्रह गरेको छ।

  • चितवनमा गैँडा मारेको अभियोगमा तीन पक्राउ

    चितवनमा गैँडा मारेको अभियोगमा तीन पक्राउ

    चितवन, २० असार
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ ।

    निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । निजहरुलाई वैशाख १२ गते पक्राउ गरिएको थियो । पक्राउपर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुरका होमबहादुर विक, सोही ठाउँका कृष्णबहादुर महतो र शिखाराम थारु रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गैँडाको खाग खरिदबिक्री कारोबार गर्दै गर्दा निजहरुलाई पकाउ गरिएको थियो ।

    पक्राउ परेका तीनै जना विरुद्ध डिभिजन वन कार्यालय, नवलपरासीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बरामद गैँडाको खाग चोरीशिकार गरेको स्थान चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भएकाले मुद्दा यहाँ सरी आएको पुनले जानकारी दिनुभयो ।

    निकुञ्जका अनुसार निजहरुले विसं २०७९ माघ ६ गते राति शिद्धेश्वर मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धरापमा पारी १४ वर्षको माउ र करिब चार वर्षको बच्चा मारेका थिए ।(रासस)

  • अनुचित लेनदेनविरुद्धका उजुरीमाथि चितवनमा छलफल सुरु

    अनुचित लेनदेनविरुद्धका उजुरीमाथि चितवनमा छलफल सुरु

    चितवन, १९ असार
    अनुचित लेदनदेनविरुद्ध परेका उजुरीमाथि जिल्ला प्रशासन कार्यालय चितवनले छलफल सुरु गरेको छ । गत जेठ १४ गतेसम्म परेका उजुरीमाथि दुवै पक्षलाई राखेर छलफल सुरु गरिएको कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठले जानकारी दिनुभयो ।

    कार्यालयमा ९२ जनाले अनुचित लेनदेन (मिटर ब्याज)विरुद्ध उजुरी दर्ता गरेका छन् । दर्ता भएका उजुरीलाई अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगमा पठाइएको थियो । आयोगले उजुरीमाथि छलफल चलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय चितवनले पीडित र पीडक दुवै पक्षलाई राखी छलफल सुरु गरेको हो ।

    उहाँका अनुसार अहिलेसम्म २३ वटा उजुरीमाथि छलफल भएकोमा दुईवटाको मिलापत्र भइसकेको र अन्य उजुरीको छलफलका क्रममा छन् । कार्यालयमा पीडितले ६० वटा र पीडकले ३२ वटा उजुरी दर्ता गराएका छन् । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग २०७९ ले गत जेठ १४ गतेसम्म उजुरी दर्ता गराउन आह्वान गरेको थियो ।

    यसअघि गृह मन्त्रालयले २०७९ साल साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटरब्याज पीडितविरुद्ध उजुरी दिन भनेको थियो । तत्कालीन समयमा २५ जनाले उजुरी दर्ता गराएकोमा एउटा उजुरीको छलफलबाट टुङ्गो लागेको छ भने अन्य २४ वटा अवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको थियो । (रासस)d4`1.

  • नारायणगढ–मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर–फिस्लिङ अन्तिम चरणमा

    नारायणगढ–मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर–फिस्लिङ अन्तिम चरणमा

    भरतपुर, १९ असार
    असार महिना लागेपछि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक अवरुद्ध हुँदै आएको छ । घन्टौँसम्म सडक सञ्चालन नहुँदा हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका छन् । कतिपय यात्रु त अत्यावश्यक काम हुँदा पनि पहिराका कारण गन्तव्यमा पुग्न सक्दैनन् । यो सडकखण्डमा यस वर्षमात्र होइन, प्रत्येक वर्ष पहिराले दुःख दिने गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको सास्तीले यो सडकखण्डको वैकल्पिक राजमार्ग बनाउनुपर्छ भन्ने कुरा पटक–पटक उठ्ने गरेको छ ।

    यो राजमार्गको विकल्पका रूपमा चितवनमै अर्को पनि सडक छ । त्यो सडक हो– शक्तिखोर–फिस्लिङ ग्रामीण सडक । यो सडकखण्डको अधिकांश काम सकिएको छ । साना सवारी र मोटरसाइकलमा यो सडकखण्ड हुँदै यात्रा गर्न सकिन्छ । तर यो सडकखण्डको काम पूर्ण नहुँदा र नागरिकलाई पर्याप्त जानकारी नहुँदा वैकल्पिक सडकको रूपमा प्रयोगमा आउन सकेको छैन ।

    पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट शक्तिखोरसम्मको ४५ किलोमिटरको दूरी रहेको यो सडक ‘सिङ्गल लेन’को हो । नारायणगढ– मुग्लिन सडकखण्डमा बारम्बार सास्ती ब्यहोरेका यात्रुले फिस्लिङ–शक्तिखोर सडकलाई विकल्पका रूपमा पनि प्रयोग गर्न सक्ने इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ बताउनुहुन्छ । उहाँले यो सडक पूर्णरूपमा निर्माण सम्पन्न भएपछि इच्छाकामना गाउँपालिकाको विकासको ढोका खुल्ने बताउनुभयो । अहिले पनि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो गएको समयमा कतिपय यात्रुले यो सडकखण्ड प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

    इच्छाकामना गाउँपालिका–३ का अध्यक्ष नरबहादुर नेपालले रिग्दीखोलामा पुल निर्माण नभएका कारण यो सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आउन नसकेको बताउनुभयो । “प्रदेश सरकारबाट पुल निर्माणको काम त सुरु भएको छ, तर निर्माण सम्पन्न भएपछि मात्र सहजरूपमा यात्रा गर्न सकिन्छ”, उहाँले भन्नुभयो । तोलाङको भिरमा पहिरो गएका कारण बोलेरो गाडी मात्र छिर्न सक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । यो सडकले फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर जोड्छ ।

    प्राविधिक समस्याका कारण चार ठाउँमा सडक कालोपत्र नगरिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर राकेश रोशनले जानकारी दिनुभयो । उहाँले केही खोल्सा र खोलामा पुल निर्माणको काम बाँकी रहेको भन्दै त्यो प्रदेश सरकारबाट निर्माण भइरहेको जानकारी दिनुभयो ।

    ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत एसियाली विकास बैंकको अनुदानमा रु ८७ करोडको लागतमा ठेक्का सम्झौता भएको सडकको समयमै काम सम्पन्न नगरेका कारण निर्माण कम्पनीलाई क्षतिपूर्ति तिराउने तयारी गरिएको इन्जिनियर रोशनले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकी काम सम्पन्न गर्ने दायित्व पनि यही निर्माण कम्पनीको हो । यो वर्ष जसरी पनि काम सक्न भनेका छौँ”, पाँच–छ महिनामै यो सडकखण्डको २५ किलोमिटर क्षेत्रमा कालोपत्र भएको भन्दै उहाँले चाहेको खण्डमा एक–दुई महिनाभित्र निर्माण कम्पनीले काम गर्न सक्ने बताउनुभयो ।

    विसं २०७५ देखि निर्माण सुरु भएको यो सडकखण्डको पाँचपटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेको हो । अन्तिमपटक चैतसम्म म्याद थियो । तीन वर्षसम्म यही निर्माण कम्पनीले सडक मर्मतको काम गर्नुपर्ने इन्जिनियर रोशनले बताउनुभयो । केही वर्ष पहिले आरआरएनले रु १२ करोड खर्चेर यो सडकको ट्रयाक खोलेको थियो । चार दशमलव पाँच मिटर चौडाइको यो सडक अहिलेसम्म ३० किमीमात्रै कालोपत्र भएको छ ।

    यो सडक निर्माणको जिम्मा साङछी एन्ड आशिष जेभीले पाएको हो । साङछी एन्ड आशिष जेभीका इन्जिनियर सञ्जयकुमार महतोले आफूहरूले नै यो वर्ष काम सम्पन्न गर्ने बताउनुभयो । उहाँले चार ठाउँमा झन्डै पाँच किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले यो सडकखण्ड नारायणगढ–मुग्लिन सडकखण्डको वैकल्पिक मार्ग हुने भन्दै साना सवारीसाधन सञ्चालन गर्न सकिने बताउनुभयो । चेपाङको बाहुल्य रहेका पहाडमा कालोपत्रसहितको सडक निर्माण हुने भएपछि यहाँका स्थानीय खुसी बनेका छन् । स्थानीय वीरबहादुर चेपाङले दिनभर हिँड्नुपर्ने सडक कालोपत्र भएपछि एक–दुई घन्टामै पार गर्न सकिने बताउनुभयो । स्थानीय उत्पादनलाई बजारसम्म लैजान सडक निर्माणपछि सहज भएको उहाँले बताउनुभयो ।

    प्रदेशसभा सदस्य कृष्ण सिलवालले सडक निर्माणपश्चात पहाडी क्षेत्रमा पर्यटक चहलपहल बढ्ने र शक्तिखोर व्यापारिक केन्द्र बन्ने बताउनुभयो । उहाँले मलेखु–भण्डारा चेपाङ मार्गसमेत यो सडकमा जोडिने र नारायणगढ–मुग्लिन सडकको वैकल्पिक सडकका रूपमा विकास हुने धारणा राख्नुभयो । उहाँले सिराइचुली, उपरदाङगढी, सिन्ती झरनालाई मूल सडकमा जोड्न प्रदेश सरकार अग्रसर रहेको बताउनुभयो । (रासस)

  • चितवनका नीजि विद्यालयमा मनपरी छात्रवृत्ति वितरण : अनेरास्ववियुले जनायो आपत्ती

    चितवनका नीजि विद्यालयमा मनपरी छात्रवृत्ति वितरण : अनेरास्ववियुले जनायो आपत्ती

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, असार
     १८  –

    चितवनका नीजि विद्यालयले कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्तिमा मनपरी गरेको भन्दै अनेरास्ववियु चितवनले छात्रवृत्ति पाउने विद्यार्थीहरुको नाम सार्वजनिक गर्न माग गरेको छ ।

    आज एमाले निकट अनेरास्ववियु चितवनका संयोजक हरि आचार्यले विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘वडाध्यक्षहरुले आफू अनुकुलका विद्यार्थीहरुलाई छात्रवृत्ति दिन सिफारिस गरेको, विद्यालय प्रशासनले लगानी कर्ता, शिक्षक, कर्मचारीका छोराछोरीका नाममा छात्रवृत्ति राख्ने गरेको, निवेदन दिएका र छात्रवृत्ति पाउने विद्यार्थीका नाममा दुई महिनाको छात्रवृत्ति राखि पालिकामा पठाइएको भनि अभिभावकहरुबाट गुनासो आएको हुँदा यस विषयमा छानबिन गर्न सम्बन्धित पालिकालाई अनुरोध गर्दै, विद्यालयमा अनुगमन गर्न र १० प्रतिशत छात्रवृत्ति कडाइका साथ कार्यान्वयनमा ल्याउने उद्देश्यका साथ दबाब सृजना गर्न अनेरास्ववियु पालिका कमिटीलाई निर्देशन गर्दछौं ।’

    माध्यमिक तहसम्मको शिक्षामा नीजि तथा संस्थागत विद्यालयहरुले कुल विद्यार्थीहरुको १० प्रतिशत संख्या नघट्ने गरी छात्रवृत्ति उपलब्ध गराउनु पर्ने नियम छ । तर
    चितवनका नीजि विद्यालयले त्यो छात्रवृत्ति उपलब्ध गराउन आनाकानी गरेपछि अनेरास्ववियु चितवनले पटकपटक आन्दोलन गरी नीजि विद्यालयलाई पनि छात्रवृत्ति दिने अवस्थामा पुराएर सम्झौता गरी आन्दोलनका थप कार्यक्रम फिर्ता लिएको थियो ।

    छात्रवृत्ति दिँदा जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाती, द्वन्द्व पीडित र शहीद परिवारका विद्यार्थीहरुलाई उपलब्ध गराउनु पर्ने नियम छ । उक्त नियमभन्दा बाहिर गएर चितवनका अधिकांश नीजि विद्यालयले आप्mना मान्छेलाई छात्रवृत्ति प्रदान गरेको अभिभावकहरुको गुनासो छ । उक्त गुनासा ेआएपछि अनेरास्ववियुले सबै पालिका, प्याब्सन चितवन र अभिभावक संघलाई विज्ञप्ति दिँदै यसतर्फ ध्यानाकर्षण गराएको हो ।

    छात्रवृत्ति आवश्यक नपर्ने विद्यार्थीले पाएको भन्दै छात्रवृत्तिको सम्पूर्ण जानकारी सूचना पार्टीमा टाँस गरी अभिभावक र विद्यार्थीहरुलाई सूचित गराउन विद्यालय संचालकहरुलाई अनेरास्ववियुले माग गरेको छ । यदि त्यसो नगरे अनेरास्ववियु फेरि पनि आन्दोलनमा उत्रन बाध्य हुने र त्यसबाट सृजना हुने परस्थितिको जिम्मेवारी स्वयम विद्यालयले लिनुपर्ने अनेरास्ववियुको चेतावनी छ ।

     

  • चितवनको खैरहनी नगरपालिकाले ल्यायो चालु आर्थिक वर्षको भन्दा ४१ करोड  कम बजेट

    चितवनको खैरहनी नगरपालिकाले ल्यायो चालु आर्थिक वर्षको भन्दा ४१ करोड कम बजेट

    चितवन, असार ११

    चितवनको खैरहनी नगरपालिकाको बजेटको आकार घटेको छ ।

    नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले पेस गरेको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ४१ करोड ३४ लाख ८० हजार कम छ ।

    नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ९४ करोड ८८ लाख ९५ हजारको बजेट पेस गरेको छ । चालु आर्थिक वर्षका लागि गत वर्ष संशोधित एक अर्ब ३६ करोड २३ लाख ७७ हजारको बजेट पेस गरिएको थियो । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले चालु खर्चतर्फ ४८ करोड २६ लाख ८४ हजार –५०.८६ प्रतिशत) र पुँजीगततर्फ ४६ करोड ६२ लाख ११ हजार –४९.१४प्रतिशत) बजेट विनियोजन गरेको छ ।

    नगरसभामा पेस भएको विवरण अनुसार आगामी आर्थिक वर्षका लागि पेस भएको बजेट आर्थिक वर्ष २०७८÷७९ को यथार्थभन्दा ०.९६ प्रतिशत बढी हो भने, चालु आर्थिक वर्षको भन्दा २८.२४ प्रतिशतले कम हो ।

    नगरपालिकाले आगामी आर्थिक वर्ष आन्तरिक आय १७ करोड ७० लाख ३८ हजार, संघीय सरकारको सशर्त अनुदान २४ करोड १४ लाख, समानीकरण अनुदान १५ करोड ७६ लाख र संघीय सरकारबाट बाँडफाँट भई प्राप्त हुने ११ करोड ३४ लाख २० हजार, भारतीय राजदूतावासबाट प्राप्त हुने आय एक करोड र चालु आर्थिक वर्षको अनुमानित बैंक मौजदात चार करोड गरी नगरपालिकाले ९४ करोड ८८ लाख ९५ हजार आय अनुमान गरेको छ ।

    यस्तै व्ययतर्फ कार्यसञ्चालन तथा प्रशासनिक खर्च ११ करोड ९९ लाख, नगरस्तरीय गौरवका आयोजनामा सात करोड ७० लाख, नगरस्तरीय योजना तथा कार्यक्रम खर्च तर्फ ४९ लाख २५ हजार, नगरस्तरीय पूर्वाधारका कार्यक्रमहरु तीन करोड ४० लाख ४० हजार खर्च हुने अनुमान छ ।

    वडास्तरीय योजना तर्फ १७ करोड २६ लाख, विषयगत शाखा तर्फ १४ करोड ५ लाख, नगरस्तरीय विभिन्न कोषतर्फ एक करोड ५० लाख, म्याचिङ फण्डमा दुई करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ ३६ करोड ४९ लाख ३० हजार गरी जम्मा ९४ करोड ८८ लाख ९५ हजार व्यय अनुमान गरिएको छ ।

  • ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ सार्वजनिक

    ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ सार्वजनिक

    चितवन, ३ असार

    पूर्वी चितवनको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणसँगै विकासको अभियान सञ्चालन गर्ने व्यक्तित्वहरूको योगदानलाई समेटिएको ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ नामक पुस्तकको विमोचन गरिएको छ । वाल्मीकि साहित्य सदनद्वारा शनिवार आयोजित कार्यक्रममा पूर्वी चितवनमा बस्ती बसाल्नेदेखि विकास निर्माणमा विशिष्ट योगदान पुर्याउनुहुने १८ व्यक्तित्वको योगदानका बारेमा चर्चा गरियो ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेलले भूराजनीति समाजसेवा भएकाले जनप्रतिनिधिले राज्यबाट सेवा–सुविधा लिनु उचित नहुने बताउनुभयो ।

    रत्ननगर नगरपालिकाका प्रमुख पल्हाद सापकोटाले पुर्खाहरूको निःस्वार्थता, अनुशासन र प्रेरणाबाट पूर्वी चितवनको विकास सम्भव भएको उल्लेख गर्दै भाषा, कला, संस्कृति, साहित्यको उन्नयनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

    नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री सावित्रीदेवी बोगटीले विमोचित पुस्तकले चितवनको इतिहासलाई उजागर गरेको बताउनुभयो । पुस्तकका लेखक राष्ट्रिय समाचार समितिका सञ्चालक समितिको सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारीले अग्रजहरूको योगदान इतिहासको दस्तावेज भएकाले यसलाई भावी पुस्तासम्म पुर्याउन पुस्तकहरूको प्रकाशन गर्नु अत्यावश्यक रहेको बताउनुभयो ।

    पुस्तकमाथि समालोचना गर्दै चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले पुस्तकले पूर्वी चितवनको इतिहासलाई जीवन्त राखेको र यस पुस्तकमा छुटेका थुप्रै व्यक्तित्वहरूलाई समेट्न अर्काे संस्करण प्रकाशन गर्न सुझाव दिनुभयो ।

    वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल, रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपानेले पूर्वी चितवनको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान पुर्याउने अग्रजहरूका बारेमा चर्चा गर्नुभयो ।

    पुस्तकमा पूर्वी चितवनमा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा योगदान पुर्याउनुभएका १८ जना अग्रजहरूको योगदानको चर्चा गरिएको छ । पूर्वी चितवनमा बस्ती बसाउनेदेखि विभिन्न राजनीतिक आन्दोलनमा योगदान पुर्याउनेहरूका बारेमा पुस्तकमा उल्लेख छ । पुस्तक एक सय ४० पृष्ठको रहेको छ । – (रासस)

  • चितवनमा कुन पालिकाले कति पाए बजेट ?

    चितवनमा कुन पालिकाले कति पाए बजेट ?

    चितवन, जेठ १७ –
    संघीय सरकारबाट चितवनका सात पालिकाले साढे चार करोड बढी अनुदान पाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत चितवनका सात पालिकालाई ४ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ अनुदान दिने भएको हो ।

    जसमा भरतपुर महानगरले १ अर्ब ७५ करोड ३ लाख अनुदान पाएको छ । जसमा १ अर्ब २६ करोड ७२ लाख सशर्त र ३९ करोड ६ लाख समानीकरण अनुदान पाएको छ । यस्तै २ करोड ७५ लाख समपूरक र ६ करोड ५० लाख रुपैयाँ विशेष अनुदान पाएको छ ।

    कालिका नगरपालिकाले संघीय सरकारबाट जम्मा ४२ लाख ७० हजार अनुदान पाउने भएको छ । कालिकाले समानीकरण अनुदानमा १३ लाख ४९ हजार, ससर्त अनुदानमा २६ लाख ९६ हजार, विशेष अनुदानमा एक लाख ५० हजार र समपूरक अनुदानमा ७५ हजार रूपैयाँ अनुदान पाउने भएको छ ।

    खैरहनी नगरपालिकाले पनि ४२ करोड ७० लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १५ करोड ७६ लाख समानीकरण, २४ लाख १४ हजार सशर्त, २ करोड विशेष र ८० लाख रुपैयाँ समपुरक अनुदान पाएको छ ।

    माडी नगरपालिकाले ४७ लाख ५१ हजार अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ । माडी नगरपालिकाले समानीकरण अनुदानमा १२ लाख १५ हजार, ससर्त अनुदानमा ३३ लाख छ हजार, विशेष अनुदानमा एक लाख ८० हजार र समपूरक अनुदानमा ५० हजार रूपैयाँ संघीय सरकारबाट पाउने भएको छ ।

    रत्ननगर नगरपालिकाले ५७ करोड १४ लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १८ करोड १४ लाख समानीकरण, ३६ करोड २० लाख सशर्त, १ करोड ६० लाख विशेष र १ करोड २० लाख समपुरक अनुदान रहेको छ ।

    राप्ती नगरपालिकाले ५३ लाख ५९ हजार अनुदान पाउने भएको छ । संघीय सरकारबाट राप्ती नगरपालिकाले समानीकरण अनुदानमा १६ लाख ४ हजार, ससर्त अनुदानमा ३४ लाख ७५ हजार, विशेष अनुदानमा दुई लाख र समपूरक अनुदानमा ८० हजार रूपैयाँ पाउने भएको छ ।

    इच्छाकामना गाउँपालिकाले ३९ लाख नौ हजार रूपैयाँ अनुदान पाउने भएको छ । संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि इच्छाकामनाले समानीकरणमा ९ लाख ८७ हजार, ससर्त अनुदानमा २६ लाख ७ हजार, विशेष अनुदानमा एक लाख ५० हजार, समपूरक अनुदानमा एक लाख ६५ हजार पाउने भएको छ ।