चालक मोबाइलमा क्रिकेट हेर्न व्यस्त भएपछि रेल दुर्घटना

नयाँ दिल्ली, २० फागुन
भारतको आन्ध्र प्रदेशको विजय नगर जिल्लामा गत वर्ष अक्टोबर २९ मा दुई वटा रेल एकापसमा ठोक्किए । यो दुर्घटनामा करिब १४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना मानवीय त्रुटिको कारण भएको हो भनेर त्यही बेला इष्ट कोष्ट रेल्वेले भनेको थियो ।

उक्त दुघर्टनाबारे अहिले नयाँ खुलासा भएको छ । दुई रेल एक आपसमा ठोक्किँदा एउटा रेलको लोको चालक र सहायक लोको चालक मोबाइलमा क्रिकेटको खेल हेरिरहेका थिए भनेर रेल मन्त्री अश्विनी वैष्णवले दाबी गरेका छन् ।

५० भन्दा बढी घाइते भएका थिए :-
अश्विनी वैष्णवका अनुसार त्यस दिन साँझ सात बजे आन्ध्र प्रदेशको विजियनगरम जिल्लाको कान्टाकापल्लीमा हावडा–चेन्नई रेलमार्गमा रायगडा यात्री रेलगाडीले विशाखापट्टनम पलासा रेललाई पछाडिबाट ठक्कर दिएको थियो । यस दुघर्टनामा १४ जनाको मृत्यु भएको थियो र ५० जनाभन्दा बढी घाइते भएका थिए ।

रेल मन्त्रीका अनुसार उक्त घटनामा लोको चालक र सह लोको चालक दुवैको ध्यान क्रिकेट खेलका कारण भड्किएको थियो । अब भने रेल्वेले चालकहरूको ध्यान भड्किएको पत्ता लगाउने प्रणालीको स्थापित गर्न खोजिरहेको बताइएको छ । उक्त दुघर्टनाको जाँच रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो घटनामा चालक दलको दुवै सदस्यको मृत्यु भएको थियो । -एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *