भारतीयको कुटाइबाट नेपाली युवाको मृत्यु

भैरहवा, २७ वैशाख-
सीमावर्ती भारतीय गाउँमा शङ्कास्पदरूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् । यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ ।

स्थानीयवासीका अनुसार रविको मानसिक अवस्था ठीक थिएन । अतिविपन्न अवस्थाका यादव घर नजिकैको सीमा क्षेत्रमा आउजाउ गरी रहनुहुन्थ्यो । सोही क्रममा उहाँ आज बिहान भारत महाराजगञ्ज जिल्लाको भगवानपुर बजार पुग्नुभएको थियो । एक जना स्थानीयको घरमा पसेपछि भारतीयले यादवको हात बाँधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका–७ का राजन यादवले बताउनुभयो । “मृतकको आमा पनि पछिपछि जानुभएको थियो, मेरो छोराको मानसिक अवस्था ठीक छैन भन्दाभन्दै पनि उनीहरूले कुट्न छोडेनन्”, यादवले भन्नुभयो, “भारतीयको कुटपिटबाट उहाँको मृत्यु भयो ।”

मृतक यादवको शव भारतीय प्रहरीले परीक्षण गरेको छ । रुपन्देही प्रहरी प्रमुख भरतबहादुर विश्वकर्माले घटना जानकारीमा आएको र यसबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *