Category: विदेश

  • दक्षिण कोरियाली विमानमा आगलागी, विमानमा रहेका सबै जनाको उद्धार

    दक्षिण कोरियाली विमानमा आगलागी, विमानमा रहेका सबै जनाको उद्धार

    सिओल, माघ १६ –
    दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् ।

    दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । विमानका १६९ यात्रु, छ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ ।

    राष्ट्रिय अग्नि नियन्त्रण निकायले जारी गरेको विज्ञप्तिमा उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको जनाएको छ । अग्नि नियन्त्रण निकायले घटनास्थलमा दमकल र दमकलकर्मीहरू परिचालन गरेको एक घन्टापछि स्थानीय समयानुसार राति ११ः३१ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको बतायो ।

    आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन । यातायात मन्त्रालयले उक्त विमान ए३२१ मोडेलको रहेको बताएको छ ।

    मङ्गलबारको घटना दक्षिणी दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रु विमान दुर्घटना भएको एक महिना पछि आएको हो । जेजु एयरको विमान दुर्घटनामा विमानमा सवार १८१ जना मध्ये दुई जना बाहेक सबै मारिएका थिए । यो दक्षिण कोरियाको उड्डयन इतिहासमा सबैभन्दा घातक दुर्घटनामध्ये एक थियो ।

    बोइङ ७३७–८०० विमान डिसेम्बर २९ मा ल्यान्डिङ गियर खुल्न नसकेपछि विमानस्थलको धावनमार्गबाट चिप्लिएर कङ्क्रिटको संरचनामा ठोक्किएर आगोको लपेटामा परेको थियो । उक्त उडान बैंककबाट फर्किएको थियो र दुई थाई नागरिक बाहेक सबै पीडित दक्षिण कोरियाली थिए ।

    सोमबार जारी गरिएको दुर्घटनाको पहिलो प्रतिवेदनमा अधिकारीहरूले विमानको इन्जिनमा चराहरू ठोक्किएको प्रमाण फेला पारेको पुष्टि गरेका छन् । यद्यपि अधिकारीहरूले दुर्घटनाको कारण निर्धारण गरिसकेका छैनन् । – रासस

  • अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासीको संख्या सार्वजनिक, नेपाली १,३६५ जना

    अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासीको संख्या सार्वजनिक, नेपाली १,३६५ जना

    काठमाडौं, माघ १६ –
    डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ ।

    अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् ।

    ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

    अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।

    होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।

    चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् ।

  • विरोध प्रदर्शनलाई थेग्न नसकेपछि सर्बियाका प्रधानमन्त्रीले दिए राजीनामा

    विरोध प्रदर्शनलाई थेग्न नसकेपछि सर्बियाका प्रधानमन्त्रीले दिए राजीनामा

    काठमाडौं, माघ १६ –
    सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले पदबाट राजीनामा दिएका छन् । गत नोभेम्बरदेखिको देशव्यापी विरोध प्रदर्शनलाई थेग्न नसकेपछि भुसेभिकले राजीनामा दिएका हुन् ।

    गत नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रेलवे स्टेसनको छतको एक भाग भत्किएको थियो । जसमा १५ जनाको मृत्यु भयो ।

    यस घटनापछि देशभर सरकारविरुद्ध विरोध प्रदर्शन भएको भयो । घटनाको जवाफदेहिता माग गरेर प्रत्येक दिन हजारौँ सडकमा उत्रिन्थे । निर्माण परियोजनामा भएको भ्रष्टाचारका कारण दुर्घटना घटेको उनीहरूको आरोप थियो ।

    नोभी साद घटनामा १३ जनामाथि भ्रष्टाचारको आरोप लागेको थियो । यसमा पूर्व यातायातमन्त्री गोरान भेसिकको नाम पनि मुछिएको थियो । त्यसको केही दिनपछि उनले पदबाट राजीनामा दिएका थिए । तर, प्रदर्शनकारीहरू आन्दोलन जारी राखेका थिए ।

    विरोध प्रदर्शनमा विद्यार्थीहरूको ठूलो सहभागिता थियो । उनीहरूले हरेक दिन बिहान ११:५२ बजे १५ मिनेटका लागि देशभर सवारी साधनको आवागमन रोक्ने गर्थे । यही समयमा रेलवे स्टेसनमा छत भत्किने घटना भएको थियो ।  – बीबीसी

  • भारतमा महोत्सवका क्रममा काठको मञ्च भत्किँदा सात जनाको मृत्यु, ७५ घाइते

    भारतमा महोत्सवका क्रममा काठको मञ्च भत्किँदा सात जनाको मृत्यु, ७५ घाइते

    काठमाडौँ, माघ १५ –
    भारतको उत्तर प्रदेशको बागपत जिल्लामा ठूलो दुर्घटना भएको छ। बागपतमा भगवान आदिनाथको निर्वाण लड्डू उत्सवमा मान स्तम्भ परिसरमा बनाइएको काठको मञ्च भत्किएको छ। जसबाट सात जना भक्तजनको मृत्यु भएको छ भने ७५ भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। घाइतेमध्ये १५ प्रहरी पनि छन्।

    मञ्च भत्किएपछि घटनास्थलमा भागदौड मच्चिएको थियो। एम्बुलेन्स तत्काल उपलब्ध नभएपछि घाइतेलाई इ–रिक्सामा राखेर अस्पताल लगिएको बताइएको छ। सूचना पाएपछि बरौत कोतवालीका इन्स्पेक्टर पनि प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए।

    भारतीय सञ्चार माध्यमका अनुसार बरौत सहरको कोतवाली क्षेत्रको गान्धी रोडमा यो दुखद दुर्घटना भएको हो।

    आज यहाँ निर्वाण महोत्सवअन्तर्गत धार्मिक कार्यक्रम हुने भएकोले त्यसका लागि यहाँ ६५ फिट अग्लो स्टेज निर्माण गरिएको थियो। मञ्चमा भक्तजनको भीडका कारण यसको सिँढी भाँचिएको थियो। जैन कलेज क्याम्पसमा स्थापित मनस्तम्भमा राखिएको मूर्तिलाई अभिषेक गर्न जडान गरिएका अस्थायी सिँढीहरू खसेको बताइएको छ। जसका कारण भक्तहरू मुनि पुरिएर भागदौड मच्चिएको थियो। – एजेन्सी

  • आफूमाथि मुद्दा चलाउने दर्जन बढी वकिललाई ट्रम्पले गरे बर्खास्त

    आफूमाथि मुद्दा चलाउने दर्जन बढी वकिललाई ट्रम्पले गरे बर्खास्त

    काठमाडौँ, माघ १५ –
    डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि ट्रम्पका विपक्षीमाथि कारबाही सुरु भएको छ। यस अन्तर्गत अमेरिकी न्याय विभागका एक दर्जनभन्दा बढी वकिललाई जागिरबाट निकालिएको बताइएको छ।

    जागिरबाट बर्खास्त गरिएकामा डोनाल्ड ट्रम्पविरुद्धको मुद्दाको कारबाहीमा संलग्न व्यक्तिहरू पर्छन्। न्याय विभागका विशेष अभियोजक ज्याक स्मिथको टोली सबैभन्दा बढी प्रभावित भएको छ। ठूलो संख्यामा वकिलहरूलाई आफ्नो जागिरबाट हटाइएपछि अमेरिकी न्याय विभाग उथलपुथलको अवधिबाट गुज्रिरहेको छ। – एजेन्सी

  • थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै हमास

    थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै हमास

    तेल अभिभ, माघ १४ –
    उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका हुन्।

    रिहा गरिने बन्धकमध्ये एक नागरिक अर्बेल येहुद पनि छन्। आम नागरिकको रिहाइ नहुँदा इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन।

    हमासले शनिबार चार जना बन्धकहरूलाई रिहा गरेको थियो तर त्यतिबेला अर्बेल येहुदलाई भने रिहा गरेन। इजरायलले हमासमाथि युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो। सम्झौता अनुसार पहिले इजरायली नागरिकलाई रिहा गर्नु पर्ने थियो।

    गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले सात बन्धकहरूलाई रिहा गरेको छ। इजरायलले बदलामा २ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । – एजेन्सी

  • नाइजेरियामा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १८ जनाको मृत्यु

    नाइजेरियामा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १८ जनाको मृत्यु

    काठमाडाैं, माघ १४ –
    अफ्रिकी देश नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । दु्घटनामा १० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ ।

    ट्रकको ब्रेक फेल भएको र चालकले नियन्त्रण गुमाएको समाचारमा उल्लेख छ । जसका कारण एक्सप्रेसवेमा ट्रकले करिब १७ सवारी साधनलाई ठक्कर दिएको थियो ।

    दक्षिण-पूर्वी राज्य एनुगुको एनुगु-ओनित्शा एक्सप्रेसवेमा दुर्घटना भएको हो ।

    ओगुङबेमिडेका अनुसार पेट्रोल बोकेको ट्याङ्करले नियन्त्रण गुमाउँदा १७ वटा सवारी साधनमा ठोक्किएर आगलागी भएको हो ।

    नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो तेल उत्पादन गर्ने देश हो र अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । यहाँ सामान ढुवानीका लागि दक्ष रेल प्रणाली छैन ।

    एक साताअघि नाइजेरियामा यस्तै घटनामा करिब १०० जनाको मृत्यु भएको थियो ।

  • जापानको रेल स्टेसनमा छुरा प्रहार गर्ने १ जना पक्राउ

    जापानको रेल स्टेसनमा छुरा प्रहार गर्ने १ जना पक्राउ

    काठमाडाैं, माघ १३ –
    जापानको राजधानी टोकियोको एक रेल स्टेसनमा छुरा प्रहार गरी एक जनाको हत्या गर्ने एक व्यक्तिलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जापानको मध्य भागमा रहेको जेआर नागानो स्टेसनबाहिर बुधबार साँझ भएको आक्रमण हिंसात्मक अपराधको दुर्लभ घटना हो । आक्रमणमा एक व्यक्तिको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

    प्रहरीले ४६ वर्षीय स्थानीय व्यक्तिलाई पक्राउ गरेको सरकारी प्रसारक एनएचकेद्वारा प्रसारित पत्रकार सम्मेलनमा एक अधिकारीले बताए ।

    उनलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ भने उनीमाथि अन्य थप आरोप लाग्न सक्छ ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणमा ४९ वर्षीय एक पुरुषको मृत्यु भएको थियो भने ३० वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए भने ४० वर्षीया एक महिला सामान्य घाइते भएकी थिइन् ।

    जापानी सञ्चारमाध्यमले अनुसन्धान स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘रेल स्टेसनबाहिर बस स्टपमा तीनै जनालाई लक्षित गरी आक्रमण गरिएको थियो ।’

  • सीआईएको नयाँ दाबी : कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट फैलियो

    सीआईएको नयाँ दाबी : कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट फैलियो

    काठमाडौं, माघ १३ –
    अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले कोरोना भाइरस प्रयोगशालामा तयार गरिएको हुन सक्ने शंका व्यक्त गरेको छ ।

    शनिबार सार्वजनिक गरिएको यस प्रतिवेदनमा चीनलाई कोभिड-१९ का लागि जिम्मेवार ठहराइएको छ । यद्यपि सीआईएको प्रतिवेदनमा यस दाबीलाई प्रमाणित गर्ने पर्याप्त प्रमाण नभएको पनि उल्लेख गरिएको छ ।

    ट्रम्प प्रशासनका सीआईए निर्देशक जोन र्‍याटक्लिफको आदेशमा सार्वजनिक गरिएको यो प्रतिवेदन बाइडेन प्रशासन र सीआईएका पूर्वनिर्देशक विलियम बर्न्सको आदेशमा तयार पारिएको हो ।

    समाचार संस्था एपीको रिपोर्ट अनुसार, यसअघि पनि विभिन्न प्रतिवेदनले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको हुनसक्ने शंका व्यक्त गरेका थिए । तर, केही प्रतिवेदनहरूले यो प्राकृतिक रूपमा फैलिएको दाबी गरेका थिए ।

    यो प्रतिवेदन कुनै नयाँ गुप्तचर जानकारीको आधारमा तयार गरिएको भने होइन ।

    डेली मेलका अनुसार अमेरिकी अधिकारीहरूले कोरोना भाइरसको फैलावटबारे सीआईएको नयाँ धारणा पुष्टि गर्ने कुनै नयाँ प्रमाण भने छैन ।

    सीआईएले शनिबार जारी गरेको एक सन्देशमा भनेको छ, ‘उपलब्ध रिपोर्टहरूको आधारमा कोभिड-१९ महामारीको उत्पत्तिमा प्रयोगशालासँग सम्बन्धित कारण प्राकृतिक कारणभन्दा बढी सम्भावित भएको हाम्रो ‘कम आत्मविश्वास’ सहितको मूल्यांकन छ ।’

    एजेन्सीले भनेको छ, ‘कोभिड-१९ महामारीको उत्पत्तिमा प्रयोगशालासँग सम्बन्धित र प्राकृतिक दुवै सम्भावना अझै पनि विश्वसनीय मानिन्छ ।’

    सीआईएको उक्त सन्देशमा भनिएको छ, ‘हामी यो मूल्यांकनमा ‘कम आत्मविश्वास’ राख्छौं र कुनै नयाँ गुप्तचर जानकारी वा सान्दर्भिक विवरण प्राप्त भएमा त्यसलाई निरन्तर समीक्षा गर्नेछौं ।’

    फेरि चर्चामा कोरोना भाइरस

    सीआईएको यो रिपोर्टले कोरोना भाइरसलाई पुनः एकपटक चर्चामा ल्याएको छ । यो रिपोर्ट भाइरसको प्रसार, यसको वैज्ञानिक विशेषता र चीनको भाइरोलोजी प्रयोगशालामा गरिएका अनुसन्धानको नयाँ विश्लेषणका आधारमा तयार गरिएको हो ।

    गुप्तचर अधिकारीहरूले चिनियाँ सहयोग अभावले यो रहस्य सायद कहिल्यै पूर्ण रूपमा समाधान हुन नसक्ने बताएका छन् । अमेरिकी सांसदहरूले जासुसी संयन्त्रहरूलाई कोभिड-१९ को उत्पत्तिबारे थप जानकारी प्रदान गर्न दबाब दिएका छन् ।

    विश्व अझै कोभिड महाव्याधिको प्रभावहरूसँग जुधिरहेकोले यो विषय अमेरिकी र विश्व राजनीतिका लागि अत्यन्त महत्त्वपूर्ण छ ।

    चीनको प्रतिक्रिया

    चीनले अमेरिकी आरोप र कोभिड-१९ को उत्पत्तिबारे कुनै पनि प्रकारका अडकलबाजीलाई आधारहीन र राजनीति प्रेरित भएको बताएको छ ।

    शनिबार एक चिनियाँ अधिकारी लिउ पेंग्यूले भनेका छन्, ‘हामी भाइरसको उत्पत्तिलाई राजनीतीकरण र कलंकित गर्न खोज्ने प्रयासको कडा विरोध गर्दछौं । हामी सबैलाई विज्ञानको सम्मान गर्न र षड्यन्त्र सिद्धान्तहरूबाट टाढा रहन अपिल गर्दछौं ।’

    वैज्ञानिकहरूले कोरोना भाइरस चमेरोबाट फैलिएको हुनसक्ने अनुमान गरेका थिए । यसअघि पनि कोरोनासँग मिल्दोजुल्दो अन्य भाइरस चमेरोबाट फैलिएको आधारमा उनीहरूले यो निष्कर्ष निकालेका थिए । – एजेन्सी

  • हमासले गर्‍यो चार इजरायली बन्धक रिहा

    हमासले गर्‍यो चार इजरायली बन्धक रिहा

    काठमाडौं, माघ १२ –
    प्यालेस्टाइनी लडाकु समूह हमासले थप चार इजरायली बन्धक रिहा गरेको छ । हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाएको हो । यी चारैजना महिला हुन् ।

    हमासले यी चारैजना इजरायली सैनिक भएको जनाएको छ । उनीहरूका नाम करिना एरिएभ, ड्यानिएला गिल्बोओ, लेवी र लिरी अल्बाग हो ।

    बन्धक रिहा गरेपछि इजरायलको तेल अभिभमा खुसीको माहोल छ । इजरायली मिडियाका अनुसार, बन्धकका परिवार आफ्ना प्रियजनलाई स्वागत गर्न गाजा सीमामा प्रतीक्षारत छन् ।

    सीमामा आइपुगेपछि इजरायली वायुसेनाले बन्धकलाई ल्याउनेछ । बन्धकका निम्ति सिमानामा एउटा हेलिकोप्टर तयार छ ।

    हमासले चार बन्धकलाई रेडक्रसको जिम्मा लगाएको इजरायली रक्षा बलले पुष्टि गरेको छ । बन्धकलाई छिट्टै इजरायल पठाइनेछ ।

    इजरायलले हमाससँगको सम्झौताअनुसार प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गर्नेछ । – बीबीसी