देशको आर्थिक असहजताले थोक व्यापार ४० प्रतिशतसम्म घट्यो

काठमाडौं जेठ ८

नेपालमा बढ्दै गएको आर्थिक असहजताले व्यापार सामान्य अवस्थाको तुलनामा २५ देखि ४० प्रतिशतमा सीमित भएको थोक व्यापारीले बताएका छन् । पछिल्लो ८ र १० महीनादेखि व्यापारमा यस किसिमको स्थिति देखिएको उनीहरूको भनाइ छ ।

काठमाडौंको प्रमुख थोक बजार महाबौद्धमा १० वर्षदेखि तयारी कपडाको कारोबार गर्दै आएका यदुनाथ धितालले भाडा तिर्न समेत मुश्किल पर्ने अवस्था आएको बताए । ‘भाडा तिर्नसमेत अप्ठ्यारो अवस्था आइसकेको छ । ९ महीनाअघिको अवस्थासँग तुलना गर्दा व्यवसाय ३० प्रतिशतमा सीमित भएको छ,’ उनले भने, ‘स्टाफलाई तलब दिन उत्तिकै गाह्रो छ । समग्रमा अहिले व्यवसाय निकै खस्केको छ ।’

तयारी पोशाक व्यवसायी खनालले अब व्यवसायी पलायनको मुडमा पुगिसकेको बताए । महाबौद्धमै लामो समयदेखि तयारी कपडाको थोक व्यापार गर्दै आएका अर्का व्यवसायी महेश बर्माको गुनासो पनि उस्तै छ । ‘देशका विभिन्न ठाउँमा सामान ओसारपसार गरिरहेको हो तर पछिल्लो समय उधारोमा पठाएको सामानको पैसा आइरहेको छैन,’ उनले भने, ‘साथीहरूले विक्री नै भएको छैन भनिरहेका छन् ।’

सहकारीमा जम्मा गरेको पैसा फिर्ता नहुँदा पनि धेरै खुद्रा व्यवसायीले उधारो तिर्न नसकेको बर्माले बताए । साडी व्यवसायी परमोहन रौनियारले बैंक, वित्तीय संस्था एवं लघुवित्तबाट ऋण पाउनै छोडेको बताए । व्यवसायी रौनियारका अनुसार कसैले पनि ऋण लगानी नगरिरहेको अवस्था छ । ‘बैंक, वित्तीय संस्था, लघुवित्त कहीँबाट पनि ऋण मिलिरहेको छैन । सहकारीको स्थिति त सबैलाई थाहा नै छ,’ उनले भने । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *