युवतीसँग अनैतिक क्रियाकलाप गरेको भिडियो बाहिरिएपछि दमकका प्रशासकीय अधिकृत विवादमा

विराटनगर, १४ साउन
मदिरा सेवन गरेर अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियो सार्वजनिक भएपछि झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला विवादमा तानिएका छन् । मदिरा सेवन गर्दै एक युवतीसँग अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा देखिएपछि निरौला विवादमा तानिएका हुन् ।

टिकटक लाइभमा युवतीलाई चुम्बन गर्दै गरेका पुरुष निरौला नै भएको दमक नगरपालिकाले समेत पुष्टि गरेको छ । नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा युवतीसँगै देखिएका पुरुष निरौला नै भएको जानकारी दिए ।

निरौलाले भने नगरपालिकाले उपलब्ध गराएको सरकारी निवासमा युवतीसँगै मदिरा सेवन गरेको भन्ने विषय गलत भएको जिकिर गरेका छन् । जन्मदिन मनाउने क्रममा काठमाडौंको एउटा होटेलमा उक्त कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

भिडियो कसरी बाहिरियो भन्ने विषयमा आफू जानकार नभएको उनले बताए । लाइभ भिडियोमा युवती समेत नशाले लट्ठ भएको देखिन्छ ।

आफ्नो क्वाटरमा केही नभएको भन्ने देखाउन आज बिहानैदेखि रङरोगन गरी प्रमाण नष्ट गराउन निरौलाले कामदार खटाएका बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *