Category: Banner तल ताजा समाचार

  • पुष्पराम केसी बने सशस्त्र प्रहरीको १९ दिने आईजीपी

    पुष्पराम केसी बने सशस्त्र प्रहरीको १९ दिने आईजीपी

    काठमाडौं, ३० चैत-

    सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका केसीलाई सरकारले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दुईजना एआईजी मध्येबाट केसीलाई आईजीपीमा बढुवा गर्न निर्णय गरेको हो ।

    दुई जना एआईजीपीमध्ये केसी अगाडि थिए । सशस्त्र प्रहरीमा केसीसँगै रामशरण पौडेल एआईजी थिए । केसीले अब १९ दिन सशस्त्र प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन् । केसी आगामी १८ वैशाखसम्म आईजीपी बन्नेछन् । ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउनेछन् । केसीसँगै पौडेलले पनि अवकास पाउनेछन् ।

    सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले चार वर्षे पदावधिका कारण सोमबार अवकाश पाएका थिए । सरकारले समयमै आईपीजी नियुक्त गर्न नसक्दा आजसम्म सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको थियो ।

    केसीले अवकाश पाएपछि हालका डीआईजीहरूबाट सरकारले नयाँ आईजीपी नियुक्त गर्नेछ । जसका लागि अहिलेका डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ । उनीहरूमध्ये दुई जनालाई सरकारले चाँडै एआईजी नियुक्त गर्नेछ । त्यही दुई जना एआईजीमध्येबाट एक जना आईजीपी नियुक्त हुनेछन् ।- न्युज कारखाना

  • सरकारी जग्गामा सात वर्षदेखि होटेल र ब्यांक्वेट सञ्चालन

    सरकारी जग्गामा सात वर्षदेखि होटेल र ब्यांक्वेट सञ्चालन

    मोहम्मद हबिब
    भैरहवा, ३० चैत-

    रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिको स्वामित्वमा रहेको महेन्द्र सभागृह र सिद्धार्थ बाल उद्यान परिसरमा कर्पोरेट हाउस नक्साविनै सात वर्षदेखि सञ्चालनमा रहेको पाइएको छ ।

    सिद्धार्थनगर नगरपालिकाले वडा नम्बर ६ मा रहेको उद्यानलाई ३० भदौ २०७१ मा शुभ ओम इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.(पौवा)लाई सार्वजनिक निजी साझेदारीमा बाल उद्यान सञ्चालन गर्ने र सिद्धार्थनगर– १३ स्थित महेन्द्र सभागृहलार्ई व्यवस्थित तथा दीगो किसिमले सञ्चालन गरी नगरवासीलाई सरल, सुलभ स्वच्छ र व्यवस्थित सेवा प्रदान गर्नेगरी ४ असोज २०७० मा निलम पटवा (पटवा ब्यांक्वेट)सँग सम्झौता गरेका थियो ।
    सम्झौताको उद्देश्यविपरीत सञ्चालनमा रहेको यी कर्पोरेट हाउसले सार्वजनिक सम्पत्तिमा निर्मित संरचना पनि नक्साविनै (मापदण्ड विपरीत) सञ्चालन गरिरहेका छन् ।

    सिद्धार्थनगरमा सानोतिनो सञ्रचना बनाउँदा पनि नक्सा प्रक्रियामा जानुपर्छ । सेवा लिन आउँदा पनि नगरपालिकाले नक्सा, कर तिरेको रसिद माग्छ । तर, नगरपालिकाकै सम्पत्तिमा बनेको अवैध संरचना ७ वर्षदेखि निर्वाध चलिरहँदासमेत नगरपालिकाले कानुनी दायरामा आउन भनेको छैन । नगरपालिकाले कुनै मापदण्डमा आउन पत्राचाार गरेको छैन ।

    यसअघि यी कर्पोरेट हाउस व्यवसाय कर दर्ता नै नगरी सञ्चालन गरेको खुलेको थियो । अहिले पटवा ब्यांक्वेटले कर बुझाएको छ भने पौवाले व्यवसाय दर्ताका लागि निवेदन मात्र दिएको छ । बहाल शुल्क पनि नबुझाएको शुभ ओम कम्पनी (पौवा)लाई नगरपालिकाले २३ माघमा बक्यौता बहाल शुल्क बुझाउन र ८ फागुनमा व्यवसायकर दर्ता गर्न भनि पत्राचार गरेपछि कम्पनीले बहाल शुल्क बुझाएको छ । नगरपालिकाको राजश्व शाखाले उद्देश्यविपरीत चलाएको भन्दै मापदण्डमा नरहेकोले दर्ता प्रक्रिया अगाडि नबढेको जानकारी दिएको छ ।

    नगरपालिका क्षेत्र भित्र कुनै पनि निजी, अर्ध सरकारी वा सरकारी स्वामित्वको घडेरी वा सार्वजनिक जग्गामा कुनै प्रकारको भौतिक विकास गर्न वा निर्माण कार्य गर्नुपरेमा नगरपालिकमा निवेदन दर्ता गरी स्वीकृति लिनुपर्ने भए पनि सिद्धार्थ बाल उद्यान र महेन्द्र सभागृहमा बनाइएका थप संरचनाबारे नगरपालिकाको प्राविधिक तथा नक्सा शाखालाई जानकारीसमेत छैन । द्वय कर्पोरेट हाउसले निर्माण गरेको संरचनाबारे नगरपालिकामा न नक्सा पास छ, न त संरचनाबारे जानकारी वा प्रस्ताव नै । ७ वर्षदेखि सञ्चालनमा रहेको ती कर्पोरेट हाउसमा नगरपालिकाले पनि कार्यक्रम चलाउँदै आएको छ । व्यवसाय कर दर्ता र नक्सा दर्तासमेत नगरेको प्रतिष्ठानले नगरपालिकाका कर्मचारीहरूको मिलोमतोमा कार्यक्रम हुँदै आएको छ ।

    नगरपलिकाका वरिष्ठ इन्जिनियर जीवन अर्यालले पटवा ब्यांक्वेट र पौवा होटलको संरचनाबारे कुनै प्रस्ताव, नक्सा र निवेदन नआएको जानकारी दिए । नक्सा फाँट प्रमुख राजन कर्णले नगरपालिकाको स्वामित्वमा रहेको सो सम्पत्तिबारे कुनै जानकारी नभएको बताए । ‘मैले सम्झौता पनि हेरेको छैन । हाम्रो तथ्यांकमा त्यहाँको कुनै नक्साको कागजात र निवदेन आएको छैन,’ उनले भने ।

    अस्थायी संरचना बनए पनि त्यो संरचना नगरपालिकामा जानकारी गराई स्वकीकृत लिनुपर्छ । तर, सार्वजनिक सम्पत्तिमा रजाइँ गरेका दुवै कर्पोरेट हाउसले स्वीकृति लिएका छैनन् । नगरपालिकाको तथ्यांकअनुसार बाल उद्यान दुई बिघा १६ कठ्ठा १७ धुर क्षेत्रफलमा र महेन्द्र सभागृह पनि एक बिघा १० कठ्ठा १५ धुर क्षेत्रफलमा छ । निलम पटवाको लगानीमा बनेको उद्देश्यविपरीतको पटवा ब्यांक्वेट हल नक्सा मापदण्डमा छैन । सभागृह बन्द गरी छुट्टै पार्टी प्यालेस चलिरहेको छ भने पौवालाई सम्झौताको उद्देश्य प्रष्ट रुपमा व्यवस्थित रुपमा बाल उद्यान सञ्चालन गरी चमेना गृह तथा रेष्टुरेण्ट, एसीसहितको चाइल्ड केयर सेन्टरलगायतका पूर्वाधार निर्माण गर्न भनिए पनि पाँचवटा स्वीट रुमसहित २० वटा एसीसहितको रुमको होटल, नौवटा क्याबिन, मदिरा विक्रीसहितको रेष्टुरेण्टलगायतका संरचना बनाएर सञ्चालन गरिरहेको छ । ती संरचना बनाउँदा प्रस्ताव पनि नगरपािलकामा नरहेको प्राविधिक शाखाले जानकारी दिएको छ ।

    बाल उद्यानको साटो होटल सञ्चालन गरेको २२ जना शेयर होल्डर रहेको कम्पनीले सम्झौताअनुसार नगरपालिकालाई पहिलो पाँच वर्ष एक लाख २५ हजार वार्षिक (१० हजार चार सय १७ रुपैयाँ मासिक भाडा) बहाल भुक्तानी गर्नुपर्ने र पाँच वर्षको अन्तरालमा क्रमशः २५–२५ हजार बढाउँदै नगरपालिकालाई बहाल भुक्तानी गर्नुपर्ने सम्झौता छ । यसैगरी, निलम पटवाले सभागृह र चर्चेको क्षेत्र प्रयोग गरेबापत नगरपालिकाले पहिलो पाँच वर्ष २ लाख (मासिक १६ हजार ६ सय ६७ रुपैयाँ भाडामा), त्यसपछिको पाँच वर्ष तीन लाख, त्यसपछि चार लाख र अन्तिम पाँच वर्ष पाँच लाख प्रतिमहिना बहाल लिने सम्झौता भएको छ । दुवै कर्पोरेट हाउसले २० वर्षको सम्झौता गरेका छन ।

    पटवाले सभागृह र चर्चेको ठाउँ बहालमा लिएर १० वर्ष भित्र २ करोड बराबरको थप संरचना निर्माण गर्ने र शुभ ओम कम्पनीले एक करोड ३५ लाख बरारबरको विभिन्न संरचना निर्माण सम्झौता भएको पाँच वर्षभित्र निर्माण नगरपालिकामा नक्सा प्रस्ताव गरी बनाउनुपर्ने थियो । सिद्धार्थनगर नगरापलिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले कुनै पनि संरचना बनाउँदा प्रस्ताव आउनुपर्ने बताए । नियम सबैलाई लाग्ने भन्दै उनले उनीहरुलाई कानुनी दायरमा ल्याउने बताए ।

    पौवा होटलका प्रतिनिधि विष्णु ज्ञवालीले निर्माण भएको संरचनाको रिर्पोटबारे सिद्धार्थनगर नगरपालिकाका प्रविधिकलाई जानकारी गराएको बताए । नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा बनाएकोे संरचना आफूहरुले छाडेर गएपनि नगरपालिकाकै हुने बताउँदै उनले आफूहरु नियत कर नतिर्ने भन्ने नरहेको बताए । उनका अनुसार व्यवसाय दर्ताको लागि निवेदन दिइसकेको छ । – न्युज कारखाना

  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

    काठमाडौँ, ३० चैत-

    यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ ।
    महासङ्घको आज बिहान सम्पन्न महाधिवेशनले उहाँको अध्यक्षतामा ७६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रदेश संंयोजक मङ्गलबार नै निर्विरोध निर्वाचित भए पनि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्य पदमा भने मतदान भएको थियो ।

    तीन वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव सरोज सिटौला, ऐनकुमार साई , हरिशरण केसी मत ल्याई विजयी हुनुभएको छ । यस्तै, खुला सात उपाध्यक्षमा सानुकाजी प्रजापति , भुवन बराल , रवि रिमाल, डम्बरराज पन्त , रामप्रसाद सुवेदी , जीतबहादुर भारती र राजेन्द्र रिजाल मत ल्याएर विजयी हुनुभएको छ ।

    यसैगरी, मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ, महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ, महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा चेतप्रसाद (अर्जुन) गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।

    यस्तै, सचिवमा आत्माराम थापा, भानुभक्त बराल, किरणकुमार खड्का, वर्गीय संयोजक बसतर्फ सुनिल कुँवर मत ल्याई विजयी हुनुभएको छ । वर्गीय संयोजक मिनिबसतर्फ मञ्जयप्रकाश श्रेष्ठ, पर्यटकतर्फ रामसुन्दर परियार, मालवाहक नवीन प्रजापति, ट्याक्सीतर्फ प्रकाश तिवारी, ट्याम्पो रामप्रसाद घिमिरे, माइक्रोबसतर्फ नारायणप्रसाद भट्टराई, जिपतर्फ रवीन्द्रमान श्रेष्ठ र हलुका मालवाहकतर्फ चिन्तामणि आचार्य निर्वाचित हुनुभएको छ ।

    यस्तै, प्रदेश १ को संयोजकमा सरोज श्रेष्ठ, मधेस प्रदेशको संयोजकमा हरिनारायण यादव, बागमती प्रदेश संयोजकमा सुमन गिरी, गण्डकी प्रदेश संयोजकमा केदारप्रसाद पौडेल, लुम्बिनी प्रदेश संयोजकमा सञ्जीव रोका, कर्णाली प्रदेश संयोजकमा रमेशकुमार सापकोटा र सुदूरपश्चिम प्रदेश संयोजकमा टेकराज जोशी निर्वाचित हुनुभएको छ । मङ्गलबार राति भएको निर्वाचनमा ८१६ मत खसेको थियो । (रासस)

  • बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

    बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

    बझाङ, ३० चैत-

    बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा बुधबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा छबिसपाथीभेरा गाउँपालिका–३ बामनडाडाका ५० वर्षीय जय बहादुर सार्की रहेका छन् ।

    आज बिहान पौने ७ बजे बामनडाडाबाट मौरीबजारतर्फ आउदै गरेको से १ ज ६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४ सय टिर तल सेती नदीमा खसेको थियो ।

    जिपमा चालक मात्र सवार रहेको प्रहरी चौकी मटेलाले जनाएको छ ।- न्युज कारखाना

  • १ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्न दर्शनार्थीको भिड

    १ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्न दर्शनार्थीको भिड

    मुकेशकुमार यादव

    सिरहा, ३० चैत-

    धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको सिरहाको सलहेश फूलबारीमा रहेको रुखमा १ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको बुधबार बिहानैदेखि भिड लागेको छ ।

    फूलबारीभित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर) मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने जनविश्वास छ ।

    तराईका पासवान जातिको इष्टदेव मानिने सलहेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगब्याधि नलाग्ने जनविश्वास छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट हजारौंको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् । हरेक वर्षको १ वैशाखमा मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेलासमेत लाग्ने गर्दछ ।

    सलहेश गाथामा उल्लेख गरिएअनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहे पनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने गरेको सलहेश गहवरका पुजारी हरिसिंहदेव दनुवारले बताए । १२ बिघा क्षेत्रफलमा फैलिएको सलहेश फुलबारी मेला कोरोना संक्रमणका कारण गत वर्ष नलागेकाले यस वर्ष विगतको तुलनामा मेला भर्न आउनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।-  न्युज कारखाना

  • आफूले मागे जति सिट नपाए रोल्पामा कांग्रेस एक्लै चुनाव लड्ने

    आफूले मागे जति सिट नपाए रोल्पामा कांग्रेस एक्लै चुनाव लड्ने

    काठमाडौं, ३० चैत-

    नेपाली कांग्रेस रोल्पाले आफूले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने भएको छ । २९ फागुनदेखि चलेको एक महिने ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानका क्रममा प्राप्त सुझाव र उक्त सुझावमाथि भएको छलफलले आफूले मागे जति सिट नपाए एक्लै चुनाव लड्ने निर्णयमा पुगेका कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले जानकारी दिए ।

    ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलहरूबीच तालमेल गर्ने भनिएका बेला कांग्रेस रोल्पाले तालमेलका लागि सर्त अघि सारेको हो ।

    कांग्रेस रोल्पाले १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरुमा अध्यक्ष सहित १ जना सदस्य र ३६ वटा वडाहरुमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धनमार्फत निर्वाचनमा भाग लिने गरी सर्त अघि सारेको हो । यदी उक्त सर्त मान्य नहुने हो भने एकल ढंगले मित्रवत रुपमा सौहार्दतापूर्वक निर्वाचनको प्रतिस्पर्धामा भाग लिने सभापति आचार्यले जानकारी दिए ।

    आचार्यले बुधबार जारी गरेको विज्ञप्ति

    २०७८/११/२८ गते प्रारम्भ भएको नेपाली काँग्रेसको ’घरघर जाऔं कांग्रेस जिताऔं’ भन्ने १ महिने अभियान नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाको आयोजनामा मिति २०७८/१२/२९ गते सम्पन्न भएको छ । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि गेहेन्द्र गिरी, नेपाली कांग्रेस रोल्पाका शीर्षस्थ नेताहरु, जिल्ला कार्य समितिका पदाधिकारीहरु, सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, पूर्व पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय समिति, पालिका समिति र वडा समितिका सभापतिहरु, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत १४ औं महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरु समेतको बृहत उपस्थिति थियो ।

    नेपाली काग्रेस जिल्ला कार्यसमिति रोल्पाले उक्त अभियान अन्तर्गत जिल्लाका ७२ वटै वडाहरुमा जिल्लाबाट प्रतिनिधहरु खटाई, खटाईएका प्रतिनिधिहरु मार्फत जिल्लामा कांग्रेसको अवस्था, तथा गठबन्धनमा काँग्रेसको सहभागिता लगायतका विषयहरुमा मत सर्वेक्षण गरी प्राप्त भएका प्रतिवेदनहरुमाथि व्यापक छलफल भयो । छलफलका क्रममा जिल्लामा नेपाली काँग्रेसको स्थिति विगतभन्दा बलियो भएको हुँदा केन्द्रीय गठबन्धन संयन्त्रको निर्णय अनुसार रोल्पा जिल्लामा गठबन्धन गर्ने हो भने सम्मानजनक सहभागिताका लागि नेपाली काँग्रेस रोल्पाले १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरुमा अध्यक्ष सहित १ जना सदस्य र ३६ वटा वडाहरुमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धन मार्फत निर्वाचनमा भागलिने। सो बमोजिम नभएमा एकल ढंगले मित्रवत रुपमा सौहार्दतापूर्वक निर्वाचनको प्रतिस्पर्धामा भाग लिने भन्ने सुझाव प्राप्त भएको ।

    तत्पश्चात जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र १४औं महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरु समेतको अन्तरक्रियात्मक बैठक बसी समापन समारोहमा भएको सुझावमाथि छलफल गर्दा समेत सोही बमोजिम नै निर्वाचनमा जाँदा उपयुक्त हुने सबैको राय प्राप्त भएकोले गठबन्धनका लागि नेपाली कांग्रेस रोल्पाले भेलाबाट पाएको सुझाव सहितको निष्कर्ष बमोजिम गठबन्धनका अन्य दल सहमत भएमा सोही बमोजिम गर्ने र नभएमा एकल ढंगले मित्रवत रुपमा सौहार्दताका साथ निर्वाचन प्रतिस्पर्धामा भाग लिनका लागि तयारी गर्न पार्टीका क्षेत्र, पालिका तथा वडा समितिहरुलाई विज्ञप्ति मार्फत जानकारी गराउँदछ । जयनेपाल
    किशोर कुमार आचार्य
    सभापति (न्युज कारखाना)

     

     

  • कुलमानको आग्रहपछि प्रचण्डले हटाए तस्बिर अंकित चुनावी पोस्टर

    कुलमानको आग्रहपछि प्रचण्डले हटाए तस्बिर अंकित चुनावी पोस्टर

    काठमाडौं, ३० चैत-

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् ।

    बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर अंकित चुनावी पोस्टर राखेका थिए । सरकारी तलब बुझ्ने घिसिङको तस्बिरलाई चुनावी प्रचार प्रसारको सामग्री बनाउँदा निर्वाचन आचार संहिता आकर्षित हुने भन्दै जनस्तरमै आलोचना भएको थियो ।

    कार्यकारी निर्देशक घिसिङले पनि आफूलाई नसोधी चुनावी पोस्टरमा आफ्नो तस्बिर राखिएकोमा आपत्ति जनाउँदै हटाउन प्रचण्डको निजी सचिवालयलाई निर्देशन दिएका थिए । ‘मलाई नसोधी चुनावी पोस्टरमा मेरो तस्बिर राखिएको रहेछ । यसमा मेरो विमति छ । मैले पोस्टर हटाउन भनेको छु,’ घिसिङले न्युज कारखानासँग भनेका थिए ।

    प्रचण्डका स्वकीय सचिव रमेश मल्लले निर्देशक घिसिङले पोस्टर हटाउन आग्रह गरेको स्वीकार्दै भने, ‘अरु साथीले प्रचण्डको सामाजिक चलाउँदा गडबड गरेछन् ।’ त्यसको समयपछि प्रचण्डको फेसबुक पेजबाट घिसिङको तस्बिर अंकित चुनावी पोस्टर हटाइएको छ । तर, प्रचण्डकी छोरी गंगा दाहालको फेसबुक पेजमा भने सो पोस्टर कायमै छ ।

    प्रचण्डले राखेको प्रचार सामग्रीमा प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो ।- न्युज कारखाना

     

  • कंगोमा वीरगति प्राप्त नेपाली शान्ति सैनिकलाई अन्तिम सम्मान

    कंगोमा वीरगति प्राप्त नेपाली शान्ति सैनिकलाई अन्तिम सम्मान

    काठमाडौं, ३० चैत-

    नेपाली सेनाले अफ्रिकी राष्ट्र कंगोमा केही दिनअघि विरगती प्राप्त गरेका सैनिक प्युठ अनिल गुरुङप्रति अन्तिम सम्मान अर्पण गरेको छ ।

    गुरुङको शव मंगलबार काठमाडौं ल्याइएको थियो ।

    यही चैत २२ गते कंगोमा विद्रोही समूहले चलाएको गोली लागी उनको मृत्यु भएको छ ।

    छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सम्मान स्वरुप उनको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली स्वरुप फूलमाला अर्पण गरेका थिए ।

    रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेको नेपाली सेनाले जनाएको छ ।

    सो अवसरमा संयुक्त राष्ट्रसंघको तर्फबाट नेपालका लागि राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले गुरुङको पार्थिव शरीरमा राष्ट्रसंघको झण्डा ओढाई सम्मान प्रकट गरेका थिए ।

    गुरुङको पार्थिव शरीरमा फूलमाला अर्पण गरेपश्चात नेपाली सेनाको टुकडीले अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेको थियो ।

    श्रद्धाञ्जली तथा अन्तिम सम्मान कार्यक्रम पश्चात गुरुङको पार्थिव शरीरलाई आजै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरि नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिने छ ।- न्युज कारखाना

  • सांघाइमा कोभिड बढेको बढ्यै, प्रतिबन्ध उल्लंघन गर्नेलाई कडा कारबाही

    सांघाइमा कोभिड बढेको बढ्यै, प्रतिबन्ध उल्लंघन गर्नेलाई कडा कारबाही

    सांघाई, ३० चैत-

    कोभिड १९ लकडाउनसम्बन्धी नियम उल्लंघन गर्ने जो कोहीलाई कडा कारबाही गरिने सांघाइले चेतावनी दिएको छ । लकडाउनबीच संक्रमितको संख्या बढिरहेका बेला सो चेतावनी आएको हो ।

    सांघाइमा दैनिक संक्रमितको संख्या २५ हजार नाघेको छ । सहर प्रहरी विभागले एउटा सूचना जारी गर्दै कोभिड उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

    ‘यस सूचनाको प्रावधान उल्लंघन गर्नेलाई सार्वजनिक सुरक्षा निकायबाट कानुन बमोजिम कडा कारबाही गरिने छ । यदि यो अपराध हो भने उनीहरूलाई कानूनअनुसार अनुसन्धान गरिनेछ’ विभागले एक विज्ञप्तिमा भनिएको छ ।

    ‘एउटै हृदयले महामारीसँग लड्न र प्रारम्भिक विजयको लागि मिलेर काम गर्नसमेत विभागले आह्वान गरेको छ ।- एजेन्सी

  • कोभिड लकडाउनमा बारम्बार रक्सी पार्टी आयोजना गर्ने बेलायती प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिमाना

    कोभिड लकडाउनमा बारम्बार रक्सी पार्टी आयोजना गर्ने बेलायती प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिमाना

    लन्डन, ३० चैत-

    कोभिड लकडाउनको समयमा आयोजना गरिएको पार्टीलाई लिएर बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अर्थमन्त्री ऋषी सुनकलाई जरिमाना गरिने भएको छ ।
    प्रधानमन्त्री कार्यलय डाउनिङ स्ट्रिटका प्रवत्ताले भनिन्, ‘ प्रधानमन्त्री र अर्थमन्त्रीलाई महानगरीय प्रहरीले निश्चित जरिमानको सूचना जारी गर्न लागेको छ ।’
    उनीहरूलाई कति जरिमाना गर्न लागिएको हो भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन् ।

    बेलायतमा कोभिड महामारीका कारण सरकारले तेस्रो लकडाउन गरेर सर्वसाधारणलाई घरभित्रै बस्न बाध्य पारिरहेका बेला डाउनिङ स्ट्रिट र क्याबिनेट कार्यलयमा १२ ओटा जमघट आयोजना भएका थिए ।

    ‘रक्सी’ पार्टीको बेलायत र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका मुख्य समाचारका विषय बनेका थिए । सोही विषयलाई लिएर प्रधानमन्त्रीमाथि राजीनामा दिन चौतर्फी दबाब परेको थियो ।

    कोभिड पीडितका परिवारलेसमेत प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए । ‘बोरिस जोनसन र ऋषि सुनकले कानून तोडेका छन् र बेलायती जनतालाई पटक पटक झूट बोलेका छन्’ विपक्षी लेबर पार्टीका नेता केयर स्टाररले ट्वीट गरे, ‘उनीहरूले राजीनामा दिनुपर्छ । कन्जरभेटिभ पार्टी सत्ता चलाउन पूर्णरुपमा अयोग्य छ । बेलायत अझ राम्रो हकदार छ ।’

    यसैबीच, महानगरीय प्रहरीले भनेको छ, ‘ह्वाइटहल र डाउनिङ स्ट्रिटमा कोभिड–१९ नियम उल्लंघन गरेको आरोपको अनुसन्धान जारी छ ।’- एजेन्सी