वेस्टइन्डिज एले नेपाललाई दियो २१० रनको विशाल लक्ष्य

२० वैशाख, काठमाडौं
वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो ।

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रनको इनिङ खेले । यस्तै ओपनर जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन जोडे । फेबियन एलेन १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाएर नटआउट रहे ।

दोस्रो ओभरमा नै पहिलो विकेट लिएको नेपालले त्यसपछि भने दुई विकेट मात्र निकाल्न सक्यो । आज सिरिजमा पहिलो पटक खेलिरहेका प्रतिश जिसीले नेपाललाई आफ्नो पहिलो बलमा नै पहिलो सफलता दिलाए । दोस्रो ओभरको पहिलो बलमा नै एलिक अथान्जे ५ रन बनाएर सन्दिप जोराद्वारा क्याच आउट भए ।

दोस्रो विकेटका लागि भने ओपनर जोनसन चार्ल्स फ्लेचर मिलेर ९२ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडे । चार्ल्स अर्धशतक बनाएर १०औ ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट मिड-विकेटमा क्याच आउट भए ।

१४औ ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले केसी कार्टीलाई ४ रन बनाएको अवस्थामा कप्तान रोहित पौडेलद्वारा क्याच आउट गराए ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा नै ४३ रन दिएर १ विकेट लिए ।

अन्य बलरले भने विकेट लिन सकेनन् । ललित राजबंशीले ४ ओभर बलिङ गरेर महँगो सावित हुँदै ५३ रन दिए । अविनाश बोहोराले पनि ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामी र गुलशन झाले समान दुई-दुई ओभरमा क्रमश: १५ र २५ रन दिए ।

विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेलिरहेको छ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग गर्दै आएको थियो । तर सिरिजका बाँकी दुई खेलमा विश्वकप जाने टोली मात्र प्रयोग हुने छ ।

नेपालले हिजोको खेलमा हार बेहोरेको टोलीबाट ८ परिवर्तन गरेको छ ।

आज नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिएको छ। मध्यक्रममा रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुलशन झा रहनेछन् । बलिङमा प्रतिश जिसी , सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी खेल्ने छन् ।

वेस्ट इन्डिजले भने हिजो जित हासिल गरेको टोलीलाई निरन्तरता दिएको छ ।

सिरिजमा हाल वेस्ट इन्डिज २-१ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।

हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *