चितवनको एतिहासिक दियालो बंगला सर्वसाधारणका लागि खुला

चितवन, असार २३ –
चितवनको आँपटारीस्थित ऐतिहासिक दियालो बंगला दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले बंगला अवलोकन शुभारम्भ कार्यक्रमको उद्घाटन गरे ।

उद्घाटन गर्दै मन्त्री तामाङले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्न साथै एउटा शासन व्यवस्थासँग सम्बन्धित बंगला भएकाले जसको बारेमा देशी विदेशी सबैले अध्ययन र अवलोकन गर्न पाउनुपर्छ भनेर सबैका लागि खुला गरिएको बताए ।

नेपाल ट्रष्टसँग भरतपुर महानगरपालिकाले गत चैतमा सम्झौता गरी दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने काम अगाडि बढाइएको महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । यो बंगला खुला गरिएपछि इतिहास बुझेका र इतिहासका बारेमा अध्ययन गर्न चाहनेका लागि विशेष महत्व राख्ने उनको भनाइ छ ।

नेपाल ट्रस्ट सञ्चालक समिति सदस्य सुनिता गौतमले देशका विभिन्न स्थानमा रहेका राज परिवारसँग सम्बन्धित विभिन्न दरबारहरु सर्वसाधारणका लागि खुला गराउने काम भइरहेको बताइन् । त्यसै अन्तर्गत यो दियालो बंगला एउटा कार्यविधि बनाएर खुला गराइएको बताइन् । भरतपुर महानगरपालिकाले बंगला सञ्चालनमा चासो देखाएपछि आफूहरुले महानगरपालिकासँग २ वर्षका लागि सम्झौता गरेको उनको भनाइ छ ।

वि.सं. २०२६ सालमा राजा महेन्द्रले दियालो बंगला दरबार बनाएका थिए । उनको २०२८ माघ १७ मा दियालो बंगलामै निधन भएको थियो । त्यसपछि राजा वीरेन्द्र महेन्द्रको वार्षिक तिथि पारेर बंगलामा आउने गर्थे । राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *