सय दिनमा सुदूरपश्चिम सरकारले पूर्णता पाउँदै

काठमाडाैं  जेठ ५,

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले आज (शुक्रवार) पूर्णता पाउँदैछ । प्रदेश सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आज सरकारले पूर्णता पाउने जानकारी दिए ।

‘सत्ता गठबन्धनमा रहेका सबै दल सरकारमा सहभागी हुने विश्वास मलाई छ,’ उनले भने, ‘आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्छ ।’ सरकारले काम गरेको सय दिनमा जनतामा सुशासन र विकासको नयाँ आशा सञ्चार भएको मुख्यमन्त्री शाहले दाबी गरे ।

गत मङ्सिरको निर्वाचनको नतिजासँगै राजनीतिक समीकरणमा भएको फेरबदलले प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), राप्रपा र नागरिक उन्मुक्ति पार्टी सम्मिलित प्रदेश सरकार गठन भएको थियो ।

संविधानबमोजिम एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । सरकार गठन गर्दा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत लिने समयमा भने असहयोग गर्दा रावल पदमुक्त भएका थिए ।

त्यसपछि राजनीतिक समीकरण पनि पुनः फेरिँदा प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शाह नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । संविधानबमोजिम एक महिनाभित्र प्रदेशसभाबाट उनले विश्वासको मत पाएका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *