चितवनमा गर्मी बढेपछि ६० जना कैदीबन्दी स्थानान्तरण

चितवन, ९ जेठ : 

चितवन जिल्लामा गर्मी बढेपछि यहाँको कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो ।

जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यले वढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको बताउनुभयो । यहाँ रहेका कैदीबन्दीलाई पनि सतर्कता अपनाउन भनिएको उहाँको भनाइ छ ।

“क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सरसफाई, खानपानलगायत कुरामा बिशेष ध्यान दिन भनेका छौँ”, आचार्यले भन्नुभयो, “यो समयमा लामखुट्टेको टोकाईबाट बाँच्न झुलको प्रयोग गर्ने, सफा पानी पिउने, नियमित सरसफाई गर्नेलगायत कुरामा विशेष निगरानी राखिरहेका छौँ ।” क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कुनै पनि रोगको सङ्क्रमण तिव्र हुने भएकाले थप सतर्कता अपनाइएको उहाँको भनाइ छ ।

कैदीबन्दी भेट्न आउने आफन्तलाई समेत माक्सको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

कारागारमा कैदीबन्दीको चाप बढेपछि वैशाखमा मात्रै ६० जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको कारागार प्रमुख आचार्यले जानकारी दिनुभयो । भिमफेदी कारागार कार्यालय मकवानपुर, वीरगञ्ज कारागार नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ३५ जना कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४० जना, उनीहरुसँग आश्रित दुई बालबालिका र दुई सय ५५ क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९५ जना छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *