देशका धेरै ठाउँमा रातिदेखि निरन्तर झरी, नदी र खोलामा बाढीको जोखिम

काठमाडाैं असार २२,

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातभर झरी परेको छ । अहिले पनि देशभरका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा काठमाडौं उपत्यकामा पनि निरन्तर पानी परिरहेको छ ।

राति काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ ।

पछिल्लो ३ घण्टामा अर्घाखाचीँको सन्धिखर्क, गुल्मीको बडिगाड, स्याङजाको मालुङ्गा बर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । यस्तै, पाल्पाका विभिन्न ठाउँमा ठूलो पानी परेको छ ।

यी क्षेत्र भई बहने साना खोला तथा नदीमा आकस्मिक बाढीको जोखिम रहेकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिनभर देशभर मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना छ ।

आज राति कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *