Category: Banner तल ताजा समाचार

  • देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा गयो : पूर्वअर्थमन्त्री युवराज खतिवडा

    देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा गयो : पूर्वअर्थमन्त्री युवराज खतिवडा

    काठमाडौं, २७ चैत-

    पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ ।

    ‘देश गलत व्यक्ति र गलत प्रवृतिको हातमा पुगेको छ । अहिले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्रिले भने भूमाफिया, भ्रष्टाचारीले देश चलाइरहेका छन् । अर्थमन्त्री अफवाह मात्र फैलाउँदै हिडिरहेका छन्,’ खतिवडाले भने ।

    मुलुकमा व्यापार घाटा निकै बढेको उनको भनाइ छ । अहिले आर्थिक बृद्धिभन्दा पनि धारासायी हुने चिन्ता भइरहेको उनको भनाइ छ । ‘आठ महिनामा आठ खर्ब आयात भइसकेको छ । अवर्षभरिमा २२ खर्बको आयात हुनेछ । दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ,’ खतिवडाले भने ।

    वर्तमान सरकार संकट उन्मुख अर्थतन्त्र बचाउनेभन्दा पनि गठबन्धन जोगाउने काममा व्यस्त रहेको उनको भनाइ छ । अहिलेका अर्थमन्त्री अर्थतन्त्र जागाउनेभन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गर्नतिर लागिरहेको उनको भनाइ छ । ‘अर्थमन्त्री फेर्नुपर्छ भन्ने हल्ला चलिरहेका बेला आफ्नो कमजोरी सार्वजनिक गर्ने गर्भनरलाई निशाना बनाए,’ खतिवडाले भने ।-  न्युज कारखाना

  • जुत्ता सिएरै मासिक ५० हजार कमाउँछन् शेरबहादुर दम्पती

    जुत्ता सिएरै मासिक ५० हजार कमाउँछन् शेरबहादुर दम्पती

    खड्क सुनार
    मुगु, २७ चैत-

    मुगु छायाँनाथ रारा नगरपालिका–१ गमगढी बजारमा २४ वर्षीया दुर्गा सार्की जुत्ता पसस चलाउँदै आएकी छन् । आफैं जुत्ता सिएर उनले बेच्ने गरेकी छन् । जाजरकोटको छेडागाड नगरपालिका–६ कि उनले गमगढी बजारलाई आफ्नो कर्मथलो बनाइरहेकी छन् ।

    घुम्तीमा सात वर्षदेखि जुत्ता पसल गर्दै आएकी उनल आर्थिक अवस्था कमजोर भएकाले कक्षा ९ भन्दा अगाडि अध्ययनलाई बढाउन सकिनन् । र जस कारण उनी जुत्ता पसल चलाउँदै आएकी छन् । जुत्ता सिलाएरै उनी आत्म निर्भर बन्दै गएको बताउँछिन् ।

    उनको दैनिकी गुजारा गर्नेदेखि छोराछोरीको अध्ययन गराउने माध्यम जुत्ता सिलाउने पेसा बनेको छ । गमगढी बजारमा कर्मथलो बनाएका दुर्गाका पति शेरबहादुर सार्की पनि जुत्ता सिलाउने गर्छन् ।

    आफूले जानेको सिप श्रीमती दुर्गालाई हस्तान्तरण गरे । सोही पेसाबाट अहिले दुर्गा मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेकि छन् ।

    शेरबहादुर नयाँ जुत्ता बनाउँछन् भने यस कार्यमा दुर्गाले पनि सहयोग गर्छिन् । दुर्गा पुरानो जुत्ता पनि सिलाउने गर्छिन् । सार्की दम्पतीले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् ।

    ‘श्रीमानको मासिक ३० हजार र आफूले मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छौँ,’ दुर्गाले भनिन् । उनीहरुले जुत्ता सिलाएरै नेपालगञ्जको कोहलपुरमा पनि जग्गा किनेको दुर्गाले सुनाइन् ।

    गमगढी बजारको कृष्णचोक नजिकै न्युएसवीएस सुज सेन्टर खोलेका उनीहरूलाई अहिले नयाँ जुत्ता बनाउन र सिलाउन भ्याइनभ्याइ छ ।- न्युज कारखाना

  • ‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने

    ‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने

    काठमाडौं, २७ चैत-

    आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ को शो खुलेका छन् । मल्टिप्लेक्समा शो खुलेसँगै टिकेट बिक्री पनि सुरु भएको छ ।
    नेपाली कुनै फिल्मको शो खुलेको सम्भवतः पहिलो हो ।

    प्रायः रिलिजको दुई वा तीन दिन अगाडि टिकेट बिक्री गरिने भए पनि फिल्मको लोकप्रियतालाई ध्यानमा राख्दै एक साताअगावै टिकेट बिक्री नै खोलिएको हो । नयाँ वर्षमै प्रदर्शन भएको ‘ए मेरो हजुर ३’ ले राम्रो व्यापार गरेको थियो ।

    निर्माता सुनिलकुमार थापाले आफ्नो अघिल्लो सिरिजहरूको तुलनामा कथ्य शैलीसँगै मेकिङमा पनि स्तरीयता बढेको बताए । ‘हामीले फिल्म बनाउदै अगाडि बढ्दै गर्दा स्तरीयता पनि बढेको छ । हामीले दर्शकको समय र पैसाको महत्व बुझेका छौँ,’ उनले भने । उनले फिल्म हेर्न हलसम्म आउने दर्शकलाई फिल्मले निराश नबनाउने दाबी गरे ।

    अभिनेता अनमोल केसीले पनि फिल्मको टिकेट खुल्ला भइसकेको हुँदा आफूलाई पायक परेको समयमा फिल्म हेर्न सकिने बताए । ‘फिल्मको शो खुलिसकेको छ । टिकेट खरिद गर्न सकिन्छ । आफ्नो समयानुकूल फिल्म हेर्न सक्नुहुनेछ,’ अनमोलले भने ।

    निर्देशक झरना थापाले स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । ‘हामीले के कस्तो काम ग¥यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ,’ निर्देशक थापाले भनिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्ममाझ प्रतिस्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।

    फिल्ममा अनमोल र सुहाना थापासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ । फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । न्युज कारखाना

  • कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल

    कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल

    पोखरा, २७ चैत-

    केन्द्रीय सत्ता गठबन्धनभित्रका दलहरू स्थानीय निर्वाचनमा उम्मेदवार चयन लगायत विषयमा कास्कीमा भने अल्मलिएका छन् । केन्द्रीय नेतृत्वको निर्णयमा ढिलाई हुँदा तल्लो तहमा उम्मेदवार सिफारिसदेखि चुनावी गतिविधि सन्चालनसम्ममा अलमल देखिएको हो ।

    गठबन्धनभित्रैको दल जनता समाजवादी पार्टीले भने कास्कीको अन्नपूर्ण गाउँपालिकासहित केही वडामा उम्मेदवार टुंग्याएको छ । अन्नपूर्णमा २१ वर्षका नवराज पौडेललाई अध्यक्षमा अघि सारेको छ । त्यसबाहेक अन्नपूर्णका आठ वडामा पनि अध्यक्षका उम्मेदवार सिफारिस भैसकेकाे छ ।

    उपाध्यक्षसहित दुई वडाध्यक्ष र आठ सदस्यमा गठबन्धनसँग मिल्न सकिने जसपा नेताहरू बताउँछन् । ‘हामीले जिल्लाका कुनै पनि पालिकामा प्रमुख लिने ठाउँ छैन । कुनै पालिकाको उपाध्यक्ष लिएर सबैजसो वडामा सहभागी हुने हिसाबले जान्छौं,’ एक नेताले भने, ‘प्रभावका हिसाबले अन्नपूर्णमा हाम्रो दावी छ ।’ जसपा नेता नेत्र चपाईं पार्टीको तर्फबाट गाउँ घुम्ने र उम्मेदवार चिनाउने गरी काममा व्यस्त छन् । भन्छन्, ‘अन्नपूर्णको उपाध्यक्ष लिने र सबैजसो वडामा प्रतिनिधित्व हुने गरी गठबन्धन हुन्छ । हामी त्यसकै पक्षमा छौं ।’

    कांग्रेसबाट १० वटा वडामा उम्मेदवार सर्वसम्मत भैसकेका जिल्ला सचिव भानु ढकालले जानकारी दिए । ‘वडामा निर्णय भएको छ । सबैले सर्वसम्मत गर्नुभएको छ,’ उनले भने, ‘अहिले त्योभन्दा माथिल्लो निकायमा सिफारिस भएको छैन । हामीले आन्तरिक तयारी सुरू गरिसकेका छौं ।’ एमालेको सिफारिस सकिने बित्तिकै आफूहरूले फटाफट उम्मेदवार टुंग्याउने उनको भनाइ छ । ‘हामी एमालेको सिफारिस हेरेर बसेका छौं । त्यो टुंगिएपछि उम्मेदवार घोषणा गर्छौं । त्यतिबेला गठबन्धन होस् वा नहोस् वास्ता गर्दैनौं,’ उनले भने ।

    माओवादीको जिल्ला स्तरीय नेताहरूले मादी गाउँपालिकाको प्रमुखमा दावी गरेका छन् । २०७४ सालको चुनावमा कांग्रेससँग मिलेर मादीका तीन वडामा अध्यक्ष जितेको माओवादीले पाँच पालिकामध्ये मादीमा आफ्नो दावी रहने बताएको हो । तर स्थानीय नेताहरू भने उपाध्यक्ष आफूले लिएर कांग्रेसलाई अध्यक्ष दिन राजी भएका छन् । ‘जनाधार हेर्दा गठबन्धनभित्र कांग्रेस पहिलो पार्टी हो । उसलाई अध्यक्ष दिँदा हाम्रो थोरै सहयोगले चुनाव जित्छ,’ वडाध्यक्ष समेत रहेका नेता लालबहादुर गुरुङ भन्छन्, ‘उपाध्यक्षमा हामीले लियौं भने कांग्रेसका साथीहरूले पनि खुशी भएर भोट हाल्छन् । यसरी सहमति गर्नुपर्छ । मैले नेतृत्वलाई त्यहि सुझाव दिएको छु ।’

    नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा प्रमुख पद ताकेको छ । जिल्ला अध्यक्ष धनराज आचार्य आफैले पोखराको मेयरमा दावी गरेका छन् । पार्टीमा पूराना नेता श्रीनाथ बराल समेत मेयरको दावेदार हुन् । तर, पोखराको मेयर कसले पाउने भन्ने टुंगो केन्द्रबाट हुने भएकोले अहिले नै यसै भन्न सकिने अवस्था छैन । २०७४ सालको स्थानीय चुनावमा अन्नपूर्णको अध्यक्षबाहेक सबै प्रमुख र उपप्रमुख एमालेले जितेको हो । ७२ वडामध्ये २४ वडा कांग्रेसले, ३ वडा माओवादी र बाँकी एमालेले जितेको हो ।

    कांग्रेस भने पालिकाको प्रमुख कुनै हालतमा नछोड्ने पक्षमा छ । २०७४ सालको मतका आधारमा सबै पालिकामा कांग्रेस दोस्राे रहेको भन्दै प्रमुख पद आफूले लिएर अरुमा गठबन्धन दललाई मिलाउने प्रयास कांग्रेसबाट भैरहेको सचिव ढकालले बताए ।न्युज कारखाना

  • हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

    हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

    हेटौंडा, २७ चैत-

    हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

    हेटौंडा–१३ पदमपोखरीस्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको बिहान ९ः५५ बजे करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु हो । घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।- न्युज कारखाना

     

  • नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

    नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

    भक्तपुर, २८ चैत-
    मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउनुहुने भएको छ ।

    मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताउनुभयो ।

    बुद्धकृष्णले भन्नुभयो, “मानवीय सेवा र कलासंस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस वर्ष वैशाख २ गते नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएको छु, यो मेरो अन्तिम पटक हो, अर्को वर्ष म जिब्रो छेड्दिन, मेरो उमेरका कारणले पनि समस्या हुन्छ, अब युवापुस्ताले यो जात्रालाई जोगाउन जिब्रो छेड्न तयार हुनुपर्छ, लोप हुन दिनुहुँदैन, युवापुस्ता तयार हुनुपर्छ ।”

    जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत खान नहुने उहाँ बताउनुहुन्छ ।

    व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।

    बोडेको नीलबाराही मन्दिरसँग जोडिएको कथा र किंवदन्तीलाई पछिल्लो समय बिगारेर प्रचार गरेकामा दुखेसो व्यक्त गर्नुहुन्छ बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “यो जात्रा नीलबाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति नीलबाराहीका देवगण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ, त्यसैले पनि युवापुस्ता जिब्रो छेड्न तयार छैनन्, जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् यो सबैलाई बुझाइदिनुप¥यो ।”

    केही वर्ष अगाडिसम्म जिब्रो छेड्ने व्यक्तिले नै जात्राको सबै खर्च व्यहोर्नुपर्ने र भोजसमेत खुवाउनुपथ्र्यो भने जनप्रतिनिधि आएपछि नगरपालिकाले जात्रा सञ्चालनका लागि सहयोग गर्दै आएको छ । जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छड्ने बेलामा स्थानीय क्लब र युवाको सक्रियतामा जात्रालाई जोगाउन आर्थिक सङ्कलन गरी कोष खडा खरिएको थियो भने जनप्रतिनिधि आए पनि नगर प्रमुख मदन सुन्दर श्रेष्ठले यहाँका अधिकांश जात्रा परम्पराको संरक्षणका लागि भन्दै बजेट छुट्याएपछि यो जात्रा सञ्चालनमा पनि राहत मिलेको छ ।

    नगर प्रमुख श्रेष्ठ भन्नुहुन्छ, “यहाँको पहिचान नै कला, संस्कृति हो, त्यसैले यहाँका मठ, मन्दिर, पाटीपौवा, पोखरी, धारा, इनार, पार्क मात्रै नभई अमूर्त कलाकारुपमा रहेको नाच, जात्रा, पर्व परम्परालाई पनि जोगाउनुपर्छ भनेर मैले हरेक वर्ष नगरपालिकाबाट बजेट छुट्याए, यस वर्ष पनि जात्रा चलाउन नगर पालिकाले बजेट दिएको छ, यसले जात्रा परम्परा र पर्वको संरक्षणमा टेवा पुगेको महसुस गरेको छु ।”

    परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि कोरोना सङ्क्रमणका कारण विसं २०७६ मा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ ।

    जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म १२ जनाबाट निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन् ।

    अहिलेसम्म १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म सात र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । (रासस)

  • काभ्रेको घिमिरे गाउँमा विस्फोट, एक गम्भीर घाइते

    काभ्रेको घिमिरे गाउँमा विस्फोट, एक गम्भीर घाइते

    काठमाडौं, २७ चैत-

    काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

    उनको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन । घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

    घटनास्थल क्षेत्रमा नेपाली सेनाले नियमित फायरिङ गर्दै आएका छन् । सो क्रममा ‘मिस फायरिङ’ भएको हुन सक्ने डीएसपी खतिवडाले बताए । न्युज कारखाना

  • किभमा जेलेन्सकीसँग वार्ता गरे वेलायती प्रधानमन्त्री जोनसनले

    किभमा जेलेन्सकीसँग वार्ता गरे वेलायती प्रधानमन्त्री जोनसनले

    कोलम्बो, २७ चैत-

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग राजधानी किभमा वार्ता गरेका छन् । सो भ्रमण युक्रेनी जनतासँग ‘एकताको प्रदर्शन’ भएको बेलायतको प्रधानमन्त्रीको कार्यलय डाउनिङ स्ट्रिटले जनाएको छ । बैठकपछि, डाउनिङ स्ट्रिटले युक्रेनलाई सहयोग गर्न बेलायतले १२० गाडी र एन्टी–सिप मिसाइल प्रणाली पठाउने बताएको छ ।

    जोनसनको किभ भ्रमणको अग्रिम घोषणा गरिएको थिएन । राष्ट्रपतिसँग उनको भेटको तस्बिर लन्डनस्थित युक्रेनी दूताबासले सार्वजनिक गरेको थियो ।
    डाउनिङ स्ट्रिटका प्रवक्ताले भने, ‘प्रधानमन्त्री युक्रेनी जनतासँग ऐक्यबद्धता प्रकट गर्न राष्ट्रपति जेलेन्स्कीलाई व्यक्तिगत रूपमा भेट्न युक्रेन गएका छन् । ’

    बैठक पछि एक विज्ञप्तिमा जोनसनले ‘राष्ट्रपति जेलेन्स्कीको दृढ नेतृत्व र युक्रेनी जनताको वीरता र साहस’को प्रशंसा गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनले बाधाहरूलाई अस्वीकार गरेको छ र रूसी सेनाहरूलाई किभको ढोकाबाट पछाडि धकेलिदिएको छ ।’ -एजेन्सी

     

  • तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्ग र शारदालाई

    तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्ग र शारदालाई

    दिलमाया शाही

    जुम्ला, २७ चैत-

    कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गबहदुर बुढा र शारदा भण्डारीले जितेका छन् ।४९ किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ भण्डारी र पुरुषतर्फको उपाधि बुढाले हात पारेका हुन् ।

    बुढाले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घन्टा दुई मिनेट २० सेकेन्डमा पार गरेका छन् । उनले अहिलेसम्मका तीनवटै जुम्ला-रारा म्याराथनका स्वर्ण चुमिसकेका छन् ।

    पुरुषतर्फ दलबहादुर कुँवरले द्वितीय भएका छन् । कुँवरले पाँच घन्टा पाँच मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै उक्त स्थान हासिल गरेका हुन् । वेदबहादुर सुनारले पाँच घन्टा आठ मिनेट ४७ सेकेन्डमा दूरी पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सहसचिव धनराज सुनारले जानकारी दिए ।
    उनले भने, ‘चन्द्र रावल, सुमन कुलुङ, प्रकाश कठायत, सागर बुढा, जोवन ऐडी, मदन भण्डारी, धिरबहादुर खत्री टपटेनमा आउन सफल भएका छन् ।’

    महिलातर्फ शारदा भण्डारीले ६ घन्टा ३४ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । यसैगरी गणना भण्डारी ६ घन्टा ५९ मिनेट ४२ सेकेन्डका साथ द्वितीय र मञ्जु रावतले सात घन्टा ३४ मिनेट ३८ सेकेन्डमा पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार उमकली बुढा, राममाया बुढा, संगीता भण्डारी, शोभाकली बुढा, विन्दु श्रेष्ठ र राधा श्रेष्ठ टेनमा आउन सफल भएका छन् ।

    जुम्ला-रारा अल्ट्रा म्याराथनमा ७६ जना खेलाडी सहभागी भएकोमा ७२ जना रारा तालसम्मै पुगेका छन् । विजेता खेलाडीलाई पुरस्कार वितरणसमेत गरिएको छ। यो वर्ष एक विदेशीसहित ७६ जना धावक सहभागी भएका थिए । ७६ मध्ये १५ जना महिला छन्।

    जुम्ला-रारा अल्ट्रा म्याराथनमा गायक बुद्धवीर लामा, ओलम्पीयन बैकुण्ठ मानन्धर, क्याप्टेन भरतसिंह थापा, भेट्रान रनर शम्भु दाहाल, सुमन कुलुङलगायतले सहभागिता जनाएको आयोजक कर्णाली स्पोर्टस् क्लबले जनाएको छ । कर्णाली स्पोर्टस् क्लबका अनुसार म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाएका छन् भने द्वितीयले ६२ हजार पाँच सय, तृतीयले ३७ हजार पाँच सय र सान्त्वना हुने सातजनाले ६५ सय रुपैयाँ पुरस्कार पाएका हुन् । जुम्लादेखि रारा तालसम्म पाँचवटा चेक प्वाइन्ट राखिएको थियो ।- न्युज कारखाना

     

  • सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्याे

    सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्याे

    काठमाडौँ, २७ चैत-
    साताकाे पहिलाे दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।

    यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।न्युज कारखाना