Category: भरतपुर

  • न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत भेटिए

    न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत भेटिए

    चितवन बैशाख १०
    भरतपुरको न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत अवस्थामा पेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदी किनारमा मैनालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    देवघाट जंगलको ढुंगेधारा ठीक तलपट्टी नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । मैनाली ३ दिनदेखि सम्पर्कबाहिर रहेका थिए ।

    भरतपुर महनगरपालिका वडा नं. ११ भोजाड बस्दै आएका ४५ बर्षका मैनालीले केहिदिन अघिमात्रै न्यू होराइजन इङ्लिस स्कुलमा सेवा आरम्भ गरेका थिए । त्यसअघि मैनाली अंकुरम एकेडेमीका सहायक प्राचार्यको रुपमा कार्यरत थिए ।

    मैनालीका श्रीमती र २ छोरीहरु हुनुहुन्छ ।

  • भरतपुरमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई चालकको मृत्यु, तीन घाइते

    भरतपुरमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई चालकको मृत्यु, तीन घाइते

    भरतपुर बैशाख ६
    भरतपुर महानगरपालिका वडा नं–२५, छाता चोकस्थित दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    बुद्धनगरबाट अमृत चोकतर्फ आउँदै गरेको ना ५१ प २०४० नम्बरको मोटरसाइकल र देवीस्थानबाट मुख्य सडकमा निस्किने क्रममा बागमती प्रदेश ०६–००२ प १३०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा ना ५१ प २०४० नम्बरको मोटरसाइकल चालक भरतपुर–२७ बस्ने ३९ वर्षीय टेकबहादुर पुलामीमगर र बागमती प्रदेश ०६–००२ प १३०४ नम्बरको मोटरसाइकल चालक भरतपुर–२० बस्ने ३५ वर्षीय विशाल भट्टराईको मृत्यु भएको छ । पुलामीमगरको पुरानो मेडिकल कलेज (सिएसएस) भरतपुरमा र भट्टराईको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    १३०४ नम्बरको मोटरसाइकलपछाडि सवार २० वर्षीय सफल पौडेल, २०४० नम्बरको मोटरसाइकलपछाडि सवार २७ वर्षीया केशरी पुलामीमगर र १७ वर्षीया सुजिता पुलामीमगर घाइते भएका हुन् ।

    घाइतेमध्ये केशरीको गम्भीर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरलिे जनाएको छ ।

  • प्रधानमन्त्री ओलीद्वारा पूर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुरको सिक्स लेनको उद्घाटन

    प्रधानमन्त्री ओलीद्वारा पूर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुरको सिक्स लेनको उद्घाटन

    चितवन, बैशाख ५ –
    पूर्व पश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ–हेटौंडा खण्डभित्र पर्ने भरतपुरको गोन्द्राङ्देखि पुल्चोकसम्मको सडक उद्घाटन भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज उक्त सडक उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा ओलीसहित उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पनि सहभागिता रह्यो ।

    नारायाणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको ६ किलोमिटर सडकलाई सिक्स लेनमा विस्तार गर्ने काम सकिएसँगै सडकको सवत्र चर्चा भइरहेको छ । एसियन मापदण्डमा बनेको सिक्स लेन हाइवेले यतिखेर चितवनको सदरमुकाम भरतपुरको सुन्दरतालाई थपेको छ ।

    एक अर्ब १३ करोड लागतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ६ लेनमा विस्तार गरिएको सडकको २०७७ माघ १७ गते तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यस गरेका थिए ।
    सडकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गरे । पूर्व–पश्चिम राजमार्गलाई विभिन्न खण्डमा विभाजन गरी थप फराकिलो बनाउने काम भइरहेको प्रधानमन्त्री ओलीले बताए ।

    सिक्स लेन सडकको जस प्रधानमन्त्री ओलीलाई कि भरतपुर महानगर प्रमुख रेनु दाहाललाई भन्ने विवाद चितवनमा यतिखेर व्यापक भइरहेको छ । उक्त कुरातर्फ इंगित गर्दै प्रधामन्त्रीले ओलीले अहिले चुनावको बेला नभएकाले त्यतातर्फ नलाग्न आग्रह गरे । एक भएर देश बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले विकासका लागि मतभेद होइन एकतामा जोड दिनुपर्ने बताएका छन् ।

    यसअघि दुई लेन मात्रै रहेको पुल्चोक गोन्द्राङ् सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै साइडतर्फ थप १/१ सर्भिस लेन तयार गरिएको छ । सडक विस्तारसँगै दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ ।

    कार्यक्रमलाई संवोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल सरकारको आन्तरिक बजेटबाट भरतपुर सिक्स लेन बनेको बताए ।

     

     

  • रास्वपा भरतपुर महानगरका कोषाध्यक्ष पौडेलद्धारा पदबाट राजिनामा

    रास्वपा भरतपुर महानगरका कोषाध्यक्ष पौडेलद्धारा पदबाट राजिनामा

    चितवन बैशाख ०५
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिकाका कोषाध्यक्ष मनरुपा पौडेलले पदबाट राजिनामा दिनुभएको छ ।पार्टीभित्रको परिवारबादको अध्यासलाई रोक्न र त्यसको बारेमा कुनैपनि आशंका नहोस भन्नका लागि पदबाट राजिनामा दिएको उल्लेख छ ।

    आफ्ना श्रीमान् कृष्णहरी पौडेल रास्वपाको केन्द्रीय शिक्षा विभागको उपप्रमुखको रुपमा सकृय राजनितिमा संलग्न रहेको भन्दै उहाँले पदबाट राजिनामा दिएको बताउनुभयो ।पौडेलले राजिनामा पत्रमा आफ्नो निर्णयले पार्टीभित्रको नितीगत पारदर्शिता र इमान्दारिताको सन्देश अझ मजभुत हुने विश्वास लिएको बताउनुभएको छ ।

    एउटै परिवारभित्रबाट दुई जना महत्वपूर्ण जिम्मेवारीमा रहनु पार्टीको मूल्य र आचारसंहितासँग मेल नखाने ठहर गर्दै, मनरुपाले अत्यन्तै नैतिक, साहसिक र उदाहरणीय निर्णय लिएको भन्दै रास्वपा भित्र चर्चा भएको छ । पौडेलको राजिनामा स्वीकृत गर्दै रास्वपा भरतपुर महानगरले कोषाध्यक्ष पदमा आकांक्षा पोखरेललाई नियुक्त गरेको छ ।

     

  • प्रधानमन्त्री ओली आज चितवन आउँदै

    प्रधानमन्त्री ओली आज चितवन आउँदै

    चितवन, वैशाख ५

    प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका छन् । नारायणगढ बजारमा निर्माण गिएको ६ लेनको सडक उद्घाटन सहित विभिन्न कार्यक्रममा सहभागि हनु प्रधानमन्त्री ओली आज चितवन आउन लागेका हुन् । उनी सँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि रहने छन्।

    तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ गते यो सडकको शिलान्यास गरेका थिए। एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ।

    ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ। त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५/५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ।

    यस्तै प्रधानमन्त्री ओलीले चितवनको बिहान ११ बजे इच्छाकामना गाउँपाकिलाको भवन उद्घाटन गर्नेछन् । त्यस लगत्तै भरतपुरमा साढे १२ बजे सडकको उद्घाटन गरेर वीपी कोइराला क्यान्सर अस्पतालमा हुन लागेको नेकपा (एमाले) भरतपुर महानगर कमिटिको अधिवेशनमा सहभागि हुने कार्यक्रम रहेको नेकपा एमालेका पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले जानकारी दिए । समय भएको खण्डमा नारायणगढ बुटवल सडक खण्डको अवलोकन गर्न दुम्किबाससम्म जाने कार्यक्रम समेत भएको उनले जानकारी दिए ।

  • भरतपुरको सिक्स लेनमा एमालेको युवासंघले निकालेको मोटर साइकल र्याली (फोटोफिचर)

    भरतपुरको सिक्स लेनमा एमालेको युवासंघले निकालेको मोटर साइकल र्याली (फोटोफिचर)

    चितवन, बैशाख ४ –
    भरतपुरमा बनेको सिक्स लेन सडकमा आज एमालेको युवा संघले मोटरसाइकल र्याली निकालेको छ ।

    राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीको आयोजनामा गोन्द्राङ्देखि पुल्चोकसम्म आज दिउँसो २ः३० बजेबाट मोटरसाइकल र्याली निकालिएको हो ।

    गोन्द्राङ्बाट सुरु भएको र्याली चौबिसकोठी, शहिद चोक हुँदै पुल्चोक पुगेर पुनः चौबिसकोठीमा आएर कोण सभामा परिणत भएको थियो ।

    कोण सभालाई नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक र निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले संवोधन गरे ।

    कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाठकले भरतपुरको सिक्स लेन सडक केपी शर्मा ओलीले बनाएको बताउँदै यसमा रेनु दाहालले जस लिनका लागि भ्रम छरिरहेको बताए । देशभरका राजमार्ग विस्तार गर्ने राष्ट्रिय योजना अन्तर्गत भरतपुरको पुल्चोक गोन्द्राङ् सडकखण्ड विस्तारको कामलाई तत्कालीन ओली नेतृत्वको सरकारले अघि बढाएको उनले बताए । संघीय सरकारको बजेटमा संघ अन्तर्गतको कार्यालय सडक डिभिजन भरतपुरमार्फत सडक विस्तार गरिएकाले यसमा स्थानीय सरकारले जस लिन कुनै ठाउँ नै नरहेको उनले बताए ।

    भोलि नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उद्घाटन साथै भरतपुरको सिक्स लेन सडकको उद्घाटन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलले गर्ने कार्यक्रम रहेकाले दुबै कार्यक्रमको प्रचार र प्रधानमन्त्रीको स्वागतका लागि मोटरसाइकल र्याली निकालिएको राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीले र्यालीमा सहभागि हुने सम्पूर्ण नेता कार्यकर्ताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

  • आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, बैशाख ४ –
    पूर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) अन्तर्गत नारायणगढ–हेटौंडा खण्डभित्र पर्ने भरतपुरको गोन्द्राङ्देखि पुल्चोकसम्मको सडक यतिखेर चर्चामा छ ।

    नारायाणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको ६ किलोमिटर सडकलाई सिक्स लेनमा विस्तार गर्ने काम सकिएसँगै सडकको चर्चा भएको हो । एसियन मापदण्डमा बनेको सिक्स लेन हाइवेले यतिखेर चितवनको सदरमुकाम भरतपुरको सुन्दरतालाई थपेको छ ।

    २८ महिनाभित्र काम सक्ने गरी २०७७ असोज २६ मा ठेक्का सम्झौता भएको यो सडक २०८१ पुषमा सम्पन्न भएको हो । सम्झौता अनुसार २०७९ माघमा सडक विस्तारको काम सकिनुपर्ने थियो । तर कोभिड माहामारी, निर्माण सामग्रीको अभाव, सरकारले बजेट निकासमा गरेको ढिलाइ, खानेपानीको पाइप लाइन तथा नारायणगढ बजार क्षेत्र तथा भरतपुर विमानस्थल अगाडिका घर टहरा भत्काउन भएको समस्याले गर्दा समयमा नै काम सम्पन्न गर्न नसकिएको निर्माण कम्पनी सगुन कन्स्ट्रक्सन प्रालिले जनाएको छ ।

    सुरुमा एक अर्ब १२ करोड रुपैयाँमा काम सक्ने गरी सडक विस्तारको सम्झौता भए पनि पछि लागत बढेर एक अर्ब ७६ करोड रुपैयाँ पुगेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    यस्तो बनेको छ सडक :

    यसअघि दुई लेन मात्रै रहेको सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै साइडतर्फ थप १/१ सर्भिस लेन तयार गरिएको छ । सडक विस्तारसँगै दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । भरतपुरबाट नारायणगढ झर्ने ठाडो ओरालो काटेर त्यसको स्लोप घटाइएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गरिएको छ ।

    निर्माण कम्पनीका अनुसार चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुंगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा लैजाने गरी ड्रेन तयार गरिएको छ ।

    सडकको दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ । मेडियनमा दुबो लगाउने र आर्कषक फूलहरुका बिरुवा रोपिएको छ । सडकमा ट्राफिक चिह्न राख्ने, जेब्राक्रसलगायत लाइनिङका काम गरिएको छ ।

    यस सडकलाई भोलि बैशाख ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । २०७७ माघ १७ मा तत्कालीन प्रधानमन्त्री ओलीले नै सडक विस्तारको शिलान्यास गरेका थिए ।

    सिक्स लेन सडक निर्माण भएसँगै यसको जस लिन चितवनमा नेकपा एमाले र नेकपा माओवादी यतिखेर तँछाड मछाड अर्थात होडबाजी गरिरहेका छन् । दुबै दलका जिल्लाका नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमा सडक आफ्नो पार्टीले बनाएको भन्दै प्रचार गरिरहेका छन् । एमाले माओवादी यतिखेर एकले अर्कालाई खेदो खन्दै सामाजिक सञ्जालमा ‘सोसल मिडिया वार’ गरिरहेका छन् ।

    के भन्छ माओवादी ?

    नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले सिक्स लेन सडकको पहलकर्ता भरतपुर महानगर प्रमुख रेनु दाहाल भएको बताए । संघीय सरकारको बजेटमा सिक्स लेन बनेको भए पनि व्यवहारिक रुपमा त्यसको पहल रेनु दाहाल मार्फत भएको उनको भनाइ छ । उनले भने, ‘सिक्स लेनको पहलकर्ता रेनु दाहाल हो भन्ने कुरा के कुराले प्रमाणित हुन्छ भने बुटवलदेखि नारायणगढसम्मको सडकखण्ड विस्तारको काम शिलान्यास भयो । तर पुल्चोक–गोन्द्राङ् हुन सकेन । पुल्चोक गोन्द्राङ् खण्डलाई स्मार्ट सिटीको अभियान अन्तर्गत भरतपुर महानगरपालिकाको नेतृत्वमा यहाँका सबै राजनीतिक दललाई समेत समेटेर सडक विस्तार गर्न पहल गरिएको हो ।’

    उनले भने, ‘प्रधानमन्त्री सडक उद्घाटन गर्न आउने कुरा गलत हो भनेर हाम्रो पार्टीले भन्दैन तर राजनीतिक हिसाबले बुझ्ने कुरा के हो भने नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलका कारण सिक्स लेन बनेको हो भनेर जनताले मान्दैनन् यो रेनु दाहालले पहल गरेर भएकोे हो र त्यसको राजनीतिक जिम्मा माओवादीले लिन्छ ।’

    के भन्छ एमाले ?

    नेकपा एमाले चितवन अध्यक्ष कमल राज पाठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको देशका जिल्लाका सदरमुकामहरु व्यवस्थित गर्ने योजनाअनुरुप भरतपुरमा सिक्स लेन बनेको बताए । देशभरका राजमार्ग विस्तार गर्ने राष्ट्रिय योजना अन्तर्गत भरतपुरको पुल्चोक गोन्द्राङ् सडकखण्ड विस्तारको कामलाई तत्कालीन ओली नेतृत्वको सरकारले अघि बढाएको बताउँदै उनले नारायणगढ बुटवल सडक खण्ड जस्तै पुल्चोक गोन्द्राङ् सडकखण्ड पनि राष्ट्रिय परियोजना भएकाले यसमा भरतपुर महानगरपालिका र रेनु दाहाल कतै पनि नजोडिने बताए ।

    उक्त सडक विस्तारका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले योजना बनाएर बजेट छुट्याई सडक शिलान्यास गरेकाले यसको जस केपी शर्मा ओली र नेकपा एमालेले लिने अध्यक्ष पाठकले बताए ।

    अध्यक्ष पाठकले सिक्स लेनमा भरतपुर महानगरपालिका र प्रमुख रेनु दाहालको कुनै पहल कदमी समेत नरहेको बताएका छन् । उनले भने, ‘राष्ट्रिय परियोजना ल्याएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिक्स लेन सडक शिलान्यास गर्न आउँदा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उक्त कार्यक्रमलाई बहिष्कार गर्नुभएको थियो । रेनु दाहालले आफ्नै शहरमा भएको राजमार्ग विस्तार हुन लाग्दा पनि त्यसलाई स्वीकार गर्नुभएको थिएन । अहिले सडक बनिसकेपछि ड्रोन उडाएर भिडियो खिची जस लिन खोजिरहनु भएको मात्र हो ।’

    के हो यथार्थ ?

    सडकको जस लिन एमाले र माओवादीले होडबाजी गरिरहँदा भरतपुरका सर्वसाधारणमा समेत अन्यौलता सृजना भएको देखिन्छ ।

    भरतपुरको सिक्स लेन सडक एशियाली डेभलपमेन्ट बैंकको सहयोगमा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयको सडक विभाग अन्तर्गत भरतपुरमा रहेको सडक डिभिजन कार्यालयमार्फत निर्माण गरिएको हो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले सडक विस्तार, सडक बत्ती, हरियाली लगायत राजमार्ग भित्र भएका सबै काम सडक डिभिजन भरतपुरमार्फत भएको जानकारी दिए । उनले सडकमा ट्राफिक लाइट जडान गर्नका लागि टेण्डर आह्वान गर्न लागिएको जानकारी दिए । ट्राफिक लाइट जडान पनि संघीय बजेटमार्फत हुने उनले जानकारी दिए । राष्ट्रिय राजमार्ग भित्रका सबै काम सडक डिभिजनले गर्ने बताउँदै उनले राजमार्गसँग जोडिएका स्थानीय जनता, स्थानीय सरकार, राजमार्गमा उपस्थिति जनाउने विद्युत प्राधिकरण, खानेपानी बोर्ड लगायतका निकायसँग आवश्यकता अनुसार समन्वयनको मात्र काम हुने बताए ।

    भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलसँग सिक्स लेनको सडकका बारेमा बुझ्न खोज्दा उनले भने, ‘हामी कर्मचारी हौं, राजनीतिक कुरा गर्न मिलेन । सिक्स लेन सडकका बारेमा बुझ्नका लागि महानगरपालिकालाई सोध्नै पर्दैन । उक्त सडकको बारेमा हामीसँग केही तथ्यांकगत जानकारी नै हुँदैन । सडक डिभिजनमै बुझ्नु होला ।’

    जस कसलाई ?

    निष्कर्षमा तथ्यका आधारमा भन्दा स्थानीय, प्रदेश र संघीय सरकार मध्ये भरतपुरको सिक्स लेन सडक संघीय सरकारले बनाएको कुरा प्रष्ट देखिन्छ । सडक विस्तार गर्ने योजना केपी ओली नेतृत्वको सरकारले बनाएको थियो भने र सडकको शिलान्यास पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका थिए ।

    सिक्स लेन सडकको योजना बन्दा तत्कालीन अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका अध्यक्ष थिए । एमाले र माओवादीबीच पार्टी एकता भई बनेको थियो नेकपा । झण्डै दुई तिहाई नजिक रहेको नेकपाबाट केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका थिए । सडकलाई सिक्स लेनमा विस्तार गर्ने योजना बनाउने बेलासम्म नेकपाभित्र कुनै आन्तरिक विवाद सतहमा देखिन्थेन । सडक विस्तारको योजना बनाएको जस तत्कालीन अवस्थामा नेकपा र नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पाइरहेका थिए । त्यतिखेरसम्म कुनै विवाद थिएन ।

    तर सडक शिलान्यास हुने बेलामा भने नेकपामा चरम विवाद थियो । नेकपामा ओली एकातर्फ थिए भने माधव नेपाल र प्रचण्ड अर्कातर्फ । त्यही समयमा सडकको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । शिलान्यस गर्ने बेलामा भरतपुर महानगरपालिका र महानगर प्रमुख रेनु दाहालको तर्फबाट कुनै उपस्थिति थिएन ।

    सडकमा योजना पार्दा र शिलान्यास गर्दाको राजनीतिक अवस्था अहिले सडक उद्घाटन गर्ने समयमा आउँदा फरक छ । विभिन्न कारणले नेकपा पुनः एमाले र माओवादीमै परिणत भइसकेको छ । केपी शर्मा ओली अहिले नेकपाका अध्यक्ष छन् भने भरतपुर महानगर प्रमुख रेनु दाहाल माओवादी नेतृ हुन् ।

    कुल १ हजार २७ किलोमिटरमा फैलिएको पूर्वपश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्ग अन्तर्गतको नारायणगढ–हेटौंडा खण्ड भित्र पर्दछ भरतपुरको पुल्चोकदेखि गोन्द्राङ्सम्मको ६ किलोमिटर सडक । तत्कालीन राजा महन्द्रले वि.सं. २०१९ साल बैशाखमा नवलपरासीको गैँडाकोटबाट पूर्वपश्चिम राजमार्गको शिलान्यास गरेको इतिहास छ । २०१९ सालमा विभिन्न मित्रराष्ट्र र एशियाली डेभलपमेन्ट बैंकको सहयोगमा राजा महेन्द्रले पूर्व पश्चिम राजमार्ग बनाएका थिए । त्यसपछि विभिन्न समयमा पूर्वपश्चिम राजमार्ग संघीय सरकारमार्फत विस्तार हुँदै आएको छ ।

     

  • नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्‍यो ‘सिद्धार्थ होटेल चितवन’

    नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्‍यो ‘सिद्धार्थ होटेल चितवन’

    चितवन बैशाख १

    नेपालको अग्रणी हस्पिटालिटी चेन ब्राण्ड सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणगढमा सेवा विस्तार गरेको छ । साविकको होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए ।

    नारायणी नदी किनारमा रहेको प्रिमियम प्रपर्टीमा अब प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । “सिद्धार्थको चेन हस्पिटालिटी विस्तार र सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले सिद्धार्थले होटलको व्यवस्थापनको जिम्मेवारी लिएको हो”, उनले भने । प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य भएको न्यौपानेको भनाइ छ ।

    करिब २५ रोपनीमा फैलिएको होटलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा छन् । साथै माया डाइनिङ रेस्टुरेन्ट पनि सञ्चालनमा छ । जंगल सफारीको रमाइलोका साथै सुपारी र नरिवललगायतका फलको बगैँचासमेत रहेको होटल नारायणघाट पुल्चोकबाट जम्मा ५०० मिटर दुरीमा अवस्थित छ । बजार नजिक तर शान्त वातावरणमा समय बिताउन चाहनेका लागि भरपर्दो होटल हुने जनाइएको छ ।

    होटलमा स्वीमिङ पुलका साथै थिएटर सेटअपमा चार सय जना अट्ने क्षमताको सभाहल, करिब ५० जना अट्ने क्षमताको बोर्ड रुम पनि छ । कम्पनीले हाल भएको पूर्वाधारमा लगानी थप गरी सुविधा विस्तारको पनि योजना बनाएको छ ।

    सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि गरी होटलको स्तरोन्नति पनि गरिने बताए । “होटलमा हाल ४४ वटा रुम छन्, आगामी दिनमा ६० वटा बनाउने योजना छ, साथै तीन वटा सम्मेलन हलका साथै स्वीमिङ पुलको पनि स्तरोन्नति गरिनेछ”, सिइओ न्यौपानेले भने । होटलमा स्पा सुविधासहित हेल्थ क्लब र पुलसाइड बारको पनि सविधा थप हुनेछ ।

    सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा ३० भन्दा बढी कम्पनी सञ्चालनमा छन् । कम्पनीका अनुसार पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरका सिद्धार्थ बाटिकाअन्तर्गत विभिन्न होटल सञ्चालनमा छन् । त्यसबाहेक विभिन्न स्थानमा सिद्धार्थ कटेज रेष्टुरेन्ट, रिसोर्ट तथा एस क्याफे पनि सञ्चालन गरिरहेको छ । हाल सिद्धार्थ ग्रुपअन्तर्गत दुई हजार ५०० भन्दा बढीले रोजगारी पाइरहेका छन् ।

  • नेपाल उत्पीडित जातिय मुक्ति समाज भरतपुरको अध्यक्षमा बाबुराम छिनाल

    नेपाल उत्पीडित जातिय मुक्ति समाज भरतपुरको अध्यक्षमा बाबुराम छिनाल

    चितवन, चैत्र ३१ –
    नेपाल उत्पीडित जातिय मुक्ति समाज भरतपुरको अध्यक्षमा बाबुराम छिनाल चयन भएका छन् ।

    मुक्ति समाज भरतपुर महानगर कमिटीको सम्मेलनले छिनालको नेतृत्वमा सर्वसम्मतबाट २३ सदस्यीय महानगर कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा प्रेम बिक, सिता रनपाल, कोषाध्यक्षमा कृष्ण बहादुर बिक र उपसचिवहरुमा प्रेम प्रकाश बिक र सिता नेपाली चयन भएका छन् ।

    अध्यक्ष मण्डलको अध्यक्ष श्याम लाल बिक र सदस्यहरु कृष्ण नेपाली, सहदेव लकान्द्री, मिन बहादुर परियार, भुवन नेपाली प्यासी, विजय बिक, टेकलाल बिक रहेका थिए । अध्यक्ष मण्डलले सर्वसम्मतबाट नयाँ कमिटी चयन गरेको नेकपा एमाले प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।

    सम्मेलन उद्घाटन सत्रमामा नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठक, मुक्ति समाजका केन्द्रीय नेता श्याम लाल बिक, मुक्ति समाज चितवनका अध्यक्ष मिन बहादुर परियारले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मुक्ति समाजका केन्द्र, प्रदेश र जिल्ला नेताहरुका साथै नेकपा एमालेका प्रदेश र जिल्ला नेताहरुको उपस्थिति रहेको थियोे ।

    सम्मेलनको उद्घाटन सत्र गुन्जमान बिकको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन बाबुराम छिनाल र स्वागत मन्तव्य कर्ण सिंह बिकले राखेका थिए ।

  • नयाँ सरकार  दिशातर्फ देश अघि बढ्दै छ : प्रचण्ड

    नयाँ सरकार दिशातर्फ देश अघि बढ्दै छ : प्रचण्ड

    काठमाडौं चैत ३१
    नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढ्ने दाबी गरेका छन् ।

    आइतबार चितवनमा भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढ्ने बताए । उहाले अहिलेको नयाँ अनुभवका आधारमा आफूले ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्पष्ट पारे ।

    प्रचण्डले सरकारतर्फ माओवादीको ध्यान नरहे पनि अहिलेको सरकार धेरै अगाडि जान सहज छैन भन्ने परिस्थितिले देखिएको जिकिर गरे । उनले चौतर्फी रूपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ वर्षले केही न केही निकास लिएर आउने उल्लेख गरे ।

    त्यस्तै, प्रचण्डले ०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए । उनले राम्रा काम गर्न, राजनीतिक दललाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र जनता र राष्ट्रको आवश्यकताअनुसार अगाडि बढ्ने नयाँ संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको उल्लेख गरे ।