सरकारलाई दिएको समर्थन फिर्ता गरेको एमालेले बजेट पारित गर्न समर्थन गर्ने

काठमाडौं असार २१,

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट समेत बाहिरिसकेको नेकपा एमालेले राष्ट्रिय सभामा बजेटको पक्षमा समर्थन गर्ने भएको छ । शुक्रवार राष्ट्रिय सभाबाट आर्थिक वर्ष २०८१र०८२ को बजेट पारित गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बजेट पारित गर्न समर्थन गर्ने बताए । ‘हामी अहिलेसम्म सत्ता पक्षको बेञ्चमा छौं, बजेट पारित गर्न मद्दत गछौं,’ दाहालले  भने ।

प्रतिनिधि सभाबाट पारित भई सन्देशसहित प्राप्त बजेट राष्ट्रिय सभाले समेत पारित गरेपछि सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिलाई पठाउनु पर्छ ।

बजेटलाई निर्णयार्थ पेश गर्नुअघि शुक्रवार मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।

साउन १ गतेदेखि कार्यान्वयनमा जानुपर्ने भएकोले असार मसान्तअगावै बजेट पारित गरेर प्रमाणीकरण गरिसक्नु पर्ने बाध्यता छ । आर्थिक विषय भएकोले सरकार परिवर्तन भए पनि बजेट पारित गर्न समर्थन गर्ने नीति एमालेले लिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेगरी नेपाली कांग्रेस र एमालेबीच असार १७ गते सहमति भएको थियो ।

नयाँ समीकरण बनेको भन्दै कांग्रेस र एमालेले राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

एमालेसमेत सहभागी सरकारले जेठ १५ गते संसद्‌मा पेश गरेको बजेट असार ११ गते प्रतिनिधि सभाबाट पारित भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *