Category: विदेश

  • अमेरिकामाथि चीनले पनि लगायो १० प्रतिशत कर

    अमेरिकामाथि चीनले पनि लगायो १० प्रतिशत कर

    काठमाडौं, माघ २२ –
    अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । जस्तालाई त्यस्तै गर्ने नीति अनुसार चीनले यो कदम चालेको हो ।

    चीनको पछिल्लो निर्णयले अमेरिकाबाट भित्रिने ठुला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्नेछ ।

    चीन विरुद्ध कर लगाउन अमेरिकाले दिएको समयसीमा आज समाप्त हुँदै थियो । अमेरिकामा चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर कार्यान्वयनमा आएको छ ।

    योसँगै चीनले पनि प्रतिरोधात्मक कर घोषणा गरेको हो । अमेरिकाले मेक्सिको र क्यानडा विरुद्ध लगाइएको २५/२५ प्रतिशत अतिरिक्त कर भने ३० दिनको लागि स्थगित गरेको छ ।

  • भारतमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १७ घाइते

    भारतमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १७ घाइते

    काठमाडौं, माघ २० –
    भारतको गुजरातमा आइतबार बिहान तीर्थयात्री सुवार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा आज बिहान सवा चार बजेतिर बस सडबाट ३५ फुट तल खसेको थियो ।

    बसमा ४८ यात्रु थिए । तीमध्ये दुई महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको र १७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अन्य यात्रु सामान्य घाइते छन् ।

    घाइतेहरुलाई उपचारका लागि अहवास्थित अस्पतालमा भर्ना गरिएको छ ।

    बस तीर्थयात्रीलाई लिएर गुजरातको द्वारका जाँदै थियो । उनीहरु मध्यप्रदेशका गुना, शिवपुरी र अशोकनगर जिल्लाका थिए ।

    शनिबार भारत उत्तरप्रदेशको प्रयागराजमा लागेको कुम्भ मेलाबाट फर्किरहेका नेपाली सवार जिप मधुवनीमा दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको थियो ।

  • अमेरिकी भन्सार महसुलविरुद्ध ‘जवाफी कदम’ दिने चीनको चेतावनी

    अमेरिकी भन्सार महसुलविरुद्ध ‘जवाफी कदम’ दिने चीनको चेतावनी

    बेइजिङ, माघ २० –
    चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाफी कदम’ चाल्ने वाचा गरेको बताएको छ ।

    शनिबार प्रमुख व्यापार साझेदारहरू विरुद्ध व्यापक कदमहरू सार्वजनिक गर्दै ट्रम्पले चिनियाँ आयातमा विद्यमान शुल्कमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।

    आइतबार एक विज्ञप्तिमा चीनको वाणिज्य मन्त्रालयले वासिङ्टनको ‘गलत अभ्यासहरू’को आलोचना गर्दै बेइजिङ ‘यसप्रति अत्यन्त असन्तुष्ट र दृढतापूर्वक विरोध गर्दछ’ भनेको छ ।

    मन्त्रालयले बेइजिङले विश्व व्यापार संगठन (डब्लूटीओ)मा मुद्दा दायर गर्ने र ‘संयुक्त राज्य अमेरिकाले एकपक्षीय रूपमा लगाएको करले विश्व व्यापार संगठनका नियमहरूको गम्भीर उल्लंघन गर्छ’ भनी तर्क गरेको बताएको छ ।

    “यी शुल्कहरू अमेरिकाको आफ्नै समस्याहरू समाधान गर्न मात्र असहयोगी नभई सामान्य आर्थिक र व्यापारिक सहयोगलाई पनि कमजोर बनाउँछन्”, मन्त्रालयले भनेको छ, “संयुक्त राज्य अमेरिकाले अन्य देशहरूलाई हरेक पालोमा कर लगाउने धम्की दिनुको सट्टा फेन्टानिल जस्ता आफ्नै मुद्दाहरूलाई वस्तुनिष्ठ र तर्कसंगत रूपमा हेर्ने र व्यवहार गर्नेछ भन्ने चीनलाई आशा छ । ”

    “बेइजिङले अमेरिकालाई आफ्नो गलत अभ्यासहरू सुधार गर्न, चीनलाई आधा बाटो भेट्न, आफ्ना समस्याको सामना गर्न, स्पष्ट संवाद गर्न, सहयोगलाई बलियो बनाउन र समानता, आपसी लाभ र आपसी सम्मानको आधारमा मतभेद व्यवस्थापन गर्न आग्रह गर्दछ।” विज्ञप्तिमा उल्लेख छ ।

    “व्यापार युद्ध वा भन्सार युद्धमा कुनै विजेता हुँदैन,” विज्ञप्तिमा चीनको विदेश मन्त्रालयले भनेको छ, “थप भन्सार महसुल लगाउने अभ्यास रचनात्मक छैन र यसले लागुऔषध नियन्त्रणमा भविष्यको द्विपक्षीय सहयोगलाई अनिवार्य रूपमा प्रभावित र क्षति पुर्‍याउनेछ । – रासस

  • दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ३ जना बेपत्ता

    दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ३ जना बेपत्ता

    काठमाडाैं, माघ १९ –
    दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुई वटा डुङ्गा डुब्दा तीन जना बेपत्ता भएका छन् ।

    योनहाप समाचार एजेन्सीका अनुसार हालसम्म चालक दलका १२ सदस्यलाई उद्धार गरिएको छ ।

    स्थानीय समयअनुसार बिहान ९ः२५ बजे चालक दलका सदस्य सहितको ३२ टन तथा २९ टन वजनको डुङ्गा टापु जेजुमा डुबेको हो ।

    उद्धार गरिएका मध्ये एकलाई हृदय घात भएको अवस्थामा अस्पताल लगिएको र प्राथमिक उपचार गरिएको थियो ।

    बाँकी तीन जना चालक दलका सदस्यहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

  • अमेरिकामा फेरि अर्को विमान दुर्घटना, कोही पनि ज्युँदो नरहेको आशंका

    अमेरिकामा फेरि अर्को विमान दुर्घटना, कोही पनि ज्युँदो नरहेको आशंका

    फिलाडेल्फिया, माघ १९ –
    अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको भीडभाड भएको क्षेत्रमा एउटा सानो विमान दुर्घटना हुँदा धेरै घर र सवारी साधनमा आगलागी भएको छ । विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिसहरू पनि घाइते भएको खबर छ ।

    शुक्रबार साँझ दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । विमानमा ६ जना मानिस सवार थिए । उक्त विमान मेडिकल ट्रान्सपोर्टेसन मिसनमा रहेको र विमानमा डाक्टरहरुसहित एक बिरामी बालक रहेको बीबीसीको अमेरिकी सहयोगी सीबीएसले उल्लेख गरेको छ ।

    विमान दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सीबीएस न्यूजका अनुसार रुजवेल्ट मलबाट केही दूरीमा यो विमान दुर्घटना भएको हो । यो पेन्सिलभेनिया सहरको घना आबादी भएको क्षेत्रमा अवस्थित तीन तले किनमेल केन्द्र हो।

    संघीय उड्डयन प्रशासनका अनुसार, लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया एयरपोर्टबाट साँझ ६:३० बजे (स्थानीय समय) मा उडेको थियो । करिब ६ किलोमिटर उडेपछि विमान दुर्घटनाग्रस्त भएको थियो।

    बुधबार वासिङ्टन डिसीमा आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको थियो । रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको जेट विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो ।

    हालसम्म कम्तीमा २८ शव निकालिएको अधिकारीहरूले बताए । विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक थिए । – एजेन्सी

  • अमेरिकामा विमान दुर्घटनाः ‘ब्ल्याक बक्स’ भेटियो

    अमेरिकामा विमान दुर्घटनाः ‘ब्ल्याक बक्स’ भेटियो

    काठमाडौं, माघ १८ –
    अमेरिकामा दुर्घटना भएको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । खोजीकार्यका क्रममा ब्ल्याक बक्स भनिने विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको अधिकारीहरूले बताएका छन् ।

    बीबीसीको अमेरिकीसम्बद्ध संस्था सीबीएस न्युजलाई एक स्रोतले यो जानकारी दिएको हो । ब्ल्याक बक्समार्फत यो समस्या वास्तवमा कहाँ भयो पत्ता लगाउन सम्भव हुनेछ ।

    सीबीएसका अनुसार, राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा ब्ल्याक बक्स जाँच गरिनेछ । स्थानीय समयानुसार बुधबार राति करिब ९ बजे अमेरिकी एयरलाइन्सको विमान वासिङटन डीसीनजिकै आकाशमा ब्ल्याक हक हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा विमानमा सवार सबै ६४ जनाको मृत्यु भएको जनाइएको छ ।

    बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान कन्सासबाट वासिङटनतर्फ जाँदै थियो ।

  • अमेरिकी विमान दुर्घटनाबारे ट्रम्पले लगाए यस्तो गम्भीर आरोप

    अमेरिकी विमान दुर्घटनाबारे ट्रम्पले लगाए यस्तो गम्भीर आरोप

    काठमाडौं, माघ १८ –
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमान दुर्घटनालाई लिएर सिंगो देश शोकमा रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाको वाशिंगटन डीसी नजिकै हेलिकोप्टरसँग अमेरिकन एयरलाइन्सको विमान ठोक्किएर भएको दुर्घटनाबारे पत्रकार सम्मेलन गर्दै दुर्घटनाको वास्तविक कारण थाहा नभएको बताएका छन् । उक्त दुर्घटनामा विमानमा सवार सबै ६४ जनाको मृत्यु भएको थियो ।

    राष्ट्रपति ट्रम्पले दुर्घटनाको विस्तृत छानबिन गर्न आदेश दिइएको बताउँदै भने, “यो दुर्घटनाको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन । तर, हामी छिट्टै पत्ता लगाउनेछौँ । र, फेरि यस्तो नहोस् भनेर सुनिश्चित गर्नेछौँ ।”

    उनले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गर्दै अमेरिका शोकमा डुबेको बताए । उनले भनेका छ, “हेलिकोप्टर गलत समयमा गलत ठाउँमा थियो ।”

    ‘विमान र हेलिकोप्टर ठक्करबाट कोही बाँचेका छैनन्’
    उनले यस घातक दुर्घटनाका लागि अघिल्लो बाइडेन सरकारको डीईआई प्रोगामलाई दोष दिए । यो कार्यक्रमअन्तर्गत अपांगता र मानसिक समस्या भएका मानिसलाई एयर ट्राफिक कन्ट्रोलरको रूपमा भर्ती गरिएको उनको आरोप छ ।

    उनले ओबामा र बाइडेन प्रशासनलाई एयर ट्राफिक कन्ट्रोलमा औसत व्यक्ति भर्ती गरेको आरोप लगाए । ट्रम्पले आरोप लगाए पनि यसको कुनै प्रमाण भने दिएनन् ।

    ट्रम्पले आफ्नो एक कार्यकारी आदेशलाई उदृत गरे जुन एयर ट्राफिक नियन्त्रणमा उच्च मापदण्ड अपनाउने थियो । – बीबीसी

  • अमेरिकन एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको शव निकालियो, अरूको खोजी जारी

    अमेरिकन एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको शव निकालियो, अरूको खोजी जारी

    काठमाडाैं, माघ १७ –
    अमेरिकन एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म १८ जनाको मृत्यु पुष्टि भएको छ । उद्धार टोलीले १८ जनाको शव बरामद गरेको बीबीसीले जनाएको छ । खोजी टोलीले अहिलेसम्म कोही पनि जीवित फेला पार्न सकेको छैन।

    अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएको थियो ।

    स्थानीय समयानुसार राति ९ बजे विमान र हेलिकप्टर ठोकिएर रेगन वाशिंगटन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा दुर्घटना भएको हो ।

    डीसी फायर र ईएमएस विभागका अनुसार विमान डीसी हुँदै बग्ने पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको थियो ।

    यात्रुवाहक विमानसँग ठोक्किएको हेलिकप्टरमा ३ जना सैनिक सवार थिए । उनीहरू चालक दलकै सदस्य रहेको सीएनएनले जनाएको छ । विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य थिए । ​

  • दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा एक जना जीवितै

    दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा एक जना जीवितै

    जुवा, माघ १७ –
    दक्षिण सुडानको दुर्गम क्षेत्रमा बुधबार भएको विमान दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । विमानमा सवार २१ जना मध्ये एक जना बाँचेका हुन् ।

    यो विमान चिनियाँ तेल कम्पनी ग्रेटर पायोनियर अपरेटिङ कम्पनीसँग सम्बन्धित थियो । दक्षिण सुडानको युनिटी राज्यको तेल क्षेत्र नजिकै उडान भर्ने क्रममा बिहान १०ः३० बजे विमान दुर्घटनाग्रस्त भएको थियो । विमान दक्षिण सुडानको राजधानी जुवा जाँदै थियो । सूचनामन्त्री गटवेच बिपालले विमानमा २१ जना सवार रहेको बताए । यसमा दुई पाइलट पनि थिए ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार अधिकांश मानिसहरू तेल कम्पनीका कर्मचारी थिए । संयुक्त राष्ट्रसंघ सम्बद्ध रेडियो मिरायाले विमान कम्पनीको विज्ञप्तिलाई उद्धृत गर्दै मृतकमध्ये अधिकांश दक्षिण सुडानका नागरिक भएको उल्लेख गरेको छ । मारिनेहरूमा एक भारतीय र दुई चिनियाँ नागरिक पनि भएको बताइएको छ ।

    अधिकारीहरूले मृतकहरूको पहिचान पुष्टि गरेका छैनन् । दक्षिण सुडानको एसएसबीसी न्यूजका चोल अटकले एक्समा आफ्नो पोस्टमा विमान दुर्घटनामा बाँचेका व्यक्तिको नाम इमानुएल मेकर रहेको बताएका छन् ।

    उनी ग्रेटर पायोनियर कम्पनीका इन्जिनियर हुन् । घाइते अवस्थामा उनलाई हेलिकप्टरबाट जुवा लगिएको थियो, जहाँ उनको अवस्था स्थिर रहेको भनिएको छ । – एजेन्सी

  • अमेरिकन एयरलाइन्सको विमान आकाशमै हेलिकप्टरसँग ठोक्कियो, पोटोम्याक नदीमा दुर्घटनाग्रस्त

    अमेरिकन एयरलाइन्सको विमान आकाशमै हेलिकप्टरसँग ठोक्कियो, पोटोम्याक नदीमा दुर्घटनाग्रस्त

    काठमाडाैं, माघ १७ –
    अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएको छ ।

    स्थानीय समयानुसार राति ९ बजे विमान र हेलिकप्टर ठोकिएर रेगन वाशिंगटन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

    डीसी फायर र ईएमएस विभागका अनुसार विमान डीसी हुँदै बग्ने पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको थियो ।

    वाशिंगटन डीसीको आपतकालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ । त्यहाँ धेरै एम्बुलेन्स र दमकलहरू देखिएको बीबीसीको समाचारमा उल्लेख छ । ​

    यात्रुवाहक विमानसँग ठोक्किएको हेलिकप्टरमा ३ जना सैनिक सवार थिए । उनीहरू चालक दलकै सदस्य रहेको सीएनएनले जनाएको छ । विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य थिए । ​

    रेगन एयरपोर्टमा हाल सबै उडानहरू रोकिएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार यसबारे थप अनुसन्धान भैरहेको छ ।