Category: Banner

  • व्याख्यात्मक घोषणासँगै संसदबाट एमसीसी सम्झौता अनुमोदन

    व्याख्यात्मक घोषणासँगै संसदबाट एमसीसी सम्झौता अनुमोदन

    १५ फागुन, काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

    आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

    प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकले व्याख्यात्मक घोषणासहित सो प्रस्ताव अनुमोदन गरेको हो । बैठकमा अर्थमन्त्री शर्माले सो प्रस्ताव पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । त्यसलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरे भने सांसदहरुको बहुमतले सो प्रस्तावलाई अनुमोदन गर्‍यो ।

    यस अघि सो प्रस्तावसम्बन्धि व्याख्यात्मक घोषणा प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरुले सो सम्झौतामाथिको आशंका व्याख्यात्मक घोषणामा समेटिएको उल्लेख गर्दै अब ढुक्कसँग पास गर्न उपयुक्त हुने धारणा राखेका थिए । यसको विरोध गर्ने सांसदहरुले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्ने प्रावधान नभएको भन्दै आपत्ति जनाएका थिए ।

    यस्तो छ व्याख्यात्मक घोषणा
    १. कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणाीति (Indo-Pacific Strategy) लगायतको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने घोषणा गर्दछ ।

    २. देशको मूल कानुनमा रहेको नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरु भन्दा माथि रहेको छ भनि घोषणा गर्दछ ।

    ३. कम्प्याक्टको दफा २.७, दफा ५.२ (ख) (३), दफा ५.२ (ख) (४) को सम्बन्धमा कम्प्याक्टको ती दफाहरूको उद्देश्य एमसीसी अनुदान तथा परियोजनाको सम्पत्ति उपयोगका सन्दर्भमा मात्र लागू हुनेछ भन्ने बुझाइ नेपालको रहेको छ । ती प्रावधानले एमसीसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि हाल विद्यमान वा भविश्यमा निर्माण हुने अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य छैन भन्ने घोषणा गर्दछ ।

    ४. कम्प्याक्टको दफा ३.२ (ख) को सम्बन्धमा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले सञ्‍चालन गर्ने क्रियाकलाप नेपालको कानूनद्वारा निर्देशित र कम्प्याक्ट अनुसार नियमित हुनेछ भन्ने घोषणा गर्दछ ।

    ५. कम्प्याक्टको दफा ३.२ (च) को सम्बन्धमा कम्प्याक्टको उपयोगबाट सिर्जना हुने बौद्धिक सम्पत्तिमाथि एमसीसीको स्वामित्व रहने छैन । कम्प्याक्ट कार्यक्रम अन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्तिहरू उपर नेपालको स्वामित्व रहनेछ र त्यसको पूर्ण उपभोग नेपालले गर्नेछ भन्ने घोषणा गर्दछ ।

    ६. कम्प्याक्टको दफा ३.५ को सम्बन्धमा कार्यान्वयन पत्रहरू कम्प्याक्टको दायराभित्र लागू गरिनेछन् भन्ने घोषणा गर्दछ ।

    ७. कम्प्याक्टको दफा ३.८ (क) को सम्बन्धमा एमसीए–नेपालको सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण प्रचलित नेपाल कानून बमोजिम महालेखा परीक्षकबाट पनि गरिनेछ भन्ने घोषणा गर्दछ ।

    ८. कम्प्याक्टको दफा ५.१ (क) को सम्बन्धमा नेपालले तीस (३०) दिनको पूर्व लिखित पूर्वसूचना दिइ विना कुनै कारण कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकारका अतिरिक्त कम्प्याक्ट अन्तर्गतका क्रियाकलाप/कार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लङ्घन भएकोमा समेत तीस (३०) दिनको पूर्व लिखित पूर्वसूचना दिइ कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार राख्दछ भनि घोषणा गर्दछ ।

    ९. कम्प्याक्टको दफा ५.५ (ग) को सम्बन्धमा कम्प्याक्टको समाप्ति, निलम्बन वा अन्त्य पश्चात् पनि लागू हुने भनिएका प्रावधनहरू कम्प्याक्ट अन्तर्गतका परियोजनाहरूको मूल्याङ्कन, लेखा परीक्षण र करको फर–फारकको हदसम्म मात्र प्रासङ्गिक हुने घोषणा नेपाल गर्दछ ।

    १०. कम्प्याक्टको दफा ७.१ को सम्बन्धमा, नेपालको संविधान कम्प्याक्टभन्दा माथि रहनेछ भन्ने घोषणा गर्दछ । साथै, कम्प्याक्ट र कम्प्याक्ट अन्तर्गतका कार्यक्रमहरू/परियोजनाहरूको कार्यान्वयन नेपालको कानून र कम्प्याक्ट बमोजिम गरिनेछ भन्ने घोषणा गर्दछ ।

    ११.कम्प्याक्टको दफा ८.१ को सम्बन्धमा विद्युत प्रसारण आयोजना (electricity transmission project) लगायतका सबै चल तथा अचल सम्पत्ति र परियोजनासँग सम्बन्धित जग्गाहरू नेपाल सरकार वा नेपाल सरकारका निकायहरूको स्वामित्वमा रहनेछ भनी घोषणा गर्दछ ।

    १२. कम्प्याक्टमा रहेका प्रावधानहरूको आशय र प्रयोगका बारेमा मिलेनियम च्यालेन्ज कर्पोरेशबाट २०७८ भदौ २३ -सेप्टेम्बर ८, २०२१) मा नेपालले प्राप्त गरेको स्पष्टीकरणले कम्प्याक्टको व्याख्या तथा कार्यान्वनमा मदत गर्ने बुझाई नेपालको रहेको छ ।

  • चितवन राष्ट्रिय निकुञ्जको भाले गैँडा मृतावस्थामा फेला

    चितवन राष्ट्रिय निकुञ्जको भाले गैँडा मृतावस्थामा फेला

    चितवन, फागुन १५ –
    चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ । जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन् । अन्दाजी १८/२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो ।

    यसअघि फागुन ९ गते निकुञ्जको खोरीया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा पाँच/छ महिनाको बच्चा फेला परेको थियो । यीसँगै चालु आवमा प्राकृतिक कारणबाट २७ र चोरी सिकारीबाट दुई वटा गैँडा मरेका छन् । – रासस

  • पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतकाे आदेश

    पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतकाे आदेश

    काठमाडौं, १५ फागुन –
    जिल्ला अदालत तनहुँले बलात्कार आरोपी अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । चार दिनअघि नाबालिग एक गायिकाले उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जायरी दिएकी थिइन ।

    उनले जाहेरी दिएसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै उनी फरार रहेका थिए । तर, उनले आज मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । म्याद थपका लागि उनलाई प्रहरीले हथकडी लगाएरै अदालतमा पेश गरेको थियो । – न्युज कारखाना

  • पल शाहविरुद्ध गायिकाले दिइन् गैंडाकोटमा पनि उजुरी

    पल शाहविरुद्ध गायिकाले दिइन् गैंडाकोटमा पनि उजुरी

    चितवन, १५ फागुन –
    बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरकाे गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ ।

    चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए । – न्युज कारखाना

  • पल शाह आफै पुगे प्रहरी कार्यालय, गरे आत्मसमर्पण

    पल शाह आफै पुगे प्रहरी कार्यालय, गरे आत्मसमर्पण

    काठमाडौं, १५ फागुन –
    जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका छन् । शाह अहिले प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।

    शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।

    जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।

    गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया-प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाएकी छन्।

    तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

    गायिकाले करिब ३ महिनायता गीत-संगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ। पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए।

    त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ।

    शाहले देखावटी माया-प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ। यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक-पटक बलात्कारको प्रयास गरेको उल्लेख छ।

    बागलुङको गलकोट महोत्सवमा २०७७ चैत ३१ गते शाहसहित दुर्गेश थापा, योगेस काजी, सम्राट चौलागाईं, कृष्ण जोशी, समेतका कलाकारहरूसँग एउटै गाडीमा जाँदा पीडित गायिका र शाह एउटै सिटमा बसेको र यात्राका क्रममा शाहले बालयौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ।

    पोखरामा सुटिङबाट काठमाडौं फर्कने क्रममा तनहुँको दुलेगौंडामा प्रदीप थापाको घरमा बास बसेको र शाहले मदिरापान गरेर मध्यरातमा जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ।

    यसअघि पोखरास्थित होटल प्राइम, चितवनस्थित गैंडाकोट रिसोर्टमा समेत शाहले पटक-पटक बलात्कार गरेको पीडित पक्षले जनाएका छन्। गायिकाको कोठामा दिनहुँ आउजाउ गर्न शाहले कोठा सार्न समेत दबाब दिएको उल्लेख छ।

    नाबालिका गायिकामाथि बलात्कार आरोपमा उजुरी दिएका पीडित परिवारले शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ अनुसार अपराधमा कारबाही गर्न माग गरेका छन्।

  • अनेरास्ववियु चितवनको जिल्ला सम्मेलन आयोजक कमिटी गठन : संयोजकमा गुप्ता, सहसंयोजकमा हरि

    अनेरास्ववियु चितवनको जिल्ला सम्मेलन आयोजक कमिटी गठन : संयोजकमा गुप्ता, सहसंयोजकमा हरि

    चितवन, फागुन १३ –
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ ।

    आज सम्पन्न जिल्ला भेलाले अमित कुमार गुप्ताको संयोजकत्वमा ३८ सदस्यीय कमिटी गठन गरेको हो ।

    कमिटीको सहसंयोजकमा हरि आचार्य, सदस्यहरुमा लिलाराम पौडेल (प्रशिक्षण विभाग), प्रकाश कालाखेती (संगठन विभाग), अमित आचार्य (प्रचार विभाग), सरोज तिमिल्सिना (अखिल फोर्स विभाग) र रचना सापकोटा (महिला विभाग) मा चयन भएका छन् ।

    उनीहरुसहित ३८ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको सदस्यहरुको नामावली यसप्रकार छ :

    अक्षरराज पन्थी
    लक्ष्मी पौडेल
    मेन्सीश भेटवाल
    सरोज घतानी
    संजय ढकाल
    किरण लामिछाने
    प्रताप उप्रेती
    सुजन थापा
    मनिष विष्ट
    राकेश चौधरी
    संन्देश अधिकारी
    क्षितीज तिवारी
    अनुजा खनाल
    प्रकाश पराजुली
    आकृती शर्मा
    जिवन तिमिल्सिना
    रोमन सिलवाल
    लक्ष्मी प्रसाद ढकाल
    विज्ञान वावु अधिकारी
    सुस्मीता कार्की
    आयुष पौडेल
    अम्बिका आचार्य
    अनुज न्यौपाने
    प्रतिक्षा कंडेल
    निर्मल धिताल
    सुस्मिता परियार
    निश्चल चदरा
    विपना गुरु
    अस्मीता शर्मा
    पुस्पा पौडेल
    मिरा कर्ण

  • ओमानलाई हराउँदै नेपाल विश्वकप छनोटमा तेस्रो बन्यो

    ओमानलाई हराउँदै नेपाल विश्वकप छनोटमा तेस्रो बन्यो

    काठमाडौं, फागुन १२ –

    नेपालले घरेलु टोली ओमानलाई हराउँदै आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो बनेको छ । यससँगै नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सकाएको छ ।

    तेस्रो स्थानको लागि भएको खेलमा नेपालले बिहीबार ओमानलाई ९ विकेटले हराएको हो ।

    ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो ।

    अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो ।

  • रुसको आक्रमणपछि युक्रेनको अवस्था (फोटोफिचर)

    रुसको आक्रमणपछि युक्रेनको अवस्था (फोटोफिचर)

    एजेन्सी, फागुन १२ –
    रूसले सैन्य आक्रमण सुरू गरेपछि पूर्वी युरोपेली मुलुकका वासिन्दामा बिहीबार नयाँ अनिश्चितता छाएको छ ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए । पुटिनको घोषणालगत्तै राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ भने अरू विभिन्न सहरहरूमा पनि आक्रमण भएको छ ।

    रूसी आक्रमणसँगै किएभवासीहरू सहर छोड्नका लागि लामवद्ध भएका छन् । पेट्रोल पम्पमा लामा लाइन लागेका छन् । मानिसहरू पैसा निकाल्न एटिएम कार्डमा पुगेका छन् । सडकमा किएभ सहर छोडेर पश्चिमतिर जानेहरूका कारण जाम भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

    राजधानी किएभका बासिन्दा क्षेप्यास्त्रको डरले मेट्रो रेलको सवस्टेशनमा आश्रय लिन पुगेका छन् ।

    रूसी राष्ट्रपति पुटिनले अहिलेको आक्रमण सैनिक संरचना र बेसमा मात्रै सीमित भएको बताए पनि युक्रेनियनहरूमा त्रास व्याप्त छ ।

    रुसी आक्रमणबाट अहिलेसम्म आफ्ना ४० जनाभन्दा बढी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

    बीबीसीका अनुसार राजधानी किएभसहित युक्रेनमा मुख्य शहरहरूमा विस्फोटहरू भएको सुनिएको छ ।

    किएभका थुप्रै बासिन्दाहरू शहर छोडेर भागिरहेका विवरण आएका छन् ।

    युक्रेनी सुरक्षा बलले रुसका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ ।

    तर रुसको रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकप्टर खसालिएको दाबी अस्वीकार गरेको छ ।

    हेर्नुस् तस्बिरहरू :

  • घाँस काट्न गएकी महिलामाथि बाघको आक्रमण, बाघले खाइरहेको अवस्थामा शवको उद्दार

    घाँस काट्न गएकी महिलामाथि बाघको आक्रमण, बाघले खाइरहेको अवस्थामा शवको उद्दार

    चितवन, फागुन १२ –
    घाँस काट्न चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गएकी एक बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका ६ निवासी ६० वर्षीय चिजा सार्कीको मृत्यु भएको हो ।

    ईलाका प्रहरी कार्यालय गितानगर चितवनका अनुसार भरतपुर १३ बेलशहरस्थित चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले आक्रमण गरेको हो ।

    चिजा, सिता दराई र हेमराज सापकोटा तिनै जना सोही निकुञ्ज भित्र घांस काट्न गएकोमा चिजा सार्कीलाई बाघले आक्रमण गरेको हो ।

    आक्रमणको खबर पाएपछि चितवन राष्ट्रिय निकुञ्ज र वनको टोली हात्तीसहित गएर चिजाको शव ल्याएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । बाघले खाइरहेको अवस्थामा शव उद्दार गरेर ल्याइएको हो ।

  • एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन, प्रहरीसँग झडप (फोटाफिचर)

    एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन, प्रहरीसँग झडप (फोटाफिचर)

    काठमाडौं, फागुन ११ –
    अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमामा काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ ।

    प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तानव सिर्जना भएको छ ।

    एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

    बिहीबारमा प्रदर्शनकारीले सुरूमा प्रहरीले सुरूक्षाको घेरा बनाएको थियो । सो घेरा प्रदर्शनकारीले तोड्ने प्रयास गरेका थिए । उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेको हो ।

    त्यसलगत्तै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका हन् । भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग गरी पानीको फोहराले हानेको हो ।

    त्यस्तै अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।
    तस्विरमा हेर्नुहोस् आज बानेश्वरको दृश्य :