रविलाई राखिएको कोठाको झ्यालमा ठोकिएको प्लाइउड हटाउन आयोगको निर्देशन

काठमाडौँ , २६ साउन
राष्ट्रिय मानवअधिकार आयोगको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखेको कारागारको अनुगमन गरेको छ ।

सोमबार जिल्ला कारागार रुपन्देही पुगेर मानवअधिकार कर्मीको टोलीले अनुगमन गरेको हो । टोलीले अनुगमनका क्रममा सभापति लामिछानेलाई राखेको कोठामा आधारभूत सुविधाहरू नरहेको पाइएको बताएको छ ।

आयोगका प्रवक्ता डा. लिली थापाले लामिछानेलाई छुट्टै कोठामा राखिए पनि झ्यालमा प्लाइउड ठोकिएको र पर्याप्त उज्यालो र हावा नभएको पाइएको बताइन् । उनले सुरक्षाका कारणले झ्याल थुनिएको भन्ने जवाफ पाएको पनि बताइन् । अनुगमनपछि कारागार प्रशासनलाई झ्यालमा ठोकिएको काठ निकाल्न निर्देशन दिएको पनि प्रवक्ता थापाले बताइन् ।

‘हामी उहाँकै कोठामा गएर आधा घण्टा कुराकानी गर्‍यौ । उहाँलाई कति दिनदेखि बाहिर पनि निस्कन नदिएको अवस्था रहेछ’, थापाले भनिन्, ‘प्रशासनिक संरचना पनि साँघुरो रहेछ र सुरक्षाको कुरा पनि रहेछ ।’

उनले अदालतले स्थानान्तरणका लागि आदेश दिए पनि स्थानान्तरण नगरिएको अवस्था पाइएको बताइन् । ‘२५० जना क्षमताको जिल्ला कारागारमा ६५० जना राखिएको रहेछ । अरु बन्दीहरूको पनि हालत उस्तै रहेछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *