चितवनबाट एक बर्षमा ४७३ मानिस हराए, ४४ जना अझै भेटिएनन्

चितवन, साउन १२-
पूजा परियार
गत बर्ष चितवनबाट ४७३ जना मानिस हराएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७८/२०७९ मा सबैभन्दा बढी १९२ महिला सहित ४७३ जना मानिस हराएका हुन् ।

यस्तै, हराउनेमा पुरुषको संख्या १५२, बालकको संख्या २७, बालिका ७९ र जेष्ठ नागरिक २३ जना रहेको छ । जसमध्ये ४२९ जना फेला परेका छन् भने ४४ जना अझै नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आर्थिक बर्ष २०७८/२०७९ को तथ्याङ्क अनुसार साउन महिनामा २१ जना महिला, १२ जना पुरुष, २ जना बालक, ७ बालिका र १ जना जेष्ठ नागरिक हराएका थिए भने ४२ जना भेटिएका छन् ।

यस्तै, भदौमा महिला १५, पुरुष १६, बालिका ६, बालक ४ र जेष्ठ नागरिक ४ जनागरि ४५ जना हराएकोमा ४२ जना फेला परे ।

असोजमा महिला १४, पुरुष १४,बालक १, बालिका ४ तथा जेष्ठ नागरिक १ जना हराए । जम्मा ३४ जना हराएकोमा ३३ जना भेटिएकाछन् ।

गएको कार्तिकमा ४६ जना हराएकामध्ये ३९ जना फेला परेका छन् । जसमा महिला १५, पुरुष १३, बालक ३, बालिका १२ र जेष्ठ नागरिक १२ रहेकाछन् ।

मंसिर महिनामा महिला १५, पुरुष ६, बालक ४, बालिका ७ एवं जेष्ठ नागरिक ५ जनागरि जम्मा ३७ जना हराएकोमा ३४ जना भेटिए ।
पुषमा महिला १६ जना, पुरुष १४ जना, बालक ९, बालिका ६ जना चितवनबाट हराएका थिए । जम्मा ३७ जना हराएकोमा ३५ जना फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसैगरी प्रहरीका अनुसार माघमा महिला ९, पुरुष,९, बालक २, बालिका ६, जेष्ठ नागरिक २ जना गरी २८ जना हराएकाहरुबाट २७ जना भेटिएका छन् ।

फागुनमा १९ जना महिला, पुरुष १६, बालक १, बालिका ५, जेष्ठ नागरिक २ जना हराएकोमा ४३ जनामध्ये ३९ जना फेला परेका छन् ।
यता, चैत महिनामा हराउनेको कुल संख्या ४६ रहेकोमा भेटिने ४२ जना छन् । यसमा महिला १७, पुरुष १५, बालक ५, बालिका ६ तथा जेष्ठ नागरिक ३ जना छन् ।

बैशाख महिनामा हराउनेमा जेष्ठ नागरिक र बालकको संख्या शुन्य हुँदा महिलाको २१, पुरुष १४ र बालिका ७ जनागरि ४२ जना हराएकोमा ३३ जना भेटिएका छन् ।

जेठमा महिला १३, पुरुष १४, बालक ३, बालिका ८, जेष्ठ नागरिक १ गरी ३९ जना हराए । जसमध्ये ३५ जना भेटिएको जनाइएको छ ।

आर्थिक बर्षको अन्त असारमा जेष्ठ नागरिकको संख्या ० हुँदा महिला १७, पुरुष ९, बालक २, बालिका ५ गरी ३३ जना हराएको मध्ये २८ जना भेटिएको जिल्ला प्रहरी कार्याल चितवनले जनाएको छ ।

यस्तै, आर्थिक बर्ष २०७४/७५ मा ५१६ जना हराएकोमा ५१६ जना नै भेटिएका थिए भने २०७५/७६ मा ७२९ जना हराएकामध्ये ७०९ जना भेटिएकोमा २० जना अझै भेटिन सकेका छैनन् ।

आर्थिक बर्ष २०७६/७७ मा ५२७ मध्ये ५१६ जना भेटिएकोमा ११ जना अझै सम्पर्कमा नरहेको तथ्याङ्कले देखाउँछ । २०७७/७८ मा ४८३ जना हराएकामध्ये ४३८ जना भेटिँदा ४३ जनाको अवस्था अझै अज्ञात छ ।

प्रहरीमा रहेको तथ्यांकले हराउने बढ्दैछन् भन्ने देखाएको छ । पुरुषको तुलनामा महिला र बालिका बढी हराएको देखिन्छ भने भेटिनेको संख्या पनि महिला र बालबालिकाकै कम छ ।

प्रहरीका अनुसार कोही व्यक्ति परिवारसँग सम्पर्कविहीन भएपछि खोजिदिन आग्रह गर्दै चौकी पुग्छन् । हराएका व्यक्तिको फोटो, हुलिया, ठेगाना प्रहरीले संकलन गर्छ र देशभरीका प्रहरी चौकीहरुमा पठाउँछ ।

हराएको खबर भन्न चौकी पुग्ने व्यक्तिले भेटिएको जानकारी दिँदैनन् । त्यसैले कोही तुरुन्तै भेटिए पनि प्रहरीको सूचीमा भने हराएको तथ्यांक मै देखिन्छ ।

भागी विवाह गर्ने, मानसिकस्थति कमजोर भएका, कामको खोजीमा छिमेकी देश भारत जाने पछि उतै बस्ने, घरबाट बिना जानकारी निस्कने तथा विभिन्न कारणले मृत्यु हुँदा पनि हराउनेहरुको तथ्याङ्क धेरै देखिने कारण हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *