Category: Banner

  • चितवनको माटोमा अम्लियपना बढ्यो

    चितवनको माटोमा अम्लियपना बढ्यो

    – नारायण अधिकारी
    चितवन, १२ फागुन –
    जिल्लाका अधिकांश क्षेत्रको माटोमा अम्लियपना बढी देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले यही फागुन ४ र ५ गते गरेको माटो परीक्षणका क्रममा अम्लियपना बढेको पाइएको हो ।

    परीक्षणका क्रममा ५० प्रतिशत माटोमा अम्लियपना भेटिएको कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २५८ नमूना परीक्षण गरिएकामा १२९ वटामा अम्लियपना भेटिएको हो । माटोमा अम्लियपना बढी भए उर्वराशक्तिमा ह्रास आएको परीक्षणका क्रममा भेटिएको छ । माटोको परीक्षणमा एकदेखि १४ सम्म पिएच हुनेगर्छ । त्यसमध्ये ७ तटस्थ हो । सातभन्दा तल देखिएमा अम्लियपना र माथि भएमा छारिय भनिने उहाँको भनाइ छ । ६ पिएच सम्मलाई धानखेतीमा राम्रो मानिन्छ । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोमा अम्लियपना बढेको उहाँले बताउनुभयो ।

    यस्तै ५० प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको पौडेलले बताउनुभयो । माटोमा अम्लियपन र क्षारीय तत्व बढेमा बालीनालीले प्राप्त गर्ने तत्वको कमी हुने र माटोको सूक्ष्म तत्व गुम्ने हुन्छ । विशेष गरी व्यावसायिक खेती गर्ने किसानले अव्यवस्थित रुपमा रासायनिक मलको प्रयोग गर्दा माटोको उत्पादकत्व कम हुने उहाँले बताउनुभयो । उत्पादन क्षमता कायम राख्दै उत्पादन बढाउन नियमित माटो परीक्षण गराउँदै चुन र प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने पौडलले बताउनुभयो ।

    स्थानीय तहले समन्वय गरेर नियमित रुपमा माटो परीक्षण गर्नुपर्ने पौडेल बताउनुहुन्छ । किसानले सिफारिस अनुसारको मात्रा प्रयोग नगर्दा माटोमा अम्लियपना बढेको उहाँले बताउनुभयो । उत्पादकत्व घट्दै गएपछि प्रधानमन्त्री कृषि आधुनिकिरकण परियोजना कार्यान्वयन एकाइ चितवनले घुम्ती शिविरको आयोजना गरेको हो ।

    कार्यालयले भरतपुर महानगरपालिकाका विभिन्न वडामा तरकारी खेती, पूर्वी चितवनमा केरा खेती र धान खेती गरिएका क्षेत्रको माटोको नमूना परीक्षण गरिएको थियो । जिल्लाका सातवटै पालिकाबाट माटोको नमूना सङ्कलन गरिएको पौडेलले बताउनुभयो । मल तथा माटो परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा गरिएको सो परीक्षणमा नाइट्रोजन मध्यम, फस्फोरस उच्च र पोटास मध्यम देखिएको छ । (रासस)

  • चितवनमा बर्ड-फ्लुु पुष्टि भएपछि कुखुरा नष्ट

    चितवनमा बर्ड-फ्लुु पुष्टि भएपछि कुखुरा नष्ट

    चितवन, १२ फागुन
    भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो ।

    केही दिन अघिदेखि कुखुरा मर्न थालेपछि नमूना परीक्षण गरिएको थियो । केन्द्रका निमित्त प्रमुख डा प्रभात न्यौपानेका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको छ । फर्मलाई शिल गरेर नजिकै रहेको एउटा मासु पसल र वरिपरि पालिएका १८ कुखुरासमेत नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । सो फर्ममा तीन खोर रहेका थिए ।

    एउटा खोरमा २१ महिनाका एक हजार ५०० कुखुरा रहेकोमा मरेर ४६ वटा बाँकी रहेका थियो । दोस्रोमा सात महिनाका दुई हजार ४०० कुखुरा राखिएकोमा मरेर २३२ बाँकी रहेका थिए । तेस्रोमा २८ दिनका पाँच हजार १०० कुखुरा राखिएकोमा मरेर पाँच हजार २७ बाँकी रहेको केन्द्रका प्रमुख डा न्यौपानेले जानकारी दिनुभयो । केही दिनअघि जिल्लाकै राप्ती नगरपालिका–६ मा रहेको अनिता पशुपन्छी कृषि फर्ममा बर्ड–फ्लुु देखिएको थियो । उहाँले जिल्लामा ठूलो सङ्ख्यामा कुखुरा भएकाले उच्च सावधानी अपनाउन कृषकलाई अनुरोध गरिएको बताउनुभयो । जिल्लाको पूर्वी र पश्चिम दुवै क्षेत्रमा बर्ड–फ्लुु देखिएपछि कृषकले उच्च सावधानी अपनाउन थालेका छन् । (रासस)

  • चितवनका ठूला मेडिकल कलेजमा ५० प्रतिशत बिरामी रिफरका

    चितवनका ठूला मेडिकल कलेजमा ५० प्रतिशत बिरामी रिफरका

    चितवन, १२ फागुन –
    ‘स्वस्थ नगरी’ चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन् । जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी रिफर भएर आउने गरेका हुन् । आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या बढ्दै गएको छ ।

    चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशत अन्य अस्पतालबाट रिफर भएर आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार एक दर्जन विशिष्टकृत सेवासहित सबै खाले रोगको उपचार हुने भएपछि अन्य अस्पतालबाट रिफर भएर आउने गरेको उहाँको भनाइ छ । देशैभर र भारतबाट समेत बिरामी आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले अस्पतालमा दैनिक एक हजार २०० हाराहारी बिरामी बहिरङ्ग सेवामा आउँछन्, तीमध्ये आधा अन्यत्रबाट रिफर भएर आएका हुन् ।”

    अस्पतालमा ४५ प्रतिशत हाराहारी बिरामी चितवनका आउँछन् भने बाँकी अन्य जिल्लाका हुन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतदेखि उपचारका लागि आउने बिरामीसमेत मेडिकल कलेजमा आउने गरेको लम्सालको भनाइ छ । स्वास्थ्य बीमाको पहिलो बिन्दु सरकारी अस्पताल हुने भएकाले त्यहाँबाट थप उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या ठूलो हुने गरेको लम्सालले जानकारी दिनुभयो । राजधानी बाहिर अन्यत्र नभएका सेवा आफ्नो मेडिकल कलेजमा हुँदा रिफरल बिरामी बढी आउने गरेको लम्साल बताउनुहुन्छ ।

    अस्पतालमा १८ जनाभन्दा बढी डिएम÷एमसिएच गरेका विशेषज्ञ चिकित्सक रहेको उहाँको भनाई छ । अस्पतालमा पेडियाटिक सर्जरीमा एमसिएच गरेका चिकित्सक रहेको भन्दै उहाँले उपत्यका बाहिर यो सेवा अन्यत्र नरहेको दाबी गर्नुभयो । इन्टरभेन्सन रेडियोलोजी सेवा अस्पतालमा रहेका छन् । रेडियोलोजीका माध्यमबाट रोग पहिचान र उपचार गर्ने उहाँले जानकारी दिनुभयो ।

    यस्तै न्यूक्लियर मेडिसिन, कलेजो र कपाल प्रत्यारोपण, थोरासिक एण्ड भास्कुलर सर्जरी, न्यूरो सर्जरी, मुटु, बाँझोपन निवारण र कृत्रिम गर्भाधान, ट्रमा सेन्टर, म्याग्जिलोफेसियर सर्जरी, ग्यास्ट्रोजस्ता डिएम र एमसिएच चिकित्सकसहितको सेवा अस्पतालमा रहेको छ । क्रिटिकल केयरमा नेपालमै अग्रणी रहेको लम्सालको दाबी छ । उहाँले भन्नुभयो, “यो सेवाका लागि देशैभरबाट बिरामी आउने गरेका छन् ।” कोभिडको महामारीसँगै यहाँको क्रिटिकल केयरको सेवा देशैभर परिचित रहेको उहाँको भनाइ छ ।

    अस्पतालमा विभाग मजबुद भएसँगै चिकित्सा शिक्षा आयोगले डिएम र एमसिएचमा चार वटा कोटासमेत दिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार ग्यास्ट्रो इन्टरलोजी मेडिसिन, जिआई सर्जरी, क्रिटिकल केयर मेडिकल र कार्डियोलोजीमा अध्ययन अध्यापन हुने गरेको छ । उहाँले भन्नुभयो, “उपचार सेवासँगै अध्ययनको सुविधा भएका कारण सेवा झनै प्रभावकारी छ ।” अस्पतालमा २५० भन्दा बढी विशेषज्ञ चिकित्सक रहेको भन्दै उहाँले यहाँ आएपछि सबै खाले उपचार हुुने भएकाले धेरै रिफर भएर आउने गरेको बताउनुभयो ।

    एकै व्यक्तिलाई फरक फरक समस्या हुँदा अन्यत्र धाउन नपर्ने भएकाले मेडिकल कलेज रिफरलको रुपमा विकास हुँदै गएको न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले मेडिकल कलेजमा जनशक्ति र उपकरणमा ठूलो लगानी गरेका छौँ, त्यसको प्रतिफल देखिन थालेको छ ।” यस कलेजमा त्रिविबाट सम्बन्धत प्राप्त आठ वटा स्नातक कार्यक्रम, स्नातकोत्तरमा २१ र सिटिइभिटीका चार कार्यक्रम रहेका छन् । सबै विभागमा गरेर एक हजार ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।(रासस)

  • एमसीसीको विरोधमा चितवनको सडकमा उत्रिए विद्यार्थीहरु (फोटो/भिडियोसहित)

    एमसीसीको विरोधमा चितवनको सडकमा उत्रिए विद्यार्थीहरु (फोटो/भिडियोसहित)

    चितवन, फागुन १२ –
    अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमामा चितवनमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

    आज बिहीबार दिउँसो विद्यार्थीहरुले सीडीओ कार्यालय घेराउसहित एमसीसीको खारेजको माग गर्दै नाराबाजी गरेका हुन् । एमसीसी खारेजी संयुक्त संघर्ष समिति चितवनको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरु विद्यालय पोसाकमै उपस्थिति भएका थिए ।

    चौबिसकोठीबाट सुरु भएको विरोध प्रदर्शनको ¥याली अस्पताल रोड, मालपोत चोक, बाइपास रोड हुँदै सीडीओ कार्यालयमा पुगेर कोण सभा भएको थियो ।विद्यार्थीहरुले नो एमसीसी, रिजेक्ट एमसीसी, एमसीसी खारेज गर, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, गो ब्याक अमेरिका लगायतका नारा लगाएका थिए ।

    http://<iframe src=”https://www.facebook.com/plugins/video.php?height=257&href=https%3A%2F%2Fwww.facebook.com%2Fchitwanaja01%2Fvideos%2F673796110376984%2F&show_text=false&width=560&t=0″ width=”560″ height=”257″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>

     

    <iframe src=”https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fchitwanaja01%2Fvideos%2F1094739244712664%2F&show_text=false&width=560&t=0″ width=”560″ height=”314″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>

  • एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

    एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

    दमौली, १२ फागुन
    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पार्नुभयो ।

    “सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ”, उहाँले भन्नुभयो । वरिष्ठ नेता पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गर्नुभयो । “उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ”, उहाँले भन्नुभयो ।

    एमसिसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाउनुभयो । “एमसिसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो”, उहाँले भन्नुभयो, “जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ ।” (रासस)

  • सौराहामा देखिन थाले विदेशी पर्यटक : व्यवसायी उत्साहित, पूर्ववत् अवस्थामा फर्कने अनुमान

    सौराहामा देखिन थाले विदेशी पर्यटक : व्यवसायी उत्साहित, पूर्ववत् अवस्थामा फर्कने अनुमान

    –नारायण अधिकारी
    चितवन, ११ फागुन –
    नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् ।

    कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यून हुँदै गएपछि गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमले समेत यहाँका ठूला होटल भरिन थालेका छन् । लामो समयपछि युरोपियन पर्यटक आउन सुरु गरेका हुन् ।

    “भारतीय पर्यटकको बुकिङ् पनि राम्रो छ”, क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईले भन्नुभयो, “विगतका वर्षमा यो बेला ९० प्रतिशतसम्म होटलका कोठा बुकिङ हुने गरेको थियो । यस वर्ष १५ प्रतिशत हाराहारी कोठा भरिन थालेका छन् ।” सभा, सम्मेलनका ठूला होटल बुकिङ हुन थालेको उहाँको भनाइ छ । “यतिबेला यहाँको होटलमा विदेशी पर्यटक ८० प्रतिशत हुने गर्दथ्यो । तीमध्ये चिनियाँ पर्यटक मात्रै ५० प्रतिशत हुने गर्दथे”, उहाँले भन्नुभयो, “अहिले विदेशी पर्यटक आउन थालेका छन् । त्यो नै खुसीको कुरा हो ।” पर्यटकको सोधपुछ निकै बढेको भट्टराईको भनाइ छ ।

    जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मन, हल्याण्ड, इजरायललगायत देशका पर्यटक आउन थालेका हुन । ट्रेकिङका लागि नेपाल आएका उनीहरु सौराहा घुम्न आएको उहाँको भनाइ छ । सोधपछ निकै बढेकाले आउने अक्टोबरबाट पर्यटकीय क्षेत्र पूर्ववत् अवस्थामा फर्कने घिमिरेको अनुमान छ ।

    “धेरै समयपछि छिटफुट रुपमा विदेशी पर्यटक देखिएका छन् । हिजोआज कहिलेकाहीँ समूहमै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण जोखिम बढेसँगै सौराहामा न्यून मात्रामा विदेशी पर्यटक आएका छन् ।” क्षेत्रीय होटल सङ्घ चितवनका निर्वतमान अध्यक्षसमेत रहनुभएका घिमिरेले सन् २०२३ मा नेपालमा पर्यटकको आगमन निकै राम्रो हुने अनुमान रहेको बताउनुभयो ।

    सामुदायिक वनमा हात्ती चढ्न विदेशी पर्यटक जान थालेका छन् । हात्ती व्यवस्थापन गर्दै आउनुभएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले विदेशी पर्यटक हात्ती चढ्न आउन थालेको बताउनुभयो । सो सहकारीअन्तर्गत ३१ वटा हात्ती छन् । तीमध्ये २० देखि २५ वटाले दैनिक काम पाउन थालेका छन् । नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आउन थालेको उहाँको भनाइ छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि मचानमा बस्ने सुविधासँगै हात्ती र ढुङ्गा सफारीको व्यवस्था छ ।

    समितिका अध्यक्ष जीतबहादुर तामाङ्ले विदेशी पर्यटक आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटक आउन थालेपछि हामीलाई उत्साह थपिएको छ ।” व्यवसायी अब पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कने अपेक्षामा रहेको उहाँको भनाइ छ । सौराहाका कतिपय होटलले स्वदेशीको सभा सम्मेलन राम्रो हुन थालेको बताएका छन् । होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रबार र शनिबारका लागि कार्यक्रम लिन नसकेको बताउनुभयो । धेरै कार्यक्रम जुधेका कारण व्यवस्थापनमा कठिन भएको उहाँको भनाइ छ । कोभिडका कारण रोकिएका कार्यक्रम हुन थालेको बताइएको छ ।

    सौराहामा मुख्य रुपमा पर्यटक घुम्न आउने गर्दछन् । यसका अतिरिक्त ठूला सभा सम्मेलनसँगै विवहाका लागि पनि यहाँ आउने गर्दछन् । कम मूल्यदेखि महँगा कोठा आफ्नो क्षमता अनुसार लिन सकिने भएकाले सौराहा सबैको रोजाइँ हुने गरेको छ । देशको मध्यभागमा पर्ने भएकाले पनि यहाँ ठूला सङ्घ संस्थाले तालिम, सभा सम्मेलन गर्ने गर्दछन् । मुख्यरुपमा भारतीय विवाहका लागि यहाँ आउने गर्दछन् । दुईवटा होटलमा दुलाहादुलहीको परिवार राखेर विवाह गर्ने गर्दछन् ।

    ती प्रयोजनका लागि आउनेहरु पर्यटकीय गतिविधिमासमेत रमाउन पाउने हुँदा सौराहा रोजाइँ हुने गरेको होटल व्यवसायी माधव दुवाडीले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जभित्र दुर्लभ वन्यजन्तु हेर्न र यहाँका संस्कृतिमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहामा १२० होटल छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । (रासस)

  • विदेशमा भोगेको दुःख पाएका ढालेन्द्र छन्त्याल : गाउँमै भेँडा पालेपछि मासिक तीन लाख आम्दानी

    विदेशमा भोगेको दुःख पाएका ढालेन्द्र छन्त्याल : गाउँमै भेँडा पालेपछि मासिक तीन लाख आम्दानी

    बलेवा, ११ फागुन –
    तमानखोला गाउँपालिका–२ कटेरी गाउँका ढालेन्द्र छन्त्याल वर्षमा एक दुई पटकमात्रै घरमा पुग्नुहुन्छ । उच्च पहाडका जङ्गलमा भेडाको बथानका पछि उहाँको बाँकी दैनिकी चलिरहेको छ ।

    वर्षाको समयमा तमानखोलाका उच्च पहाडमा चर्ने उहाँका भेडा हिउँदमा हिउँ परेपछि गलकोट नगरपालिकाको उच्च पहाडमा पुग्छन् । तीनै भेडाको पछि लाग्ने ढालेन्द्र र उहाँका साथीको दैनिकी हिउँद र वर्षामा फरक–फरक ठाउँमा चल्ने गरेको छ । ढालेन्द्रका साना ठूला गरेर १०० भेडा छन् । अरु सातजना साथीका पनि सोही सङ्ख्यामा भेडा छन् ।

    सबैका भेडा एकै ठाउँमा चराउँदा धमिरो लागेको काठजस्तै देखिन्छन् पहाड । भेडीगोठका गोठाला ढालेन्द्र पेशामा सन्तुष्ट हुनुहुन्छ । साथीभाइ पालो गरेर घरपरिवारको रेखदेख गर्न पाइने, आफ्नै माटो, आफ्नै भाषा र आफ्नासँगै बसेर काम गर्दा हुने आम्दानीले उहाँलाई सन्तुष्ट बनाएको छ । लामो समय दुबई, कतार र साउदी अरबको तातो हावामा काम गर्नुभएका ढालेन्द्रले भेडा पाल्न थालेको पाँच वर्ष भयो । उहाँजस्तै विदेशमा दुःख भोगेर देशको माटो सम्झेका साथीको सहकार्यमा भेडा पाल्न थाल्नुभएका ढालेन्द्रले सुरुमा रु चार लाख लगानी गर्नुभएको हो ।

    अहिले वर्षमा सबै खर्च कटाएर रु तीन लाख आम्दानी हुन्छ । “विदेशमा भोगेको दुःख सम्झेर यहाँ मेहनत गरेको छु, आफ्नै परिवारजस्तो लाग्छ भेडीगोठ”, उहाँले भन्नुभयो, “अब विदेश जान्न यतै रमाइलो छ ।” उनीहरुले एउटा वयस्क भेडालाई रु ३५ हजारसम्ममा बेच्छन् । साना पाठापाठीको पनि रु १० देखि १५ हजार पर्छ । “विदेश पुगेपछि गाउँमै केही गर्न सकिन्छ भन्ने बुझेँ”, उहाँले भन्नुभयो, “अहिले थालेको व्यवसायमा सन्तुष्ट छु ।” भेडापालनका लागि चरण क्षेत्र राम्रो भएकाले तमानखोला गाउँपालिका उपयुक्त क्षेत्र हो । अन्य उत्पादन कम हुने, जङ्गल र पाखा धेरै भएकाले यहाँका किसानले मासुजन्य उत्पादनमा ध्यान दिन्छन् । भेडाको उन र मासु दुवैबाट किसानले मुनाफा लिने गरेका छन् ।

    कटेरी गाउँकै ओम पुनले आफ्नो जीवनको महत्वपूर्ण समय विदेशी माटोमा बिताउनुभयो । ४८ वर्षीय ओम पुन बहराइन र साउदी अरबको तातो हावामा १२÷१२ वर्ष काम गरेर अहिले गाउँ फर्किनुभएको छ । विदेशमा कमाएको पैसाले उहाँको पोखरामा घर छ । तर, ओमबहादुर भने तमानको हावापानी सम्झेर गाउँ फर्किनुभएको छ । “पोखरा बस्नै मन लागेन, भाइ बसाइँ सरेर गयो, बाबाआमा एक्लै हुनुभयो, अनि म गाउँ फर्किएँ”, उहाँले भन्नुभयो, “यहाँ शिक्षा, स्वास्थ्य र पूर्वाधार नभएर सुविधा सम्पन्न ठाउँ खोज्ने हामी अब यहीँ ती सुविधा पु¥याउन लाग्नुपर्छ ।”

    पुनले बहराइनमा रहँदा गाउँकै जनज्योति आधारभूत विद्यालयको सुविधा सम्पन्न भवन बनाउन जग्गाका लागि सहयोग अभियान चलाउनुभएको थियो । अभियानमा सङ्कलन भएको रु आठ लाखले जग्गा खरिद गरेर अहिले विद्यालयको पक्की भवन बनेको छ । पैतृक सम्पत्ति गाउँकै पाखोबारीमा खेतीपाती गरेर ओमबहादुरले घरखर्च चलाउनुभएको छ । जन्मे–हुर्केको ठाउँमा रमेर बाबाआमाको सेवामा खटेका ओमबहादुर विदेशबाट गाउँ फर्केर पाखो बारी कोतर्ने उदाहरण हुनुहुन्छ । कटेरिकै चुडामणि छन्त्याल पनि विदेशको कमाइले आर्जेको सम्पत्तिको सुख सयल छोडेर गाउँमा तरकारी फार्म चलाएर बस्नुभएको छ ।

    बसाइँ सरेर जानेहरुले जग्गा नबेच्ने र बसाइँसराइको कागज नगर्ने भएकाले यहाँको वास्तविक तथ्याङ्क भने छैन् । तर गाउँमा सुविधा नभएको भनेर छोड्ने दिनानुदिन बढ्दै छन् । बसाइँ सर्ने रोगमा मलमपट्टी लगाउन गाउँ भित्रिएका ढालेन्द्र, ओमबहादुर र चुडामणिजस्ता युवा पनि छन् । विदेशबाट फर्केर गाउँमा उद्यम, व्यवसाय र खेतीपाती गर्नेलाई गाउँपालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याएको छ । “गतवर्षमा ४० वटा भेडीगोठ सुधारका लागि अनुदान दिएका थियौं”, गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “ऋणमा सहुलियत, व्यवसायमा अनुदान र प्रविधि तथा तालिम निःशुल्क उपलव्ध गराउने कार्यक्रम हामीसँग छन् ।” गाउँ फर्केका युवाले गाउँमै भविष्य खोज्ने उहाँले बताउनुभयो ।

    तीनै तहका सरकारले साथ सहयोग गरे गाउँमा पनि नमूना काम गर्न सकिने उदाहरण उनीहरुले दिएको स्थानीयवासी बताउँछन् । (रासस)

  • आइसिसी टि२० विश्वकप छनोट : तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्ने

    आइसिसी टि२० विश्वकप छनोट : तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्ने

    चितवन, फागुन १०

    नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि घरेलु टोली ओमानसँग खेल्ने भएको छ । तेस्रो स्थानको लागि ओमान र नेपालबीच बिहीबार ओमान क्रिके एकेडेमी ग्राउन्ड-२ मा हुनेछ ।

    नेपाल र ओमान सेमिफाइनलबाट बाहिरिएपछि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । टेस्ट टोली आयरल्यान्ड र युएई आइसिसी टि२० विश्वकप २०२२ मा पुगेका छन् । मंगलबार भएको सेमिफाइनलमा युएईले नेपाल र आयरल्यान्डले घरेलु टोली ओमानलाई पराजित गर्दै टि२० विश्वकप २०२२ मा पुगेका छन् ।

    पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई ६८ रनले पराजित गर्यो । दोस्रो सेमिफाइनलमा आयरल्यान्डले घरेलु टोली ओमानलाई ५६ रनले हराउँदै विश्वकपमा स्थान पक्का गर्यो । १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको ओमान १८.३ ओभरमा ओमान १ सय ९ रनमा अल आउट भयो ।

    १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा नेपाल १ सय ७ रनमा अल आउट भयो ।

    नेपाल समूह बी बाट ३ खेलमा अपराजित रहँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनको हारसँगै विश्वकप सपना समाप्त भएको छ । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो ।

  • नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै, युएईसँग पराजित

    नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै, युएईसँग पराजित

    चितवन, फागुन १० –

    नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ ।

    आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई)सित पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो ।

    नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । एक सय ७६ रनको विजय लक्ष्य पछ्याएको नेपालले १८ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै एक सय सात रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २०, आरिफ शेखले ११, विवेक यादवले ८, कुशल भुर्तेलले ७, जीतेन्द्र मुखियाले ५, कमलसिंह ऐरीले ४ र कप्तान सन्दीप लामिछानेले ४ रन बनाए । बलिङतर्फ युएईका अहमद राजाले ५, जुनैद सिद्दिकीले ३ तथा कशिफ दाउद र रोहन मुस्तफाले एक एक विकेट लिए । यसअद्धि युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ४८ बल खेल्ने क्रममा चार चौका र चार छक्का हाने । यस्तै भृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७, जवार फारिदले ११, रोहन मुस्तफाले ९ रन र अहमद राजाले ६ रन बनाए ।

    बलिङतर्फ नेपालका जीतेन्द्र मुखिया र अविनाश बोहराले तीन तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए । नेपालले तेस्रो स्थानका लागि बिहीबार ओमानसाग खेल्नेछ । जारी प्रतियोगिताबाट युएई र आयरलैण्ड अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटका लागि छनोट भएका छन् ।

    आयरलैण्डले आजै सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानलाई ५६ रनले पराजित गरेको थियो ।

  • चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा भाले गोहीको अभाव

    चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा भाले गोहीको अभाव

    – कुलप्रसाद काफ्ले
    चितवन, फागुन १०-
    चितवन राष्ट्रिय निकुञ्जमा घडियाल गोही प्रजनन केन्द्र स्थापना गरेको ४३ वर्ष भयो । प्रजनन केन्द्र स्थापना गरेपछि यहाँ नारायणी नदीबाट गोहीका दुईवटा अण्डा ल्याएर भाले गोही कोरलिएको थियो ।

    दुईवटामध्ये एउटा भाले गोही १० वर्षअघि जुधेर मर्‍यो । अहिले प्रजनन केन्द्रमा एउटा मात्रै ४३ वर्षको बूढो भाले गोही छ । उसको प्रजनन क्षमतामा ह्रास आएपछि प्राकृतिक बासस्थानबाटै भाले लागेका गोहीका अण्डा ल्याएर बच्चा कोरल्ने र हुर्काउने गरिएको छ ।

    भाले गोहीको मुखमा सुँड निस्किने गर्छ । बाहिरबाट हेरेर गोहीको लिंग पहिचान गर्न नसकिने भएकाले सुँड हेरेर पहिचान गर्ने गरिन्छ । गोही पाँचदेखि छ वर्षको भएपछि मात्रै गोहीको मुखमा सुँड निस्के(ननिस्केको देख्न सकिन्छ ।

    प्रजनन केन्द्रमा भाले गोहीको अभाव भएपछि राप्ती र नारायणी नदीबाट भाले लागेका गोहीका अण्डा संकलन गरेर बच्चा कोरल्ने गरिएको हो । प्रजनन् केन्द्रमा विगत पाँच वर्षदेखि भाले गोहीको अभाव भइरहेको गोहीविज्ञ वेद खड्काले बताए । त्यसयता विभिन्न नदीबाट अण्डा प्रजनन केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिएको उनले जानकारी दिए । खड्का गोही प्रजनन केन्द्रका पूर्वप्रमुखसमेत हुन् ।

    ‘पोथीहरूले अण्डा पार्छन् तर बच्चाहरू निक्लिदैन । धेरैजसो बतासे अण्डा पारेको जस्तो छ । भालेकै कमजोरीले हो कि भन्ने छ । बुढो भएर प्रजनन् क्षमताका कमी आएको हो कि भन्ने अनुमान गरेका छौँ’, उनले भने ।

    यो भाले गोहीमा प्रजनन क्षमता राम्रो भएका बेला पोथी गोहीले वर्षमा तीन सयवटासम्म बच्चा पारेको उनले बताए । नेपालमा गोहीको प्रजनन् क्षमता परीक्षण गर्ने प्रविधि र चिकित्सक छैनन् । विदेशी गोहीविज्ञले गोहीको प्रजनन क्षमता परीक्षण गर्ने वा नयाँ भाले ल्याउनुपर्ने सुझाएको उनी बताउँछन् ।

    केही वर्ष पहिले बर्दियाबाट एउटा भाले गोही ल्याएर भेलौजीमा छाडिएको थियो । प्राकृतिक बासस्थानमा पाँचवटा भाले गोही रहेको उनी बताउँछन् । ‘प्राकृतिक बासस्थानमा हामीले छाडिएका भाले गोहीमा जीन क्षयीकरण हुन्छ । भरसक बाहिरबाटै ल्याउँ न भनेर मैले भनेको छु’, उनले भने ।

    मौसमको तापक्रमका आधारमा गोहीको बच्चा भाले वा पोथी निस्किने गर्छ । उनकाअनुसार ३० देखि ३२ डिग्री सेल्सियसको तापक्रममा भाले जन्मिने र त्यो भन्दा माथि र तल तापक्रम हुँदा पोथी गोही जन्मिन्छ । प्रजनन केन्द्रमा भाले गोहीको लागि आवश्यक तापक्रम कायम गरेर विभिन्न नदीमा भाले गोही छाड्ने गरिएको छ ।

    निकुञ्ज विभागबाटै गोही विशेषज्ञका रूपमा प्रजनन केन्द्रमा खटाइएका खड्काले नदीको प्राकृतिक बासस्थान नै गोहीमैत्री नरहेको बताउँछन् । गोहीले मुख्यगरी बालुवामा अण्डा पार्ने हो । ‘नदीको इको सिस्टम ब्यालेन्स छैन । किनभने नदीमा हुने ढलापडा काठ माछाको घर हो । माछा गोहीको आहारा हो । नदीमा बग्दै आउने काठ प्रयोगविहीन भनेर मान्छेले प्रयोग गर्ने गर्छन्’, उनले भने ।

    बगेर भारत पुग्छन् गोही

    चितवन राष्ट्रिय निकुञ्जले वर्षेनी नदीहरूमा घडियाल गोहीका बच्चा छाड्ने गर्छ । नदी नै गोहीको प्राकृतिक बासस्थान भएकाले निकुञ्जले २०३५ सालमा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । तर अहिलेसम्म जति गोही छाडियो त्यसको न्यून संख्यामा मात्रै नदीमा देखिएको निकुञ्जले बताएको छ ।

    नदीको पानीसँगै गोही बग्दै(बग्दै भारतसम्म पुग्ने तर फर्किन नसक्नु नै गोहीको संख्या बढ्न नसक्नुको प्रमुख कारण रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन् । नेपालका नदीमा छाडिएका गोही भारतको गंगा नदीसम्म पुग्ने गर्छन् । त्यसकारण ठूलो संख्यामा नदीमा गोहीका बच्चा छाडिए पनि अनुगमनका क्रममा न्यून संख्यामा मात्रै गोही फेला पर्ने गरेको उनी बताउँछन् ।

    प्रजनन केन्द्र स्थापनापछि हालसम्म राप्ती, नारायणी र कोसीमा गरी १६ सय ९२ वटा गोही छाडिसकिएको छ । ‘गण्डक ब्यारेज बनाउँदा गोहीलाई पुनः माथि आउन सक्ने खालको संरचना बनाउन नसक्दा पनि जति हामीले गोही छाड्यौँ त्यति संख्यामा हामीले फेला पारेका छैनौँ’, उनले भने । अनुगमनका क्रममा तीनवटा नदीमा करिब तीन सयवटा मात्रै गोही फेला परेको उनले बताए ।

    घडियाल गोहीलाई जोगाउन साँच्चिकै चुनौती रहेको उनी बताउँछन् । ‘यो बगेको स्वच्छ पानीमा बस्ने र माछा मात्रै खाने भएकाले पानीलाई प्रदूषणरहित बनाउन सक्यौँ भने यसको दिगो भविष्य सोँच्न सक्छौँ’, उनी भन्छन्, ‘त्यसका लागि निकुञ्जले मात्रै नभएर नदीको माथिल्लोदेखि तल्लो क्षेत्रसँग जोडिएका सरोकारवालाले नदी सरसफाइमा जोडिएर गोहीलाई जोगाउन सक्छौँ ।

    चालू आवमा राप्तीको कसरामा ४७, कोसीमा २०, जनकपुरघाटमा २० र नारायणीको दिव्यपुरीघाटमा २० गरी जम्मा १०७ वटा गोही प्राकृतिक बासस्थानमा छाडिएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं वन्यजन्तु प्रजनन् स्याहार तथा वन्यजन्तु उद्दार शाखाका प्रमुख सरोजमणी पौडेलले बताए । ‘गोही छाडेपछि वर्षेनी हामीले अनुगमन गरेका हुन्छौँ । दुई महिना अगाडि गरेको अनुगमनका आधारमा राप्ती र नारायणीमा करिब २५० वटा मात्रै गोही फेला पार्‍यौं’, उनले भने । नदीमा माछा मार्नेले तियारी जाल हाल्ने र त्यही जालमा फसेर गोही मर्ने पनि गरेका छन् ।

    गोहीको बासस्थानबाट ढुंगा, गिट्टी र बालुवा निकाल्दा गोहीको बासस्थान नष्ट हुने गर्छ । नदीमा विभिन्न प्रकारका घातक फोहोर फाल्दा नदी प्रदूषित बन्न पुगी गोहीको बासस्थानमा क्षति पुगेको उनी बताउँछन् । – न्युज कारखाना