सुन्दर देखिन नेपालीले एकैवर्ष खर्च गरे साढे नौ अर्ब रुपैयाँ

काठमाडौँ, १७ साउन
पछिल्लो एक वर्षमा नेपालले विभिन्न देशबाट नौ अर्ब ६२ करोड ११ लाख २२ हजार रुपैयाँभन्दा बढीको सौन्दर्य सामग्री आयात गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले उक्त रकम बराबरको सौन्दर्य सामग्री आयात गरेको हो ।

२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले ३६ करोड ४४ लाख ६० हजार रुपैयाँको ओठमा लगाउने सौन्दर्य सामग्री (लिपिस्टिक, लिप ग्लस, लिपबाम आदि) आयात गरेको छ । उक्त मूल्यमा एक लाख ९१ हजार ४४२ केजी ओठमा लगाउने सौन्दर्य सामग्री नेपाल भित्रिएको छ ।

सोही अवधिमा १९ करोड ४० लाख ८० हजार रुपैयाँको आँखामा लगाउने सौन्दर्य सामग्री (आइस्याडो, मस्कारा, गाजल, आइलाइनर आदि) नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

पछिल्लो एक वर्षमा पाँच करोड २७ लाख १८ हजार रुपैयाँको नेल पोलिस, ३३ करोड १८ लाख ९० हजार रुपैयाँको पाउडर, ७८ करोड पाँच लाख ८१ हजार रुपैयाँको फेसक्रिम र ४६ करोड नौ लाख ८९ हजार रुपैयाँको बडीलोसन नेपालले आयात गरेको छ ।

यस्तै, एक करोड पाँच लाख ६५ हजार रुपैयाँको सिन्दुर, ६६ करोड ७७ लाख ७९ हजार रुपैयाँको कपालमा लगाउने तेल, ६२ करोड २० लाख ८३ हजार रुपैयाँको कपालमा लगाउने रंग र सात करोड ३२ लाख ३८ हजार रुपैयाँको हेयरक्रिम पनि नेपाल भित्रिएको छ ।

उक्त अवधिमा ६३ करोड २१ लाख ३३ हजार रुपैयाँको स्याम्पू र १० करोड ४५ लाख ४७ हजार रुपैयाँको हेयर कन्डिस्नर नेपालले आयात गरेको छ । तीन अर्ब १३ करोड ४९ लाख १९ हजार रुपैयाँको अन्य विभिन्न प्रकारका सौन्दर्य सामग्री नेपाल भित्रिएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशबाट १० अर्ब १८ करोड ८० लाख ५१ हजार रुपैयाँभन्दा बढीको सौन्दर्य सामग्री आयात गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *