Category: Banner तल ताजा समाचार

  • भक्तपुरमा ख्वप: अस्पताल सय शय्याकाे बन्दै

    भक्तपुरमा ख्वप: अस्पताल सय शय्याकाे बन्दै

    भक्तपुर, ७ वैशाख-

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप: अस्पताल अब सय शय्या क्षमतामा स्तरोन्नति हुने भएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाइ भएकाे छ ।

    कार्यक्रममा सहभागीहरूले ख्वप: अस्पताललाई यथासिघ्र सय शय्या क्षमता विस्तार गर्नु पर्ने बताएका छन् । उनीहरूले ख्वप: अस्पताललाई स्वास्थ्य सेवाको हिसाबले देशकै नमूना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासीको भावनाअनुसार ख्वप: अस्पतालले कम शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको छ । उनले सबै नागरिकलाई स्वस्थ बनाई उत्पादनमूलक क्रियाकलापमा सक्रिय बनाउन नगरपालिका लागि परेको बताए ।

    उनले सरकारको विभेदकारी नीतिका कारण नगरपालिकाद्वारा संचालित ख्वप बहु-प्राविधिक अध्ययन संस्थानमा यो वर्ष नर्सिग संकायमा प्रवीणता प्रमाणपत्र तह स्टाफ नर्समा भर्ना लिन नपाएको चर्चा गर्दै सय शय्याको आफ्नै अस्पताल संचालनसँगै नर्सिङमा भर्ना लिन सकिने बताए । ख्वप: अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन निरन्तर लागि रहने र यस कार्यमा सबै सरोकारवालाबाट सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।

    भक्तपुर नगरपालिका-९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले ख्वप: अस्पताल भवन निर्माणको प्रगतिबारे जानकारी दिँदै कार्यक्रमको उद्देश्यमाथि चर्चा गरे । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले कोभिड महामारीको समयमा ख्वप: अस्पतालकोतर्फबाट खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल सरकार र बागमति प्रदेश सरकारले अस्पताल संचालनसम्बन्धी तय गरेको मापदण्डको पूर्ण पालना गरी ख्वप: अस्पताल संचालन हुने विश्वास व्यक्त गरे ।

    परामर्शदाताको तर्फबाट वातावरणविद् हरिशप्रसाद भट्टले अस्पताल संचालन गर्नु संवेदनशील विषय भएकोले सरोकारवाला सबै पक्षसँग सरसल्लाह गरेर यथार्थपरक प्रतिवेदन तयार गर्ने र सबैका लागि सुरक्षित बनाउन सुझाव पेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा बागीश्वरी कलेजका ज्ञानसागर प्रजापति, बागीश्वरी माविका कृष्णप्रसाद धन्छा, ईन्जिनियरिङका विष्णुकुमार प्रजापति, महिला स्वास्थ्य स्वयंसेविका तारादेवी धन्छा, अस्पताल व्यवस्थापक अनु ह्योंमिखा, वातावरणविद् कमलराज गोसाइँलगायतले ख्वप: अस्पताल निर्माण र संचालनको क्रममा आउनसक्ने नकारात्मक वातावरणीय प्रभावको विषयमा चर्चा गर्दै न्यूनिकरण कार्यमा यथासम्भव सबैले ख्वप: अस्पताललाई स्तरीय र सुविधासम्पन्न बनाउन लिखित सुझाव पेश गरे ।- न्युज कारखाना

  • कर्णालीमा यस वर्ष थप सात दिन सार्वजनिक बिदा

    कर्णालीमा यस वर्ष थप सात दिन सार्वजनिक बिदा

    सुर्खेत, ८ वैशाख-

    कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो । धान दिवसको बिदा १५ असारमा जुम्लाबाहेकका नाै जिल्लामा मात्रै लागु हुनेछ भने जुम्लामा १२ चैतमा बिदा हुनेको छ ।

    साउने संक्रान्ति तथा देउडा पर्व १ साउनमा, नाग पञ्चमी १७ साउनमा, प्रदेश स्थापना तथा सहिद दिवस ४ भदौमा, कोजाग्रत पूर्णिमा २३ असोज, रामनवमी १६ चैतमा र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र बिदा दिने निर्णय गरिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर बिदा सार्वजनिक गरेको हो ।- न्युज कारखाना

  • वडाध्यक्षले नै चोरीको मोटरसाईकल प्रयोग गर्ने गरेको पाइएपछि…

    वडाध्यक्षले नै चोरीको मोटरसाईकल प्रयोग गर्ने गरेको पाइएपछि…

    सुर्खेत, ८ वैशाख-

    जाजरकोटकाे नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन् । चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार ४ वैशाखमा जाजरकोट नलगाड-१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएकाे प्रहरीले मोटरसाइकल बरामद गरेकाे थियाे । प्रहरी अनुसन्धानका क्रममा उक्त माेटरसाइकल नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुनले चलाइरहेकाे खुलेकाे थियाे । निजलाई खोजतलासकाे क्रममा ६ वैशाखमा प्रहरी टोलीले फेला पारेकाे थियाे । जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी पुनमाथि थप अनुसन्धान भई रहेको छ ।

    वडाध्यक्ष पुनले लामो समयदेखि उक्त मोटरसाइकल चलाउँदै आएका थिए । तर, उनीसँग मोटरसाइकलका कुनै कागजपत्र थिएनन् । वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन । उनी अहिले प्रहरी हिरासतमा छन् । वडाध्यक्षमा फेरि दोहाेरिने इच्छा राखेका उनलाई चोरी काण्डले धक्का लागेकाे छ ।- न्युज कारखाना

     

  • मेलम्ची बाढीपहिराे पीडितलाई सुख्खायाम नसकिँदै वर्षाकाे चिन्ता

    मेलम्ची बाढीपहिराे पीडितलाई सुख्खायाम नसकिँदै वर्षाकाे चिन्ता

    सिन्धुपाल्चोक , ८ वैशाख-

    सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढीपहिराे पीडितलाई सुख्खायाम नसकिँदै वर्षायामकाे चिन्ता लागेकाे छ । बाढी प्रभावित भएर घरबास गुमाएमा आधाभन्दा बढी नागरिकलाई जीवन गुजारा चलाउने चिन्ता सँगसँगै नजिकिँदो बर्खाले पनि पिरोल्न थालेको छ ।

    मेलम्चीकी रमा धिताल भन्छिन्, ‘जग्गाको कमाइ बेचेर घर व्यवहार चलेको थियो । अहिले गुजारा गर्न धौ-धौ भएको छ । अहिले कोठा भाडामा बस्दै आएका छौँ । कमाइ गर्ने एक रोपनी खेतमा गेग्रान थुप्रिएको छ ।’ धिताल परिवारको मनमा भने कसरी गुजारा चलाउने भन्ने चिन्ता छ ।

    ‘आम्दानीको स्रोत पसल पनि घरसँगै बाढीमा पर्‍याे,’ चनौटेका सागर श्रेष्ठ भन्छन्, ‘अब खाद्य संकटले सताउला भन्ने पो चिन्ता छ । बाढीले बगाएको घरको २० लाख ऋण नेपाल राष्ट्र बैंकमा तिर्न नसकेर समस्या छ ।’

    बाढीले ल्याएको १७ मिटरसम्मको गेग्रान उस्तै छ । मेलम्ची नदीले पुरानै धार समाउन सकेको छैन । अब वर्षायाम सुरु हुन दुई महिना मात्र बाँकी रहँदा फेरि बाढी आए के हुने हो ? बाढी प्रभावित बाटुली श्रेष्ठको चिन्ता छ ।

    खेतीयोग्य जमिन कति गुम्यो सरकारले अहिलेसम्म तथ्यांक स‌ंकलन गर्न भ्याएको छैन । पहिले घर खेत हुने ठाउँमा अहिले खोला बग्छ । बचेका बस्ती, सडक र झोलुङ्गे पुल जोगाउन स्थानीय सरकारले चासो देखाएको छैन ।

    चनौटेको बेलिब्रिज बनाउनेबाहेक केन्द्र सरकारले अरु काम गर्न नसकेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । गत १ असार र १६ साउनमा आएको बाढीले मेलम्ची, हेलम्बु र याङ्ग्री क्षेत्रका ७० प्रतिशत बढी नागरिक विस्थापित भए थिए । सरकारले सबै बिस्थापितलाई सुरक्षित स्थानमा घर जग्गा उपलब्ध गराउने र अस्थायी टहरामा बस्नेलाई पाँच लाख दिने भनिएको थियो । तर, जुन पूरा हुन सकेको छैन ।- न्युज कारखाना

  • चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, पालो मिलाएर मनोनयन दर्ता गर्न दललाई आग्रह

    चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, पालो मिलाएर मनोनयन दर्ता गर्न दललाई आग्रह

    कुलप्रसाद काफ्ले
    चितवन, ८ वैशाख-

    निर्वाचन आयोगले बिहीबार चितवनको सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने ६ पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० जना कर्मचारी खटाइएको छ । निर्वाचन अधिकृतको कार्यालयमा नौ जनालाई खटाइएको छ । कार्यालयहरुले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

    निर्वाचन कार्यक्रम र आचारसंहिताको विषयमा आज सर्वदलीय बैठक पनि बस्दै छ । जिल्ला समन्वय समितिको कार्यालयमा बैठक बस्न लागेको हो । आयोगले ११ र १२ वैशाख गते मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ ।

    मनोनयन दर्ता गर्ने दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुन सक्ने भीडभाडलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । चितवन उद्योग संघको आडमा रहेको उद्योग प्रशिक्षण प्रतिष्ठानको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

    मनोनयनका दिन मनोनयन दर्ता गर्ने उम्मेदवार, उम्मेदवारका प्रस्तावक र समर्थकलाई मात्र निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्न दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए ।

    ‘भीडभाड व्यवस्थापनका लागि कार्यालयबाहिर उत्तरतर्फ नेपाल टेलिकम चोक र दक्षिणतर्फ विद्युत चोकमा कडाई गर्छौं । उम्मेदवार र उम्मेदवारका प्रस्तावक र समर्थकबाहेकलाई प्रवेश गर्न दिँदैनौँ,’ उनले भने । मनोनयन दर्ता गर्ने समय दुई दिन भएकाले दलहरुलाई सुरक्षा निकायसँग समन्वय गरेर पालो मिलाएर आउन भनिने उनले बताए ।

    आयोगले मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत चितवनका न्यायाधिस प्रकाश कुमार अधिकारीलाई खटाएको छ । निर्वाचन अधिकृतका रुपमा रत्ननगरमा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोद कुमार गौतम, खैरहनीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बागमतीकी उपसचिव सरस्वती पौडेल खटिएका छन् ।

    राप्तीमा सहायक सिडिओ शिवप्रसाद रिजाल, कालिकामा जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री, माडीमा जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतम र इच्छाकामनामा जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यलाई खटाइएको छ । निर्वाचन अधिकारीसहित सबै निर्वाचन अधिकृतहरुलाई १ र २ वैशाखमा आयोगले तालिम दिएको थियो ।

    चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । भरतपुरमा एक लाख ८५ हजार ७५२, रत्ननगरमा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, राप्तीमा ४० हजार ६४९, कालिकामा ३१ हजार १५७, माडीमा २८ हजार ३२० र इच्छाकामनामा १५ हजार ६३४ मतदाता छन् । न्युज कारखाना

     

  • भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

    भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

    काठमाडौं, ८ वैशाख-

    भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन आग्रह गरेको छ ।

    भारत र चीननमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सचेत गराएको हो ।

    कोरोनाविरुद्धको खोप लगाउन र पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा भएकाले बुस्टर मात्रा खोप लगाउनु मन्त्रालयले आग्रह गरेको छ ।

    मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले बिहीबार विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन र खोप नलगाएकालाई तत्कालै खोप लगाउन आग्रह गरेकी हुन् ।

    जारी विज्ञप्ति

    कोभिड–१९ संक्रमणको जोखिमपूर्ण अवस्थाबाट हामी गुज्रीरहेको सर्वविदितै छ। संख्यात्मक रूपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै छ। कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिदै यस विरुद्दको खोप अभियान संचालन गरिरहेको छ। कोभिड–१९ को संक्रमणदर भारत लगाएतका छिमेकी राष्ट्रहरूमा पछिल्ला केहि दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमनै रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका वढाउन संवेदनशील भई जिम्मेवार वनी जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वन्धित सवैमा हार्दिक अनुरोध गर्दछ। साथै कोभिड–१९ विरुद्दको पूर्ण मात्रा खोप लगाउनुहुने, खोप लगाउन प्रेरित गर्नुहुने र जारी खोप अभियानमा निरन्तर साथ दिनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै खोप लगाउन वाँकि सवैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड–१९ विरुद्दको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पुरा भए पश्चात बुस्टर मात्रा खोप लगाउनु हुन अनुरोध गर्दछौं।- न्युज काराखाना

  • नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं, ८ वैशाख-

    नवलपरासी सुस्ता पश्चिम बर्दघाट नगरपालिका–१३ धनेवामा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भारतिय नागरीक ५३ वर्षीय रबिन्द्रनाथ पाठक रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा चौपत्ता स्थित सहिद स्मृती सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

    हिजो बेलुकी सवा ८ बजे भारतिय नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।- न्युज कारखाना

     

  • पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    काठमाडौं, ८ वैशाख-

    वेष्ट इन्डिज क्रिकेट टोलीका आक्रामक ब्याटर केइरन एड्रियन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास घोषणा गरेका छन् । ३४ वर्षीय पोलार्डले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बइ इन्डियन्स र चेन्नई सुपर किंग्सको खेलअघि बुधबार सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् ।

    ‘धेरै सोचविचारपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेको छु,’ पोलार्डले भनेका छन् ।

    यस्तै आफ्नोसमेत अन्य युवा जस्तै राष्ट्रिय टोलीबाट खेल्ने सपना भएको र त्यो समेत पूरा भएको पोलार्डले लेखेका छन् ।

    ‘१० वर्षको हुँदै नै राष्ट्रका लागि खेल्ने सपना थियो । टी-२० र एकदिवसीयमा देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छु,’ पोलार्डले लेखेका छन् ।

    पोलार्डको सन्याससँगै अब वेष्ट इन्डिजले अर्काे वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकप र भारतमा आयोजना हुने एकदिवसीय क्रिकेटका लागि नयाँ कप्तान खोज्नेछ ।

    पछिल्लो १५ वर्षका पोलार्डले वेष्ट इन्डिजका लागि ११३ एकदिवसीय खेलिसकेका छन् । सन् २००७ मा साउथ अफ्रिकाविरुद्ध डेब्यु गरेका पोलार्डले त्यसयता २७०६ रन बनाएका छन् । जसमा तीन शतकसमेत सामेल छ ।

    उनले १०१ टी-२० खेल खेल्दा ५५ विकेट लिएका छन् भने १५६९ रन बनाएका छन् ।

    पोलार्डले वेष्ट इन्डिजका लागि हालसम्म टेष्ट क्रिकेट खेलेका छैनन् । तर, उनले देशका लागि टी-२० र एकदिवसीय खेलमा भने क्रान्ति नै ल्याएका छन् ।

    पोलार्ड टेष्ट खेलविना अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सर्वाधिक खेल्ने दोस्रा खेलाडी हुन् । उनले २२४ खेल खेलेका छन् । जुन डेविड मिलरभन्दा कम हो ।

    अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका पोलार्डले क्लब प्रतियोगितामा भने आफ्नो निरन्तरता दिनेछन् ।- न्युज कारखाना

     

  • दिल्लीमा मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

    दिल्लीमा मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

    नयाँ दिल्ली, ८ वैशाख-

    भारतको राजधानी नयाँ दिल्लीमा फेरिे मास्क अनिवार्य गरिएको छ । कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो । मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले जनाएको छ ।

    तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन् । बुधबार भारतमा ६३२ जना नयाँ संक्रमित देखिएका थिए । कूल संक्रमितमध्ये ५०१ जना नयाँ दिल्लीका छन् । संक्रमण दर ४ दशमलब ४२ प्रतिशत रहेको थियो । मंगलबार दिल्लीमा दैनिक संक्रमितको संख्या २६ प्रतिशतले बढेको थियो ।

    कोरोना महामारी सुरु भएदेखिअहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कुल ४ करोड २५ लाख १३ हजार २४८ जना संक्रमणमुक्त भएका छन् ।- एजेन्सी

  • सुनसरीमा गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    काठमाडौं, ८ वैशाख-

    सुनसरीको रामधुनी–२ मा बुधबार बेलुकी गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रामधुनी–८ का ४३ बर्षीय धुव्र कुमार चौधरी रहेका छन् ।

    को १७ प ३२४५ नम्बरको मोटरसाइकलमा सवार उनी हिजो बेलुकी पौने ८ बजे हसनपुर नहरको पुलबाट खसेका थिए ।

    घटनाबारे जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट झुम्काबाट खटिएको टोलीले चौधरीको शव गएराती साढे ९ बजे नहरबाट निकालेका थिए ।

    शवलाई पोष्टमार्टको लागी धरानको घोपा स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।- न्युज कारखाना