सुरक्षाबारे आयुक्त भण्डारीको अभिव्यक्ति गम्भीर: प्रदीप ज्ञवाली

१० मंसिर, काठमाडौं ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाका बारेमा दिएको अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाएका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका ज्ञवालीले संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्तिसुरक्षाको सङ्गीन विषयमा गैरजिम्मेवार अभिव्यक्ति आएको जनाएका हुन् ।
‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौं लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो/देखियो,’ उपमहासचिव ज्ञवालीले भनेका छन्, ‘एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ।’

ज्ञवालीले तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने क्रममा हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य स्मरण गराएका छन् ।

ज्ञवालीले यति हुँदा हुँदै पनि संविधानसभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुबैको दुरुपयोगका अनेकौं घटना घटेको उल्लेख गरेका छन् ।

‘माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य माननीय प्रमुख आयुक्तलाई थाहै हुनुपर्ने हो। भलै संविधानसभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुवैको दुरुपयोगका अनेकौं घटना घटित भए,’ ज्ञवालीले भनेका छन्, ‘संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *