Category: भरतपुर

  • स्टार्ट मन्टेश्वरी एकेडेमीले  विविध कार्यक्रमका साथ आज आफ्नो १५औँ वार्षिकोत्सव मनाउदै

    स्टार्ट मन्टेश्वरी एकेडेमीले विविध कार्यक्रमका साथ आज आफ्नो १५औँ वार्षिकोत्सव मनाउदै

    भरतपुर जेठ १५
    स्टार्ट मन्टेश्वरी एकेडेमीले विविध कार्यक्रमका साथ जेठ १५ गते बिहीबार भरतपुरको हाकिमचोकस्थित सिएमटी होटलमा आफ्नो १५औँ वार्षिकोत्सव मनाउने भएको छ ।

    स्टार्ट मन्टेश्वरी एकेडेमी २०६५ साल जेठ १५ गते पोखरामा र २०६७ साल जेठ १५ गते भरतपुर मालपोत चोकमा शाखा स्थापना भएको थियो ।

    १५औँ वार्षिकोत्सवका अवसरमा मन्टेश्वरीलाई आजको स्थानसम्म आउन सहयोग गर्ने विभिन्न संघसंस्था एवम् सामाजिक व्यक्तिहरूलाई सम्मान गरिने भएको छ ।

    लोकप्रिय एवं वरिष्ठ कलाकार गौरी मल्लको प्रमुख आतिथ्यतामा हुन गइरहेको वार्षिकोत्सवमा लामो समय सरकारी विद्यालयमा अध्यापन गराई अवकाशप्राप्त शिक्षकलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गर्ने भएको छ ।

    यस वर्षको स्टार्स मन्टेश्वरी एकेडेमी ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ भरतपुरस्थित नारायणी नमुना उच्च माध्यमिक विद्यालयका अध्यक्ष टेकबहादुर थापालाई प्रदान गरिने भएको छ । थापा नारायणी नमुना उच्च माविको स्थापनाकालदेखि नै सो विद्यालयमा अध्यापन गराउँदै आएका थिए । नारायणी माविको स्थापनामा अध्यक्ष थापाको ठूलो योगदान रहँदै आएको छ ।

    कार्यक्रमलाई आकर्षित बनाउनको लागि विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्नेछन् । स्टार्स मन्टेस्वरी एकेडेमीले १५ वर्षको अवधिमा चितवनमा बेग्लै पहिचान बनाउँदै अभिभावकको पहिलो रोजाइ बन्न सफल रहेको छ । यो संस्था आफ्नो उत्कृष्ट शिक्षण सिकाइका साथसाथै विभिन्न फरक क्रियाकलापहरू गर्ने मन्टेश्वरीमध्ये एक मानिन्छ ।

  • न्यूनतम सेवा मापदण्ड अनुगमन : भरतपुर अस्पताल देशकै पहिलो !

    न्यूनतम सेवा मापदण्ड अनुगमन : भरतपुर अस्पताल देशकै पहिलो !

    भरतपुर जेठ १२
    न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर देशकै संघीय अस्पतालहरुमा प्रथम भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत अङ्कसहित भरतपुर अस्पताल देशकै पहिलो अस्पताल बनेको हो । मन्त्रालयले देशभरिका १५ वटा संघीय अस्पतालमा यो अनुगमन गरेको थियो ।

    मन्त्रालयका वरिष्ठ कन्सल्ट्यान्ट डा. फणीन्द्र बरालले उत्कृष्ट अङ्कसहित भरतपुर अस्पतालले ‘ग्रीन जोन’ स्टिकर प्राप्त गरेको जानकारी दिए । ‘ग्रीन जोन’ स्टिकर ८५ प्रतिशतभन्दा वढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ । ‘ग्रीन जोन’ स्टिकर पाउने भरतपुर अस्पताल एकमात्रै अस्पताल भएको उनले बताए ।

    “अस्पतालको सेवा प्रवाहको तयारी अवस्थाको मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल बन्यो”, उनले भने । मन्त्रालयका अनुगमन टिमका सदस्यसमेत रहेका डा. बरालले अस्पतालले दिने सुशासन तथा ब्यवस्थापन, चिकित्सकीय सेवा र फोहोरमैलालगायतका वस्तुहरुको व्यवस्थापनअन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिएको बताए । यो हरेक वर्ष मन्त्रालयले गर्ने गर्दछ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको नेतृत्वमा रहेको टिमले भरतपुर अस्पतालको अनुगमन गरेको थियो ।

    मन्त्रालयका वरिष्ठ कन्सल्ट्यान्ट तथा अनुगमन समितिका सदस्य डा. दीपेन्द्र पाण्डेले यो अनुगमन मूल्याङ्कनका आधारमा मात्रै अस्पतालको सेवासुविधा पूर्णरुपमा सुधारिएको भन्न नसकिने बताए । “मूल्याङ्कन रिपोर्टले अस्पतालको सेवासुविधामा सुधार आएको भन्दा पनि सेवा प्रवाहको तयारी अवस्थामा उत्कृष्ट छ भन्दा राम्रो होला”, उनले भने । भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले निरन्तर र सकारात्मक प्रयत्नले मात्रै नतिजा राम्रो आएको प्रतिक्रिया दिए । “अस्पतालको सेवासुविधा सुधारका लागि हामीले काम गरिरहेका छौँ, अहिले त्यही नतिजा देखिएको हो”, उनले भने ।

    अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले गुणस्तरीय सेवामा आफूहरु निरन्तर लागिरहेको बताए । “अस्पतालको सिङ्गो टिम नै सेवा सुधारमा लागिरहेको छ, जसको परिणाम राम्रो आयो”, उनले भने । संघीय अस्पतालमध्येको एक भरतपुर अस्पताल देशकै मध्य भाग भरतपुरमा रहेको छ । यो अस्पतालले विभिन्न विशिष्टीकृत सेवा दिँदै आएको छ ।

    मन्त्रालयले गरेको अनुगमनमा उक्त अस्पतालले हरेक वर्षजसो आफूलाई स्तरवृद्धि गराउँदै आएको छ । मन्त्रालयका अनुसार २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

  • अङ्कुरम् एकेडेमीमा ‘क्यारियर गाइडेन्स प्रोग्राम’सम्पन्न

    अङ्कुरम् एकेडेमीमा ‘क्यारियर गाइडेन्स प्रोग्राम’सम्पन्न

    चितवन जेठ १०
    भरतपुर–७, स्थित अङ्कुरम् एकेडेमीमा एइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी ‘क्यारियर गाइडेन्स प्रोग्राम’को आयोजना गरिएको छ । शनिबार विद्यालयको अडिटोरियम हलमा आयोजित कार्यक्रममा एसइई दिएका विद्यार्थी र तिनका अभिभावकहरुको उपस्थिति थियो ।

    रोजगारीको क्षेत्रमा विश्वव्यापीरुपमै शक्तिशाली प्रविधिहरुले दख्खल दिइरहेकोे परिप्रेक्ष्यमा आर्थिक अनिश्चितता, जनसांख्यिकीय परिवर्तन र प्राविधिक अवरोधका कारण सन् २०३५ सम्ममा केवल शैक्षिक उत्कृष्टताले मात्र काम नगर्ने बताउँदै कार्यक्रममा अनुकूलनशीलता, दूरदर्शिता र परिणाममुखी सोचको बढी माग हुने जानकारी दिइयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षक स्किल ल्याब नेपालका संस्थापक निर्देशक नन्दकिशोर मण्डलले भविष्यमा के बन्ने भन्ने निर्णय विद्यार्थीले अहिले नै गर्नुपर्ने बताउँदै त्यसका लागि अभिभावक र शिक्षकको मार्गदर्शन आवश्यक रहेको बताए । उनले भने, ‘सफलता भनेको एकैपटकको प्रयासले प्राप्त हुँदैन, यो पटकपटकको प्रयासपछि प्राप्त हुने कुरा हो,’ ‘विद्यार्थीले एउटा लक्ष लिएर त्यसलाई पूरा गर्न प्रयत्नशील हुनुपर्छ ।’

    त्यस्तै कार्यक्रमकी अर्की वक्ता प्रशिक्षक द ओडा फाउन्डेसनकी पूर्वसिइओ ‘टिच फर नेपाल’की मोना आदित्यले एसइईपछि भविष्यमा माथिल्लो लेभलको अध्ययन र त्यसपछिको क्यारियर निर्माणका लागि कक्षा ११ मै विषय छनोटमा विचार पु¥याउनु पर्ने बताइन् ।

    कोर्नेल युनिभर्सिटी न्यूओर्कबाट अध्ययन पूरा गरेकी आदित्यले द ओडा फाउण्डेसनमार्फत कर्णालीमा सेवा समेत गरेकी छिन् । सो अवसरमा उनको ‘कोर्नेल टु कर्णाली’ शीर्षकको डकुमेन्ट्री देखाइएको थियो ।

    विद्यालयका अध्यक्ष आनन्दबहादुर चन्दले आजको कार्यक्रमबाट प्रशिक्षित विद्यार्थीमध्येबाट कम्तिमा २० जनासम्म मात्र पनि राम्रो कलेज पढेर विदेशमा उच्च शिक्षासहित सिप सिकेर चितवन फर्के मात्र पनि ठूलो उपलब्धि हुने बताए ।

    अङ्कुरम् एकेडेमी +२ अङ्ग्रेजी विभाग प्रमुख अर्जुनबाबु धौलियाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राचार्य सुमन पौडेलले राखेका थिए भने आगामी शैक्षिक यात्राका बारे अभिभावक र विद्यार्थीबाट उठेका प्रश्नको उत्तर +२ निर्देशक डा आरएन धितालले दिएका थिए । कार्यक्रममा १३७ जना विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो ।

  • आमनिर्वाचनको झल्को दिने गरी अङ्कुरम् एकेडेमीमा नमुना निर्वाचन

    आमनिर्वाचनको झल्को दिने गरी अङ्कुरम् एकेडेमीमा नमुना निर्वाचन

    चितवन जेठ ६
    भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा कक्षा ९ मा अध्ययनरत जेनस क्षेत्री रत्ननगर–६, सौराहामा बस्छन् । उनी आइतबार विद्यालयमा उपस्थित त भए तर विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा । विद्यालयमा आयोजित नमुना निर्वाचन कार्यक्रममा उनी कक्षा ६ देखि १० सम्मको ‘ब्लु हाउस’मार्फत ‘क्याप्टेन’को उम्मेदवारसमेत थिए । उनले आफूले देशमा आवधिकरुपमा विभिन्न प्रकारका चुनाव भएको र ती चुनावमा मतदाता शिक्षाको अभावमा धेरै मत खेर जाने गरेको विभिन्न सञ्चार माध्यमबाट थाहा पाएको बताए ।

    ‘मलाई देशमा निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो, निर्वाचनको बेला हुने चहलपहलबारे पनि म जानकार नै थिएँ तर, यसरी आफू नै उम्मेदवार भएर मतदानमा भाग लिँदा पढाइबाट थाहा पाएको भन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ,’ कक्षा ६ मा अध्ययनरत ‘ग्रीन हाउस’का भाइस क्याप्टेन उम्मेदवार सम्राट अधिकारीले बताए ।

    ‘मतदाता शिक्षाको कमीले बदर हुने मतका कारण निर्वाचनमा योग्य मान्छे निर्वाचित हुनबाट वञ्चित हुने सम्भावना धेरै हुन्छ, त्यसैले अब हाम्रो भूमिका हाम्रो टोलसमाजमा निर्वाचनताका साधारण मतदातालाई कसरी आफूले चाहेको उम्मेदवारलाई मत बदर नहुने किसिमले मतदान गर्ने भनेर सिकाउने पनि हुनुपर्छ’, ‘स्टुडेन्ट काउन्सिल’को ‘हेड ब्वाय’मा निर्वाचित कक्षा १० का छात्र सुभांशराज केसीले बताए ।

    आइतबार अबेर सम्पन्न नमुना निर्वाचनको मतगणना सोमबार गरिएको थियो । कक्षा १ देखि ५ को समूहको रेड हाउस क्याप्टेनमा सुभांशराज गौतम र भाइस क्याप्टेनमा राजकुमार अर्याल, एल्लो हाउस काप्टेनमा इभाना घले र वैदेही शर्मा, ब्लु हाउस क्याप्टेनमा कार्ल भण्डारी र भाइस क्याप्टेनमा प्रमिता अर्याल तथा ग्रीन हाउस क्याप्टेनमा निर्वाण अग्रवाल र भाइस क्याप्टेनमा प्रद्युम्न क्षेत्री विजयी भए ।
    त्यसैगरी, कक्षा ६ देखि १० को समूहबाट रेड हाउस क्याप्टेनमा आहाना कौडेल र भाइस क्याप्टेनमा लीना तिवारी, एल्लो हाउस क्याप्टेनमा आयुषा चापागाईं र भाइर क्याप्टेनमा कृतिका भट्टराई, ब्लु हाउस क्याप्टेनमा जेनस क्षेत्री र भाइस क्याप्टेनमा ग्रिष्ना पाण्डे तथा ग्रीन हाउस क्याप्टेनमा जेसिका तामाङ र भाइस क्याप्टेनमा सम्राट अधिकारी निर्वाचित भए ।

    त्यस्तै, आइतबारै सम्पन्न निर्वाचनबाट विद्यार्थी परिषद्को ‘हेड ब्वाय’मा सुभांशराज के.सी., ‘हेड गर्ल’मा रिहाना गैरे तथा डुपुटी हेड ब्वाय र डेपुटी हेड गर्लमा क्रमशः मेन्सन रामदाम र आश्रिका बाँस्तोला निर्वाचित भएका छन् ।

    अतिरिक्त क्रियाकलापकेन्द्रित विद्यालयको नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यार्थीलाई व्यवहारिक ज्ञानसँग परिचित गराउन नमुना निर्वाचन गराइएको निर्वाचनमा केन्द्राध्यक्षको भूमिका निभाएका तहप्रमुख अर्जुन जी शर्माले जानकारी दिए । इसिए हेड विक्की थापाले निर्वाचन अधिकृतको जिम्मेवारी निभाएका थिए भने विजयी उम्मेदवारहरुलाई विद्यालयका आवासीय निर्देशक नईम चौधरीले प्रमाणपत्र वितरण गरेका थिए ।

  • चितवनमा दुई दिनमा आठ ठाउँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    चितवनमा दुई दिनमा आठ ठाउँमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    चितवन,जेठ ४

    जिल्लाका विभिन्न ठाउँमा शनिबार मध्याह्नदेखि आइतबार बिहान सबेरैसम्म आठ ठाउँमा भएको मोटरसाइकल तथा स्कुटर दुर्घटनामा एक जनाको निधन भएको छ । आठ दुर्घटनामध्ये चार ठाउँमा मोटरसाइकल अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीले जानकारी दिएको छ ।

    चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार मोटरसाइकल दुर्घटनामा परेर पर्सा ठोरी गाउँपालिका–१ का ५५ वर्षका गमबहादुर कुँवरको निधन भएको छ । काम विशेषले भरतपुर आएर फर्कँदै गरेका कुँवरले चलाएको बा प्र ०३–००३ प २०७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार मध्याह्न १२ बजेर ४० मिनेट जाँदा भरतपुर महानगरपालिका–१४ नमस्ते चोकको बाटो छेउको पोलमा ठोक्किएको डिएसपी खनालले बताए । सख्त घाइते भएका कुँवरको भरतपुरको सरकारी अस्पतालमा उपचारका क्रममा दिउँसो पौने दुई बजेतिर निधन भएको डिएसपी खनालले जानकारी दिए ।

    डिएसपी खनालका अनुसार गएराति सवा दुई बजेतिर नारायणगढ लायन्स चोकमा पनि बा प्र ०६–००५ प ०१३२ नम्बरको मोटरसाइकल पनि आफैं अनियन्त्रित भएर पल्टेको छ । मोटरसाइकल पल्टँदा चालक भरतपुर महानगरपालिका–२३ का ३० वर्षीय प्रशान्त घतानेको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको डिएसपी खनालले बताए ।

    भरतपुर–२५ बसकठ्ठामा पनि प्रदेश ३–०३–००१ प ९२०२ नम्बरको मोटरसाइकल आज आइतबार बिहान सबेरै सवा पाँच बजे अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीले जनाएको छ । मध्यम अवस्थामा रहेका घाइते मोटरसाइकल चालकको नाम ठेगाना खुलेको छैन ।

    त्यसैगरी, हिजो शनिबार राति आठ बजे रत्ननगर नगरपालिका–८ चित्रसारीमा बा प्र ०६–००३ प ३८३७ नम्बरको मोटरसाइकल पनि अनियन्त्रित भएर पल्टेको डिएसपी खनालले बताए । उक्त मोटरसाइकलका चालक रत्ननगर–९ का एकिन राउतको टाउको र अनुहारमा चोट छ । उनको अवस्था मध्यम छ । शनिबार साँझ साढे आठ बजे राप्ती नगरपालिका–४ मा प्रदेश २–०३–०१७ प ४८९५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ । पैदलयात्री राप्ती–५ का राजन पुडासैनी र मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ का रमेश महतोको अवस्था मध्यम छ ।

    त्यसैगरी हिजै साँझ साढे ६ बजे भरतपुर महानगरपालिका–११ भोजाड चोकमा ना ४३ प ८१९१ नम्बरको मोटरसाइकल लत्रिएको इन्टरनेटको तारमा अल्झेर पल्टेको छ । घाँटीमा चोट लागेका भोजाड घर भएका मोटरसाइकल चालक विशाल गुरूङको अवस्था मध्यम छ ।

    हिजै साँझ पौने सात बजेतिर भरतपुर महानगरपालिका–५ मा बस्दै आएका भारतीय नागरिक २७ वर्षीय जसपाल सहनीले चलाएको बा ५२ प ७२३१ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–३ मा ना १ ज ८७३० नम्बरको म्याजिक भ्यानसँग ठोक्किएको थियो । घाइते सहनीको अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ ।

    हिजो शनिबार दिउँसो एक बजे भरतपुर महानगरपालिका–१ हरिहर मार्गमा बा प्र ६–००३ प ९६२१ नम्बरको इलेक्ट्रिक स्कुटरले बुटवल घर भइ हरिहरमार्गमा बस्दै आएकी कविता सुनुवारकी तीन वर्षकी छोरीलाई ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ । टाउकामा चोट लागेकी बालिकाको अवस्था मध्यम रहेको डिएसपी रवीन्द्र खनालले बताए ।

  • स्पन्दन नेपालको आयोजना ३ दिने सेल्फ मेकअप तालिम आजदेखी सुरु

    स्पन्दन नेपालको आयोजना ३ दिने सेल्फ मेकअप तालिम आजदेखी सुरु

    चितवन जेठ ३
    भरतपुरमा आज देखि निःशुल्क तिन दिने सेल्फ मेकअप तालिम संचालन भएको छ ।

    स्पन्दन नेपालको आयोजना र भरतपुर महानगरपालिका वडा नं.१० को आर्थीक सहयोगमा तालिम संचालन गरिएको हो । आज (शनिबार) देखि सुरु भएको तालिम सोमबार सम्म संचालन हुनेछ ।

    कार्यक्रमको उद्घाटन गर्दे प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष प्रमेश्वर खनालले महिला दिदिबहिनिहरुलाई सो शृंगार आवश्यक रहेको बताउदै तिन दिने तालिम अपुग भएको खण्डमा आफुले थप सहयोग गर्ने बताएका छन् ।

    महिलाले आफ्नो लागी समय दिन नसकेको साथै श्रीङ्रार सम्बन्धि कमै मात्रै लाई ज्ञान हुने र शृंगारले थप आत्मबल बढाउने भन्दै सो तालिम संचालन गरिएको स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालले बताइन ।

    पपुलर युनिसेक्स सैलुन सि.जी ल्यान्डमार्कका संचालित तालिममा ५० भन्दा बढि महिला दिदिबहिनिहरुको सहभागिता रहेको थियो ।

  • अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

    अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

    चितवन जेठ ३
    भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सम्पन्न ‘एसइई डिजिटल क्विज कम्पिटिसन’मा चितवन राइनोजले प्रथम स्थान हासिल गरेको छ । प्रेमवस्ती माध्यमिक विद्यालयका प्रसुन साकोटा र राजन राउत कुर्मी तथा ग्लोरियस एकेडेमीका साजन कँडेल र दिनेश लामिछाने सम्मिलित टिमले ९५ अङ्क प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो ।

    त्यसैगरी सनराइज स्कुलका अभिशेक पराजुली र आयुष श्रेष्ठ, होली भिजन पब्लिक स्कुलका रियाज अर्याल तथा पोलार स्टार इङ्गलिस स्कुलका एल्सन पौडेल सम्मिलित ‘डार्क नाइट’ टिमले ८५ अङ्क ल्याई दोस्रो स्थान हासिल गरेको छ ।

    त्यस्तै, तेस्रो स्थान प्राप्त गर्ने लिटिल फ्लावर स्कुलका महोदय भण्डारी, निश्चल खत्री, ओम अग्रवाल र ओजश कोइरालाको टिमले ६५ अङ्कसहित तेस्रो स्थान हासिल गरेको छ । १९ वटा टिमको सहभागिता रहेको क्विजमा क्वालिफाइङ राउण्डबाट ९ वटा टिम इलिमिनेट भएका थिए ।

    जनलर, आई।क्यू।, आई टेस्ट, म्युजिकल, भिजुअल, इजी र भिजुअल गरी सात राउण्डमा गराइएको प्रतियोगितामा ‘इलिमिनेसन’ राउण्डपश्चात १० वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।

    आइटी र व्यवहारिक जीवनसम्बन्धी प्रश्नहरु समेटी गराइएको स्पर्धामा दैनिक जीवनमा लागु हुने विषयमा केन्द्रित भई प्रश्नहरु तयार पारिएको ं२ निर्देशक डा। आरएन धितालले जानकारी दिए । ‘विश्वको लामो नदी कुन हो रु भनेर सोधिने प्रश्नले भन्दा भिटामिन ‘बी–१२’ कमिले लाग्ने रोग कुन हो रु भन्ने प्रश्न बढी सान्दर्भिक हुन्छ’, उनले भने ।

    एसइई दिएर बसेका विद्यार्थीहरुको खाली समयलाई फलदायी बनाउन प्रतियोगिताको आयोजना गरिएको बताउँदै उनले प्रतियोगितामा भाग लिएका विद्यार्थीले ‘क्विज कम्पिटिसन’को तयारी कसरी गर्ने भन्ने समेत सिकेको बताए ।

    निर्देशक डा। धिताल, कम्प्युटर साइन्स हेड अफ डिपार्टमेन्ट ई। तेज अर्याल र केमिस्ट्री हेड अफ डिपार्टमेन्ट एसएन खनाल क्विज मास्टर रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद पुरस्कार आठ हजार, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमले नगद पुरस्कार सात हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी तेस्रो हुने टिमले प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो । विजयी टिमलाई निर्देशक डा। धितालले पौडेलले पुरस्कार वितरण गरेका थिए भने कार्यक्रमको संयोजन अङुकरम् एकेडेमीको मार्केटिङ टिमका छविलाल महतोले गरेका थिए ।

  • हावाहुरीले भरतपुरको आधारभुत विद्यालय मोहनपुरमा क्षति, मर्मतमा आर्थिक अभाव हुँदा मर्कामा विद्यार्थी

    हावाहुरीले भरतपुरको आधारभुत विद्यालय मोहनपुरमा क्षति, मर्मतमा आर्थिक अभाव हुँदा मर्कामा विद्यार्थी

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, जेठ ३ –
    चितवनको भरतपुर महानगरपालिका १६ मा रहेको आधारभुत विद्यालय मोहनपुरमा हावाहुरीले वितण्डा मच्चाएको छ ।

    गत वैशाख १४ गते परेको चट्याङले गर्दा विद्यालयका २८ थान पंखासहित अधिकांश विद्युतीय सामग्रि बिग्रिएको विद्यालयका प्रधानाध्यापक कुमार लौडारीले चितवन आजलाई जानकारी दिए । त्यसैगरी जेठ १ गते हावाहुरीले विद्यालयको छानो र जिप्सन उडाएर थप क्षति पुगेको उनले जानकारी दिए ।

    सबै कोठाका पंखा बिग्रिएका छन् भने माथिल्लो कोठाको छाना उडाएको छ । विद्यालयमा आर्थिक स्रोतको अभाव हुँदा बिग्रिएका विद्युतीय उपकरण र उडाएको छाना छाउन समस्या भएको उनले बताएका छन् ।

    विद्यालयका शिक्षक सुरेश रानाभाटका अनुसार चितवनको चर्काे गर्मीमा विद्यार्थीहरु पंखा बिना नै पढ्न बाध्य छन् भने गर्मीका कारण पढाउन पनि समस्या भएको छ ।

    विद्यालयलाई सहयोग गर्न सरोकारवाला निकाय, समाजसेवी र शिक्षाप्रेमीहरुलाई विद्यालयले आह्वान समेत गरेको छ । सहयोग गर्न चाहनेहरुले विद्यालयको ९८५५०७३०१८ नम्बरमा सम्पर्क गर्न विद्यालयले आग्रह गरेको छ ।

  • भरतपुरमा वाईसिएलका २२ युवा एमाले प्रवेश

    भरतपुरमा वाईसिएलका २२ युवा एमाले प्रवेश

    चितवन, जेठ ३ –
    नेकपा माओवादीको वाईसिएलमा रहेका २२ युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । भरतपुर १६ का वाईसिएलमा आवद्ध २२ जना युवा मिलन बुढाथोकीको नेतृत्वमा आज एमाले प्रवेश गरेका एमाले चितवनले जनाएको छ ।

    भरतपुरको दासढुंगामा आयोजित मदन आश्रित स्मृति सभामा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी र एमाले चितवनका अध्यक्ष कमलराज पाठक लगायतले संयुक्तरुमा वाईसिएलका २२ युवालाई एमालेमा स्वागत गरे ।

    एमालेमा स्वागत गर्दै अध्यक्ष पाठकले देशभर एमाले प्रवेश गर्ने लहर नै चलिरहेको बताए । परिवारवाद हाबी भएको माओवादी पार्टीमा आवद्ध भएर कहिँ पनि पुग्न नसिकने बताउँदै अध्यक्ष पाठकले देश बनाउने पार्टी भनेको नेकपा एमाले नै भएको बताएका छन् ।

  • चितवनमा बाबुले गरे छोरी र भतिजको हत्या

    चितवनमा बाबुले गरे छोरी र भतिजको हत्या

    चितवन, जेठ २ –
    चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा आफ्नै बाबुले दुई छोरा छोरीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् ।

    ४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा ५ वर्षका साजन गिरी र आफ्नी ७ वर्षकी छोरी प्रभा गिरीलाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।

    छोरा छोरीलाई धारिलो हतियार प्रहार गरेपछि दयाले आफूले पनि आत्महत्याको प्रयास गरेका थिए । घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । घटनापश्चात तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको थियो । चितवन मेडिकल कलेज स्रोतका अनुसार बच्चा दुवै जनाको मृत्यु भइसकेको छ भने बाबुको उपचार भइरहेको छ ।

    घटनाको छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । निज गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको प्रहरीले जानकारी दिएको छ ।