एक ठाउँमा समस्या हुँदा देशै अन्धकार ! यसकारण जाँदै छ झ्यापझ्याप बत्ती

काठमाडौँ , १४ साउन
पछिल्लो समय दैनिकजसो छिनछिनमा झ्यापझ्याप बत्ती जाने गरेको छ । अर्थात्, विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । दिनमै एकभन्दा बढीपटक छोटोछोटो समय अघोषित ‘लोडसेडिङ’ हुने गरेको हो ।

यसरी छिनछिनमै सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । छिनछिनमै बत्ती जाने–आउने गर्दा घर, कार्यालय, उद्योगमा ठूलो जोखिमको समेत सम्भावना हुन्छ ।

शनिबार काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा पटकपटक छोटो समय बत्ती गएको थियो । आज बिहान पनि काठमाडौंमा केहीबेर विद्युत् सेवा अवरुद्ध भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार वर्षापछि ठाउँठाउँमा पहिरो जाने र रुखहरूले विद्युत् तारलाई छुँदा समस्या निम्तिएको हो । पछिल्लो समय तराईका जिल्लामा रुख ढलेर विद्युत् सप्लाईमा समस्या आएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

त्यो समस्या समाधान गर्ने क्रममा देशैभरको विद्युत् प्रवाह केही बेर रोकिने गरेको उनले जानकारी दिए । मर्मतसम्भार गर्ने बेलाबेलामा सेवा अवरुद्ध हुने गरेको उनको भनाइ छ ।

“शनिबार तराईमा तारमा रुख लाग्यो, तारमा रुख ढलेर समस्या आएको हो । अहिले पानी परेका कारण रुख ढलिरहेका छन्,” उनले भने, “अरू केही पनि कारण हैन । रुख ढलेर तारमा लाग्दा यसरी लाइन गइरहेको छ ।”

वर्षा र बाढीपहिरोका कारण कतिपय ठाउँमा तार चुडिनुका साथै टावर नै बांगिने गरेको प्रवक्ता भट्टराईले बताए । एक ठाउँमा रुखले तार छुँदा देशभर नै समस्या आउने उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *