रवि लामिछानेलाई आज कास्की फर्काइने, अनुसन्धान प्रतिवेदन बुझाउने तयारी

काठमाडौँ मङ्सिर २६
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई वीरगन्जबाट आज कास्की नै फर्काउने तयारी गरिएको छ। कास्कीमा उनीविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।

पुस ५ गते अघि नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सरकारी वकिल कार्यालय कास्कीले गरेको छ। रवि र छविलाल जोशीविरुद्ध पूरक अभियोगपत्र पेस हुने छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत २ कात्तिकमा पक्राउ परेका उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान भएको छ ।

कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा उनलाई रुपन्देही, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो । त्यहाँ पनि सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप उनीमाथि छ ।

बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा सहकारीबाट रकम लगिएको छानबिनबाट देखिएको थियो ।

लामिछानेलाई रुपन्देहीमा ३ दिन, काठमाडौँमा ४ दिन र चितवनमा २ दिन अनुसन्धानका लागि राखिएको थियो । यसअघि उनलाई पहिलोपटक ६, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौथोपटक १३ दिन, पाँचौँपल्ट १५ र छैटौँपटक ४ दिन म्याद थप गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *